नेपाल रेलवे ऐन, २०७९
नेपाल राजपत्रमा प्रकाशित मिति २०७९।०३।३१
संवत् २०७९ सालको ऐन नं. १५ रेलवे सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना: नेपालमा रेलवेको विकास र विस्तार गर्न तथा सुरक्षित, स्तरीय, नियमित र भरपर्दो रूपमा रेलवे सेवाको सञ्चालन गर्ने, गराउने सम्बन्धमा तत्काल कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, सङ्घीय संसदले यो ऐन बनाएको छ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम "नेपाल रेलवे ऐन, २०७९" रहेको छ। (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,- (क) "अधिकारपत्र" भन्नाले दफा २३ को उपदफा (२) बमोजिम जारी गरिएको यात्रा अधिकारपत्र सम्झनु पर्छ। (ख) "ढुवानी" भन्नाले रेलद्वारा गरिने यात्रीगुण्टा वा मालसामानको ढुवानी सम्झनु पर्छ। (ग) "ढुवानी शुल्क" भन्नाले यात्रीगुण्टा वा मालसामानको ढुवानीमा लगाइएको शुल्क सम्झनु पर्छ र सो शब्दले मालसामान लोड, अनलोड वा स्थानान्तरण गर्दा कुनै शुल्क लाग्ने भएमा सो शुल्कलाई समेत जनाउँछ। (घ) "तोकिएको" वा "तोकिए बमोजिम" भन्नाले यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ। (ङ) "प्रापक (कन्साइनी)" भन्नाले रेलवे रसिदमा प्रापक भनी जनाइएको व्यक्ति सम्झनु पर्छ।
(च) "प्रेषक (कन्साइनर)" भन्नाले रेल्वे रसिदमा प्रेषक भनी जनाइएको व्यक्ति सम्झनु पर्छ र सो शब्दले प्रेषकको रूपमा ढुवानीका लागि बोर्डलाई मालसामान जिम्मा लगाउने व्यक्तिलाई समेत जनाउँछ।
(छ) "बोर्ड" भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल रेल्वे बोर्ड सम्झनु पर्छ।
(ज) "भाडा" भन्नाले यात्रीलाई रेल्वे सेवा उपलब्ध गराए बापत लिइने भाडा रकम सम्झनु पर्छ।
(झ) "भाडा तथा शुल्क (ट्याररफ) किताब" भन्नाले दफा १४ बमोजिमको रेल्वेको भाडा तथा शुल्क (ट्याररफ) किताब सम्झनु पर्छ।
(ञ) "मन्त्रालय" भन्नाले नेपाल सरकारको रेल्वे विषय हेर्ने मन्त्रालय सम्झनु पर्छ।
(ट) "मालसामान" भन्नाले कन्टेनर, प्यालेट, जीवजन्तु वा अन्य कुनै मालवस्तु सम्झनु पर्छ र सो शब्दले कुनै जीवजन्तु वा मालवस्तुलाई एकत्रित गरी ढुवानी गर्नको लागि प्रयोग गरिने यस्तै प्रकारका साधन वा संयन्त्रलाई समेत जनाउँछ।
(ठ) "यात्री" भन्नाले टिकट वा अधिकारपत्र लिई रेलको माध्यमबाट यात्रा गर्ने व्यक्ति सम्झनु पर्छ।
(ड) "यात्रीगुण्टा" भन्नाले यात्राको सिलसिलामा यात्रीले आफैँसँग लगेको मालसामान सम्झनु पर्छ र सो शब्दले डिटान गरी बोर्डलाई जिम्मा लगाइएको यात्रीगुण्टालाई समेत जनाउँछ।
(ढ) "रेल" भन्नाले यन्त्रको सहायताबाट लिकमा चल्ने सार्वजनिक सवारी साधन सम्झनु पर्छ र सो शब्दले मेट्रो रेल तथा मोनो रेललाई समेत जनाउँछ।
(ण) "रेल्वे" भन्नाले यात्रीको आवतजावत गर्ने वा यात्रीगुण्टा वा मालसामानको ढुवानी गर्ने रेल वा त्यसको कुनै भाग सम्झनु पर्छ र सो शब्दले देहायका वस्तु, संयन्त्र, संरचना वा साधनलाई समेत जनाउँछ:- (१) रेल्वेसँग सम्बन्धित जमिन, रुख, सिमाना जनाउने चिन्ह, पर्खाल, (२) लिक वा त्यस्तो लिकको कुनै हिस्सा र सो लिकमाथि चल्ने रेल, इन्जिन र तत्सम्बन्धी सबै सामान, (३) रेल्वेको प्रयोजनको लागि प्रयोग गरिने साइडिङ्ग, यार्ड र शाखा,
(४) रेल्वेको प्रयोजनको लागि प्रयोग गरिने सबै किसिमका विद्युत आपूर्ति र वितरणको लागि निर्माण गरिएको संयन्त्र, (५) रेल्वेको प्रयोजनको लागि निर्माण गरिएका रोलिङ्ग स्टक, स्टेशन, कार्यालय, गोदाम, कार्यशाला, अस्पताल, सुरक्षा गृह, कारखाना, यन्त्र तथा औजार, सडक तथा गल्ली, निरीक्षण कोठा, विश्राम गृह, पानीधारा, पानी आपूर्ति यन्त्र, कर्मचारी आवास, यात्री भोजन गृह, कर्मचारीका परिवारका लागि स्थापना गरिएका स्कुल र अन्य निर्माण संरचना, वा (६) कुनै सडकमा रेल्वेको प्रयोजनको लागि प्रयोगमा ल्याइएका सवारी साधन। (त) "रेल्वे प्रशासक" भन्नाले दफा ५६ बमोजिम नियुक्त भएको रेल्वे प्रशासक सम्झनु पर्छ। (थ) "रेल्वे रसिद" भन्नाले बोर्डले ढुवानीको लागि मालसामान स्वीकार गरेपछि जारी गर्ने रसिद सम्झनु पर्छ। (द) "रेल्वे स्टेशन" भन्नाले रेल रोकेर यात्री तथा मालसामान ओराल्ने र चढाउने स्थान सम्झनु पर्छ । (ध) "विलम्ब शुल्क" भन्नाले रेल्वेभित्रको कुनै ठाउँमा मालसामान राख्न दिइएको समय व्यतीत भएपछि सो मालसामान राखे बापत लाग्ने शुल्क सम्झनु पर्छ। (न) "विवरणपत्र (फर्वाडिङ्ग नोट)" भन्नाले मालसामानको ढुवानीको लागि दफा ३८ बमोजिम निर्धारण गरिएको विवरणपत्र सम्झनु पर्छ। (प) "स्टेशन कार्यालय" भन्नाले बोर्डको स्टेशन कार्यालय सम्झनु पर्छ। (फ) "स्टेशन प्रमुख" भन्नाले स्टेशन कार्यालयको प्रमुख भई काम गर्न तोकिएको बोर्डको कर्मचारी सम्झनु पर्छ।
परिच्छेद–२
बोर्डको स्थापना तथा काम, कर्तव्य र अधिकार
३. बोर्डको स्थापना: (१) नेपालमा रेल्वेको विकास र विस्तार गरी सुरक्षित, स्तरीय, नियमित र भरपर्दो रूपमा रेल्वे सेवा सञ्चालन गर्ने, गराउने काम समेतको लागि नेपाल रेल्वे बोर्ड स्थापना गरिएको छ।
(२) बोर्डको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र बोर्डले आवश्यकता अनुसार नेपालभित्र शाखा कार्यालय वा स्टेशन कार्यालय खोल्न सक्नेछ।
४. बोर्ड स्वायत्त र संगठित संस्था हुने: (१) बोर्ड अविच्छिन्न उत्तराधिकारवाला एक स्वायत्त र संगठित संस्था हुनेछ र कानूनी व्यक्तित्व प्राप्त गर्नेछ।
(२) बोर्डले कानूनी व्यक्तिको हैसियतले प्रचलित कानून बमोजिम अधिकारको प्रयोग, कर्तव्यको पालना र दायित्व निर्वाह गर्न सक्नेछ।
५. बोर्डको सञ्चालक समिति: (१) बोर्डको तर्फबाट गर्नु पर्ने काम कारबाहीको लागि बोर्डमा एक सञ्चालक समिति रहनेछ।
(२) बोर्डको सञ्चालक समितिको गठन देहाय बमोजिम हुनेछ:-
(क) नेपाल सरकारको रेल्वे विषय हेर्ने मन्त्री वा राज्य मन्त्री - अध्यक्ष (ख) मन्त्रालयको सचिव - सदस्य (ग) सचिव वा निजले तोकेको सहसचिव, अर्थ मन्त्रालय - सदस्य (घ) सचिव वा निजले तोकेको सहसचिव, गृह मन्त्रालय - सदस्य (ङ) मान्यताप्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउण्टेण्ट, वाणिज्य, व्यवस्थापन वा यातायात व्यवस्थापन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेका र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेका व्यक्तिहरूमध्येबाट मन्त्रालयले मनोनयन गरेका कम्तीमा एकजना महिला सहित दुईजना - सदस्य (च) मान्यताप्राप्त शिक्षण संस्थाबाट सिभिल वा इलेक्ट्रिकल वा मेकानिकल इन्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरेका र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेका व्यक्तिहरूमध्येबाट मन्त्रालयले मनोनयन गरेका कम्तीमा
एकजना महिला सहित दुईजना - सदस्य
(छ) रेल्वे प्रशासक - सदस्य-सचिव
(३) देहायको कुनै व्यक्ति उपदफा (२) को खण्ड (ङ) र (च) बमोजिमको सदस्यमा मनोनयन हुन योग्य हुने छैन :-
(क) गैर नेपाली नागरिक,
(ख) पच्चीस वर्ष उमेर पूरा नभएको,
(ग) बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकी प्रचलित कानून बमोजिम कालो सूचीमा परेको,
(घ) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा ओसारपसार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको वा अन्य कुनै फौजदारी कसुरमा तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको,
(ङ) कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको, वा
(च) कुनै लाभको पद धारण गरेको।
स्पष्टीकरण: यस खण्डको प्रयोजनको लागि "लाभको पद" भन्नाले सरकारी कोषबाट पारिश्रमिक वा सुविधा पाउने पद सम्झनु पर्छ।
(४) उपदफा (२) को खण्ड (ङ) र (च) बमोजिम मनोनीत सदस्यको पदावधि चार वर्षको हुनेछ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्रालयले देहायको अवस्थामा उपदफा (२) को खण्ड (ङ) र (च) बमोजिम मनोनीत सदस्यलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ:-
(क) आफ्नो पर्दीय जिम्मेवारी पूरा नगरेमा,
(ख) बोर्डको हित विपरीत कुनै काम गरेमा,
(ग) खराब आचरणमा लागेमा, वा
(घ) निजमा कार्य क्षमताको अभाव भएमा।
(६) उपदफा (५) बमोजिम कुनै सदस्यलाई पदबाट हटाउनु अघि निजलाई आफ्नो सफाइ पेश गर्न मनासिब मौका दिनु पर्नेछ।
