छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०४८
लालमोहर र प्रकाशन मिति २०४८।०२।१६
संशोधन गर्ने ऐनः १. छापाखाना र प्रकाशन सम्बन्धी (पहिलो संशोधन) ऐन, २०४८ २०४८।०७।१४ २. सञ्चार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०५७ २०५७।१०।१८
प्रमाणीकरण र प्रकाशन मिति ३. केही नेपाल ऐनको व्यवस्था जगाउने ऐन, २०६३ २०६३।०४।२३ ४. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६* २०६६।१०।०७ ५. लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२ २०७२।०६।१४ ६. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ २०८२।०४।१४
२०४८ सालको ऐन नं. ५
$\times$...........
छापाखाना र प्रकाशनसम्बन्धी व्यवस्था गर्न बनेको ऐन
प्रस्तावनाः विभिन्न वर्ग र क्षेत्रका जनताबीच सुसम्बन्ध, सदाचार, शिष्टाचार, नैतिकता कायम राख्न र देशको पत्रकारिता क्षेत्रले अभिव्यक्तिको स्वतन्त्रतालाई मर्यादित एवं जिम्मेवारीपूर्ण तवरले स्वतन्त्र र निरिङ्ख भई उपयोग गर्न सक्ने वातावरण सृजना गर्नको लागि छापाखाना र प्रकाशन सम्बन्धमा समयानुकूल कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२९ बमोजिम मन्त्रिपरिषद्को सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ।
परिच्छेद –१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०४८” रहेको छ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “छापाखाना” भन्नाले किताब, समाचारपत्र, समाचारपत्रिका वा लिखतपत्र निकाल्ने साधन सम्झनु पर्छ र सो शब्दले छाप्ने मेशिन, टाईप, लिथो गर्ने मेशिन, सबै कलहरू, ज्यावल, कार्यालय र त्यसका हिस्साहरूलाई समेत जनाउँछ।
(ख) “प्रकाशन” भन्नाले किताब, समाचारपत्र, समाचारपत्रिका, अन्य पत्रपत्रिका र लिखतपत्रलाई समेत सम्झनु पर्छ।
(ग) “किताब” भन्नाले समग्र वा खण्ड खण्ड रूपमा छापिएको वा यन्त्रद्वारा निकालिएको वा लिथो गरिएको प्रत्येक पुस्तक पुस्तिका, पर्चा, विवरणपत्र, स्वरलिपि, नक्सा, मानचित्र आदि समेतलाई जनाउँछ।
(घ) “समाचारपत्र” भन्नाले सार्वजनिक महत्त्वका समसामयिक विषयका क्षेत्रमा टिप्पणी गरिएको वा नगरिएको लिखत, समाचार तथा विचारहरू समेत गरिएको सार्वजनिक रूपमा बिक्री वा वितरण हुने पत्र सम्झनु पर्छ।
(ङ) “समाचारपत्रिका” भन्नाले सार्वजनिक समाचार वा त्यसको टिप्पणी तथा विश्लेषण गरिएको तर समाचारपत्रमा नगिने समाचार सम्बन्धी कागजपत्र सम्झनु पर्छ।
(च) “पत्रपत्रिका” भन्नाले समाचारपत्र र समाचारपत्रिका र अन्य पत्रपत्रिकालाई समेत सम्झनु पर्छ।
(च१) “अनलाइन सञ्चारमाध्यम" भन्नाले प्रचलित कानून बमोजिम स्थापना वा दर्ता भई इन्टरनेटको माध्यमबाट सङ्केत, चिन्ह, आवाज, ग्राफिक्स, भिडियो, एनिमेसन तथा मल्टिमिडियाको प्रयोगमार्फत सन्देशमूलक वा विषयगत विचार, सूचना तथा समाचार, तस्बिर, श्रव्य, श्रव्यदृश्यको रूपमा उत्पादन, प्रकाशन, प्रसारण वा वितरण गर्ने संस्था वा माध्यम सम्झनु पर्छ।
(छ) “अन्य पत्रपत्रिका” भन्नाले समाचारपत्र र समाचारपत्रिकामा नगनिने कला, साहित्य, विज्ञान, पर्यटन, चलचित्र लगायतका विभिन्न विधामा प्रकाशित हुने अन्य पत्रपत्रिका सम्झनु पर्छ।
(ज) “लिखितपत्र” भन्नाले पोष्टर, चित्र, नक्सा, फोटो वा अरू कुनै प्रत्यक्ष चित्राङ्कनलाई समेत जनाउँछ।
(झ) “प्रकाशक” भन्नाले दफा ७ बमोजिम पत्रपत्रिका प्रकाशन गर्न प्रमाणपत्र पाएको व्यक्ति सम्झनु पर्छ।
(ञ) “सम्पादक” भन्नाले पत्रपत्रिकामा प्रकाशित हुने सामग्रीको चयन तथा सम्पादन गर्ने उत्तरदायी भएको व्यक्ति सम्झनु पर्छ।
