वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली, २०७६
नेपाल राजपत्रमा प्रकाशित मिति २०७६।११।१९
वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ को दफा ५७ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ।
परिरिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली, २०७६” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) "ऐन" भन्नाले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ सम्झनु पर्छ। (ख) "कार्यालय" भन्नाले विभाग मातहतका वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय सम्झनु पर्छ र सो शब्दले विभागबाट प्रत्यायोजित अधिकार प्रयोग गरी वाणिज्य प्रशासन सम्बन्धी कार्य गर्ने अन्य सरकारी निकायलाई समेत जनाउँछ।
परिरिच्छेद-२ इजाजतपत्र सम्बन्धी व्यवस्था
३. निवेदन दिनुपर्नेः वस्तुको प्रत्यक्ष बिक्री वा वितरणको लागि इजाजतपत्र लिन चाहने कम्पनीले अनुसूची-१ मा उल्लेखित वस्तु बाहेक अन्य वस्तुको प्रत्यक्ष बिक्री वा वितरणको लागि ऐनको दफा ४ को उपदफा (१) मा उल्लेखित कागजात तथा विवरणका अतिरिक्त देहाय बमोजिमका कागजात तथा विवरण संलग्न गरी अनुसूची-२ बमोजिमको ढाँचामा विभागमा निवेदन दिनु पर्नेछः– (क) सञ्चालकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, (ख) प्रचलित नेपाल कानून बमोजिम गत आर्थिक वर्षसम्मको कर चुक्ता गरेको प्रमाणपत्र वा कर दाखिला गरेको निस्सा,
(ग) प्रचलित कानून वा अदालतको आदेश बमोजिम बुझाउनु पर्ने कुनै बिगो, दण्ड जरिवाना वा दस्तुर तिर्न, बुझाउन बाँकी नरहेको र यस ऐन तथा अन्य प्रचलित कानून बमोजिम कालोसूचीमा नपरेको वा नरहेको स्वघोषणा।
४. इजाजतपत्र प्रदान गर्नेः (१) नियम ३ बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा इजाजतपत्र प्रदान गर्न उपयुक्त देखिएमा विभागले इजाजतपत्र दस्तुर बापत निवेदक कम्पनीको चुक्ता पूँजीको शून्य दशमलव दुई प्रतिशतका दरले हुन आउने रकम र ऐनको दफा ५ को उपदफा (१) बमोजिमको नगद धरौटी वा सो बराबरको बैंक ग्यारेण्टी सात दिन भित्र दाखिला गर्न निवेदकलाई आदेश दिनु पर्नेछ। (२) उपनियम (१) बमोजिम बैंक ग्यारेण्टी दाखिला गर्दा त्यस्तो बैंक ग्यारेण्टीको अवधि इजाजतपत्रको अवधि भन्दा तीन महिना बढी भएको हुनु पर्नेछ। (३) उपनियम (१) बमोजिमको अवधिभित्र इजाजतपत्र दस्तुर र नगद धरौटी वा सो बराबरको बैंक ग्यारेण्टी दाखिला गर्ने कम्पनीलाई विभागले अनुसूची-३ बमोजिमको ढाँचामा इजाजतपत्र प्रदान गर्नु पर्नेछ।
५. चुक्ता पूँजी वृद्धि वा धरौटी थप गर्नेः (१) इजाजतपत्रवालाले गरेको कारोबार कम्पनीको चुक्ता पूँजीको पाँच गुणाभन्दा बढी देखिएमा विभागले त्यस्तो इजाजतपत्रवालालाई कम्पनीको चुक्ता पूँजी वृद्धि गर्न वा धरौटी थप गर्न आदेश दिन सक्नेछ। (२) उपनियम (१) बमोजिम आदेश दिँदा इजाजतपत्रवालाले गरेको गत तीन आर्थिक वर्षको औसत कारोबार कम्पनीको चुक्ता पूँजीको दस गुणा भन्दा बढी भएमा तीन महिनाभित्र कम्पनीको चुक्ता पूँजी शत प्रतिशत वृद्धि गर्न आदेश दिनु पर्नेछ। (३) उपनियम (१) बमोजिम आदेश दिँदा इजाजतपत्रवालाले गरेको गत तीन आर्थिक वर्षको औसत कारोबार कम्पनीको चुक्ता पूँजीको पाँच देखि दस गुणासम्म बढी भएमा औसत कारोबार रकमको दस प्रतिशत थप धरौटी एक महिनाभित्र दाखिला गर्न आदेश दिनु पर्नेछ। (४) उपनियम (१) बमोजिम विभागले दिएको आदेश बमोजिम इजाजतपत्रवालाले कम्पनीको चुक्ता पूँजी वृद्धि गरी सोको जानकारी विभागलाई दिनु पर्नेछ र थप धरौटी दाखिला गर्नु पर्ने भएमा नगदै वा सो बराबरको बैंक ग्यारेण्टी विभागमा पेश गर्नु पर्नेछ। (५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (२) बमोजिम चुक्ता पूँजी वृद्धि भएको कारणबाट इजाजतपत्रवालाले ऐनको दफा ५ को उपदफा (१) बमोजिम राखेको धरौटी कम हुने देखिएमा त्यसरी कम हुन आएजति रकम थप गर्न विभागले अवधि तोकी इजाजतपत्रवालालाई आदेश दिन सक्नेछ ।
(६) उपबनियम (५) बमोजिमको अवधिभित्र थप धरौटी वा सो बराबरको बैङ्क ग्यारेण्टी विभागमा दाखिला गर्नु इजाजतपत्रवालाको कर्तव्य हुनेछ।
६. इजाजतपत्रको नवीकरण: (१) इजाजतपत्रको नवीकरण गराउन चाहने इजाजतपत्रवालाले इजाजतपत्रको अवधि समाप्त हुनुभन्दा साठी दिन अगावै देहाय बमोजिमको कागजात तथा विवरण संलग्न गरी अनुसूची-४ बमोजिमको ढाँचामा विभागमा निवेदन दिनु पर्नेछः- (क) गत आर्थिक वर्षको कर चुक्ता गरेको प्रमाण वा कर विवरण दाखिला गरेको निस्सा, (ख) नवीकरण दस्तुर बापत कम्पनीको चुक्ता पूँजीको शून्य दशमलव एक प्रतिशतका दरले हुन आउने रकम विभागले तोकेको बैङ्क खातामा जम्मा गरेको सक्कल रसीद वा भौचर, तर ऐनको दफा ८ को उपदफा (३) बमोजिमको निवेदनको हकमा यस खण्डमा लेखिएको दस्तुरको दोब्बर रकम लाग्नेछ। (ग) नियम ४ बमोजिम धरौटी रकमको सट्टामा बैङ्क ग्यारेण्टी दाखिला गरेको भएमा त्यस्तो बैङ्क ग्यारेण्टी नवीकरण वा अद्यावधिक गरेको सम्बन्धित बैङ्कको बैङ्क ग्यारेण्टी पत्र। (२) उपबनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दाथ व्यहोरा मनासिब देखिएमा विभागले दुई वर्षका लागि इजाजतपत्र नवीकरण गरिदिनु पर्नेछ। (३) उपबनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा ५५ बमोजिम कालो सूचीमा राखिएको कम्पनीको इजाजतपत्र कालो सूचीमा रहेको अवधिभर नवीकरण गरिने छैन।
परिच्छेद-३ इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्त सम्बन्धी व्यवस्था