(७) उपदफा (२) को खण्ड (ङ) र (च) बमोजिम मनोनीत सदस्यको पद देहायको अवस्थामा रिक्त हुनेछ:-
(क) निजले आफ्नो पदबाट राजीनामा दिएमा,
(ख) निजको पदावधि पूरा भएमा,
(ग) निजमा उपदफा (३) बमोजिमको अयोग्यता भएमा,
(घ) निजलाई उपदफा (५) बमोजिम सदस्य पदबाट हटाइएमा, वा
(ङ) निजको मृत्यु भएमा।
६. बोइँडोको काम, कर्तव्य र अधिकार: यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त बोइँडोको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) रेलवे तथा रेलवे सेवाको विकास तथा विस्तारको लागि अवलम्बन गर्नु पर्ने नीतिको सम्बन्धमा नेपाल सरकारलाई आवश्यक सुझाव दिने,
(ख) रेलवे सेवा सञ्चालनको लागि आवश्यक संरचनाको निर्माण सम्बन्धी कार्य गर्ने, गराउने,
(ग) सुरक्षित, स्तरीय, नियमित र भरपर्दो रूपमा रेलवे सेवाको सञ्चालन गर्ने, गराउने,
(घ) रेलवे सेवा विस्तार तथा सञ्चालनको सम्बन्धमा प्रदेश सरकार तथा स्थानीय तहसँग आवश्यक समन्वय गर्ने,
(ङ) रेलवे सञ्चालनसँग सम्बन्धित संरचनाको मर्मत सम्भार सम्बन्धी कार्य गर्ने, गराउने,
(च) बोइँडोको वार्षिक योजना, कार्यक्रम तथा बजेट स्वीकृत गर्ने,
(छ) बोइँडो अन्तर्गत सञ्चालित योजना तथा कार्यक्रम अनुगमन र मूल्याङ्कन गर्ने, गराउने, र
(ज) तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने।
७. बोइँडोको बैठक र निर्णय: (१) बोइँडोको बैठक तीन महिनामा कम्तीमा एक पटक बस्नेछ।
(२) बोइँडोको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
(३) बोर्डको सदस्य-सचिवले बैठकमा छलफल हुने विषयको सूची बैठक बस्नुभन्दा कम्तीमा अठचालीस घण्टा अगावै सबै सदस्यलाई उपलब्ध गराउनु पर्नेछ।
(४) बोर्डको कुल सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा बोर्डको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ।
(५) बोर्डको अध्यक्षले बोर्डको बैठकको अध्यक्षता गर्नेछ।
(६) बोर्डको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बोर्डको बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ।
(७) बोर्डले बोर्डको कामसँग सम्बन्धित कुनै विज्ञलाई बोर्डको बैठकमा भाग लिन आमन्त्रण गर्न सक्नेछ।
(८) बोर्डको बैठकको निर्णय बोर्डको बैठकको अध्यक्षता गर्ने व्यक्तिबाट प्रमाणित गरी सदस्य-सचिवले सुरक्षित साथ राख्नु पर्नेछ।
(९) बोर्डको बैठक सम्बन्धी अन्य कार्यविधि बोर्ड आफैँले निर्धारण गरे बमोजिम हुनेछ।
(१०) बोर्डको अध्यक्ष तथा सदस्यले बोर्डको बैठकमा भाग लिए बापत तोकिए बमोजिमको बैठक भत्ता पाउने छन्।
८. बैठकमा भाग लिन नपाउने: (१) बोर्डको बैठकमा छलफल हुने कुनै विषयमा निजी स्वार्थ भएको बोर्डको अध्यक्ष र सदस्यले सो विषयमा हुने बैठकमा भाग लिन पाउने छैन।
(२) बैठकमा छलफल हुने विषयको सूची प्राप्त भएपछि बोर्डको अध्यक्ष वा कुनै सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष स्वार्थ रहेको विषय भएमा त्यस्तो स्वार्थ रहेको कुराको स्वघोषणा गरी आफू उक्त बैठकमा भाग नलिने जानकारी बोर्डको सदस्य-सचिवलाई गराउनु पर्नेछ।
(३) दफा ७ मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिमको अवस्था परी बोर्डको अध्यक्षले बैठकमा भाग लिन नपाउने अवस्थामा मन्त्रालयको सचिवले बोर्डको बैठकको अध्यक्षता गर्नेछ।
नेपाल सरकारको अधिकार
९. आदेश वा निर्देशन दिन सक्ने: (१) नेपाल सरकारले रेल तथा रेलवे सेवा सञ्चालन गर्ने सम्बन्धमा बोर्डलाई आवश्यक निर्देशन दिन सक्नेछ। (२) रेलवेको कुनै सम्पत्ति नोक्सान भएको, हुन लागेको वा त्यस्तो सम्पत्ति उपभोग गर्नमा अवरोध उत्पन्न भएको देखिएमा नेपाल सरकारले त्यस्तो कार्य रोक्न बोर्ड, कुनै व्यक्ति, संस्था वा निकायलाई आदेश दिन सक्नेछ। (३) बोर्डले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गरेमा वा गर्न लागेमा नेपाल सरकारले त्यस्तो काम रोक्न आदेश दिन सक्नेछ। (४) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी बोर्डलाई तिर्नु बुझाउनु पर्ने कुनै वा सबै भाडामध्ये तोकिएको अवस्थामा त्यस्तो भाडा अपाङ्गता भएका व्यक्ति, कुनै खास व्यक्ति वा तोकिए बमोजिमका समूहका व्यक्तिले तिर्न, बुझाउन नपर्ने वा कम तिर्नु पर्ने गरी छुट वा सहुलियत दिन सक्नेछ।
१०. विदेशी भूमिमा रेलवे सेवा सञ्चालन: (१) नेपाल सरकारले एक वा एकभन्दा बढी विदेशी राष्ट्रको भूमिसम्म वा विदेशी राष्ट्रले नेपालको भूमिसम्म वा नेपालको भूमि भएर अर्को विदेशी राष्ट्रमा जाने गरी रेलवे सेवा सञ्चालन गर्ने वा गराउने सम्बन्धमा पारस्परिकताको आधारमा आवश्यक व्यवस्था गर्न सक्नेछ। (२) उपदफा (१) को प्रयोजनको लागि नेपाल सरकारले सम्बन्धित विदेशी राष्ट्रसँग सम्झौता गरी रेलवे सेवा सञ्चालनका आधार, शर्त, तरिका तथा कार्यविधि निर्धारण गर्न सक्नेछ। (३) उपदफा (२) बमोजिम विदेशी राष्ट्रसँग सम्झौता भई विदेशी राष्ट्रको रेलवे सेवा नेपालभित्र सञ्चालन हुने भएमा सो रेलवे सेवा नेपालभित्र सञ्चालन हुँदाका बखत प्रचलित नेपाल कानूनको व्यवस्था लागू हुनेछ।
११. सुरक्षा इकाइ गठन गर्न सक्ने: (१) बोर्डले अनुरोध गरेमा नेपाल सरकारले रेलवेको सुरक्षाको लागि छुट्टै सुरक्षा इकाइ गठन गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिमको सुरक्षा इकाइ गठन नभएसम्म नेपाल सरकारले रेलवेको सुरक्षाको व्यवस्था गर्नेछ।
(३) उपदफा (१) बमोजिम गठन हुने सुरक्षा इकाइ सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
परिच्छेद-४ रेलवेको जाँच तथा भाडा निर्धारण
१२. रेलवे सञ्चालन गर्न जाँचबुझ गराउनु पर्ने: बोर्डले रेलवे सञ्चालन गर्न प्राविधिक तथा सुरक्षाको दृष्टिकोणले उपयुक्त भए वा नभएको सम्बन्धमा विशेषज्ञद्वारा समय-समयमा आवश्यक जाँचबुझ गराउनु पर्नेछ।
१३. भाडा तथा शुल्क तोक्ने: (१) बोर्डले यात्रीको भाडा र यात्रीगुण्टा, मालसामानको ढुवानी शुल्क तथा विलम्ब शुल्क तोक्नेछ। (२) उपदफा (१) बमोजिम बोर्डले विलम्ब शुल्क लाग्ने अवस्था तोकी सो प्रयोजनको लागि वस्तुको वर्गीकरण गर्नेछ। (३) उपदफा (१) बमोजिम तोकिने भाडा र शुल्क सम्बन्धी विवरण भाडा तथा शुल्क (ट्याररफ) किताबमा उल्लेख गर्नु पर्नेछ। (४) उपदफा (१) बमोजिम भाडा तथा शुल्क तोक्ने आधार तोकिए बमोजिम हुनेछ।
१४. भाडा तथा शुल्क (ट्याररफ) किताबको व्यवस्था: बोर्डले भाडा तथा शुल्क सम्बन्धी व्यवस्थालाई नियमित र व्यवस्थित गर्न भाडा तथा शुल्क (ट्याररफ) किताबको व्यवस्था गर्नेछ।
१५. समय तालिका र भाडाको दर सार्वजनिक गर्नु पर्ने: बोर्डले रेल आइपुग्ने तथा प्रस्थान गर्ने समय तालिका र एउटा स्टेशनबाट अर्को स्टेशनसम्म पुग्न लाग्ने भाडा दर त्यस्तो भाडा दर लागू हुने दिनभन्दा कम्तीमा सात दिनअघि जानकारीको लागि सार्वजनिक गर्नु पर्नेछ।
परिच्छेद-५ चालक अनुमतिपत्र
१६. अनुमतिपत्र नलिई रेल चलाउन नहुने: कसैले रेल चालक वा सहचालक अनुमतिपत्र प्राप्त नगरी रेल चलाउन हुँदैन।
१७. रेल चालक वा सहचालकको अनुमतिपत्र: (१) रेल चालक वा सहचालकको अनुमतिपत्र लिन चाहने व्यक्तिले देहायका कागजात संलग्न गरी तोकिए बमोजिमको ढाँचामा बोर्डको कुनै कार्यालय मार्फत रेलवे प्रशासक समक्ष निवेदन दिनु पर्नेछ:-
(क) नागरिकताको प्रमाणपत्र वा सम्बन्धित देशले जारी गरेको परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, (ख) दफा १८ को उपदफा (१) को खण्ड (ख) बमोजिम प्राप्त प्रमाणपत्रको प्रतिलिपि, र (ग) नेपाल सरकारद्वारा मान्यताप्राप्त चिकित्सकले दफा १८ को उपदफा (२) बमोजिमका विषयमा निजको स्वास्थ्य परीक्षण गरी दिएको निरोगताको प्रमाणपत्र। (२) उपदफा (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा रेल चालक वा सहचालकको अनुमतिपत्र दिन उपयुक्त देखेमा रेलवे प्रशासकले तोकिए बमोजिम रेल चालक वा सहचालकको अनुमतिपत्र दिनेछ। (३) रेल चालक वा सहचालकको अनुमतिपत्रको नवीकरण र खारेजी सम्बन्धी व्यवस्था तथा अनुमतिपत्र जारी गर्दा वा नवीकरण गर्दा लाग्ने दस्तुर तोकिए बमोजिम हुनेछ।