(ट) “मुद्रक” भन्नाले छापाखाना धनी आईँले छापाखाना सञ्चालन गरेको भए छापाखाना धनी वा छापाखाना सञ्चालन गर्न कुनै व्यक्ति नियुक्त गरिएको भए त्यसरी नियुक्त गरिएको व्यक्ति सम्झनु पर्छ।
(ठ) “पत्रकार” भन्नाले पत्रपत्रिकामा प्रकाशित हुने सामग्री सङ्कलन वा सम्पादन गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले सम्पादक र सम्पादन गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले सम्पादक र स्तम्भ लेखक समेतलाई जनाउँछ।
(ड) “प्रतिबन्धित प्रकाशन” भन्नाले दफा १४ बमोजिम प्रकाशित गर्न नहुने कुरा समावेश भएको प्रकाशन सम्झनु पर्छ।
(ढ) “निषेधित प्रकाशन” भन्नाले दफा १५ बमोजिम निषेधित गरिएको कुरा समावेश भएको प्रकाशन सम्झनु पर्छ।
(ण) “प्रेस रजिष्ट्रार” भन्नाले दफा १९ बमोजिम नियुक्त गरिएको अधिकारी सम्झनु पर्छ।
(त) “स्थानीय अधिकारी” भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको अधिकारी सम्झनु पर्छ र त्यसरी अधिकारी नतोकिएकोमा प्रमुख जिल्ला अधिकारीलाई सम्झनु पर्छ।
(थ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ।
परिच्छेद –२ छापाखाना सम्बन्धी व्यवस्था
३. छापाखाना दर्ता गर्नु पर्नेः (१) छापाखाना सञ्चालन गर्न चाहने व्यक्तिले छापाखाना सञ्चालन गर्नको लागि तोकिएको विवरणहरू खुलाई तोकिएको ढाँचामा स्थानीय अधिकारी समक्ष दरखास्त दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको दरखास्त प्राप्त भएपछि स्थानीय अधिकारीले उक्त दरखास्त उपर आवश्यक छानबिन गरी तोकिएको दस्तुर लिई दरखास्तवालालाई छापाखाना सञ्चालन गर्न तोकिएबमोजिम प्रमाणपत्र दिनु पर्नेछ।
(३) उपदफा (२) बमोजिम प्रमाणपत्र दिएपछि स्थानीय अधिकारीले छापाखाना सम्बन्धी विवरण दर्ता किताबमा जनाई राख्नु पर्नेछ।
(४) उपदफा (१) बमोजिम पेश गरिएको विवरणमा कुनै परिवर्तन भएमा मुद्रकले स्थानीय अधिकारीलाई तुरुन्त सूचना गर्नु पर्नेछ। स्थानीय अधिकारीले पनि त्यस्तो सूचना
प्राप्त हुनासाथ उपदफा (३) बमोजिमको दर्ता किताबमा त्यस्तो परिवर्तन भएको मिति र विवरण जनाई राख्नु पर्नेछ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भएतापनि एक जिल्लामा दर्ता भएको छापाखाना अर्को जिल्लामा लगी सञ्चालन गर्नु पर्ने भएमा उपदफा (१) बमोजिम पुनः दरखास्त दिई प्रमाणपर लिनु पर्नेछ।
४. छापाखाना बन्द वा जप्त नगरिनेः दफा ३ बमोजिम दर्ता भएको छापाखानाले समाचार, लेख वा अन्य पाठ्य सामग्री मुद्रण गरे बापत त्यस्तो छापाखाना बन्द वा जप्त गरिने छैन।
परिच्छेद –३ किताब सम्बन्धी व्यवस्था
५. किताब दर्ता गर्नेः (१) किताबको प्रकाशकले आफूले प्रकाशन गरेको किताब बिक्री वितरण गर्नुभन्दा अघि त्यस्तो किताबको दुई प्रति बिना मूल्य स्थानीय अधिकारीलाई बुझाउनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम प्राप्त भएका किताबहरू स्थानीय अधिकारीले दर्ता किताबमा दर्ता गरी देहायका कुराहरू समेत उल्लेख गरी राख्नु पर्नेः–
(क) किताबको नाम र मुखपृष्ठमा छापिएको व्यहोरा (नेपाली भाषामा नभए अनुवाद गरी नेपाली भाषामा राख्ने),
(ख) किताब लेखिएको भाषा,
(ग) किताब वा त्यसको भागको लेखक, अनुवादक वा सम्पादकको नाम,
(घ) किताबको विषय,
(ङ) मुद्रण गरिएको र प्रकाशन गरिएको स्थान,
(च) मुद्रक वा मुद्रण गर्ने संस्था र प्रकाशक वा प्रकाशन गर्ने संस्थाको नाम,
(छ) प्रकाशन गरिएको मिति,
(ज) पृष्ठ संख्या,
(झ) आकार,
(ञ) संस्करण संख्या,
(ट) सो संस्करणमा छापिएको प्रति,
(ठ) छापिएको वा लिथो भएको,
(ड) बिक्री मूल्य, र
(ढ) प्रतिलिपि अधिकार पाउने व्यक्तिको नाम, थर र बतन।
