नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६
राजपत्रमा प्रकाशित मिति २०७६।१०।२८
संशोधन गर्ने ऐन नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) ऐन, २०७९ २०७९।०३।३१
२०७६ सालको ऐन नं. १७
नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्नेको ऐन
प्रस्तावना: नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, संघीय संसदले यो ऐन बनाएको छ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६” रहेको छ। (२) यो ऐन प्रमाणीकरण भएको मितिले आठौं दिनदेखि प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,- (क) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ। (ख) “नेपाल प्रहरी” भन्नाले संघीय कानून बमोजिम गठन भएको नेपाल प्रहरी सेवामा कार्यरत प्रहरी कर्मचारीको सङ्गठन सम्झनु पर्छ र सो शब्दले नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीलाई समेत जनाउँछ।
(ग) “प्रदेश प्रहरी” भन्नाले यो ऐन र प्रदेश कानून बमोजिम गठन भएको प्रदेश प्रहरी सेवामा कार्यरत प्रहरी कर्मचारीको सङ्गठन सम्झनु पर्छ र सो शब्दले प्रदेश प्रहरीमा नियुक्त भई, समायोजन भई वा खटाई कार्यरत प्रहरी कर्मचारीलाई समेत जनाउँछ।
(घ) “प्रदेश मन्त्रालय” भन्नाले प्रदेशको आन्तरिक मामिला सम्बन्धी विषय हेर्ने मन्त्रालय सम्झनु पर्छ।
(ङ) “प्रहरी कर्मचारी” भन्नाले नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा कार्यरत प्रहरी कर्मचारी सम्झनु पर्छ।
(च) “मन्त्रालय” भन्नाले नेपाल सरकारको गृह मन्त्रालय सम्झनु पर्छ।
परिच्छेद-२ नेपाल प्रहरीको काम, कर्तव्य र अधिकार
३. नेपाल प्रहरीको काम, कर्तव्य र अधिकार: नेपाल प्रहरीको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) मुलुकमा शान्ति सुरक्षा कायम राख्ने र अपराधको रोकथाम तथा नियन्त्रण गर्ने,
(ख) नेपाल सरकारले तोकेका महत्त्वपूर्ण व्यक्ति, स्थान, निकाय, राष्ट्रिय महत्वका आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय राजमार्ग, राजमार्ग तथा विदेशी कूटनीतिक नियोगको सुरक्षा गर्ने,
(ग) सार्वजनिक सुरक्षा व्यवस्था, अपराध, साम्प्रदायिक वा सामाजिक विद्वेष वा कुनै प्रकारको अतिवादसँग सम्बन्धित आवश्यक सूचना सङ्कलन गर्ने, त्यस्तो सूचना नेपाल सरकारलाई उपलब्ध गराउने र सोको नियन्त्रणका लागि आवश्यकता अनुसार तत्काल परिचालित हुने,
(घ) अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानको लागि सम्बन्धित निकायहरूबीच समन्वय कार्य गर्ने र सो सम्बन्धमा आवश्यक सहयोग जुटाउने,
(ङ) नेपाल सरकारको स्वीकृति लिई अपराध रोकथाम, अनुसन्धान तथा नियन्त्रण सम्बन्धमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय तहमा समन्वय र पारस्परिक
सहयोगको आदान प्रदान गर्ने,
(च) विपदका समयमा उद्धार, राहत, पुनस्र्थापना लगायतका विपद् व्यवस्थापन सम्बन्धी कामका लागि विपद् प्रभावित जुनसुकै क्षेत्रमा परिचालित हुने र आवश्यक समन्वय गर्ने,
(छ) मुलुकभरको सुरक्षा अवस्थाको सूचना सङ्कलन, विश्लेषण र मूल्याङ्कन गरी आवश्यक सुरक्षा उपायहरू अवलम्बन गर्ने,
(ज) नेपाल प्रहरी र प्रदेश प्रहरीको व्यावसायिक कार्यसम्पादन र सङ्गठनात्मक आवश्यकताको लागि हातहतियार, खर्चजाना र सञ्चार साधनको व्यवस्था मिलाउने,
(झ) आधारभूत मानव अधिकारको रक्षा, शान्ति र सुव्यवस्था एवं अमनचयन कायम गरी सुशासन प्रवर्द्धनमा सहयोग पुऱ्याउने,
(ञ) संयुक्त राष्ट्रसङ्घीय मिसन तथा शान्ति स्थापना सम्बन्धी अन्तर्राष्ट्रिय अन्य मिसनहरूमा मन्त्रालयको नीतिगत निर्देशनको अधीनमा रही सहभागी हुने र सो कार्यमा प्रदेश प्रहरीलाई समेत सहभागी गराउने,
(ट) अपराध सम्बन्धी राष्ट्रिय अभिलेखको व्यवस्था गर्ने,
(ठ) प्रदेश प्रहरीको दक्षता अभिवृद्धि गर्न तालीमको व्यवस्था, उपकरण, प्रविधि, विधि विज्ञान लगायतका विषयमा सहयोग गर्नुका साथै प्रदेश प्रहरीको क्षमता अभिवृद्धिमा सहयोग गर्ने,
(ड) प्रदेश प्रहरीबाट सहयोग माग भई आएका विषयमा आवश्यक सहयोग गर्ने,
(ढ) शान्ति सुरक्षाको स्थितिको लेखाजोखा गर्ने, शान्ति सुरक्षा सम्बन्धी खतरा, चुनौती र जोखिम सम्बन्धमा प्रदेश प्रहरीसँग सूचना आदान प्रदान गर्ने, प्रदेश प्रहरीलाई आवश्यक सल्लाह सुझाव दिने र प्रदेश प्रहरीलाई जानकारी गराई आवश्यकता अनुसार प्रहरी कर्मचारी खटाउने,
(ण) ट्राफिक व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
(त) सङ्घीय कानूनले तोकेका अन्य विशेष प्रकृतिका प्रहरी कारबाहीमा परिचालित हुने,
(थ) नेपाल सरकारले समय समयमा तोकेका कार्यहरू गर्ने,
(द) प्रचलित सङ्घीय कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने गराउने।
४. नेपाल प्रहरीले अनुसन्धान गर्ने: (१) नेपाल प्रहरीले देहाय बमोजिमका कसुर सम्बन्धमा अनुसन्धान गर्नेछः-
(क) राज्य विरुद्धको कसुर, (ख) नागरिकता तथा राहदानी सम्बन्धी कसुर, (ग) अध्यागमन सम्बन्धी कसुर, (घ) सङ्गठित अपराध सम्बन्धी कसुर, (ङ) आतङ्कवाद सम्बन्धी कसुर, (च) मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुर, (छ) साइवर अपराध सम्बन्धी कसुर, (ज) सङ्घीय कानून बमोजिम नेपाल प्रहरीले अनुसन्धान गर्नुपर्ने कसुर, (झ) अनुसन्धानको प्रयोजनको लागि एकभन्दा बढी प्रदेशको क्षेत्राधिकार जोडिने गरी भएको कसुर, (ञ) सीमापार अपराध तथा नेपालबाहिर भएको वा नेपालबाहिर समेत अनुसन्धान गर्नुपर्ने कुनै कसुर, (ट) कसुरको गम्भीरता, सार्वजनिक हित वा सार्वजनिक शान्ति र व्यवस्थाका दृष्टिले संवेदनशील रहेको कारण नेपाल प्रहरीबाट अनुसन्धान गर्न मन्त्रालयले आदेश दिएको कसुर, (ठ) नेपाल प्रहरीबाट अनुसन्धान गर्न कुनै अदालतले आदेश दिएको कसुर, (ड) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका कसुर।
(२) प्रदेश प्रहरीले अनुसन्धान गर्नुपर्ने कुनै कसुर सम्बन्धमा नेपाल प्रहरीबाट अनुसन्धान हुँदा बढी प्रभावकारी हुने भई प्रदेश प्रहरीले अनुरोध गरी पठाएमा त्यस्तो कसुरमा नेपाल प्रहरीले अनुसन्धान गर्नेछ।
(३) उपदफा (१) वा (२) बमोजिमका कसुरको सम्बन्धमा अनुसन्धान गर्दा
$\square$ पहिलो संशोधनद्वारा संशोधित।
नेपाल प्रहरीले आवश्यकता अनुसार प्रदेश प्रहरीको सहयोग माग गर्न सक्नेछ र यसरी माग भए बमोजिमको सहयोग उपलब्ध गराउनु प्रदेश प्रहरीको कर्तव्य हुनेछ।
परिच्छेद-३ प्रदेश प्रहरी सम्बन्धी व्यवस्था
५. प्रदेश प्रहरीको गठन: (१) प्रत्येक प्रदेशमा प्रदेश मन्त्रालय अन्तर्गत प्रदेश प्रहरी सङ्गठन रहनेछ।
(२) प्रदेश प्रहरीको गठन तथा सञ्चालन प्रदेश कानून बमोजिम हुनेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि पहिलो पटकको हकमा प्रहरी कर्मचारी समायोजन सम्बन्धी सङ्घीय कानून बमोजिम नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीलाई प्रचलित सङ्घीय कानून बमोजिम समायोजन गरी वा खटाई प्रदेश प्रहरीको गठन हुनेछ।
(४) उपदफा (२) बमोजिम प्रदेश कानून नबनेसम्म प्रदेश प्रहरीको सञ्चालन यस ऐनको अधीनमा रही नेपाल सरकारले तोके बमोजिम हुनेछ।
(५) प्रदेश प्रहरी सङ्गठन समावेशी स्वरूपको हुनेछ।
६. प्रदेश प्रहरीको पद, पदपूर्ति, पोशाक तथा तालिम: (१) प्रदेश प्रहरीमा रहने पदनाम तथा पदसोपान नेपाल सरकारले तोके बमोजिम हुनेछ।
(२) प्रदेश प्रहरीको पदमा नियुक्तिको लागि आवश्यक पर्ने योग्यता, पदपूर्ति प्रक्रिया, परीक्षाको पाठ्यक्रम तथा परीक्षा प्रणाली नेपाल प्रहरीको समान पदको प्रहरी कर्मचारीको लागि निर्धारण भए सरह हुनेछ।
(३) प्रदेश प्रहरीको पोशाक र दज्र्यानी चिह्न सबै प्रदेशको प्रदेश प्रहरीमा एकरूपता हुने गरी नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ।
(४) प्रदेश प्रहरीले लगाउने पोशाकमा प्रदेश सरकारले निर्धारण गरे बमोजिम नेपालको राष्ट्रियता र प्रदेशको पहिचान झल्किने कुनै चिह्न वा लोगो राखिनेछ।
(५) प्रदेश प्रहरीलाई आधारभूत तालिम र आवश्यकता अनुसार सेवाकालीन तालिम दिइनेछ।
(६) नेपाल प्रहरीले प्रदेश प्रहरीलाई विशेष तालिम दिने व्यवस्था मिलाउन सक्नेछ।
७. प्रदेश प्रहरी प्रमुख: (१) नेपाल सरकारले नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षकलाई प्रदेश प्रहरीको प्रमुखको रुपमा खटाउनेछ।
(२) प्रदेश प्रहरी प्रमुखको रुपमा खटिएको प्रहरी कर्मचारीले प्रदेश प्रहरीको पोशाक र दज्यानी चिह्न लगाई प्रदेश प्रहरीको रुपमा काम गर्नु पर्नेछ।
(३) प्रदेश प्रहरीले सम्बन्धित प्रदेश प्रहरी प्रमुखको नियन्त्रणमा रही कार्य सम्पादन गर्नु पर्नेछ।
(४) प्रदेश प्रहरी प्रमुखले नेपाल प्रहरीको समान पदको प्रहरी कर्मचारीको लागि निर्धारण भए सरहको पारिश्रमिक र नेपाल प्रहरीको समान पदको प्रहरी कर्मचारीले पाउने सुविधाभन्दा कम नहुने गरी प्रदेश सरकारले निर्धारण गरे बमोजिमको सुविधा पाउनेछ।
(५) प्रदेश प्रहरी प्रमुखको रुपमा खटिएको प्रहरी कर्मचारीलाई नेपाल सरकारले सम्बन्धित प्रदेश सरकारको समन्वयमा अन्य प्रदेशमा वा नेपाल प्रहरी अन्तर्गतको कुनै निकायमा सरुवा गर्न सक्नेछ।
८. प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकार: (१) यस ऐनको अधीनमा रही प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) प्रदेशभित्र शान्ति सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्ने,
(ख) प्रदेशभित्र नागरिकको जिउ, धनको सुरक्षा गरी नागरिक स्वतन्त्रताको संरक्षण र सुशासन प्रवर्द्धनमा सहयोग पुर्याउने,
(ग) सार्वजनिक सुरक्षा व्यवस्था तथा अपराधको रोकथामसँग सम्बन्धित आवश्यक सूचना सङ्कलन, विश्लेषण र मूल्याङ्कन गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउने,
(घ) नेपाल सरकार वा प्रदेश सरकारले तोकेका प्रदेशभित्रका महत्त्वपूर्ण व्यक्ति, स्थान, निकाय वा आयोजनाको सुरक्षा गर्ने,
(ङ) प्रदेशभित्र यातायात, भवन, संरचना र अन्य सार्वजनिक तथा सरकारी सम्पत्तिको सुरक्षा गर्ने,
(च) प्रदेशभित्र अपराध रोकथाम र नियन्त्रणको लागि कानून बमोजिम आवश्यक उपाय अवलम्बन गर्ने र सो कार्यका लागि सम्बन्धित निकायहरुसँग सहयोग र समन्वय जुटाउने,
(छ) प्रदेशभित्र विपद्का समयमा उद्दार, राहत, पुनस्थापना लगायतका
विपद् व्यवस्थापन सम्बन्धी कामका लागि परिचालित हुने र आवश्यक समन्वय गर्ने,
(ज) प्रदेशभित्र घटेका अपराध सम्बन्धी प्रादेशिक अभिलेख राख्ने,
(झ) प्रचलित कानून बमोजिम प्रदेश कारागार, हिरासत कक्ष तथा कारागार र हिरासत कक्षमा रहेका कैदी र बन्दीको $\text{P}$........ सुरक्षा व्यवस्था मिलाउने,
(ञ) ट्राफिक प्रहरीलाई समयानुकूल तथा दक्ष बनाई प्रदेशमा हुने सवारी आवागमनलाई सुरक्षित बनाउने तथा प्रदेशको ट्राफिक व्यवस्थापन गर्ने,
(ट) प्रदेशभित्र निजी क्षेत्रका सुरक्षा प्रदायक तथा सुरक्षाकर्मीले अपनाउनु पर्ने मापदण्ड पालना गरे नगरेको सम्बन्धमा नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने,
(ठ) प्रदेश प्रहरीको तालीम तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्य गर्ने,
(ड) सामुदायिक प्रहरी सम्बन्धी कार्य गर्ने,
(ढ) बेवारिस सम्पत्ति जिम्मा लिई प्रचलित कानून बमोजिम व्यवस्थापन गर्ने,
(ण) प्रचलित कानून बमोजिम अन्य निकायबाट अनुसन्धान हुने कसुरको सम्बन्धमा माग भएको सहयोग उपलब्ध गराउने,
(त) एक प्रदेशबाट अर्को प्रदेशमा अभियुक्त, थुनुवा र कैदीको स्थानान्तरण गर्नु पर्ने भएमा संघीय कानून बमोजिम सोको लागि समन्वय तथा सुरक्षा व्यवस्थापन गर्ने,
(थ) नेपाल प्रहरी र अन्य प्रदेशका प्रहरी सङ्गठनसँग सम्पर्क, सूचना आदान प्रदान र समन्वय गर्ने,
(द) प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने गराउने।
(२) सार्वजनिक आवागमन सम्बन्धमा प्रचलित कानून बमोजिम नेपाल प्रहरीलाई
$\text{P}$ पहिलो संशोधनद्वारा झिकिएको।
भएको अधिकार प्रदेश प्रहरीले समेत कानून बमोजिम प्रयोग गर्न सक्नेछ।
(३) प्रदेश प्रहरीले सूचना र सञ्चार प्रविधिमसंग सम्बन्धित उपकरणहरुको प्रयोग गर्दा नेपाल प्रहरीसँग समन्वय गरी प्रयोग गर्नु पर्नेछ।
९. प्रदेश प्रहरीले अनुसन्धान गर्ने: (१) दफा ४ बमोजिम नेपाल प्रहरीले अनुसन्धान गर्ने कसुर तथा प्रचलित कानून बमोजिम अन्य निकाय वा अधिकारीले अनुसन्धान गर्ने कसुर बाहेक आफ्नो प्रदेशभित्र भएका नेपाल सरकार वादी हुने अन्य कसुरको सम्बन्धमा प्रदेश प्रहरीले प्रचलित कानून बमोजिम अनुसन्धान गर्नेछ।
(२) यस दफा बमोजिम प्रदेश प्रहरीले अनुसन्धान गर्दा प्रचलित कानून बमोजिम अपराध अनुसन्धानको लागि प्रहरी कर्मचारीलाई भएको अधिकारको प्रयोग गर्नेछ।
(३) यस दफा बमोजिम प्रदेश प्रहरीले अनुसन्धान गरेको कसुर सम्बन्धी अनुसन्धान प्रतिवेदन सम्बन्धित सरकारी वकील समक्ष पेश गर्नेछ।
१०. जानकारी गराउने: (१) प्रदेश प्रहरीले सार्वजनिक सुरक्षा व्यवस्था तथा अपराधको रोकथामसँग सम्बन्धित सूचना सङ्कलन गरेको र सोको आधारमा सुरक्षा व्यवस्था मिलाएको जानकारी प्रदेश मन्त्रालय, नेपाल प्रहरी र सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई गराउनु पर्नेछ।
(२) प्रदेश प्रहरीले अपराध अनुसन्धान गरेको मुद्दा सम्बन्धी मासिक प्रतिवेदन तयार गरी प्रदेश मन्त्रालय, नेपाल प्रहरी र सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई उपलब्ध गराउनु पर्नेछ।
१०क. नेपाल प्रहरीले कार्य गर्ने: (१) दफा ८ र ९ मा जुनसुकै कुरा लेखिएको भए तापनि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने कसूरको अनुसन्धान समेत नेपाल प्रहरीले गर्नेछ।
(२) उपदफा (१) को प्रयोजनको लागि तथा नेपाल प्रहरीबाट सम्पादन हुने कामको लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा नेपाल प्रहरी अन्तर्गतका प्रहरी कार्यालय रहनेछन्।
(३) यस दफा बमोजिम कार्य सम्पादन गर्दा नेपाल प्रहरीले प्रदेश प्रहरीसँग समन्वय गर्नेछ।
परिच्छेद-४ परिचालन र सुपरिवेक्षण
११. नेपाल प्रहरीको परिचालन र सुपरिवेक्षण: (१) नेपाल प्रहरीको परिचालन र सुपरिवेक्षण नेपाल सरकारले गर्नेछ।
(२) यस ऐन, प्रचलित कानून तथा नेपाल सरकारको नीति निर्देशनको अधीनमा रही शान्ति सुव्यवस्था, अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानको सन्दर्भमा माथिल्लो प्रहरी कार्यालयले आफ्नो मातहतका कार्यालयलाई आदेश वा निर्देशन दिन सक्नेछ। यसरी दिएको आदेश वा निर्देशनको पालना गर्नु प्रत्येक प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीको कर्तव्य हुनेछ।
(३) जिल्लास्तरमा कार्यरत नेपाल प्रहरीका प्रहरी कर्मचारी सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको नियन्त्रण र निर्देशनमा रहनेछन्।
१२. प्रदेश प्रहरीको परिचालन र सुपरिवेक्षण: (१) प्रदेश प्रहरीको परिचालन र सुपरिवेक्षण प्रदेश सरकारले गर्नेछ।
(२) प्रदेशको आन्तरिक शान्ति सुरक्षाको सम्बन्धमा प्रदेश प्रहरी प्रदेश सरकारप्रति उत्तरदायी हुनेछ।
(३) प्रदेश प्रहरीले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न सम्बन्धमा नेपाल सरकार तथा प्रदेश सरकारको नीति र प्रदेश मन्त्रालय तथा प्रदेश प्रहरी प्रमुखको नियन्त्रणमा रही कार्य गर्नु पर्नेछ।
(४) यस ऐन, प्रचलित कानून तथा नेपाल सरकारको नीति निर्देशनको अधीनमा रही शान्ति सुव्यवस्था, अपराधको रोकथाम र नियन्त्रणको सन्दर्भमा नेपाल प्रहरीले प्रदेश प्रहरी प्रमुखलाई र प्रमुख जिल्ला अधिकारीले सम्बन्धित जिल्लाको प्रदेश प्रहरीलाई आदेश वा निर्देशन दिन सक्नेछ।
(५) जिल्लाभित्र शान्ति सुरक्षा कायम गर्नेको लागि प्रचलित कानून बमोजिम प्रमुख जिल्ला अधिकारीले सम्बन्धित जिल्लाको प्रदेश प्रहरी परिचालन गर्न सक्नेछ र यसरी परिचालन गरेको अवस्थामा सम्बन्धित जिल्लाको प्रदेश प्रहरीले प्रमुख जिल्ला अधिकारीको निर्देशनमा रही काम गर्नु पर्नेछ।
(६) उपदफा (५) बमोजिम प्रदेश प्रहरी परिचालन गर्दा प्रमुख जिल्ला अधिकारीले प्रदेश मन्त्रालयको निर्देशनमा रही काम गर्नु पर्नेछ।
(७) शान्ति सुरक्षा, अपराध अनुसन्धान लगायत कर्तव्यपालनाको लागि खटिएको अवस्थामा प्रदेश प्रहरी कर्मचारीले आफूभन्दा माथिको अधिकारीको निर्देशनको अधीनमा रही कार्य सम्पादन गर्नु पर्नेछ।
(८) शान्ति सुरक्षा कार्य गर्ने सन्दर्भमा नेपाल प्रहरी र प्रदेश प्रहरी संयुक्त रुपमा परिचालन भएको अवस्थामा प्रदेश प्रहरीले नेपाल प्रहरीको प्रत्यक्ष नियन्त्रणमा रही कार्य गर्नु पर्नेछ।
(९) उपदफा (४) बमोजिम आदेश वा निर्देशन दिएको तथा उपदफा (५) बमोजिम प्रदेश प्रहरी परिचालन गरिएको अवस्थामा सो सम्बन्धमा प्रदेश प्रहरीको सुपरिवेक्षण नेपाल प्रहरी र सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले समेत गर्नेछ।
१३. अन्य प्रदेशको प्रदेश प्रहरी परिचालन गर्न सकिने: (१) कुनै प्रदेशमा वा एकभन्दा बढी प्रदेशमा गम्भीर अशान्ति भएको, अशान्ति हुने सम्भावना रहेको वा विपद्को अवस्था सिर्जना हुन गएको कारण अर्को प्रदेशको प्रदेश प्रहरीको सहयोग समेत आवश्यक पर्नु भएमा सम्बन्धित प्रदेश सरकारले सो प्रयोजनको लागि नेपाल सरकारलाई अनुरोध गरी पठाउन सक्नेछ।
(२) उपदफा (१) बमोजिम अनुरोध भई आएमा वा कुनै प्रदेशको अशान्ति रोक्न वा विपद्को अवस्थामा सहयोग गर्ने अर्को प्रदेशको प्रहरी समेत परिचालन गर्नु पर्ने आवश्यक ठानेमा नेपाल सरकारले सम्बन्धित प्रदेश सरकारलाई निर्देशन दिन सक्नेछ।
(३) उपदफा (२) बमोजिम निर्देशन भई आएमा सम्बन्धित प्रदेश सरकारले आवश्यक संख्यामा सो प्रदेशको प्रदेश प्रहरीलाई अर्को प्रदेशमा पठाउनु पर्नेछ।
(४) यस दफा बमोजिम अर्को प्रदेशमा प्रदेश प्रहरी खटिएको अवस्थामा त्यस्ता प्रहरी कर्मचारीलाई परिचालन गर्दा नेपाल प्रहरीले आवश्यक समन्वय गर्नु पर्नेछ।
परिच्छेद-५ समन्वय
१४. प्रहरी समन्वय समिति: (१) नेपाल प्रहरी तथा प्रदेश प्रहरीबीच समन्वय कायम गर्नेका लागि देहाय बमोजिमको प्रहरी समन्वय समिति रहनेछः-
(क) नेपाल सरकारको गृहमन्त्री - अध्यक्ष (ख) सबै प्रदेशका आन्तरिक मामिला सम्बन्धी विषय
हेर्ने मन्त्रीहरू - सदस्य
(ग) सचिव, मन्त्रालय - सदस्य
(घ) प्रहरी महानिरीक्षक, नेपाल प्रहरी - सदस्य
(ङ) सहसचिव (शान्ति सुरक्षा हेर्ने), मन्त्रालय - सदस्य-सचिव
(२) उपदफा (१) बमोजिमको समितिको बैठक सो समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
(३) उपदफा (१) बमोजिमको समितिको बैठकमा आवश्यकता अनुसार प्रदेश मन्त्रालयका सचिव, प्रदेश प्रहरी प्रमुख र अन्य पदाधिकारीलाई आमन्त्रण गर्न सकिनेछ।
(४) उपदफा (१) बमोजिमको समितिको बैठक तथा निर्णय सम्बन्धी कार्यविधि सोही समितिले निर्धारण गरे बमोजिम हुनेछ।
(५) उपदफा (१) बमोजिमको समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) मुलुकभर शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न नेपाल प्रहरी तथा प्रदेशको शान्ति सुरक्षा कायम गर्न प्रदेश प्रहरीले निर्वाह गर्नु पर्ने भूमिका र सो सम्बन्धी आवश्यक रणनीतिको सम्बन्धमा नेपाल सरकारलाई सिफारिस गर्ने,
(ख) राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयनका लागि समन्वय गर्ने,
(ग) नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वयमा देखिएका नीतिगत समस्याको पहिचान र समीक्षा गरी निराकरणका उपायहरूको सम्बन्धमा नेपाल सरकारलाई सिफारिस गर्ने,
(घ) अन्तर-प्रदेश प्रहरीबीचको कार्यक्षेत्र सम्बन्धी विवाद समाधान गर्ने,
(ङ) तोकिए बमोजिमका अन्य कार्य गर्ने।
१५. समन्वय एकाई: (१) प्रहरी प्रधान कार्यालय र प्रत्येक प्रदेशको प्रदेश प्रहरी कार्यालयमा एउटा समन्वय एकाई रहनेछ।
(२) उपदफा (१) बमोजिमको समन्वय एकाईले नेपाल प्रहरी र प्रदेश प्रहरीबीच तथा एउटा प्रदेश प्रहरी र अर्को प्रदेश प्रहरीबीच सूचना र सहयोग आदान प्रदान गर्ने
प्रयोजनको लागि सम्पर्क निकायको रुपमा काम गर्नेछ।
परिच्छेद-६ विविध
१६. अपराध नियन्त्रण तथा अनुसन्धानका सन्दर्भमा प्रहरीको भूमिका: (१) अपराध भएको, भइरहेको वा हुन लागेको जानकारी प्राप्त हुन आएमा नेपाल प्रहरी वा प्रदेश प्रहरीले तत्काल देहाय बमोजिमको कार्य गर्नु पर्नेछः-
(क) तत्काल त्यस्तो स्थानमा उपस्थित भई अपराध रोक्न आवश्यक व्यवस्था मिलाउने,
(ख) अपराध भइसकेकोमा अपराधबारे आफूले देखे जानेसम्मका तथ्य प्रमाणहरु सङ्कलन गर्ने र अन्य निकाय वा अधिकारीबाट अनुसन्धान हुने अपराध भएमा तत्काल अपराध अनुसन्धानको लागि जिम्मेवार निकाय वा अधिकारीलाई खबर गर्ने,
(ग) दोषी प्रमाण नष्ट हुन नदिने तथा घटनास्थलको आवश्यक सुरक्षा व्यवस्था मिलाउने,
(घ) अन्य निकाय वा अधिकारीबाट अनुसन्धान हुने अपराधको अनुसन्धानको सन्दर्भमा अनुसन्धान गर्ने निकाय वा अधिकारीलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने,
(ङ) यो ऐन वा प्रचलित कानून बमोजिम आफूले अनुसन्धान गर्ने अपराधको सम्बन्धमा अनुसन्धान गरी सरकारी वकील समक्ष अनुसन्धान प्रतिवेदन पेश गर्ने,
(च) अपराध हुन नदिन तथा अपराध भइसकेकोमा अपराध अनुसन्धान तथा पीडितको सुरक्षाको लागि आवश्यक पर्ने अन्य कार्य गर्ने।
(२) नेपाल प्रहरी वा प्रदेश प्रहरीले अपराधको अनुसन्धान गर्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ र अन्य प्रचलित कानून बमोजिम गर्नु पर्नेछ।
(३) उपदफा (१) बमोजिम अन्य निकाय वा अधिकारीबाट अनुसन्धान हुने अपराधको सम्बन्धमा नेपाल प्रहरी वा प्रदेश प्रहरीले सङ्कलन गरेको दोषी तथा प्रमाण अनुसन्धानसँग सम्बन्धित निकाय वा अधिकारीलाई हस्तान्तरण गर्नु पर्नेछ।
(४) अपराध नियन्त्रण तथा अनुसन्धानको सन्दर्भमा प्रदेश प्रहरीले आवश्यकता
अनुसार नेपाल प्रहरीको समन्वयमा रही काम गर्नु पर्नेछ।
१७. प्रमुख जिल्ला अधिकारीको काममा सहयोग गर्नु पर्ने: प्रचलित कानून बमोजिम प्रमुख जिल्ला अधिकारीले गर्नु पर्ने काममा सहयोग गर्नु प्रहरी कर्मचारीको कर्तव्य हुनेछ।
१८. नेपाल प्रहरीका प्रहरी कर्मचारीलाई प्रदेश प्रहरीमा खटाउन सकिने: (१) प्रदेश प्रहरीको स्वीकृत सङ्गठन संरचना तथा दरबन्दीमा प्रदेश प्रहरी कर्मचारी अपुग भएको अवस्थामा सम्बन्धित प्रदेश मन्त्रालयले नेपाल प्रहरीका प्रहरी कर्मचारी खटाई दिन मन्त्रालय समक्ष अनुरोध गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम अनुरोध भई आएमा मन्त्रालयले आवश्यक सङ्ख्यामा नेपाल प्रहरीका प्रहरी कर्मचारीलाई अवधि तोकी प्रदेश प्रहरीमा खटाउन सक्नेछ।
(३) उपदफा (२) बमोजिम प्रदेश प्रहरीमा खटाइएको नेपाल प्रहरीको प्रहरी कर्मचारी नेपाल प्रहरीको रिक्त पदमा बढुवाको लागि योग्य हुनेछन्।
(४) उपदफा (२) बमोजिम प्रदेश प्रहरीमा खटाइएको प्रहरी कर्मचारीलाई सम्बन्धित प्रदेश मन्त्रालयसँग समन्वय गरी अन्य प्रदेश प्रहरी सङ्गठनमा वा नेपाल प्रहरीमा सरुवा गर्न वा काज खटाउन सकिनेछ।
१९. पक्राउ गर्न सक्ने: (१) यो ऐन र प्रचलित कानून बमोजिम नेपाल प्रहरीबाट अनुसन्धान हुने कुनै अपराधमा संलग्न भएको वा संदिग्ध व्यक्तिलाई नेपाल प्रहरीले कानून बमोजिम पक्राउ गर्नु पर्नेछ।
(२) यो ऐन र प्रचलित कानून बमोजिम प्रदेश प्रहरीबाट अनुसन्धान हुने कुनै अपराधमा संलग्न भएको वा संदिग्ध व्यक्तिलाई प्रदेश प्रहरीले कानून बमोजिम पक्राउ गर्नु पर्नेछ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश प्रहरी वा अन्य निकाय वा अधिकारीबाट अनुसन्धान हुने अपराधमा संलग्न भएको वा संदिग्ध व्यक्तिलाई नेपाल प्रहरीले र नेपाल प्रहरी वा अन्य निकाय वा अधिकारीबाट अनुसन्धान हुने अपराधमा संलग्न भएको वा संदिग्ध व्यक्तिलाई प्रदेश प्रहरीले कानून बमोजिम पक्राउ गर्न सक्नेछ।
(४) उपदफा (३) बमोजिम पक्राउ परेको व्यक्तिलाई यथाशीघ्र त्यस्तो अपराधको अनुसन्धान गर्ने निकाय वा अधिकारीलाई हस्तान्तरण गर्नु पर्नेछ।
२०. प्रदेश प्रहरीको काम नेपाल प्रहरीले गर्ने: यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए
तापिनी कुनै प्रदेशमा प्रदेश प्रहरी गठन नहुँदासम्म सो प्रदेशको प्रदेश प्रहरीले गर्ने सम्पूर्ण काम नेपाल प्रहरीले गर्नेछ।
२१. प्रदेश लोक सेवा आयोगको परामर्श लिनु पर्ने: (१) प्रदेशले यस ऐनको अधीनमा रही प्रदेश प्रहरीको सेवा शर्त सम्बन्धी कानून बनाउँदा प्रदेश लोक सेवा आयोगको परामर्श लिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम कानून बनाउँदा देहायका व्यवस्था समेत गर्नु पर्नेछः-
(क) प्रदेश प्रहरीको खुला प्रतियोगिताबाट नियुक्ति गर्नु पर्ने पदमा प्रदेश लोक सेवा आयोगको सिफारिसमा नियुक्ति गर्ने व्यवस्था,
(ख) प्रदेश प्रहरीको पदमा बढुवाको लागि सिफारिस गर्ने समितिमा प्रदेश लोक सेवा आयोगको समेत प्रतिनिधित्व हुने व्यवस्था,
(ग) प्रदेश प्रहरीमा नियुक्ति हुने प्रहरी कर्मचारीले योगदानमा आधारित सेवा निवृत्त सुविधा पाउने व्यवस्था।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश लोक सेवा आयोग गठन नभएसम्मको लागि सो आयोगको काम लोक सेवा आयोगबाट हुनेछ।
२२. मापदण्ड बनाउने: (१) प्रदेश प्रहरीले पाउने पारिश्रमिक तथा सुविधा सम्बन्धमा नेपाल सरकारले मापदण्ड बनाउनेछ र सो मापदण्डको अधीनमा रही प्रदेश सरकारले प्रदेश प्रहरीले पाउने पारिश्रमिक तथा सुविधा निर्धारण गर्नेछ।
(२) देहायका विषयमा नेपाल प्रहरीले मापदण्ड बनाई लागू गर्नेछः-
(क) नेपाल प्रहरी र प्रदेश प्रहरीले प्रयोग गर्ने हातहतियार, खरजाना तथा सञ्चार साधन र सोको प्रयोग,
(ख) नेपाल प्रहरी र प्रदेश प्रहरीलाई दिइने तालिम,
(ग) निजी क्षेत्रका सुरक्षा प्रदायक र त्यस्तो सुरक्षा प्रदायकबाट उपलब्ध गराइने सुरक्षा सेवा।
२३. अधिकार प्रत्यायोजन गर्न सक्ने: (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस ऐन बमोजिम आफूलाई प्राप्त केही अधिकारहरु आवश्यकता अनुसार सोही सूचनामा तोकिएको प्रहरी कर्मचारी वा अधिकारीले प्रयोग गर्ने गरी प्रत्यायोजन गर्न सक्नेछ।
(२) यस ऐनद्वारा कुनै प्रहरी कर्मचारीलाई प्रदान गरिएको अधिकार त्यस्तो प्रहरी कर्मचारीले आफ्नो रेखदेखमा काम गर्ने गरी आफूमुनिको प्रहरी कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।
२४. नियम बनाउने अधिकार: यो ऐन कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ।
२५. निर्देशिका वा कार्यविधि बनाउन सक्ने: यो ऐन वा यस ऐन अन्तर्गत जारी भएका नियमहरूको कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक निर्देशिका वा कार्यविधि बनाउन सक्नेछ र त्यस्तो निर्देशिका वा कार्यविधि नेपाल राजपत्रमा प्रकाशन भएपछि लागू हुनेछ।