बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६
लालमोहर र प्रकाशित मिति २०५७।३।७
२०५७ सालको ऐन नं. १
$\times$ ............ बाल श्रम (निषेध र नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावनाः बालकलाई कल कारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन निषेध गर्न तथा बालकलाई अन्य काममा लगाउँदा उनीहरुको स्वास्थ्य, सुरक्षा तथा सेवा र सुविधाका सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको उनन्तीसौँ वर्षमा संसदले यो ऐन बनाएकोछ ।
$\bullet$ यो ऐन संवत् २०६५ साल जेठ १५ गते देखि लागू भएको । $\diamond$ यो ऐन मिति २०७५।५।१ गते देखि प्रारम्भ भएको । $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खिकिएको ।
परिच्छेद –१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६” रहेको छ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।
२. परिभाषाहरू: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “बालक” भन्नाले अठार वर्ष उमेर पूरा नगरेको बालबालिका सम्झनु पर्छ ।
(ख) “प्रतिष्ठान” भन्नाले श्रम ऐन, २०७४ को दफा २ को खण्ड (ञ) बमोजिमको प्रतिष्ठान सम्झनु पर्छ ।
(ग) “व्यवस्थापक” भन्नाले श्रम ऐन, २०७४ को दफा २ को खण्ड (द) बमोजिमको व्यवस्थापक सम्झनु पर्छ ।”
(घ) “दिन” भन्नाले मध्यरातबाट सुरु हुने चौबीस घण्टाको अवधि सम्झनु पर्छ ।
(ङ) “सप्ताह” भन्नाले शनिवारको मध्यरात वा श्रम विभागले तोकेको अरु कुनै दिनको मध्यरातदेखि सुरु हुने सात दिनको अवधि सम्झनु पर्छ ।
(च) “चिकित्सक” भन्नाले श्रम विभागले तोकिदिएको चिकित्सक सम्झनु पर्छ ।
(छ) “योग्यताको प्रमाणपत्र” भन्नाले दफा ७ को उपदफा (४) बमोजिम दिइएको प्रमाणपत्र सम्झनु पर्छ ।
(ज) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
यो ऐन संवत् २०६१।८।१ देखि प्रारम्भ हुने गरी तोकिएको ।(नेपाल राजपत्र मिति २०६१।७।३०) केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा संशोधित । केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित ।
oplus(झ) “श्रम कार्यालय” भन्नाले श्रम ऐन, २०७४ को दफा २ को खण्ड (घ) बमोजिमको कार्यालय सम्झनु पर्छ ।
परिच्छेद – २ बालकलाई काममा लगाउन निषेध
३. बालकलाई काममा लगाउन नहुनेः (१) कसैले पनि चौध वर्ष उमेर पूरा नगरेका बालकलाई श्रमिकको रुपमा काममा लगाउनु हुँदैन ।
(२) कसैले बालकलाई अनुसूचीमा उल्लिखित जोखिमपूर्ण व्यवसाय वा काममा लगाउनु हुँदैन ।
४. बालकलाई इच्छा विरूद्ध काममा लगाउन नहुनेः कसैले पनि बालकलाई ललाई, फकाई वा झुक्याएर वा कुनै प्रलोभनमा वा डर, त्रास वा दबाबमा पारी वा अन्य कुनै तरिकाले निजको इच्छा विरूद्ध श्रमिकको रुपमा काममा लगाउनु हुँदैन ।
परिच्छेद – ३ बालकलाई काममा लगाउने सम्बन्धी व्यवस्था
