सङ्घीय आकस्मिक कोष ऐन, २०७४
प्रमाणीकरण तथा प्रकाशित मिति २०७४।४।२९
सं वत् २०७४ सालको ऐन नं. ९
आकस्मिक कोष सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावनाः आकस्मिक कोषको स्थापना र सञ्चालन सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी समयानुकुल बनाउन वाञ्छनीय भएकोले,
नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–सं सदले यो ऐन बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “सङ्घीय आकस्मिक कोष ऐन, २०७४” रहेको छ। (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अको अर्थ नलागेमा यस ऐनमा,– (क) “आकस्मिक कार्य” भन्नाले भूकम्प, बाढी, पहिरो, आगलागी, महामारी जस्ता प्राकृतिक तथा गैरप्राकृतिक विपद् लगायतका आकस्मिक वा अप्रत्याशित कारणबाट सिर्जना भएको विशेष परिस्थितिमा तत्काल गरिने आकस्मिक कार्य सम्झनु पर्छ। (ख) “तोकिएको वा तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
३. सङ्घीय आकस्मिक कोषको स्थापनाः सङ्घीय आकस्मिक कोषको नामले एउटा कोष स्थापना गरिएको छ।
४. सङ्घीय आकस्मिक कोषमा जम्मा गरिएको रकम: सङ्घीय सञ्चित कोषबाट एक करोड रुपैयाँ झिंकी त्यस्तो रकम सङ्घीय आकस्मिक कोषमा जम्मा गरिएको छ ।
५. सङ्घीय आकस्मिक कोषको रकम वृद्धि गर्न सक्ने: नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सङ्घीय आकस्मिक कोषमा रहने रकममा आवश्यकता अनुसार वृद्धि गर्न सक्नेछ ।
६. सङ्घीय आकस्मिक कोषको सञ्चालन: सङ्घीय आकस्मिक कोषको सञ्चालन तोकिए बमोजिम हुनेछ ।
७. सङ्घीय आकस्मिक कोषको रकम खर्च गर्न सक्ने: नेपाल सरकारले सङ्घीय आकस्मिक कोषमा रहेको रकमबाट आकस्मिक कार्यका लागि खर्च गर्न सक्नेछ ।
८. खर्चको रकम शोधभनान् गर्नु पर्ने: नेपाल सरकारले दफा ७ बमोजिम सङ्घीय आकस्मिक कोषबाट खर्च गरेको रकम विनियोजन ऐन बमोजिम प्रत्येक आर्थिक वर्षको लागि विनियोजित रकमबाट शोधभनान् गर्नु पर्नेछ ।
९. नियम बनाउने अधिकार: यस ऐनको कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ ।
१०. खारेजी र बचाउ: (१) आकस्मिक कोष ऐन, २०१६ खारेज गरिएको छ ।
(२) आकस्मिक कोष ऐन, २०१६ बमोजिम भए गरेका कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।
(३) आकस्मिक कोष ऐन, २०१६ बमोजिम स्थापना भएको आकस्मिक कोषमा रहेको रकम यो ऐन प्रारम्भ भएपछि स्वतः सङ्घीय आकस्मिक कोषमा सर्नेछ ।