७. इजाजतपत्रवालाले पालना गर्नुपर्ने अन्य शर्तः इजाजतपत्रवालाले ऐनको दफा १२ मा उल्लिखित शर्तको अतिरिक्त देहायका शर्त समेत पालना गर्नु पर्नेछः- (क) ऐन तथा यस नियमावली बमोजिम कुनै वस्तुको प्रत्यक्ष बिक्री वा वितरण गर्नुको लागि प्रचलित कानून बमोजिम अन्य कुनै निकायको स्वीकृति लिनुपर्ने रहेछ भने त्यस्तो निकायबाट स्वीकृति लिएर मात्र त्यस्तो वस्तुको प्रत्यक्ष बिक्री वा वितरणको कारोबार गर्नु पर्ने,
(ख) ऐनको दफा १० बमोजिम कम्पनीको स्वामित्व वा दायित्व हस्तान्तरण वा परिवर्तन भएमा त्यसरी स्वामित्व वा दायित्व हस्तान्तरण वा परिवर्तन भएको सात दिनभित्र सोको जानकारी विभागमा दिनुपर्ने, (ग) इजाजतपत्र र प्रत्यक्ष बिक्री वा वितरण गर्ने वस्तुको मूल्य सूची कारोबार गर्ने स्थानमा सबैले देख्ने, बुझ्ने गरी राख्नु पर्ने।
८. भौतिक पूर्वाधार सम्बन्धी व्यवस्थाः (१) इजाजतपत्रवालाले आफूले बिक्री वा वितरण गर्ने वस्तुको प्रकृति अनुसार त्यस्तो वस्तु भण्डार गर्दा वस्तुको गुणस्तर कायम गर्न तथा भण्डारण गरिएको वस्तुबाट वातावरण तथा जनस्वास्थ्यमा पर्न सक्ने असरबाट बचाउन आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गर्नु पर्नेछ। (२) इजाजतपत्रवालाले वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी कारोबारको पारदर्शीता तथा अभिलेखनको लागि आवश्यक व्यापारिक सफ्टवेयर (बिजिनेस सफ्टवेयर) तथा सूचना-प्रविधि लगायतका भौतिक पूर्वाधारको व्यवस्था गर्नु पर्नेछ। (३) उपनियम (२) बमोजिम इजाजतपत्रवालाले प्रयोग गर्ने व्यापारिक सफ्टवेयर तथा सूचना प्रविधि लगायतका भौतिक पूर्वाधार सम्बन्धित इजाजतपत्रवालाको नियन्त्रणमा रहेको हुनु पर्नेछ। (४) इजाजतपत्रवालाले वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी कारोबारको लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्था नगरेको पाइएमा विभागले इजाजतपत्रवालालाई बढीमा तीन महिनाको अवधि तोकी आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गर्न आदेश दिन सक्नेछ ।
९. सम्झौताको प्रति विभागमा पेश गर्नेः (१) इजाजतपत्रवालाले ऐनको दफा १४ बमोजिम वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकसँग गरेको सम्झौताको एक प्रति सम्झौता भएको बमोजिमले सात दिनभित्र विभागमा पेश गर्नु पर्नेछ । (२) उपनियम (१) बमोजिम पेश गरेको सम्झौतामा ऐनको दफा १४ को उपदफा (२) मा उल्लेख भए बमोजिमका कुराहरु स्पष्ट नभएमा विभागले सात दिनभित्र त्यस्तो सम्झौतामा आवश्यक कुरा स्पष्ट खुलाइ पेश गर्न आदेश दिन सक्नेछ।
१०. कमिसन वा बोनस सम्बन्धी व्यवस्थाः इजाजतपत्रवालाले ऐनको दफा १४ बमोजिम गर्ने सम्झौतामा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकलाई दिने सेवा, सुविधा, कमिसन र बोनस वापतको रकम उल्लेख गर्दा त्यस्तो सेवा, सुविधा, कमिसन र बोनस वापतको रकम प्रत्यक्ष बिक्री वा वितरण गर्ने वस्तुको बिक्री मूल्यको अधिकतम बयालीस प्रतिशतभन्दा बढी नहुने गरी निर्धारण गर्नु पर्नेछ।
स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि "बिक्री मूल्य" भन्नाले अधिकतम खुद्रा मूल्यमा नबढ्ने गरी निर्धारण भएको मूल्य सम्झनु पर्छ।
११. स्वदेशी वस्तुको बिक्री वा वितरण: (१) इजाजतपत्रवालाले ऐनको दफा ४ को उपदफा (१) को खण्ड (घ) बमोजिम वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धी विस्तृत कार्य योजना पेश गर्दा त्यस्तो कार्य योजनामा आफूले प्रत्यक्ष बिक्री वा वितरण गर्ने विदेशी वस्तुसँग मेल खाने त्यस्तै प्रकृतिको वस्तु (सिमिलर गुड्स) स्वदेशमा उत्पादन हुने रहेछ भने त्यस्तो विदेशी वस्तुको बिक्री वा वितरण गर्दा सोको कम्तीमा पचास प्रतिशत मूल्य बराबरको स्वदेशी वस्तु बिक्री वा वितरण गर्ने कुरा उल्लेख गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको कार्य योजना अनुसार वस्तुको बिक्री वा वितरण गर्दा इजाजतपत्रवालाले त्यसरी बिक्री वा वितरण गरेको परिमाणको अनुपातमा स्वदेशी वा विदेशी वस्तुको मौज्दात कायम गर्न सक्नेछ।
(३) ऐनको दफा १६ को उपदफा (२) बमोजिम वस्तुको प्रत्यक्ष बिक्री वा वितरणको विवरण पेश गर्दा स्वदेशी र विदेशी वस्तुको बिक्री वा वितरणको परिमाण स्पष्ट रुपमा खुलाउनु पर्नेछ र बिक्री भएको वस्तुको मूल्य र मौज्दात रहेको मूल्य जोड्दा स्वदेशी वस्तुको बिक्री मूल्य कुल कारोबार मूल्यको कम्तीमा पचास प्रतिशत हुनु पर्नेछ।
(४) इजाजतपत्रवालाले स्वदेशमा उत्पादन नहुने वस्तुको प्रत्यक्ष बिक्री वा वितरण गर्ने भएमा त्यस्तो वस्तु स्वदेशमा उत्पादन नहुने कुराको प्रमाण र सो वस्तु उत्पादन भएको मुलुकको आधिकारिक निकायबाट जारी भएको उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) समेत विभागमा पेश गर्नु पर्नेछ।
१२. खरिद गरेको वस्तु फिर्ता गर्न सकिने: (१) ऐनको दफा १७ बमोजिम फिर्ता गर्न ल्याएको वस्तु प्रत्यक्ष बिक्रेता वा वितरकले फिर्ता गर्न इन्कार गरेमा उपभोक्ताले त्यस्तो वस्तु खरिद गर्दाका बखत प्रत्यक्ष बिक्रेता वा वितरकले दिएको बिल वा रसिद सहित काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाको हकमा विभाग र अन्य जिल्लाको हकमा सम्बन्धित कार्यालयमा उजुरी दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त उजुरी जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा विभाग वा कार्यालयले सम्बन्धित प्रत्यक्ष बिक्रेता वा वितरकलाई सात दिनभित्र त्यस्तो वस्तु फिर्ता लिई ऐनको दफा १७ को उपदफा (२) बमोजिम बाँकी रकम उपभोक्तालाई फिर्ता गर्न तत्काल आदेश दिनु पर्नेछ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा वस्तु फिर्ता गर्न सकिने छैनः-