१८. रेल चालक वा सहचालकको योग्यता: (१) देहायको योग्यता पूरा गरेको व्यक्ति दफा १७ बमोजिम चालक वा सहचालकको अनुमतिपत्र लिनको लागि योग्य हुनेछ:- (क) मान्यताप्राप्त शिक्षण संस्थाबाट मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स वा अटोमोबाइल विषयमा कम्तीमा डिप्लोमा तह उत्तीर्ण गरेको, (ख) मान्यताप्राप्त प्रशिक्षण संस्थाबाट रेल चालक वा सहचालकको तालिम लिई रेल चलाउन योग्य भएको प्रमाणपत्र प्राप्त गरेको, (ग) एक्काइस वर्ष उमेर पूरा भई चालिस वर्ष उमेर ननाघेको, र (घ) रेल चालकको हकमा कम्तीमा तीन वर्ष रेल सहचालकको रूपमा काम गरेको। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको व्यक्तिले रेल चालक वा सहचालकको अनुमतिपत्र प्राप्त गर्न सक्ने छैन:- (क) शारीरिक वा मानसिक अस्वस्थताको कारण रेल चलाउन योग्य नभएको, (ख) आँखाको देख्ने शक्ति कमजोर भई चस्मा प्रयोग गर्दा पनि सामान्य तवरले देख्ने शक्ति ठीक नभएको, (ग) साधारण ध्वनी वा आवाज सुन्न वा सङ्केत देख्न र सुन्न नसक्ने अवस्था भएको,
(घ) रातो, हरियो, पहेँलो जस्ता रङ्गहरू तुरुन्त छुट्याउन नसक्ने गरी दृष्टिदोष (कलर ब्लाइन्डनेस) भएको, (ङ) रतन्धो भएको, वा (च) हात वा खुट्टा शक्तिहीन भई काम दिन नसक्ने भएको।
१९. विदेशी चालक अनुमतिपत्रको मान्यता: कसैले विदेशी राष्ट्रबाट रेल चालक वा सहचालक अनुमतिपत्र प्राप्त गरेको रहेछ भने त्यस्तो व्यक्तिले नेपालमा रेल चलाउन दफा १७ बमोजिम निवेदन दिएमा रेलवे प्रशासकले रेल चालक वा सहचालकको अनुमतिपत्रको लागि लाग्ने दस्तुर लिई यस ऐन बमोजिम रेल चालक वा सहचालकको अनुमतिपत्र दिन सक्नेछ।
२०. अन्य व्यक्तिलाई अनुमतिपत्र दिन नहुने: रेल चालक वा सहचालकले रेल चलाउनको निमित्त आफ्नो अनुमतिपत्र अन्य व्यक्तिलाई दिनु हुँदैन।
२१. मादक वा अन्य लागू पदार्थ सेवन गरी रेल चलाउन नहुने: रेल चालक र सहचालकले मादक वा अन्य कुनै प्रकारको लागू पदार्थ सेवन गरी रेल चलाउनु हुँदैन।
परिच्छेद-६ टिकट तथा अधिकारपत्र
२२. टिकट वा अधिकारपत्रबिना यात्रा गर्न नहुने: कसैले टिकट वा अधिकारपत्र नलिई रेलवे प्लेटफर्ममा प्रवेश गर्न वा रेलबाट यात्रा गर्नु हुँदैन।
२३. टिकट वा अधिकारपत्र जारी गर्ने: (१) रेलबाट यात्रा गर्न चाहने व्यक्तिलाई यात्रा बापत लाग्ने भाडा रकम बुझाएपछि बोर्डले टिकट जारी गर्नेछ। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले कुनै व्यक्तिले रेलबाट यात्रा गर्न भाडा तिर्नु नपर्ने गरी तोकिए बमोजिम अधिकारपत्र जारी गर्न सक्नेछ। (३) यात्रीले रेलबाट यात्रा गर्न लाग्ने भाडा तिरी टिकट खरिद गर्न वा सो प्रयोजनको लागि अधिकारपत्र प्राप्त गर्नु पर्नेछ।
(४) बोर्डले यात्रीको सुविधाको लागि रेलवे स्टेशनमा अटोमेटिक टिकट भेन्डिङ मेसिन स्थापना गरेको भए यात्रीले गन्तव्य स्टेशनसम्मको लाग्ने भाडा तिरी त्यस्तो मेसिनबाट टिकट लिन सक्नेछ। (५) रेलवे टिकटको ढाँचा, रेलवे सवारीको स्तर वा श्रेणी बोर्डले निर्धारण गरे बमोजिम हुनेछ।
२४. यात्राको लागि इन्कार गर्न सकिने: (१) बोर्डले देहायको अवस्थाका कुनै व्यक्तिलाई रेलबाट यात्रा गर्न दिनको लागि इन्कार गर्न सक्नेछ:- (क) नेपाल सरकार वा प्रदेश सरकारले सङ्क्रामक रोग सम्बन्धी प्रचलित कानून बमोजिम यात्रा गर्न रोक लगाएको कुनै रोग लागेको, (ख) रेलबाट यात्रा गर्दा निजको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भनी चिकित्सकले सिफारिस गरेको, (ग) मादक पदार्थ वा लागू औषधको सेवन गरेको कारण निजलाई यात्रामा समावेश गराउँदा निजबाट रेलमा अशान्ति मच्चिने वा अन्य यात्रीलाई हानि नोक्सानी वा असुविधा उत्पन्न हुन सक्ने सम्भावना भएको, (घ) रेलको सुरक्षाको लागि खटिएका सुरक्षाकर्मी बाहेक अन्य हातहतियार बोकेको, वा (ङ) रेलवेको सम्पत्ति नोक्सानी गर्ने वा यात्रामा अवरोध पुर्याउने शङ्कास्पद क्रियाकलाप देखिएको। (२) उपदफा (१) को खण्ड (क) र (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले आवश्यकता अनुसार सो खण्डमा उल्लिखित व्यक्तिलाई अरु व्यक्तिबाट अलगै राखी यात्रा गर्न अनुमति दिन सक्नेछ। (३) उपदफा (१) को खण्ड (ग), (घ) वा (ङ) मा उल्लिखित कुनै व्यक्तिले रेलमा यात्रा गरेको पाइएमा टिकट जाँचकीले निजलाई जुनसुकै बखत नजिकको रेलवे स्टेशनमा रेलबाट ओराल्न सक्नेछ।
२५. निर्धारित बाटोबाट आवत-जावत गर्नु पर्ने: यात्रीले रेल वा रेलवे स्टेशनमा आवत-जावत गर्दा सो प्रयोजनको लागि निर्धारित बाटोबाट मात्र आवत-जावत गर्नु पर्नेछ।
२६. टिकट रद्द तथा रकम फिर्ता: रेलको टिकट रद्द गर्ने तथा रद्द गरिएको टिकटको भाडा बापतको रकम फिर्ता गर्ने सम्बन्धी व्यवस्था भाडा तथा शुल्क (ट्याररफ) किताबमा उल्लेख गरे बमोजिम हुनेछ।
२७. टिकट तथा अधिकारपत्र जाँच गर्ने: (१) बोर्डले रेलमा यात्रा गर्ने कुनै व्यक्तिले टिकट वा अधिकारपत्र प्रयोग गरी यात्रा गरे वा नगरेको सम्बन्धमा जाँच गर्न टिकट जाँचकीको व्यवस्था गर्नेछ। (२) यात्रीले रेलबाट यात्रा शुरु भएदेखि गन्तव्य अन्त्य नभएसम्म टिकट वा अधिकारपत्र आफ्नो साथमा राख्नु पर्नेछ र टिकट जाँचकीले मागेको बखत त्यस्तो टिकट वा अधिकारपत्र तुरुन्त देखाउनु पर्नेछ। (३) विदेशीले रेलबाट यात्रा गर्दा टिकट वा अधिकारपत्रको अतिरिक्त राहदानी वा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) समेत आफ्नो साथमा राख्नु पर्नेछ। (४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपालमा यात्रा गर्न भिसा आवश्यक नपर्ने विदेशी नागरिकको हकमा सम्बन्धित मुलुकको सरकारी निकायले जारी गरेको परिचयपत्र साथमा राखी रेलबाट यात्रा गर्न सकिनेछ।
२८. भाडा असुल गर्ने: (१) टिकट जाँचकीले देखाएको अवस्थामा रेलबाट यात्रा गर्ने व्यक्तिसँग भाडा बापत देखाए बमोजिमको रकम र टिकट वा अधिकारपत्र नलिए बापत लाग्ने भाडा बराबरको थप रकम तत्काल असुल गर्नेछ:- (क) कुनै व्यक्तिले टिकट वा अधिकारपत्र नलिई वा प्रयोग भइसकेको टिकट वा अधिकारपत्र प्रयोग गरी यात्रा गरेको देखिएमा निजले यात्रा प्रारम्भ गरेको ठाउँदेखि निजको गन्तव्यसम्मको लाग्ने भाडा, (ख) कुनै व्यक्तिले टिकट वा अधिकारपत्रमा उल्लिखित श्रेणीभन्दा माथिल्लो श्रेणीमा यात्रा गरेको देखिएमा निजले तिर्नु पर्ने वास्तविक भाडामध्ये निजले तिरेको वा अधिकारपत्र बमोजिम सुविधा पाएको भाडा कटाई बाँकी भाडा। (२) उपदफा (१) बमोजिम पूरा रकम नबुझाउने वा बुझाउन इन्कार गर्ने यात्रीलाई टिकट जाँचकीले जुनसुकै बखत रेलवे स्टेशनमा रेलबाट ओराल्न सक्नेछ। (३) उपदफा (२) बमोजिम रेलवे स्टेशनमा ओरालिएको यात्रीलाई टिकट जाँचकीले सुरक्षाकर्मीको जिम्मा लगाई सोको लिखित जानकारी स्टेशन प्रमुखलाई दिनु पर्नेछ।
(४) उपदफा (३) बमोजिम प्राप्त भएको लिखित जानकारी जाँचबुझ गर्दा मनासिब देखिएमा स्टेशन प्रमुखले भाडा नतिर्ने यात्रीलाई भाडा तथा सो बराबरको थप रकम बुझाउन आदेश गरी भाडा रकमको पाँच गुणा रकम जरिवाना गर्न सक्नेछ। (५) उपदफा (४) बमोजिम स्टेशन प्रमुखले गरेको जरिवानामा चित्त नबुझ्ने व्यक्तिले सो निर्णय भएको मितिले पैँतीस दिनभित्र रेल्वे प्रशासक समक्ष उजुरी दिन सक्नेछ। (६) उपदफा (५) बमोजिम परेको उजुरीमा रेल्वे प्रशासकले गरेको निर्णय अन्तिम हुनेछ।
परिच्छेद-७ यात्रीगुण्टाको ढुवानी र क्षतिपूर्ति
२९. यात्रीगुण्टाको ढुवानी: (१) कुनै यात्रीले भाडा तथा शुल्क (ट्यारिफ) किताबमा उल्लेख गरिए बमोजिमको ढुवानी शुल्क तिरी बोर्डमा यात्रीगुण्टा दर्ता गरी रेलबाट यात्रीगुण्टा ढुवानी गराउन सक्नेछ। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यात्रीले तोकिए बमोजिमको ढुवानी शुल्क नलाग्ने गरी छुट दिइएका वस्तु ढुवानी शुल्क नतिरी यात्रीगुण्टाको रूपमा आफ्नो साथमा लैजान पाउनेछ। (३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै वस्तु यात्रीगुण्टाको रूपमा ढुवानी गर्न सकिने छैनः- (क) ढुवानीको लागि प्रचलित कानून बमोजिम प्रतिबन्ध लगाइएका मालसामान वा वस्तु, (ख) बोर्डले रेल्वेबाट यात्रीगुण्टाको रूपमा ढुवानीको लागि खतरापूर्ण न भनी निर्धारण गरेको मालसामान वा वस्तु, (ग) बोर्डले निर्धारण गरेको आकार र तौलभन्दा बढीको मालसामान वा वस्तु, (घ) प्रचलित कानून बमोजिम भन्सार महसुल लाग्नेमा त्यस्तो महसुल नतिरिएको कारण सम्बन्धित निकायले ढुवानी गर्न रोक लगाएको मालसामान वा वस्तु, र (ङ) तोकिए बमोजिमका जीवजन्तु वा अन्य वस्तु। (४) उपदफा (१) बमोजिम यात्रीगुण्टा दर्ता गर्दा बोर्डले निर्धारण गरे बमोजिमको ढाँचामा दर्ता रसिद जारी गर्नु पर्नेछ।