५. सूचना दिनु पर्नेः (१) यो ऐन प्रारम्भ हुँदाका बखत अनुसूचीमा उल्लिखित जोखिमपूर्ण व्यवसाय वा कार्य सञ्चालन गरिरहेका व्यवस्थापकले यो ऐन प्रारम्भ भएको मितिले तीस दिनभर श्रम कार्यालयलाई देहायका विवरणहरु खुलाई लिखित सूचना दिनु पर्नेछः–
(क) प्रतिष्ठानको नाम र ठेगाना, (ख) व्यवस्थापकको नाम र ठेगाना, (ग) प्रतिष्ठानद्वारा सञ्चालित व्यवसाय वा कार्यको प्रकृति, र (घ) तोकिए बमोजिमका अन्य विवरणहरु ।
(२) यो ऐन प्रारम्भ भएपछि अनुसूचीमा उल्लिखित जोखिमपूर्ण व्यवसाय वा कार्य सञ्चालन गर्ने व्यवस्थापकले त्यस्तो व्यवसाय वा कार्य सञ्चालन गरेको मितिले पन्ध्र दिनभित्र श्रम कार्यालयलाई उपदफा (१) बमोजिम सूचना दिनु पर्नेछ ।
६. स्वीकृति लिनु पर्नेः (१) कुनै प्रतिष्ठानले बालकलाई काममा लगाउनु परेमा सम्बन्धित श्रम कार्यालय वा सो कार्यालयले तोकेको अन्य कुनै निकाय वा अधिकारी र बालकको बाबु, आमा वा संरक्षकको स्वीकृति लिनु पर्नेछ ।
तर नेपाल सरकारबाट स्वीकृति प्राप्त शिक्षण संस्था वा बालकको हक र हितको संरक्षणको निमित्त कार्यरत प्रचलित कानून बमोजिम स्थापित संस्थाद्वारा बालकको बृहत् हितको निमित्त आयोजना गरिने काममा वा सांस्कृतिक कार्यक्रममा लगाउन यस दफा बमोजिम स्वीकृति लिनु पर्ने छैन ।
(२) उपदफा (१) बमोजिम बालकलाई काममा लगाउने स्वीकृति दिँदा श्रम कार्यालयले सम्बन्धित प्रतिष्ठानलाई बालकको सीप र योग्यताको विकास गर्ने तथा शिक्षा प्रदान गर्ने उद्देश्यले उपयुक्त शर्तहरु लगाउन सक्नेछ र प्रतिष्ठानले यसको पालना गर्नु पर्नेछ ।
७. योग्यताको प्रमाणपत्र लिनु पर्नेः (१) प्रतिष्ठानले बालकलाई श्रमिकको रुपमा काममा लगाउनु अघि त्यस्तो बालकले श्रमिकको रुपमा काम गर्न सक्ने योग्यताको प्रमाणपत्र लिनु पर्नेछ ।
(२) प्रतिष्ठानले उपदफा (१) बमोजिम योग्यताको प्रमाणपत्र लिन त्यस्तो बालकले गर्नु पर्ने कामको प्रकृति र उमेर समेत उल्लेख गरी श्रम कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको निवेदन प्राप्त भएपछि श्रम कार्यालयले चिकित्सकद्वारा त्यस्तो बालकको स्वास्थ्य परीक्षण गराउनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम चिकित्सकद्वारा बालकको स्वास्थ्य परीक्षण गराउँदा त्यस्तो बालक काम गर्न योग्य देखिएमा चिकित्सकले तोकेको ढाँचामा योग्यताको प्रमाणपत्र दिनेछ।
(५) उपदफा (४) बमोजिम दिइएको योग्यताको प्रमाणपत्र एक वर्ष बहाल रहनेछ।
(६) उपदफा (५) बमोजिम दिइएको योग्यताको प्रमाणपत्र सम्बन्धित प्रतिष्ठानले चिकित्सकद्वारा नवीकरण गराउनु पर्नेछ ।
(७) योग्यताको प्रमाणपत्र लिंदा र नवीकरण गर्दा लाग्ने दस्तूर सम्बन्धित प्रतिष्ठानले नै व्यहोर्नु पर्नेछ ।
(८) यो ऐन प्रारम्भ हुँदाका बखत चौध वर्ष उमेर पूरा भएका बालकलाई काममा लगाएको प्रतिष्ठानले यो ऐन प्रारम्भ भएको मितिले तीस दिनभित्र योग्यताको प्रमाणपत्र लिई सक्नु पर्नेछ ।
८. विवरण दिनु पर्नेः (१) यो ऐन प्रारम्भ भएपछि बालकलाई काममा लगाउने प्रतिष्ठानले काममा लगाएको मितिले पन्ध्र दिनभित्र त्यस्तो बालकको फोटो सहित देहायका कुराहरु खुलाइएको विवरण श्रम कार्यालयमा पेश गर्नु पर्नेछः–
(क) प्रतिष्ठानको नाम र ठेगाना, (ख) व्यवस्थापकको नाम र ठेगाना, (ग) प्रतिष्ठान सञ्चालन भएको मिति, (घ) प्रतिष्ठानद्वारा सञ्चालित व्यवसाय वा कार्य, (ङ) बालकको नाम, ठेगाना र उमेर, (च) बालकको बाबु, आमा वा संरक्षकको नाम र ठेगाना, (छ) बालकलाई काममा लगाइएको मिति, (ज) बालकले गर्नु पर्ने कामको प्रकृति, (झ) बालकले पाउने पारिश्रमिकको रकम तथा अन्य सुविधाहरु, (ञ) बालकको योग्यताको प्रमाणपत्र, र (ट) तोकिए बमोजिमका अन्य विवरणहरु ।
(२) यो ऐन प्रारम्भ हुँदाका बखत चौध वर्ष उमेर पूरा गरेको बालकलाई काममा लगाई राखेको प्रतिष्ठानले यो ऐन प्रारम्भ भएको मितिले तीस दिनभित्र उपदफा (१) बमोजिमको विवरण श्रम कार्यालयमा पेश गर्नु पर्नेछ ।
९. काममा लगाउने समयः (१) बालकलाई बेलुका छ बजेपछि बिहान छ बजेसम्मको अवधिभर काममा लगाउनु हुँदैन ।
(२) बालकलाई काममा लगाउँदा दिनमा छ घण्टा र एक सप्ताहमा छत्तीस घण्टाभन्दा बढी अतिरिक्त पारिश्रमिक दिई वा नदिई काममा लगाउनु हुँदैन ।
(३) बालकलाई प्रत्येक दिन लगातार तीन घण्टा काम गरेपछि आधा घण्टा आराम गर्ने समय र प्रत्येक सप्ताहमा एक दिनको बिदा दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम दिइएको प्रत्येक दिनको आधा घण्टाको आराम गर्ने समय र प्रत्येक सप्ताहको एक दिनको बिदा काम गरेको अवधि मानिनेछ ।
(५) एकै दिन एउटा प्रतिष्ठानमा काम गरिसकेको बालकलाई सोही दिन पुनः अर्को प्रतिष्ठानमा काममा लगाउनु हुँदैन ।
१०. पारिश्रमिक र सुविधाः (१) प्रतिष्ठानले श्रमिकको रुपमा काम गर्ने बालकलाई लिङ्ग, वर्ण, धर्म वा जात जातीको आधारमा कुनै भेदभाव नगरी समान कामको लागि समान पारिश्रमिक र सुविधा दिनु पर्नेछ ।
(२) प्रतिष्ठानमा काम गर्ने बालकले पाउने पारिश्रमिक, भत्ता, बिदा र अन्य सुविधा तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा (२) बमोजिम तोकिएको पारिश्रमिक र सुविधाभन्दा कम पारिश्रमिक र सुविधा दिने गरी व्यवस्थापकले बालकलाई प्रतिष्ठानमा काममा लगाउनु हुँदैन ।
११. बालकको स्वास्थ्य र सुरक्षा सम्बन्धी व्यवस्थाः प्रतिष्ठानमा काम गर्ने बालकको स्वास्थ्य र सुरक्षाका सम्बन्धमा व्यवस्थापकले अपनाउनु पर्ने व्यवस्था तोकिए बमोजिम हुनेछ ।
१२. उमेर सम्बन्धी विवादः (१) प्रतिष्ठानमा काम गर्ने कुनै बालकको उमेर सम्बन्धी विवाद परेमा त्यस्तो बालकको जन्म दर्ता प्रमाणपत्रमा उल्लेखित जन्म मिति अनुसारको उमेर नै निजको वास्तविक उमेर मानिनेछ ।
(२) कुनै बालकको जन्म दर्ता प्रमाणपत्र नभएमा चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गराई निश्चित गरिएको उमेर नै निजको वास्तविक उमेर मानिनेछ ।
१३. दर्ता किताब राख्नु पर्नेः (१) प्रतिष्ठानमा काममा लगाउने बालकको सम्बन्धमा व्यवस्थापकले देहायका कुराहरु खुलाई एउटा दर्ता किताब राख्नु पर्नेछ–
(क) बालकको नाम र ठेगाना,
(ख) बाबु, आमा वा संरक्षकको नाम र ठेगाना, (ग) जन्म मिति वा उमेर, (घ) काममा लगाएको मिति, (ङ) कामको प्रकृति, (च) काम गर्नु पर्ने समय, (छ) आराम गर्ने समय, (ज) पारिश्रमिक तथा अन्य सुविधाहरु, र (झ) तोकिए बमोजिमको अन्य कुराहरु ।
(२) उपदफा (१) बमोजिमको दर्ता किताब श्रम कार्यालयबाट खटी आएको कर्मचारीले मागेको बखत प्रतिष्ठानले हेर्न दिनु पर्नेछ ।
१४. सूचना टाँस्नु पर्नेः व्यवस्थापकले बालकलाई लगाउन हुने काम, बालकले पाउने पारिश्रमिक, सुविधा तथा साप्ताहिक बिदाको दिन र बालकलाई यस ऐन विपरीत काममा लगाएमा हुने सजाय सम्बन्धी कुराहरु प्रतिष्ठानको सूचना पाटीमा अनिवार्य रुपमा टाँस्नु पर्नेछ ।
परिक्च्छेद – ४ निरीक्षण सम्बन्धी व्यवस्था
१५. निरीक्षण तथा कारबाहीः (१) श्रम कार्यालयले समय समयमा कुनै कर्मचारीलाई बालकलाई काममा लगाउने प्रतिष्ठानको निरीक्षण गर्न खटाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम खटिएको कर्मचारीलाई व्यवस्थापकले जुनसुकै समयमा प्रतिष्ठानमा प्रवेश गर्न र आवश्यक निरीक्षण गर्न दिनु पर्नेछ । यसरी निरीक्षण गर्न खटिएको कर्मचारीले हेर्न र बुझ्न चाहेको कुरा व्यवस्थापकले उपलब्ध गराउनु पर्नेछ ।
१६. कामबाट हटाउनेः (१) दफा १५ बमोजिम प्रतिष्ठानको निरीक्षण गर्दा दफा ३ वा ४ विपरीत बालकलाई कुनै प्रतिष्ठानमा काममा लगाइएको पाइएमा निरीक्षण गर्ने कर्मचारीले यथाशीघ्र त्यस्तो बालकलाई निजको बाबु, आमा वा संरक्षकको जिम्मा लगाउने र बालकलाई कामबाट हटाउन व्यवस्थापकलाई आदेश दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम बालकको बाबु, आमा वा संरक्षक नभएमा वा पत्ता नलागेमा त्यस्तो बालकलाई व्यवस्थापकले कुनै बाल कल्याण गृह वा बालकलाई हेरचाह गर्ने कुनै संस्थामा राखिदिनु पर्नेछ ।
(३) उपदफा (१) र (२) बमोजिम बालकलाई निजको बाबु, आमा वा संरक्षकको जिम्मा लगाउँदा लाग्ने खर्च वा बाल कल्याण गृह बालकलाई हेरचाह गर्ने संस्थामा राख्दा त्यस्तो बाल कल्याण गृह वा संस्थाको नियमानुसार लाग्ने खर्च प्रतिष्ठानले व्यहोर्नु पर्नेछ ।
१७. निरीक्षण प्रतिवेदनः (१) दफा १५ बमोजिम निरीक्षण गर्ने कर्मचारीले कुनै प्रतिष्ठानमा यस ऐन विपरीत बालकलाई काममा लगाइएको वा काममा लगाइएका बालकको स्वास्थ्य र सुरक्षाको लागि गर्नु पर्ने व्यवस्था लगायत यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम गर्नु पर्ने अन्य सबै व्यवस्थाहरु गरेको छ वा छैन यथार्थ विवरण खुलाई निरीक्षण समाप्त भएको मितिले पन्ध्र दिनभर श्रम कार्यालयमा प्रतिवेदन पेश गर्नु पर्नेछ । यसरी खटिएको कर्मचारीले यस दफा बमोजिमको आदेश अनुरूपको कार्य गरेको नगरेको तथा दिइएको प्रतिवेदन यथार्थ भए नभएको सम्बन्धमा श्रम कार्यालयले तोकिए बमोजिम जाँच गर्न सक्नेछ र अन्यथा देखिएमा कानून बमोजिम कारबाही हुनेछ ।
