नेपाल हज समिति (गठन तथा सञ्चालन) आदेश, २०८२
प्रमाणीकरण र प्रकाशित मिति २०८२।०३।१२
प्रस्तावनाः हज समितिको गठन तथा सञ्चालन गरी ईस्लाम धर्म परम्परा बमोजिम साउदी अरबको मक्का मदिनामा हज गर्न जाने ईस्लाम धर्मावलम्बी नेपाली नागरिकको हज यात्रालाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन वाञ्छनीय भएकोले, नेपाल सरकार, मन्त्रिपरिषद्ले देहायको आदेश जारी गरेको छ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस आदेशको नाम “नेपाल हज समिति (गठन तथा सञ्चालन) आदेश, २०८२" रहेको छ। (२) यो आदेश नेपाल राजपत्रमा प्रकाशन भएको मिति देखि प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आदेशमा,- (क) "अध्यक्ष" भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ। (ख) "उमरा" भन्नाले हज बाहेक अन्य समयमा साउदी अरबको मक्का स्थित पवित्र मस्जिदहरम (कावा शरीफ) को परम्परागत धार्मिक प्रक्रिया सम्झनु पर्छ। (ग) "मन्त्रालय" भन्नाले नेपाल सरकारको गृह मन्त्रालय सम्झनु पर्छ। (घ) "सचिवालय" भन्नाले समितिको सचिवालय सम्झनु पर्छ। (ङ) "सदस्य" भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्षलाई समेत जनाउँछ। (च) "समिति" भन्नाले दफा ३ को उपदफा (१) बमोजमिको नेपाल हज समिति सम्झनु पर्छ। (छ) "हज यात्रा" भन्नाले ईस्लाम धर्म अनुसार साउदी अरबको मक्का मदिनामा प्रत्येक वर्ष हुने विशेष धार्मिक यात्रा सम्झनु पर्छ। (ज) "हज प्रतिनिधि" भन्नाले दफा १२ को उपदफा (१) बमोजिम समितिले तोकेको हज प्रतिनिधि सम्झनु पर्छ।
परिच्छेद-२ नेपाल हज समितिको गठन, काम, कर्तव्य र अधिकार
३. नेपाल हज समितिको गठनः (१) ईस्लाम धर्मावलम्बी नेपाली नागरिकको हज यात्रालाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन देहाय बमोजमिको नेपाल हज समिति गठन हुनेछ:-
(क) मन्त्रालयले तोकेको इस्लाम धर्मको विज्ञ व्यक्ति - अध्यक्ष (ख) मन्त्रालयले तोकेका इस्लाम धर्म तथा हज यात्राको बारेमा जानकार कम्तीमा सात जना महिला सहित बढीमा एक्काइस जना व्यक्ति - सदस्य (ग) उपसचिव (कानून), मन्त्रालय - सदस्य (घ) उपसचिव, परराष्ट्र मन्त्रालय - सदस्य (ङ) उपसचिव, अर्थ मन्त्रालय - सदस्य (च) समितिको सचिवालय हेर्ने मन्त्रालयको उपसचिव - सदस्य-सचिव
(२) अध्यक्ष र उपदफा (१) को खण्ड (ख) बमोजिमको सदस्यको पदावधि दुई वर्षको हुनेछ। (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्ष वा सदस्यले समितिको हित विपरीत कुनै काम गरेमा, पद अनुरूपको आचरण नगरेमा वा निजको कार्यसम्पादन सन्तोषजनक नभएमा मन्त्रालयले त्यस्तो अध्यक्ष वा सदस्यलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ। (४) उपदफा (३) बमोजिम अध्यक्ष वा सदस्यलाई पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।
४. अध्यक्ष तथा सदस्यको योग्यताः अध्यक्ष र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिमको सदस्य हुनको लागि देहायको योग्यता हुनु पर्नेछ:- (क) नेपाली नागरिक, (ख) कम्तीमा पच्चिस वर्ष उमेर पूरा भएको, (ग) भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागू औषध बिक्री वितरण वा ओसारपसार, राहदानी दुरूपयोग, जबरजस्ती करणी वा नैतिक पतन देखिने अन्य फौजदारी अभियोगमा अदालतबाट दोषी ठहर नभएको, (घ) प्रचलित कानून बमोजिम कालोसूचीमा परेको भएमा त्यस्तो सूचीबाट फुकुवा भएको तीन वर्षको अवधि पूरा भएको।
