नेपाल राजपत्रमा प्रकाशित मिति २०८२।०३।३०
सं वत् २०८२ सालको ऐन नं. ०५ राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना: आर्थिक वर्ष २०८२/८३ को निमित्त नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न नेपाल सरकारले राष्ट्र ऋण उठाउने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, संघीय संसद्ले यो ऐन बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम "राष्ट्र ऋण उठाउने ऐन, २०८२" रहेको छ। (२) यो ऐन सं वत् २०८२ साल साउन १ गतेदेखि प्रारम्भ हुनेछ।
२. राष्ट्र ऋण उठाउने अधिकार: (१) आर्थिक वर्ष २०८२/८३ को निमित्त नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को अन्तमा अधिवर्षण बापत तिर्न बाँकी रकम र अन्य तिर्न बाँकी रकममा रु. ३,६२,००,००,००,०००।- (अक्षरेपी तीन वर्ष बैसठ्ठी अर्ब) मा नबढ्ने गरी राष्ट्र ऋण उठाउन सक्नेछ। तर त्यसरी उठाइने राष्ट्र ऋण रकममा नेपाल सरकारले प्रचलित कानूनबमोजिम लिन पाउने अधिवर्षण रकम समावेश हुने छैन। (२) नेपाल सरकारले नेपाल राष्ट्र बैंकलाई आर्थिक वर्ष २०८२/८३ सम्मको तिर्न बाँकी अधिवर्षणलाई ट्रेजरी बिलमा परिणत गर्न सो बैङ्कलाई स्वीकृति दिन सक्नेछ। (३) यस दफा बमोजिम उठाइएको राष्ट्र ऋणको साँवा ब्याज भुक्तानी गर्ने अवधि र सो ऋणको ब्याजको दर सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ बमोजिम हुनेछ।