(क) उपभोक्ताले खरिद गरेको वस्तुको गुणस्तर वा परिमाणमा परिवर्तन गरेमा,
(ख) निश्चित अवधिभित्र उपभोग गरी सक्नुपर्ने प्रकृतिका वस्तु भए त्यस्तो अवधि व्यतीत भइसकेको भएमा,
(ग) सिल वा प्याकेट नतोडी वस्तुको प्रकार वा गुणस्तर थाहा पाउन नसकिने भएमा बाहेक सिलबन्दी गरिएको वस्तु भए सिलबन्दी तोडिएको भएमा।
परिच्छेद-४ विभाग र निर्देशक समिति सम्बन्धीको काम, कर्तव्य र अधिकार
१३. विभागको काम, कर्तव्य र अधिकारः ऐनको दफा १९ मा उल्लिखित तथा यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त विभागको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) ऐन तथा यस नियमावली बमोजिम इजाजतपत्रवालाबाट समय समयमा प्राप्त हुने विवरण अद्यावधिक गरी अभिलेख राख्ने, (ख) वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धमा उपभोक्ताको कुनै गुनासो भए सोको सुनुवाइ गरी सम्बन्धित इजाजतपत्रवाला वा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकलाई आवश्यक निर्देशन दिने, (ग) निर्देशक समितिले दिएको निर्देशन कार्यान्वयन गर्ने ।
१४. उजुरी दिन सक्नेः (१) कुनै इजाजतपत्रवाला वा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकले ऐनको दफा २० को उपदफा (२) मा उल्लिखित कुनै कार्य गरेको कारणबाट कसैलाई हानि नोक्सानी वा क्षति पुगेमा पीडित पक्षले आफूलाई पुगेको हानि नोक्सानी वा क्षतिको विवरण सहित अनुसूची-५ बमोजिमको ढाँचामा विभागमा उजुरी दिन सक्नेछ । (२) उपनियम (१) बमोजिम उजुरी दिँदा उल्लिखित दाबीलाई पुष्टि गर्ने कागज प्रमाण समेत साथै राखी पेश गर्नु पर्नेछ।
१५. निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा अपनाउनु पर्ने कार्यविधिः (१) निरीक्षण अधिकृतले ऐन वा यस नियमावली विपरीतको कुनै काम कारबाहीको सम्बन्धमा निरीक्षण, जाँचबुझ वा कुनै ठाउँको खानतलासी गर्दा देहाय बमोजिमको प्रक्रिया पूरा गर्नु पर्नेछः-
(क) इजाजतपत्रवाला वा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकको सम्बन्धमा निरीक्षण, जाँचबुझ वा खानतलासी सुरु गर्दाका बखत कारण सहितको लिखित सूचना दिएर मात्र निरीक्षण, जाँचबुझ वा खानतलासी सुरु गर्ने, (ख) निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा यथासम्भव सूर्योदय देखि सूर्यास्तसम्मको अवधिभित्र मात्र गर्ने, (ग) निरीक्षण, जाँचबुझ वा खानतलासीको सिलसिलामा प्रत्यक्ष बिक्री वा वितरण गरिने वस्तुको परीक्षणको लागि नमूना लिएकोमा सोको विवरण खुलाई मुचुल्का तयार गर्ने, (घ) निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा यथासम्भव कुनै किसिमको हानि नोक्सानी नहुने गरी गर्ने। (२) निरीक्षण अधिकृतले यस नियम बमोजिम निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा अनुसूची-६ बमोजिमको मुचुल्का तयार गर्नु पर्नेछ । (३) निरीक्षण अधिकृतले यस नियम बमोजिम निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा अनिवार्य रूपमा आफ्नो परिचयपत्र साथमा राख्नु पर्नेछ। १६. निरीक्षण अधिकृतको काम, कर्तव्य र अधिकारः ऐनको दफा २२ मा उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त निरीक्षण अधिकृतको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) इजाजतपत्रवाला, वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरक वा सरोकारवाला व्यक्तिसँग आवश्यक विवरण वा जानकारी माग गर्ने, सोधपुछ गर्ने वा बयान लिने, (ख) निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा कसैले सो कार्यमा बाधा बिरोध गरेमा वा बाधा बिरोध गर्न सक्ने देखिएमा नजिकको प्रहरी कार्यालयको सहयोग लिई त्यस्तो व्यक्तिलाई नियन्त्रणमा लिने, (ग) निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा कुनै सामग्री, वस्तु, पदार्थ, औजार वा साधनको निरीक्षण तथा जाँचबुझ गर्ने, (घ) प्रत्यक्ष बिक्री वा वितरण गरिने कुनै वस्तुको नमूना परीक्षण गर्न आवश्यक देखिएमा त्यस्तो वस्तुको नमूना लिई प्रयोगशालामा परीक्षण गर्न पठाउने, (ङ) निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा कुनै हानिकारक वा गुणस्तरहीन वस्तुको उत्पादन वा बिक्री वितरण भइरहेको वा ऐन वा यस नियमावली विपरीत काम कारबाही भइरहेको देखिएमा तीस दिनसम्मको लागि त्यस्तो
वस्तुको उत्पादन वा बिक्री वितरणमा रोक लगाउने वा त्यस्तो वस्तु जफत गर्ने वा आफ्नो कब्जामा लिने, (च) निरीक्षण, जाँचबुझ वा खानतलासीको सिलसिलामा इजाजतपत्रवाला वा प्रत्यक्ष बिक्रेता वा वितरकलाई तत्काल कुनै आदेश वा निर्देशन दिन उपयुक्त देखिएमा त्यस्तो आदेश वा निर्देशन दिने ।
१७. निरीक्षण प्रतिवेदनमा खुलाउनु पर्ने कुराहरूः निरीक्षण अधिकृतले ऐनको दफा २२ को उपदफा (१) को खण्ड (घ) बमोजिम विभागमा पेश गर्ने प्रतिवेदनमा देहायका कुराहरू खुलाउनु पर्नेछः- (क) निरीक्षण, जाँचबुझ वा खानतलासी गरिएको इजाजतपत्रवाला वा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकको नाम, थर ठेगाना र सम्पर्क नम्बर, त्यसरी निरीक्षण, जाँचबुझ वा खानतलासी गर्नु पर्नाको कारण, (ख) निरीक्षण, जाँचबुझ वा खानतलासी गरेको ठाउँमा फेला परेका प्रत्यक्ष बिक्री वा वितरण गरिने वस्तु र सोसँग सम्बन्धित अन्य विवरण, (ग) प्रत्यक्ष बिक्री वा वितरण गरिने वस्तु रोक्का राखेकोमा सोको कारण र कब्जामा लिएकोमा सोको परिमाण, (घ) प्रत्यक्ष बिक्री वा वितरण गरिने वस्तुको गुणस्तर जाँचको लागि नमूना लिएकोमा सोको परिमाण र नमूना परीक्षणको लागि पठाइएको प्रयोगशालाको नाम, ठेगाना, (ङ) निरीक्षण, जाँचबुझ वा खानतलासी पछि सम्बन्धित इजाजतपत्रवाला वा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकलाई कुनै निर्देशन दिएको भए सोको विवरण ।
