नेपाल ट्रष्ट ऐन, २०६४
प्रमाणीकरण र प्रकाशन मिति २०६४।९।२२
संशोधन केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ २०७५।११।१९
२०६४ सालको ऐन न. २९ नेपाल ट्रष्टको स्थापना र सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : राजा वीरेन्द्र, रानी ऐश्वर्या र निजहरुको परिवारको देहावसान हुँदाका बखत निजहरुको नाममा रहेको र हक पुग्ने सम्पत्तिलाई ट्रष्ट बनाई त्यस्तो सम्पत्तिको व्यवस्थापन गरी राष्ट्रहितमा प्रयोग गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,
व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “नेपाल ट्रष्ट ऐन, २०६४” रहेको छ । (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) “ट्रष्ट” भन्नाले दफा ३ बमोजिम स्थापित नेपाल ट्रष्ट सम्झनु पर्छ । (ख) “ट्रष्टको सम्पत्ति” भन्नाले दफा ४ बमोजिमको सम्पत्ति सम्झनु पर्छ । (ग) “समिति” भन्नाले दफा ७ बमोजिम गठन भएको ट्रष्ट सञ्चालक समिति (बोर्ड अफ ट्रष्टीज्) सम्झनु पर्छ । (घ) “सम्पत्ति” भन्नाले चल वा अचल, मूर्त वा अमूर्त, भौतिक वा अभौतिक सम्पत्ति सम्झनु पर्छ । (ङ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष र सदस्य–सचिव समेतलाई जनाउँछ ।
(च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झिनु पर्छ ।
३. ट्रष्टको स्थापना : (१) राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुको परिवारको नाममा रहेको सम्पत्ति यो ऐन प्रारम्भ भएपछि व्यवस्थापन र सञ्चालन गरी राष्ट्रहितमा प्रयोग गर्न नेपाल ट्रष्ट नामको एक ट्रष्ट स्थापना हुनेछ ।
स्पष्टीकरण : यस ऐनको प्रयोजनका लागि “परिवार” भन्नाले राजा वीरेन्द्र र रानी ऐश्वर्यका जेठा छोरा दीपेन्द्र शाह र कान्छा छोरा निरजन शाहलाई सम्झिनु पर्छ ।
(२) ट्रष्ट एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था हुनेछ ।
(३) ट्रष्टले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न भोगचलन गर्न, बेचबिखन गर्न वा अन्य कुनै किसिमले व्यवस्थापन गर्न सक्नेछ ।
(४) ट्रष्टले व्यक्ति सरह नालिस उजुर गर्न सक्नेछ र ट्रष्टउपर पनि सोही नामबाट नालिस उजुर गर्न सकिनेछ ।
(५) ट्रष्टले व्यक्ति सरह करार गर्न र करार बमोजिमको अधिकार प्रयोग गर्न र दायित्व निबाह गर्न सक्नेछ ।
(६) ट्रष्टको काम कारबाहीका लागि छुट्टै छाप हुनेछ र त्यस्तो छाप समितिले निर्धारण गरे बमोजिम हुनेछ ।
४. ट्रष्टको सम्पत्ति : (१) नेपाल सरकारले राष्ट्रियकरण गरी छुट्टै व्यवस्था गरेकोमा बाहेक ट्रष्टमा देहायको सम्पत्ति रहनेछ :–
(क) राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारको देहावसान हुँदाका बखत निजहरुको नाममा रहेको सम्पत्ति ट्रष्ट अन्तर्गत ल्याउने भनी नेपाल सरकार, मन्त्रिपरिषद्ले निर्णय गरेको सम्पत्ति ,
(ख) खण्ड (क) बमोजिमको सम्पत्तिबाट बढे बढाएको वा त्यस्तो सम्पत्ति प्राप्त यो ऐन प्रारम्भ हुनुभन्दा अघि प्राप्त भएको वा यो ऐन प्रारम्भ भएपछि प्राप्त हुने सम्पत्ति,
(ग) राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारलाई कुनै किसिमले प्राप्त भएको वा हुन सक्ने वा निजहरुको हक पुगेको वा पुग्न सक्ने वा निजहरुको हक पुगेको वा पुग्ने अरु कसैको नाममा राखिएको वा बेनामी सम्पत्ति,
(घ) खण्ड (क), (ख) वा (ग) मा लेखिए बाहेक राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारलाई यो ऐन प्रारम्भ भएपछि प्राप्त हुन सक्ने अन्य कुनै सम्पत्ति,
(ङ) नेपाल सरकारले समय–समयमा उपलब्ध गराएको अन्य सम्पत्ति,
(च) विदेशी सरकार वा कुनै स्वदेशी वा विदेशी व्यक्ति वा संस्थाबाट प्राप्त सम्पत्ति ।
(२) उपदफा (१) को खण्ड (क), (ख), (ग) वा (घ) बमोजिमको सम्पत्ति यो ऐन प्रारम्भ हुँदाका बखत स्वदेश वा विदेश जहाँ जे जस्तो अवस्थामा जुनसकै व्यक्ति वा संस्थाको नाममा रहेको भए तापनि यो ऐन प्रारम्भ भएपछि त्यस्तो सम्पत्ति स्वतः ट्रष्टको नाममा हस्तान्तरण भएको वा त्यस्तो सम्पत्तिमा स्वतः ट्रष्टको हक कायम भएको मानिनेछ ।
(३) प्रचलित कानूनमा जुनसकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिमको सम्पत्तिउपर कुनै व्यक्ति वा संस्थाको कुनै प्रकारको हक वा दावी पुग्ने छैन र त्यस्तो सम्पत्तिमा अंश वा अपुताली सम्बन्धी कानून बमोजिम कसैको हक वा दावी सिर्जना हुने छैन ।
(४) यस दफा बमोजिम ट्रष्टको नाममा हक कायम भएको वा हुन आउने सम्पत्ति नामसारी गरिदिन ट्रष्टबाट लेखी आएमा सम्पत्ति नामसारी दाखल खारेज गर्ने अधिकारीले त्यस्तो सम्पत्ति जुनसुकै व्यक्ति वा संस्थाको नाममा रहे भएको भए तापनि ट्रष्टको नाममा नामसारी गरिदिनु पर्नेछ ।
(५) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा बमोजिमको सम्पत्ति नामसारी दाखल खारेज गर्दा कुनै दस्तुर लाग्ने छैन ।
५. ट्रष्टको सम्पत्तिको प्रयोग : (१) ट्रष्टको सम्पत्ति व्यापक र सर्वोत्तम सार्वजनिक लाभ हुने गरी राष्ट्रहितमा प्रयोग हुनेछ ।
(२) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल नहुने गरी ट्रष्टको सम्पत्ति देहायको कार्यमा प्रयोग गर्न सकिनेछ :–
(क) विद्यालय, महाविद्यालय, विश्वविद्यालय जस्ता शैक्षिक तथा प्राज्ञिक संस्थाहरु खडा गरी सञ्चालन गर्न वा त्यस्तो संस्था सञ्चालनका लागि अनुदान प्रदान गर्न ।
$^{}$ (क१) राष्ट्रिय हित अनुकूल तथा ट्रष्टलाई फाइदा हुने गरी पर्यटकीय र व्यावसायिक कार्य सञ्चालन गर्न।
(ख) अस्पताल वा स्वास्थ्य चौकी जस्ता सार्वजनिक प्रयोजनका चिकित्सालय खडा गरी तोकिए बमोजिम सञ्चालन गर्न ।
(३) ट्रष्टको सम्पत्तिको सम्वर्द्धन, संरक्षण र यसको आय आर्जनका लागि समितिले तोकिए बमोजिमको कार्यक्रम सञ्चालन गर्नेछ ।
$^{}$ (३क) उपदफा (३) बमोजिम कार्यक्रम सञ्चालन गर्दा समितिले ट्रष्टको सम्पत्ति कुनै व्यक्ति वा संस्थालाई ट्रष्टको सिफारिसमा नेपाल सरकारले तोकेको अवधिको लागि लिजमा दिन सक्नेछ ।
