निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतको छनौट, सेवाको शर्त, पारिश्रमिक तथा अन्य सुविधा सम्बन्धी नियमावली, २०७५
नेपाल राजपत्रमा प्रकाशित मिति २०७५/०३/३१
निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ को दफा ६५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतको छनौट, सेवाको शर्त, पारिश्रमिक तथा अन्य सुविधा सम्बन्धी नियमावली, २०७५” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलाएमा यस नियमावलीमा,– (क) “ऐन” भन्नाले निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ सम्झनु पर्छ । (ख) “प्रमुख कार्यकारी अधिकृत” भन्नाले ऐनको दफा ४९ बमोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृत सम्झनु पर्छ । (ग) “छनौट समिति” भन्नाले प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा लागि सिफारिस गर्न ऐनको दफा ४९ को उपदफा (२) बमोजिम गठन भएको छनौट समिति सम्झनु पर्छ ।
३. प्रमुख कार्यकारी अधिकृत छनौट प्रक्रिया : (१) छनौट समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि उपयुक्त उम्मेदवार छनौट गरी नाम सिफारिस गर्न इच्छुक उम्मेदवारलाई एक्काइस दिनभित्र निवेदन पेश गर्न कम्तीमा दुईवटा राष्ट्रियस्तरको पत्रपत्रिकामा सार्वजनिक सूचना प्रकाशन गर्नु पर्नेछ । (२) उपनियम (१) बमोजिम तोकिएको म्यादभित्र इच्छुक उम्मेदवारले देहाय बमोजिमका विवरण कागजात संलग्न गरी छनौट समिति समक्ष निवेदन पेश गर्नु पर्नेछ :- (क) छनौट समितिले तोकिदिए बमोजिमको ढाँचामा निवेदन, (ख) उम्मेदवारको व्यक्तिगत विवरण, (ग) ऐनको दफा ४९ को उपदफा (३) बमोजिमको शैक्षिक योग्यता र कार्य अनुभव भएको पुष्टि हुने प्रमाण कागजातको प्रमाणित प्रतिलिपि,
(घ) छनौट समितिले तोकेको ढाँचामा तयार गरेको कोषको व्यवस्थापन तथा सञ्चालन सम्बन्धी व्यावसायिक तथा वित्तीय कार्ययोजना ।
(३) उपनियम (१) मा उल्लेखित अवधिभित्र तीन वटा भन्दा कम निवेदन परेमा सो निवेदनलाई कायम राखी पुनः सात दिनको सूचना प्रकाशन गर्नु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम तोकिएको अवधि समाप्त भएको तीन दिनभित्र छनौट समितिले सम्बन्धित उम्मेदवारलाई निजले उपनियम (२) बमोजिम पेश गरेको व्यावसायिक तथा वित्तीय कार्ययोजना प्रस्तुतीका लागि मिति, समय र स्थान तोकी सूचना दिनु पर्नेछ ।
(५) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि छनौट समितिले उपनियम (२) बमोजिम उम्मेदवारले पेश गरेको विवरण कागजातको आधारमा प्रारम्भिक जाँचबुझ गर्दा उत्कृष्ट देखिएका बढीमा छ जना उम्मेदवारको संक्षिप्त सूची प्रकाशन गरी त्यस्तो सूचीमा परेका उम्मेदवारलाई मात्र उपनियम (३) बमोजिम सूचना दिन सक्नेछ ।
