भक्तपुर क्यान्सर अस्पताल विकास समिति (गठन) आदेश, २०७७
नेपाल राजपत्रमा प्रकाशित मिति २०७७।०९।०६
संशोधन १. भक्तपुर क्यान्सर अस्पताल विकास समिति (गठन) (पहिलो संशोधन) आदेश, २०८१ २०८१।०९।११
विकास समिति ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको आदेश जारी गरेको छ।
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस आदेशको नाम “भक्तपुर क्यान्सर अस्पताल विकास समिति (गठन) आदेश, २०७७” रहेको छ।
(२) यो आदेश तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आदेशमा,- (क) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ।
(ख) “अस्पताल” भन्नाले भक्तपुर जिल्लामा रहेको भक्तपुर क्यान्सर अस्पताल सम्झनु पर्छ।
(ग) “कार्यकारी निर्देशक” भन्नाले दफा ९ बमोजिमको कार्यकारी निर्देशक सम्झनु पर्छ।
(घ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस आदेश अन्तर्गत बनेको नियम वा विनियमावलीमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
(ङ) “मन्त्रालय” भन्नाले नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्झनु पर्छ।
(च) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष र समितिको सदस्य–सचिभलाई समेत जनाउँछ।
(छ) “समिति” भन्नाले दफा ३ बमोजिम गठन भएको भक्तपुर क्यान्सर अस्पताल विकास समिति सम्झनु पर्छ।
३. समिति गठन: (१) क्यान्सर रोगको रोकथाम, निदान, उपचार र प्यालिएटिभ सेवाको लागि उच्चस्तरीय तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने समितिको कार्यका लागि अस्पतालको सञ्चालन तथा व्यवस्थापन गर्न भक्तपुर क्यान्सर अस्पताल विकास समिति नामको एक समिति रहनेछ। (२) उपदफा (१) बमोजजिको समितिमा देहाय बमोजिमका सदस्यहरु रहनेछन्:-
(क) मन्त्रालयले तोकेको स्वास्थ्य सेवाको बाह्रौं तहको कर्मचारी - अध्यक्ष (ख) प्रमुख, भक्तपुर नगरपालिका - सदस्य (ग) प्रमुख, भक्तपुर अस्पताल - सदस्य (घ) मन्त्रालयले तोकेको मन्त्रालयको राजपत्रांकित प्रथम श्रेणी वा सो सरहको अधिकृत - सदस्य (ङ) समाजसेवी मध्येबाट मन्त्रालयले मनोनयन गरेको कम्तीमा महिला सहित दुई जना - सदस्य (च) नेपाल अबुदध रोग निवारण संस्थाले तोकेको सो संस्थाको कम्तीमा एकजना महिलासहित तीन जना - सदस्य (छ) क्यान्सर रोगको क्षेत्रमा कार्यरत चिकित्सक मध्येबाट मन्त्रालयले मनोनयन गरेको एक जना - सदस्य (ज) कार्यकारी निर्देशक - सदस्य-सचिव
(३) उपदफा (२) को खण्ड (ङ) र (छ) बमोजिमका सदस्यको पदावधि चार वर्षको हुनेछ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (२) को खण्ड (ङ) र (छ) बमोजिमका सदस्यले पदीय जिम्मेवारी बमोजिम काम नगरे वा समिति को हित विपरीत कुनै काम गरेमा मन्त्रालयले जुनसुकै बखत पदबाट हटाउन सक्नेछ।
(५) उपदफा (४) बमोजिम सदस्य पदबाट हटाउनु अघि निजलाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।
(६) समितिको कार्यालय अस्पतालमा रहनेछ।
४. सदस्यको योग्यता: देहाय बमोजिमको योग्यता पुगेको व्यक्ति सदस्य पदमा मनोनयन हुन योग्य मानिनेछ :- (क) नेपाली नागरिक भएको, (ख) पच्चीस वर्ष उमेर पूरा भएको, (ग) पैँसठ्ठी वर्ष उमेर ननाघेको, (घ) प्रचलित कानून बमोजिम अयोग्य नभएको।
५. सदस्यको अयोग्यता: देहायको व्यक्ति सदस्य पदमा मनोनित हुन वा त्यस्तो पदमा बहाल रहन योग्य हुने छैन :- (क) दफा ४ बमोजिमको योग्यता नभएको, (ख) कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको, (ग) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसार पसार, लागू औषध बिक्री वितरण तथा ओसार पसार, सम्पत्ति शुद्धीकरण, वन्यजन्तुको ओसार पसार, सङ्गठित अपराध, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा अदालतबाट सजाय पाएको, (घ) प्रचलित कानून बमोजिम सार्वजनिक पदमा नियुक्ति हुन वा बहाल रहन योग्य नभएको।
