नेपाल पर्यटन बोर्ड ऐन, २०५३
लालमोहर र प्रकाशन मिति २०५३।१०।२३
संशोधन गर्ने ऐन: प्रमाणीकरण र प्रकाशन मिति गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ $\blacklozenge$ २०६६।१०।०७
२०५३ सालको ऐन नं. २५
$\times$............ नेपाल पर्यटन बोर्डको स्थापना र व्यवस्था गर्न बनेको ऐन
प्रस्तावनाः देशको प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवर्धन गर्दै पर्यटन व्यवसायको विकास, विस्तार एवं प्रवर्धन गरी अन्तर्राष्ट्रिय रूपमा नेपाललाई एक आकर्षक र भरपर्दो पर्यटन स्थलहरूको रूपमा विकसित गरेर राष्ट्रिय उत्पादन, विदेशी मुद्रा आर्जन र रोजगारीका अवसरहरूको सृजनामा अधिकतम वृद्धि गर्नका निमित्त नेपाल पर्यटन बोर्डको स्थापना गर्न र त्यसको कार्य सञ्चालन सम्बन्धी व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महारजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पच्चीसौँ वर्षमा संसदले यो ऐन बनाइएको छ ।
परिरिच्छेद – १ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “नेपाल पर्यटन बोर्ड ऐन, २०५३” रहेको छ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ । $\boxtimes$
$\blacklozenge$ यो ऐन संवत् २०६५ साल जेठ १५ गते देखि लागू भएको । $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा निरूपितको । $\boxtimes$ यो ऐन संवत् २०५४ साल जेठ १९ गते देखि लागू हुने गरी तोकिएको (नेपाल राजपत्र मिति २०५४/२/२०) ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस ऐनमा, –
(क) “बोर्ड” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल पर्यटन बोर्ड सम्झनु पर्छ ।
(ख) “समिति” भन्नाले दफा ९ बमोजिम गठन भएको कार्यकारी समिति सम्झनु पर्छ ।
(ग) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(घ) “उपाध्यक्ष” भन्नाले समितिको उपाध्यक्ष सम्झनु पर्छ ।
(ङ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष, उपाध्यक्ष तथा सदस्य–सचिवलाई समेत जनाउँछ ।
(च) “कार्यकारी प्रमुख” भन्नाले दफा १४ बमोजिम नियुक्त बोर्डको कार्यकारी प्रमुख सम्झनु पर्छ ।
(छ) “पर्यटक” भन्नाले विदेशी मुलुकबाट भ्रमणको लागि नेपाल $\times$............मा आउने गैर नेपाली नागरिक सम्झनु पर्छ ।
(ज) “पर्यटन व्यवसाय” भन्नाले,–
(१) पर्यटकहरूको निमित्त राष्ट्रिय वा अन्तर्राष्ट्रिय परिवहनको सेवा पुऱ्याउने कारोबार,
(२) पर्यटकहरूलाई नेपाल $\times$............भित्र वा नेपाल $\times$........बाहिर कुनै पनि स्थानमा पूर्ण वा आंशिक रूपमा परिवहन, बसोबास, भ्रमण व्यवस्था, रेष्टुरेन्ट सेवा, दृश्यावलोकन, पथ प्रदर्शन, पर्वतारोहण, पदयात्रा, जलयात्रा, तथा अन्य साहसिक एवं मनोरञ्जनात्मक सेवा पुऱ्याउने र सो वापि विदेशी मुद्रा आर्जन गर्ने प्रकृतिको कारोबार,
(३) पर्यटकहरूलाई पूर्ण वा आंशिक रूपमा खुद्रा वस्तुहरू बिक्री गर्ने कारोबार,
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको ।