१८. इजाजतपत्र निलम्बन गर्न सक्नेः (१) निरीक्षण अधिकृतले ऐनको दफा २५ को उपदफा (१) बमोजिम इजाजतपत्रवालालाई कानूनी कारबाहीको लागि सिफारिस गरेमा विभागले त्यस्तो इजाजतपत्रवालाको इजाजतपत्र बढीमा साठी दिनसम्म निलम्बन गर्न सक्नेछ। (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (१) मा उल्लिखित अवधि अगावै दफा ३९ को उपदफा (३) बमोजिम सरकारी वकीलबाट मुद्दा नचल्ने राय प्राप्त भएमा विभागले निलम्बन तत्काल फुकुवा गरिदिनु पर्नेछ।
१९. निर्देशक समितिको काम, कर्तव्य र अधिकारः ऐनको दफा २८ को उपदफा (१) मा उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त निर्देशक समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) ऐनको दफा २८ को उपदफा (१) को खण्ड (क) वा (ख) बमोजिम गरिएको अध्ययन अनुसन्धानबाट प्राप्त निष्कर्ष कार्यान्वयन गर्न विभागलाई आवश्यक निर्देशन दिने, (ख) ऐन तथा यस नियमावली कार्यान्वयनको लागि आवश्यकता अनुसार अन्य सम्बद्ध सरकारी तथा गैरसरकारी निकायसँग समन्वय र सहकार्य गर्न विभागलाई निर्देशन दिने ।
२०. बैठक भत्ता तथा अन्य सुविधाः निर्देशक समितिका अध्यक्ष तथा सदस्य र ऐनको दफा ३० बमोजिमको अनुगमन समितिका अध्यक्ष तथा सदस्यले बैठकमा भाग लिए बापत नेपाल सरकार, अर्थ मन्त्रालयले तोकिदिए बमोजिमको बैठक भत्ता पाउनेछन्।
परिच्छेद-५ अभिमुखीकरण तालिम तथा सचेतना सम्बन्धी व्यवस्था
२१. अभिमुखीकरण तालिम सञ्चालन गर्नुपर्नेः (१) इजाजतपत्रवालाले वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकलाई ऐन तथा यस नियमावली बमोजिमको काममा लगाउनु अघि देहायका विषयमा अभिमुखीकरण तालिम दिनु पर्नेछः– (क) वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धमा ऐन तथा नियमावलीमा भएको व्यवस्था, (ख) उपभोक्ताको अधिकार सम्बन्धी प्रचलित कानूनी व्यवस्था, सोको परिपालना तथा उपभोक्ता हित संरक्षणमा इजाजतपत्रवाला, प्रत्यक्ष बिक्रेता वा वितरकको कर्तव्य तथा दायित्व, (ग) इजाजतपत्रवाला तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकको काम, कर्तव्य र अधिकार, (घ) प्रत्यक्ष बिक्री वा वितरण गरिने वस्तुको गुणस्तर, त्यसको उपयोग गर्ने तरिका, (ङ) प्रत्यक्ष बिक्रेता वा वितरकले पाउने सेवा सुविधा, (च) वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धमा नेपाल सरकारले समय समयमा लागू गरेको नीति, कार्यविधि तथा मापदण्ड। (२) उपनियम (१) बमोजिमको अभिमुखीकरण तालिम सञ्चालन सम्बन्धमा एकरूपता कायम गर्न विभागले तालिम सञ्चालन कार्यविधि तयार गरी लागू गर्न सक्नेछ।
२२. सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेः (१) इजाजतपत्रवालाले प्रत्यक्ष बिक्री वा वितरण गरिने वस्तुको सम्बन्धमा उपभोक्तालाई सचेत गराउन देहायका विषय समावेश गरी समय समयमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेछः- (क) वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी कानूनी व्यवस्था, (ख) उपभोक्ताको अधिकार सम्बन्धमा प्रचलित नेपाल कानूनमा भएको व्यवस्था, (ग) इजाजतपत्रवाला तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकको काम, कर्तव्य तथा निजको उपभोक्ता प्रतिको जिम्मेवारी र दायित्व, (घ) इजाजतपत्रवाला तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकले उपभोक्ताको हित विपरीत काम गरेको खण्डमा उपचारको कार्यविधि । (२) इजाजतपत्रवालाले उपभोक्ताको सचेतनाको लागि विभागबाट स्वीकृत सचेतनामूलक विज्ञापन आवश्यकता अनुसार स्थानीय एफ.एम रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामा प्रसारण तथा प्रकाशन गर्नुपर्नेछ। (३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ऐन तथा यस नियमावली बमोजिम हुने वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धमा विभागले समय समयमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न सक्नेछ।
परिच्छेद-६ मुद्दाको अनुसन्धान सम्बन्धी व्यवस्था
२३. उजुरी उपर जाँचबुझ गर्नुपर्नेः (१) ऐनको दफा ३८ बमोजिम कसैको उजुरी परेमा निरीक्षण अधिकृतले त्यस्तो उजुरीको आधिकारिकता वा सत्यताको विषयमा उजुरीकर्तासँग आवश्यक प्रारम्भिक जानकारी लिन सक्नेछ। (२) उपनियम (१) बमोजिम प्राप्त जानकारीबाट प्रथम दृष्टिमा नै इजाजतपत्रवाला वा प्रत्यक्ष बिक्रेता वा वितरकको काम कारबाहीबाट उजुरीकर्तालाई हानि नोक्सानी भएको वा हुनसक्ने देखिएमा निरीक्षण अधिकृतले यथाशीघ्र सो सम्बन्धी अनुसन्धान कार्य सुरु गर्नुपर्नेछ।
२४. अनुसन्धानः (१) ऐनको दफा ३८ बमोजिम परेको उजुरी उपर अनुसन्धान गर्दा निरीक्षण अधिकृतले ऐनको दफा २२ तथा यस नियमावलीको नियम १६ बमोजिम आफूलाई प्राप्त अधिकारको प्रयोग गर्न सक्नेछ । (२) निरीक्षण अधिकृतले अनुसन्धानको क्रममा निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दाका बखत त्यस्तो स्थान वा वस्तुको यथार्थताको बारेमा तस्वीर वा श्रव्यदृश्य लिन सक्नेछ।