६. पद रिक्त हुने अवस्था: (१) देहायको अवस्थामा सदस्यको पद रिक्त हुनेछ :- (क) आफ्नो पदबाट राजीनामा दिएमा, (ख) पदावधि पूरा भएमा, (ग) दफा ३ को उपदफा (४) बमोजिम सदस्य पदबाट हटाइएमा, (घ) दफा ५ बमोजिम अयोग्य भएमा, (ङ) मृत्यु भएमा। (२) उपदफा (१) बमोजिम कुनै सदस्यको पद रिक्त भएको एक वर्षभन्दा बढी अवधि बाँकी हुने भएमा दफा ३ बमोजिम अर्को सदस्य तोक्न वा मनोनित गर्न सक्नेछ।
७. समितिको काम, कर्तव्य र अधिकार: यस आदेशमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः– (क) अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि नीति, योजना, बजेट तथा कार्यक्रम स्वीकृत गर्ने र सोको कार्यान्वयन अवस्थाको अनुगमन तथा मूल्यायन गर्ने, (ख) समितिको लागि आवश्यक पर्ने आर्थिक स्रोतको व्यवस्था गर्ने,
(ग) क्यान्सर रोग सम्बन्धी विषयमा अनुसन्धान गर्ने, गराउने, (घ) अस्पतालका लागि पूर्वाधारको निर्माण गर्ने, गराउने, (ङ) अस्पतालको सेवा शुल्क निर्धारण गर्ने, (च) अस्पतालले प्रदान गर्ने सेवाको सञ्चालन र विस्तार गर्न आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालयमा सिफारिस गर्ने, (छ) ज्येष्ठ नागरिक, बालबालिका, विपन्न नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दुर्गम क्षेत्रका क्यान्सर रोगका बिरामीलाई सुलभ उपचार दिने सम्बन्धमा आवश्यक मापदण्ड बनाई लागू गर्ने, (ज) पेशागत आचार संहिता पालना गर्ने, गराउने, (झ) क्यान्सर रोगको निदान, उपचार तथा रोकथाम सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ, संस्थासँग सहकार्य तथा समन्वय गर्ने, (ञ) क्यान्सर रोगको रोकथामका लागि विभिन्न निकायसँग सहकार्य तथा समन्वय गर्ने, (ट) क्यान्सर सम्बन्धी रोगको निदान, उपचार तथा रोकथाम गर्ने सम्बन्धमा आवश्यक अन्य कार्य गर्ने, (ठ) अस्पतालले प्रदान गर्ने सेवा तथा अन्य काम, कारबाहीको अनुगमन तथा निरीक्षण गर्ने, गराउने।
८. समितिको बैठक सम्बन्धी कार्यविधि: (१) समितिको बैठक प्रत्येक दुई महिनामा कम्तीमा एक पटक बस्नेछ। (२) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ। (३) समितिको सदस्य-सचिवले अध्यक्षको निर्देशन बमोजिम बैठक बस्ने सूचना र बैठकको कार्यसूची बैठक बस्नुभन्दा कम्तीमा अठचालिस घण्टा अगावै सदस्यहरूलाई दिनु पर्नेछ। (४) समितिको कूल सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ । (५) बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपस्थित सदस्यहरूले आफूमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ । (६) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ । (७) समितिको निर्णय अध्यक्ष र समितिको सदस्य-सचिवले प्रमाणित गर्नेछन् ।
(८) समितिले आवश्यक देखेमा नेपाल सरकारको कुनै अधिकृत वा अन्य कुनै विशेषज्ञ वा समितिको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ। (९) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।
९. कार्यकारी निर्देशक: (१) अस्पतालको प्रशासकीय प्रमुखको रुपमा काम गर्न एकजना कार्यकारी निर्देशक रहनेछ। (२) नेपाल सरकारले चिकित्साशास्त्रको सम्बन्धित विषयमा स्नातकोत्तर गरी क्यान्सर रोगको निदान, उपचार तथा रोकथाम सम्बन्धी क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएका व्यक्तिहरूमध्येबाट एक जनालाई कार्यकारी निर्देशक नियुक्त गर्नेछ। (३) उपदफा (२) बमोजिम नियुक्त कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ। (४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यकारी