५. पद रिक्त हुने अवस्था: अध्यक्ष र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिमको सदस्यको पदावधि देहायको अवस्थामा रिक्त भएको मानिनेछ:- (क) निजले मन्त्रालय सहित लिखित राजीनामा दिएमा, (ख) दफा ४ बमोजिमको योग्यता नरहेमा, (ग) कुनै विदेशी मुलुकको नागरिकता वा स्थायी आवासीय अनुमति लिएमा, (घ) बिना सूचना समितिको तीनवटा बैठकमा लगातार अनुपस्थित भएमा, (ङ) कुनै सार्वजनिक जवाफदेहीको पदमा उम्मेदवार भएमा,
(च) दफा ३ को उपदफा (३) बमोजिम पदबाट हटाइएमा, वा (छ) निजको मृत्यु भएमा।
६. समितिको बैठक र निर्णय: (१) समितिको बैठक वर्षको बढीमा छ पटक बस्नेछ। (२) अध्यक्षको परामर्शमा सदस्य-सचिवले बैठक बस्ने मिति, समय, स्थान र बैठकमा छलफल हुने विषयको सूची सहितको सूचना कम्तीमा अठ्तालीस घण्टा अगावै सबै सदस्यलाई पठाई समितिको बैठक बोलाउनेछ। (३) समितिका एक तिहाइ सदस्यले कुनै खास विषयमा छलफल गर्न आवश्यक ठानी कारण सहित बैठक बस्न लिखित रूपमा माग गरेमा अध्यक्षले पन्ध्र दिनभित्र बैठक बोलाउने गरी सदस्य-सचिवलाई जानकारी दिनु पर्नेछ। (४) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निज कुनै कारणले उपस्थित हुन नसक्ने भएमा मन्त्रालयले तोकेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ। (५) समितिको कुल सदस्य सङ्ख्याको कम्तीमा एकाउन्न प्रतिशत सदस्य उपस्थित भएमा बैठकको लागि गणपुरक सङ्ख्या पुगेको मानिनेछ। (६) समितिको बैठकमा उपस्थित सदस्यको बहुमतको निर्णय समितिको निर्णय मानिनेछ। (७) समितिको बैठकमा मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ। (८) अध्यक्षले समितिको बैठकमा आवश्यकता अनुसार नेपाली मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने सङ्घीय संसदका सदस्य, मुस्लिम आयोगका पदाधिकारी तथा अरबी भाषा विज्ञलाई आमन्त्रण गर्न सक्नेछ। (९) समितिको बैठकको निर्णय अध्यक्ष र सदस्य-सचिवद्वारा प्रमाणित हुनेछ। (१०) समितिको बैठकसम्बन्धी अन्य कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।
७. समितिको काम, कर्तव्य र अधिकार: यस आदेशमा अन्यत्र उल्लेखित काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) हज सम्बन्धी आवश्यक सूचनाको सङ्कलन गर्ने, (ख) हजको लागि कार्य योजना बनाउने र सोको कार्यान्वयन गर्ने, (ग) हज यात्रीको कोटा निर्धारण गर्ने, (घ) साउदी अरब सरकारसँग यात्रा व्यवस्थापनको लागि प्रत्येक वर्ष गर्नुपर्ने हज सम्बन्धी सम्झौता सम्पन्न गर्न आवश्यक कार्य गर्ने गराउने, (ङ) हज यात्राको लागि सूचना आह्वान गर्ने,
(च) हज यात्रामा लाग्ने कुल खर्च यकीन गर्ने र यसको प्रचारप्रसार राष्ट्रिय स्तरमा गरी आवेदन फाराम सङ्कलन गर्ने, (छ) हज यात्रीबाट हज बापत लाग्ने रकम सङ्कलन गर्ने र सोको विवरण सहितको जानकारी सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई गराउने, (ज) हज यात्राको लागि इच्छुक रहेका मुस्लिम समुदायका व्यक्तिहरुबाट प्राप्त निवेदन र कोटाको आधारमा हज यात्रीको छनौट गर्ने, (झ) हज यात्रीको प्रवेशाज्ञा, हवाई टिकट र साउदी अरबको मक्का मदिनामा आवासको व्यवस्था मिलाउन आवश्यक सहयोग गर्ने, (ञ) हज यात्रामा चिकित्सक सहितको टोली समावेश गर्ने, (ट) आवश्यकता अनुसार हज यात्रीको रेखदेख र व्यवस्थापनको लागि प्रतिनिधि पठाउने, (ठ) हज यात्रा सहज बनाउन आवश्यक अभिमुखीकरण, गोष्ठी वा तालिम सञ्चालन गर्ने र जानकारीमूलक सामग्री प्रकाशन गर्ने, (ड) हज यात्रीको प्रस्थानको समयमा स्वास्थ्य जाँच, खोप र विदेशी मुद्रा सटही सम्बन्धमा आवश्यक सहयोग र समन्वय गर्ने, (ढ) हज गृह निर्माण सम्बन्धी कार्य गर्ने, (ण) हज यात्रा सम्बन्धी आचारसंहिता तयार गरी लागू गर्ने, (त) हज यात्रा सम्बन्धी कामलाई व्यवस्थित बनाउन आवश्यक अन्य कार्य गर्ने।