(४) उपखण्ड (१), (२) र (३) बमोजिमको कारोबार गरी पर्यटकहरूलाई आकर्षित गर्नको निमित्त पूर्ण वा आंशिक रूपमा कला, संस्कृतिको प्रस्तुति वा अन्य कुनै प्रदर्शनी, आयोजना, मेला, प्रचार, प्रसार अभियान सञ्चालन गर्ने कार्यलाई समेत सम्मन्न पर्छ ।
(झ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिए बमोजिम सम्मन्न पर्छ ।
परिच्छेद – २ बोर्डको स्थापना र व्यवस्था
३. बोर्डको स्थापनाः (१) अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई एक आकर्षक पर्यटन स्थलको रूपमा स्थापित गरी पर्यटन व्यवसायको विकास, विस्तार तथा प्रवर्धन गर्नको लागि नेपाल पर्यटन बोर्डको नामबाट एउटा बोर्डको स्थापना गरिएको छ ।
(२) बोर्डको केन्द्रीय कार्यालय काठमाण्डौ उपत्यकामा रहनेछ र बोर्डले आवश्यकता अनुसार नेपाल $\times$............. भित्र वा बाहिर जुनसुकै स्थानमा आफ्नो शाखा तथा उपशाखा कार्यालयहरू खोल्न सक्नेछ ।
४. बोर्ड स्वशासित संस्था हुनेः (१) बोर्ड अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र सङ्गठित संस्था हुनेछ ।
(२) बोर्डको सबै काम कारवाहीको लागि आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
(३) बोर्डले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिकन गर्न वा अन्य कुनै किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) बोर्डले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न र बोर्ड उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।
५. बोर्डको उद्देश्यः बोर्डको उद्देश्य देहाय बमोजिम हुनेछः–
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा संशोधित ।
(क) नेपाललाई एक आकर्षक पर्यटन स्थलको रूपमा विकसित गरी अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने ।
(ख) देशको प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवर्धन गर्दै पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्ने ।
(ग) पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धनद्वारा राष्ट्रिय उत्पादन तथा विदेशी मुद्रा आर्जनमा अभिवृद्धि गरी बढी भन्दा बढी रोजगारीका अवसरहरूको सृजना गर्ने ।
(घ) नेपाललाई सुरक्षित, भरपर्दो तथा आकर्षक पर्यटन स्थलको रूपमा विकसित गरी अन्तर्राष्ट्रिय पर्यटन समुदायमा नेपालको छविलाई उच्च एवं मर्यादित ढङ्गबाट स्थापित गर्ने ।
(ङ) पर्यटकहरूलाई गुणात्मक सेवा प्रदान गर्ने पर्यटन व्यवसायमा देखापरेका समस्याहरूको निराकरणका उपायहरू पत्ता लगाउन आवश्यकतानुसार कार्यमूलक अनुसन्धान गर्ने, गराउने ।
(च) पर्यटन व्यवसायको विकासको लागि आवश्यक संस्थाहरूको स्थापना र विकास गर्ने सघाउ पुर्याउने ।
६. बोर्इको काम, कर्तव्य र अधिकारः बोर्इको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ–
(क) पर्यटन व्यवसायसँग सम्बन्धित कुनै पनि कारोबार गर्नेको निमित्त नेपाल सरकारको वा नेपाल सरकारको स्वीकृति लिई कुनै व्यक्ति, संस्था वा निकायको प्रतिनिधिको हैसियतले कार्य गर्ने ।