(३) निरीक्षण अधिकृतले खानतलासी गर्दा सम्भव भएसम्म सम्बन्धित इजाजतपत्रवाला वा प्रत्यक्ष बिक्रेता वा वितरकलाई रोहबरमा राखी खानतलासी गर्नु पर्नेछ। (४) उपबनियम (३) बमोजिम खानतलासी कार्य सम्पन्न भएपछि अनुसूची–६ बमोजिमको ढाँचामा मुचुल्का खडा गरी सम्बन्धित इजाजतपत्रवाला वा प्रत्यक्ष बिक्रेता वा वितरक उपस्थित भएमा निजलाई रोहबरमा राखी सहीछाप गराउनु पर्नेछ। खानतलासीको क्रममा कुनै वस्तुको नमूना लिएको वा जफत गरेको भए सो समेत खानतलासी मुचुल्कामा उल्लेख गर्नु पर्नेछ। (५) निरीक्षण अधिकृतले अनुसन्धानको क्रममा आवश्यक सबूत प्रमाण सङ्कलन गर्ने सन्दर्भमा कसुरसँग सम्बन्धित कुनै कागजात वा वस्तु जफत गर्न वा आफ्नो जिम्मामा लिन, शङ्कास्पद वा सम्बन्धित व्यक्तिलाई पक्राउ गर्न र त्यस्तो व्यक्तिलाई जुनसुकै खत दिएर बयान गराउन सक्नेछ। (६) निरीक्षण अधिकृतले अनुसन्धानको क्रममा प्रत्यक्ष बिक्री वा वितरण गरिने वस्तु राखिएको स्थानमा बसलिन्दी गर्न, त्यस्तो वस्तुको नमूना परीक्षणको लागि पठाएकोमा सोको परिणाम प्राप्त नभएसम्म वा अदालतबाट अन्यथा आदेश दिएकोमा बाहेक मुद्दा दायर नभएसम्म त्यस्तो वस्तुको प्रत्यक्ष बिक्री वा वितरणमा रोक लगाउन सक्नेछ। (७) ऐन तथा यस बनियमवली बमोजिम अनुसन्धान गर्दा निरीक्षण अधिकृतले सम्बन्धित इजाजतपत्रवाला वा प्रत्यक्ष बिक्रेता वा वितरकलाई बयान गराई तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने पर्याप्त आधार भएमा कारण खोली निजलाई तारेखमा राख्न, धरौटी वा जमानत लिई छाड्न वा सम्बन्धित जिल्ला अदालतको अनुमति लिई थुनामा राखी अनुसन्धान गर्न सक्नेछ। (८) अनुसन्धान अधिकृतले अनुसन्धान कार्य सम्पन्न भएपछि प्राप्त सबूत प्रमाण सहित अनुसन्धान प्रतिवेदन तयार गरी मुद्दा चलाउने सम्बन्धमा रायको लागि सरकारी वकील समक्ष पेश गर्नु पर्नेछ। २५. नमूनाको परीक्षणः (१) अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतले कुनै वस्तुको नमूना लिएकोमा त्यस्तो वस्तुको स्वरूप वा गुणस्तरमा प्रतिकूल असर नपुग्ने गरी अनुसूची-७ बमोजिमको ढाँचामा विवरण भरी यथाशीघ्र परीक्षणको लागि नेपाल सरकारद्वारा स्थापित वा नेपाल सरकारबाट मान्यताप्राप्त प्रयोगशालामा पठाउनु पर्नेछ। (२) उपबनियम (१) बमोजिम प्राप्त नमूनाको जाँच गरिसकेपछि प्रयोगशालाले अनुसूची–८ बमोजिमको ढाँचामा त्यस्तो वस्तुको नमूना जाँचबाट देखिएको परिणाम सहितको प्रतिवेदन विभागमा पठाउनु पर्नेछ।
२६. जानकारी दिनु पर्नेः नियम २४ को उपनियम (८) बमोजिम निरीक्षण अधिकृतबाट प्राप्त अनुसन्धान प्रतिवेदन जाँचबुझ गर्दा सरकारी बकिलात इजाजतपत्रवाला वा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरक उपर मुद्दा नचल्ने बनेमा अनुसन्धान अधिकृतले सोको जानकारी सात दिनभित्र सम्बन्धित उजुरीकर्तालाई दिनु पर्नेछ।
२७. नेपाल सरकार जिम्मेवार नहुनेः ऐन तथा यस नियमावली बमोजिम गरिएको निरीक्षण, जाँचबुझ, खानतलासी वा अनुसन्धानको क्रममा रोक्का राखिएको कुनै वस्तु सडी गली जाने वा काम नलाग्ने हुन गएको कारणबाट इजाजतपत्रवाला वा प्रत्यक्ष बिक्रेता वा वितरकलाई कुनै हानि नोक्सानी भएमा नेपाल सरकार त्यसको लागि जिम्मेवार हुने छैन।
२८. रोक्का वा कब्जा भएको वस्तु फुकुवा गर्नेः ऐन तथा यस नियमावली बमोजिम गरिएको निरीक्षण, जाँचबुझ, खानतलासी वा अनुसन्धानको क्रममा ऐन वा यस नियमावली बमोजिम रोक्का राखिएको वा कब्जा गरिएको कुनै वस्तुको नमूना परीक्षण गर्दा प्रयोगशालाबाट त्यस्तो वस्तु निर्धारित मापदण्ड वा गुणस्तरयुक्त छ भन्ने प्रमाणित भएमा निरीक्षण अधिकृतले त्यस्तो वस्तुको प्रत्यक्ष बिक्री वा वितरणमा लगाएको रोक्का तुरुन्त फुकुवा गरिदिनु पर्नेछ।
२९. निरीक्षण अधिकृतको आदेश पालना गर्नु पर्नेः यस नियमावली बमोजिम निरीक्षण अधिकृतले अनुसन्धानको क्रममा सम्बन्धित व्यक्तिलाई कुनै आदेश दिएकोमा त्यस्तो आदेशको पालना गर्नु त्यस्तो व्यक्तिको कर्तव्य हुनेछ।
परिरिच्छेद-७ विविध
३०. इजाजतपत्रवालाको वर्गीकरणः विभागले इजाजतपत्रवाला कम्पनीको चुक्ता पूँजी, कारोबारको रकम र बिक्रेता वा वितरकको सङ्ख्या समेतको आधारमा इजाजतपत्रवालाको वर्गीकरण गर्न सक्नेछ।
३१. सामाजिक सुरक्षाः इजाजतपत्रवालाले वस्तुको प्रत्यक्ष बिक्री वा वितरण कार्यमा संलग्न व्यक्तिलाई प्रचलित कानूनको अधीनमा रही सामाजिक सुरक्षा उपलब्ध गराउनु पर्नेछ।
३२. अभिलेख राख्नु पर्नेः (१) इजाजतपत्रवालाले वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी कारोबार तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरक लगायतको विवरणको अभिलेख अनुसूची-९ बमोजिमको ढाँचामा राख्नु पर्नेछ। (२) इजाजतपत्रवालाले उपनियम (१) बमोजिमको अभिलेख विद्युतीय प्रणालीमा राख्न सक्नेछ। त्यस्तो अभिलेख विभाग वा निरीक्षण अधिकृतले आवश्यकता अनुसार जुनसुकै समयमा निरीक्षण गर्न, झिकाउन वा जाँच गर्न सक्नेछ।
(३) इजाजतपत्रवालाले ऐनको दफा ४५ को उपदफा (२) बमोजिम प्रतिवेदन पेश गर्दा अनुसूची-१० बमोजिमको ढाँचामा पेश गर्नु पर्नेछ ।
३३. विवरण दर्ता गरी अभिलेख राख्नेः विभागले ऐनको दफा ४६ बमोजिम इजाजतपत्रवालाबाट समय समयमा प्राप्त हुने विवरणलाई अद्यावधिक गरी अनुसूची-११ बमोजिमको ढाँचामा दर्ता गरी अभिलेख राख्नु पर्नेछ।
३४. विवरण परिवर्तन गर्न सक्नेः (१) इजाजतपत्रवालाले इजाजतपत्रमा उल्लिखित कुनै सामान्य विवरण परिवर्तन गर्न चाहेमा पाँच सय रुपैयाँ दस्तुर सहित अनुसूची-१२ बमोजिमको ढाँचामा विभागमा निवेदन दिनु पर्नेछ। (२) उपबनियम (१) बमोजिम प्राप्त निवेदनको व्यहोरा मनासिब देखिएमा विभागले त्यस्तो विवरण परिवर्तन गरी सोको जानकारी इजाजतपत्रवालालाई दिनेछ। (३) उपबनियम (१) बमोजिम दिइएको निवेदन बमोजिम कुनै विवरण परिवर्तन गर्न नमिल्ने देखिएमा विभागले निवेदन दिएको बमोजिलै सात दिनभित्र सोको कारण सहितको जानकारी इजाजतपत्रवालालाई दिनु पर्नेछ ।
