राष्ट्र ऋण उठाउने ऐन, २०८१
प्रमाणीकरण तथा प्रकाशन मिति २०८१।०४।०१
सं वत् २०८१ सालको ऐन नं. ०६
राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना: आर्थिक वर्ष २०८१/८२ को निमित्त नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न नेपाल सरकारले राष्ट्र ऋण उठाउने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, सङ्घीय संसद्ले यो ऐन बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम "राष्ट्र ऋण उठाउने ऐन, २०८१" रहेको छ। (२) यो ऐन सं वत् २०८१ साल साउन १ गतेदेखि प्रारम्भ हुनेछ।
२. राष्ट्र ऋण उठाउने अधिकार: (१) आर्थिक वर्ष २०८१/८२ को निमित्त नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ को अन्तमा अधिविकरण बापत तिर्न बाँकी रकम र अन्य तिर्न बाँकी रकममा थप रु. ३,३०,००,००,००,०००।- (अक्षरे रुप तीन बिन तीस अरब) मा नबढ्ने गरी राष्ट्र ऋण उठाउन सक्नेछ। तर यसरी उठाइने राष्ट्र ऋण रकममा नेपाल सरकारले प्रचलित कानून बमोजिम लिन पाउने अधिविकरण रकम समावेश हुने छैन। (२) नेपाल सरकारले नेपाल राष्ट्र बैङ्कलाई आर्थिक वर्ष २०८१/८२ सम्मको तिर्न बाँकी अधिविकरणलाई ट्रेजरी बिलमा परिणत गर्न सो बैङ्कलाई स्वीकृति दिन सक्नेछ। (३) यस दफा बमोजिम उठाइएको राष्ट्र ऋणको साँवा ब्याज भुक्तानी गर्ने अवधि र सो ऋणको ब्याजको दर सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ बमोजिम हुनेछ।