$^{}$ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ द्वारा थप ।
(३ख) उपदफा (३क) मा जुनसुकै कुरा लेखिएको भए तापनि अवधि तोकी लिजमा दिइएको सम्पत्तिको उपभोग गर्ने पक्षले थप पूँजी लगानी सहित विद्यमान संरचनालाई मर्मत सम्भार गरी सञ्चालन गर्न चाहेमा र सोबाट ट्रष्टलाई थप आर्थिक लाभ हुने सुनिश्चित भएमा त्यस्तो अवधि समाप्त हुनु अगावै समेत आवश्यकता अनुसार ट्रष्टको सिफारिसमा नेपाल सरकारले लिजको अवधि थप गर्न सक्नेछ ।
तर त्यसरी थप गरिने लिज अवधि सुरु लिज अवधि भन्दा बढी हुने छैन ।
(४) समितिले यस दफा बमोजिम कार्यक्रम सञ्चालन गर्दा नेपाल सरकारको योजना तथा नीति प्रतिकूल नहुने गरी सम्बन्धित मन्त्रालय वा निकायसँग निकटतम समन्वय कायम राख्नु पर्नेछ ।
६. ट्रष्टको संरक्षक : (१) प्रधानमन्त्री ट्रष्टको संरक्षक हुनेछ ।
(२) संरक्षकले यस ऐनको उद्देश्य कार्यान्वयन गर्न समितिलाई समय–समयमा आवश्यक निर्देशन दिन सक्नेछ ।
७. समिति : ❖(१) ट्रष्टको सम्पत्ति व्यवस्थापन र संरक्षण गरी ट्रष्ट सञ्चालन गर्न देहाय बमोजिमको ट्रष्ट सञ्चालक समिति रहनेछ :–
(क) प्रधानमन्त्रीले तोकेको नेपाल सरकारको कुनै मन्त्री - अध्यक्ष (ख) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सम्बन्धित क्षेत्र हेर्ने सचिव - सदस्य (ग) कार्यकारी सचिव, नेपाल ट्रष्टको कार्यालय - सदस्य (घ) नेपाल सरकारले नियुक्त गरेका वा तोकेका
एक जना महिला सहित तीन जना व्यक्ति - सदस्य
(ङ) नेपाल ट्रष्टको कार्यालयको सहसचिव - सदस्य-सचिव
(२) देहायको योग्यता पुगेको नेपाली नागरिक ऽउपदफा (१) को खण्ड (घ) बमोजिम समितिको सदस्य हुन सक्नेछ :–
(क) व्यवस्थापन वा समाजसेवाको क्षेत्रमा काम गरेको अनुभव हासिल गरेको, (ख) नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको, (ग) ट्रष्टसँग कुनै किसिमको ठेक्कापट्टा वा व्यापारिक कारोबारमा संलग्न नभएको वा ट्रष्टको सम्पत्तिसँग कुनै किसिमको स्वार्थ नरहेको ।
(३) ऽउपदफा (१) को खण्ड (घ) बमोजिमको सदस्यको पदावधि नियुक्ति भएको मितिले चार वर्षको हुनेछ ।
(४) उपदफा (३) मा जुनसकै कुरा लेखिएको भए तापनि ऽउपदफा (१) को खण्ड (घ) बमोजिमको कुनै सदस्यले ट्रष्टको हित विपरीत कार्य गरेमा वा ट्रष्टको सम्पत्ति हिनमिना गरेको देखिएमा नेपाल सरकारले जुनसकै बखत निजलाई हटाउन सक्नेछ ।
तर, त्यसरी हटाउनु अगाडि निजलाई सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।
८. समितिको बैठक : (१) समितिको बैठक आवश्यकता अनुसार बस्नेछ ।
(२) समितिको बैठक अध्यक्षको निर्देशनमा समितिको सदस्य–सचिवले बोलाउनेछ।
(३) समितिका तत्काल कायम रहेका कुल सदस्यहरुमध्ये पचास प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(४) समितिको बैठकको अध्यक्षता समितिको अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपाध्यक्षले बैठकको अध्यक्षता गर्नेछ ।
ऽ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ द्वारा थप ।
(५) समितिको बैठकमा सामान्यतया सर्वसम्मतिबाट निर्णय लिइनेछ र सर्वसम्मतिबाट निर्णय कायम हुन नसकेमा बहुमतको राय मान्य हुनेछ । मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(६) समितिको बैठकको निर्णय सदस्य–सचिवले प्रमाणित गर्नेछ ।
(७) समितिले गरेको प्रत्येक निर्णयको जानकारी संरक्षकलाई गराउनु पर्नेछ ।
(८) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैँले निर्धारण गर्नेछ ।
९. समितिको काम, कर्तव्य र अधिकार : (१) समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) ट्रष्टको सम्पत्तिको समुचित व्यवस्थापन गरी यसको सम्भार र संरक्षण गर्ने,
(ख) राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारको दफा ४ बमोजिम ट्रष्टमा रहनु पर्ने सम्पत्तिको नेपालभित्र वा नेपालबाहिर खोजतलास गर्ने, त्यसको वास्तविक स्थिति पत्ता लगाई यथार्थ विवरण सहितको अभिलेख राख्ने,
(ग) ट्रष्टको स्वामित्वमा आउन पर्ने दफा ४ बमोजिमको सम्पत्ति ट्रष्टको नाममा नामसारी दाखल खारेज गराई ट्रष्टको हक संरक्षण गर्ने,
(घ) ट्रष्टको सम्पत्ति दफा ५ बमोजिम राष्ट्रहितमा प्रयोग गर्ने,
(ङ) ट्रष्टको सम्पत्ति यस ऐनको उद्देश्य पूरा गर्न आय आर्जन हुने कार्यमा लगानी गर्ने,
(च) तोकिए बमोजिमका अन्य काम गर्ने वा गराउने ।
(२) ट्रष्टले आवधिक योजना तर्जुमा गरी स्वीकृतिका लागि नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
(३) ट्रष्टले आय आर्जन हुने व्यापारिक क्षेत्रमा लगानी गर्दा त्यसको रणनीतिक योजना तयार गरी स्वीकृतिका लागि नेपाल सरकारसमक्ष पेश गर्नु पर्नेछ ।
(४) समितिले प्रत्येक आर्थिक वर्ष सुरु भएको मिति तिस दिनभित्र त्यस्तो आर्थिक वर्षमा सञ्चालन गर्ने कार्यक्रमहरुको वार्षिक कार्यक्रम स्वीकृत गरी सोको विवरण सार्वजनिक गर्नु पर्नेछ ।
१०. सम्पत्तिको अद्यावधिक विवरणको सूची तयार गर्ने : (१) समितिले ट्रष्टको सम्पत्तिको अद्यावधिक विवरणको सूची तयार गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको अद्यावधिक विवरणको सूची समितिले समय–समयमा प्रकाशन गर्नेछ ।
११. ट्रष्टको अचल सम्पत्ति व्यक्ति विशेषको नाममा दर्ता नहुने : (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि ट्रष्टको स्वामित्वमा रहेको अचल सम्पत्ति दफा १३ को अवस्थामा बाहेक कुनै व्यक्ति विशेष वा संस्थाका नाममा दर्ता हुन सक्ने छैन ।
(२) उपदफा (१) को प्रतिकूल हुने गरी भएको दर्ता स्वतः बदर हुनेछ ।
१२. हदबन्दी नलाग्ने : प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि ट्रष्टको अचल सम्पत्तिमा हदबन्दी लाग्ने छैन ।
१३. बिक्री वितरण गर्न र भोगाधिकार प्रदान गर्नमा प्रतिबन्ध : (१) ट्रष्टको सम्पत्ति बिक्री वितरण गर्न र भोगाधिकारमा प्रदान गर्न पाइने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ५ को प्रयोजनका लागि ट्रष्ट सञ्चालक समितिले नेपाल सरकार, मन्त्रिपरिषद्को स्वीकृति र दफा २४ सँग सम्बन्धित समितिको सहमतिमा ट्रष्टको सम्पत्ति बिक्री वितरण गर्न सक्नेछ ।
(३) ट्रष्टको सम्पत्ति बिक्री वितरणबाट प्राप्त रकम ट्रष्टको प्रशासनिक खर्चमा प्रयोग गर्न पाइने छैन ।
१४. लिलामद्वारा बिक्री नहुने : (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनुभन्दा अघि ट्रष्टको सम्पत्ति कसैले कुनै किसिमले धितोबन्धक राखी ऋण
लिएकोमा त्यस्तो ऋण असुली नभएको कारणले ट्रष्टको सम्पत्ति लिलामद्वारा बिक्री वितरण वा जफत हुने छैन ।
तर सम्बत् २०५८ साल जेष्ठ १८ गतेभन्दा अघि नै धितोबन्धक राखिएको सम्पत्तिको हकमा यो व्यवस्था लागू हुने छैन ।
(२) उपदफा (१) बमोजिमको ट्रष्टको सम्पत्ति धितोबन्धक लिई ऋण दिने बैङ्क वा वित्तीय संस्थाले त्यस्तो सम्पत्तिको सट्टामा त्यसरी धितोबन्धक दिने व्यक्तिको अको कुनै सम्पत्तिबाट त्यस्तो ऋण असुल उपर गर्न सक्नेछ ।
१४क. पुरस्कार दिन सक्ने : दफा ४ बमोजिम ट्रष्टको नाममा कायम हुने सम्पत्तिको विषयमा आवश्यक सबद प्रमाण सहित जानकारी दिने व्यक्तिलाई समितिले तोकिए बमोजिम पुरस्कार दिन सक्नेछ ।
१५. ट्रष्टको कार्यालय : (१) ट्रष्टको कार्यालय काठमाण्डौ उपत्यकामा रहनेछ ।
(२) ट्रष्टले नेपालभित्र वा बाहिर कुनै पनि ठाउँमा आफ्नो सम्पर्क कार्यालय खोल्न सक्नेछ ।
१६. कार्यकारी सचिव : (१) ट्रष्टको दैनिक कार्य सम्पादन गरी ट्रष्टको सम्पत्तिको संरक्षण, रेखदेख गर्न निजामती सेवाको राजपहाङ्कि विशिष्ट श्रेणीको एक कार्यकारी सचिव रहनेछ ।
(२) कार्यकारी सचिव ट्रष्टको पूरा समय काम गर्ने प्रमुख प्रशासकीय पदाधिकारी हुनेछ ।
(३) कार्यकारी सचिवको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
१७. ट्रष्टको कोष : (१) ट्रष्टको एक छुट्टै कोष हुनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकम रहनेछन् :–
$\text{^}$ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ द्वारा थप ।
(क) ट्रष्टको सम्पत्ति वा सो सम्पत्ति बढे बढाएको सम्पत्तिबाट आर्जन वा प्राप्त हुने आय,
(ख) नेपाल सरकारबाट प्राप्त हुने रकम,
(ग) कुनै व्यक्ति वा संस्थाबाट कोषलाई प्राप्त हुने रकम ।
(३) उपदफा (१) बमोजिमको कोषको सञ्चालन कार्यकारी सचिव वा निजले तोकेको अधिकृत र कोषको लेखासँग सम्बन्धित प्रमुख अधिकृतद्वारा हुनेछ ।
१८. ट्रष्टको कर्मचारी : (१) ट्रष्टको कार्य सम्पादन गर्न आवश्यक पर्ने कर्मचारी नेपाल सरकारले उपलब्ध गराउनेछ ।
(२) ट्रष्टको लागि आवश्यक पर्ने विशेषज्ञ कर्मचारी समितिले तोकिए बमोजिम करारमा नियुक्ति गर्न सक्नेछ ।
१९. ट्रष्टको लेखा तथा लेखापरीक्षण : (१) ट्रष्टको लेखा नेपाल सरकारले अपनाएको ढाँचामा राखिनेछ ।
(२) ट्रष्टले तोकिए बमोजिम आन्तरिक लेखापरीक्षण र आन्तरिक नियन्त्रणको व्यवस्था गर्नेछ ।
(३) ट्रष्टको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।
(४) समितिले प्रत्येक वर्ष ट्रष्टको लेखाको लेखापरीक्षण गराई सोको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र सार्वजनिक गर्न पर्नेछ ।
२०. आचारसंहिता : समितिका सदस्यहरुले पालना गर्न पर्ने आचारसंहिता तोकिए बमोजिम हुनेछ ।
२१. पारिश्रमिक तथा अन्य सुविधा : समितिका सदस्यहरूले पाउने पारिश्रमिक तथा अन्य सुविधा तोकिए बमोजिम हुनेछ । त्यसरी नतोकिएसम्म समितिको सदस्यले पाउने पारिश्रमिक तथा अन्य सुविधा नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।
२२. ट्रष्टको प्रशासनिक खर्च : (१) ट्रष्टको प्रशासनिक खर्चको लागि आवश्यक रकम नेपाल सरकारले वार्षिक बजेट मार्फत अनुदानको रुपमा एकमुष्ट उपलब्ध गराउनेछ ।
(२) उपदफा (१) बमोजिमको रकमबाट ट्रष्टको प्रशासनिक खर्च नपुग हुने देखिएमा समितिले नेपाल सरकारको पूर्व स्वीकृति लिई ट्रष्टको मूल सम्पत्तिबाट बढे बढाएको रकमबाट त्यस्तो नपुग प्रशासनिक खर्च व्यहोर्ने व्यवस्था मिलाउन सक्नेछ ।
२३. नेपाल सरकारसँग सम्पर्कन : ट्रष्टले नेपाल सरकारसँग सम्पर्कन राख्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत राख्नु पर्नेछ ।
२४. वार्षिक प्रतिवेदन पेश गर्ने : (१) ट्रष्टले प्रत्येक वर्ष आफूले गरेको काम, कारबाही, आम्दानी खर्च, देखिएका समस्या र सो समाधानका उपायहरू समेटिएको प्रतिवेदन संरक्षक समक्ष पेश गर्नेछ ।
(२) संरक्षकले उपदफा (१) बमोजिमको प्रतिवेदन "संघीय संसदको सम्बन्धित समिति समक्ष पेश गर्नेछ ।
२५. नियम तथा विनियम बनाउने अधिकार : (१) यस ऐनको उद्देश्य पूरा गर्न नेपाल सरकारले आवश्यक नियमहरू बनाउन सक्नेछ ।
(२) समितिले यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही आफ्नो आन्तरिक कार्य सञ्चालन, अचल सम्पत्ति सम्भार एवं संरक्षण तथा आर्थिक प्रशासनका सम्बन्धमा आवश्यक विनियमहरू बनाउन सक्नेछ ।
२६ नेपाल ट्रष्ट अध्यादेश, २०६४ निष्क्रिय भएपछि त्यसको परिणाम : नेपाल ट्रष्ट अध्यादेश, २०६४ निष्क्रिय भएपछि अर्को अभिप्राय नदेखाएमा सो निष्क्रियताले,–
(क) सो अध्यादेश निष्क्रिय हुँदाको बखत चल्ती नभएको वा कायम नरहेको कुनै कुरा पनि जगाउने छैन ।
(ख) सो अध्यादेश बमोजिम चालू भएको कुरा वा सो बमोजिम रीत पुर्याई अघि नै गरिएको कुनै काम वा भोगिसकेको कुनै कुरालाई असर पार्ने छैन ।
(ग) सो अध्यादेश बमोजिम पाएको, हासिल गरेको वा भोगेको कुनै हक, सुविधा, कर्तव्य वा दायित्वमा असर पार्ने छैन ।
(घ) सो अध्यादेश बमोजिम गरिएको कुनै दण्ड, सजाय वा जफतलाई असर पार्ने छैन ।
(ङ) माथि लेखिएको कुनै त्यस्तो हक, सुविधा, कर्तव्य, दायित्व वा दण्ड सजायका सम्बन्धमा गरिएको कुनै काम कारबाही वा उपायलाई असर पार्ने छैन र उक्त अध्यादेश कायम रहे सरह त्यस्तो कुनै कानूनी कारबाही वा उपायलाई पनि शुरु गर्न, चालू राख्न वा लागू गर्न सकिनेछ ।