८. अध्यक्षको काम, कर्तव्य र अधिकार: यस आदेशमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) समितिको बैठकको अध्यक्षता गर्ने, (ख) बैठकको निर्णय कार्यान्वयन गर्ने गराउने, (ग) समितिको काम कारबाहीको रेखदेख र नियन्त्रण गर्ने, (घ) हज यात्रीको लागि खुला प्रतिस्पर्धाद्वारा हवाई कम्पनी तथा ट्राभल्स कम्पनीसँग टिकट खरिद सम्झौता गर्ने, (ङ) हज यात्रीको लागि साउदी अरबको जेद्दास्थित नेपाली कन्सुलेट जनरलसँगको समन्वयमा मक्का मदिनामा घरधनीसँग सम्झौता गरी आवास व्यवस्थापन गर्ने, (च) हज यात्रीको लागि प्रवेशाज्ञा स्वीकृत गराउने, (छ) सरकारी तथा गैर सरकारी निकायमा समितिको तर्फबाट प्रतिनिधित्व गर्ने,
(ज) नेपाली राजदूतावास, रियाद र नेपाली कन्सुलेट जनरल, जेद्दासँग समन्वय गर्ने, (झ) समितिले बनाएको आचारसंहिताको परिपालना गर्ने, गराउने, (ञ) नेपाल सरकारबाट प्राप्त अनुदान रकमको कार्यक्रम तयार गरी स्वीकृतिको लागि मन्त्रालयमा पठाउने।
९. सदस्य-सचिवको काम, कर्तव्य र अधिकार: यस आदेशमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको सदस्य-सचिवको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) समितिको प्रशासकीय प्रमुखको रुपमा काम गर्ने, (ख) समितिको बैठकका प्रशासनिक अभिलेख सुरक्षित गरी राख्ने, (ग) अध्यक्षको परामर्शमा रही समितिको कार्य सञ्चालन गर्ने, (घ) समितिको निर्णय र प्रचलित कानूनको अधीनमा रही समितिमा प्राप्त रकमको सञ्चालन र आर्थिक कारोबार गर्ने, (ङ) समितिको बैठकको निर्णय कार्यान्वयन गर्ने, गराउने, (च) समितिको कागजात जिम्मा लिने र समितिको तर्फबाट पत्राचार सम्बन्धी कार्य गर्ने, गराउने, (छ) समितिले जिम्मेवारी प्रदान गरेका अन्य कार्य गर्ने।
१०. सदस्यको काम, कर्तव्य र अधिकाराः सदस्यको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) नियमित रुपमा समितिको बैठकमा उपस्थित भई भाग लिने, (ख) हज यात्रीसँग समन्वय गरी निजलाई सहयोग गर्ने, (ग) नेपाली मुस्लिम समुदायमा हज सम्बन्धी जनचेतना अभिवृद्धिमा सहयोग गर्ने, (घ) समितिले बनाएको आचारसंहिताको परिपालना गर्ने, (ङ) अध्यक्ष तथा समितिका कर्मचारीलाई आवश्यक सहयोग र समन्वय गर्ने, (च) समितिले तोकेका अन्य कार्य गर्ने।
परिच्छेद-३ सचिवालय, हज प्रतिनिधिमण्डल र चिकित्सा टोली
११. सचिवालय तथा कर्मचारी सम्बन्धी: (१) समितिको कार्य सञ्चालनको लागि मन्त्रालयमा एक सचिवालय रहनेछ। (२) उपदफा (१) बमोजमिको सचिवालयमा मन्त्रालयले तोके बमोजिमका कर्मचारी रहनेछन्।
१२. हज प्रतिनिधि: (१) हज यात्रीको रेखदेख र व्यवस्थापनको लागि एक सय हज यात्री बराबर एक जनाका दरले मन्त्रालयका कर्मचारी, समितिका सदस्य वा सचिवालयका कर्मचारीलाई समितिले हज प्रतिनिधिको रुपमा तोक्न सक्नेछ। (२) उपदफा (१) बमोजिमको हज प्रतिनिधिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) हज यात्रीलाई सुरक्षित रुपमा लै जाने र ल्याउने काम गर्ने, (ख) हज यात्रीलाई विमानस्थलमा आगमन र प्रस्थानमा सहयोग गर्ने, (ग) हज यात्रीलाई मक्का मदिनाको तोकिएको बासस्थानमा समूह मिलाई राख्ने, (घ) हज यात्री बिरामी पर्दा औषधि उपचारमा सहयोग गर्ने, (ङ) हज यात्रीलाई मिना र अराफातमा जाँदा र बस्दा यातायातका साधन तथा