नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान ऐन, २०४८
लालमोहर र प्रकाशन मिति २०४९।१।१७
संशोधन गर्ने ऐन १. नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (पहिलो संशोधन) ऐन, २०५४ २०५४।९।७ २. आयकर ऐन, २०५८ २०५८।१२।१९
प्रमाणीकरण र प्रकाशन मिति ३. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ २०६३।६।२८ ४. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (दोस्रो संशोधन) ऐन, २०६४ २०६४।६।१५ ५. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ $\times$ २०६६।१०।७ ६. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ २०७५।११।१९
२०४९ सालको ऐन नं. ५ $\text{x}............$
$*$ यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको । $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानको व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : विज्ञान तथा प्रविधिको विकास, अनुसन्धान र प्रवर्द्धन गर्न वैज्ञानिक तथा प्राविधिक क्रियाकलापको लागि उपयुक्त वातावरण सृजना गर्न, विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत प्रतिभावान वैज्ञानिक तथा प्राविधिकहरूलाई प्रोत्साहन र कदर गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानलाई एक संगठित र सक्षम निकायका रूपमा सञ्चालन गर्न वांछनीय भएकोले,
श्री ५ महाराजाधिराज बीरेन्द्र त्रिकुमार वीर विक्रम शाहदेवको शासनकालको एक्काइसौं वर्षमा संसदले यो ऐन बनाएको छ ।
परिच्छेद – १ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “नेपाल विज्ञान तथा प्रविधि-प्रज्ञा प्रतिष्ठान ऐन, २०४८” रहेको छ । (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) “प्रज्ञा-प्रतिष्ठान” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान सम्झनु पर्छ । (ख) “कुलपति” भन्नाले प्रज्ञा-प्रतिष्ठानको कुलपति सम्झनु पर्छ । (ग) “सहकुलपति” भन्नाले प्रज्ञा-प्रतिष्ठानको सहकुलपति सम्झनु पर्छ । (घ) “उपकुलपति” भन्नाले प्रज्ञा-प्रतिष्ठानको उपकुलपति सम्झनु पर्छ । (ङ) “सभा” भन्नाले प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ सभा सम्झनु पर्छ । (च) “परिषद्” भन्नाले प्रज्ञा-प्रतिष्ठानको कार्यकारी निकायको रूपमा रहने व्यवस्थापन परिषद् सम्झनु पर्छ ।
(छ) “सेवा आयोग” भन्नाले दफा १८ बमोजिमको प्रज्ञा-प्रतिष्ठान सेवा आयोग सम्झनु पर्छ ।
(ज) “प्राज्ञ” भन्नाले दफा १० बमोजिमको प्राज्ञ सम्झनु पर्छ ।
(झ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
परिच्छेद-२ प्रज्ञा-प्रतिष्ठानको स्थापना, उद्देश्य, काम, कर्तव्य र अधिकार
३. प्रज्ञा-प्रतिष्ठानको स्थापनाः (१) नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानको स्थापना गरिएको छ ।
(२) प्रज्ञा-प्रतिष्ठानलाई अंग्रेजी भाषामा “$\times$........ नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी” भनिनेछ ।
(३) प्रज्ञा-प्रतिष्ठानको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।