३५. इजाजतपत्रको प्रतिलिपिः (१) ऐनको दफा ५१ मा उल्लिखित कारण परी इजाजतपत्रको प्रतिलिपि आवश्यक परेमा इजाजतपत्रवालाले सोको कारण खोली विभागमा निवेदन दिनु पर्नेछ। (२) उपबनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा विभागले पाँच सय रुपैयाँ दस्तुर लिई इजाजतपत्रवालालाई इजाजतपत्रको प्रतिलिपि प्रदान गर्नेछ।
३६. विद्युतीय माध्यमको प्रयोग गर्न सक्नेः विभागले ऐन तथा यस नियमावली बमोजिम वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी काम कारबाहीलाई सरल र सहज बनाउन विद्युतीय माध्यम वा अनलाइन प्रणालीबाट कार्य सम्पादन गर्न सकिने गरी आवश्यक व्यवस्था गर्न सक्नेछ।
३७. प्रतिवेदन पेश गर्ने ः विभागले ऐनको दफा ५४ बमोजिम आफूले गरेको काम कारबाहीको चौमासिक प्रतिवेदन अनुसूची-१३ बमोजिमको ढाँचामा मन्त्रालयमा पेश गर्नु पर्नेछ।
३८. कालो सूचीमा राख्नेः (१) ऐन तथा यस नियमावली बमोजिम इजाजतपत्र प्राप्त गर्नको लागि कुनै कम्पनीले पेश गरेका विवरण वा कागजात जाँचबुझ गर्दा त्यस्तो विवरण वा कागजात झुट्टा भएको पाइएमा विभागले त्यस्तो कम्पनीलाई दुई वर्षसम्म कालो सूचीमा राख्न सक्नेछ ।
(२) उपबनियम (१) बमोजिम कालो सूचीमा राखिएको जानकारी सार्वजनिक गर्नु पर्नेछ। (३) उपबनियम (१) बमोजिम कालो सूचीमा राखिएको कम्पनीलाई अन्य प्रचलित कानून बमोजिम कानूनी कारबाही हुने रहेछ भने विभागले सोको लागि सम्बन्धित निकायमा लेखी पठाउने छ।
३९. अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्नेः मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक हेरफेर वा थपघट गर्न सक्नेछ।
अनुसूची–१ (नियम ३ सँग सम्बन्धित) प्रत्यक्ष बिक्री वा वितरणको लागि इजाजतपत्र प्रदान नगरिने वस्तु
१. प्रचलित कानून बमोजिम चिकित्सकको सिफारिसमा मात्र बिक्री गरिने औषधि, २. मदिरा तथा सुर्तीजन्य वस्तु लगायतका उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालका वस्तु, ३. तन्त्र मन्त्र लगायतका काल्पनिक वा यस्तै अप्रमाणिक अलौकिक भनिएका वस्तु, ४. ट्रेडमार्क दर्ता नगरिएका वस्तु, ५. प्रचलित कानूनले बन्देज लगाएका वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी निकासी, पैठारी तथा प्रत्यक्ष बिक्री वा वितरण गर्न बन्देज लगाएका अन्य वस्तु ।
अनुसूची–२ (नियम ३ सँग सम्बन्धित)
मिति: .................
श्री वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, ..............।
विषय: वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी व्यवसाय सञ्चालन गर्न इजाजतपत्र पाऊँ ।
वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ को दफा ४ तथा वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली, २०७६ को नियम ३ बमोजिम वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी व्यवसाय सञ्चालन गर्ने इजाजतपत्रको लागि देहाय बमोजिमका कागजात तथा विवरण संलग्न गरी यो निवेदन पेश गरेको छु/छौँ।
संलग्न कागजात तथा विवरण: १. कम्पनी दर्ताको प्रमाणपत्र, प्रबन्धपत्र, नियमावलीको प्रमाणित प्रतिलिपि, २. आयकर दर्ता प्रमाणपत्रको प्रतिलिपि, ३. मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, ४. कर चुक्ता गरेको प्रमाणपत्र वा कर दाखिला गरेको निस्सा, ५. वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धी विस्तृत कार्य योजना, लाभांश, कमिशन बाँडफाँट योजना, ६. बिक्री गर्ने वस्तुको सूची, ७. बिक्री कक्ष रहने स्थान, ८. बिक्रेता वा वितरकको सङ्ख्या, ९. सञ्चालकहरुको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, १०. प्रचलित कानून वा अदालतको आदेश बमोजिम तिर्नु बुझाउनु पर्ने कुनै बिगो, दण्ड जरिवाना वा दस्तुर बुझाउन बाँकी नरहेको र
ऐन तथा अन्य प्रचलित कानून बमोजिम कालोसूचीमा नपरेको वा नरहेको स्वःघोषणा।
कम्पनीको छाप निवेदकको,- दस्तखत: नाम: कम्पनीको नाम: मिति:
अनुसूची–३
(नियम ४ को उपनियम (३) सँग सम्बन्धित) इजाजतपत्रको ढाँचा
नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग
इजाजतपत्र सङ्ख्या...........
श्री.....................(कम्पनी),
वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४, वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली, २०७६, अन्य प्रचलित कानून तथा संलग्न शर्तहरुको अधीनमा रही वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी व्यवसाय सञ्चालन गर्न सोही नियमावलीको नियम ४ को उपनियम (३) बमोजिम विभागको मिति .............को निर्णय अनुसार त्यस कम्पनीलाई यो इजाजतपत्र प्रदान गरिएको छ।
व्यवसायको प्रकृतिः इजाजतपत्र प्रदान गर्ने अधिकारीको,–
बिक्री कक्ष रहने स्थानः नामः
बिक्रेता वा वितरकको सङ्ख्याः दस्तखतः
इजाजतपत्र जारी मितिः
(पछाडिको भागमा)
कम्पनीले पालना गर्नुपर्ने शर्तहरू
१. ........... २. ............ ३. ............
नवीकरण
द्रष्टव्य: बिक्री कक्ष रहने स्थान परिवर्तन वा थपघट गर्नु पर्ने भएमा विभागबाट पूर्व स्वीकृति लिनु पर्नेछ।
अनुसूची–४
(नियम ६ को उपनियम (१) सँग सम्बन्धित) इजाजतपत्र नवीकरणको लागि दिने निवेदनको ढाँचा
मिति: .................