टेन्टमा समूह मिलाई राख्ने व्यवस्था मिलाउने, (च) कुनै हज यात्रीले बाटो बिराएमा वा हराएमा निजको खोजतलास गर्ने, (छ) हज यात्रीलाई आवासमा ग्यास, खानेपानी र अन्य सुविधा सम्झौता बमोजिम घरधनीबाट उपलब्ध भए नभएको हेर्ने र कमी कमजोरी भए आवश्यक समन्वय गरी पूरा गराउने, (ज) हज यात्री र प्रतिनिधि भई जाने कुनै व्यक्तिको सम्बन्धमा कुनै समस्या भएमा साउदी अरबको सम्बन्धित निकाय, नेपाली राजदूतावास, रियाद तथा नेपाली कन्सुलेट जनरल, जेद्दा र हज यात्रीको परिवारसँग सम्पर्क र समन्वय गरी त्यस्तो समस्या समाधानको लागि आवश्यक व्यवस्था मिलाउने, (झ) हज यात्राको सम्बन्धमा आवश्यक पर्न अन्य सहयोग गर्ने। (३) उपदफा (१) बमोजिमको हज प्रतिनिधिले आफूले गर्नुपर्ने काममा मद्दत गर्न बाटोघाटो र वस्तुस्थिति बुझेको साउदी अरबमा अध्ययनरत नेपाली विद्यार्थीमध्येबाट आवश्यकता अनुसार स्वयंसेवक खटाउन सक्नेछ। (४) उपदफा (३) बमोजिम खटिने स्वयंसेवकले मक्का मदिनाको हज यात्राको ऐतिहासिक पृष्ठभूमि, बाटोघाटो, वस्तुस्थिति तथा धार्मिक विषयमा हज यात्रीलाई जानकारी गराउनु पर्नेछ।
१३. चिकित्सक टोली: (१) हज यात्री साउदी अरबमा रहँदा त्यस्तो यात्रीको स्वास्थ्य उपचारको लागि मन्त्रालयबाट निर्धारित हज यात्रीको सङ्ख्याको आधारमा समितिले एक जना चिकित्सक र सहयोगी खटिने गरी बढीमा चार जनासम्मको चिकित्सकको टोली खटाउन सक्नेछ। (२) उपदफा (१) बमोजिम खटिने चिकित्सकको टोलीले प्रचलित कानून बमोजिम समितिबाट हज यात्रा अवधिको दैनिक भ्रमण भत्ता पाउनेछन्।
१४. चिकित्सक टोलीको भूमिका: दफा १३ बमोजिमको चिकित्सक टोलीको भूमिका देहाय बमोजिम हुनेछ:- (क) हज यात्रीको नियमितरूपमा स्वास्थ्य परीक्षण गर्ने, (ख) विशेष परीक्षण तथा उपचार गर्नुपर्ने भएमा तत्काल हज प्रतिनिधिमण्डललाई जानकारी गराई उपचारको व्यवस्था मिलाउने, (ग) हज यात्रीलाई खानपान र सरसफाइको सम्बन्धमा विशेष ध्यान दिन सुसूचित गर्ने, (घ) हज यात्रा कार्यसम्पन्न भएपछि प्रचलित कानूनले तोकेको अवधिभित्र समिति समक्ष प्रतिवेदन पेश गर्ने।
परिच्छेद-४ समितिमा रहने रकम र लेखा तथा लेखापरीक्षण
१५. रकम सम्बन्धी व्यवस्थाः (१) समितिको नाममा देहाय बमोजिमको रकम प्राप्त हुनेछ:- (क) नेपाल सरकारबाट प्राप्त रकम, (ख) हज यात्रीबाट प्राप्त रकम, (ग) कुनै व्यक्ति वा संस्थाबाट प्राप्त रकम, (घ) विदेशी सरकार वा अन्तर्राष्ट्रिय सङ्घ वा संस्थाबाट प्राप्त रकम, (ङ) अन्य कुनै स्रोतबाट प्राप्त रकम। (२) समितिले उपदफा (१) को खण्ड (घ) बमोजिमको रकम कुनै विदेशी सरकार वा अन्तर्राष्ट्रिय सङ्घ वा संस्थाबाट प्राप्त गर्नु अघि नेपाल सरकारको अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त गर्नु पर्नेछ। (३) समितिको तर्फबाट गरिने सम्पूर्ण खर्चहरु उपदफा (१) बमोजिमको रकमबाट व्यहोरिनेछ। (४) उपदफा (१) बमोजिम समितिलाई प्राप्त हुने रकम नेपाल राष्ट्र बैङ्कबाट मान्यता प्राप्त ‘क’ श्रेणीको बैंकमा खाता खोली जम्मा गरिनेछ। (५) उपदफा (४) बमोजिमको खाता सञ्चालन समितिको सदस्य-सचिव र मन्त्रालयको लेखापालको संयुक्त दस्तखतबाट हुनेछ। (६) उपदफा (४) बमोजिमको बैंकमा जम्मा गरिएको रकमबाट प्राप्त ब्याज रकम समितिको निर्णय बमोजिम देहायका कार्यमा मात्र खर्च गर्न सकिनेछ:- (क) साउदी अरबमा रहँदा हज यात्रीको आकस्मिक स्वास्थ्य उपचार गर्न, (ख) मक्का मदिनामा सवारी साधन भाडामा लिन,