६. किताबमा उल्लेख गर्नु पर्ने कुराहरूः किताबको प्रकाशकले प्रत्येक किताबमा प्रकाशक, सम्पादक वा लेखक वा अनुवादक, मुद्रक, छापाखाना र प्रतिलिपि अधिकार पाउने व्यक्ति समेत सबैको पूरा नाम, संस्करणको सङ्ख्या, वर्ष र सो संस्करणमा छापिएको प्रति तथा बिक्री मूल्य आदि स्पष्ट बुझिने गरी उल्लेख गर्नु पर्नेछ।
परिच्छेद –४ पत्रपत्रिका सम्बन्धी व्यवस्था
७. पत्रपत्रिका दर्ता गर्नु पर्नेः (१) सार्वजनिक रूपमा बिक्री वितरण हुने पत्रपत्रिका नेपाल भित्र प्रकाशित गर्न चाहने व्यक्तिले पत्रपत्रिकाको नाम, किसिम, भाषा, आकार, पृष्ठ संख्या, छापिने संख्या र प्रकाशित हुने स्थान समेत खुलाई पत्रपत्रिका दर्ता गर्नको लागि तोकिए बमोजिमको दस्तुर सहित तोकिएको ढाँचामा स्थानीय अधिकारी समक्ष दरखास्त दिनु पर्नेछ। तर नेपाल सरकारको कार्यालय, नेपाल सरकारको स्वामित्व भएको संगठित संस्था, विश्वविद्यालय, नेपाल सरकारको स्वीकृति प्राप्त शिक्षण संस्था, प्रचलित कानूनबमोजिम स्थापित संघ संस्था, फर्म, कम्पनी वा कुनै राजनीतिक दल वा संगठनको मुखपत्रको रूपमा प्रकाशित हुने पत्रपत्रिकालाई यस दफा बमोजिम दर्ता गराउन आवश्यक पर्ने छैन।
(२) उपदफा (१) बमोजिमको दरखास्त प्राप्त भएपछि स्थानीय अधिकारीले सो दरखास्त उपर आवश्यक छानबिन गरी दरखास्तवालासँग कुनै कुरा बुझ्नु पर्ने भएमा सो समेत बुझी दरखास्त प्राप्त भएको मितिले पैंतीस दिनभित्र दरखास्तवालालाई त्यस्तो पत्रपत्रिका प्रकाशन गर्न तोकिएबमोजिम अस्थायी प्रमाणपत्र दिनेछ।
तर दरखास्तमा उल्लिखित पत्रपत्रिकाको नामसित मिल्ने गरी अर्को कुनै पत्रपत्रिका स्थानीय अधिकारीको कार्यालयमा दर्ता भइसकेको रहेछ भने दरखास्तवालालाई त्यस्तो अस्थायी प्रमाणपत्र दिइने छैन।
(३) उपदफा (२) बमोजिम अस्थायी प्रमाणपत्र दिईसकेपछि स्थानीय अधिकारीले त्यस्तो पत्रपत्रिकाको सम्पूर्ण विवरण सहित सो कुराको सूचना प्रेस रजिष्ट्रारलाई दिनु पर्नेछ।
(४) उपदफा (३) बमोजिम सूचना प्राप्त भएपछि प्रेस रजिष्ट्रारले सो पत्रपत्रिकाको नामसित मिल्ने गरी अन्य कुनै पत्रपत्रिका कुनै स्थानीय अधिकारीको कार्यालयमा दर्ता भएको छ छैन हेरी सो नामसित मिल्ने गरी दर्ता भएको रहेन भने त्यस्तो पत्रपत्रिका प्रकाशन गर्न स्थायी प्रमाणपत्र दिने गरी प्रेस रजिष्ट्रारले स्वीकृति दिनेछ।
(५) उपदफा (४) बमोजिम प्रेस रजिष्ट्रारबाट स्वीकृति पाएपछि स्थानीय अधिकारीले सम्बन्धित दरखास्तवालालाई स्थायी प्रमाणपत्र दिनेछ।
(६) *दरखास्तवालालाई स्थायी प्रमाणपत्र दिन नमिल्ने उचित कारण भएमा स्थानीय अधिकारीले सोही कुराको जानकारी दरखास्तवालालाई दरखास्त परेको मितिले सामान्यतया तीन महिनाभित्र दिनु पर्नेछ। त्यस्तो जानकारी दिएपछि दरखास्तवालाको अस्थायी प्रमाणपत्र स्वतः खारेज हुनेछ।
(७) उपदफा (५) बमोजिम प्रमाणपत्र दिएपछि स्थानीय अधिकारीले पत्रपत्रिका सम्बन्धी विवरण दर्ता किताबमा जनाई राख्नु पर्नेछ।
* पहिलो संशोधनद्वारा संशोधित।
(८) पत्रपत्रिकाको नाम, किस्म र भाषा परिवर्तन गर्नु पर्ने भएमा वा कुनै पत्रपत्रिका एकभन्दा बढी भाषामा प्रकाशित गर्नु परेमा वा एक जिल्लाबाट प्रकाशित भइरहेको पत्रपत्रिका अन्य जिल्ला वा एक भन्दा बढी जिल्लाबाट प्रकाशित गर्नु पर्ने भएमा उपदफा (१) बमोजिम स्थानीय अधिकारी समक्ष दरखास्त दिई सोको समेत प्रमाणपत्र लिनु पर्नेछ ।
(९) उपदफा (८) मा लेखिएका बाहेक पत्रपत्रिका सम्बन्धी अन्य विवरणमा कुनै परिवर्तन गर्नु पर्ने भएमा स्वीकृतिको निमित्त त्यसको विवरण प्रकाशकले स्थानीय अधिकारीलाई दिनु पर्नेछ।
(१०) उपदफा (९) बमोजिम विवरण प्राप्त हुनासाथ स्थानीय अधिकारीले उपदफा (७) बमोजिमको दर्ता किताबमा जनाई त्यसको स्वीकृति सम्बन्धि प्रकाशकलाई दिनु पर्नेछ।