(ख) पर्यटन व्यवसायको स्थापना, सुधार, विकास, विस्तार, प्रवर्द्धन तथा संरक्षण गर्ने सम्बन्धमा पूर्वाधार विकास, पर्यटन सेवा, सुविधा विस्तार, जनशक्ति विकास र पर्यटन स्थलहरूको पर्यावरण संरक्षण गर्ने कार्य समेतका सम्बन्धमा आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने ।
(ग) पर्यटकहरूका लागि सुविधा वृद्धि गर्ने कार्यक्रमको तर्जुमा गर्ने कार्यमा संलग्न भई नेपाललाई एक आकर्षक पर्यटन स्थलको रूपमा विकसित गर्ने ।
(घ) पर्यटकहरूलाई सेवा प्रदान गर्ने व्यक्ति, संस्था वा निकायहरूको क्रियाकलापहरूमा समन्वय कायम गर्ने ।
(ङ) पर्यटन व्यवसायको विकास र विस्तारका लागि आवश्यक हुने प्राविधिक एवं वित्तीय आधारहरू तयार पारी सोही अनुसार पर्यटन विकाससँग सम्बन्धित कार्यक्रमहरू कार्यान्वयन गर्ने, गराउने ।
(च) पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नका लागि पर्यटन सम्बन्धी विविध क्रियाकलापहरूमा निजी क्षेत्रको सहभागितालाई अधिकतम मात्रामा प्रोत्साहित गर्ने, गराउने ।
(छ) पर्यटनसँग सम्बन्धित विद्यमान भौतिक पूर्वाधारहरूको व्यवस्थित र प्रभावकारी ढङ्गले प्रयोग गरी पर्यटकहरूलाई देशको धार्मिक र सांस्कृतिक महत्वका स्थलहरू, उच्च हिम श्रृंखलाहरू तथा मनोरम प्राकृतिक सौन्दर्यको दृश्यावलोकन गराउन निजी क्षेत्रलाई उत्प्रेरित गर्ने ।
(ज) नेपाललाई एक साहसिक तथा आकर्षक पर्यटन केन्द्रको रूपमा विकसित गर्दै लैजाने र जल, स्थल र वायुमा आधारित मनोरञ्जनपूर्ण तथा साहसिक पर्यटन सम्बन्धी क्रियाकलापहरूलाई मौलिक संस्कृति र परम्परामा प्रतिकूल असर नपर्ने गरी नेपाल $\times$............. का विभिन्न भागहरूमा सञ्चालन गर्ने, गराउने र त्यस्ता साहसिक पर्यटन सम्बन्धी क्रियाकलापहरू सञ्चालन गर्ने निजी क्षेत्रलाई प्रोत्साहित गर्ने ।
(झ) अन्तर्राष्ट्रिय सभा सम्मेलन, व्यापार मेला, सांस्कृतिक तथा युवा महोत्सव, खेलकुद प्रतियोगिता लगायत अन्य रचनात्मक तथा प्रवर्द्धनात्मक पर्यटकीय उत्पादनसँग सम्बन्धित क्रियाकलापहरू आफैले सञ्चालन गर्ने र निजी क्षेत्रलाई समेत त्यस्ता क्रियाकलापहरू सञ्चालन गर्ने प्रोत्साहित गर्ने ।
(ञ) ऐतिहासिक महत्व भएका स्थलहरू तथा मठ मन्दिर, गुम्बाहरूको संरक्षण सम्बन्धी विविध क्रियाकलापहरूमा स्थानीय जनसमुदायको सहभागितालाई अधिकतम मात्रामा प्रोत्साहित गर्ने ।
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको ।
(ट) पर्यटन पूर्वाधार तथा सुविधाहरूको सुदृढीकरण गर्दै नयाँ पर्यटन स्थलहरूको विकास गर्दा पनि खास गरी ग्रामीण पर्यटन स्थलहरूको विकासलाई प्राथमिकता दिने र ग्रामीण पर्यटन विकासका विविध कार्यक्रमहरू सञ्चालन गर्न स्थानीय ग्रामीण समुदायलाई उत्प्रेरित गर्ने ।
(ठ) नयाँ पर्यटन स्थलहरूको पूर्वाधार निर्माण र विकासमा लगानी परिचालन गर्ने, गराउने ।
(ड) धार्मिक तीर्थस्थलहरूको संरक्षण तथा संवर्धन गरी धार्मिक पर्यटनको विकास गर्नको लागि धार्मिक तथा सांस्कृतिक महत्वका स्थलहरूमा पर्यटकहरू बढी आकर्षित हुने गरी सुविधाहरू विस्तार गर्नुका साथै यस्ता स्थलहरूलाई अन्तर्राष्ट्रिय धार्मिक केन्द्रको रूपमा विकसित गर्ने, गराउने ।
(ढ) अन्तर्राष्ट्रिय पर्यटन उद्यम बजारहरूमा प्रतिस्पर्धात्मक रूपमा पर्यटन प्रवर्द्धन गरी नेपाललाई विश्वको एक प्रमुख पर्यटन केन्द्रको रूपमा विकसित गर्ने, गराउने।
(ण) वन्यजन्तु अवलोकन जस्ता पर्यटनको विकास र प्रवर्द्धन गर्ने ।
(त) मित्र राष्ट्रहरूसँग समन्वय गरी पारस्परिक लाभमा आधारित अन्तरदेशीय पर्यटन सम्बन्धी गतिविधिहरूमा वृद्धि गर्ने ।
(थ) पर्यटन जन चेतनाको लागि विभिन्न तहममा प्रचार, प्रसार कार्यक्रमहरू तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने ।
(द) पर्यटन व्यवसायीहरूबाट पर्यटकहरूलाई प्रदान गरिने सेवा तथा सुविधाहरूलाई स्तरीय बनाई पर्यटकहरूको सुरक्षाका लागि समेत विशेष व्यवस्था गर्ने ।
(ध) पर्यटन सेवा र सुविधाहरूको गुणस्तर वृद्धि गर्नको लागि पर्यटन व्यवसायीहरूलाई आ–आफ्ना व्यावसायिक सङ्घहरू मार्फत आचार संहिता लागू गराउने ।
(न) पर्यटन व्यवसायमा संलग्न रहेका व्यक्ति वा संस्थाहरूलाई प्राविधिक ज्ञान प्रशिक्षण तथा प्राविधिक सहयोग प्रदान गर्ने सम्बन्धमा आवश्यक तालिम तथा प्रशिक्षण दिने कार्यमा सहयोग पुऱ्याउने ।
(प) पर्यटन व्यवसायको विकास गर्नको लागि नेपाल सरकार र नेपाल सरकारबाट गठित पर्यटन परिषद्लाई समय समयमा आवश्यक सुझाव तथा परामर्श दिने ।
(फ) पर्यटन व्यवसायसँग सम्बन्धित निकायहरूले अपनाउनु पर्ने गुणस्तरलाई नियमित गरी त्यस्तो गुणात्मक सेवा प्रदान नगर्ने निकायहरूलाई प्रचलित कानून बमोजिम कारवाही चलाउनको निमित्त नेपाल सरकारलाई अनुरोध गर्ने ।
(ब) पर्यटक तथा पर्यटन व्यवसायीहरूलाई पर्यटनसँग सम्बन्धित विषयहरूका सम्बन्धमा आवश्यक सेवा तथा परामर्श प्रदान गर्ने, गराउने ।
(भ) पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, पर्यटन सेवा, सुविधा विस्तार गर्नको लागि नेपाल सरकार तथा अन्य सरकारी स्वामित्व भएको संस्था वा गैर सरकारी संस्थाबाट प्राप्त भएको रकम सोही कार्य गर्नको निमित्त खर्च गर्ने ।
(म) नेपाली पर्यटकहरूलाई आवश्यक सेवा तथा सुविधा उपलब्ध गराउनको लागि सहयोग गरी आन्तरिक पर्यटनको विकासमा सहयोग पुर्याउने ।
(य) पर्यटन व्यवसायमा संलग्न रहेको कुनै पनि संगठित संस्थाको शेयर वा धितोपत्र खरिद गर्ने वा प्राप्त गर्ने ।
(र) पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने कारोबारमा पूँजी लगानी गर्ने ।
(ल) बोर्डको उद्देश्य पूतिको लागि नेपाल सरकारको स्वीकृति लिई विदेशी वा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसँग सम्झौता गर्ने ।
(व) बोर्डको वार्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट स्वीकृत गर्ने ।
(श) पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन सम्बन्धी अन्य आवश्यक कार्यहरू गर्ने, गराउने ।
७. बोर्डले आवश्यक सेवा शुल्क लिन सक्नेः बोर्डले पर्यटक तथा पर्यटन व्यवसायीहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रदान गरेको परामर्श तथा सेवा वापि तोकिए बमोजिमको सेवा शुल्क लिन सक्नेछ ।