निर्देशकले पद अनुरूपको काम नगरे वा अस्पताल र समितिको हित विपरीत कुनै काम गरेमा नेपाल सरकारले निजलाई जुनसुकै बखत कार्यकारी निर्देशकको पदबाट हटाउन सक्नेछ। (५) उपदफा (४) बमोजिम पदबाट हटाउनु अघि निजलाई आफ्नो सफाई पेश गर्ने मनासिव मौका दिनु पर्नेछ। (६) उपदफा (२) बमोजिम कार्यकारी निर्देशक नियुक्त नभएसम्मको लागि मन्त्रालयले स्वास्थ्य सेवाको एघारौं तर्फको कर्मचारी वा अस्पतालको मेडिकल सुपरिटेन्डेन्टलाई कार्यकारी निर्देशकको रुपमा कामकाज गर्न तोक्न सक्नेछ। (७) कार्यकारी निर्देशकले अस्पताल बाहेक अन्य स्वास्थ्य संस्थामा काम गर्न पाउने छैन।
१०. कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार: कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) अस्पतालको वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गरी स्वीकृतिको लागि समिति समक्ष पेश गर्ने, (ख) नेपाल सरकारले उपलब्ध गराउने निःशुल्क तथा स्वास्थ्य बीमा कार्यक्रमले समेटेका औषधिहरू अस्पतालको फार्मेसीबाट उपलब्ध गराउने व्यवस्था गर्ने, (ग) अस्पतालबाट प्रदान गरिने सेवा सुविधा र स्वास्थ्य बीमा कार्यक्रमका बारेमा सेवाग्राही र बिमितलाई पूर्ण रुपमा जानकारी दिने व्यवस्था मिलाउने, (घ) समितिको बैठकको निर्णय कार्यान्वयन गर्ने, गराउने,
(ङ) अस्पतालको स्वीकृत कार्यक्रम कार्यान्वयन गर्ने, (च) अस्पतालको काम कारबाहीको सम्बन्धमा विभिन्न निकायसँग समन्वय गर्ने, (छ) समितिबाट निर्देशन भए बमोजिमका कार्य गर्ने, गराउने, (ज) अस्पतालको जनशक्ति व्यवस्थापन सम्बन्धी काम गर्ने, गराउने, (झ) अस्पतालको सम्पत्ति संरक्षण र सम्बर्द्धन गर्ने, (ञ) अस्पतालको आन्तरिक तथा अन्तिम लेखा परीक्षण गराउने, (ट) अस्पतालको सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, गराउने, (ठ) तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने।
११. मानव स्रोत व्यवस्थापन: (१) अस्पताल सञ्चालन तथा समितिको कार्यसम्पादनको लागि समितिमा आवश्यक संख्यामा कर्मचारीहरू रहने छन्। (२) उपदफा (१) बमोजिमका कर्मचारीको पद र संख्या अर्थ मन्त्रालयको सहमतिमा मन्त्रालयको स्वीकृति लिई समितिले निर्धारण गरे बमोजिम हुनेछ। (३) मन्त्रालयबाट सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत नगराई समितिले कुनै पनि पदमा कर्मचारी भर्ना गर्न पाउने छैन। (४) समितिको अनुरोधमा मन्त्रालयले नेपाल सरकारका कर्मचारीलाई अस्पतालमा काजमा खटाउन सक्नेछ। (५) समितिमा रहने कर्मचारीको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका शर्त सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ। (६) उपदफा (५) बमोजिम पारिश्रमिक तथा सुविधा नतोकिएसम्म समितिमा कर्मचारीले अर्थ मन्त्रालयको स्वीकृतिका साथ मन्त्रालयले तोके बमोजिमको पारिश्रमिक तथा सुविधा पाउने छन्। (७) सम्बत् २०७७ साल पौष ६ गते भन्दा अघि कार्य रहेका भक्तपुर क्यान्सर अस्पतालमा स्थायी नियुक्ति पाई कार्यरत कर्मचारीहरू समितिको सोही सेवा, तह र पदमा स्वतः कायम रहने छन् र करारका कर्मचारीलाई आवश्यकता र औचित्यताको आधारमा समितिले करार सेवामा राख्न सक्नेछ। (८) उपदफा (७) बमोजिम नियुक्त हुने कर्मचारीको पारिश्रमिक तथा सुविधा अर्थ मन्त्रालयको सहमतिमा समितिले निर्धारण गरे बमोजिम हुनेछ।
१२. समितिको कोष: (१) समितिको नाममा एउटा छुट्टै कोष रहनेछ। (२) उपदफा (१) बमोजिमको कोषमा देहाय बमोजिमको रकम रहनेछ:-
(क) नेपाल सरकारबाट प्राप्त अनुदान रकम, (ख) प्रदेश सरकार तथा स्थानीय तहबाट प्राप्त अनुदान रकम, (ग) अस्पतालले प्रदान गरेको सेवा तथा सुविधा बापत प्राप्त रकम, (घ) स्वदेशी सङ्घ, संस्था वा व्यक्तिबाट दान, दातव्य वा चन्दा स्वरूप प्राप्त रकम, (ङ) विदेशी सरकार, सङ्घ, संस्था, व्यक्ति वा अन्तर्राष्ट्रिय सङ्घ, संस्थाबाट प्राप्त सहयोग वा अनुदान रकम। (३) उपदफा (२) को खण्ड (ङ) बमोजिमको रकम प्राप्त गर्नु अघि समितिले अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ। (४) समितिको कोषमा प्राप्त हुने रकम नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त कुनै बैंकमा समितिको नाममा खाता खोली जम्मा गरिनेछ। (५) समितिको नामबाट गरिने सबै खर्च उपदफा (२) बमोजिमको कोषबाट व्यहोर्नेछ। (६) समितिलाई जुन कार्यक्रमका वा प्रयोजनका लागि रकम प्राप्त भएको हो सो रकम सोही कार्यक्रमका वा प्रयोजनका लागि खर्च गर्नु पर्नेछ। (७) समितिको कोषको खाता समितिको सदस्य-सचिव र आर्थिक प्रशासन शाखा प्रमुखको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ। (८) समितिको कोषको सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
१३. लेखा र लेखापरीक्षण : (१) समितिको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको ढाँचा बमोजिम राख्नु पर्नेछ। (२) समितिले तोकिए बमोजिम आन्तरिक नियन्त्रण प्रणाली कायम गर्नु पर्नेछ। (३) समितिको अन्तिम लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ। (४) मन्त्रालयले समितिको आय व्ययको लेखा, तत्सम्बन्धी कागजात र नगदी, जिन्सीको विवरण जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ।
१४. उपसमिति: (१) समितिले आफ्नो काममा सहयोग पुर्याउन आवश्यकता अनुसार उपसमिति गठन गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम गठित उपसमितिको काम, कर्तव्य, अधिकार र कार्यविधि समितिले तोकिदिए बमोजिम हुनेछ।
१५. अधिकार प्रत्यायोजन: समितिले आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार अध्यक्ष, उपसमिति, सदस्य, कार्यकारी निर्देशक वा अस्पतालको अधिकृतस्तरको कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।
१६. बैठक भत्ता: समितिका सदस्यले समितिको बैठकमा भाग लिए बापत अर्थ मन्त्रालयको स्वीकृत मापदण्ड बमोजिमको बैठक भत्ता पाउनेछन् ।
१७. वार्षिक प्रतिवेदन: (१) समितिले तोकिए बमोजिमको विवरण खुलाई आफूले सम्पादन गरेको कामको वार्षिक प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ। (२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा अन्य कुराको अतिरिक्त समितिबाट भएका प्रमुख कार्य, समितिको नीति, योजना र कार्यक्रमको कार्यान्वयन स्थिति, त्यसको उपलब्धि तथा लागत र समितिबाट भएको वार्षिक खर्चको विवरण उल्लेख गर्नु पर्नेछ। (३) उपदफा (१) बमोजिमको प्रतिवेदन मन्त्रालय आफैंले वा मन्त्रालयको निर्देशनमा समितिले सार्वजनिक गर्नु पर्नेछ।
१८. नेपाल सरकारसँग सम्पर्क: समितिले नेपाल सरकारसँग सम्पर्क राख्दा मन्त्रालय मार्फत राख्नु पर्नेछ।
१९. निर्देशन दिन सक्ने: (१) मन्त्रालयले समितिबाट सम्पादन गरिने काम कारबाहीको सम्बन्धमा समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ। (२) उपदफा (१) बमोजिम दिइएको निर्देशन पालना गर्नु समितिको कर्तव्य हुनेछ।
२०. नियम तथा विनियम बनाउन सक्ने: यो आदेश कार्यान्वयन गर्न समितिले आवश्यक नियम तथा विनियम बनाउन सक्नेछ र त्यस्तो नियम नेपाल सरकारबाट र विनियम मन्त्रालयबाट स्वीकृत भएपछि लागू हुनेछ।
२१. सम्पत्ति सने: यो आदेश प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेको भक्तपुर क्यान्सर अस्पतालको प्रयोगमा रहेको स्वास्थ्य सम्बन्धी उपकरण, मेशिनरी औजार, फर्निचर, सवारी साधन तथा सम्पूर्ण चल सम्पत्ति समितिमा सनेछ।