कार्य सञ्चालन कोष ऐन, २०४३
लालमोहर र प्रकाशन मिति २०४३।७।२४
संशोधन गर्ने ऐन प्रमाणीकरण र प्रकाशित मिति
गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ $\text{}$ २०६६।१०।७
२०४३ सालको ऐन नं. १३ $\text{}$ .................. कार्य सञ्चालन कोषको व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : आर्थिक प्रशासनलाई बढी सरल र सुविधाजनक बनाई विकासको गतिलाई तीव्र पार्न तथा सर्वसाधारण जनतालाई आर्थिक सुविधा पुर्याउन कार्य सञ्चालन कोषसम्बन्धी व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाईबक्सिएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “कार्य सञ्चालन कोष ऐन, २०४३” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “कोष” भन्नाले दफा ३ बमोजिम स्थापना भएको कार्य सञ्चालन कोष सम्झनु पर्छ ।
$\text{}$ यो ऐन संवत् २०६५ साल जेठ १५ गते देखि लागू भएको । $\text{}$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको ।
(ख) “मन्त्रालय” भन्नाले नेपाल सरकारको मन्त्रालय सम्झनु पर्छ र सो शब्दले मन्त्रिपरिषद् सचिवालयलाई समेत जनाउँछ ।
(ग) “बैङ्क” भन्नाले नेपाल राष्ट्र बैङ्क सम्झनु पर्छ र सो शब्दले सरकारी कारोबार गर्ने अन्य बैङ्क समेतलाई जनाउँछ ।
(घ) “गत आर्थिक वर्ष” भन्नाले चालू आर्थिक वर्षभन्दा अघिल्लो आर्थिक वर्ष सम्झनु पर्छ ।
३. कोषको स्थापना : (१) मन्त्रालयले आवश्यक देखिएमा आफ्नो उत्पादन वा सेवा बिक्री गरी आर्जन गर्ने निकायको लागि विशेष कार्य सञ्चालन गर्न कार्य सञ्चालन कोषको स्थापना गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरु जम्मा हुनेछन् :–
(क) प्रत्येक आर्थिक वर्षमा विनियोजन ऐनद्वारा छुट्याइएको रकम,
(ख) प्रत्येक आर्थिक वर्षमा सञ्चित कोषमा दाखिल हुने आम्दानीबाट नेपाल सरकारबाट तोकिएबमोजिम छुट्याइएको रकम ।
४. कोषको स्थापना गर्दाको कार्यविधि : कोषको स्थापना गर्नको लागि सम्बन्धित मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिई नेपाल सरकार, मन्त्रिपरिषद्बाट निर्णय गराउनु पर्नेछ ।
५. कोषको सञ्चालन : (१) कोषको सञ्चालन गर्न बैङ्कमा सरकारी खाता सरह खाता खोली सञ्चालन गर्नु पर्नेछ ।
(२) कच्चा पदार्थ तथा स्पेयर पार्टस् खरिद गर्नुपर्ने निकायहरुमा दफा ३ को उपदफा (२) को खण्ड (ख) बमोजिम छुट्याइएको रकमबाट पच्चीस प्रतिशत रकम कच्चा पदार्थ तथा स्पेयर पार्टस् खरिद गर्न छुट्याई राख्नु पर्नेछ ।
६. कोषको हिसाब पेश गर्ने : कोषको सञ्चालन गर्नको निमित्त मन्त्रालयले तोकिदिएको अधिकारीले कोषको यथार्थ हिसाब आर्थिक वर्ष अन्त भएको पन्ध्र दिनभित्र महालेखा नियन्त्रक समक्ष पेश गर्नु पर्नेछ ।
७. कोषको रकम जिम्मेवारी सारिने : गत आर्थिक वर्षको अन्त्यमा बाँकी रहेको मौज्दात रकम प्रत्येक आर्थिक वर्षको प्रारम्भमा कोषमा जिम्मेवारी सारिनेछ ।
८. कोषको रकम सञ्चित कोषमा सार्न सकिने : मन्त्रालयले चाहेमा कोषको मौज्दात रकम आंशिक वा पूर्णरूपमा सञ्चित कोषमा दाखिल गर्न सक्नेछ ।
९. कोषको लेखापरीक्षण : कोषको लेखापरीक्षण महालेखापरीक्षकको विभागबाट हुनेछ ।
१०. नियम बनाउने अधिकार : यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।
इट्टिव : केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर गरिएका शब्दहरुः– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।