(ग) हज यात्रीको सुविधाका लागि साउदी अरबमा सवारी साधनको आवश्यक व्यवस्था गर्ने, (घ) नेपाली हज यात्रीको यात्रा सहज बनाउन राष्ट्रिय पहिचान खुल्ने सामग्री खरिद गर्ने। (७) उपदफा (४) बमोजिमको बैङ्क खातामा रहेको रकम खर्च गर्दा वा आर्थिक कारोबार सञ्चालन गर्दा नेपाल सरकारको प्रचलित ढाँचा बमोजिम गर्नु पर्नेछ।
१६. लेखा र लेखा परीक्षण: (१) समितिको लेखा नेपाल सरकारको प्रचलित लेखा प्रणाली बमोजिम राखिनेछ। (२) समितिको आर्थिक कारोबारको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ। (३) महालेखा परीक्षकबाट गरिने समितिको लेखा परीक्षण प्रतिवेदन समितिको बैठकमा पेश गरिनेछ।
परिच्छेद-५ विविध
१७. सल्लाहाकार समिति गठन गर्न सक्ने: (१) समितिले समितिका पूर्व पदाधिकारी, पूर्व राजदूत, मुस्लिम आयोगका पूर्व पदाधिकारी, मजलिस्का अध्यक्ष र इस्लाम धर्मका धर्मगुरु तथा बौद्धिक व्यक्तित्वहरूमध्येबाट बढीमा पाँच सदस्यीय सल्लाहाकार समितिको गठन गर्न सक्नेछ। (२) समितिको निर्वाचित अध्यक्ष सल्लाहाकार समितिको पदेन सदस्य हुनेछ। (३) सल्लाहाकार समितिको बैठक, सल्लाहाकार समितिका सदस्यको भूमिका तथा पदावधि र यस सम्बन्धी अन्य व्यवस्था सल्लाहाकार समितिको गठन हुँदा समितिले निर्धारण गरे बमोजिम हुनेछ।
१८. उपसमिति गठन गर्न सक्ने: (१) समितिले आफूले गर्ने कुनै काम गर्नको लागि आवश्यकता अनुसार संयोजक सहित बढीमा पाँच जनासम्म सदस्य रहेको एक उपसमिति गठन गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम गठन हुने उपसमितिको काम, कर्तव्य र अधिकार त्यस्तो उपसमिति गठन गर्दाका बशर्त समितिले निर्धारण गरे बमोजिम हुनेछ। (३) उपसमितिको बैठक वर्षमा बढीमा छ पटक बस्न सक्नेछ। (४) उपसमितिको बैठक बस्ने कार्यविधि उपसमिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।
१९. बीमा गर्नु पर्ने: (१) हज यात्रीले हज यात्रामा जाँदा वा हज यात्रीको प्रतिनिधि भई सहभागी हुने व्यक्तिले अनिवार्य रुपमा यात्रा अवधिभरको यात्रा (ट्राभल) मेडिकल बीमा गरेको हुनु पर्नेछ। (२) उपदफा (१) बमोजिमको मेडिकल बीमा नभएको व्यक्तिलाई समितिले हज यात्रामा जान वा हज प्रतिनिधिको रुपमा सहभागी गराउने छैन।
(३) हज यात्रीले गर्नु पर्ने बीमा सम्बन्धी अन्य व्यवस्था समितिले निर्धारण गरे बमोजिम हुनेछ।
२०. अध्यक्ष र सदस्यको दैनिक भ्रमण भत्ता: (१) समिति वा उपसमितिको बैठकमा सहभागी हुन आउने सदस्यले बैठक बसेको दिनको बैठक भत्ता, यातायात खर्च वा दैनिक भ्रमण भत्ता पाउनेछ। (२) अध्यक्ष वा सदस्यले समितिको कामको सिलसिलामा स्वदेश वा विदेशमा भ्रमण गर्दा मन्त्रालयको स्वीकृति लिई भ्रमण गर्नु पर्नेछ। (३) अध्यक्षले भ्रमण गर्दा राजपत्रांकित प्रथम श्रेणी सरहको र सदस्यले भ्रमण गर्दा राजपत्रांकित द्वितीय श्रेणी सरहको दैनिक भ्रमण भत्ता पाउनेछन्। (४) उपदफा (१), (२) वा (३) बमोजिमको बैठक भत्ता, यातायात खर्च वा दैनिक भ्रमण भत्ता अर्थ मन्त्रालयबाट स्वीकृत मापदण्ड बमोजिम हुनेछ।
२१. सहयोग गर्नु पर्ने: (१) समितिले हज यात्राको व्यवस्थापनमा सहयोगका लागि नेपाल सरकारका सम्बद्ध मन्त्रालय, निकाय तथा नेपाली राजदूतावास, रियाद र नेपाली कन्सुलट जनरल, जेद्दासँग अनुरोध गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम अनुरोध भई आएमा सो बमोजिम सहयोग पुर्याउनु सम्बन्धित निकायको कर्तव्य हुनेछ।
