पेट्रोलियम उद्योग (आयकर) नियमावली, २०४१
नेपाल राजपत्रमा प्रकाशित मिति २०४१।१२।१
संशोधन पेट्रोलियम उद्योग (आयकर) (पहिलो संशोधन) नियमावली, २०७० २०७०।१।३०
आयकर ऐन, २०३१ को दफा ६५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “पेट्रोलियम उद्योग (आयकर) नियमावली, २०४१” रहेको छ।
(२) यो नियमावली नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ।*
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा:–
(क) “अन्वेषण पूँजीगत खर्च” भन्नाले नियम ३ बमोजिमको अन्वेषण पूँजीगत खर्च सम्झनु पर्छ।
(ख) “ऐन” भन्नाले आयकर ऐन, २०५८ सम्झनु पर्छ।
(ग) “करार क्षेत्र” भन्नाले पेट्रोलियम सम्झौता अन्तर्गतको करार क्षेत्र सम्झनु पर्छ।
(घ) “चालु सञ्चालन खर्च” भन्नाले नियम ४ बमोजिमको चालु सञ्चालन खर्च सम्झनु पर्छ।
(ङ) “ठेकेदार” भन्नाले नेपाल पेट्रोलियम ऐन, २०४० को दफा ८ बमोजिम नेपाल सरकारसँग पेट्रोलियम सम्झौता गर्ने स्वदेशी वा विदेशी लगानीकर्ता सम्झनु पर्छ।
(च) “पूँजीगत खर्च” भन्नाले नियम ५ बमोजिमको पूँजीगत खर्च सम्झनु पर्छ।
* यो नियमावली मिति २०४२।१२।१८ देखि प्रारम्भ भएको (नेपाल राजपत्र मिति २०४२।१२।१८)।
(छ) “पेट्रोलियम उद्योग” भन्नाले नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम ठेकेदारले सञ्चालन गर्ने पेट्रोलियम कार्य सम्झनु पर्छ।
(ज) “पेट्रोलियम सम्झौता” भन्नाले नेपाल पेट्रोलियम ऐन, २०४० को दफा ८ बमोजिम नेपाल सरकार र ठेकेदारले पेट्रोलियम कार्यको सम्बन्धमा गरेको सम्झौता सम्झनु पर्छ।
(झ) “व्यापारिक उत्पादन दिन” भन्नाले ठेकेदारले पेट्रोलियम सम्झौता बमोजिम उत्पादन क्षेत्रबाट उत्पादित पेट्रोलियम मूल्य लिई वा नलिई पहिलो पटक अरु कसैलाई हस्तान्तरण गरेको वा साटफेर गरेको वा बिक्री गरेको दिन सम्झनु पर्छ।
(ञ) “लेखा अवधि” भन्नाले देहायको अवस्थामा बाहेक जनवरी १ तारिखमा सुरु भई डिसेम्बर ३१ तारिखमा अन्त हुने बाह्र महिनाको आय वर्ष सम्झनु पर्छः-
(क) पहिलो लेखा अवधि व्यापारिक उत्पादन दिनमा सुरु भई सोही वर्षको डिसेम्बर ३१ तारिखमा अन्त हुनेछ।
(ख) अन्तिम लेखा अवधि ठेकेदारले पेट्रोलियम कार्य गर्न छोडेको दिनमा समाप्त हुनेछ।
(ट) “त्रैमासिक अवधि (क्यालेण्डर क्वाटर)” भन्नाले जनवरी १, अप्रिल १, जुलाई १ वा अक्टोबर १ तारिखमा सुरु भई क्रमशः मार्च ३१, जुन ३०, सेप्टेम्बर ३० वा डिसेम्बर ३१ तारिखमा अन्त्य हुने तीन महिनाको अविच्छिन्न अवधि सम्झनु पर्छ।
३. अन्वेषण पूँजीगत खर्चः (१) पेट्रोलियम सम्झौताबमोजिम पेट्रोलियम फेला परेको सूचना दिनु अघि पेट्रोलियम कार्यमा गरिएको सबै खर्च अन्वेषण पूँजीगत खर्च मानिनेछ।
(२) करार क्षेत्रको कुनै भागमा पेट्रोलियम फेला परेको सूचना दिई सकेपछि गरिएको अन्वेषण पूँजीगत खर्च त्यसरी फेला परेको पेट्रोलियम व्यापारिक महत्वको ठहरिन आएमा मात्र अन्वेषण पूँजीगत खर्चमा समावेश गरिनेछ।
४. चालू सञ्चालन खर्च: पेट्रोलियम उद्योगले व्यापारिक उत्पादन दिनपर्छ गरेको सबै गैर पूँजीगत खर्चहरू र देहाय बमोजिमका खर्चहरू चालू सञ्चालन खर्च मानिनेछः–
(क) पेट्रोलियमको सर्वेक्षण, विकास, उत्पादन शुद्धीकरण, ओसार पसार सञ्चय, ह्याण्डलिङ्ग तथा डेलिभरी र मर्मत सम्भार तथा त्यस्तै किसिमको कृयाकलापहरू लगायत दैनिक पेट्रोलियम कार्यमा प्रत्यक्ष रूपले प्रयोग गरेको श्रम, मालसामान र सेवाहरूको लागि गरिएका खर्चहरू।
(ख) पेट्रोलियम कार्यको सम्बन्धमा प्रत्यक्ष रूपले नेपालभित्र वा बाहिर गरिएका साधारण तथा कार्यालय प्रशासन, सेवा तथा सञ्चालन शीर्षहरू खर्चहरू लगायत प्राविधिक एवं सम्बन्धित सेवाहरू, मालसामानहरू, ढुवानी, भाडा भरौट तथा व्यावसायिक कर्मचारीहरू सम्बन्धी र त्यस्तै किसिमका अन्य खर्चहरू।
(ग) बीमा खर्च, शुल्क तथा पेट्रोलियम कार्यसँग सम्बन्धित सबै नोक्सानी दावी क्षतिपूर्ति र फैसलाको लिलाफाकि गर्न लागेको सबै खर्चहरू।
(घ) जिन्सी मालसामान अद्यावधिक गर्दा भएको नोक्सानी।
(ङ) ऋण तथा जमातको ब्याज, शुल्क र कमिसन।
(च) डलर र नेपाली मुद्राको सटही दरको परिवर्तनबाट भएको विदेशी मुद्रा विनिमयसम्बन्धी नोक्सानी।
५. पूँजीगत खर्चः पेट्रोलियम उद्योगले साधारणतः एक वर्षभन्दा बढी अवधिको व्यापारिक आयु वा मूल्य भएको मालसामानहरूको लागि गरेको सबै खर्चहरू र देहाय बमोजिमका खर्चहरू समेत पूँजीगत खर्च मानिनेछः–
(क) व्यापारिक उत्पादन दिन भन्दा अघिको पेट्रोलियम कार्यसँग सम्बन्धित खण्ड (ख) देखि (च) सम्ममा समावेश भएको हदसम्मको सबै खर्चहरू।
(ख) व्यापारिक उत्पादन दिनपछि करार क्षेत्रमा गरिएका अन्वेषण एवं सम्भाव्यता कार्यसम्बन्धी सबै खर्चहरू र विकास इबार खन्न, परीक्षण गर्न र पूरा गर्न तथा पेट्रोलियमको उत्पादन, शुद्धीकरण, सञ्चय र ओसार पसार गर्नको निमित्त स्थायी सुविधाहरूको निर्माण गर्न गरिएका सबै खर्चहरू।
(ग) नेपाली नागरिकहरूलाई शिक्षा तथा तालीम दिनको लागि गरेको खर्चहरू।
(घ) साइस्मिक तथा अन्य सूचना र प्रतिवेदनहरू खरिद गर्नको लागि नेपाल सरकारलाई तिरेको शुल्कहरू।
(ङ) पेट्रोलियम सम्झौताबमोझिम अधिकार प्राप्त गर्ने वा हस्तान्तरण गर्ने सम्बन्धमा गरेको खर्चहरू।
(च) व्यापारिक उत्पादन दिनुपछि पेट्रोलियम सम्झौता बमोजिम पेट्रोलियम कार्यमा गरेका सबै अन्य पूँजीगत खर्चहरू।
६. समावेश नगरिने खर्चः यस नियमावलीको अन्य नियमहरूमा जुनसुकै कुरा लेखिएको भए तापनि चालू सञ्चालन खर्च वा पूँजीगत खर्चमा देहाय बमोजिमका खर्चहरू समावेश गरिने छैनन्ः–
(क) देहायको बन्देज नघाई गरेको खर्चहरूः
(१) पेट्रोलियम उद्योगले प्रत्यक्ष रूपले सम्पन्न गरेको कार्यको खर्च वास्तविक खर्चभन्दा बढी हुनु हुँदैन, साथै त्यस्तो खर्च त्यस्तै कामको लागि असम्बद्ध तेस्रो पक्षले लिने प्रतिस्पर्धात्मक दरभन्दा बढी हुनु हुँदैन।
(२) नेपालभित्र गरेको शीर्षस्थ खर्च वास्तविक खर्चभन्दा बढी हुनु हुँदैन।
(३) पेट्रोलियम उद्योगले (र पेट्रोलियम उद्योगसँग सम्बद्ध सबै निकायले) नेपाल बाहिर गरेको शीर्षस्थ खर्च नेपाल सरकारले अग्रिम स्वीकृत गरेको वार्षिक रकमभन्दा बढी हुनु हुँदैन। त्यस्तो रकम कुनै पनि हालतमा देहायको हदभन्दा बढी हुने छैनः–
५०,००,००० देखि २,००,००,००० डलरसम्म – १ प्रतिशत
२,००,००,००० डलरभन्दा माथि – ०.२५ प्रतिशत
(४) मालसामान र कटकेन्दारहरूको सेवाको लागि गरेको खर्च वास्तविक खर्चभन्दा बढी हुँदैन त्यस्तै मालसामान र सेवाको लागि करार गरेको समयमा असम्बद्ध तेस्रो पक्षले लिने प्रतिस्पर्धात्मक दरभन्दा बढी हुँदैन।
(५) मालसामान, उपकरण र अन्य सामग्री प्राप्त गर्न वा बहालमा लिन र सुविधाहरूको निर्माण गर्न गरेको खर्च वास्तविक खर्च भन्दा बढी हुँदैन र त्यस्तै सामानहरूको निर्माण खर्च बहाल र प्रतिस्पर्धात्मक मूल्य भन्दा बढी हुँदैन साथै त्यस्तो खर्चमा कुनै मार्क अप वा पेट्रोलियम उद्योग वा त्यसको कुनै सम्बद्ध कम्पनीहरूले प्राप्त गरेको कमिशन समावेश हुँदैन।
(६) ऋण तथा जमातको ब्याज, शुल्क र कमिशनको दर जनिकको असम्बद्ध तेस्रो पक्षसँगको कारोबारमा प्रचलित प्रतिस्पर्धात्मक दरभन्दा बढी हुँदैन।
(ख) पेट्रोलियम सम्झौताबमोजिम करार क्षेत्रको पेट्रोलियम कार्यसहित प्रत्यक्ष रूपले सम्बन्धित नभएको खर्च।
(ग) नेपालमा वा विदेशी मुलुकमा तिरको आयकर वा दण्ड जरिवाना।
(घ) नेपाल बाहिर पेट्रोलियम बिक्री गर्न गरेको खर्च र नेपालको निर्यात केन्द्र बाहिरको पेट्रोलियमको ढुवानी, सञ्चय, ह्यान्डलिंग र निर्यात खर्च।
(ङ) पेट्रोलियम सम्झौता बमोजिम पेट्रोलियम खर्चको परिभाषाभित्र पर्ने तर नेपाल सरकारलाई दिएको पेट्रोलियम खर्चको विवरणमा समावेश नभएका सबै खर्चहरू।
(च) बीमा वा बचतको करारबाट असुल उपर भएको नोक्सानी।
(छ) व्यक्तिगत खालका खर्च, उपहार वा दान दातव्य।
(ज) पेट्रोलियम सम्झौता सम्पन्न हुनुभन्दा पहिले गरेको खर्च।
(झ) डलर र नेपाली मुद्राको सटही दरको परिवर्तनबाट भएको विदेशी मुद्रा विनिमयसम्बन्धी नोक्सानीबाहेक अन्य विदेशी मुद्रा विनिमयसम्बन्धी नोक्सानी।
(ञ) नेपाल सरकारलाई तिरेको बोनस।
७. आय विवरणः (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको ढाँचामा ठेकेदारले देहाय बमोजिम पेट्रोलियम उद्योगको आय विवरण দাखिल गर्नु पर्नेछः–
(क) प्रत्येक त्रैमासिक अवधि समाप्त भएको तीस (३०) दिनभित्र अनुमानित त्रैमासिक आय विवरण।
(ख) प्रत्येक लेखा अवधि समाप्त भएको तीन (३) महिनाभित्र वार्षिक आय विवरण।
(२) उपनियम (१) को खण्ड (क) बमोजिम त्रैमासिक आय विवरण दाखिला गर्दा ठेकेदारले अनुमानित त्रैमासिक आयकर पनि दाखिला गर्नु पर्नेछ।
(३) प्रत्येक लेखा अवधि समाप्त भएको तीन (३) महिनाभित्र उपनियम (२) को अधीनमा रही ठेकेदारले तिर्न बाँकी आयकर तिर्नु वा बढी तिरेको आयकर फिर्ता लिन निवेदन दिनु पर्नेछ।
८. पेट्रोलियम उद्योगको कुल आयः पेट्रोलियम उद्योगको कुल आय बिक्री वितरण गरिएको पेट्रोलियमको मूल्य र पेट्रोलियम कार्यसहित सम्बन्धित अन्य सबै आय बराबरको हुनेछ। बिक्री वितरण गरिएको पेट्रोलियमको मूल्य पेट्रोलियम सम्झौताको व्यवस्था बमोजिम निर्धारण गरिनेछ।
९. पेट्रोलियम उद्योगको खुद आयः पेट्रोलियम उद्योगको प्रत्येक लेखा अवधिको खुद आय निर्धारण गर्दा नियम ८ बमोजिम निर्धारण गरिएको कुल आयमा चालू सञ्चालन खर्च, नियम १० बमोजिम पूँजीगत खर्चको ह्रास (डिप्रिसियशन) र नियम ११ बमोजिम बीतेको लेखा अवधिहरूबाट सञ्चित नोक्सानी समेत कट्टा गरी निर्धारण गरिनेछ।
१०. पूँजीगत खर्चको ह्रासः (१) पूँजीगत खर्चको ह्रास पहिलो लेखा अवधि वा सम्पत्तिलाई प्रयोगमा ल्याएको लेखा अवधिमध्ये जुन पछि हुन्छ सो अवधिदेखि देहाय बमोजिम कट्टा गरिनेछः–
(क) अन्वेषण पूँजीगत ह्रास तुरुन्तै,
(ख) विकास इबार खन्न, परीक्षण गर्न र पूरा गर्न गरिएको पूँजीगत खर्चको ह्रास चार (४) वर्षमा।
(ग) अन्य सबै पूँजीगत खर्चको ह्रास छ (६) वर्षमा।
(२) ह्रास कट्टीको हिसाब सोझो तरिकाको आधार (स्ट्रेटलाइनिङ बेसिस) मा गरिनेछ।
(३) प्रयोगबाट निकालिएको कुनै सम्पत्तिको ह्रास कट्टी गर्न बाँकी पूँजीगत खर्चको ह्रासमाथि उल्लेखित हिसाबले कट्टा गरिनेछ। तर अप्रत्याशित रूपले त्यस्तो सम्पत्तिको विनाश वा नोक्सानी भएमा ह्रास कट्टी गर्न बाँकी मूल्य त्यसरी विनाश वा नोक्सानी भएको वर्षमा चालू सञ्चालन खर्चको रूपमा कट्टा गर्न सकिनेछ।
११. नोक्सानी अगाडि सार्नेः कुनै लेखा अवधिको पेट्रोलियम उद्योगको नोक्सानी अगाडि सार्न सकिनेछ र त्यसपछिको कुनै लेखा अवधिमा खुद आय निर्धारण गर्दा त्यस्तो नोक्सानी कुल आयबाट कट्टा गर्न सकिनेछ।
१२. लेखाविधिः यस नियमावलीमा प्रष्ट व्यवस्था भएकोमा बाहेक पेट्रोलियम उद्योगको कुल आय र खुद आय निर्धारण गर्ने लेखाविधि नियम र चलन अन्तर्राष्ट्रिय पेट्रोलियम उद्योगमा सामान्यतः लागु हुने लेखाविधि नियम र चलन अनुरूप हुनेछ।
१३. बचाउः यस नियमावलीमा लेखिएदेखि बाहेक अन्य कुरामा आयकर ऐन, २०५८ र सो अन्तर्गत बनेको नियम बमोजिम हुनेछ।
द्रष्टब्यः– (१) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरू “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”। (२) पेट्रोलियम उद्योग (आयकर) (पहिलो संशोधन) नियमावली, २०७० बमोजिम रूपान्तर भएका शब्दहरू “आयकर ऐन, २०३१” को सट्टा “आयकर ऐन, २०५८”।