श्री वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, ..........।
विषयः इजाजतपत्र नवीकरण गरी पाऊँ ।
वस्तुको प्रत्यक्ष बिक्री तथा वितरण सम्बन्धमा त्यस विभागबाट यस कम्पनीलाई प्रदान गरिएको इजाजतपत्र नं ...को अवधि मिति.....मा समाप्त हुने भएकोले उक्त इजाजतपत्रको नवीकरणको लागि वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ को दफा ८ को उपदफा (२) बमोजिम साठी दिन अगावै/उपदफा (३) बमोजिम पन्ध्र दिन अगावै देहाय बमोजिमका कागजात तथा विवरण संलग्न गरी यो निवेदन पेश गरेको छु /छौँ।
संलग्न कागजात तथा विवरणः १. इजाजतपत्र नवीकरण बापत रु. ..........................बुझाएको सक्कल रसिद वा भौचर, २. इजाजतपत्रको प्रतिलिपि, ३. कम्पनी दर्ता प्रमाणपत्र अद्यावधिक गरेको विवरणको प्रतिलिपि, ४. आयकर दर्ता प्रमाणपत्रको प्रतिलिपि, ५. अघिल्लो आर्थिक वर्षसम्मको कर दाखिला गरेको प्रमाण/कर चुक्ता प्रमाणपत्र, ६. धरौटी रकमको सट्टामा बैंक ग्यारेण्टी दाखिला गरेकोमा त्यस्तो बैंक ग्यारेण्टी नवीकरण वा अद्यावधिक गरेको सम्बन्धित बैंकको ग्यारेण्टीपत्र, ७. वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी विस्तृत कार्ययोजना, लाभांश, कमिशन बाँडफाँट योजना।
कम्पनीको छाप निवेदकको,- दस्तखतः नामः कम्पनीको नामः मितिः
अनुसूची–५ (नियम १४ को उपनियम (१) सँग सम्बन्धित) क्षतिपूर्ति माग दाबीको लागि दिने उजुरीको ढाँचा
श्री वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, ..............।
विषयः क्षतिपूर्ति उपलब्ध गराई पाऊँ ।
उपर्युक्त विषयमा त्यस विभागबाट वस्तुको प्रत्यक्ष बिक्री वा वितरणको व्यवसाय सञ्चालन गर्ने इजाजतपत्र प्राप्त ............कम्पनी/ .......वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकले गरे गराएको देहाय बमोजिमको कार्यबाट म/हामीलाई देहाय बमोजिमको हानि, नोक्सानी भएको वा क्षति पुगेको हुनाले सो बापत रू................ वा सो बराबरको क्षतिपूर्ति दिलाइपाऊँ भनी प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली, २०७६ को नियम १४ बमोजिम यो उजुरी पेश गरेको छु /छौँ।
यसमा उल्लेख भएको विवरण ठीक साँचो हो, झुट्ठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला।
(क) इजाजतपत्रवाला/वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकले गरे, गराएको कार्यः १. ... २. ... ३. ... ४. ...
(ख) उल्लेखित कार्यबाट भएको हानि, नोक्सानी वा क्षतिको विवरणः
(ग) मागदाबी पुष्टी हुने कागज प्रमाणः
(घ) माग दाबी गरिएको क्षतिपूर्ति (रकम वा वस्तु) :
निवेदकको,- दस्तखतः नामः मितिः
अनुसूची–६ (नियम १५ को उपनियम (२) र नियम २४ को उपनियम (४) सँग सम्बन्धित) निरीक्षण, जाँचबुझ वा खानतलासी मुचुल्काको ढाँचा
निरीक्षण अधिकृत.......... बाट.......... (निरीक्षण, जाँचबुझ वा खानतलासी गर्ने स्थानको नाम) स्थित कम्पनी वा..........मा मिति......का दिन...बजे निरीक्षण, जाँचबुझ वा खानतलासी गरी तयार गरेको खानतलासी मुचुल्का । १. निरीक्षण वा जाँचबुझको प्रकारः नियमित/आकस्मिक २. कुनै सूचनाको आधारमा निरीक्षण, जाँचबुझ वा खानतलासी गरेको भए त्यस्तो सूचनाको छोटकरी विवरणः- .................................................................................................. ३. निरीक्षण, जाँचबुझ वा खानतलासी गरिएको ठाउँ र कम्पनी वा व्यक्तिको विवरणः- .................................................................................................. ४. निरीक्षण, जाँचबुझ वा खानतलासीको क्रममा निरीक्षकले निरीक्षण, जाँचबुझ वा खानतलासी गरेको कुराको संक्षिप्त व्यहोराः- .................................................................................................. ५. निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा कुनै वस्तु बरामद गरेको भए त्यस्तो वस्तुको परिमाण र विवरणः- .................................................................................................. ६. निरीक्षण, जाँचबुझ वा खानतलासी गरिएको व्यक्ति वा कम्पनीको आधिकारिक व्यक्तिको,- नाम, थरः उमेरः ठेगानाः दस्तखतः ७. निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा कुनै वस्तुको नमूना लिएको भएः नमूना लिएको वस्तुको नामः परिमाणः उत्पादन भएको सालः ब्याच नं.: प्रयोग गर्न सकिने अन्तिम मिति (एक्सपायरी डेट) : प्रति एकाइ अधिकतम खुद्रा मूल्यः अन्य विवरणः
८. निरीक्षकले निरीक्षण पछि इजाजतपत्रवाला वा वस्तुको बिक्री वा वितरणलाई कुनै सुझाव दिएको भए सोको संक्षिप्त विवरण: ......................................................................................................................................................
अनुसन्धानको क्रममा खानतलासी गरेकोमा उपर्युक्त बमोजिम खानतलासी कार्य सम्पन्न भएको हो भनी सही गर्ने व्यक्तिको, द. १. .................................... बस्ने वर्ष.......को ............................(नाम, थर र सम्पर्क नम्बर) : द. २. .................................... बस्ने वर्ष.......को ............................(नाम, थर र सम्पर्क नम्बर) : काम तामेल गर्ने:– निरीक्षण अधिकृत:- (नाम, थर र दस्तखत) अन्य कर्मचारी/प्रहरी कर्मचारी:- १.नाम,थर: .....................................................................दस्तखत: २.नाम,थर: .....................................................................दस्तखत: मिति: समय:
अनुसूची–७
(नियम २५ को उपनियम (१) सँग सम्बन्धित) वस्तुको नमूना परीक्षणको लागि पठाउने पत्रको ढाँचा
पत्र सङ्ख्या: मिति: चलानी नम्बर:
श्री ............................. .....................................
वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ र वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली, २०७६ को नियम २५ बमोजिम देहायको वस्तुको नमूना परीक्षणको लागि यसै साथ पठाइएको छ। सो वस्तुको परीक्षण गरी सोको प्रतिवेदन यथाशीघ्र यस विभाग/कार्यालयमा पठाईदिनु हुन अनुरोध गरिन्छ।
विवरण १. परीक्षणको लागि नमूना पठाइएको वस्तुको नाम: २. परिमाण: ३. सिलबन्दी क्रम सङ्ख्या: ४. प्याकिङको बाहिरी आवरमा लेखिएको सांकेतिक सङ्ख्या: ५. वस्तुको नमूना लिएको मिति र स्थान: ६. परीक्षण गर्नु पर्ने कुरा: ७. अन्य कुनै कुरा खुलाउन आवश्यक भए सो कुरा:
निरीक्षण अधिकृतको,– कार्यालयको छाप: सही: नाम,थर: मिति:
अनुसूची–८ (नियम २५ को उपनियम (२) सँग सम्बन्धित) नमूना परीक्षण प्रतिवेदनको ढाँचा
श्री......................... (पठाउनेको नाम).......................... बाट परीक्षणको लागि पत्र सङ्ख्या ............ र मिति ......... को पत्र साथ प्राप्त हुन आएको क्रम सङ्ख्या .............. को................................ (वस्तुको नाम) को नमूना परीक्षण गर्दा देहाय बमोजिकको नतिजा भएको व्यहोरा अनुरोध गरिन्छः– १. भाँडो र प्याकिङधको बाहिरी आवरणमा भएको शिलबन्दीको अवस्थाः २. परीक्षण वा विश्लेषण गर्दा अपनाइएको विधिः ३. परीक्षणबाट प्राप्त नतिजाः ४. परीक्षण वा विश्लेषण नतिजाबारे आफ्नो मन्तव्यः (विभागीय विशेषज्ञको राय)
प्रयोगशालाको नामः परीक्षणकर्ताको,- प्रयोगशालाको छापः सहीः नाम र थरः दर्जाः मितिः
अनुसूची–९ (नियम ३२ को उपनियम (१) सँग सम्बन्धित) ......................(कम्पनी) .................................................... कारोबार तथा अन्य विवरणको अभिलेख खण्ड (क) (भुक्तानी विवरण)
इजाजतपत्र सङ्ख्याः .......... .......... महिनामा वस्तुको प्रत्यक्ष बिक्री अन्तर्गत स्वदेशी/विदेशी वस्तु बिक्री वा वितरण गरे बापत बिक्रेता वा वितरकलाई भुक्तानी गरेको विवरण खाता (आ.व. ......)
तयार गर्नेको,– प्रमाणित गर्नेको,– दस्तखत: दस्तखत: नाम : नाम : पद : पद : मिति: ============= मिति =============
खण्ड (ख)
...........................महिनाको वस्तुको प्रत्यक्ष बिक्री वा वितरण अन्तर्गत स्वदेशी वस्तुको खरिद अभिलेख खाता (आ.व. ...... )
तयार गर्नेको,- प्रमाणित गर्नेको,- दस्तखत: .................... दस्तखत: .................... नाम : .................... नाम : .................... पद : .................... पद : .................... मिति: .................... मिति ....................
खण्ड (ग)
------महिनाको वस्तुको प्रत्यक्ष बिक्री वा वितरण अन्तर्गत स्वदेशमा उत्पादन हुने विदेशी वस्तुको खरिद अभिलेख खाता (आ.व. ......)
तयार गर्नेको,— प्रमाणित गर्नेको,— दस्तखत: दस्तखत: नाम : नाम : पद : पद : मिति: .................... मिति ....................
खण्ड (घ)
------महिनाको वस्तुको प्रत्यक्ष बिक्री वा वितरण अन्तर्गत स्वदेशी वस्तुको बिक्री, वितरण अभिलेख खाता (आ.व. ......)
तयार गर्नेको,– प्रमाणित गर्नेको,– दस्तखत: दस्तखत: नाम : नाम : पद : पद : मिति : .................... मिति ....................
खण्ड (ङ)
-----महिनाको वस्तुको प्रत्यक्ष बिक्री वा वितरण अन्तर्गत विदेशी वस्तुको बिक्री वा वितरण अभिलेख खाता (आ.व. ......)
तयार गर्नेको,– $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ प्रमाणित गर्नेको,– दस्तखत: $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ दस्तखत: नाम : $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ नाम : पद : $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ पद : मिति: $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ मिति
खण्ड (च)
-----महिनाको वस्तुको प्रत्यक्ष बिक्री वा वितरण अन्तर्गत वस्तु खरिद, बिक्री वा वितरण र मौज्दात परिमाणको अभिलेख खाता (आ.व. ......)
तयार गर्नेको,– दस्तखत: नाम : पद मिति: ....................
प्रमाणित गर्नेको,– दस्तखत: नाम : पद : मिति ....................
अनुसूची–१०
(नियम ३२ को उपनियम (३) सँग सम्बन्धित)
इजाजतपत्र सङ्ख्या .......... मिति:-----
वस्तुको प्रत्यक्ष बिक्री वा वितरणको------त्रैमासिक/वार्षिक प्रतिवेदन (आ.व.------------)
बिक्रेता वा वितरकको संख्याः बिक्री कक्ष संख्याः व्यवसायले समेटेको जिल्लाको संख्याः
द्रष्टव्यः कम्पनीको यस त्रैमासिक अवधिको आय-व्यय विवरण/ वार्षिक अवधिको आय-व्यय विवरण, नगद-प्रवाह विवरण र वासलात एवं लेखापरीक्षण प्रतिवेदन यसैसाथ संलग्न छ ।
कम्पनी सचिव/प्रबन्धक
अनुसूची–११ (नियम ३३ सँग सम्बन्धित) नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग वस्तुको प्रत्यक्ष बिक्री वा वितरणको दर्ता अभिलेख खाता (आ.व.------)
पेश गर्नेको,- दस्तखत: नाम: पद: मिति:
प्रमाणित गर्नेको,- दस्तखत: नाम: पद: मिति:
अनुसूची–१२ (नियम ३४ को उपनियम (१) सँग सम्बन्धित) विवरण परिवर्तनको लागि दिने निवेदनको ढाँचा
मिति: .................
श्री वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, ............।
विषय: विवरण परिवर्तन गर्न स्वीकृति पाऊँ।
यस कम्पनीको विवरणमा देहाय बमोजिम परिवर्तन गर्नु परेकोले सोको स्वीकृतिको लागि नियम बमोजिम लाग्ने दस्तुर (दस्तुर बुझाएको भौचर) यसै साथ राखी यो निवेदन पेश गरेको छु ।
तपसिल
माथि उल्लिखित विवरण ठीक साँचो छ, झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।
कम्पनीको छापः
निवेदकको,– दस्तखत: सञ्चालकको नाम: कम्पनीको नाम: ठेगाना: मिति:
अनुसूची–१३ (नियम ३७ सँग सम्बन्धित) नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग
मिति .................... श्री उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार, काठमाडौं ।
विषयः आ.व. .............. को पहिलो/ दोस्रो/ तेस्रो चौमासिक प्रतिवेदन पेश गरेको ।
उपर्युक्त सम्बन्धमा वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ को दफा ५४ तथा वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली, २०७६ को नियम ३७ बमोजिम वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धमा आ.व..... को ---चौमासिक अवधिमा यस विभागले गरेको काम कारबाहीको विवरण देहाय बमोजिम रहेको व्यहोरा अनुरोध छः– (१) यस अवधिमा वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी व्यवसाय सञ्चालनको लागि इजाजतपत्र प्रदान गरिएको सङ्ख्याः----- (२) नवीकरण गरिएको सङ्ख्याः ---- (३) चुक्ता पूजी वृद्धि वा धरोटी थप गरिएको सङ्ख्याः -- (४) यस अवधिमा इजाजतपत्रवालाको अनुगमन, निरीक्षण, अनुसन्धान गरिएको सङ्ख्याः (५) यस चौमासिक अवधिमा वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धमा उपभोक्ताको गुनासो सङ्ख्याः ... र गुनासो सम्बोधन गरेको सङ्ख्याः ... (६) यस चौमासिक अवधिमा वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ र वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली, २०७६ विपरीत कार्य गर्ने इजाजतपत्रवालालाई कारबाही गरिएको सङ्ख्याः .. र सोको संक्षिप्त विवरणः (७) यस अवधिमा इजाजतपत्रवालाबाट प्राप्त हुन आएको त्रैमासिक प्रतिवेदनको सङ्ख्याः...
(८) यस अवधिमा वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी व्यवसायको सम्बन्धमा सचेतना कार्यक्रम सञ्चालन भएकोमा लाभान्वित व्यक्तिको सङ्ख्याः ... (९) अन्य सम्बद्ध विवरणः
पेश गर्नेको,- प्रमाणित गर्नेको,- दस्तखत: दस्तखत: नाम: नाम: पद: पद: मिति: मिति:
दर्जाः