(६) छनौट समितिले उम्मेदवारको छनौट गर्दा देहाय बमोजिमको आधारमा उम्मेदवारको मूल्याङ्कन गर्नु पर्नेछ :– (क) शैक्षिक योग्यता – दश अङ्क (ख) कार्य अनुभव – दश अङ्क (ग) नेतृत्व क्षमता – पाँच अङ्क (घ) व्यावसायिक तथा वित्तीय कार्य योजनाको गुणस्तर – सत्तरी अङ्क (ङ) प्रस्तुतीकरण – पाँच अङ्क ।
(७) छनौट समितिले उपनियम (५) बमोजिमको आधारमा प्रत्येक उम्मेदवारले प्राप्त गरेको सम्पूर्ण अङ्क जोडी सबैभन्दा बढी अङ्क प्राप्त गर्ने तीन जना उम्मेदवारको नाम मन्त्रालय मार्फत नेपाल सरकार समक्ष सिफारिस गर्नु पर्नेछ ।
(८) छनौट समितिले उम्मेदवार छनौट सम्बन्धमा अपनाउने मूल्याङ्कनका आधार र अन्य कार्यविधि छनौट समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ ।
४. कार्यसम्पादन सम्झौता गर्नु पर्ने : (१) मन्त्रालयले प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त व्यक्तिसँग नियुक्ति पाएको पैंतीस दिनभित्र ऐनको दफा ५० को उपदफा (१) बमोजिम कार्यसम्पादन सम्झौता गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको अवधिभित्र कार्यसम्पादन सम्झौता नगरेमा वा सम्झौता गर्न नआएमा नेपाल सरकारले नियम ३ को उपनियम (६) बमोजिम सिफारिसमा परेका अन्य उम्मेदवारमध्ये उपयुक्त ठानेको एकजना उम्मेदवारलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्न सक्छ ।
(३) उपनियम (१) बमोजिमको कार्यसम्पादन सम्झौतामा अन्य कुराको अतिरिक्त देहायको विषय उल्लेख गर्नु पर्नेछ :- (क) प्रमुख कार्यकारी अधिकृतले गर्नु पर्ने काम, कर्तव्य र पूरा गर्नु पर्ने जिम्मेवारी, (ख) निजले पेश गरेको प्रस्तावमा उल्लिखित व्यावसायिक तथा वित्तीय कार्ययोजना, त्यसको कार्यान्वयनको विवरण र सोको समय सीमा, (ग) खण्ड (क) र (ख) बमोजिमको कार्य सम्पादन वा प्राप्त उपलब्धि मापन गर्ने सूचाकाङ्क वा आधार, (घ) कार्य सम्पादनको गुणस्तर मापनका अन्य आधार ।
५. प्रतिवेदनको मूल्याङ्कन : (१) ऐनको दफा ५० को उपदफा (३) बमोजिम समिति समक्ष प्राप्त हुन आएको प्रतिवेदन मूल्याङ्कन गर्न समितिले एक जना सदस्यको संयोजकत्वमा तीन सदस्यीय एक उपसमिति गठन गर्नेछ । (२) उपनियम (१) बमोजिमको उपसमितिले ऐनको दफा ५० को उपदफा (३) बमोजिम प्रमुख कार्यकारी अधिकृतले पेश गरेको प्रतिवेदन अनुसार निजबाट ५ महिनाको अवधिमा सम्पादन भएको कामको परिमाण, लागत, उपलब्धि र गुणस्तर सम्झौतामा उल्लेख भए बमोजिम भए वा नभएको मूल्याङ्कन गरी मन्त्रालय समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ । (३) उपनियम (२) बमोजिम प्रतिवेदन पेश गर्नु अघि उपसमितिले प्रमुख कार्यकारी अधिकृतसँग प्रतिवेदनमा उल्लिखित कुनै विषयमा आवश्यक जानकारी माग गर्न सक्नेछ । (४) उपनियम (२) बमोजिम मूल्याङ्कन गर्दा प्रमुख कार्यकारी अधिकृतले कार्यसम्पादन सम्झौता बमोजिमको समय सीमाभित्र त्यस्तो सम्झौतामा उल्लेख गरिएको कार्यसम्पादन गरेको नदेखिएमा निजले सम्झौता बमोजिम कार्यसम्पादन नगरेको मानिनेछ । (५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भएतापनि काबू बाहिरको परिस्थिति उत्पन्न भई सम्पादन गर्नु पर्ने कार्य निर्धारित समय सीमाभित्र सम्पादन गर्न नसकेमा प्रमुख