(११) यस दफा बमोजिम दर्ता भएको पत्रपत्रिकाको विवरणमा भएका परिवर्तनहरूको जानकारी स्थानीय अधिकारीले प्रेस रजिष्ट्रारलाई दिनु पर्नेछ।
७क. प्रमाणपत्रको दर्ता खारेज : देहायको अवस्थामा पत्रपत्रिकाका दर्ता खारेज हुनेछ :–
(क) पत्रपत्रिका दर्ता भएको मितिले एक वर्षभित्र एक अङ्क पनि प्रकाशन नगरेमा,
(ख) पत्रपत्रिका प्रकाशन नगरेको मितिले एक वर्षभित्र यसको लिखित सूचना सूचना विभागलाई नदिएमा, तर त्यस्तो सूचना एकपटकमा बढीमा एक वर्षको अवधिको लागि र लगातार पाँच पटक गरी पाँच वर्षभन्दा बढी अवधिको लागि दिन पाइने छैन।
७ख. अनलाइन सञ्चारमाध्यम दर्ता गर्नु पर्ने : (१) अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न चाहने व्यक्तिले त्यस्तो सञ्चारमाध्यम दर्ता गर्नको लागि तोकिएको दस्तुर सहित तोकिएको ढाँचामा स्थानीय अधिकारी समक्ष निवेदन दिनु पर्नेछ।
$\spadesuit$ पहिलो संशोधनद्वारा संशोधित। $\times$ सञ्चार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०५७ द्वारा थप। $\leftrightarrow$ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ द्वारा थप।
(२) उपदफा (१) बमोजिम प्राप्त निवेदन उपर स्थानीय अधिकारीले आवश्यक जाँचबुझ गरी दर्ता गर्न उपयुक्त देखेको अनलाइन सञ्चारमाध्यम दर्ता गर्न सक्नेछ।
(३) अनलाइन सञ्चारमाध्यम दर्ता, सञ्चालन, नवीकरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
८. पत्रपत्रिकाको स्वामित्व हस्तान्तरणः (१) दफा ७ बमोजिम दर्ता भएको पत्रपत्रिकाको प्रकाशनको स्वामित्व कानूनबमोजिम हस्तान्तरण भई कसैले प्राप्त गरेमा सो प्राप्त गर्ने व्यक्तिले सात दिनभित्र त्यसको जानकारी तोकिएको ढाँचामा स्थानीय अधिकारीलाई दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको जानकारी प्राप्त भएपछि स्थानीय अधिकारीले तत्सम्बन्धी विवरण दर्ता किताबमा जनाई यसरी पत्रपत्रिकाको स्वामित्व हस्तान्तरण भएको जानकारी प्रेस रजिष्ट्रारलाई दिनु पर्नेछ।
९. पत्रपत्रिकामा उल्लेख गर्नु पर्नेः पत्रपत्रिकामा प्रकाशक, सम्पादक, मुद्रक र छापाखानाको नाम तथा प्रकाशन वर्ष र अङ्क तोकिएबमोजिम स्पष्ट बुझिने गरी उल्लेख गर्नु पर्नेछ।
९क. पत्रपत्रिकाको आकार र पृष्ठ संख्याः (१) दफा ७ बमोजिम दर्ता भई प्रकाशित हुने पत्रपत्रिकाको न्यूनतम आकार र पृष्ठ संख्या तोकिएबमोजिम हुनेछ।
(२) उपदफा (१) बमोजिम तोकिएको आकार र पृष्ठ संख्यामा घटी गरी प्रकाशित हुने पत्रपत्रिकालाई नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व भएको संस्थाबाट दिइने सुविधा, सहायता वा विज्ञापन दिइने छैन।
१०. पत्रपत्रिकाको प्रकाशनः प्रकाशकले पत्रपत्रिकाको प्रत्येक संस्करण दफा ७ बमोजिमको दर्ता किताबमा उल्लिखित विवरणमा फरक नपारी प्रकाशित गर्नु पर्नेछ।
११. प्रकाशन बन्द गरेको सूचना दिनु पर्नेः दफा ७ बमोजिम प्रमाणपत्र लिई सञ्चालन गरेको पत्रपत्रिकाको प्रकाशन बन्द गरेमा सो बन्द गरेको सूचना प्रकाशकले स्थानीय अधिकारीलाई दिनु पर्नेछ।
१२. पूर्व प्रतिबन्ध नलगाइनेः दफा १४ र १५ बमोजिमको अवस्थामा बाहेक कुनै पत्रपत्रिकामा कुनै समाचार, लेख वा अन्य कुनै पाठ्य सामग्री प्रकाशित गर्न पूर्व प्रतिबन्ध लगाइने छैन ।
१३. पत्रपत्रिका दर्ता खारेज नगरिनेः दफा ७ बमोजिम दर्ता भएको कुनै पत्रपत्रिकामा कुनै समाचार, लेख वा पाठ्यसामग्री प्रकाशित गरे बापत त्यस्तो पत्रपत्रिकाको दर्ता खारेज गरिने छैन ।
१४. प्रकाशनमा प्रतिबन्धः देहायका कुराहरू किताब वा पत्रपत्रिकामा प्रकाशित गर्न पाइने छैनः–
(क) $\times$...........
(ख) नेपाल $\times$........... को सार्वभौमसत्ता र अखण्डतामा आँच आउने,
(ग) नेपाल $\times$........... को सुरक्षा, शान्ति र व्यवस्थामा खलल पर्न जाने,
(ग१) कसैको चरित्र हत्या वा अपमान हुने वा लैङ्गिक हिंसा वा विभेदलाई बढवा दिने,
(घ) विभिन्न जात जाति, धर्म, वर्ण, क्षेत्र, सम्प्रदायका मानिसहरू बीच वैमनस्य उत्पन्न गर्ने तथा साम्प्रदायिक दुर्भावना फैलाउने, र
(ङ) सर्वसाधारण जनताको सदाचार, नैतिकता र सामाजिक मर्यादामा आघात पर्न जाने ।
१५. प्रकाशनमा निषेधः (१) राष्ट्रिय हितलाई ध्यानमा राखी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै खास विषय, घटना वा क्षेत्रसँग सम्बन्धि समाचार, सूचना वा अन्य कुनै पाठ्य सामग्री सोही सूचनामा तोकिएको अवधिसम्मका लागि प्रकाशित गर्न नपाउने गरी वा $\nabla$सोही सूचनामा तोकिएको अधिकारीबाट जँचाएर मात्र प्रकाशित गर्न पाउने गरी आदेश जारी गर्न सक्नेछ ।
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको । $\text{६}$ लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२ द्वारा थप । $\nabla$ पहिलो संशोधनद्वारा थप ।
(२) उपदफा (१) बमोजिमको आदेश जारी भएपछि कसैले पनि त्यस्तो समाचार, सूचना वा पाठ्य सामग्री प्रकाशन, अनुवाद वा उद्धरण गर्न समेत हुँदैन।
१६. विदेशी प्रकाशनको पैठारीमा नियन्त्रणः (१) देहायको उद्देश्य भएको वा त्यस्तो सम्भावित परिणाम हुन सक्ने सामग्री भएको विदेशी प्रकाशनको पैठारीमा रोक लगाउने गरी नेपाल सरकारले आदेश जारी गर्न सक्नेछः–
(क) राष्ट्रिय हित र मर्यादा विरुद्ध हुने कुराहरू गर्ने,
(२) उपदफा (१) बमोजिम रोक लगाइएका प्रकाशन पैठारी हुन लागेको शङ्का लागेमा सम्बन्धित भन्सार वा हुलाक अधिकारीले त्यस्तो माल वस्तु समेत रोकी शङ्का लागेको प्रकाशनको दुई प्रति स्थानीय अधिकारीकहाँ चलानी साथ पठाई बाँकी आफू कहाँ रोकी राख्नु पर्नेछ।
(३) उपदफा (२) बमोजिम भन्सार वा हुलाक हाकिमले पठाएको प्रकाशन प्राप्त भएपछि स्थानीय अधिकारीले त्यस्तो प्रकाशन रोक्नु पर्ने कुनै कारण भएमा सो कारण समेत जनाई पैठारीकनलाई सूचना दिनु पर्नेछ र रोक्नु पर्ने कुनै कारण नभए त्यस्तो प्रकाशन प्राप्त
भएको बाह्र घण्टाभित्र भन्सार वा हुलाक हाकिमले रोकी राखेको प्रकाशन पैठारीकिरणलाई फिर्ता बुझाउने आदेश दिनु पर्नेछ।
(४) नेपाल सरकारले आवश्यक देखेमा उपदफा (१) बमोजिम लगाइएको रोक जुनसुकै बखत हटाउन सक्नेछ।
१७. प्रतिबन्धित प्रकाशन वा निषेधित प्रकाशन निकासी, बिक्री वितरण आदि गर्न नहुनेः (१) कसैले पनि प्रतिबन्धित प्रकाशन वा निषेधित प्रकाशन निकासी गर्न हुँदैन।
(२) कसैले पनि प्रतिबन्धित प्रकाशन वा निषेधित प्रकाशन जानी जानी छाप्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न हुँदैन।
१८. .............
परिच्छेद – ५ प्रेस रजिष्ट्रार, प्रेस प्रतिनिधि तथा स्वतन्त्र पत्रकार सम्बन्धी व्यवस्था
१९. प्रेस रजिष्ट्रारः (१) नेपाल $\times$.......... बाट प्रकाशित हुने पत्रपत्रिकाको सम्पूर्ण विवरणहरूको अभिलेख राख्ने कामको लागि नेपाल सरकारले एक प्रेस रजिष्ट्रारको नियुक्ति गर्नेछ।
(२) उपदफा (१) बमोजिम नियुक्त भएको प्रेस रजिष्ट्रारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) दफा ७ बमोजिम पत्रपत्रिकाको स्थायी प्रमाणपत्र दिन स्वीकृति दिने,
(ख) दफा ७ बमोजिम दर्ता गरिएको पत्रपत्रिकाको सम्पूर्ण विवरण स्थानीय अधिकारीसँग लिई त्यसको अभिलेख राख्ने,
. पहिलो संशोधनद्वारा खारेज। $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको।
(ग) पत्रपत्रिकाको नाम, भाषा, किसिम, प्रकाशन अवधि, प्रकाशन हुने स्थान आदिमा समय समयमा भएको परिवर्तनका सम्बन्धमा स्थानीय अधिकारीबाट जानकारी लिई अद्यावधिक अभिलेख राख्ने,
(घ) नेपाल $\times$............ भित्र प्रकाशित हुने पत्रपत्रिकाको नाम, किसिम, प्रकाशन अवधि, भाषा आदि विषयमा वार्षिक प्रतिवेदन तयार गरी प्रकाशित गर्ने,
(ङ) पत्रपत्रिकालाई दिइने सुविधाका सम्बन्धमा नेपाल सरकारलाई सल्लाह दिने,
(च) कसैले पत्रपत्रिकामा विज्ञापन दिने प्रयोजनको लागि कुनै पत्रपत्रिकाको सम्बन्धमा विवरण माग गरेमा तोकिए बमोजिमको शुल्क लिई विवरणहरू दिने,
(छ) यो ऐन वा अन्य प्रचलित कानूनबमोजिम प्रेस रजिष्ट्रारले गर्ने भनी तोकिएको अन्य काम कारबाही गर्ने।
(३) प्रेस रजिष्ट्रार सम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ।
२०. प्रेस प्रतिनिधि सम्बन्धी व्यवस्थाः (१) कुनै नेपाली वा विदेशी प्रेस वा सञ्चार सम्बन्धी संस्थाले नेपाल $\times$............ भित्र काम गर्ने आफ्ना प्रतिनिधिहरूको नाम, योग्यता र कार्यक्षेत्र समेत उल्लेख गरी तोकिए बमोजिमको विवरण तोकिएको अधिकारी समक्ष पठाउनु पर्नेछ।
तर विदेशी मित्रराष्ट्रका राष्ट्राध्यक्ष वा सरकार प्रमुख वा उच्च स्तरीय प्रतिनिधि मण्डल नेपाल भ्रमणमा आउँदा साथमा आउने पत्रकारहरू वा नेपाल सरकारको निमन्त्रणामा नेपाल भ्रमणमा आउने पत्रकारहरूको लागि उक्त भ्रमणको अवधि भरको लागि त्यस्तो विवरण दिन आवश्यक नपर्ने गरी नेपाल सरकारले छुट दिन सक्नेछ।
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको। $\blacktriangle$ पहिलो संशोधनद्वारा संशोधित।
(२) उपदफा (१) बमोजिमको विवरण पठाउने प्रेस व सञ्चार सम्बन्धी संस्थाका प्रतिनिधिहरूलाई नेपाल सरकारले प्रेस प्रतिनिधि प्रमाणपत्र दिने व्यवस्था गर्न सक्नेछ।
(३) नेपालको राष्ट्रिय चाड पर्व वा विशेष अवसरमा छोटो अवधिको लागि नेपाल भ्रमणमा आउने पत्रकारहरूको लागि नेपाल सरकारले अस्थायी प्रेस प्रतिनिधि प्रमाणपत्र दिने व्यवस्था गर्न सक्नेछ।
(४) उपदफा (२) वा (३) बमोजिम प्रेस प्रतिनिधि प्रमाणपत्र लिन चाहने व्यक्तिले आफू काममा संलग्न रहेको संस्थाको सिफारिस साथ तोकिएबमोजिमको योग्यताको प्रमाणपत्रको प्रतिलिपि संलग्न राखी तोकिएको अधिकारी समक्ष दरखास्त दिनु पर्नेछ। प्रेस प्रतिनिधि प्रमाणपत्र लिन चाहने स्वतन्त्र पत्रकारले पनि सोही बमोजिम दरखास्त दिन सक्नेछ।
(५) उपदफा (४) बमोजिमको दरखास्त प्राप्त भएपछि तोकिएको अधिकारीले त्यस्तो दरखास्त उपर आवश्यक जाँचबुझ गरी तोकिएको दस्तुर लिई तोकिएको ढाँचामा दरखास्तवालालाई प्रेस प्रतिनिधि प्रमाणपत्र वा अस्थायी प्रेस प्रतिनिधि प्रमाणपत्र दिन सक्नेछ।
(६) उपदफा (५) बमोजिम प्रेस प्रतिनिधि प्रमाणपत्र वा अस्थायी प्रेस प्रतिनिधि प्रमाणपत्र पाएको व्यक्तिले यस ऐन र प्रचलित कानूनको अधिनमा रही आफ्नो कार्य क्षेत्रभित्र समाचार संकलन गर्न सक्नेछ।
(७) प्रेस प्रतिनिधि तथा स्वतन्त्र पत्रकार सम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ।
परिच्छेद – ६ दण्ड सजाय
२१. प्रमाणपत्र नलिई छापाखाना सञ्चालन गरेमाः (१) कसैले दफा ३ बमोजिम प्रमाणपत्र नलिई छापाखाना सञ्चालन गरेमा स्थानीय अधिकारीले त्यस्तो व्यक्तिलाई दश हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ।
(२) कसैले दफा ३ को उपदफा (४) बमोजिम परिवर्तन भएको विवरण नसच्याई छापाखाना सञ्चालन गरेमा स्थानीय अधिकारीले त्यस्तो व्यक्तिलाई तीन हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ।
२२. झुट्ठा विवरण दिएमाः कसैले दफा ३ र ७ अनुसार दिएको विवरण जानी जानी झुट्ठा दिएको ठहरेमा निजलाई स्थानीय अधिकारीले तीन हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ।
२३. किताब नबुझाएमाः कसैले दफा ५ बमोजिम बुझाउनु पर्ने किताब नबुझाएमा स्थानीय अधिकारीले बुझाउनु पर्ने किताबको मूल्य र सो मूल्य बराबरको रकम जरिवाना गर्न सक्नेछ।
२४. उल्लेख गर्नु पर्ने कुरा उल्लेख नगरेमाः कुनै प्रकाशकले दफा ६ र ९ अनुसार किताब वा पत्रपत्रिकामा उल्लेख गर्नु पर्ने कुरा उल्लेख नगरेमा त्यस्तो प्रकाशकलाई स्थानीय अधिकारीले पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ।
२५. $\times$.............
२६. अनधिकृत तबरेले प्रकाशन प्रकाशित गरेमाः (१) कसैले दफा ७ बमोजिम प्रमाणपत्र नलिईकन कुनै प्रकाशन प्रकाशित गरेमा त्यस्तो व्यक्तिलाई पाँच हजार रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुबै सजाय हुनेछ।
(२) कसैले दफा ७ को उपदफा (९) बमोजिम परिवर्तन भएको विवरण नसच्याई प्रकाशन प्रकाशित गरेमा त्यस्ता व्यक्तिलाई स्थानीय अधिकारीले तीन हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ।
२७. प्रतिबन्धित प्रकाशन वा निषेधित प्रकाशन प्रकाशित गरेमाः कसैले दफा १४ बमोजिम प्रतिबन्ध लगाइएको वा दफा १५ बमोजिम निषेध गरेको कुनै कुरा प्रकाशन गरेमा त्यस्तो प्रकाशक वा सम्पादकलाई सो काम गरे बापत प्रचलित कानूनले कुनै सजाय हुने रहेछ भने सोही
$\times$ पहिलो संशोधनद्वारा खारेज।
बमोजीम सजाय हुनेछ र सो नभएमा • दश हजार रुपैयाँसम्म जरिवाना वा एकवर्षसम्म कैद वा दुवै सजाय हुनेछ।
२८. प्रतिबन्धित प्रकाशन वा निषेधित प्रकाशन निकासी, बिक्री वितरण आदि गरेमाः (१) कसैले प्रतिबन्धित प्रकाशन वा निषेधित प्रकाशन निकासी गरेमा निजलाई स्थानीय अधिकारीले • पाँच हजार रुपैयाँसम्म जरिवाना गरी त्यस्तो प्रकाशन जफत समेत गर्न सक्नेछ।
(२) कसैले प्रतिबन्धित प्रकाशन वा निषेधित प्रकाशन जानी जानी छापेमा वा बिक्री वितरण गरेमा वा प्रदर्शन गरेमा स्थानीय अधिकारीले त्यस्तो व्यक्तिलाई • पाँच हजार रुपैयाँसम्म जरिवाना गरी त्यस्तो प्रकाशन जफत समेत गर्न सक्नेछ।
२९. निषेधित प्रकाशन अनुवाद तथा उद्धरण गरेमाः कसैले निषेधित प्रकाशन अनुवाद तथा उद्धरण गरेमा त्यस्तो व्यक्तिलाई स्थानीय अधिकारीले • पाँच हजार रुपैयाँसम्म जरिवाना गरी त्यस्तो प्रकाशन जफत समेत गर्न सक्नेछ।
३०. विदेशी प्रकाशन पैठारी गरेमाः कसैले दफा १६ बमोजीम रोक लगाइएको विदेशी प्रकाशन पैठारी गरेमा स्थानीय अधिकारीले त्यस्तो व्यक्तिलाई • पाँच हजार रुपैयाँसम्म जरिवाना गरी त्यस्तो प्रकाशन जफत समेत गर्न सक्नेछ।
३१. प्रेस प्रतिनिधिको प्रमाणपत्र नलिई काम गरेमाः (१) दफा २० को उपदफा (५) बमोजीम प्रमाणपत्र नपाएको व्यक्तिलाई नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेको संस्थाबाट प्रेस प्रतिनिधिलाई दिइने सुविधा, सहायता वा सहुलियत दिइने छैन।