४. प्रज्ञा प्रतिष्ठान स्वाशासित संस्था हुने : (१) प्रज्ञा-प्रतिष्ठान अविच्छिन्न उत्तराधिकारवाला एक स्वाशासित एवं संगठित संस्था हुनेछ ।
(२) प्रज्ञा-प्रतिष्ठानको सबै काम कारबाहीको निम्ति आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
(३) प्रज्ञा-प्रतिष्ठानले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेच विखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) प्रज्ञा-प्रतिष्ठानले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजूर गर्न र प्रज्ञा-प्रतिष्ठान उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ ।
५. प्रज्ञा-प्रतिष्ठानको उद्देश्यः राष्ट्रको सर्वाङ्गीण विकासको लागि देशमा विज्ञान तथा प्रविधिको विकास गर्नु, गराउनु, स्वदेशी प्रविधिको संरक्षण र आधुनिकीकरण गर्नु, गराउनु, विज्ञान तथा
$\times$ दोस्रो संशोधनद्वारा खिवकिएको ।
प्रविधि सम्बन्धी अनुसन्धान गर्नु, गराउनु र देशको लागि उपयुक्त विदेशी प्रविधि पहिचानु र सो को हस्तान्तरणको लागि सहयोग पुर्याउनु प्रज्ञा-प्रतिष्ठानको मूलभूत उद्देश्य हुनेछ ।
६. प्रज्ञा-प्रतिष्ठानको काम, कर्तव्य र अधिकार : प्रज्ञा-प्रतिष्ठानको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) विज्ञान तथा प्रविधिका विभिन्न विषयहरूमा प्राथमिकताको आधारमा अध्ययन अनुसन्धान तथा विकास र प्रवर्द्धन गर्ने ।
(ख) प्रविधि हस्तान्तरण सम्बन्धी नीति तर्जुमा र कार्यान्वयन गर्ने सम्बन्धमा नेपाल सरकारलाई सहयोग पुर्याउने ।
(ग) स्वदेशी वा विदेशी वैज्ञानिक तथा प्रविधि सम्बन्धी निकायहरूसित समन्वयात्मक ढङ्गले कार्यक्रमहरू संचालन गर्ने, गराउने ।
(घ) विज्ञान तथा प्रविधि सम्बन्धी केन्द्रीय प्रलेख तथा सूचना प्रणालीको विकास गरी सेवा प्रदान गर्ने ।
(ङ) विज्ञान तथा प्रविधि विषयहरूमा गोष्ठी, सम्मेलन आदि आयोजना गर्ने, गराउने तथा विज्ञान तथा प्रविधि सम्बन्धी विभिन्न प्रकाशन गर्ने, गराउने ।
(च) विज्ञान तथा प्रविधि सम्बन्धी क्षेत्रीय वा अन्तर्राष्ट्रिय र अन्य विदेशी संघ संस्थाहरुसित सम्बन्ध स्थापना, विस्तार र सुदृढ गरी पारस्परिक सहयोग आदान प्रदान गर्ने ।
(छ) प्रज्ञा-प्रतिष्ठानको सञ्चालन तथा विज्ञान तथा प्रविधि सम्बन्धी कार्यको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायबाट वित्तीय, प्राविधिक तथा अन्य सहयोग प्राप्त गर्ने र परिचालन गर्ने ।
(ज) विज्ञान तथा प्रविधिको विकास, प्रवर्द्धन वा प्रयोगमा उत्कृष्ट योगदान दिने व्यक्ति वा संस्थालाई कदर गर्ने र प्रोत्साहित गर्ने ।
(झ) विज्ञान तथा प्रविधिको उपयोगिता र उपादेयता बारे जनमानसमा जागरूकता अभिवृद्धि गर्ने, गराउने र विज्ञान तथा प्रविधिको प्रयोग बढाउन अनुकूल वातावरण सृजना गर्ने ।
(ञ) विज्ञान तथा प्रविधि सम्बन्धी राष्ट्रिय निकायहरूको कार्यक्रम र उपलब्धी बारे अध्ययन गरी आवधिक प्रतिवेदन तयार गर्ने ।
(ट) विज्ञान तथा प्रविधि विकास कार्यक्रम सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने ।
(ठ) विज्ञान तथा प्रविधिको अनुसन्धान तथा विकासको लागि नयाँ निकाय वा प्रयोगशाला स्थापना गर्ने सम्बन्धमा नेपाल सरकारलाई राय दिने ।
