पानी कर ऐन, २०२३
प्रमाणीकरण र प्रकाशन मिति २०२३।६।९
संशोधन गर्ने ऐन १. राजस्व न्यायाधिकरण ऐन, २०३१ २०३१।४।१८ $\Rightarrow$ २. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन (संशोधन) गर्ने ऐन, २०६६ २०६६।१०।७
२०२३ सालका ऐन नं. १६
पानी कर असुल उपर गर्ने व्यवस्थाको निमित्त बनेको ऐन
प्रस्तावनाः प्रचलित नेपाल कानुनबमोजिम लाग्ने पानी करको रकम असुल गर्ने कार्य प्रणाली व्यवस्थित गर्न वाञ्छनीय भएको हुनाले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सिएको छ ।
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भः (१) यस ऐनको नाम “पानी कर ऐन, २०२३” रहेको छ । (२) यो ऐन नेपाल $\boxtimes$ ................. भर लागू हुनेछ । (३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
$\Rightarrow$ यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको, प्रशस्ती र अधिराज्य शब्द झिकिएको । $\boxtimes$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको ।
(क) “धारा” भन्नाले नेपाल सरकारले पाइप लाइनबाट वितरण गरेको पानी उपभोगको निमित्त जडान गरिएको धारालाई सम्झिन्छ ।
(ख) “कर” भन्नाले प्रचलित नेपाल कानुनबमोजिम लाग्ने पानी करलाई सम्झिन्छ ।
(ग) “करदाता” भन्नाले दफा ४ को उपदफा (१) बमोजिम पानी कर तिर्ने कर्तव्य भएको व्यक्ति, फर्म वा संगठित संस्थालाई सम्झिन्छ ।
(घ) “तोकिएको” वा “तोकिए बमोजिमको” भन्नाले यो ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिमको सम्झिन्छ ।
३. कर यो ऐन अनुसार असुल गरिने: सालबसाली वा कुनै एक सालको निमित्त कर लगाउने गरी कुनै ऐनमा व्यवस्था भएमा त्यस्तो कर यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमहरू बमोजिम असुल उपर गरिनेछ ।
४. कर बुझाउने कर्तव्य: (१) आफ्नो नाममा धारा दराउनु पर्ने प्रत्येक व्यक्तिले सो धारा वापत यो ऐन र अन्य प्रचलित नेपाल कानुनबमोजिम लाग्ने करको रकम यस ऐनमा लेखिएबमोजिम बुझाउनु पर्छ ।
(२) उपदफा (१) बमोजिम बुझाउनु पर्ने कर धारा जडान भएको महिनादेखि हिसाब गरी उपदफा (३) बमोजिम मासिक रूपमा बुझाउनु पर्छ ।
स्पष्टीकरण: सम्बन्धित महिनाको जितसुकै गते धारा जडान गरिएको भए पनि सो पूरै महिनाको कर बुझाउनु पर्छ ।
(३) करदाताले प्रत्येक महिनाको सो कर महिना भुक्तान भएको अर्को महिनासम्ममा तोकिएको अड्डामा बुझाउनु पर्छ ।
तर, यो ऐन प्रारम्भ हुनुभन्दा अघि बुझाउन बाँकी रहेको कर यो ऐन प्रारम्भ भएको मितिले दुई महिनाभित्र बुझाई सक्नु पर्छ ।
(४) उपदफा (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि करदाताले उपदफा (३) मा लेखिएको म्यादभन्दा अगावै पेश्कीको रूपमा करको रकम बुझाउन चाहेमा जितसुकै महिनाको पनि बुझाउन सक्नेछ ।
५. अतिरिक्त शुल्क: कुनै करदाताले दफा ४ को उपदफा (३) मा लेखिएको म्यादभित्र कर नबुझाई सो म्याद नाघेपछि बुझाउन ल्याएमा निजबाट देहाय बमोजिमको अतिरिक्त शुल्क समेत असुल उपर गरी कर बुझिलिनु पर्छः–
(क) सो म्याद नाघेको १५ दिनभित्र बुझाउन ल्याएको भए करको १० प्रतिशत, (ख) सो म्याद नाघेको १५ दिनपछि तर ३० दिनभित्र बुझाउन ल्याएको भए करको २० प्रतिशत, (ग) सो म्याद नाघेको ३० दिनपछि तर ३ महिनाभित्र बुझाउन ल्याएको भए करको ५० प्रतिशत, र (घ) सो म्याद नाघेको ९० दिनपछि तर ६ महिनाभित्र बुझाउन ल्याएको भए करको शत प्रतिशत ।
६. पानीको वितरण बन्द गर्ने: कुनै करदाताले दफा ४ को उपदफा (३) मा लेखिएको म्याद भुक्तान भएको ६ महिनासम्ममा पनि आफूले बुझाउनु पर्ने कर र दफा ५ बमोजिमको अतिरिक्त शुल्क नबुझाएमा निजको नाममा दर्ता रही रहेका धाराबाट दफा २ को खण्ड (क) मा उल्लेख भए बमोजिमको पानीको वितरण बन्द गरिनेछ ।
७. बक्यौता बाँकी कर: यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली अनुसार असुल उपर गर्नुपर्ने बक्यौता पानी कर तोकिएको अड्डा वा अधिकारीले सरकारी बाँकी सरह प्रचलित नेपाल कानुनबमोजिम असुल उपर गर्नेछ ।
८. धाराको नामसारी: (१) कुनै करदाताको नाममा दर्ता भएको धारामा अरू कसैको हकु देन आएमा सो धारा आफ्नो नाममा दर्ता गराउन एक महिनाभित्र तोकिएको अड्डामा लिखित निवेदन दिनुपर्छ । सो म्याद नाघेपछि निवेदन दिएमा बढीमा रु १०।– दशसम्म तोकिएको अड्डाको हाकिमले जरिवाना गरी उपदफा (२) बमोजिम कारबाही गर्नेछ ।
(२) कसैले आफ्नो नाममा दर्ता भएको धारा अरू कसैलाई हक छाडी दिएमा आफ्नो नामबाट सो धाराको लगत कट्टा गर्न एक महिना भित्र तोकिएको अड्डामा लिखित
निवेदन दिनुपर्छ । सो म्याद नाघेपछि निवेदन दिएमा तोकिएको अड्डाको हाकिमले बढीमा रु. १०।– दशसम्म जरिवाना गरी निजको नामबाट सो धाराको लगत काटिदिनु पर्छ ।
(३) उपदफा (१) बमोजिम कसैको निवेदन परेमा तोकिएको अड्डाको तोकिए बमोजिम आवश्यक जाँचबुझिगरक सो धारामा अरू कसैको दाबी नदेखिए सो धारा निजको नाममा दर्तागरि दिनुपर्छ र अरू कसैको दाबी परेमा तोकिएबमोजिम कारबाही गर्नुपर्छ ।
९. पानी कर नलाग्नेहाः दफा ३ वा अन्य प्रचलित नेपाल कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको धारामा पानी कर लाग्ने छैनः–
(क) ✂... ... ...
(ख) नेपाल सरकारको अधीनस्थ घर, अड्डाखाना आदिमा जडान भएको,
(ग) सार्वजनिक शिक्षण संस्था, अस्पताल, पुस्तकालय, अनाथालय, धार्मिक संस्था मन्दिर, पाटी पौवा इत्यादिमा जडान भएको,
(घ) बाटो-घाटो वा पाँकमा सार्वजनिक हितको लागि रहेको,
(ङ) कसैले आफ्नो नाममा दर्ता भएको धारा आफुले उपयोग नगरी परोपकारी, वा सार्वजनिक हितका लागि कुनै धार्मिक वा सामाजिक संस्था वा बाटो-घाटोमा राखेमा त्यसरी राखेको अवधिसम्म त्यस्तो धाराको,
(च) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आंशिक वा पूर्ण रूपले पानी कर नलाग्ने भनी तोकिदिएको ।
१०. सजायः कसैले यस ऐन वा अन्य प्रचलित नेपाल कानुनबमोजिम लाग्ने कर छल्ने नियतले तोकिएको अड्डामा दर्ता भएको धाराबाट बाहिरक अरू कुनै प्रकारले दफा २ को खण्ड (क) मा उल्लेख भएबमोजिम वितरण भएका पानीको उपभोग गरेमा निजलाई तोकिएको अधिकारीको आदेशले रु. १,०००।– एकहजारसम्म जरिवाना वा ३ महिनासम्म कैद वा दुवै सजाय दिन सकिन्छ ।
✂ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन (संशोधन) गर्ने ऐन, २०६६ द्वारा जिकिएको ।
११. पुनरावेदन: दफा १० अन्तर्गत तोकिएको अधिकारीले सजाय गरेको आदेश उपर राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्नेछ ।
१२. नियम बनाउने अधिकार: यो ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले नियमहरू बनाउन सक्नेछ ।
१३. बचाउ: यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा लेखिएको कुरामा सोही बमोजिम र अरूमा प्रचलित कानूनबमोजिम हुनेछ ।
$\alpha$ राजस्व न्यायाधिकरण ऐन, २०३१ द्वारा संशोधित । द्रष्टव्य: नेपाल कानून (संशोधन) ऐन, २०२४ द्वारा रूपान्तर भएका शब्दहरू:– (क) “गजेट” को सट्टा “राजपत्र” । (ख) “अपील” को सट्टा “पुनरावेदन” ।