शपथ सम्बन्धी ऐन, २०७९ प्रमाणीकरण मिति २०७९।०५।२८
सं्वत २०७९ सालको ऐन नं. २३
प्रस्तावना: सार्वजनिक पदधारण गर्ने व्यक्तिले पद तथा गोपनीयताको शपथ लिने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, सङ्घीय संसद्ले यो ऐन बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम "शपथ सम्बन्धी ऐन, २०७९" रहेको छ। (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,- (क) "शपथ गराउने पदाधिकारी" भन्नाले सार्वजनिक पदधारण गरेको व्यक्तिलाई शपथ गराउने अधिकारप्राप्त सार्वजनिक पदधारण गरेको व्यक्ति सम्झनु पर्छ। (ख) "सार्वजनिक पद" भन्नाले संविधान, अन्य प्रचलित कानून वा अधिकारप्राप्त अधिकारीको निर्णय वा आदेश बमोजिम नियुक्त, निर्वाचित वा मनोनयन हुने र सार्वजनिक अख्तियारी प्रयोग गर्न पाउने वा कुनै कर्तव्यको पालना वा जिम्मेवारी निर्वाह गर्नु पर्ने सार्वजनिक पद सम्झनु पर्छ।
३. शपथ लिनु पर्ने: (१) प्रचलित कानून बमोजिम शपथ लिनु पर्ने सार्वजनिक पदधारण गर्ने व्यक्तिले आफ्नो कार्यभार सम्हाल्नु अघि संविधान वा अन्य प्रचलित कानूनमा तोकिएको पदाधिकारीबाट प्रचलित कानूनमा तोकिए बमोजिमको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ। (२) संविधान वा अन्य प्रचलित कानूनमा शपथ लिनु पर्ने व्यवस्था रहेको तर त्यस्तो कानूनमा शपथ सम्बन्धी ढाँचा उल्लेख नभएकोमा त्यस्तो सार्वजनिक पदधारण गर्ने व्यक्तिले अनुसूची बमोजिमको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ। (३) प्रचलित कानून बमोजिम सार्वजनिक पदमा नियुक्त, निर्वाचित वा मनोनयन भएको तर तत्सम्बन्धी कानूनमा शपथ लिनु पर्ने व्यवस्था नभएकोमा त्यस्तो सार्वजनिक
पदधारण गर्ने व्यक्तिले नेपाल सरकारले तोकेको अधिकारीबाट अनुसूची बमोजिमको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ।
४. औपचारिक पोशाकमा उपस्थित हुनु पर्ने: (१) सार्वजनिक पदधारण गर्ने व्यक्तिले शपथ लिँदा वा शपथ गराउँदा नेपाल सरकारले तोकेको औपचारिक पोशाकमा उपस्थित हुनु पर्नेछ। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि शपथ लिने वा शपथ गराउने पदाधिकारीले आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्काउने मर्यादित भेषभूषा वा पोशाक लगाई शपथ लिन वा गराउन सक्नेछ।
५. शपथको भाषा: (१) शपथ लिँदा वा शपथ गराउँदा सरकारी कामकाजको नेपाली भाषामा लिनु वा गराउनु पर्नेछ। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सार्वजनिक पदधारण गर्ने व्यक्तिले नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन सक्नेछ। त्यसरी मातृभाषामा शपथ लिने भएमा अनुसूचीमा उल्लेखित शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी त्यस्तो अनुवाद आफैंले प्रमाणित गरी शपथ गराउने पदाधिकारी समक्ष शपथ लिनु अगावै पेश गर्नु पर्नेछ। (३) सार्वजनिक पदधारण गरेको व्यक्तिले नेपाली भाषामा शपथ लिएकोमा सो शपथको दुई प्रतिमा र मातृभाषामा शपथ लिएकोमा सो मातृभाषाको शपथको समेत दुई प्रतिमा हस्ताक्षर गरी शपथ गराउने पदाधिकारी समक्ष पेश गर्नु पर्नेछ।
६. पदमा बहाली गर्ने: सार्वजनिक पदधारण गर्ने व्यक्तिले शपथ लिएपछि आफ्नो पदमा बहाली गर्नेछ।
७. अभिलेख राख्ने: सार्वजनिक पदधारण गरेको व्यक्तिले लिएको शपथको एक प्रति शपथ गराउने पदाधिकारीको निकायमा अभिलेख राखी अर्को प्रति सम्बन्धित निकायमा पठाउनु पर्नेछ।
८. शपथ लिएको मानिने: संविधान वा अन्य प्रचलित कानून बमोजिम सार्वजनिक पदमा नियुक्त, निर्वाचित वा मनोनयन भएको व्यक्तिले यो ऐन प्रारम्भ हुनु अघि लिएको शपथ यसै ऐन बमोजिम लिएको मानिनेछ।
९. शपथ सम्बन्धी अध्यादेश, २०७८ निष्क्रिय भएपछि त्यसको परिणाम: शपथ सम्बन्धी अध्यादेश, २०७८ निष्क्रिय भएपछि अर्को अभिप्राय नदेखाएमा सो निष्क्रियताले,-
(क) सो अध्यादेश निष्क्रिय हुँदाका बखत चल्ती नभएको वा कायम नरहेको कुनै कुरा पनि जगाउने छैन,
(ख) सो अध्यादेश बमोजिम चालू भएको कुरा वा सो बमोजिम रीत पुर्याई अवधि नै गरिएको कुनै काम वा भोगेसकेको कुनै कुरालाई असर पार्ने छैन,
(ग) सो अध्यादेश बमोजिम पाएको, हासिल गरेको वा भोगेको कुनै हक, सुविधा, कर्तव्य वा दायित्वमा कुनै असर पार्ने छैन,
(घ) माथि लेखिएको कुनै त्यस्तो हक, सुविधा, कर्तव्य, दायित्वका सम्बन्धमा गरिएको कुनै काम कारबाही वा उपायलाई असर पार्ने छैन र सो अध्यादेश कायम रहे सरह त्यस्तो कुनै कानूनी कारबाही वा उपायलाई पनि शुरू गर्न, चालू राख्न वा लागू गर्न सकिनेछ।
अनुसूची (दफा ३ को उपदफा (२) र (३) र दफा ५ को उपदफा (२) सँग सम्बन्धित)
पद तथा गोपनीयताको शपथको ढाँचा
म ............................................................ नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वरको/देश र जनताको नाममा शपथ लिन्छु कि ............................... पदको जिम्मेवारी प्रचलित कानूनको पालना गरी मुलुक र जनताको भलो चटाई कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई इमान्दारीका साथ वहन गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन ।
हस्ताक्षर: .................................... नाम, थर: .................................... पद: .................................... मिति: ....................................
द्रष्टव्य: सार्वजनिक पदधारण गर्ने व्यक्तिले शपथको ढाँचामा रहेको "प्रतिज्ञा गर्दै" भन्ने शब्दपछि रहेका "ईश्वरको" वा "देश र जनताको" भन्ने शब्दमध्ये शपथमा कुन शब्द प्रयोग गर्ने हो, शपथ ग्रहण गर्नु अघि शपथ गराउने पदाधिकारीलाई जानकारी दिनु पर्नेछ ।