(ड) देशभर रहेको विज्ञान तथा प्रविधिसाँग सम्बन्धित कुनै प्रयोगशाला वा निकायको विकासको निमित्त तोकिए बमोजिम वित्तीय वा प्राविधिक सहयोग प्रदान गर्ने ।
(ढ) विज्ञान तथा प्रविधि सम्बन्धी उत्कृष्ट आविष्कार तथा नमूनाहरूको प्रदर्शन कक्ष स्थापना गर्ने ।
(ण) प्रज्ञा-प्रतिष्ठानको उद्देश्य पूर्त गर्ने अन्य आवश्यक कामहरू गर्ने, गराउने ।
परिच्छेद – ३ ×...... कुलपति, सहकुलपति र प्राज्ञहरू
८. कुलपति : (१) प्रधानमन्त्री प्रज्ञा-प्रतिष्ठानको कुलपति हुनेछ ।
(२) कुलपति प्रज्ञा-प्रतिष्ठानको प्रमुख र सभाको सभापति हुनेछ ।
$\times$ दोस्रो संशोधनद्वारा खारेज गरिएको । $*$ केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा खारेज ।
(३) कुलपतिलाई प्रज्ञा-प्रतिष्ठान वा प्रज्ञा प्रतिष्ठानसँग सम्बन्धित जुनसुकै विषय वा कार्यको निरीक्षण वा जाँचबुझ गर्ने, गराउने र निर्देशन दिने अधिकार हुनेछ ।
(४) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम विपरीतको कार्यलाई कुलपतिले लिखित आदेशद्वारा रद्द गर्न वा स्थगित गरी जाँचबुझ गराउन सक्नेछ र त्यसको जानकारी सभालाई दिनु पर्नेछ ।
(५) $\text{¤} \dots \dots \dots$
९. सहकुलपति : (१) $\diamond$ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वा राज्यमन्त्री प्रज्ञा-प्रतिष्ठानको सहकुलपति हुनेछ ।
(२) सभा वा कुलपतिले सहकुलपतिद्वारा कार्यान्वयन गर्ने भनी तोकेको विषयवस्तु सहकुलपतिले कार्यान्वयन गर्ने गराउनेछ ।
(३) कुलपतिको अनुपस्थितिमा सहकुलपतिले कुलपतिको कार्य गर्नेछ ।
$\text{¤}$ १०. प्राज्ञहरू : $\diamond$ (१) विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिएका विद्वानहरू प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ हुन योग्य हुनेछन् । यसरी हुने प्राज्ञहरूको मनोनयनको लागि सिफारिस गर्न कुलपतिबाट सहकुलपतिको अध्यक्षतामा उपकुलपति र सभाका एकजना सदस्य रहेको एक समिति गठन हुनेछ ।
(२) उपदफा (१) बमोजिम गठित समितिले विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिएका तोकिए बमोजिमका योग्यता पुगेका विद्वानहरू मध्येबाट प्राज्ञमा मनोनयन गर्न कुलपति समक्ष सिफारिस गर्नेछ । त्यसरी मनोनयनको लागि सिफारिस गर्दा विदेशी विद्वानलाई समेत समावेश गर्न सकिनेछ ।
तर विदेशी प्राज्ञहरू सभाको सदस्य हुने छैनन् ।
$\text{¤}$ पहिलो संशोधनद्वारा खारेकिएको । $\diamond$ दोस्रो संशोधनद्वारा संशोधित । $\text{¤}$ पहिलो संशोधनद्वारा संशोधित ।
(३) उपदफा (२) बमोजिम सिफारिस भएका व्यक्तिहरूलाई कुलपतिले प्रज्ञा-प्रतिष्ठानको प्राज्ञमा मनोनयन गर्नेछ ।
*(४) उपदफा (३) बमोजिम मनोनयन गर्दा प्रत्येक वर्षमा अधिकतम दुईजनाको दरले प्राज्ञहरू मनोनयन गरिनेछ ।
*(५) प्राज्ञ सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
+१०क. सहप्राज्ञहरू : (१) विज्ञान तथा प्रविधिको क्षेत्रमा उच्च अध्ययन वा अनुसन्धान गरेका प्रतिभावान वैज्ञानिक वा प्राविधिकहरू प्रज्ञा-प्रतिष्ठानको सहप्राज्ञ हुन योग्य हुनेछन् । सहप्राज्ञहरूको मनोनयनको लागि सिफारिस गर्न कुलपतिबाट सहकुलपतिको अध्यक्षतामा उपकुलपति र सभाका एकजना सदस्य रहेको एक समिति गठन हुनेछ ।