कार्यकारी अधिकृतले सोही व्यवहारको विवरण उपनियम (२) बमोजिम प्रतिवेदन पेश गर्नु अघि उपसमितिलाई उपलब्ध गराउनु पर्नेछ । (६) उपनियम (५) बमोजिम पेश भएको विवरण मनासिब देखिएमा उपसमितिले कावु बाहिरको परिस्थितिको कारणबाट जति अवधि कार्य सम्पादन हुन नसकेको हो सो अवधि कटाई बाँकी अवधिभित्र भएको कार्य सम्पादनको मूल्याङ्कन गरी उपनियम (२) बमोजिम प्रतिवेदन पेश गर्नुपर्नेछ ।
६. प्रमुख कार्यकारी अधिकृतको अन्य काम, कर्तव्य र अधिकार : ऐनको दफा ५१ मा उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त प्रमुख कार्यकारी अधिकृतको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :- (क) समितिबाट स्वीकृत दरबन्दी बमोजिमका कर्मचारी नियुक्ति गर्ने, (ख) समितिबाट स्वीकृत भएको वार्षिक बजेटको अधीनमा रही कोषको रकम खर्च गर्ने, (ग) कोषको जायजेथा वा सम्पत्तिको विवरण अद्यावधिक गर्ने र त्यस्तो जायजेथा तथा सम्पत्तिको उचित संरक्षणको व्यवस्था मिलाउने, (घ) कोषले बनाउने निर्देशिका र कार्यविधिको मस्यौदा तयार गरी समिति समक्ष पेश गर्ने, (ङ) ऐन वा यस नियमावलीमा अन्यथा लेखिएकोमा बाहेक कोष वा कार्यालयको तर्फबाट गर्नु पर्ने सम्पूर्ण कार्य गर्ने ।
७. पदबाट हटाउन सक्ने : (१) ऐनको दफा ४९ को उपदफा (७) बमोजिम प्रमुख कार्यकारी अधिकृतलाई पदबाट हटाउनु अघि मन्त्रालयले समितिको कुनै सदस्यको संयोजकत्वमा मन्त्रालयको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत र नेपाल राष्ट्र बैंकको निर्देशक सदस्य रहेको एक छानबिन समिति गठन गर्नेछ । (२) उपनियम (१) बमोजिम गठित छानबिन समितिले प्रमुख कार्यकारी अधिकृतको काम कारबाही सम्बन्धमा आवश्यक जाँचबुझ गरी मन्त्रालयमा पेश गरेको प्रतिवेदनबाट निजलाई पदमा राखी रहन उपयुक्त नदेखिएमा नेपाल सरकारले सात दिनभित्र निजलाई आफ्नो सफाइ पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको अवधिभित्र अधिव्रिष्ठ प्रमुख कार्यकारी अधिकृतले पेश गरेको सफाइको आधारमा निजलाई कार्य सम्पादनमा सुधार गर्न थप समय दिन नेपाल सरकारले आवश्यक देखेमा निजलाई तीन महिनाको समय दिन सक्नेछ ।
(४) उपनियम (२) बमोजिमको अवधिभित्र अधिव्रिष्ठ प्रमुख कार्यकारी अधिकृतले सफाइ पेश नगरेमा वा पेश गरेको सफाइ सन्तोषजनक नदेखिएमा वा उपनियम (३) बमोजिम दिइएको अवधिभित्र पनि अधिव्रिष्ठ प्रमुख कार्यकारी अधिकृतको कार्य सम्पादनमा सुधार भएको नदेखिएमा नेपाल सरकारले निजलाई अधिव्रिष्ठ प्रमुख कार्यकारी अधिकृतको पदबाट हटाउन सक्नेछ ।