२२. हज यात्राको लागि निवेदन पेश गर्नु पर्ने: (१) समितिले सूचना प्रकाशन गरी हज यात्रामा जाने ईस्लाम धर्मवलम्बी नेपाली नागरिकबाट हज यात्राको लागि निवेदन माग गर्नु पर्नेछ। (२) उपदफा (१) बमोजिम प्रकाशित सूचनामा उल्लेखित अवधिभित्र हज यात्रामा जाने इच्छुक मुस्लिम समुदायका व्यक्तिले अनुसूची-१ बमोजिमको ढाँचामा समितिमा निवेदन पेश गर्नु पर्नेछ।
२३. अर्थ मन्त्रालयको सहमति लिनु पर्ने: समितिले यस आदेश बमोजिम कुनै काम कारबाही गर्दा नेपाल सरकारलाई थप आर्थिक दायित्व सृजना हुने भएमा त्यस्तो काम कारबाही गर्नु अघि नेपाल सरकार, अर्थ मन्त्रालयको सहमति लिनु पर्नेछ।
२४. निर्देशन पालना गर्नु पर्ने: समितिलाई मन्त्रालयले आवश्यक निर्देशन दिन सक्नेछ र सो निर्देशन पालना गर्नु समितिको कर्तव्य हुनेछ।
२५. कार्ययोजना बनाउन सक्ने: समितिले मन्त्रालयको स्वीकृति लिई हज यात्राको सम्बन्धमा कार्यसञ्चालन कार्ययोजना बनाई लागू गर्न सक्नेछ।
२६. प्रतिवेदन पेश गर्ने: (१) हज प्रतिनिधिमण्डलले हज यात्रा सम्पन्न भई नेपाल फर्केपछि प्रचलित कानूनले तोकेको अवधिभित्र कार्यप्रगति, उपलब्धि, चुनौती तथा तिनको समाधानका सम्बन्धमा अनुसूची-२ बमोजिमको ढाँचामा समिति समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ।
(२) समितिले हज यात्रा सम्पन्न भएपछि हज व्यवस्थापनको प्रगति, खर्चको विवरण, व्यवस्थापन प्रक्रियामा देखिएका समस्या, चुनौती तथा सुधार गर्नुपर्ने पक्षका सम्बन्धमा सुझाव सहित अनुसूची-३ बमोजिमको ढाँचामा मन्त्रालय समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ।
२७. खारेजी र बचाउः (१) नेपाल हज समिति कार्यविधि, २०७२ खारेज गरिएको छ। (२) उपदफा (१) बमोजिमको कार्यविधि बमोजिम भए गरेका काम कारबाही यसै आदेश बमोजिम भए गरेको मानिनेछ र नेपाल हज समिति कार्यविधि, २०७२ बमोजिम रहेका अभिलेख, कागजात तथा कोषको रकम स्वतः समितिमा सर्नेछ। (३) उपदफा (१) बमोजिम खारेज भएको कार्यविधि बमोजिम नियुक्त वा मनोनीत नेपाल हज समितिका अध्यक्ष र सदस्य यो आदेश प्रारम्भ भएपछि स्वतः पदमुक्त हुनेछन्।
अनुसूची-१ (दफा २२ को उपदफा (२) सँग सम्बन्धित)
श्रीमान् अध्यक्षज्यू, नेपाल हज समिति, काठमाण्डौ मार्फत- जिल्ला प्रशासन कार्यालय,........।
वि.सं ..... साल (ईस्वी संवत्......) मा साउदी अरबको मक्कामा हज गर्न जान इच्छुक रहेकोले त्यस समितिबाट प्रकाशित सूचना अनुसार हाल बुझाउनुपर्ने रकम रू......................... (अक्षरे रुपि ..............) दाखिला गरी देहाय बमोजिम विवरण सहित यो निवेदन पेश गरेको छु । वि.सं .... (ईस्वी संवत्.....) र त्यस भन्दा अगाडिका वर्षहरूमा हज गर्न हज समितिमा रकम जम्मा गरी जान नपाएकाहरू करिब ............... जनालाई पहिलो प्राथमिकतामा राखिएको जानकारी पाएँ। हज यात्रामा जान छनौटमा परेमा हज समितिले थप बुझाउनु पर्ने भनी यकीन गरेको रकम सूचना प्राप्त हुनासाथ जम्मा गर्नेछु। हज यात्रीको छनौट प्रक्रिया र हज यात्रा सम्बन्धी हज समितिले गर्ने निर्णयमय र निर्देशन प्रति मेरो मञ्जुरी रहनेछ।
१. यो भन्दा अगाडि हज गएको भए साल खुलाउनेः .................... साल २. निवेदकको नाम,थर (देवनागरी र अङ्ग्रेजी ठुलो अक्षरमा) नेपाली नाम (नागरिकता प्रमाणपत्र अनुसार लेख्नुहोस्): English Name (राहदानीमा उल्लेख भएको अङ्ग्रेजी नाम): ३. नागरिकताको विवरण (क) नागरिकता नं.: .................... (ख) जारी मितिः .................... (ग) जारी जिल्लाः .................... ४. राहदानी विवरण (क) राहदानी नं. .................... (ख) जारी मितिः .................... (ग) म्याद सकिने मितिः ....................
५. वैवाहिक स्थिति:($\checkmark$) लगाउने (क) ( ) विवाहित (ख) ( ) अविवाहित ६. लिङ्ग:($\checkmark$) लगाउने (क) ( ) पुरुष (ख) ( ) महिला (१५ नं.महिला मेहरमको विवरण भर्ने) (ग) ( ) अन्य ७. जन्म विवरण: इस्वी संवत् (राहदानीमा उल्लेख भएको): - साल महिना गते ८. राष्ट्रिय परिचय नम्बर (NIN). : ९. पेशा: १०. सम्पर्क विवरण: (क) मोबाइल नं.: (ख) इमेल: ११. हुलिया: १२. निवेदकको स्थायी ठेगाना: प्रदेश जिल्ला नगरपालिका/गाउँपालिका वडा नं. अस्थायी ठेगाना: प्रदेश जिल्ला नगरपालिका/गाउँपालिका वडा नं. १३. निवेदकको;- (क) बाबुको नाम, थर: (ख) आमाको नाम, थर (ग) पति/पत्नीको नाम, थर (घ) अभिभावक/संरक्षकको नाम, थर: १४. निवेदक विदेशमा रहँदा कुनै जरूरी कुरा पर्न गएमा नेपालमा खबर गर्नु पर्ने व्यक्ति: नाम,थर: प्रदेश: जिल्ला नगरपालिका/गाउँपालिका वडा नं. नाता: सम्पर्क मोबाइल/फोन नं.(अनिवार्य राख्नु होला) इमेल: १५. निवेदक महिला भए साथमा जाने मेहरमको नाम, थर: प्रदेश: जिल्ला: नगरपालिका/गाउँपालिका वडा नं. सम्पर्क नं. नाता: राहदानी नं. १६. निवेदक हिँडडुल गर्न असमर्थ भएमा साथमा जाने सहयोगीको नाम, थर: प्रदेश: जिल्ला: नगरपालिका/गाउँपालिका वडा नं. सम्पर्क नं नाता: राहदानी नं. १७. निवेदकको बैङ्क खाताको विवरण: (क) खाता रहेको बैङ्कको नाम र ठेगाना: (ख) बैङ्कको खाता नं.: (ग) बैङ्क खातामा रहेको निवेदकको नाम अङ्ग्रेजीमा (चेकको फोटोकपि अनिवार्य):
१८. आवेदन साथ अनिवार्य संलग्न राख्नु पर्ने कागजात: (क) सूचना बमोजिम पहिलो किस्ता बापत रु. ......यस समितिको खातामा दाखिला गरेको बैङ्कको सक्कल भौचर वा पुरानो आवेदकको हकमा पहिले जम्मा गरेको रकमको सक्कल भौचर र पुरानो भौचरको फोटोकपि, (ख) राहदानीको फोटोकपि, (ग) नेपाली नागरिकता प्रमाणपत्रको अगाडि पछाडि दुवै तर्फ देखिएको फोटोकपि (राष्ट्रिय परिचयपत्रको फोटोकपि भए सो समेत), (घ) महिलाको हकमा जेहरिको राहदानीको फोटोकपि, (ङ) हालसालै खिचेको पासपोट साइजको फोटो (सेतो ब्याकग्राउण्डमा खिचेको) २ प्रति, (च) आवेदकको बैङ्क खाताको चेकको फोटोकपि (श्रीमान श्रीमती दुवै आवेदक भएमा कुनै एकको भए हुने),
१९. म निम्न बुँदाहरु पालना गर्न प्रतिबद्ध रहनेछु:- (क) इस्लाम धिम अनुसार हज यात्रा गर्न मञ्जुर गर्दछु ।हजको अकामन (दफा) र व्यावहारिक कुरा बारे सचेतना लिएको छु /लिनेछु। (ख) म उपर नेपालको कानून बमोजिम फौजदारी अभियोग लागी तोकिएको सजाय वा जरिवाना भुक्तान गर्न बाँकी छैन। (ग) म हज यात्राको लागि शारीरिक एवं मानसिक रूपमा स्वस्थ रहेको घोषणा गर्दछु। (घ) चिकित्सकको प्रेश्क्रिप्सन बमोजिम नियमितरूपमा आफूले खानु पर्ने सबै औषधी हज अवधिमाको लागि पुग्ने गरी आफ्नै साथमा लै जानेछु। (ङ) यात्रा सन्दर्भमा नेपालमा रहँदा हज समितिको व्यवस्थापन पालना गर्न तयार छु । (च) आचारसंहिता पूर्ण रुपमा परिपालन गर्नेछु। (छ) नेपाल र साउदी अरब सरकारको प्रचलित कानूनको परिपालन गर्नेछु। (ज) हज यात्राको क्रममा हवाई जहाजमा आउँदा जाँदा एयरलाइन्सबाट निर्धारण गरेका व्यवस्था मान्नेछु। (झ) मक्का मदिनामा लाई कुनै असुविधा आएमा सकेसम्म आफैं समाधान गर्ने कोशिस गर्नेछु। यदि नसकेमा हज प्रतिनिधिमलाई पहिले जानकारी गराउनेछु। (ञ) हज यात्राको क्रममा मिना र अरफातमा रहँदा मोअल्लिमको व्यवस्था अनुसार चल्नेछु। (ट) हज यात्राको अवधिभर कुनै असामाजिक र अमानवीय क्रियाकलाप गर्ने छैन यदि गरेमा नेपाल हज समितिले गरेको निर्णयमान्न तयार छु ।
२०. माथि उल्लिखित विवरण साँचो हो, झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला भनी सहिछाप गर्नेः
द्रष्टव्य १. हज यात्राको फाराम बुझाउने अन्तिम मिति........ सम्म रहेको छ। २. ईस्वी संवत्........ र सो भन्दा अगाडिका वर्षमा हज गर्नका लागि आवेदन दिएका आवेदकधये हज यात्रा गर्न नपाएका र हालसम्म रकम फिर्ता नलिएका पुराना आवेदकले ईस्वी संवत्......... (हज...........) को हज गर्न जान चाहेमा निजले जिल्ला प्रशासन कार्यालयमा यो आवेदन फाराम बुझाउनु पर्नेछ। पुनः आवेदन नदिएमा हज यात्रामा समावेश गरिने छैन। ३. हज यात्राको लागि बुझाएको रकममा हज यात्रीको व्यवस्थापनका लागि नेपालभित्रको यातायात, आवास, खाना लगायतको कुनै पनि लागि समावेश गरिएको छैन। ४. हिँड्डुल गर्न असमर्थ व्यक्तिले हजमा जाँदा एक जना सहयोगी व्यक्ति अनिवार्य साथमा लै जानु पर्नेछ।
अनुसूची-२ (दफा २६ को उपदफा (१) सँग सम्बन्धित) समितिमा पेश गर्ने प्रतिवेदनको ढाँचा
ईस्वी संवत् ............(हज...........) को हज प्रतिनिधिको प्रतिवेदन
१. हज प्रतिनिधिको रुपमा आफ्नो मनोनयनाः २. हज प्रतिनिधिको सदस्यको रुपमा कायम जिम्मेवारीः ३. नेपालमा सम्पादन गरेका मुख्य मुख्य कार्य: ४. साउदी अरबमा सम्पादन गरेका मुख्य कार्य: ५. उपलब्धि : ६. चुनौती: ७. समस्या: ८. समस्या समाधान गर्न स्थलगत रुपमा गरिएका प्रयास: ९. स्थलगतरूपमा समाधान गर्न नसकिएका समस्या: १०. समाधानका उपाय: ११. सुझाव: १२. तस्बिर:
प्रतिवेदक,-
हस्ताक्षर: नाम, थर: पद: मिति:
अनुसूची-३ (दफा २६ को उपदफा (२) सँग सम्बन्धित) मन्त्रालयमा पेश गर्ने प्रतिवेदनको ढाँचा नेपाल सरकार गृह मन्त्रालय
नेपाल हज समितिको सचिवालय, ----------, काठमाण्डौ ।
ईस्वी संवत् ............(हज...........) को हज प्रतिवेदन
(क) ईस्वी संवत् …… (हज …….) को हजको पृष्ठभूमिः (१) हजको तयारी तथा व्यवस्थापनः
(ख) हज व्यवस्थापनका मुख्य समस्या र चुनौती: (१) हज व्यवस्थापनका मुख्य समस्या:
(ग) समितिको सुझाव: (घ) तस्वीर:
(२) हज प्रतिनिधिमण्डलः (३) हज प्रतिनिधिमण्डलको सदस्यको कार्य जिम्मेवारीः (४) हज प्रतिनिधिमण्डलबाट सम्पादन भएका मुख्य मुख्य कार्य: (५) हज यात्रीबाट सङ्कलित हज शुल्कको विषयगत खर्च विवरणः (२) हज व्यवस्थापनका चुनौती: (३) समस्या समाधानको लागि गरिएका प्रयास: (४) समाधान गर्न नसकिएका समस्या : (५) समाधानका उपाय : (६) सुधार गर्नु पर्ने क्षेत्र : प्रतिवेदक: हस्ताक्षर: नाम, थर: पद: अध्यक्ष नेपाल हज समिति मिति: