महान्यायाधिवक्ताको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५२
लालमोहर र प्रकाशन मिति २०५२।११।३
संशोधन गर्ने ऐन १. महान्यायाधिवक्ताको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी (पहिलो संशोधन) ऐन, २०५४ | २०५४।९।७ २. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ | २०६३।६।२८
प्रमाणीकरण र प्रकाशन मिति ३. लैङ्गिक समानता कायम गर्ने केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ | २०६३।७।१७ ४. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ $\diamond$ | २०६६।१०।७ ५. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ | २०७२।११।१३
२०५२ सालको ऐन नं. १३
$\text{>>}$ ...................
महान्यायाधिवक्ताको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : महान्यायाधिवक्ताको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको चौबीसौं वर्षमा संसदले यो ऐन बनाएको छ ।
$\blacklozenge$ यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको । $\text{>>}$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेकिएको ।
परिच्छेद–१ प्राारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “महान्यायाधिवक्ताको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५२” रहेको छ । (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस ऐनमा “महान्यायाधिवक्ता” भन्नाले ⦿नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम नियुक्त भएको नेपाल ➮........... को महान्यायाधिवक्ता सम्झनु पर्छ ।
परिच्छेद–२ पारिश्रमिक र सुविधा
३. पारिश्रमिक : (१) महान्यायाधिवक्तालाई अनुसूची–१ मा उल्लेख भए बमोजिमको पारिश्रमिक दिइनेछ । (२) महान्यायाधिवक्ताले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएमा वा निजको मृत्यु भएमा वा अरु कुनै कारणबाट निजले पदबाट अवकाश पाएमा निजलाई आफ्नो पदमा कायम रहेको दिनसम्म पाउने पारिश्रमिकको अतिरिक्त एक महिनाको थप पारिश्रमिक दिइनेछ । (३) उपदफा (२) बमोजिम महान्यायाधिवक्ताले पाउने पारिश्रमिक तथा थप पारिश्रमिक अवस्था अनुसार निजलाई वा निजले इच्छाएको व्यक्तिलाई दिइनेछ । महान्यायाधिवक्ताको मृत्यु भएमा निजले कसैलाई इच्छाएको रहेनछ वा इच्छाइएको व्यक्ति जीवित रहेनछ भने त्यस्तो पारिश्रमिक निजको नजिकको हकवालालाई दिइनेछ ।
⦿ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित । ➮ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेकिएको ।
४. आवास सुविधा : (१) महान्यायाधिवक्तालाई आवासको निमित्त नेपाल सरकारबाट सरकारी घरको बन्दोबस्त हुनेछ । त्यस्तो घरको बन्दोबस्त नभएकोमा वा काठमाडौँ उपत्यकामा महान्यायाधिवक्ताको आफ्नो उपयुक्त घर नभई घर भाडामा लिनु परेमा निजलाई घरभाडा बापत प्रतिमास निजको मासिक पारिश्रमिकको आधा रकम दिइनेछ।
(२) आफ्नो घरमा बस्ने महान्यायाधिवक्तालाई घर मर्मत र सरसफाईको निमित्त अनुसूची–१ मा उल्लेख भए बमोजिमको रकम दिइनेछ।
(३) उपदफा (१) बमोजिम महान्यायाधिवक्तालाई नेपाल सरकारको तर्फबाट सरकारी घरको बन्दोबस्त भएमा त्यस्तो घरको मर्मत र संभार नेपाल सरकारले गर्नेछ।
(४) यस दफा बमोजिमको सुविधा महान्यायाधिवक्तालाई निजले आफ्नो पदबाट अवकाश पाएको मितिले सात दिनसम्म दिइनेछ।
५. बिजुली, धारा र टेलिफोन सुविधा : (१) महान्यायाधिवक्ताको आवासमा एक लाईन टेलिफोन जडान गर्न लाग्ने खर्च र धरौटी बापत लाग्ने रकम नेपाल सरकारले व्यहोनेछ।
(२) बिजुली, धारा र टेलिफोन महसुल बापत महान्यायाधिवक्तालाई अनुसूची–१ मा उल्लेख भए बमोजिमको रकम दिइनेछ ।
६. सवारी तथा इन्धन सुविधा : (१) महान्यायाधिवक्तालाई ड्राइभर सहितको मोटर एक, मासिक एक सय पचास लिटर पेट्रोल र त्रैमासिक पाँच लिटर मोबिल उपलब्ध गराइनेछ।
(२) आफ्नो निजी मोटर प्रयोग गर्ने महान्यायाधिवक्तालाई ड्राइभरको निमित्त नेपाल सरकारको हलुका सवारी चालकको तलबमानको शुरु अंक बराबरको रकम तथा मासिक एक सय पचास लिटर पेट्रोल र त्रैमासिक पाँच लिटर मोबिल उपलब्ध गराइनेछ।
(३) उपदफा (१) बमोजिम उपलब्ध गराइएको मोटरको मर्मत र संभार तथा ग्रीजको बन्दोबस्त केन्द्रीय सेवा विभागबाट हुनेछ।
(४) महान्यायाधिवक्ताले प्रयोग गरेको मोटरको पेट्रोल र मोबाइलको बिल भौचर बुझाउनु पर्ने छैन ।
(५) महान्यायाधिवक्तालाई यस दफा बमोजिमको सुविधा निजले आफ्नो पदबाट अवकाश पाएको मिति सात दिनसम्म दिइनेछ ।
परिच्छेद–३ दैनिक तथा भ्रमण भत्ता
७. दैनिक तथा भ्रमण भत्ता : (१) महान्यायाधिवक्तालाई आफ्नो ओहदा सम्बन्धी काममा नेपाल $\text{...........}$ भित्र भ्रमण गर्दा देहाय बमोजिम दैनिक तथा भ्रमण भत्ता दिइनेछ :–
(क) दैनिक भत्ता : अनुसूची–१ मा उल्लेख भए बमोजिमको रकम । (ख) भ्रमण भत्ता : (१) पैदल भ्रमण गर्दा अनुसूची–१ मा उल्लेख भए बमोजिमको रकम । (२) बसबाट भ्रमण गर्दा एकजनालाई लाग्ने भाडा । (३) रेलबाट भ्रमण गर्दा एकजनालाई लाग्ने पहिलो दर्जाको टिकट खर्च । (४) हवाई जहाजबाट भ्रमण गर्दा एकजनालाई लाग्ने टिकट खर्च । (५) अन्य सवारीबाट भ्रमण गर्दा एकजनालाई लाग्ने भाडा ।
(२) महान्यायाधिवक्तालाई आफ्नो ओहदा सम्बन्धी काममा वा नेपाल सरकारको तर्फबाट कुनै समारोह, उत्सव, अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार आदिमा भाग लिन नेपाल $\text{..................}$ बाहिर भ्रमण गर्दा देहाय बमोजिम दैनिक तथा भ्रमण भत्ता दिइनेछ :–
(क) दैनिक भत्ता : अनुसूची–२ मा उल्लेख भए बमोजिमको रकम ।
(ख) भ्रमण भत्ता :
(१) मोटरबाट भ्रमण गर्दा एकजनालाई लाग्ने बिल बमोजिमको मोटर भाडा।
(२) रेलबाट भ्रमण गर्दा एकजनालाई लाग्ने पहिलो दर्जाको टिकट खर्च।
(३) हवाई जहाजबाट भ्रमण गर्दा एकजनालाई लाग्ने बिजिनेस दर्जाको टिकट खर्च।
(४) जलमार्गबाट भ्रमण गर्दा एकजनालाई लाग्ने बिल बमोजिमको खर्च।
(३) महान्यायाधिवक्ताले नेपाल बाहिर औपचारिक रुपमा विदेशी राष्ट्रहरुको अतिथिको रुपमा भ्रमणमा जाँदा त्यस्तो राज्यमा रहुन्जेलसम्म उपदफा (२) को खण्ड (क) बमोजिम पाउने दैनिक भत्ताको आधाको दरले मात्र दैनिक भत्ता पाउनेछ।
८. भ्रमण सम्बन्धी अन्य व्यवस्था : (१) महान्यायाधिवक्ताले भ्रमणबाट फर्केको दिनको आधा दैनिक भत्ता पाउनेछ र त्यस्तो भत्ता फर्केको दिनको अघिल्लो दिन बसेको स्थानको लागि पाउने दैनिक भत्ताको आधा हुनेछ।
(२) भ्रमण भत्ताको भुक्तानीको निमित्त महान्यायाधिवक्ताले भ्रमणबाट फर्केको मितिले पैंतीस दिनभित्र भ्रमण बिल भर्पाई कोष प्रमाण, लगबुक, भर्पाई आदि आवश्यक प्रमाणहरु उपलब्ध गराउनु पर्नेछ।
९. बीमा खर्च तथा हवाई उडान खर्च : महान्यायाधिवक्तालाई आफ्नो ओहदा सम्बन्धी काममा वा नेपाल सरकारको तर्फबाट कुनै समारोह, उत्सव, अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार आदिमा
भाग लिन हवाईजहाजबाट भ्रमण गर्दा तीन लाख रुपैयाँको बीमा खर्च र हवाई उडान कर बापत लाग्ने रकम दिइनेछ ।
९क. ✘...................
१०. लुगा भत्ता : (१) महान्यायाधिवक्तालाई आफ्नो ओहदा सम्बन्धी काममा वा नेपाल सरकारको तर्फबाट कुनै समारोह, उत्सव, अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार आदिमा भाग लिन नेपाल ¤............ बाहिर जाँदा तीन वर्षमा एक पटक लुगा भत्ता बापत अनुसूची–१ मा उल्लेख भए बमोजिमको रकम दिइनेछ । (२) उपदफा (१) बमोजिम नेपाल ¤............ बाहिर जाँदा महान्यायाधिवक्ताले आफ्नो श्रीमती ♀वा श्रीमान समेत साथमा लै जाने स्वीकृति पाएमा ♀श्रीमती वा श्रीमानको लागि तीन वर्षमा एकपटक आफ्नो एक महिनाको पारिश्रमिकको आधा रकम लुगा भत्ता बापत पाउनेछ।
११. नेता भत्ता : महान्यायाधिवक्ताले प्रतिनिधि मण्डलको नेताको रुपमा नेपाल ¤............ बाहिर जाँदा आफूले पाउने दैनिक भत्ताको पच्चीस प्रतिशत थप रकम नेता भत्ता बापत पाउनेछ।
१२. भैपरी आउने खर्च : (१) महान्यायाधिवक्तालाई आफ्नो मातहत कार्यालयको निरीक्षण भ्रमणमा जाँदा खर्चको फाँटवारी बुझाउनु नपर्ने गरी वर्षको बढीमा दुई पटक एक हजार रुपैयाँका दरले भैपरी आउने खर्च दिइनेछ। (२) महान्यायाधिवक्तालाई कुनै समारोह, उत्सव, अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार आदिमा भाग लिन नेपाल ¤............ बाहिर जाँदा नेपाल सरकारले निर्णय गरे बमोजिम भैपरी आउने खर्च दिइनेछ।
✘ केही नेपाल कानू संशोधन गर्ने ऐन, २०६३ द्वारा खारेज। ¤ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको। ♀ लैङ्गिक समानता कायम गर्ने केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा थप। ◈ लैङ्गिक समानता कायम गर्ने नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा संशोधित।
१३. चाडपर्व खर्च : महान्यायाधिवक्ताले प्रत्येक वर्ष चाडपर्व खर्च बापत आफूले खाईपाई आएको एक महिनाको पारिश्रमिक बराबरको रकम पाउनेछ।
१४. बिदा : (१) महान्यायाधिवक्ताले देहाय बमोजिमका बिदाहरु पाउन सक्नेछ:–
(क) पर्व बिदा र भैपरी आउने बिदा (ख) घर बिदा (ग) बिरामी बिदा (घ) किरिया बिदा (ङ) विशेष बिदा
(२) उपदफा (१) को खण्ड (क), (ख), (ग) र (घ) बमोजिमका बिदाहरु पूरा पारिश्रमिक सहित र खण्ड (ङ) बमोजिमको बिदा आधा पारिश्रमिक सहितको हुनेछ।
(३) महान्यायाधिवक्ताले प्रत्येक वर्ष भैपरी आउने बिदा छ दिन र पर्व बिदा छ दिन लिन पाउनेछ।
(४) महान्यायाधिवक्ताले काम गरेको अवधिको एघार दिनको एक दिनको दरले घर बिदा पाउनेछ । घर बिदा बढीमा एकसय पचास दिनसम्म संचित गरी राख्न सकिनेछ। घर बिदाको प्रयोजनको निमित्त काम गरेको अवधि कायम गर्दा भैपरी आउने बिदा र पर्व बिदा बसेको दिन र सार्वजनिक बिदाको दिन समेत काम गरेको दिनमा जोडिइनेछ।