८. बोर्डले आर्थिक स्रोत जुटाउन सक्नेः बोर्डले आफ्नो कार्यक्रम सञ्चालन गर्नको निमित्त नेपाल सरकार, सरकारी स्वामित्व भएको संस्था, गैरसरकारी संस्था, विदेशी सरकार, अन्तर्राष्ट्रिय संस्था वा निकायबाट ऋण, अनुदान, दान दातव्य वा उपहार लगायत आवश्यक आर्थिक स्रोत जुटाउन सक्नेछ ।
परिच्छेद – ३ कार्यकारी समितिको गठन तथा काम, कर्तव्य र अधिकार
९. समितिको गठनः (१) बोर्डको उद्देश्य प्राप्तिको लागि आवश्यक कार्यक्रमहरू सुव्यवस्थित रूपले सञ्चालन गर्न, गराउन र बोर्डको सम्पूर्ण काम कारवाहीहरूको रेखदेख तथा प्रबन्ध गर्नको लागि एक कार्यकारी समितिको गठन हुनेछ ।
(२) समितिमा देहायका सदस्यहरू रहनेछन्ः–
(क) सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय –अध्यक्ष (ख) खण्ड (छ) बमोजिम मनोनित सदस्यहरू मध्येबाट बोर्डको सदस्यहरूले छानेको सदस्य एकजना –उपाध्यक्ष (ग) सहसचिव, अर्थ मन्त्रालय –सदस्य (घ) महानिदेशक, अध्यागमन विभाग –सदस्य (ङ) पर्यटन विकाससँग सम्बन्धित अन्य मन्त्रालयहरु मध्येबाट नेपाल सरकारले मनोनित गरेको कम्मिमा रा.प.प्रथम श्रेणीको अधिकृत एकजना –सदस्य (च) महानिदेशक, नेपाल नागरिक उड्डयन प्राधिकरण –सदस्य (छ) पर्यटन प्रवर्द्धन गर्ने कार्यमा संलग्न रहेका पर्यटन व्यवसायी, पर्यटन तथा प्राकृतिक एवं सांस्कृतिक सम्पदासँग सम्बन्धित विशेषज्ञहरू मध्येबाट नेपाल सरकारले दफा १० को अधीनमा रही मनोनित
गरेका ५ जना –सदस्य
(ज) कार्यकारी प्रमुख – सदस्य–सचिव
(३) उपदफा (२) को खण्ड (छ) बमोजिम मनोनित सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ र पदावधि समाप्त भएपछि निजहरू पुनः एक पटकको लागि मनोनित हुन सक्नेछन् ।
(४) दफा १४ बमोजिम कार्यकारी प्रमुखको नियुक्ति नभएसम्म समितिले कुनै सदस्यलाई समितिको सदस्य–सचिव भई काम गर्नको निमित्त तोक्न सक्नेछ ।
तर कुनै सदस्यलाई समितिको सदस्य–सचिव भई काम गर्न तोकेको समितिले तीन महिनाभित्र कार्यकारी प्रमुखको नियुक्ति गरिराख्नु पर्नेछ ।
(५) समितिले आवश्यक देखेमा कुनै स्वदेशी विशेषज्ञ, सल्लाहकार वा पर्यटन व्यवसायसँग सम्बन्धित लब्ध प्रतिष्ठित व्यक्तिलाई समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
१०. मनोनयन सिफारिस समितिः (१) दफा ९ को उपदफा (२) को खण्ड (छ) बमोजिमका सदस्यहरूको मनोनयन गर्नको निमित्त नेपाल सरकार समक्ष सिफारिस पेश गर्न देहाय बमोजिमको एउटा मनोनयन सिफारिस समिति रहनेछः–
(क) नेपाल सरकारले तोकेको व्यक्ति – अध्यक्ष
(ख) पर्यटन व्यवसाय वा पर्यटन प्रवर्धन क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूमध्येबाट नेपाल सरकारले मनोनित गरेको दुईजना – सदस्य
(२) उपदफा (१) बमोजिमको मनोनयन सिफारिस समितिले पर्यटन प्रवर्धन गर्ने कार्यमा संलग्न रहेका पर्यटन व्यवसायी वा पर्यटन प्रवर्धन विशेषज्ञहरूमध्येबाट दफा ९ को उपदफा (२) को खण्ड (छ) बमोजिम सदस्य मनोनित गर्नको निमित्त मनोनित गर्नु पर्ने सदस्य संख्या कम्तिमा र अधिकतम संख्यामा मनोनित गर्नु पर्ने व्यक्तिहरूको नाम मनोनयन हुनुको निमित्त सिफारिस गर्नु पर्नेछ । यसरी मनोनयनको निमित्त सिफारिस गरिएका व्यक्तिहरूमध्येबाट नेपाल सरकारले सदस्यहरू मनोनित गर्नेछ ।
(३) उपदफा (१) बमोजिमको मनोनयन सिफारिस समितिले उपदफा (२) बमोजिम सिफारिस गर्दा अपनाउनु पर्ने कार्यविधि आफैले निर्धारण गर्न सक्नेछ।
११. समितिको बैठक र निर्णयः (१) समितिको बैठक कम्तीमा दुई महिनामा एक पटक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
तर अध्यक्षले चाहेमा सो भन्दा अगावै पनि समितिको बैठक बोलाउन सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक तिहाइ सदस्यहरूले समितिको बैठक बोलाउनको लागि लिखित रूपमा माग गरेमा तीस दिनभित्र समितिले सदस्य–सचिवले अध्यक्षको स्वीकृति लिई समितिको बैठक बोलाउनु पर्नेछ ।
(३) समितिको सदस्य–सचिवले समितिको बैठक बस्ने सूचनाको साथमा बैठकमा छलफल हुने विषयहरूको सूची बैठक बस्नुभन्दा २४ घण्टा अगावै सदस्यहरूलाई उपलब्ध गराउनु पर्नेछ ।
(४) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपाध्यक्षले बैठकको अध्यक्षता गर्नेछ । अध्यक्ष र उपाध्यक्ष दुबैको अनुपस्थितिमा सदस्यहरूले आफूमध्यैबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(५) समितिको कूल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरू उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(६) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) समितिको निर्णय समितिको सदस्य–सचिवद्वारा प्रमाणित गरिनेछ ।
(८) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
१२. समितिको काम, कर्तव्य र अधिकारः (१) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम तथा विनियमको अधीनमा रही बोर्डले गर्नु पर्ने सम्पूर्ण काम कारवाहीहरू गर्नु तथा बोर्डलाई प्राप्त सम्पूर्ण अधिकारहरूको प्रयोग तथा कर्तव्यको पालना गर्नु समितिको कर्तव्य हुनेछ ।
(२) उपदफा (१) मा उल्लिखित काम, कर्तव्यको अतिरिक्त बोर्डको उद्देश्य प्राप्तिको लागि आवश्यक पर्न अन्य कार्यहरू गर्नु समितिको कर्तव्य हुनेछ ।
१३. उपसमिति गठन गर्न सक्नेः (१) समितिले आफ्नो कार्य सञ्चालन गर्नको लागि आवश्यकतानुसार उपसमितिहरू गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठित उपसमितिहरूको काम, कर्तव्य, अधिकार, कार्यक्षेत्र तथा कार्यविधि समितिले तोके बमोजिम हुनेछ ।
परिच्छेद – ४
कार्यकारी प्रमुख र कर्मचारी सम्बन्धी व्यवस्था
१४. कार्यकारी प्रमुखको नियुक्तिः (१) बोर्डको प्रशासकीय प्रमुखको रूपमा दैनिक कार्य सञ्चालन गर्नको लागि समितिले कम्मिमा स्नातकोत्तर उपाधि हासिल गरी पर्यटन क्षेत्रमा कम्मिमा दश वर्षको अनुभव प्राप्त गरेको व्यक्तिलाई बोर्डको कार्यकारी प्रमुखको पदमा नियुक्ति गर्नेछ ।
(२) कार्यकारी प्रमुखको पदावधि चार वर्षको हुनेछ र निज पुनः बढीमा चार वर्षको लागि नियुक्त हुन सक्नेछ ।
(३) उपदफा (१) बमोजिम नियुक्त कार्यकारी प्रमुखको पारिश्रमिक, सुविधा र सेवाका शर्तहरू तोकिए बमोजिम हुनेछ ।
(४) यस दफामा माथि जुनसुकै कुरा लेखिएको भए तापनि कार्यकारी प्रमुखले बोर्डलाई हानि नोक्सानी पुऱ्याई बोर्डको हित विपरीत हुने गरी काम कारवाही गरेमा वा समितिको नीति निर्देशन अनुरूप कार्य सम्पादन नगरेमा समितिले तोकिएको प्रक्रिया अपनाई निजलाई कार्यकारी प्रमुखको पदबाट हटाउन सक्नेछ ।
तर यसरी पदबाट हटाउनु अघि कार्यकारी प्रमुखलाई आफ्नो पक्षमा सफाई पेश गर्ने उचित अवसर प्रदान गर्नु पर्नेछ ।
१५. कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकारः (१) कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) समितिको निर्णय एवं निर्देशनहरू कार्यान्वयन गर्ने, गराउने ।
(ख) बोर्डको दीर्घकालीन तथा अल्पकालीन योजना, वार्षिक कार्यक्रम तथा बजेट तयार गर्ने, गर्ने लगाउने ।
(ग) समितिबाट स्वीकृत योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने, गराउने ।
(घ) बोर्डलाई आवश्यक कर्मचारीहरू तोकिए बमोजिम नियुक्त गर्ने ।
(ङ) अध्यक्षको आदेशानुसार समितिको बैठक बोलाउने ।
(च) समितिप्रति उत्तरदायी भई काम गर्ने ।
(छ) बोर्डको प्रशासकीय प्रमुखको हैसियतले बोर्डको उद्देश्य प्राप्त गर्न अन्य आवश्यक कार्यहरू गर्ने ।
(२) उपदफा (१) मा लेखिएदेक बाहेक कार्यकारी प्रमुखको अन्य काम, कर्तव्य र अधिकारहरू तोकिए बमोजिम हुनेछ ।
१६. कर्मचारी सम्बन्धी व्यवस्थाः (१) बोर्डको काम सुचारु रूपले सञ्चालन गर्नको लागि कार्यकारी प्रमुखले आवश्यक सल्लाहकार, अधिकृत र सहायक कर्मचारीहरू तोकिए बमोजिम नियुक्त गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त सल्लाहकार, अधिकृत र सहायक कर्मचारीहरूको पारिश्रमिक, सुविधा तथा सेवाका अन्य सर्तहरू तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा (१) बमोजिम नियुक्त बोर्डका कर्मचारीहरूले समिति र कार्यकारी प्रमुखप्रति उत्तरदायी भई काम गर्नु पर्नेछ ।
परिच्छेद – ५ कोष र लेखापरीक्षण
१७. बोर्डको कोषः (१) बोर्डको आफ्नो एउटा छुट्टै कोष हुनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरू रहनेछन्ः–
(क) नेपाल सरकारबाट प्राप्त अनुदान तथा अन्य रकम ।
(ख) विदेशी सरकार वा राष्ट्रिय वा अन्तर्राष्ट्रिय सङ्घ, संस्थाबाट प्राप्त सहयोग, अनुदान वा ऋण ।
(ग) स्वदेशी तथा विदेशी सङ्घ संस्था वा व्यक्तिबाट प्राप्त दान दातव्य वा उपहार ।
(घ) पर्यटन व्यवसायमा संलग्न रहेका सङ्घ, संस्था वा व्यक्तिबाट प्राप्त सहयोग अनुदान वा उपहार ।
(ङ) पर्यटक तथा पर्यटन व्यवसायीहरूलाई पर्यटनसँग सम्बन्धित विषयहरूका सम्बन्धमा प्रदान गरेको सेवा तथा परामर्श वापत प्राप्त गरेको सेवा शुल्क ।
(च) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(३) विदेशी सरकार, अन्तर्राष्ट्रिय सङ्घ, संस्था वा विदेशी सङ्घ, संस्था वा व्यक्तिबाट कुनै पनि किसिमको सहयोग, अनुदान, ऋण, दान, दातव्य वा उपहार लिनु अगावै बोर्डले नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
(४) बोर्डको तर्फबाट गरिने सम्पूर्ण खर्च उपदफा (१) बमोजिमको कोषमा जम्मा भएको रकमबाट व्यहोरीनेछ ।
(५) बोर्डको कोषको सञ्चालन तोकिए बमोजिम हुनेछ ।
१८. लेखा र लेखापरीक्षणः (१) बोर्डको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको लेखा प्रणाली बमोजिम राखिनेछ ।
(२) बोर्डको लेखापरीक्षण महालेखा परीक्षक वा निजले तोकेको कुनै लेखापरीक्षकबाट हुनेछ ।
(३) लेखापरीक्षकले बोर्डको वार्षिक कारोबारको स्थिति, वासलात, लाभ, हानि र अन्य हरहिसावका सम्बन्धमा आफ्नो प्रतिवेदन तयार गरी समिति समक्ष पेश गर्नेछ ।
परिच्छेद – ६ विधि
१९. बोर्डको सिफारिस वा सल्लाह लिन सक्नेः (१) कसैले पर्यटन व्यवसायसँग सम्बन्धित कुनै व्यवसाय सञ्चालन गर्ने अनुमतिको निमित्त सम्बन्धित निकायमा निवेदन गरेमा त्यस्तो निकायले अनुमति प्रदान गर्नु अगावै बोर्डको सिफारिस वा सल्लाह लिन सक्नेछ ।
(२) कसैले होटल सञ्चालन गर्ने अनुमतिको निमित्त सम्बन्धित निकायमा निवेदन गरेमा त्यस्तो निकायले होटल स्थापना तथा सञ्चालन गर्ने अनुमति दिनु पूर्व बोर्डको सिफारिस वा सल्लाह लिन सक्नेछ ।
२०. नेपाल सरकारले अनुदान दिन सक्नेः (१) नेपाल सरकारले बोर्डलाई आवश्यक रकम अनुदानको रूपमा दिन सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बोर्ड आफ्नो कार्यक्रम सञ्चालन गर्न आर्थिक रूपमा सक्षम भई सकेको छ भन्ने नेपाल सरकारलाई विश्वास गर्न सक्ने पर्याप्त कारण भएमा नेपाल सरकार त्यस्तो अनुदान रकम प्रदान गर्न बाध्य हुने छैन ।
२१. वार्षिक प्रतिवेदनः (१) कार्यकारी प्रमुखले बोर्डको काम कारवाहीको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र समिति समक्ष प्रस्तुत गर्नु पर्नेछ र त्यस्तो प्रतिवेदनको एकप्रति नेपाल सरकारलाई समेत उपलब्ध गराउनु पर्नेछ ।
(२) कार्यकारी प्रमुखले उपदफा (१) मा उल्लेख भए बमोजिमको बोर्डको वार्षिक प्रतिवेदन प्रत्येक वर्ष सार्वजनिक रूपमा प्रकाशन गर्नु पर्नेछ ।
२२. अधिकार प्रत्यायोजनः (१) समितिले आफूलाई प्राप्त अधिकारहरूमध्ये कुनै वा सबै अधिकार आवश्यकतानुसार कुनै सदस्य, उपसमिति वा कार्यकारी प्रमुखलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) कार्यकारी प्रमुखले आफूलाई प्राप्त अधिकारहरू मध्ये कुनै वा सबै अधिकार आवश्यकतानुसार बोर्डको कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
२३. बैठक भत्ताः सदस्यहरूले समितिको बैठकमा भाग लिए वापि तोकिए बमोजिमको बैठक भत्ता पाउनेछन् ।
२४. नेपाल सरकारसँग सम्पर्क: बोर्डले नेपाल सरकारसँग सम्पर्क राख्दा नेपाल सरकार, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत राख्नु पर्नेछ ।
२५. नियम तथा विनियम बनाउन सक्ने: (१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि बोर्डले आवश्यक नियमहरू बनाउन सक्नेछ र यस्ता नियमहरू नेपाल सरकारबाट स्वीकृत भएपछि लागू हुनेछन् ।
(२) बोर्डले आफ्नो कार्य सञ्चालन गर्नको लागि यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमहरूका अधीनमा रही आवश्यक विनियमहरू बनाउन सक्नेछ ।
द्रष्टव्य: (१) केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरु :- "श्री ५ सरकार" को सट्टा "नेपाल सरकार" ।
(२) "पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय" को सट्टा हाल "संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय" रहेको ।