(२) उपदफा (१) बमोजिम गठित समितिले विज्ञान तथा प्रविधिको क्षेत्रमा उच्च अध्ययन वा अनुसन्धान गरेका तोकिए बमोजिम योग्यता पुगेका प्रतिभावान वैज्ञानिक वा प्राविधिकहरूमध्येबाट सहप्राज्ञमा मनोनयन गर्न कुलपति समक्ष सिफारिस गर्नेछ ।
(३) उपदफा (२) बमोजिम सिफारिस भएका व्यक्तिहरूलाई कुलपतिले प्रज्ञा-प्रतिष्ठानको सहप्राज्ञमा मनोनयन गर्नेछ ।
(४) उपदफा (३) बमोजिम मनोनयन गर्दा यो दफा प्रारम्भ भएपछि पहिलो पटक पाँचजना र त्यसपछि प्रत्येक वर्षमा अधिकतम दुईजनाका दरले सहप्राज्ञहरू मनोनयन गरिनेछ ।
(५) सह-प्राज्ञ सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
◊ दोस्रो संशोधनद्वारा संशोधित ।
परिच्छेद – ४ प्रज्ञा-प्रतिष्ठानको संगठनको स्वरूप र प्राज्ञसभा
११. प्रज्ञा-प्रतिष्ठानको संगठन : प्रज्ञा-प्रतिष्ठानको संगठन देहाय बमोजिम हुनेछ । यिनीहरूको सामूहिक रूप नै प्रज्ञा-प्रतिष्ठानको स्वरूप हुनेछ :-
(क) प्राज्ञ सभा, (ख) व्यवस्थापन परिषद्, (ग) सेवा आयोग, (घ) केन्द्रीय कार्यालय, (ङ) समिति र निकायहरू ।
१२. प्राज्ञ सभाको गठन : (१) प्रज्ञा-प्रतिष्ठानमा सर्वोच्च निकायको रूपमा एक प्राज्ञ सभा रहनेछ।
(२) प्राज्ञ सभाको गठन देहाय बमोजिम हुनेछ :-
(क) कुलपति – अध्यक्ष (ख) सहकुलपति – उपाध्यक्ष (ग) उपाध्यक्ष, राष्ट्रिय योजना आयोग – सदस्य (घ) उपकुलपति – सदस्य (ङ) विश्वविद्यालयहरूका उपकुलपतिहरू मध्ये कुलपतिबाट मनोनीत बढीमा दुई जना – सदस्य (च) प्रचलित कानून बमोजिम स्थापित विज्ञान तथा प्रविधि सम्बन्धी व्यावसायिक संघ संस्थाहरूका अध्यक्षहरू मध्ये कुलपतिबाट मनोनीत
तीन जना – सदस्य
(छ) प्रज्ञा-प्रतिष्ठानमा कार्यरत वैज्ञानिक तथा प्राविधिक कर्मचारीहरूमध्ये कुलपतिबाट मनोनीत दुई जना – सदस्य
(ज१) सहप्राज्ञहरूमध्येबाट कुलपतिबाट मनोनीत दुईजना – सदस्य
(ज२) सचिव, √शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय – सदस्य
(ज३) विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गरेका नेपाल सरकारका कम्तीमा राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरूमध्येबाट कुलपतिबाट मनोनीत दुईजना – सदस्य
(ज४) औद्योगिक क्षेत्रका विज्ञान तथा प्रविधिसँग सम्बन्धित व्यक्तिहरूमध्येबाट कुलपतिबाट मनोनीत दुईजना – सदस्य
(झ) प्रज्ञा–प्रतिष्ठानको सचिव – सदस्य–सचिव
(३) उपदफा (२) को खण्ड (ङ), (च), (छ), (ज), (ज१), (ज३) र (ज४) बमोजिमिका सदस्यहरूको मनोनयन तोकिए अनुसार उपकुलपतिको सिफारिसमा हुनेछ । निजहरूको पदावधि दुई वर्षको हुनेछ ।
(४) सभाका सदस्यहरूको सुविधा तोकिए बमोजिम हुनेछ ।
१३. सभाको काम, कर्तव्य र अधिकार : सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:–
(क) प्रज्ञा-प्रतिष्ठानको लघुकालीन, दीर्घकालीन, समसामयिक र वार्षिक नीति, योजना तथा कार्यक्रम निर्धारण गर्ने ।
(ख) प्रज्ञा-प्रतिष्ठानको वार्षिक वा पूरक बजेट पारित गर्ने ।
(ग) प्रज्ञा-प्रतिष्ठानको सञ्चालन र व्यवस्थापन सम्बन्धी नियमहरू पारित गर्ने ।
(घ) प्रज्ञा-प्रतिष्ठानको कार्य सम्पादन मूल्याङ्कन गर्ने, गराउने ।
(ङ) प्रज्ञा-प्रतिष्ठानको लेखापरीक्षण गराउन लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने ।
(च) प्रज्ञा-प्रतिष्ठानको लेखापरीक्षण सम्बन्धी प्रतिवेदन र अन्य प्रतिवेदनमाथि कारबाहीको लागि परिषदलाई निर्देशन दिने ।
(छ) छात्रवृत्ति, विद्वतवृत्ति, पदक र पुरस्कारको व्यवस्था गर्ने र विज्ञान तथा प्रविधि सम्बन्धी विषयका क्षेत्रहरूमा उत्कृष्ट योगदान दिने संस्था वा व्यक्तिलाई उपयुक्त कदर वा सम्मान वा पुरस्कारको व्यवस्था गर्ने ।
(ज) सभामा पेश भएको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
(झ) प्रज्ञा-प्रतिष्ठानको उद्देश्य पूर्ति गर्न गराउन आवश्यक पर्ने अन्य काम परिषदबाट गराउने ।
१४. सभाको बैठक : (१) सभाको बैठक सामान्यतया वर्षमा दुई पटक बस्नेछ ।
(२) सभाको बैठकको अध्यक्षता सभाको अध्यक्षले गर्नेछ । अध्यक्षको अनुपस्थितिमा सभाको बैठकको अध्यक्षता उपाध्यक्षले गर्नेछ ।
(३) सभाको बैठक सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।
परिच्छेद – ५ व्यवस्थापन परिषद्
१५. परिषद्को गठन : (१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा सभाको निर्देशनमा रही प्रज्ञा–प्रतिष्ठानको कार्यकारी निकायको रूपमा काम गर्न देहाय बमोजिमको एक व्यवस्थापन परिषद् हुनेछ :–
(क) उपकुलपति – अध्यक्ष (ख) सभाका सदस्यहरू मध्येबाट कुलपतिले तोकेको बढीमा पाँचजना व्यक्ति – सदस्य (ग) प्रज्ञा प्रतिष्ठानको सचिव – सदस्य–सचिव
(२) परिषद् र परिषद्का पदाधिकारीहरू सभा प्रति सामूहिक र व्यक्तिगत रूपले उत्तरदायी हुनेछन् ।
१६. परिषद्को काम, कर्तव्य र अधिकार : परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) सभाद्वारा समय समयमा गरिएका निर्णयहरू कार्यान्वयन गर्ने र सभाद्वारा दिइएका निर्देशनहरू पालन गर्ने । (ख) प्रज्ञा-प्रतिष्ठानको वार्षिक कार्यक्रम, बजेट, लेखापरीक्षण प्रतिवेदन र अन्य प्रतिवेदनहरू तथा प्रस्तावहरू निर्णयार्थ सभामा पेश गर्ने । (ग) प्रज्ञा-प्रतिष्ठानको चल अचल सम्पत्तिको संरक्षण तथा रेखदेख गर्ने । (घ) प्रज्ञा-प्रतिष्ठानको कोषको व्यवस्था र सञ्चालन गर्ने ।
(ङ) प्रज्ञा-प्रतिष्ठानको विभिन्न निकायहरूको व्यवस्थापन र प्रशासनको लागि आवश्यक व्यवस्था गर्ने ।
(च) प्रज्ञा-प्रतिष्ठानको लागि प्राप्त हुने दान दातव्य ग्रहण गर्ने ।
(छ) सभाको निर्देशन र तोकिए बमोजिमका अन्य काम गर्ने ।
१७. परिषद्को बैठक : (१) परिषद्को बैठक सामान्यतया वर्षको चार पटक बस्नेछ ।
(२) परिषद्को बैठकको अध्यक्षता परिषद्को अध्यक्षले गर्नेछ । अध्यक्षको अनुपस्थितिमा परिषद्का सदस्यहरूले आफू मध्येबाट छानेको व्यक्तिले परिषद्को बैठकको अध्यक्षता गर्नेछ ।
(३) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।
परिच्छेद – ६ सेवा आयोग
१८. प्रज्ञा-प्रतिष्ठानको सेवा आयोग : (१) प्रज्ञा-प्रतिष्ठानमा कर्मचारीहरूको स्थायी नियुक्ति र बढुवाको सिफारिस गर्न देहाय बमोजिम एक प्रज्ञा-प्रतिष्ठान सेवा आयोग रहनेछ:–
(क) कुलपतिबाट मनोनीत व्यक्ति – अध्यक्ष (ख) लोकसेवा आयोगको अध्यक्षले तोकेको एकजना सदस्य – सदस्य (ग) प्राज्ञहरू मध्ये कुलपतिबाट मनोनीत एकजना प्राज्ञ – सदस्य (घ) प्रज्ञा-प्रतिष्ठानको सचिव – सदस्य-सचिव
(२) सेवा आयोगका अध्यक्ष र मनोनीत सदस्यहरूको पदावधि चार वर्षको हुनेछ र निजहरूलाई अर्को एक पटक पुनः नियुक्त गर्न सकिनेछ ।
(३) सेवा आयोगको अन्य काम, कर्तव्य, अधिकार र कार्यविधि तोकिए बमोजिम हुनेछ ।
(४) सेवा आयोगको अध्यक्ष र सदस्यहरूको काम, कर्तव्य र अधिकार तथा पारिश्रमिक सुविधा र सेवाका अन्य शर्तहरू तोकिए बमोजिम हुनेछ ।
(५) सेवा आयोगको अध्यक्षले सेवा आयोगको वार्षिक प्रतिवेदन कुलपति समक्ष पेश गर्नेछ र कुलपतिले सो प्रतिवेदन विचारार्थ सभामा प्रस्तुत गर्नेछ । सभाले सो प्रतिवेदन माथि विचार गरी सेवा आयोगलाई आवश्यक निर्देशन दिन सक्नेछ ।
परिच्छेद – ७ पदाधिकारी, केन्द्रीय कार्यालय, समितिहरू र अन्य निकायहरू
१९. उपकुलपति : (१) उपकुलपति प्रज्ञा-प्रतिष्ठानमा पूरा समय काम गर्ने प्रमुख पदाधिकारी हुनेछ ।
(१क) उपकुलपतिको पदमा नियुक्तिको लागि सिफारिस गर्न कुलपतिबाट सहकुलपतिको अध्यक्षतामा सभाका दुईजना सदस्यहरू रहेको एक समिति गठन हुनेछ र सो समितिले विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्तिहरू मध्येबाट सिफारिस गरेको व्यक्तिलाई कुलपतिले उपकुलपतिको पदमा नियुक्ति गर्नेछ ।
(२) उपकुलपतिको कार्यकाल चार वर्षको हुनेछ । निजलाई अर्को एक पटक सोही पदमा पुनः नियुक्त गर्न सकिनेछ ।
(३) सभा र परिषद्ले गरेका निर्णयहरू र निर्देशनहरू कार्यान्वयन गर्ने गराउने अभिभारा उपकुलपतिमा रहनेछ ।
(४) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम पालना गराउनु उपकुलपतिको कर्तव्य हुनेछ ।
* पहिलो संशोधनद्वारा थप । $\square$ पहिलो संशोधनद्वारा संशोधित ।
(५) प्रज्ञा-प्रतिष्ठानको सबै काम कारबाही उपर उपकुलपतिको सामान्य नियन्त्रण रहनेछ ।
(६) उपकुलपतिको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
(७) उपकुलपतिको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरू तोकिए बमोजिम हुनेछ ।
(८) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम अन्तर्गत कुनै काम कारबाही तुरुन्तै नगरी नहुने भन्ने उपकुलपतिलाई लागेमा उपकुलपतिले त्यस्तो काम कारबाही गर्न सक्नेछ र निजले त्यसको सूचना सकभर चाँडो सभालाई दिनु पर्नेछ ।
१९क. पदबाट हटाउन सकिने : (१) उपकुलपति वा सेवा आयोगको अध्यक्षले आफ्नो पद अनुसारको दायित्व पूरा गरेको छैन भनी सभाका तत्काल कायम रहेका एक चौथाई सदस्यहरूले कुलपति समक्ष लिखित निवेदन दिएमा कुलपतिबाट सहकुलपतिको अध्यक्षतामा सभाका दुईजना सदस्यहरू रहेको एक छानबिन समिति गठन हुनेछ ।
(२) उपदफा (१) बमोजिम गठित समितिले सो सम्बन्धमा आवश्यक छानबिन गरी आफ्नो प्रतिवेदन सभा समक्ष पेश गर्नेछ ।
(३) उपदफा (२) बमोजिम पेश भएको प्रतिवेदनमा उपकुलपति वा सेवा आयोगको अध्यक्षले आफ्नो पद अनुसारको दायित्व पूरा गरेको छैन भनी सभाको सम्पूर्ण सदस्य संख्याको बहुमतले सिफारिस गरेमा कुलपतिबाट निजलाई हटाइनेछ ।
तर त्यसरी पदबाट हटाउने गरी सिफारिस गर्नु अघि निजहरूलाई आफ्नो सफाई पेश गर्ने मौकाबाट वञ्चित गरिने छैन ।
२०. सचिव : (१) उपकुलपतिको सिफारिसमा कुलपतिले प्रज्ञा-प्रतिष्ठानको सचिव नियुक्त गर्नेछ ।
(२) सचिव प्रज्ञा-प्रतिष्ठानमा पूरा समय काम गर्ने पदाधिकारी हुनेछ ।
(३) सचिवको पदावधि चार वर्षको हुनेछ । निजलाई एक पटक सोही पदमा पुनः नियुक्त गर्न सकिनेछ ।
(४) सचिवको मातहतमा प्रज्ञा प्रतिष्ठानका कर्मचारी, वित्तीय तथा कोष र अन्य सामान्य प्रशासनको जिम्मा रहनेछ । परिषद् र उपकुलपतिको रेखदेखमा निजले तोकिए बमोजिम अन्य काम गर्नेछ ।
(५) सचिवको काम, कर्तव्य र अधिकार तथा पारिश्रमिक, सुविधा एवं सेवाका अन्य शर्तहरू तोकिए बमोजिम हुनेछ ।
२१. प्रज्ञा-प्रतिष्ठानको केन्द्रीय कार्यालय : (१) प्रज्ञा-प्रतिष्ठानको एक केन्द्रीय कार्यालय रहनेछ ।
(२) केन्द्रीय कार्यालयको संगठन, काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
२२. समितिहरू : (१) कुलपति, उपकुलपति, सभा, परिषद् र अन्य पदाधिकारीहरूको कार्यक्षेत्र भित्र पर्ने विषयहरूमा आवश्यकता अनुसार विभिन्न समितिहरू गठन गर्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिमका समितिहरूको काम, कर्तव्य, अधिकार र कार्यविधि तोकिए बमोजिम हुनेछ ।
२३. अन्य निकायहरू : (१) प्रज्ञा-प्रतिष्ठानको उद्देश्य पूर्ति गर्न सभाले आवश्यक ठानेमा समय समयमा उपयुक्त निकायको स्थापना गर्न सक्नेछ । यस्ता निकायहरू केन्द्रीय कार्यालय अन्तर्गत रहने छन् ।
(२) उपदफा (१) बमोजिमका निकायहरूको संगठन, काम, कर्तव्य, अधिकार र कार्यविधि तोकिए बमोजिम हुनेछ ।
परिच्छेद द–८ प्रज्ञा-प्रतिष्ठानको कोष, लेखा तथा लेखापरीक्षण
२४. प्रज्ञा-प्रतिष्ठानको कोष : (१) प्रज्ञा-प्रतिष्ठानको एक कोष रहनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरू रहनेछन्:–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) कुनै व्यक्ति, संस्था वा राष्ट्रबाट प्राप्त ऋण, चन्दा, सहायता, अनुदान वा दान दातव्यको रकम,
(ग) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(३) प्रज्ञा-प्रतिष्ठानको कोषको रकम कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(४) प्रज्ञा-प्रतिष्ठानको कोष र खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ ।
(५) प्रज्ञा-प्रतिष्ठानको सबै खर्चहरू उपदफा (२) बमोजिमको कोषबाट व्यहोरिनेछ ।
(६) परिषद्ले प्रज्ञा-प्रतिष्ठानको हितलाई प्रतिकूल प्रभाव नपर्ने गरी प्रज्ञा-प्रतिष्ठानको कोषको रकम उचित लगानी गर्न सक्नेछ ।
२५. लेखा र लेखापरीक्षण : (१) प्रज्ञा प्रतिष्ठानको आय व्ययको लेखा प्रचलित कानून बमोजिम राख्नु पर्नेछ ।
(२) प्रज्ञा-प्रतिष्ठानको लेखापरीक्षण महालेखापरीक्षकबाट हुनेछ ।
परिच्छेद – ९ विविध
२६. वार्षिक प्रतिवेदन : (१) उपकुलपतिले प्रज्ञा-प्रतिष्ठानको काम कारबाही सम्बन्धी वार्षिक प्रतिवेदन तोकिएको अवधिभित्र सभा समक्ष पेश गर्नु पर्नेछ र सो प्रतिवेदनमाथि सभाले विचार गरी आवश्यक निर्देशन दिन सक्नेछ । यसरी प्राप्त निर्देशन बमोजिम प्रतिवेदनलाई अन्तिम रूप दिनु पर्नेछ ।
$\text{v}$ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित । $\diamond$ दोस्रो संशोधनद्वारा संशोधित ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा अन्य कुराको अतिरिक्त विज्ञान र प्रविधिको क्षेत्रमा प्रज्ञा प्रतिष्ठानले गरेका मुख्य–मुख्य काम, विज्ञान र प्रविधिको क्षेत्रमा भएका उपलब्धि तथा त्यसको औद्योगिक वा व्यवहारिक प्रयोग, आम्दानी र खर्चको विवरण, अध्ययन, अनुसन्धान र प्रशासानिक प्रत्येक क्षेत्रमा भएको खर्चको विवरण उल्लेख हुनु पर्नेछ ।
(३) उपकुलपतिले उपदफा (१) बमोजिम सभाबाट विचार भई अन्तिम रूप दिइएको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश गर्नेछ ।
(४) प्रधानमन्त्रीले उपदफा (३) बमोजिम पेश भएको प्रतिवेदन, $\text{^}$शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री मार्फत सार्वजनिक गराउनेछ ।
२७. अधिकार प्रत्यायोजना: सभाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम आफूलाई प्राप्त अधिकारहरू मध्ये सबै वा केही अधिकार परिषद्लाई प्रत्यायोजन गर्न सक्नेछ ।
२८. सम्पर्क मन्त्रालय: प्रज्ञा-प्रतिष्ठानले नेपाल सरकारसाँग सम्पर्क राख्दा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत राख्नु पर्नेछ ।
२९. नेपाल सरकारले निर्देशन दिन सक्ने : $\text{^}$यस ऐनको उद्देश्य पूर्तिका लागि नेपाल सरकारले प्रज्ञा-प्रतिष्ठानलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु प्रज्ञा-प्रतिष्ठानको कर्तव्य हुनेछ ।
३०. $\text{^}$ ..............................
३१. नियम वा विनियम बनाउने अधिकार : (१) यो ऐनको उद्देश्य कार्यान्वयन गर्न सभाले आवश्यक नियम बनाउन सक्नेछ ।
$\text{^}$ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित । $\text{^}$ पहिलो संशोधनद्वारा संशोधित । $\text{^}$ आयकर ऐन, २०५८ द्वारा खारेज ।
(२) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही परिषद्ले प्रज्ञा-प्रतिष्ठानको कार्य सञ्चालन गर्न आवश्यक विनियम बनाउन सक्नेछ ।
३२. बचाउ : श्री ५ महाराजाधिराजबाट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान सम्बन्धी व्यवस्था अन्तर्गत स्थापना गरिबक्सेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान यसै ऐनद्वारा स्थापना भएको मानी कायम रहनेछ ।
पृष्ठव्य : १. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तरित भएका शब्दहरूः– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” । २. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (दोस्रो संशोधन) ऐन, २०६४ द्वारा रूपान्तरित भएका शब्दहरू :– “नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान” को सट्टा “नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान”। ३. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा रूपान्तरण भएका शब्दहरू :– “वातावरण, विज्ञान तथा प्रविधि मन्त्री ” भन्ने शब्दहरूको सट्टा “शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री ” ।