(५) एकसय बीस दिनभन्दा बढी घर बिदा संचित हुने महान्यायाधिवक्ताले सो बढी घर बिदामध्ये प्रत्येक वर्ष चैत्र मसान्तसम्म संचित रहेको घर बिदामध्ये बढीमा तीस दिनसम्मको घर बिदा बापत निजले खाईपाई आएको पारिश्रमिकको दरले हुन आउने रकम सोही आर्थिक वर्षको अन्त्यसम्ममा एकमुष्ट लिन सक्नेछ।
(६) महान्यायाधिवक्ताले प्रत्येक वर्ष पन्ध्र दिनका दरले बिरामी बिदा पाउनेछ ।
त्यस्तो बिरामी बिदा जति पनि संचित गरी राख्न सकिनेछ। कुनै कडा रोग लागि महान्यायाधिवक्ताले स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गरेमा बिरामी बिदा बाँकी नभए दुई महिनासम्म पारिश्रमिक सहितको र त्यस्तो पारिश्रमिक सहितको थप बिरामी बिदा लिइ सकेपछि एक पटकमा थप चार महिनासम्म र सेवाको अवधिभित्रमा बाह्र महिनामा नबढ्ने गरी बिना पारिश्रमिकको बिरामी बिदा पाउन सक्नेछ।
तर त्यसरी पारिश्रमिक सहितको थप बिरामी बिदा लिँदा प्रत्येक दुई दिन थप बिरामी बिदा बापत एक दिनका दरले घर बिदा कट्टा गरिनेछ।
(७) महान्यायाधिवक्ता आफैं करिया बस्नु परेमा कुल धर्म हेरी बढीमा पन्ध्र दिनसम्म करिया बिदा पाउनेछ।
(८) महान्यायाधिवक्ताले देहाय बमोजिम विशेष बिदा पाउन सक्नेछ:–
(क) एक पटकमा एक महिनामा नबढाई, र (ख) सेवाको अवधिभित्रमा जम्मा तीन महिनामा नबढाई ।
(९) संवैधानिक पदमा वा नेपाल सरकारको सेवामा रहेको कुनै व्यक्ति महान्यायाधिवक्ताको पदमा नियुक्त भएमा सो पदमा वा सेवामा रहँदाको निजको संचित बिदा सम्बन्धी हक उपभोग गर्नबाट निजलाई वञ्चित गरिने छैन ।
(१०) महान्यायाधिवक्ताले आफ्नो पदबाट अवकाश पाएमा उपदफा (४) र (६) बमोजिम संचित रहेको घर बिदा र बिरामी बिदा बापत निजको पदाधिकार रहेको पदबाट खाईपाई आएको पारिश्रमिकको दरले हुन आउने रकम एकमुष्ट लिन पाउनेछ ।
१५. बिदा दिने अधिकारी : (१) महान्यायाधिवक्ताले दफा १४ मा उल्लेखित बिदाहरुमध्ये पर्व बिदा र भैपरी आउने बिदा आफैं लिन सक्नेछ र अन्य बिदा प्रधानमन्त्री ॥............ बाट स्वीकृत गराउनु पर्नेछ।
॥ केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा झिकिएको ।
(२) महान्यायाधिवक्ताले उपदफा (१) बमोजिम लिएको बिदाको जानकारी •प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई दिनु पर्नेछ।
परिच्छेद–४ उपचार खर्च, निवृत्तभरण र उपदान
१६. उपचार खर्च : (१) महान्यायाधिवक्ताले आफू बिरामी भई उपचार गराउँदा देहाय बमोजिमको उपचार खर्च पाउनेछ :-
(क) अस्पतालमा भर्ना हुँदा र उपचार गराउँदा लागेको अस्पतालको बिल बमोजिमको खर्च र अस्पतालको चिकित्सकको प्रेस्क्रिप्सन बमोजिम खरिद गरेको औषधि खर्च। तर चिकित्सकको प्रेस्क्रिप्सनमा रोगको निदान (डाइग्नोसिस) गरिएको हुनुपर्छ।
(ख) प्लास्टिक सर्जरी बाहेक सबै किसिमको चिरफार (सर्जिकल अपरेसन) गर्दा लागेको बिल बमोजिमको खर्च। तर निजी नर्सिङ होममा चिरफार गरेको खर्च भने दिइने छैन।
(ग) चश्मा, दाँत, एयरफोन आदि उपकरणको लागि नेपाल सरकारले तोकिदिएको रकममध्ये लागेको बिल बमोजिमको खर्च।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि महान्यायाधिवक्ताले आफ्नो कार्यकाल भर पाउने उपचार खर्चको रकम निजले पाउने बाह्र महिनाको पारिश्रमिक बराबरको रकम भन्दा बढी हुने छैन।
• केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित।
⊕(२क) महान्यायाधिवक्ताले आफ्नो सगोलको पति वा पत्नी, आमा, बाबु, छोरा वा छोरी बिरामी भएमा उपदफा (२) बमोजिम पाउने अधिकतम उपचार खर्चको रकमबाट कट्टा हुने गरी सो रकमको आधारसम्म बिल बमोजिम भएको उपचार खर्चको नब्बे प्रतिशत रकम लिन पाउनेछ। त्यस्तो उपचार खर्चको माग गर्दा रोगको निदान (डाइग्नोसिस) गरिएको चिकित्सकको प्रमाणपत्र पेश गर्नु पर्नेछ।
तर यस उपदफा बमोजिम पाउने उपचार खर्च एकपटकमा महान्यायाधिवक्ताको एक महिनाको पारिश्रमिक भन्दा बढी हुने छैन।
⊕(२ख) महान्यायाधिवक्ताले आफ्नो सगोलको पति वा पत्नी, आमा, बाबु, छोरा वा छोरी बिरामी भई विदेशमा लगेर उपचार गराउनु पर्दा वा स्वदेशकै अस्पतालमा भर्ना गराई शल्यक्रिया वा उपचार गराउनु पर्दा अस्पतालमा लागेको बिल बमोजिमको खर्च र अस्पतालको चिकित्सकको प्रिस्क्रिप्सन बमोजिम लागेको औषधि उपचार खर्चको नब्बे प्रतिशत रकम उपदफा (२) बमोजिम महान्यायाधिवक्ताले पाउने रकम मध्येबाट पाउनेछ।
⊕(२ग) उपदफा (२क) र (२ख) मा जुनसुकै कुरा लेखिएको भएतापनि महान्यायाधिवक्ताको सगोलको पति वा पत्नी, आमा वा बाबु, छोरा वा छोरी कुनै संवैधानिक पदमा वा सरकारी सेवामा वा सरकारी स्वामित्व वा नियन्त्रण भएको संस्थाको सेवामा बहालवाला कर्मचारी भएमा त्यस्तो उपचार खर्च दिइने छैन।
⊕(२घ) यस दफा बमोजिम उपचार खर्च माग गर्ने महान्यायाधिवक्ता कार्यालयमा उपस्थित हुन नसक्ने गरी बिरामी भएको अवस्थामा बिरामी बिदा बाँकी भएसम्म बिरामी बिदा नै माग गर्नु पर्नेछ । बिरामी बिदा नभएमा मात्र अन्य बिदा माग गर्न पाउनेछ।
(२ङ) यस दफा बमोजिम महान्यायाधिवक्ताले पाएको उपचार खर्चको विवरण त्यस्तो महान्यायाधिवक्ताको बिदाको अभिलेख र व्यक्तिगत अभिलेखमा राखिनेछ।
(३) नेपाल सरकारद्वारा नियुक्त चिकित्सकहरुको समितिले महान्यायाधिवक्ताको नेपाल भित्र औषधि उपचार हुन नसक्ने भनी सिफारिस गरेमा र निजले विदेशमा गई उपचार गराउन चाहेमा नेपाल सरकारले महान्यायाधिवक्तालाई उपदफा (१) बमोजिम पाउने उपचार खर्चको अतिरिक्त नेपाल सरकारले उचित ठहर्याएको थप आर्थिक सहायता दिन सक्नेछ।
(४) महान्यायाधिवक्ताले सेवाबाट अलग हुँदा उपदफा (२) बमोजिम पाउने उपचार खर्चमध्ये केही लिई वा नलिई उपचार खर्च बाँकी रहेको भए त्यस्तो बाँकी भए जति रकमको दुई तिहाइको हिसाबले हुने एक मुष्ट रकम लिन पाउनेछ।
तर निवृत्तभरण पाउने गरी सेवाबाट अवकाश पाएको महान्यायाधिवक्ताले त्यस्तो बाँकी भए जति पूरै रकम एकमुष्ट लिन पाउनेछ ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भएतापनि महान्यायाधिवक्ताको पदमा पाँच वर्ष सेवा नगरी सेवाबाट अलग हुने महान्यायाधिवक्तालाई उपचार खर्च दिँदा यस ऐन बमोजिम पाउने सम्पूर्ण उपचार खर्चको रकमलाई पाँच वर्ष सेवा गरे बापत पाउने रकम मानी दामासाहीले हुन आउने रकम मात्र दिइनेछ।
(६) यस दफा बमोजिम पाउने उपचार खर्च लिन नपाउँदै महान्यायाधिवक्ताको मृत्यु भएमा दफा १८ बमोजिम पारिवारिक निवृत्तभरण वा उपदान पाउने ठहरिएको व्यक्तिले सो उपचार खर्च लिन पाउनेछ।
१७. निवृत्तभरण र उपदान : (१) संवैधानिक पदमा वा नेपाल सरकारको सेवामा बहाल रहेको वा त्यस्तो सेवाबाट अवकाश प्राप्त व्यक्ति महान्यायाधिवक्ताको पदमा नियुक्त भई सेवाबाट
अवकाश पाएमा निजले त्यसरी अघि गरेको सेवा अवधि र महान्यायाधिवक्ताको पदमा गरेको सेवा अवधि गणना गर्दा बीस वर्ष वा सो भन्दा बढी हुने रहेछ भने निजले आफ्नो मासिक पारिश्रमिकको दुई तिहाइ रकम वा देहायको हिसाबले हुने मासिक निवृत्तभरणमध्ये कुनै एक रोज्न सक्नेछ :–
स्पष्टीकरण : यस खण्डको प्रयोजनको लागि “सरकारी सेवामा काम गरेको अवधि” भन्नाले नेपाल सरकारबाट निवृत्तभरण पाउन सक्ने कुनै पदमा नियुक्त भई काम गरेको अवधिलाई जनाउनेछ।
$\oplus$(१क) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि महान्यायाधिवक्ताको पदमा दस वर्ष सेवा अवधि पूरा गरिसकेको व्यक्ति सेवाबाट अवकाश भएमा निजले आफ्नो मासिक पारिश्रमिकको दुई तिहाइ रकम मासिक निवृत्तभरण पाउनेछ।
(२) उपदफा (१) $\oplus$ वा (१क) बमोजिमको निवृत्तभरण पाउने सेवा अवधि पूरा नहुँदै सेवाबाट अवकाश प्राप्त गर्ने महान्यायाधिवक्तालाई निजले सेवा गरेको जम्मा वर्षलाई निजले अवकाश हुँदा खाईपाई आएको डेढ महिनाको पारिश्रमिकको अङ्कले गुणन गर्दा हुन आउने एकमुष्ट रकम उपदान दिइनेछ।
$\otimes$.....................
(३) संवैधानिक पदमा वा नेपाल सरकारको सेवा गरे बापत उपदान पाइसकेको कुनै व्यक्ति महान्यायाधिवक्ताको पदमा नियुक्त भएमा निजले त्यसरी नियुक्त भएको एक वर्षभित्र आफूले अघि पाएको उपदानको पूरै रकम फिर्ता गरेमा मात्र निजले अघि गरेको सेवा अवधि $\Delta$निवृत्तभरणको प्रयोजनको लागि जोडिनेछ ।
$\oplus$ पहिलो संशोधनद्वारा थप । $\otimes$ पहिलो संशोधनद्वारा प्रतिबंधात्मक वाक्यांश खारेकिएको । $\Delta$ पहिलो संशोधनद्वारा संशोधित ।
(४) यस दफा बमोजिम महान्यायाधिवक्ताले पाउने उपदानको रकम निजको बाह्र महिनाको पारिश्रमिक बराबरको रकम भन्दा बढी हुने छैन ।
(५) महान्यायाधिवक्ताको पारिश्रमिक बृद्धि हुँदा $\Delta$पारिश्रमिक अङ्कमा जति बृद्धि भएको छ त्यसको दुई गुणाई रकम निवृत्तभरण पाइरहेको महान्यायाधिवक्ताको निवृत्तभरणको रकममा पनि थप गरिनेछ ।
(६) संवैधानिक पदमा वा नेपाल सरकारको सेवा गरे बापत निवृत्तभरण पाइरहेको व्यक्ति महान्यायाधिवक्ताको पदमा नियुक्त भई यस ऐन बमोजिम पनि निवृत्तभरण पाउन सक्ने भएमा निजले अघि पाइरहेको निवृत्तभरण र यस ऐन बमोजिम पाउने निवृत्तभरणमध्ये कुनै एक रोज्न सक्नेछ ।
$\Delta$(७) उपदफा (१क) को प्रयोजनको लागि सेवा अवधि गणना गर्दा संवैधानिक पदमा वा सरकारी सेवाको पदमा वा सो दुवै पदमा काम गरेको कुल अवधिको आधार जोडी गणना गरिनेछ ।
१८. पारिवारिक निवृत्तभरण र उपदान : (१) महान्यायाधिवक्ताले आफ्नो परिवारका सदस्यहरुमध्ये कसैलाई इच्छाएको भए त्यस्तो व्यक्तिलाई र त्यस्तो इच्छाइएको व्यक्तिको पनि मृत्यु भएमा वा कसैलाई पनि नइच्छाएकोमा निजको परिवारका सदस्यहरुमध्ये नजिकको हकवालालाई देहायका आधारमा दफा १७ बमोजिमको निवृत्तभरण दिइनेछ :–
(क) पदमा बहाल छदै महान्यायाधिवक्ताको मृत्यु भएमा मृत्यु भएको मिति देखि सात वर्षसम्म, (ख) दफा १७ बमोजिम निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा सो सातवर्ष पुग्न बाँकी अवधि सम्म ।
$\Delta$ पहिलो संशोधनद्वारा संशोधित ।
(२) पदमा बहाल छदै महान्यायाधिवक्ताको मृत्यु भएमा दफा १७ बमोजिम निवृत्तभरण पाउने नभई उपदान मात्र पाउने रहे छ भने सो उपदानको रकम निजको परिवारका सदस्यहरु मध्ये उपदफा (१) बमोजिमको व्यक्तिले पाउनेछ।
(३) उपदफा (१) बमोजिमको पारिवारिक निवृत्तभरण पाउने अवधि भुक्तान भइसके पछि मृत महान्यायाधिवक्ताको विधा पत्नी वा विधुर पतिले जीवन भर त्यस्तो निवृत्तभरणको आधा रकम लिन पाउनेछ।
तर त्यस्तो व्यक्तिले आफूले गरेको सरकारी सेवा बापत निवृत्तभरण पाइरहेको भएमा यस उपदफा बमोजिमको निवृत्तभरण पाउने छैन।
⊕(४) महान्यायाधिवक्ताको पारिश्रमिक बृद्धि हुँदा पारिश्रमिकको अंकमा जति बृद्धि भएकोछ त्यसको दुई तिहाइ रकम उपदफा (१) वा (३) बमोजिम पारिवारिक निवृत्तभरण पाइरहेको व्यक्तिले खाइपाई आएको पारिवारिक निवृत्तभरण रकममा पनि थप गरिनेछ।
परिच्छेद – ५ विविध
१९. संचय कोष : नेपाल सरकारले महान्यायाधिवक्ताको मासिक पारिश्रमिकबाट सयकडा दशका दरले संचयकोष कट्टा गरी सो रकममा शत प्रतिशत रकम थप गरी संचय कोषमा जम्मा गरी दिनेछ।
⊕१९क. दैनिक तथा भ्रमण भत्ता पाउने : महान्यायाधिवक्ताको पदमा तीन वर्ष काम गरिसकेको महान्यायाधिवक्ताले आफूले पकाएको घर बिदामा आफ्नो घर जाँदा र घरबाट फर्किदा वर्षको एक पटक यो ऐन बमोजिम पाउने दैनिक तथा भ्रमण भत्ताको आधाको दरले दैनिक तथा भ्रमण भत्ता पाउनेछ।
⊕ पहिलो संशोधनद्वारा थप ।
तर परिवारका सदस्यले दैनिक तथा भ्रमण भत्ता पाउने छैन ।
⊕१९ख. बाटोको म्याद : महान्यायाधिवक्ताले घर बिदामा घर जाँदा र घर बिदा भुक्तान गरी घरबाट आफ्नो कार्यालयमा हाजिर हुन आउँदा वर्षको एकपटक पैदलको बाटोलाई आठकोसको दरले एक दिनको दिले र मोटर, रेल, हवाईजहाजको बाटोलाई जति दिन लाग्ने हो त्यति दिन बाटो म्याद पाउनेछ।
तर घर बिदामा घर नगई अन्यत्र जान वा बस्नको निमित्त बाटोको म्याद दिइने छैन । बाटो म्याद दिँदा सबैभन्दा छिटो साधनद्वारा सबैभन्दा छोटो बाटोको दिइनेछ र जाँदा आउँदा वास्तविक दिनभन्दा बढी दिइने छैन ।
२०. पारिश्रमिक तथा अन्य सुविधामा थप : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा हेरफेर गरी यस ऐन बमोजिम महान्यायाधिवक्ताले पाउने पारिश्रमिक तथा सुविधामा थप गर्न सक्नेछ।
∉२१. शपथ ग्रहण : महान्यायाधिवक्ताले आफ्नो पदको कार्यभार सम्हाल्नु अघि प्रधानन्यायाधीश समक्ष अनुसूची–२क बमोजिमको पद र गोपनीयताको शपथ गर्नु पर्नेछ।
२२. खारेजी र बचाउ : (१) महान्यायाधिवक्ता (सेवा शर्त) नियमावली, २०२० खारेज गरिएकोछ।
(२) नेपाल अधिराज्यको संविधान, २०४७ प्रारम्भ हुनु अघि महान्यायाधिवक्ताको पदमा नियुक्त भई महान्यायाधिवक्ता (सेवा शर्त) नियमावली, २०२० बमोजिम पाइरहेको निवृत्तिभरण सुविधा यसै ऐन बमोजिम पाएको मानिनेछ।
(३) यो ऐन प्रारम्भ हुनु अघि महान्यायाधिवक्ताले प्राप्त गरेको पारिश्रमिक तथा सुविधा यसै ऐन बमोजिम पाएको मानिनेछ।
⊕ पहिलो संशोधनद्वारा थप । ∉ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा संशोधित ।
अनुसूची–१ (दफा ३,४,५,७ र १० सँग सम्बन्धित) महान्यायाधिवक्ताले पाउने पारिश्रमिक, सुविधा तथा भत्ता
$\square$ नेपाल राजपत्रमा मिति २०७०।५।१० मा प्रकाशित सूचना अनुसार मिति २०७०।४।१ देखि लागु हुने गरी हेरफेर गरेको। $\bullet$ नेपाल सरकार (म.प.) को मिति २०७३।३।३१ को निर्णयतनुसार मिति २०७३।४।१ देखि लागु हुने गरी पारिश्रमिक रु. ६०,९७०।- तोकिएको। $\blacksquare$ नेपाल राजपत्रमा मिति २०५७।४।१ मा प्रकाशित सूचना अनुसार सोही मितिदेखि लागु हुने गरी हेरफेर गरेको।
■अनुसूची–२
(दफा ७ को उपदफा (२) को खण्ड (क) सँग सम्बन्धित)
महान्यायाधिवक्ताले विदेश भ्रमण गर्दा पाउने दैनिक भत्ता
सार्क मुलुक अमेरिकी डलर १०० अन्य मुलुक अमेरिकी डलर १२५
■ नेपाल राजपत्रमा मिति २०५७।४।१ मा प्रकाशित सूचना अनुसार मिति २०५७ साल साउन १ देखि लागु हुने गरी हरफेर गरेको ।
अनुसूची–२क.
(दफा २१ सँग सम्बन्धित)
शपथ
म ... ... ... मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु / ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा रहेको ◉नेपालको संविधान, प्रति पूर्ण वफादार रहँदै महान्यायाधिवक्ता पदको कामकाज प्रचलित कानूनको अधीनमा रही मुलुक र जनताको सोझो हितका लागि, कसैको डर नमानि, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई इमान्दारिताका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि कानूनको पालना गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन ।
.................... मिति : हस्ताक्षर
$\rightarrow$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा थप । ◉ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित ।
*अनुसूची–३
$\times$ केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा खारेज । द्रष्टव्य:- केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तरित भएको शब्दहरुः— “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।*