८. पारिश्रमिक : (१) प्रमुख कार्यकारी अधिकृतको मासिक पारिश्रमिक मन्त्रालयले निजसँग ऐनको दफा ५० को उपदफा (१) बमोजिम गरेको कार्यसम्पादन सम्झौतामा निर्धारण गरे बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिम प्रमुख कार्यकारी अधिकृतको मासिक पारिश्रमिक निर्धारण गर्दा कोष सरह समान हैसियत भएको अन्य निकायको प्रमुख कार्यकारी अधिकृतको मासिक पारिश्रमिक भन्दा कम नहुने गरी गर्नु पर्नेछ ।
(३) उपनियम (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली प्रारम्भ हुँदाका बखत कायम रहेको प्रमुख कार्यकारी अधिकृतको मासिक पारिश्रमिक भन्दा कम हुने गरी प्रमुख कार्यकारी अधिकृतको मासिक पारिश्रमिक निर्धारण गरिने छैन ।
९. विदा : (१) प्रमुख कार्यकारी अधिकृतले वर्ष भरिमा देहाय बमोजिमको विदा लिन पाउनेछ :- (क) घर विदा तीस दिन, (ख) बिरामी विदा बाह्र दिन, (ग) भैपरी वा पर्व विदा बाह्र दिन, (घ) अनिवार्य विदा छ दिन ।
(२) प्रमुख कार्यकारी अधिकृत आफु किरिया बस्नु पर्ने आफ्नो परिवारको कुनै सदस्यको मृत्यु भएमा निजको कुल धर्म परम्परा अनुसार एक पटकमा पन्ध्र दिनसम्म किरिया विदा लिन पाउनेछ ।
(३) प्रमुख कार्यकारी अधिकृत तीन दिनसम्मको विदा आफैं स्वीकृत गर्न सक्नेछ । सो भन्दा बढी विदा बस्नु परेमा समितिको अध्यक्षबाट विदा स्वीकृत गराउनु पर्नेछ । तर तत्काल विदा स्वीकृत गराउन सक्ने अवस्था नभएमा त्यसरी विदा बस्नु पर्ने जानकारी अध्यक्षलाई गराई पछि विदा स्वीकृत गर्ने गरी विदा बस्न सकिनेछ ।
(४) प्रमुख कार्यकारी अधिकृतले उपनियम (१) को खण्ड (क) र (ख) बमोजिमका बिदा संचित गरी राख्न सक्नेछ र त्यस्ता संचित बिदा बापत खाइपाइ आएको तलब स्केल अनुसार हिसाब गरी हुन आउने रकम सेवा अवकाश भएपछि कोषले भुक्तानी दिनेछ ।
१०. कर्मचारी सञ्चय कोष कट्टी : (१) कोषले प्रमुख कार्यकारी अधिकृतले खाइपाइ आएको तलबको दश प्रतिशतले हुन आउने रकममा कोषको तर्फबाट शतप्रतिशत रकम थप गरी मासिक रूपमा कर्मचारी सञ्चय कोषमा जम्मा गरिदिनेछ । (२) उपनियम (१) बमोजिम सञ्चयकोषमा जम्मा भएको रकम प्रमुख कार्यकारी अधिकृत जुनसुकै तरिकाले सो पदबाट अवकाश भएपछि प्रचलित कानून बमोजिम भुक्तानी पाउनेछ ।
११. अन्य सुविधा : प्रमुख कार्यकारी अधिकृतले पाउने अन्य सुविधा अनुसूचीमा उल्लेख भए बमोजिम हुनेछ ।
१२. अनुसूचीमा हेरफेर : मन्त्रालयले आवश्यकता अनुसार अनुसूचीमा हेरफेर गर्न सक्नेछ ।
अनुसूची (नियम ११ संग सम्बन्धित)
प्रमुख कार्यकारी अधिकृतले पाउने पारिश्रमिक एवं सुविधा
१. मासिक पारिश्रमिक :- कार्यसम्पादन सम्झौतामा उल्लेख भए बमोजिम २. सुरक्षा भत्ता :- मासिक रु. ४०००।- (चार हजार) ३. टेलिफोन :- मासिक रु. १५००।- (एक हजार पाँच सय) ४. कर्मचारी सञ्चय कोष कट्टी :- मासिक पारिश्रमिकको दश प्रतिशत थप ५. देश्य खर्च :- एक महिनाको पारिश्रमिक बराबर ६. पोसाक भत्ता :- वार्षिक रु. १०,०००।- (दश हजार) ७. उपचार खर्च :- रु. दश लाख बराबरको औषधीोपचार विमाङ्न गर्दा लाग्ने खर्च ८. इन्धन सुविधा :- १२० लिटर ९. सवारी साधन :- कोषले उपलब्ध गराउने