(५) उपदफा (४) बमोजिम जारी गर्ने रसिदमा देहायका कुरा उल्लेख भएको हुनु पर्नेछः- (क) यात्रीगुण्टाको सङ्ख्या र सोको तौल, (ख) ढुवानीको लागि यात्रीगुण्टा जिम्मा लिएको मिति र समय, (ग) यात्रीगुण्टा चलान भएको र पुर्याउने स्थान वा स्टेशन, (घ) यात्रीगुण्टा बुझाउनको लागि निर्धारण गरिएको मिति, र (ङ) ढुवानी र शुल्क सम्बन्धी अन्य आवश्यक कुरा। (६) कुनै यात्रीले उपदफा (३) को खण्ड (क), (ख) वा (ङ) बमोजिमको कुनै वस्तु वा जीवजन्तु लुकाई छिपाई रेलबाट ढुवानी गरेको पाइएमा रेलवे कर्मचारीले तत्कालै आउने अघिल्लो स्टेशनमा त्यस्ता यात्री र वस्तु वा जीवजन्तु ओराली सो उपदफाको खण्ड (क) वा (ख) बमोजिमको त्यस्तो वस्तु ढुवानी गर्ने यात्रीलाई प्रचलित कानून बमोजिम कारबाहीको लागि सम्बन्धित अधिकारप्राप्त अधिकारीको जिम्मा लगाउनु पर्नेछ।
३०. यात्रीगुण्टा ढुवानीको लागि इन्कार गर्न सक्ने: दर्ता गरेको यात्रीगुण्टाको कुनै थानको प्याकिङ्ग त्रुटिपूर्ण भएको, राम्रोसँग प्याकिङ्ग नगरिएको वा क्षत भएको स्पष्ट देखिएमा बोर्डले त्यस्तो यात्रीगुण्टा ढुवानीका लागि इन्कार गर्न सक्नेछ।
३१. बोर्ड जिम्मेवार नहुने: यात्रीले बोर्ड समक्ष दर्ता नगरी आफ्नो साथमा लगेका यात्रीगुण्टा बोर्डका कर्मचारीको कारणबाट हानि नोक्सानी भएको अवस्थामा बाहेक अन्य कारणले भएको हानि नोक्सानी उपर बोर्ड जिम्मेवार हुने छैन।
३२. यात्रीगुण्टा सम्बन्धी दायित्व: (१) दर्ता भएको यात्रीगुण्टा ढुवानीको लागि स्वीकार गरिएको समयदेखि हस्तान्तरण नभएसम्म त्यस्तो यात्रीगुण्टा पूर्ण वा आंशिकरूपमा हराएको, क्षत भएको वा हस्तान्तरणमा ढिलाई भएको सम्बन्धमा बोर्ड जवाफदेही हुनेछ। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कारणबाट यात्रीगुण्टा हराएमा, क्षत भएमा वा हस्तान्तरणमा ढिलाई भएमा बोर्ड जवाफदेही हुने छैनः- (क) यात्रीको गल्तीको कारणले, (ख) बोर्डको गल्ती भएकोमा बाहेक यात्रीले दिएको आदेशको कारणले,
(ग) पूर्वघोषणा नगरिएका टुटफुट हुन सक्ने यात्रीगुण्टा भएको कारणले, वा (घ) बोर्डको काबुबाहिरको परिस्थिति उत्पन्न भई त्यस्तो परिस्थितिबाट बचाउ गर्न नसक्ने कारणले। (३) उपदफा (२) मा उल्लिखित कुनै कारणबाट यात्रीगुण्टा हराएको, क्षति भएको वा हस्तान्तरण गर्नमा ढिलाई भएको प्रमाण पुर्याउने भार बोर्डको हुनेछ।
३३. यात्रीगुण्टाको हस्तान्तरण: (१) यात्रीले दर्ता रसिद पेश गरी रकम बुझाउन बाँकी भए सो रकम बुझाएपछि मात्र स्टेशन प्रमुखले त्यस्तो यात्रीलाई यात्रीगुण्टा हस्तान्तरण गर्नेछ। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै यात्रीले दर्ता रसिद प्रस्तुत गर्न नसकेको अवस्थामा कुनै यात्रीगुण्टा निजको हो भन्ने कुरामा स्टेशन प्रमुख विश्वस्त भएमा निजलाई त्यस्तो यात्रीगुण्टा हस्तान्तरण गर्न सकिनेछ।
३४. यात्रीगुण्टा हराएको मानिने: (१) कुनै यात्रीले दर्ता भएको आफ्नो यात्रीगुण्टा पाउनको लागि सम्बन्धित स्टेशन प्रमुख समक्ष अनुरोध गरेको मितिले सात दिनभित्र त्यस्तो यात्रीगुण्टा निजलाई हस्तान्तरण नगरेमा वा कुनै अधिकारप्राप्त अधिकारीको जिम्मा नलगाएमा त्यस्तो यात्रीगुण्टा हराएको मानिनेछ। (२) उपदफा (१) बमोजिम हराएको पन्ध्र दिनभित्र यात्रीगुण्टा पाइएमा स्टेशन प्रमुखले सम्बन्धित यात्रीलाई तुरुन्त सूचना दिई त्यस्तो यात्रीगुण्टा बुझाउनु पर्नेछ। त्यसरी यात्रीगुण्टा बुझाएकोमा सो यात्रीले यात्रीगुण्टा बापत कुनै क्षतिपूर्ति लिएको भए सो रकम फिर्ता गर्नु पर्नेछ। (३) यात्रा गरेको मितिले तीस दिनभित्र सम्बन्धित यात्रीले यात्रीगुण्टा माग गर्न नआएमा तोकिएको प्रक्रिया पूरा गरी त्यस्तो यात्रीगुण्टामा बोर्डको स्वामित्व कायम गर्न सकिनेछ।
३५. यात्रीगुण्टा हराए, क्षति भए वा हस्तान्तरण गर्न ढिलाई भए बापतको क्षतिपूर्ति: (१) कुनै यात्रीगुण्टा पूरै वा आंशिकरूपमा हराएमा वा क्षति भएमा सो बापत बोर्डले सम्बन्धित व्यक्तिलाई तिर्नु पर्ने क्षतिपूर्ति देहाय बमोजिम हुनेछ :- (क) यात्रीगुण्टाको मूल्य घोषणा गरी ढुवानी गरेकोमा घोषित मूल्यको आधारमा, (ख) खण्ड (क) बमोजिम मूल्य घोषणा नगरिएकोमा त्यस्तो यात्रीगुण्टाको गन्तव्य स्थानको प्रचलित बजार मूल्यको आधारमा, र
(ग) खण्ड (ख) बमोजिम गन्तव्य स्थानको प्रचलित बजार मूल्य खुल्न नसकेमा त्यस्तो यात्रीगुण्टाको वास्तविक मूल्यको आधारमा। (२) उपदफा (१) को खण्ड (ख) वा (ग) बमोजिम मूल्य निर्धारण गर्दा त्यस्तो यात्रीगुण्टा दर्ता गर्दाको अवस्थामा रहेको यात्रीगुण्टाको किसिम र गुणस्तरलाई समेत आधार मानिनेछ। (३) कुनै यात्रीगुण्टा हराइ वा क्षति भई बोर्डले सोको क्षतिपूर्ति तिर्नु परेमा उपदफा (१) मा उल्लेखित क्षतिपूर्ति उपलब्ध गराई हराएको वा क्षति भएको यात्रीगुण्टाको ढुवानी शुल्क र अन्य शुल्क लिएको भए सो समेत फिर्ता गर्नु पर्नेछ। (४) कुनै यात्रीगुण्टाको हस्तान्तरण गर्दामा ढिलाई भएको कारणले कुनै नोक्सानी वा क्षति हुन गएमा बोर्डले त्यस्तो यात्रीगुण्टाको क्षति बराबरको रकम सम्बन्धित व्यक्तिलाई तिर्नु पर्नेछ। (५) कुनै यात्रीगुण्टाको आंशिक क्षति भएको र हस्तान्तरणमा ढिलाई समेत भएकोमा यात्रीगुण्टामा भएको क्षति वा ढिलाईको आधारमा क्षतिपूर्ति दाबी गर्न सकिनेछ। (६) काबुबाहिरको परिस्थितिमा बाहेक अन्य अवस्थामा यात्रीगुण्टा दर्ता रसिदमा उल्लेखित मितिभित्र सम्बन्धित स्टेशन प्रमुखले यात्रीगुण्टा हस्तान्तरण नगरी ढिलाई गरेमा यात्रीगुण्टाको हस्तान्तरण गर्निनु जमिन दर्दिन ढिलाई भएको हो सो दिनदेखि प्रत्येक यात्रीगुण्टाको प्रतिक्लो पचास रुपैयाँका दरले हुन आउने रकम क्षतिपूर्ति बापत सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ। तर यात्रीगुण्टा दर्ता गर्ने व्यक्ति यात्रीगुण्टा बुझाउनको लागि निर्धारित मितिभित्र त्यस्तो यात्रीगुण्टा बुझ्न नआएमा निजलाई त्यस्तो क्षतिपूर्तिको रकम बुझाउनु पर्ने छैन।
३६. वास्तविक मूल्यको आधारमा क्षतिपूर्ति दिनु पर्ने: (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दर्ता भएको कुनै यात्रीगुण्टा बोर्डको कुनै अधिकारीको बदनियत वा लापरवाहीबाट हराएमा, क्षति भएमा वा हस्तान्तरणमा ढिलाई भएमा बोर्डले यात्रीगुण्टाको वास्तविक मूल्य बराबरको रकम क्षतिपूर्तिको रूपमा सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ। (२) उपदफा (१) बमोजिम दिइएको क्षतिपूर्ति रकम बदनियत वा लापरवाही गर्ने अधिकारीबाट बोर्डले असुल गर्न सक्नेछ।
३७. यात्रीगुण्टाको क्षतिपूर्तिको लागि निवेदन दिनु पर्ने: (१) यस परिच्छेद बमोजिम क्षतिपूर्ति माग गर्ने व्यक्तिले यात्रीगुण्टा दर्ता गरी ढुवानीको लागि बोर्डलाई जिम्मा लगाएको मितिले पन्ध्र दिनभित्र देहायको कुनै स्थान मार्फत रेलवे प्रशासक समक्ष निवेदन दिनु पर्नेछ:- (क) यात्रीगुण्टा जिम्मा लगाइएको रेलवे स्टेशन, (ख) यात्रीगुण्टा पुग्नु पर्ने रेलवे स्टेशन, वा (ग) बोर्डको केन्द्रीय कार्यालय। (२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएको मितिले पन्ध्र दिनभित्र रेलवे प्रशासकले निर्णय गरिसक्नु पर्नेछ। (३) उपदफा (२) बमोजिम रेलवे प्रशासकले गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले सो निर्णय भएको मितिले पैँतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन दिन सक्नेछ।
परिक्च्छेद-८ मालसामानको ढुवानी र क्षतिपूर्ति
३८. ढुवानी गरिने मालसामानको विवरणपत्र पेश गर्नु पर्ने: (१) रेलबाट मालसामान ढुवानी गर्न चाहने प्रेषकले बोर्डद्वारा निर्धारित ढाँचामा विवरणपत्र भरी सम्बन्धित स्टेशन प्रमुख समक्ष पेश गर्नु पर्नेछ। (२) उपदफा (१) बमोजिमको विवरणपत्र प्रेषकले स्पष्टरूपमा भर्नु पर्नेछ र स्पष्टरूपमा विवरणपत्र नभरेको कारणबाट उत्पन्न हुने परिणामप्रति बोर्ड जवाफदेही हुने छैन। (३) उपदफा (१) बमोजिम विवरणपत्रमा उल्लेख गरेका मालसामान दुरुस्त भए वा नभएको सम्बन्धमा स्टेशन प्रमुखले प्रेषकको रोहबरमा तत्काल जाँचबुझ गर्नु, गराउनु पर्नेछ। (४) उपदफा (३) बमोजिम जाँचबुझ गर्दा कुनै मालसामान निषेधित हो वा होइन भन्ने विषयमा शङ्का उत्पन्न भएमा स्टेशन प्रमुखले त्यस्तो मालसामानको परीक्षण गर्नको लागि सम्बन्धित निकायमा पठाउनु पर्नेछ र त्यसरी परीक्षण गर्दा लागेको खर्च प्रेषकले व्यहोर्नु पर्नेछ। (५) उपदफा (४) बमोजिम परीक्षण गर्दा कुनै मालसामान निषेधित मालसामान भएको प्रमाणित भएमा स्टेशन प्रमुखले सम्बन्धित व्यक्तिलाई प्रचलित कानून बमोजिम कारबाहीको लागि सो मालसामान सहित सम्बन्धित निकायको जिम्मा लगाउनु पर्नेछ।
३९. ढुवानीको लागि मालसामान स्वीकार गर्ने: (१) प्रचलित कानून बमोजिम ढुवानीको लागि निषेध गरिएको बाहेकका अन्य मालसामान वा वस्तु स्टेशन प्रमुखले ढुवानीको लागि स्वीकार गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम ढुवानीको लागि मालसामान स्वीकार गरेपछि बोर्डद्वारा निर्धारित ढाँचामा रेल्वे रसिद दिनु पर्नेछ। (३) उपदफा (२) बमोजिमको रेल्वे रसिदमा देहायका कुरा समेत उल्लेख गर्नु पर्नेछः- (क) प्रेषकको पूरा नाम, थर, ठेगाना र सम्पर्क नम्बर, (ख) मालसामानको विवरण, (ग) मालसामानको तौल र तौल खुल्न नसकेमा अन्य जानकारी, (घ) वागन लोडभन्दा घटी भएको मालसामानको हकमा प्याकेजको सङ्ख्या र प्याकिङ्गको विवरण, (ङ) विवरणपत्रसँग संलग्न गरिएका कागजातको फेहरिस्त, (च) गन्तव्य स्टेशनको नाम, (छ) प्रापकको पूरा नाम, थर, ठेगाना र सम्पर्क नम्बर, र (ज) अन्य आवश्यक कुराहरू। (४) मालसामानको ढुवानीका लागि आवश्यकता अनुसार एउटै वा छुट्टाछुट्टै रेल्वे रसिद जारी गर्न सकिनेछ।
४०. रेल्वे रसिदमा क्षतिको सङ्केत गर्नु पर्ने: स्पष्टरूपमा क्षतग्रस्त देखिने मालसामान ढुवानीको लागि स्वीकार गर्दा त्यस्तो मालसामानको अवस्था रेल्वे रसिदमा उल्लेख गर्नु पर्नेछ।
४१. वागनको एक्सल वजन निर्धारण गर्न सक्ने: (१) बोर्डले वागनको अधिकतम एक्सल वजन निर्धारण गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम निर्धारित अधिकतम एक्सल वजनभन्दा बढी हुने गरी बोर्डले कुनै मालसामान रेलमा राखी ढुवानी गर्नु हुँदैन।
४२. मालसामानको मूल्य घोषणा गरी ढुवानी गर्न सकिने: (१) कुनै मालसामानको मूल्य रेल्वे रसिदमा घोषणा गरी ढुवानी गर्न सकिनेछ।
(२) उपदफा (१) बमोजिम मालसामानको मूल्य घोषणा गरी ढुवानी गराएको अवस्थामा सो बापतको ढुवानी शुल्क भाडा तथा शुल्क (ट्याररफ) किताबमा उल्लेख भए बमोजिम हुनेछ।
४३. ढुवानी तथा अन्य शुल्क बुझाउनु पर्ने: (१) प्रेषकले मालसामान ढुवानी गरे बापत लाग्ने ढुवानी शुल्क बोर्डलाई बुझाउनु पर्नेछ। (२) उपदफा (१) बमोजिम प्रेषकले बुझाउनु पर्ने ढुवानी शुल्क नबुझाई बाँकी रहेको अवस्थामा त्यस्तो ढुवानी शुल्क प्रापकले बुझाउनु पर्नेछ। (३) प्रापक जिम्मेवार हुन पर्ने कारणबाट उत्पन्न विलम्ब शुल्क तथा गोदाम बापत वा कुनै मालसामान तौल गर्दा लाग्ने शुल्क प्रापकले बुझाउनु पर्नेछ।
४४. प्रेषक जिम्मेवार हुने: (१) बोर्डको कुनै कर्मचारीको गलत कार्य वा त्रुटिले बाहेक कुनै कागजात नभएको वा अपर्याप्त भएको कारणबाट हुन जाने हानि नोक्सानीप्रति प्रेषक स्वयं जिम्मेवार हुनेछ। (२) कुनै मालसामान प्याकिङ्ग नगरिएको वा राम्रोसँग प्याकिङ्ग नगरिएको कारणबाट उत्पन्न हुने परिणामको लागि प्रेषक जिम्मेवार हुनेछ र सोको कारणबाट रेल्वेमा कुनै हानि नोक्सानी हुन गएमा त्यस्तो हानि नोक्सानीको क्षतिपूर्ति समेत प्रेषकले व्यहोर्नु पर्नेछ।
४५. मालसामानको हस्तान्तरण: (१) गन्तव्य स्थानमा मालसामान पुगेपछि प्रापकले रेल्वे रसिद पेश गरी सम्बन्धित स्टेशनबाट मालसामान लिन सक्नेछ। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रापकले रेल्वे रसिद पेश गर्न नसकेको अवस्थामा सम्बन्धित स्टेशन प्रमुखले निजको परिचयपत्र वा अन्य प्रमाणका आधारमा पनि मालसामान हस्तान्तरण गर्न सक्नेछ। (३) सम्बन्धित स्टेशन प्रमुखले मालसामानको हस्तान्तरण गर्दा प्रापकबाट मालसामान बुझेको भरपाई गराई निजबाट कुनै रकम प्राप्त गर्नु पर्ने भए सो समेत बुझिझिई मालसामान हस्तान्तरण गर्नेछ। (४) उपदफा (१) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रापकले आफ्नो मालसामान देहायको स्थानबाट बुझिलिनु पर्नेछ:-
(क) बोर्डको सुपरिवेक्षणमा रहन नपर्ने अवस्थामा सम्बन्धित अधिकारीलाई कानून बमोजिम निजको स्थानमा वा गोदाममा बुझाएकोमा त्यस्तो स्थानबाट, र (ख) सुक्खा बन्दरगाह वा कन्टेनर फ्रेट स्टेशनभित्रको निजी वा सरकारी गोदाम वा निर्यात प्रशोधन क्षेत्र (एक्सपोर्ट प्रोसेसिङ जोन) जस्ता क्षेत्रमा बुझाएकोमा त्यस्तो स्थानबाट। (५) गन्तव्य स्थानमा मालसामान आइपुगेको तीस दिनभित्र सो मालसामान बुझिलिन प्रापक नआएमा त्यस्तो मालसामानको स्वामित्व, हस्तान्तरण लगायतका अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
४६. मालसामान बुझ्न इन्कार गर्न सक्ने: कुनै मालसामान क्षति भएको कुरा शङ्का लागेमा प्रापकले त्यस्तो क्षतिको जाँच नगरेसम्म मालसामान बुझ्न इन्कार गर्न सक्नेछ।
४७. मालसामान सम्बन्धी दायित्व: (१) रेल्वे रसिदमा उल्लिखित मालसामान पूरै वा आंशिकरूपमा हराएको, क्षति भएको वा हस्तान्तरण गर्नमा ढिलाई भएको सम्बन्धमा बोर्ड जिम्मेवार हुनेछ। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कारणबाट मालसामान हराएमा, क्षति भएमा वा हस्तान्तरणमा ढिलाई भएमा बोर्ड जिम्मेवार हुने छैनः- (क) प्याकिङ्ग गर्नुपर्ने प्रकृतिका मालसामान प्याकिङ्ग नगरिएको वा राम्रोसँग प्याकिङ्ग नगरिएको, (ख) दरत भए बमोजिमको मालसामान प्रेषकले लोड नगरेको वा प्रापकले अनलोड गरेको, (ग) गलत वा अपूर्ण विवरणपत्र भरी मालसामान पठाएको, (घ) प्रेषक वा प्रापकको अनुरोधमा खुला वागनबाट मालसामान ढुवानी गराएको, (ङ) मालसामानको खराबीबाट वा कुनै मालसामानको प्रकृतिबाट (जस्तै ः भाँच्चिएर, बिग्रेर, कुहिएर, सुक्खा भएर वा खेर गएर) पूर्ण वा आंशिकरूपमा क्षति भएको, (च) काबुबाहिरको परिस्थिति उत्पन्न भई बोर्डले त्यस्तो परिस्थितिबाट बचाउ गर्न नसकेको, वा (छ) बोर्डको अनुमतिबिना जीवजन्तुको ढुवानी गरेको।
(३) उपदफा (२) मा उल्लिखित कुनै कारणबाट मालसामान हराएको, क्षति भएको वा हस्तान्तरणमा ढिलाई भएको हो भन्ने कुरा प्रमाणित गर्ने भार बोर्डको हुनेछ।
४८. मालसामान हराएको मानिने: मालसामान हस्तान्तरण गर्ने समय निर्धारण भएकोमा त्यसरी निर्धारित समय भुक्तान भएको पनि दिन र समय निर्धारण नभएकोमा रेलवे रसिद जारी भएको मितिले तीस दिनभित्र मालसामान हस्तान्तरण नगरेमा मालसामान हराएको मानिनेछ।
४९. मालसामान हस्तान्तरणमा ढिलाई भएको मानिने: देहायको समयभित्र प्रापकलाई मालसामान हस्तान्तरण गर्न नसकेमा मालसामान हस्तान्तरणमा ढिलाई भएको मानिनेछ:- (क) मालसामान बुझाउनु पर्ने समय निर्धारण भएकोमा त्यसरी निर्धारित समयभित्र, (ख) खण्ड (क) बमोजिम समय निर्धारण नभएकोमा रेलवे रसिद जारी भएको मितिले तीस दिनभित्र।
५०. मालसामान हराएमा वा क्षति भएमा वा हस्तान्तरण गर्न ढिलाई भएमा सो बापतको क्षतिपूर्ति: मालसामान हराएमा वा क्षति भएमा वा हस्तान्तरण गर्न ढिलाई भएमा सो बापतको क्षतिपूर्ति सम्बन्धी व्यवस्था दफा ३५ मा उल्लिखित यात्रीगुण्टा सम्बन्धमा भएको व्यवस्था बमोजिम हुनेछ।
५१. मालसामानको क्षतिपूर्तिका लागि निवेदन दिनु पर्ने: (१) यस परिच्छेद बमोजिम क्षतिपूर्ति माग गर्न चाहने प्रेषक वा प्रापकले त्यस्तो मालसामान ढुवानीका लागि स्टेशन प्रमुखलाई जिम्मा लगाएको मितिले पैँतालीस दिनभित्र देहायको कुनै स्थान मार्फत रेलवे प्रशासक समक्ष निवेदन दिनु पर्नेछ:- (क) ढुवानीको लागि मालसामान जिम्मा लगाइएको रेलवे स्टेशन, (ख) मालसामान पुग्नु पर्ने रेलवे स्टेशन, वा (ग) बोर्डको केन्द्रीय कार्यालय। (२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएको मितिले एक्काइस दिनभित्र रेलवे प्रशासकले निर्णय गरिसक्नु पर्नेछ।
(३) उपदफा (२) बमोजिम रेल्वे प्रशासकले गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले सो निर्णय भएको सूचना पाएको मितिबाट पैंतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन दिन सक्नेछ।
परिच्छेद-९ दुर्घटनाको जाँच तथा दायित्व
५२. रेल दुर्घटनाको सूचना दिनु पर्ने: (१) रेल सञ्चालनको सिलसिलामा दुर्घटना भई कसैको मृत्यु भएमा, चोटपटक लागेमा, कुनै सम्पत्तिको क्षति भएमा वा रेल क्षतिग्रस्त भएमा रेल्वे कर्मचारीले त्यस्तो दुर्घटना भएको स्थानबाट सबैभन्दा नजिकको स्टेशन प्रमुख तथा रेल्वे सुरक्षा कार्यालयमा र स्टेशन प्रमुख तथा रेल्वे सुरक्षा कार्यालयले रेल्वे प्रशासक तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा वा नजिकको प्रहरी कार्यालयमा तुरुन्तै सूचना दिनु पर्नेछ। (२) उपदफा (१) बमोजिम सूचना प्राप्त भएपछि रेल्वे प्रशासक तथा जिल्ला प्रशासन कार्यालयले सो दुर्घटनाको बारेमा तुरुन्त मन्त्रालयलाई सूचना दिनु पर्नेछ।
५३. नेपाल सरकारले जाँचबुझ गर्न वा गराउन सक्ने: रेल दुर्घटनाका सम्बन्धमा सूचना प्राप्त भएपछि दुर्घटनाको गाम्भीर्यतालाई दृष्टिगत गरी नेपाल सरकारले प्रचलित कानून बमोजिम त्यस्तो दुर्घटनाको जाँचबुझ गर्न वा गराउन सक्नेछ।
५४. बोर्ड आफैले जाँचबुझ गर्न वा गराउन सक्ने: दफा ५३ मा जुनसुकै कुरा लेखिएको भए तापनि रेल्वे सञ्चालनको सिलसिलामा भएको सामान्य दुर्घटनाका सम्बन्धमा बोर्ड आफैंले त्यस्तो दुर्घटनाको जाँचबुझ गर्न वा गराउन सक्नेछ।
५५. उपचार खर्च, क्षतिपूर्ति, क्रिया खर्च वा राहत उपलब्ध गराउनु पर्ने: (१) रेल दुर्घटनाबाट कुनै व्यक्तिलाई कुनै किसिमको हानि वा नोक्सानी पुग्न गएमा बोर्डले त्यस्तो व्यक्ति वा निजको मृत्यु भएकोमा मृतकको नजिकको हकवालालाई देहाय बमोजिमको रकम उपचार खर्च, क्षतिपूर्ति, क्रिया खर्च वा राहत बापत उपलब्ध गराउनु पर्नेछः- (क) कुनै व्यक्तिलाई चोटपटक लागेकोमा चोटपटकको स्थिति विचार गरी औषधि उपचार खर्च बापत एक लाख रुपैयाँसम्म,
(ख) कुनै व्यक्तिको अङ्गभङ्ग भएकोमा निको नभई काम नलाग्ने भएमा सो अङ्गभङ्ग बापत प्रत्येक अङ्गको दुई लाख पचास हजार रुपैयाँ र त्यस्तो अङ्ग काम लाग्ने भए घाउ खर्च बापत एक लाख पचास हजार रुपैयाँसम्म, (ग) दुर्घटनाबाट कुनै व्यक्तिको मृत्यु भएकोमा करिया खर्च तथा राहत बापत सात लाख रुपैयाँ। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै कारणबाट यात्रीको मृत्यु वा अङ्गभङ्ग भएमा वा यात्री घाइते भएको पुष्टी भएमा त्यस्तो क्षतिपूर्ति वा राहत बापत कुनै रकम दिइने छैनः- (क) यात्रीले आत्महत्या गरेको वा आत्महत्या गर्ने प्रयास गरेको, (ख) यात्री आफैँले गल्ती वा हेलचेक्र्याइँ गरेको, (ग) यात्रीले कुनै आपराधिक कार्य गरेको, (घ) यात्रीले मादक पदार्थ वा लागू औषध सेवन गरेको, वा (ङ) प्राकृतिक कारण वा यात्रीलाई कुनै रोग लागेको वा कुनै औषध सेवन गरेको। (३) रेल दुर्घटनाबाट कुनै यात्री वा अन्य तेस्रो पक्षको सम्पत्ति हानि नोक्सानी भएमा त्यस्तो हानि नोक्सानी भएको सम्पत्तिको वास्तविक मोलको आधारमा कायम हुन आउने रकम बोर्डले सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ। (४) यस दफा बमोजिम बोर्डले गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले सो निर्णयको सूचना पाएको मितिले पैँतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन दिन सक्नेछ।
परिच्छेद-१० रेलवे प्रशासक तथा कर्मचारी
५६. रेलवे प्रशासकको नियुक्ति: (१) बोर्डको प्रशासकीय प्रमुखको रूपमा काम गर्नको लागि बोर्डमा एक रेलवे प्रशासक रहनेछ। (२) नेपाल सरकारले देहाय बमोजिमको योग्यता पूरा भएका व्यक्तिहरूमध्येबाट रेलवे प्रशासकको नियुक्ति गर्नेछ: - (क) नेपाली नागरिक,
(ख) मान्यताप्राप्त शिक्षण संस्थाबाट इन्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, (ग) रेल्वे वा सडक यातायातको क्षेत्रमा कम्तीमा आठ वर्षको अनुभव हासिल गरेको, र (घ) पैँतीस वर्ष उमेर पूरा भई साठी वर्ष उमेर ननाघेको। (३) उपदफा (२) बमोजिम रेल्वे प्रशासकको नियुक्ति नभएसम्मको लागि नेपाल सरकारले निजामती सेवा अन्तर्गतको नेपाल इन्जिनियरिङ्ग सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृतलाई रेल्वे प्रशासकको काम गर्ने गरी तोक्न सक्नेछ। (४) रेल्वे प्रशासकको पदावधि बढीमा चार वर्षको हुनेछ। (५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि रेल्वे प्रशासकले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेमा, बोर्डको हित विपरीत कुनै काम कारबाही गरेमा, निज कुनै खराब आचरणमा लागेमा वा निजमा कार्यनिष्ठाको अभाव भएमा नेपाल सरकारले जुनसुकै बखत रेल्वे प्रशासकको पदबाट हटाउन सक्नेछ। (६) उपदफा (५) बमोजिम निजलाई पदबाट हटाउनु अघि सफाइ पेश गर्ने मनासिब मौका दिनु पर्नेछ। (७) रेल्वे प्रशासकको पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्त तोकिए बमोजिम हुनेछ।
५७. रेल्वे प्रशासकको पदमा नियुक्तिको लागि अयोग्यता: देहायको कुनै व्यक्ति रेल्वे प्रशासकको पदमा नियुक्ति हुन योग्य हुने छैन:- (क) बैङ्क तथा वित्तीय संस्थाको ऋण मतिन नसकी प्रचलित कानून बमोजिम कालो सूचीमा परेको, (ख) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा ओसारपसार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको वा अन्य कुनै फौजदारी कसुरमा तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको, (ग) कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको, (घ) दफा ५६ को उपदफा (२) बमोजिमको योग्यता पूरा नभएको, वा (ङ) कुनै लाभको पद धारण गरेको।
स्पष्टीकरण: यस खण्डको प्रयोजनको लागि "लाभको पद" भन्नाले सरकारी कोषबाट पारिश्रमिक वा सुविधा पाउने पद सम्झनु पर्छ।
५८. रेलवे प्रशासकको काम, कर्तव्य र अधिकार: यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त रेलवे प्रशासकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) रेलवेको कामसँग सम्बन्धित विद्युत्यन्त्र, विद्युत आपूर्ति र वितरणको लागि कुनै संरचना निर्माण, सञ्चालन वा मर्मत गर्ने, गराउने, (ख) रेलवेको प्रयोजनको लागि कुनै संरचना, टेलिफोन लाइन तथा अन्य सुविधा निर्माण वा परिवर्तन गर्ने तथा हटाउने वा प्रतिस्थापन गर्ने, गराउने, (ग) रेलवे सञ्चालनसँग सम्बन्धित निर्माण, मर्मत सम्भार, सुधारको लागि आवश्यक पर्ने अन्य कार्य गर्ने, गराउने, (घ) बोर्डको अल्पकालीन तथा दीर्घकालीन योजना र वार्षिक बजेट तथा कार्यक्रम तयार गरी बोर्ड समक्ष पेश गर्ने, (ङ) बोर्डबाट स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने, गराउने र सोको अनुगमन गर्ने, गराउने, (च) बोर्डबाट स्वीकृत हुनु पर्ने विषयको प्रस्ताव तयार गरी पेश गर्ने र बोर्डबाट भएका निर्णय कार्यान्वयन गर्ने, गराउने, (छ) रेलवे सेवाको विस्तार र रेल सञ्चालनको सम्बन्धमा प्रदेश सरकारको सम्बन्धित निकाय र स्थानीय तहसँग आवश्यक समन्वय गर्ने, र (ज) तोकिए बमोजिमको अन्य काम गर्ने।
५९. कर्मचारी सम्बन्धी: (१) बोर्डको कार्य सम्पादनको लागि बोर्डमा आवश्यक सङ्ख्यामा कर्मचारी रहनेछन्। (२) उपदफा (१) बमोजिमका कर्मचारीको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका शर्तहरू विनियमामा तोकिए बमोजिम हुनेछ। (३) उपदफा (१) बमोजिमका कर्मचारीको नियुक्ति नभएसम्मको लागि बोर्डको अनुरोधमा मन्त्रालयले आवश्यक कर्मचारी बोर्डमा कामकाज गर्ने गरी खटाउन सक्नेछ। (४) बोर्डको सङ्गठन संरचनाको स्वीकृति मन्त्रालयको सिफारिसमा नेपाल सरकारले गर्नेछ।
परिच्छेद-११ बोर्डको कोष र लेखापरीक्षण
६०. बोर्डको कोष: (१) बोर्डको आफ्नो एउटा छुट्टै कोष हुनेछ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकम रहनेछन्:- (क) नेपाल सरकारबाट प्राप्त रकम, (ख) विदेशी व्यक्ति, सरकार, अन्तर्राष्ट्रिय संघ वा संस्थाबाट प्राप्त रकम, (ग) यात्री भाडा वा ढुवानी शुल्कबाट प्राप्त रकम, (घ) बोर्डको जग्गा लिज वा भाडामा दिए बापत प्राप्त रकम, र (ङ) बोर्डले आर्जन गरेको अन्य रकम।
(३) उपदफा (१) को खण्ड (ख) बमोजिमको रकम प्राप्त गर्नुअघि बोर्डले नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ।
(४) बोर्डको सम्पूर्ण खर्च उपदफा (२) बमोजिम कोषमा जम्मा भएको रकमबाट व्यहोरिनेछ।
(५) उपदफा (१) बमोजिमको कोषमा रहने रकम बोर्डले तोकेको बैंक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम स्थापित "क" वर्गको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ।
(६) बोर्डको खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ।
