केही नेपाल ऐनको व्यवस्था जगाउने ऐन, २०६३
प्रमाणीकरण र प्रकाशन मिति २०६३।०४।२३
२०६३ सालको ऐन नं. २ केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावनाः समय समयमा भएका विभिन्न अध्यादेशद्वारा संशोधन वा खारेज गरिएका केही नेपाल ऐनको व्यवस्थालाई जगाई परिवर्तित सन्दर्भमा साविककै व्यवस्था कायम गर्न वाञ्छनीय भएकोले, प्रतिनिधिसभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधिसभाले यो ऐन बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “केही नेपाल ऐनको व्यवस्था जगाउने ऐन, २०६३” रहेको छ । (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. संशोधन वा खारेज भएका ऐनको व्यवस्था जागेको मानिनेः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ७२ अनुसार समय समयमा जारी भई यो ऐन प्रारम्भ हुनुभन्दा अघि निष्कृय वा खारेज भएका देहायका अध्यादेशले देहायका ऐनमा गरेको संशोधनका सम्बन्धमा त्यस्तो अध्यादेश निष्कृय वा खारेज भएको मितिबाट त्यसरी संशोधन हुनुभन्दा अघि कायम रहेको व्यवस्था स्वतः जागेको मानिनेछः- (क) राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन, २०२९ मा “राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण (पाँचौँ संशोधन) अध्यादेश, २०६२” बाट भएको संशोधन (ख) देहायका ऐनमा “निर्वाचन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०६२” बाट भएको संशोधन :- (अ) स्थानीय निकाय (निर्वाचन कार्यविधि) ऐन, २०४८, (आ) मतदाता नामावली सम्बन्धी ऐन, २०५२ । (ग) स्थानीय प्रशासन ऐन, २०२८ मा "स्थानीय प्रशासन (पाँचौँ संशोधन) अध्यादेश, २०६२ बाट भएको संशोधन, (घ) देहायका ऐनमा “सञ्चार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०६२" बाट भएको संशोधन:- (अ) रेडियो ऐन, २०१४, (आ) राष्ट्रिय समाचार समिति ऐन, २०१९, (इ) छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८, (ई) प्रेस काउन्सिल ऐन, २०४८,
(उ) राष्ट्रिय प्रसारण ऐन, २०४९। (ऊ) गाली र बेइज्जती ऐन, २०१६ । (इ) समाज कल्याण ऐन, २०४९ मा “समाज कल्याण (पहिलो संशोधन) अध्यादेश, २०६२” बाट भएको संशोधन, (च) श्रम ऐन, २०४८ मा “श्रम (दोस्रो संशोधन) अध्यादेश २०६२” बाट भएको संशोधन ।