(२) उपदफा (१) बमोजिम पेश भएको प्रतिवेदन अनुसार कुनै प्रतिष्ठानमा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम गर्नु पर्ने कुनै व्यवस्था नगरेको पाइएमा श्रम कार्यालयले यथाशीघ्र त्यस्तो व्यवस्था गर्न मनासिब म्याद तोकी व्यवस्थापकलाई आदेश दिनेछ ।
(३) उपदफा (२) बमोजिम श्रम कार्यालयले दिएको म्याददिनभर व्यवस्थापकले आदेश बमोजिमको व्यवस्था मिलाउनु पर्नेछ ।
१८. सुविधा रोक्का राख्ने: (१) दफा १७ बमोजिम श्रम कार्यालयले दिएको आदेश बमोजिम सम्बन्धित प्रतिष्ठानले आवश्यक व्यवस्था नगरेमा श्रम कार्यालयले त्यस्तो प्रतिष्ठानलाई प्रचलित कानून बमोजिम दिइने सुविधा तोकिएको अवधिसम्मको लागि रोक्का गर्न सम्बन्धित निकायलाई लेखी पठाउनु पर्नेछ ।
(२) कुनै प्रतिष्ठानको सम्बन्धमा श्रम कार्यालयबाट उपदफा (१) बमोजिम लेखी आएमा सम्बन्धित निकायले त्यस्तो प्रतिष्ठानले पाउने सुविधा रोक्का गरी त्यसको जानकारी श्रम कार्यालयलाई दिनु पर्नेछ ।
परिच्छेद –५ दण्ड सजाय र पुनरावेदन सम्बन्धी व्यवस्था
१९. दण्ड सजाय: (१) कसैले दफा ३ को उपदफा (१) विपरीत काम गरेमा निजलाई तीन महिनासम्म कैद वा दस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
(२) कसैले दफा ३ को उपदफा (२) र दफा ४ विपरीत काम गरेमा निजलाई एक वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
(३) कुनै व्यवस्थापकले दफा ६, ७, ९, १० वा ११ विपरीत कुनै काम गरेमा निजलाई दुई महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
(४) कुनै व्यवस्थापकले दफा ५, १३ वा १४ विपरीत कुनै काम गरेमा निजलाई एक महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
(५) कसैले उपदफा (१), (२), (३) र (४) मा लेखिएका बाहेक यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम विपरीत अन्य कुनै काम गरेमा निजलाई पन्ध्र दिनसम्म कैद वा एक हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
(६) कसैले उपदफा (१), (२), (३), (४) वा (५) बमोजिम एक पटक सजाय पाइसकेपछि पुनः सोही काम गरेमा निजलाई पटकै पिच्छे सोही उपदफाहरूमा उल्लिखित सजायको दोब्बर सजाय हुनेछ ।
२०. उजूरी र हदम्याद: (१) यस ऐन अन्तर्गत सजाय हुने कसुरको सम्बन्धमा देहाय बमोजिमको व्यक्ति वा संस्थाले सम्बन्धित श्रम कार्यालयमा उजूरी दिन सक्नेछ:–
(क) दफा १५ बमोजिम प्रतिष्ठानको निरीक्षण गर्ने कर्मचारी, (ख) सम्बन्धित इलाकाको प्रहरी, (ग) सम्बन्धित बालक वा निजको बाबु, आमा वा संरक्षक, (घ) सम्बन्धित गाउँपालिका वा नगरपालिका, (ङ) प्रतिष्ठान स्तरको ट्रेड युनियन, वा
(च) बालकको हक र हितको संरक्षणको निमित्त कार्यरत प्रचलित कानून बमोजिम स्थापित निकाय वा गैरसरकारी संस्था ।
(२) यस ऐन अन्तर्गत सजाय हुने कसूरको सम्बन्धमा सो कार्य भए गरेको मितिले एक वर्षभित्र उजुरी दिनु पर्नेछ ।
२१. सजाय गर्ने अधिकारः (१) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको उल्लंघन गर्ने व्यक्तिलाई दफा १९ बमोजिम सजाय गर्ने अधिकार श्रम कार्यालयलाई हुनेछ ।
(२) उपदफा (१) बमोजिम सजाय गदान श्रम कार्यालयले कैदको सजाय गर्नु परेमा श्रम अदालतमा जाहेर गरी सो अदालतबाट निकासा भए बमोजिम गर्नु पर्नेछ ।
२२. पुनरावेदनः दफा २१ बमोजिम श्रम कार्यालयले गरेको सजाय उपर चित्त नबुझ्ने व्यक्तिले त्यस्तो सजायको आदेश पाएको मितिले पैंतीस दिनभित्र श्रम अदालतमा पुनरावेदन गर्न सक्नेछ ।
तर कैदको सजाय तोकिएकोमा सो उपर उच्च अदालतमा पुनरावेदन गर्नु पर्नेछ ।
परिच्छेद – ६ विविध
२३. बाल श्रम निवारण समितिः (१) नेपाल सरकारले प्रतिष्ठानमा कार्य गर्ने बालकको स्वास्थ्य, सुरक्षा, शिक्षा, व्यावसायिक र तालिमको व्यवस्था गर्न, बालकलाई उपयुक्त रोजगारीको व्यवस्था गर्न, बालकलाई काममा लगाउन निरुत्साहित तुल्याउन र बाल श्रम निवारण गर्ने सम्बन्धमा आवश्यक राय सुझाव प्राप्त गर्नको लागि बाल श्रम निवारण समिति गठन गरिनेछ ।
(२) यस्तो समितिमा तोकिए बमोजिम बाल श्रमको क्षेत्रमा कार्यरत सरकारी र गैर सरकारी संस्था तथा विशेषज्ञको समुचित प्रतिनिधित्वको व्यवस्था गरिनेछ ।
(३) बाल श्रम निवारण समितिको गठन विधि, काम, कर्तव्य र अधिकार तथा कार्यविधि तोकिए बमोजिम हुनेछ ।
२४. बाल श्रम निवारण कोषः (१) नेपाल सरकारले प्रतिष्ठानमा काम गर्ने बालकको स्वास्थ्य, सुरक्षा, शिक्षा, व्यावसायिक र तालिमको व्यवस्था गर्न, बालकलाई उपयुक्त रोजगारीको
व्यवस्था गर्न, बालकलाई काममा लगाउन निरुत्साहित तुल्याउन र बाल श्रम निवारण गर्ने सम्बन्धमा बाल श्रम निवारण कोषको नामले एउटा कोष स्थापना गरिनेछ ।
(२) बाल श्रम निवारण कोषमा देहाय बमोजिमको रकम जम्मा गरिनेछः–
(क) नेपाल सरकारबाट प्राप्त अनुदान रकम, (ख) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्थाहरुबाट प्राप्त चन्दा, शुल्क, अनुदान तथा सहयोगको रकम, (ग) अन्य स्रोतबाट प्राप्त रकम ।
(३) बाल श्रम निवारण कोषमा जम्मा हुने रकम र कोषको सञ्चालन तोकिए बमोजिम हुनेछ ।
२५. निर्देशन दिन सक्नेः (१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले व्यवस्थापक, ट्रेड युनियन तथा बाल कल्याण गृह र बालकको हेरचाह गर्ने संस्थालाई बालकको हक र हितको सुरक्षाको लागि आवश्यक निर्देशन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नेपाल सरकारले दिएको निर्देशनको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
२६. अनुसूचीमा संशोधनः (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूचीमा अन्य जोखिमपूर्ण कार्यहरु थप गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अनुसूचीमा कुनै जोखिमपूर्ण कार्य थप गर्दा नेपाल सरकारले आवश्यक देखेमा बाल श्रम निवारण समितिको राय लिन सक्नेछ ।
(३) उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिले तीस दिनपछि अनुसूचीमा संशोधन भएको मानिनेछ ।
२७. नियम बनाउने अधिकारः यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ ।
२८. खारेजी र संशोधनः (१) श्रम ऐन, २०४८ को,–
(क) दफा २ को खण्ड (ज) झिकेको छ ।
(ख) दफा २ को खण्ड (झ) मा रहेको “चौध वर्षको” भन्ने शब्दहरुको सट्टा “सोह्र वर्षको” भन्ने शब्दहरु राखिएका छन् ।
(ग) दफा ५ को उपदफा (१) खारेज गरिएको छ ।
(घ) दफा ३२ पछि देहायका दफा ३२क. र ३२ख. थपिएका छन्ः–
“३२क. पर्याप्त निर्देशन वा व्यावसायिक तालिम नदिई नाबालिगलाई काममा लगाउन नहुनेः (१) सम्बन्धित कार्यक्षेत्रका विषयमा पर्याप्त निर्देशन वा व्यावसायिक तालिम नदिई नाबालिगलाई काममा लगाउन हुँदैन ।
(२) नाबालिगलाई काममा लगाउँदा उपदफा (१) बमोजिम सम्बन्धित कार्यक्षेत्रका विषयमा दिनु पर्ने पर्याप्त निर्देशन वा व्यावसायिक तालिम सम्बन्धी व्यवस्थाहरु तोकिए बमोजिम हुनेछन् ।
(३) उपदफा (१) विपरीत नाबालिगलाई काममा लगाउने व्यवस्थापकलाई तीन महिनासम्म कैद वा दस हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।
३२ख. उमेर सम्बन्धी विवादः (१) प्रतिष्ठानमा काम गर्ने कुनै नाबालिगको उमेर सम्बन्धी विवाद परेमा त्यस्तो नाबालिगको जन्म दर्ता प्रमाणपत्रमा उल्लिखित जन्म मिति अनुसारको उमेर नै निजको वास्तविक उमेर मानिनेछ ।
(२) कुनै नाबालिगको जन्म दर्ता प्रमाणपत्र नभएमा श्रम विभागले तोकेको चिकित्सकद्वारा त्यस्तो नाबालिगको स्वास्थ्य परीक्षण गराई निश्चित गरिएको उमेर नै निजको वास्तविक उमेर मानिनेछ ।”
(२) बालबालिका सम्बन्धी ऐन, २०४८ को,–
(क) दफा १७ र १८ खारेज गरिएका छन् ।
(ख) परिच्छेद–५ खरिज गरिएको छ ।
(ग) दफा ५३ को उपदफा (१) र (६) मा रहेका “१७ वा १८” भन्ने शब्दहरू झिकेका छन् ।
(घ) दफा ५३ को उपदफा (१०) झिकेको छ ।
द्रष्टव्य :– (१) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्त्तर भएका शब्दहरूः– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” । (२) न्याय प्रशासन ऐन, २०७३ द्वारा रूपान्त्तर भएका शब्दहरूः– “पुनरावेदन अदालत” को सट्टा “उच्च अदालत” ।
अनुसूची (दफा ३ को उपदफा (२) सँग सम्बन्धित)
जोखिमपूर्ण व्यवसाय वा कामहरु
(क) पर्यटन, आवास, मोटेल, होटल, जुवाघर, रेष्टुराँ, बार, पव, रिसोर्ट स्किइङ्ग, ग्लाईडिङ्ग, वाटर र्याफ्टिङ्ग, केवल कार कम्प्लेक्स, पोनी ट्रेकिङ्ग, पदयात्रा, पर्वतारोहण, हट एयर ब्यालुनिङ्ग, प्यारासेलिङ्ग, गल्फ कोर्स, पोलो, अश्वरोहण, $\text{v}$ सर्कसमा काम गर्ने, बन्द कोठामा काम गर्ने, हिमाल चढ्ने डुङ्गा चलाउने, बन्जी आदि पर्यटनसँग सम्बन्धित व्यवसायहरु,
(ख) कार्यशाला, प्रयोगशाला, पशु चिकित्साला, शीत भण्डार $\text{v}$ पशु बली गर्ने, मासु काट्ने, पशुका विभिन्न अङ्ग सफा गर्ने आदि सेवामूलक व्यवसायहरु,
(ग) सार्वजनिक परिवहन र निर्माण व्यवसायहरु,
(घ) चुरोट, बिडी बनाउने, गलैंचा बुन्ने तथा रङ्गाउने, ऊन सफा गर्ने, कपडा बुन्ने, धुने, रङ्गाउने तथा बुट्टा छाप्ने, छाला प्रशोधन गर्ने, सिमेन्ट उत्पादन तथा प्याकिङ्ग, सलाई, विष्फोटक तथा अन्य आगजन्त्य पदार्थहरुको उत्पादन र बिक्री वितरण, बीयर, मदिरा तथा अन्य पेय पदार्थहरुको उत्पादन, साबुन उत्पादन, भिटामिन उत्पादन, पल्प र पेपर उत्पादन, स्लेट, पेन्सिल उत्पादन, कीटनाशक औषधि उत्पादन, लुब्रिकेटीङ्ग तेल उत्पादन, फोहोर मैला संकलन, प्रशोधन तथा इलेक्ट्रोप्लेटिङ्ग, फोटो प्रोसेसिङ्ग, रबर, सिन्थेतिक, प्लास्टिक, सिसा, पारोसँग सम्बन्धित कार्यहरु,
(ङ) जलस्रोत, वायु, सौर्यशक्ति, कोइला, प्राकृतिक तेल वा ग्याँस, बायोग्यास तथा त्यस्तै अन्य स्रोतबाट ऊर्जा पैदा गर्ने र त्यसको प्रसारण वा वितरणसँग सम्बन्धित कार्यहरु,
(च) खानी, खनिज पदार्थ, प्राकृतिक तेल वा ग्यासको उत्खनन, प्रशोधन तथा वितरणसँग सम्बन्धित कार्यहरु,
(छ) रिक्सा वा ठेलागाडा,
(ज) कटिङ्ग मेसिन जस्ता कार्यहरु,
(झ) जमिनमुनी, पानीमुनी र धेरै उँचाईमा चढेर गर्नु पर्ने कार्यहरु,
$\text{v}$ मिति २०८१।०१।३१ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा थपिएको ।
(झ१) ईँट्टाभट्टा र ईँट्टा उत्पादनसँग सम्बन्धित सम्पूर्ण कार्यहरू,
(झ२) ढुङ्गा फुटाउने, पहाड वा खोलाबाट ढुङ्गा निकाल्ने, ढुङ्गा तथा खानी विष्फोट गर्ने, रुख काट्ने, काठ सङ्कलन, काठका मुढाहरु लोड अनलोड गर्ने, जोखिमयुक्त उचाइमा जडीबुटी सङ्कलन गर्ने, खनिजको लोड र अनलोडसँग सम्बन्धित कार्यहरू,
(झ३) भारी धातुको प्रयोग (सिसा जस्ता क्याड्मियम आदि) तथा हस्तकला विशेष गरी धातुको मूर्तिको उत्पादनसँग सम्बन्धित कार्यहरू र कम तापक्रममा गरिने कार्यहरू,
(झ४) औषधजन्य उत्पादन, रङ्ग र रसायनको मिश्रण गर्ने, तताउने, भर्ने र डिस्पोजल गर्ने काम, कीटनाशक विषादी औषधजन्य स्प्रे गरेको तीन दिन भित्र बाली लगाउने तथा सङ्कलन गर्ने कार्यहरू,
(झ५) अटोमोबाइल लगायत बिजुलीबाट चल्ने उपकरण सहित मेसिनहरुको मर्मत तथा सरसफाइसँग सम्बन्धित कार्यहरू,
(झ६) प्रत्यक्ष लडाइँ गर्ने, जासुसी गर्ने वा सोको लागि सहयोग गर्ने कार्यहरू,
(झ७) पैतृक ऋण चुक्ताका लागि विद्यालयबाट वंचित हुने गरी आमा बाबुको स्वीकृति विना घरायसी काममा लगाउन नपाइने कार्यहरू,
(ञ) रसायनिक पदार्थहरुसँग सम्पर्क हुने कार्यहरू, र
(ट) प्रचलित कानून बमोजिम तोकिएको अन्य जोखिमपूर्ण कार्यहरू ।