(२) दफा २० को उपदफा (१) बमोजीमको विवरण उपलब्ध नगराउने प्रेस वा सञ्चार सम्बन्धी संस्थालाई नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेको संस्थाबाट दिइने सुविधा, सहायता वा सहुलियत दिइने छैन।
• सञ्चार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०६२ द्वारा संशोधन भई केही नेपाल ऐनको व्यवस्था जगाउने ऐन, २०६३ द्वारा स्वीकृत जागेको। • पहिलो संशोधनद्वारा संशोधित।
(३) दफा २० को उपदफा (५) बमोजिम प्रमाणपत्र पाएको कुनै व्यक्तिले नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेको संस्थाबाट पाएको सुविधा, सहायता वा सहुलियत दुरूपयोग गरेमा नेपाल सरकारले त्यस्तो व्यक्तिको प्रमाणपत्र अवधि तोकी निलम्बन गर्न, फिर्ता लिन वा रद्द गर्न सक्नेछ।
(४) दफा २० को उपदफा (५) बमोजिम प्रमाणपत्र पाएको कुनै विदेशी प्रेस प्रतिनिधिको क्रियाकलाप राष्ट्रिय हित प्रतिकूल छ भन्ने लागेमा नेपाल सरकारले त्यस्तो व्यक्तिको प्रेस प्रतिनिधि प्रमाणपत्र फिर्ता लिन वा रद्द गर्न सक्नेछ।
३२. पुनरावेदनः यस परिच्छेद बमोजिम स्थानीय अधिकारीले गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले सो निर्णय भएको मितिले पैंतीस दिनभित्र तोकिएको अदालतमा पुनरावेदन दिन सक्नेछ।
परिच्छेद–७ विविध
३३. क्षतिपूर्ति पाउनेः यस ऐनबमोजिम जफत गरिएको प्रकाशन प्रतिबंधित प्रकाशन वा निषेधित प्रकाशन नठहरेमा वा जुन अभियोग बापत जफत भएको हो सो अभियोग प्रमाणित नभएमा प्रकाशक वा धनीले नेपाल सरकारबाट निम्नानुसार क्षतिपूर्ति पाउनेछः–
(क) मूल्य तोकिएको प्रकाशन जफत भएकोमा त्यस्तो प्रकाशन बिक्री गर्दा प्रकाशक वा धनीले पाउन सक्ने वास्तविक मोल बराबरको रकममा नबढाई,
तर किताबको हकमा प्रकाशक वा किताब धनीले किताब फिर्ता बुझी लिएमा क्षतिपूर्ति पाउने छैन।
(ख) मूल्य कटान नभएको अन्य सामग्रीको हकमा त्यस्तो सामग्री प्राप्ति वा प्रकाशित गर्दा व्यहोर्नु परेको वास्तविक मूल्यमा नबढाई।
३४. सम्पादक वा प्रेस प्रतिनिधिको योग्यताः यस ऐनबमोजिम प्रमाणपत्र लिई प्रकाशन हुने पत्रपत्रिकाको सम्पादक हुन तथा प्रेस प्रतिनिधि भई काम गर्ने व्यक्तिको योग्यता तोकिए बमोजिम हुनेछ।
३५. पत्रपत्रिकाको श्रेणी विभाजन: तोकिएको अधिकारीले पत्रपत्रिकालाई तोकिएको आधारमा श्रेणी विभाजन गर्न सक्नेछ। यसरी श्रेणी विभाजन गर्नु पर्दा तोकिएको अधिकारीले प्रेस काउन्सिलसँग परामर्श लिनु पर्नेछ।
३६. नगरेको काम बापत नाम प्रकाशित गरेमा: कुनै व्यक्तिको नाम, सम्पादक, प्रकाशक वा मुद्रक भनी कुनै किताब वा पत्रपत्रिकामा प्रकाशित भएको रहेछ र सो कुरा निजले नगरेको भए त्यस्तो कुरा प्रकाशित भएको थाहा पाएपछि स्थानीय अधिकारी समक्ष जुन व्यहोराबाट आफ्नो नाम छपाइन गएको छ सो व्यहोरालाई खण्डन गरी सूचना गर्न सक्नेछ।
३७. नेपाल सरकार वादी हुने: यस ऐन अन्तर्गतको मुद्दा नेपाल सरकार वादी हुनेछ।
३८. अधिकार सुम्पन सक्ने: नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस ऐन अन्तर्गत आफूले पाएको अधिकारमध्ये कुनै वा सबै अधिकार कुनै अधिकारीले प्रयोग गर्न पाउने गरी सुम्पन सक्नेछ।
३९. नियम बनाउने अधिकार: यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले नियमहरू बनाउन सक्नेछ।
४०. यस ऐन बमोजिम हुने: यस ऐनमा लेखिए जति कुरामा यसै ऐनबमोजिम र अन्य प्रचलित कानूनबमोजिम हुनेछ।
४१. बचाउ: यो ऐन लागू हुनु भन्दा अघि पाएको प्रमाणपत्र यसै ऐनबमोजिम पाए सरह मानिनेछ।
४२. खारेजी: छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०३९ खारेज गरिएको छ।
द्रष्टव्य : केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तरित भएका शब्दहरु:- “श्री ५ सरकार” को सट्टा “नेपाल सरकार”।***