६१. लेखा र लेखापरीक्षण: (१) बोर्डको आय-व्ययको लेखा प्रचलित कानून बमोजिम राखिनेछ।
(२) बोर्डले तोकिए बमोजिम आय-व्ययको आन्तरिक लेखापरीक्षण तथा आन्तरिक नियन्त्रण गर्नु, गराउनु पर्नेछ।
(३) बोर्डको आय-व्ययको अन्तिम लेखापरीक्षण महालेखापरीक्षकबाट हुनेछ।
(४) मन्त्रालयले चाहेमा बोर्डको आय-व्ययको लेखा तथा सोसँग सम्बन्धित कागजात जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ।
परिच्छेद-१२ कसुर तथा सजाय
६२. कसुर: कसैले देहायका कुनै कार्य गरे गराएमा यस ऐन बमोजिम कसुर गरे गराएको मानिनेछ:- (क) रेल वा रेलवेमा आगो लगाउने वा विष्फोटक पदार्थ ओछ्याउने, कुनै प्रज्वलनशील पदार्थ वा विद्युतीय धराप (एम्बुस) बनाई वा अन्य कुनै प्रकारले रेल सञ्चालनमा बाधा पुर्याउने, (ख) रेल वा रेलवे कब्जा गर्ने वा अन्य कुनै किसिमले रेल वा रेलवेको सम्पत्तिमा हानी नोक्सानी पुर्याउने कार्य गर्ने, (ग) रेल दुर्घटना हुन सक्ने गरी रेल वा रेलवेमा कुनै वस्तु फ्याँक्ने, रेलको लिकमा ढुङ्गा, काठ वा अरु कुनै वस्तु राख्ने वा अधिकारप्राप्त अधिकारी बाहेक कसैले रेलको लिक वा सो सम्बन्धी किला, काँटा, स्लिपर आदि झिक्ने, ज्वाइन्टहरू खुकुलो पार्ने वा अरु कलपुर्जा चलाउने, हेरफेर गर्ने वा बन्द गर्ने कार्य गर्ने, (घ) रेल वा रेलवेको कुनै निशाना वा बत्ती लुकाउने, चलाउने, झिक्ने, फरक गरी देखाउने, बदल्ने, मेट्ने, हटाउने, खुइल्याउने लगायतका रेल दुर्घटना हुने कुनै कार्य गर्ने, (ङ) अधिकारप्राप्त अधिकारी बाहेक अरु कसैले गुडिरहेको रेल विनाकारण रोक्न वा रेल चलाउन अटेर गर्ने वा रेल चलाउन नदिन अवरोध सिर्जना गर्ने, (च) मादक पदार्थ वा लागू पदार्थ सेवन गरी रेल चलाउने, (छ) रेलवेका कर्मचारी वा यात्रीसँग झगडा गर्ने, रेलभित्र होहल्ला गर्ने वा कसैलाई गालीगलौज वा अश्लील वा अपमानजनक शब्द प्रयोग गर्ने, (ज) रेलवेका कर्मचारीलाई आफ्नो पदीय कर्तव्य पालना गर्न रोक्ने वा बाधा अवरोध सिर्जना गर्ने, (झ) अधिकारप्राप्त व्यक्ति बाहेक अरु कसैले रेलवेको प्रयोजनको लागि जडान गरिएका कुनै सञ्चार उपकरणको प्रयोग वा हस्तक्षेप गर्ने, (ञ) रेल चालक वा सहचालकको लागि यस ऐन बमोजिम अनुमतिपत्र नलिई रेल चलाउने,
(ट) आफूले प्राप्त गरेको रेल चालक वा सहचालक अनुमतिपत्र रेल चलाउनको लागि प्रयोग गर्न अन्य व्यक्तिलाई दिने, (ठ) रेलमा यात्रा गर्ने वा गराउने प्रयोजनको लागि अधिकारपत्र वा टिकटको अङ्क, अक्षर, मिति वा व्यहोरा सच्याउने, (ड) बोर्डको अनुमति बिना टिकट बिक्री वा अधिकारपत्र वितरण गर्ने, (ढ) यात्रीगुण्टा वा मालसामान हराएको, नामसिएको, नोक्सानी भएको वा फिर्ता नभएको भनी बोर्ड समक्ष झुटो मागदाबी पेश गर्ने वा सोको लागि झुटो विवरण दिने, (ण) रेलमा यात्रीलाई अनावश्यक झन्झट दिने, (त) अधिकारप्राप्त व्यक्ति बाहेक अरु कसै ले रेलवे सञ्चालनको लागि जारी गरिएका सार्वजनिक सूचना उप्काउने, च्यात्ने वा व्यहोरा केरमेट गर्ने वा सच्याउने, (थ) रेल वा रेलवेमा धुलो वा फोहोर वा यात्रीमाथि फोहोर वा अन्य कुनै वस्तु फाल्ने, (द) रेलको निषेधित स्थानमा बसी यात्रा गर्ने, र (ध) यो ऐन विपरीतका अन्य कुनै कार्य गर्ने।
६३. सजाय: (१) कसै ले देहायको कुनै कसुर गरे गराएमा त्यस्तो कसुर गर्ने गराउने व्यक्तिलाई मुद्दा हेर्ने अधिकारीले देहाय बमोजिमको सजाय गर्नेछ:- (क) दफा ६२ को खण्ड (क) वा (ख) बमोजिमको कसुर गर्ने गराउनेलाई त्यस्तो कार्यबाट कसैको मृत्यु भएकोमा प्रचलित कानून बमोजिम ज्यान मारे सरह सजाय र ज्यान नमरेको भए दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना, (ख) दफा ६२ को खण्ड (ग) वा (घ) बमोजिमको कसुर गर्ने गराउनेलाई सात वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना, (ग) दफा ६२ को खण्ड (ङ) वा (च) बमोजिमको कसुर गर्ने गराउनेलाई एक वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिवाना, (घ) दफा ६२ को खण्ड (छ) वा (ज) बमोजिमको कसुर गर्ने गराउनेलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय, र
(ङ) दफा ६२ को खण्ड (झ), (ञ) र (ट) बमोजिमको कसुर गर्ने गराउनेलाई छ महिनासम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना। (२) कसैले देहायको कुनै कसुर गरेमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई बोर्डको सम्बद्ध कर्मचारीको प्रतिवेदनको आधारमा रेल्वे प्रशासकले देहाय बमोजिम जरिवाना गर्न सक्नेछ:- (क) दफा ६२ को खण्ड (ठ) वा (ड) बमोजिमको कसुर गर्ने गराउनेलाई दुई लाख रुपैयाँसम्म जरिवाना, र (ख) दफा ६२ को खण्ड (ढ) बमोजिमको कसुर गर्नेलाई पचास हजार रुपैयाँसम्म जरिवाना। (३) कसैले देहायको कुनै कसुर गरेमा त्यस्तो कसुर गर्ने गराउने व्यक्तिलाई बोर्डको टिकट जाँचकी वा सम्बद्ध कर्मचारीको प्रतिवेदनको आधारमा स्टेशन प्रमुखले तत्काल देहाय बमोजिम जरिवाना गर्न सक्नेछ:- (क) दफा ६२ को खण्ड (ण) बमोजिमको कसुर गर्ने गराउनेलाई बीस हजार रुपैयाँसम्म जरिवाना, (ख) दफा ६२ को खण्ड (त) वा (थ) बमोजिमको कसुर गर्ने गराउनेलाई दश हजार रुपैयाँसम्म जरिवाना, र (ग) दफा ६२ को खण्ड (द) वा (ध) बमोजिमको कसुर गर्ने गराउनेलाई पाँच हजार रुपैयाँसम्म जरिवाना।
६४. थप सजाय हुने: कसैले रेल्वेको सम्पत्ति चोरी गरेमा वा अन्य कुनै प्रकारले हानि वा नोक्सानी पुर्याएमा प्रचलित कानून बमोजिम हुने सजायमा थप तीन वर्षसम्म कैदको सजाय हुनेछ।
६५. उद्योग गर्ने वा मतियारलाई सजाय: दफा ६३ को उपदफा (१) बमोजिम सजाय हुने कसुरको उद्योग गर्ने वा सो कसुरको मतियारलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुनेछ।
६६. बिगो भराई दिनु पर्ने: दफा ६२ बमोजिमको कुनै कसुरबाट रेल्वे, यात्री वा अन्य कुनै व्यक्तिको सम्पत्तिमा हानि नोक्सानी भएकोमा मुद्दा हेर्ने अधिकारीले त्यस्तो हानि नोक्सानीको बिगो सम्बन्धित कसुरदारबाट भराई दिनु पर्नेछ।
६७. सजाय नहुने: यस ऐन बमोजिम कसुर हुने अवस्थामा बाहेक अन्य अवस्थामा रेल चालक वा सहचालक वा रेल सञ्चालनमा संलग्न व्यक्तिले आफ्नो कर्तव्य पालनाको सिलसिलामा असल नियतले गरेको कुनै काम कारबाहीबाट कुनै व्यक्ति वा निजको सम्पत्ति वा रेलवेको संरचनामा कुनै हानी नोक्सानी वा क्षति पुग्न गएमा सो कार्य उपर त्यस्तो रेल चालक, सहचालक वा रेल सञ्चालनमा संलग्न व्यक्तिलाई कुनै सजाय हुने छैन ।
६८. तत्काल नियन्त्रणमा लिन सक्ने: (१) दफा ६२ बमोजिमको कसुर गर्ने व्यक्तिलाई रेलवेको सुरक्षाको लागि खटिएको सुरक्षाकर्मी, प्रचलित कानून बमोजिम अधिकारप्राप्त अधिकारी वा रेलवेको कर्मचारीले तत्काल नियन्त्रणमा लिन सक्नेछ । (२) उपदफा (१) बमोजिम नियन्त्रणमा लिइएको व्यक्तिमध्ये यस ऐन बमोजिम रेलवे प्रशासक वा स्टेशन प्रमुखले कारबाही गर्नु पर्ने व्यक्तिको हकमा निजले यस ऐन बमोजिम कारबाही र सजाय गर्नेछ र अन्य व्यक्तिको हकमा प्रचलित कानून बमोजिम कारबाही गर्न अधिकारप्राप्त अधिकारी वा रेलवे कर्मचारीले सम्बन्धित अधिकारी वा कार्यालयमा बुझाउनु पर्नेछ । (३) उपदफा (२) बमोजिम बुझाइएको व्यक्ति उपर सम्बन्धित अधिकारी वा कार्यालयले यस ऐन बमोजिमको कारबाही सुरु गर्नु पर्नेछ ।
६९. मुद्दा हेर्ने अधिकारी: दफा ६३ को उपदफा (१) बमोजिम सजाय हुने कसुरको सुरु कारबाही र किनारा गर्ने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुनेछ ।
७०. पुनरावेदन: (१) दफा ६३ को उपदफा (२) बमोजिम रेलवे प्रशासकले गरेको जरिबानाको निर्णयमा चित्त नबुझ्ने व्यक्तिले त्यस्तो निर्णय भएको मितिले पैँतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन दिन सक्नेछ । (२) दफा ६३ को उपदफा (३) बमोजिम स्टेशन प्रमुखले गरेको जरिबानाको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले त्यस्तो निर्णय भएको मितिले पैँतीस दिनभित्र रेलवे प्रशासक समक्ष पुनरावेदन दिन सक्नेछ । (३) दफा ६९ बमोजिमको मुद्दा हेर्ने अधिकारीले गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले त्यस्तो निर्णय भएको मितिले पैँतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन दिन सक्नेछ ।
७१. नेपाल सरकारवादी हुने: दफा ६३ को उपदफा (१) बमोजिम सजाय हुने कसुर सम्बन्धी मुद्दा नेपाल सरकारवादी भई चल्नेछ र त्यस्तो मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-१ मा समावेश भएको मानिनेछ।
७२. हदम्याद: (१) दफा ६२ को खण्ड (क) अन्तर्गतको कसुरमा जहिलेसुकै उजुर लाग्नेछ। (२) दफा ६२ को खण्ड (ख), (ग), (घ) र (ङ) अन्तर्गतको कसुरमा त्यस्तो कसुर भएको थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन। (३) उपदफा (१) र (२) अन्तर्गतका कसुर बाहेक अन्य कसुरमा त्यस्तो कसुर भएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद-१३ विविध
७३. रेल चालक वा सहचालक करारमा लिन सकिने: यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाली नागरिकबाट रेल चालक वा सहचालकको पदमा पदपूर्ति हुन नसकेमा बोर्डले योग्यता पुगेका विदेशी नागरिकलाई मन्त्रालयले निर्धारण गरे बमोजिमको अवधिसम्मको लागि करारमा काममा लगाउन सक्नेछ।
७४. उपसमिति गठन गर्न सक्ने: (१) बोर्डले यस ऐन बमोजिम आफ्नो कार्य सञ्चालनमा सहयोग पुर्याउन आवश्यकता अनुसार उपसमिति गठन गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम गठित उपसमितिको कार्यक्षेत्रगत शर्त र कार्यविधि बोर्डले त्यस्तो उपसमिति गठन गर्दाको समयमा निर्धारण गरे बमोजिम हुनेछ।
७५. संयुक्त लगानीमा रेलवे सञ्चालन गर्न सक्ने: बोर्डले नेपाल सरकारको पूर्वस्वीकृति लिई स्वदेशी वा विदेशी लगानीकर्तासँगको संयुक्त लगानीमा रेलवे निर्माण वा विस्तार गर्न वा रेलवे सेवा सञ्चालन गर्न सक्नेछ।
७६. रेलवेको निर्माण, मर्मत, सञ्चालन वा व्यवस्थापनको जिम्मा दिन सक्ने: (१) बोर्डले नेपाल सरकारको पूर्वस्वीकृति लिई रेलवेको निर्माण, मर्मत, सञ्चालन वा व्यवस्थापन सम्बन्धी कुनै वा सबै काम निजी क्षेत्रको कुनै संस्थाद्वारा गराउन आवश्यक देखेमा प्रचलित कानून बमोजिम त्यस्तो संस्थासँग सम्झौता गरी सो काम त्यस संस्थालाई जिम्मा दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम काम गर्न दिँदा सो कामसँग सम्बन्धित बोर्डको हक भोग, स्वामित्व वा जिम्मामा रहेको कुनै संरचना, उपकरण तथा सम्पत्ति त्यस्तो संस्थाले प्रयोग गर्न पाउने गरी दिन सक्नेछ। (३) उपदफा (१) बमोजिम सम्झौता गर्दा बोर्डको हक, भोग, स्वामित्व वा जिम्मामा रहेको संरचना, उपकरण तथा सम्पत्तिको प्रयोग सम्बन्धी व्यवस्था, सम्झौता कायम रहने अवधि, सम्झौता गर्नेले पाउने प्रतिफल र तत्सम्बन्धी अन्य कुराहरू सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ। (४) उपदफा (१) बमोजिम सम्झौता गर्ने संस्थाले सम्झौताको अवधि समाप्त भएपछि आफूले प्रयोग गरेको बोर्डको हक, भोग, स्वामित्व वा जिम्मामा रहेको कुनै संरचना, उपकरण तथा सम्पत्ति सम्झौतामा तोकिएको शर्त बमोजिम बोर्डलाई फिर्ता गर्नु पर्नेछ। (५) रेलवेको निर्माण, मर्मत, सञ्चालन र व्यवस्थापन सम्बन्धी अन्य कुरा सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ।
७७. क्षमता भन्दा बढी यात्री वा मालसामान राख्न नहुने: रेलको क्षमता भन्दा बढी यात्री तथा मालसामान राखी रेल चलाउन पाइने छैन।
७८. सिट सुरक्षित राख्नु पर्ने: बोर्डले अति विशिष्ट वा विशिष्ट व्यक्ति, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बालबालिका, महिला तथा असक्त व्यक्तिको लागि तोकिए बमोजिमको सिट सुरक्षित राख्नु पर्नेछ।
७९. स्वचालित प्रविधिद्वारा रेलवे सञ्चालन गर्न सक्ने: बोर्डले रेल चालक तथा सहचालक बिना कम्प्युटरकृत वा स्वचालित प्रविधिको माध्यमबाट तोकिए बमोजिम रेलवे सेवा सञ्चालन गर्न वा गराउन सक्नेछ।
८०. वातावरणमैत्री हुनु पर्ने: बोर्डले वातावरणमैत्री तवरले तोकिएको मापदण्ड पूरा गरी रेलवे तथा रेलवे सेवा सञ्चालन गर्नु पर्नेछ।
८१. सहयोग उपलब्ध गराउनु पर्ने: (१) यस ऐनको कार्यान्वयन गर्न र रेल तथा रेलवे सेवा सुचारूरूपले सञ्चालन गर्नको लागि बोर्डले सुरक्षा प्रबन्ध लगायतका अन्य विषयमा नेपाल सरकार वा सरकारका सम्बद्ध निकायसँग सहयोग माग गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम बोर्डले सहयोग माग गरेको विषयमा सहयोग उपलब्ध गराउनु नेपाल सरकार वा सम्बद्ध निकायको कर्तव्य हुनेछ।
८२. जग्गा प्राप्ति गर्ने: (१) रेल्वेको लागि आवश्यक पर्ने जग्गा प्रचलित कानून बमोजिम प्राप्तिको लागि बोर्डले नेपाल सरकार समक्ष अनुरोध गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम अनुरोध गर्दा रेल्वेको लागि आवश्यक पर्ने जग्गाको सम्बन्धमा अध्ययन तथा मूल्याङ्कन गरी त्यस्तो जग्गाको जग्गा प्राप्ति योजना तथा जग्गा प्राप्तिको लागि प्रचलित कानून बमोजिम आवश्यक पर्ने सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। (३) उपदफा (१) बमोजिम अनुरोध भई आएमा नेपाल सरकारले प्रचलित कानून बमोजिम बोर्डलाई जग्गा प्राप्ति गराइदिन सक्नेछ। (४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारको स्वामित्वमा रहेको कुनै जग्गा रेल्वेको लागि आवश्यक भएमा बोर्डको अनुरोधमा नेपाल सरकारले त्यस्तो जग्गा बोर्डलाई उपलब्ध गराइदिन सक्नेछ।
८३. बीमा गराउनु पर्ने: बोर्डले रेल, रेलका चालक र सहचालक, यात्री, यात्रीगुण्टा, मालसामान, रेल्वेका कर्मचारी लगायत तेस्रो पक्षको तोकिए बमोजिम बीमा गराउनु पर्नेछ।
८४. अधिकार प्रत्यायोजन: (१) बोर्डले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार बोर्डको कुनै सदस्य, दफा ७४ बमोजिमको उपसमिति, नेपाल सरकार अन्तर्गतको कुनै निकाय वा रेल्वे प्रशासकलाई प्रत्यायोजन गर्न सक्नेछ। (२) रेल्वे प्रशासकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार बोर्डको कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ। तर यस ऐन बमोजिम रेल्वे प्रशासकको मुद्दा हेर्ने अधिकार प्रत्यायोजन गर्न सकिने छैन।
८५. वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने: बोर्डले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र देहायका कुराहरू खुलाई मन्त्रालय समक्ष वार्षिक प्रतिवेदन पेश गर्नु पर्नेछः-
(क) आफूले वर्षभरि सम्पादन गरेको कामको विवरण र सोको लागि भएको खर्च, (ख) बोर्डको आगामी वर्षको कार्ययोजना र त्यसको लागि आवश्यक पर्ने अनुमानित बजेट तथा सोको स्रोत, (ग) बोर्डको आम्दानी र खर्चको विवरण, र (घ) तोकिए बमोजिमका अन्य विवरण।
८६. प्रचलित कानून बमोजिम हुने: यस ऐनमा लेखिए जति कुरामा यसै ऐन बमोजिम र अन्यमा प्रचलित कानून बमोजिम हुनेछ।
८७. नेपाल सरकारसँग सम्पर्क: बोर्डले नेपाल सरकारसँग सम्पर्क राख्दा मन्त्रालय मार्फत राख्नु पर्नेछ।
८८. नियम बनाउने अधिकार: नेपाल सरकारले यस ऐनको कार्यान्वयन गर्न आवश्यक नियमहरू बनाउन सक्नेछ।
८९. ऐन कार्यान्वयन मापन: यो ऐन प्रारम्भ भएको पाँच वर्ष पूरा भएको एक वर्षभित्र र त्यसपछि प्रत्येक पाँच वर्षपछिको एक वर्षभित्र मन्त्रालयले ऐन कार्यान्वयनको मापन गर्नेछ र सोको प्रतिवेदन संघीय संसदको दुवै सदनको सम्बन्धित समितिमा पेश गर्नु पर्नेछ।
९०. विनियमावली, निर्देशिका, कार्यविधि र मापदण्ड बनाउन सक्ने: (१) यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमावलीको अधीनमा रही बोर्डले देहायका विषयमा विनियमावली बनाउन सक्नेछ:- (क) बोर्डको कार्य सञ्चालनको सम्बन्धमा, (ख) बोर्डको कर्मचारीको सेवाको शर्त तथा सुविधा सम्बन्धमा, (ग) बोर्डको आर्थिक प्रशासन सञ्चालन सम्बन्धमा। (२) उपदफा (१) बमोजिम विनियमावली बनाउँदा नेपाल सरकारलाई थप व्ययभार पर्ने विषयमा बोर्डले नेपाल सरकार, अर्थ मन्त्रालयको सहमति लिनु पर्नेछ।
(३) बोर्डले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमावली प्रतिकूल नहुने गरी रेल्वे सेवा सञ्चालनसँग सम्बन्धित प्राविधिक विषयमा आवश्यकता अनुसार निर्देशिका, कार्यविधि र मापदण्ड बनाउन सक्नेछ। (४) यस दफा बमोजिम बोर्डले बनाएको विनियमावली, निर्देशिका र कार्यविधि मन्त्रालयबाट स्वीकृत भएपछि लागू हुनेछ र त्यस्तो विनियमावली, निर्देशिका, कार्यविधि र मापदण्ड सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्नु पर्नेछ।
९१. खारेजी र बचाउ: (१) रेल्वे अध्यादेश, २०७८ खारेज गरिएको छ। (२) रेल्वे अध्यादेश, २०७८ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ।