क्यासिनो नियमावली, २०८२
नेपाल राजपत्रमा प्रकाशित मिति २०८२।०३।३०
पर्यटन ऐन, २०३५ को दफा ५६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरुको नाम “क्यासिनो नियमावली, २०८२” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “इजाजतपत्र” भन्नाले ऐनको दफा ४५ ज. बमोजिम क्यासिनो सञ्चालनको लागि दिइने इजाजतपत्र सम्झनु पर्छ। (ख) “ऐन” भन्नाले पर्यटन ऐन, २०३५ सम्झनु पर्छ। (ग) “क्यासिनो स्थल” भन्नाले इजाजतपत्रमा उल्लेखित होटल वा रिसोर्ट परिसरमा क्यासिनो सञ्चालनको लागि निर्धारण गरिएको स्थान सम्झनु पर्छ। (घ) “खेलाडी” भन्नाले क्यासिनो खेल्ने व्यक्ति सम्झनु पर्छ। (ङ) “ठुलो क्यासिनो” भन्नाले हातले तास, चिप्स वा क्वाइनको वितरण गरी डिलर वा स्पिनरको सहयोगमा मेशिनलाई हातैले घुमाएर खेलिने खेल र आधुनिक मेशिन वा विद्युतीय उपकरणको माध्यमबाट खेलिने खेल दुवैको व्यवस्था भएको क्यासिनो सम्झनु पर्छ। (च) “मन्त्रालय” भन्नाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्झनु पर्छ। (छ) “महानिर्देशक” भन्नाले विभागको महानिर्देशक सम्झनु पर्छ। (ज) “वित्तीय जानकारी इकाई” भन्नाले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिमको वित्तीय जानकारी इकाई सम्झनु पर्छ। (झ) “सानो क्यासिनो” भन्नाले आधुनिक मेशिन वा विद्युतीय उपकरणको माध्यमबाट मात्र खेल खेलाइने क्यासिनो सम्झनु पर्छ।
(ञ) “होटल वा रिसोर्ट परिसर” भन्नाले होटल वा रिसोर्टको स्वामित्वमा रहेको भवन र सो भवनले चखेको जग्गा वा लगापात भन्नु पर्छ र सो शब्दले होटल वा रिसोर्टको भोगधिकारमा रहेको जुनसुकै भवन, जग्गा वा लगापातलाई समेत जनाउँछ।
परिच्छेद-२ कम्पनी संस्थापना र पूर्वस्वीकृति
३. चुक्ता पूँजी कायम गर्नु पर्नेः (१) क्यासिनो सञ्चालन गर्न चाहने व्यक्तिले ऐनको दफा ४५ङ. बमोजिम कम्पनी संस्थापना गर्दा देहायको चुक्ता पूँजी कायम गर्नु पर्नेछः- (क) ठुलो क्यासिनोको लागि कम्तिमा तिस करोड रुपैयाँ, र (ख) सानो क्यासिनोको लागि कम्तिमा सबि करोड रुपैयाँ। (२) यो नियमावली प्रारम्भ हुँदाका बखत प्रचलित कानून बमोजिम इजाजतपत्र प्राप्त गरी क्यासिनो सञ्चालन गरिरहेको कम्पनीले उपनियम (१) बमोजिमको चुक्ता पूँजी कायम गरेको नभएमा वि.सं २०८५ साल चैत मसान्तभित्र त्यस्तो चुक्ता पूँजी कायम गर्नु पर्नेछ।
४. पूर्वस्वीकृति लिनु पर्नेः (१) ऐनको दफा ४५च. बमोजिम पूर्वस्वीकृति लिन चाहने व्यक्तिले देहायको कागजात र विवरण संलग्न गरी दिहजार रुपैयाँ दस्तुर सहित अनुसूची-१ बमोजिमको ढाँचामा विभागमा निवेदन दिनु पर्नेछः- (क) चार तारा वा सोभन्दा माथिल्लो स्तरको होटल वा रिसोर्ट ले आफ्नो होटल वा रिसोर्ट परिसरमा क्यासिनो सञ्चालन गर्न दिएको लिखित सहमति, (ख) प्रस्तावित कम्पनीको प्रबन्धपत्र र नियमावली, (ग) प्रत्येक सञ्चालकले लिन कबुल गरेको शेयर संख्या र त्यस्तो शेयर बापतको रकम खुलाइएको विवरण, (घ) प्रस्तावित कम्पनीको प्रत्येक सञ्चालकको नागरिकताको प्रमाणपत्र, राहदानी वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि सहित व्यक्तिगत विवरण, (ङ) ऐनको दफा ४५छ. को उपदफा (१) को खण्ड (ङ) बमोजिमको अवस्था विद्यमान नरहेको भनी प्रस्तावित कम्पनीको प्रत्येक सञ्चालकले गरेको स्वघोषणा, (च) अनुसूची-२ बमोजिमको ढाँचामा सम्भाव्यता अध्ययन प्रतिवेदन,
(छ) अनुसूची-३ बमोजिमको ढाँचामा आर्थिक तथा प्राविधिक प्रस्ताव, (ज) दफा ४५छ. को उपदफा (२) बमोजिम अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट पाँच किलोमिटरको दूरीभित्र क्यासिनो सञ्चालन गर्नको लागि देहायको सुरक्षा मापदण्ड पूरा गरेको प्रमाणित हुने कागजात:- (१) सुरक्षा योजना सहित अन्तर्राष्ट्रिय सीमा सुरक्षाको मूल्याङ्कन गरी प्रचलित कानून बमोजिमको जिल्ला सुरक्षा समितिले क्यासिनो सञ्चालनको लागि गरेको सिफारिस, (२) क्यासिनो स्थलमा कम्तीमा सबि जना तालिम प्राप्त सुरक्षाकर्मीको व्यवस्था।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा आवश्यक विवरण तथा कागजात पेश गरेको पाइएमा विभागले क्यासिनो सञ्चालनको लागि तयार गर्नु पर्ने पूर्वाधार तथा शर्त तोकी निवेदकलाई अनुसूची-४ बमोजिमको ढाँचामा पूर्वस्वीकृति दिनेछ।
५. पूर्वस्वीकृति नदिइनेः नियम ४ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै अवस्था विद्यमान भएमा क्यासिनो सञ्चालन गर्ने कम्पनी स्थापनाको लागि विभागले पूर्वस्वीकृति दिने छैनः- (क) ऐनको दफा ४५छ. को उपदफा (१) बमोजिमको कुनै अवस्था विद्यमान भएमा, (ख) प्रस्तावित कम्पनीको कुनै सञ्चालकको उमेर अठार वर्ष पूरा नभएको देखिएमा, (ग) नियम ३ बमोजिमको चुक्ता पूँजी नभएमा, (घ) नियम ४ को उपनियम (१) बमोजिमको दस्तुर, कागजात र विवरण पेश नगरेमा, (ङ) एउटै होटल वा रिसोर्ट परिसरमा एकभन्दा बढी क्यासिनो सञ्चालन गर्न प्रस्ताव गरेमा, (च) अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट पाँच किलोमिटरको दूरीभित्र क्यासिनो सञ्चालन गर्नको लागि नियम ४ को उपनियम (१) को खण्ड (ज) बमोजिमको सुरक्षा मापदण्ड पूरा गरेको नदेखिएमा।
परिच्छेद-३ इजाजतपत्र र नवीकरण
६. पूर्वाधार तथा योग्यता (फिट एण्ड प्रपर टेस्ट) सम्बन्धी सर्त पूरा गर्नेः (१) विभागको पूर्वस्वीकृति लिई संस्थापना भएको कम्पनीले इजाजतपत्रको लागि विभागमा निवेदन दिनु अघि देहायबमोजिमको पूर्वाधार तथा योग्यता (फिट एण्ड प्रपर टेस्ट) सम्बन्धी सर्त पूरा भएको हुनु पर्नेछः-
(क) पूर्वस्वीकृति लिई संस्थापना भएको कम्पनीको हकमा,- (१) चोरी वा टगी हुन नदिनका लागि निगरानी गर्ने विद्युतीय पूर्वाधार निर्माण भएको, (२) हानी नोक्सानीको अभिलेख तथा आन्तरिक र बाह्य नियन्त्रण प्रणालीको व्यवस्था भएको, (३) कम्तीमा चालीस हर्स पावर भएको अग्नि नियन्त्रण प्रणालीको व्यवस्था भएको, (४) सि.सि.टि.भी. क्यामेराको फुटेजको अभिलेख छ महिनासम्म भण्डारण गर्न सक्ने र त्यस्तो अभिलेखको सुरक्षा गर्न छुट्टै कपाको व्यवस्था भएको, (५) क्यासिनोमा अनुशासन कायम गर्न र भिड व्यवस्थापन गर्न कम्तीमा पाँच जना तालिम प्राप्त दक्ष सुरक्षाकर्मीको व्यवस्था भएको, तर अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट पाँच किलोमिटरको दूरीभित्र क्यासिनो सञ्चालन गर्नका लागि कम्तीमा बिस जना तालिम प्राप्त दक्ष सुरक्षाकर्मीको व्यवस्था गर्नु पर्नेछ। (६) वाक थ्रु गेट, मेटल डिटेक्टर, परिचयपत्र र सुरक्षित स्वचालित ढोकाको व्यवस्था भएको, (७) ग्राहक पहिचान प्रणाली (के.वाइ.सी.) र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण सम्बन्धी प्रचलित कानून बमोजिम पेस गर्नु पर्ने प्रतिवेदन पेस गर्ने प्रणालीको व्यवस्था भएको,
(८) क्यासिनो सञ्चालनको लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयले सिफारिस गरेको, (९) क्यासिनो स्थलमा खेलिने प्रत्येक खेलको क्यासिनो हलभित्र चौबीसै घण्टा सि.सि.टि.भी. क्यामेराबाट लाइभ फिड प्रसारणको व्यवस्था भएको, (१०) क्यासिनो स्थलमा प्रवेश गर्ने व्यक्तिको मेटल, फेस, रेटिना वा थम्ब स्क्यानिङ्ग वा अन्य विशिष्टबाट सुरक्षा जाँच गर्ने बायोमेट्रिक प्रणालीको व्यवस्था भएको, (११) क्यासिनो स्थलमा प्रवेश गर्ने व्यक्तिको आधुनिक प्रविधि मार्फत अभिलेख राख्ने प्रणालीको व्यवस्था भएको, (१२) नक्कली नोट पहिचान र नोट गणना गर्ने मेशिनको व्यवस्था भएको, (१३) आकस्मिक विपद् प्रतिकार्य योजनाको सुनिश्चितता सहित आपतकालीन समयमा क्यासिनो स्थलबाट बाहिरिने आपतकालीन ढोकाको व्यवस्था भएको, (१४) आफ्नै स्वामित्वमा कम्तीमा पाँच वटा चार पाङ्ग्रे सवारी साधन रहेको र आवश्यकता अनुसार सवारी साधन भाडामा लिन सक्ने गरी ट्राभल एजेन्सीसँग सम्झौता गरेको, (१५) प्राथमिक उपचारको लागि स्वास्थ्यकर्मीको व्यवस्था भएको, (१६) सांस्कृतिक कार्यक्रमको लागि उपयुक्त मञ्च र कलाकारको व्यवस्था भएको, (१७) अन्तर्राष्ट्रिय अभ्यास बमोजिम क्यासिनो स्थलको सजावट गरेको, (१८) खेलाडी र क्यासिनोसँग सम्बन्धित कर्मचारी क्यासिनो स्थलमा प्रवेश गर्न र बाहिर निस्कनको लागि छुट्टाछुट्टै मार्ग तथा ढोकाको व्यवस्था भएको।
(ख) क्यासिनो सञ्चालन हुने चार तारा वा सो भन्दा माथिल्लो स्तरको होटल वा रिसोर्टको हकमा प्रचलित कानून बमोजिम निर्धारित मापदण्ड पूरा भएको।
(२) अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट पाँच किलोमिटरको दूरीभित्र क्यासिनो सञ्चालन गर्न विभागको पूर्वस्वीकृति लिई संस्थापना भएको कम्पनीले इजाजतपत्रको लागि निवेदन दिनु अघि उपनियम (१) बमोजिमको सर्तको अतिरिक्त नियम ४ को उपनियम (१) को खण्ड (ज) बमोजिमको सुरक्षा मापदण्ड समेत पूरा गर्नुपर्नेछ।
(३) उपनियम (१) र (२) बमोजिमको सर्त र मापदण्ड पूरा भए भएमा सम्बन्धमा स्थलगत अनुगमन तथा सुपरिवेक्षण गर्नको लागि सम्बन्धित कम्पनीले विभागमा निवेदन दिन सक्नेछ।
(४) ऐनको दफा ४५ञ. को उपदफा (९) बमोजिम अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट पाँच किलोमिटरको दूरी कायम गर्ने गरी क्यासिनो स्थानान्तरण गर्ने भएमा सम्बन्धित कम्पनीले त्यस्तो स्थलको स्थलगत अनुगमन तथा सुपरिवेक्षण गर्नको लागि विभागमा निवेदन दिनु पर्नेछ।
(५) उपनियम (३) वा (४) बमोजिम निवेदन दिने कम्पनीले उपनियम (१) वा (२) बमोजिमको सर्त वा मापदण्ड पूरा गरे नगरेको सम्बन्धमा स्थलगत अनुगमन तथा सुपरिवेक्षण गर्न विभागले कुनै कर्मचारी वा अनुगमन टोली खटाउन सक्नेछ।
(६) उपनियम (५) बमोजिम खटाइएको कर्मचारी वा अनुगमन टोलीले अनुगमन तथा सुपरिवेक्षण गर्दा कुनै सर्त वा मापदण्ड पूरा गरेको नदेखेमा सम्बन्धित कम्पनीलाई आवश्यक निर्देशन दिन सक्नेछ।
७. इजाजतपत्रको लागि निवेदन दिने: (१) नियम ४ बमोजिम विभागको पूर्वस्वीकृति लिई संस्थापना भएको कम्पनीले इजाजतपत्रको लागि निवेदन दस्तुर बापत ठूलो क्यासिनोको हकमा पन्ध्र लाख रुपैयाँ र सानो क्यासिनो हकमा दस लाख रुपैयाँ संलग्न गरी देहायका कागजात तथा विवरणका साथ अनुसूची-५ बमोजिमको ढाँचामा विभागमा निवेदन दिनु पर्नेछ:- (क) कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, (ख) कम्पनीको प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि, (ग) निवेदन दस्तुर बुझाएको भरपाई, (घ) नियम ४ को उपनियम (१) को खण्ड (क) बमोजिम चार तारा वा सोभन्दा माथिल्लो स्तरको होटल वा रिसोर्टले आफ्नो परिसरमा क्यासिनो सञ्चालनको लागि दिएको सहमति यथावत रहेको खुल्ने प्रमाण,
(ङ) नियम ६ को उपनियम (१) र (२) बमोजिमको सर्त र मापदण्ड पूरा गरेको खुल्ने कागजात तथा विवरण, (च) नियम ६ को उपनियम (५) बमोजिम विभागले खटाएको कर्मचारी वा अनुगमन टोलीले अनुगमन तथा सुपरिवेक्षण गरी सोही नियमको उपनियम (६) बमोजिम कुनै निर्देशन दिएको भए सोको विवरण, (छ) निवेदन दिने प्रतिनिधि नियुक्त गरेको भए सोको अख्तियारी पत्र, (ज) नियम २१ बमोजिम विदेशी कम्पनीसँग संयुक्त लगानीमा क्यासिनो सञ्चालन गर्ने भएमा विदेशी लगानी स्वीकृत भएको पत्र।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा निवेदक कम्पनीले ऐन र यस नियमावली बमोजिमको सर्त पूरा गरे नगरेको सम्बन्धमा स्थलगत अनुगमन तथा सुपरिवेक्षण गर्न विभागले कुनै कर्मचारी वा अनुगमन टोली खटाउन सक्नेछ। (३) उपनियम (२) बमोजिम खटाइएको कर्मचारी वा अनुगमन टोलीले स्थलगत अनुगमन तथा सुपरिवेक्षण गरी निवेदक कम्पनीले ऐन र यस नियमावली बमोजिमको सर्त पूरा गरे नगरेको व्यहोरा स्पष्ट खुलाई अनुसूची-६ बमोजिमको ढाँचामा विभागमा प्रतिवेदन दिनु पर्नेछ। (४) उपनियम (३) बमोजिमको प्रतिवेदनको आधारमा निवेदक कम्पनीले ऐन र यस नियमावली बमोजिमको कुनै सर्त पूरा गरेको नदेखिएमा विभागले त्यस्तो मापदण्ड र सर्त पूरा गर्न अवधि तोकी निवेदक कम्पनीलाई निर्देशन दिन सक्नेछ। (५) उपनियम (४) बमोजिम तोकिएको अवधिभित्र निवेदक कम्पनीले आवश्यक सर्त पूरा गरी इजाजतपत्रको लागि पुनः निवेदन दिन सक्नेछ। (६) उपनियम (५) बमोजिम निवेदन दिने कम्पनीले आवश्यक सर्त पूरा गरे नगरेको सम्बन्धमा पुनः अनुगमन तथा सुपरिवेक्षण गर्न विभागले उपनियम (२) बमोजिम कुनै कर्मचारी वा अनुगमन टोली खटाउन सक्नेछ। (७) उपनियम (६) बमोजिम खटाइएको कर्मचारी वा अनुगमन टोलीले पुनः स्थलगत अनुगमन तथा सुपरिवेक्षण गरी निवेदक कम्पनीले आवश्यक सर्त पूरा गरे नगरेको व्यहोरा स्पष्ट खुलाई उपनियम (३) बमोजिम विभागमा प्रतिवेदन दिनु पर्नेछ। (८) उपनियम (१) वा (५) बमोजिम पेश भएको निवेदन र उपनियम (३) वा (७) बमोजिम प्राप्त प्रतिवेदनको आधारमा निवेदक कम्पनीले ऐन र यस नियमावली बमोजिमको सर्त
पूरा गरेको देखिएमा विभागले निवेदक कम्पनीलाई इजाजतपत्रको लागि देहायको इजाजतपत्र दस्तुर, रोयलटी र जमानत दाखिला गर्न पैँतीस दिनको अवधि तोकी आदेश दिनेछः- (क) ठुलो क्यासिनोको लागि तीन करोड रुपैयाँ र सानो क्यासिनोको लागि एक करोड पच्चास लाख रुपैयाँ इजाजतपत्र दस्तुर, (ख) आर्थिक ऐनमा तोकिए बमोजिमको रोयलटी रकम, (ग) जमानत बापत वार्षिक रोयलटीको डेढ गुणाले हुने रकम वा बैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम इजाजतपत्र प्राप्त “क” वर्गको वाणिज्य बैङ्कबाट विभागको नाममा जारी भएको चौध महिना मान्य अवधि तोकिएको सो रकम बराबरको बैङ्क ग्यारेण्टी।
(९) उपनियम (८) बमोजिम इजाजत दस्तुर, रोयलटी र बैङ्क ग्यारेण्टी दाखिला गर्ने कम्पनीलाई विभागले क्यासिनो सञ्चालनको शर्त तोकी अनुसूची-७ बमोजिमको ढाँचामा इजाजतपत्र दिनेछ।
८. इजाजतपत्र नवीकरणः (१) ऐनको दफा ४५ट. बमोजिम इजाजतपत्र नवीकरणको लागि सम्बन्धित कम्पनीले देहायका कागजात र विवरण संलग्न गरी विभागमा निवेदन दिनुपर्नेछः- (क) रोयलटी चुक्ता गरेको प्रमाण, (ख) जमानत बापत रोयलटीको डेढ गुणाले हुने रकम वा बैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम इजाजतपत्र प्राप्त “क” वर्गको वाणिज्य बैङ्कबाट विभागको नाममा जारी भएको चौध महिना मान्य अवधि तोकिएको सो रकम बराबरको बैङ्क ग्यारेण्टी, (ग) अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, (घ) कम्पनीको सञ्चालक र शेयर धनीको अद्यावधिक विवरण तथा शेयर लगत, (ङ) अघिल्लो आर्थिक वर्षसम्मको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, (च) ग्राहक र कर्मचारीबाट कर बापत कट्टा गरिएको रकम राजस्व खातामा दाखिला गरेको प्रमाण, (छ) नियम २५ बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व बापत गरेको खर्चको विवरण,
(ज) क्यासिनो सञ्चालन भइरहेको होटल वा रिसोर्टको दर्ता नवीकरण अद्यावधिक भएको खुल्ने प्रमाण।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा आवश्यक कागजात र विवरण पेश गरेको देखिएमा विभागले इजाजतपत्र प्राप्त कम्पनीबाट देहायको दस्तुर लिई इजाजतपत्रको मान्य अवधि समाप्त हुनु अगावै नवीकरण गरिदिनु पर्नेछः- (क) ठूलो क्यासिनोको लागि एक करोड पचास लाख रुपैयाँ, (ख) सानो क्यासिनोको लागि पचहत्तर लाख रुपैयाँ, र (ग) दफा ४५ज. को उपदफा (५) बमोजिम एक भन्दा बढी क्यासिनो सञ्चालन गर्न चाहने कम्पनीले प्रत्येक क्यासिनो बापत खण्ड (क) वा (ख) बमोजिमको दस्तुर।
(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली प्रारम्भ हुँदाका बखत एक भन्दा बढी क्यासिनो सञ्चालन गरिरहेको कम्पनीले इजाजतपत्र नवीकरण गर्दा यस नियम बमोजिम संलग्न गर्नु पर्ने कागजात तथा विवरणका अतिरिक्त नियम ७ को उपनियम (८) को खण्ड (ख) र (ग) बमोजिमको रोयल्टी र जमानत रकम प्रत्येक क्यासिनोको लागि दाखिला गर्नु पर्नेछ।
(४) यो नियमावली प्रारम्भ हुँदाका बखत चार तारा वा सोभन्दा माथिल्लो स्तरका होटल वा रिसोर्ट परिसरमा सञ्चालित क्यासिनोले ऐन र यस नियमावली बमोजिमको मापदण्ड पूरा गरी इजाजतपत्रको अवधि समाप्त हुनुभन्दा कम्तीमा सत्त दिन अगावै नवीकरणको लागि निवेदन दिएमा यस नियम बमोजिम नवीकरण गर्न सकिनेछ।
(५) उपनियम (२) र (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा कम्पनीको इजाजतपत्र नवीकरण गरिने छैनः- (क) इजाजतपत्रमा उल्लेखित क्यासिनो खेल बाहेक अन्य खेल खेलाएको पुष्टि भएमा, (ख) क्यासिनो सञ्चालन भइरहेको होटल वा रिसोर्टको दर्ता निलम्बन, तल्लो स्तरमा वर्गीकरण वा दर्ता खारेज भएमा।
९. इजाजतपत्र खारेजीः (१) ऐनको दफा ४५ढ. बमोजिम इजाजतपत्र खारेज गर्नु अघि विभागले इजाजतपत्र प्राप्त व्यक्तिलाई आफ्नो सफाइ पेश गर्नेको लागि सात दिनको समय दिई सार्वजनिक सूचना प्रकाशन गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको अवधिमा सफाइ पेश नगरेमा वा पेश गरेको सफाइ चित्त बुझदो नभएमा विभागले ऐनको दफा ४५ढ. को उपदफा (१) बमोजिम त्यस्तो क्यासिनो सञ्चालनको इजाजतपत्र खारेज गर्न सक्नेछ।
(३) इजाजत प्राप्त कम्पनीले यस नियमावली बमोजिम तिर्नु बुझाउनु पर्ने बाँकी रोयल्टी, शुल्क, उपशुल्क, नवीकरण दस्तुर, दण्ड, जरिवाना लगायतका सरकारी बक्यौता दाखिला गरी इजाजतपत्र खारेजीको लागि निवेदन पेश गरेमा विभागले त्यस्तो कम्पनीको इजाजतपत्र खारेज गर्न सक्नेछ।
(४) उपनियम (२) वा (३) बमोजिम विभागले कुनै कम्पनीको इजाजतपत्र खारेज गरेमा सोको जानकारी कम्पनी रजिष्ट्रारको कार्यालय, सम्बन्धित आन्तरिक राजस्व कार्यालय र उद्योग विभागलाई दिनु पर्नेछ।
परिच्छेद-४ क्यासिनो व्यवस्थापन तथा सञ्चालन
१०. क्यासिनोको सञ्चालनः (१) यो नियमावली प्रारम्भ हुँदाका बखत एकभन्दा बढी क्यासिनो सञ्चालन गरिरहेको कम्पनीले ऐनको दफा ४५ज. को उपदफा (४) बमोजिम संवत् २०८२ साल असारमसान्तभित्र कुनै एक क्यासिनो मात्र सञ्चालन गर्ने विभागमा निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन दिँदा ऐनको दफा ४५ज. को उपदफा (५) बमोजिम अन्य क्यासिनो सञ्चालन गर्ने वा नगर्ने विषय खुलाउनु पर्नेछ।
(३) उपनियम (१) बमोजिम प्राप्त निवेदनको आधारमा विभागले सो उपनियम बमोजिम सञ्चालन गरिरहने क्यासिनो र ऐनको दफा ४५ज. को उपदफा (४) बमोजिम सञ्चालन गर्ने अन्य क्यासिनोको विवरण अद्यावधिक गरी अभिलेख राख्नु पर्नेछ।
(४) ऐनको दफा ४५ञ. प्रारम्भ हुँदाका बखत प्रचलित कानून बमोजिम इजाजतपत्र प्राप्त गरी अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट तीन किलोमिटरको दुरी कायम गरी क्यासिनो सञ्चालन गरिरहेको कम्पनीले संवत् २०८३ साल चैत २९ गतेभित्र नियम ६ को उपनियम (१) र (२) बमोजिमको शर्त पूरा गरी सोही स्थानमा क्यासिनो सञ्चालन तथा नवीकरण गर्न सक्नेछ।
(५) उपनियम (४) बमोजिमको शर्त पूरा नगर्ने कम्पनीले संवत् २०८३ साल चैत २९ गतेभित्र अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट पाँच किलोमिटरको दुरी कायम गरी नियम ६ को उपनियम (१) बमोजिमको शर्त पूरा गर्ने चार तारा वा सोभन्दा माथिल्लो स्तरको होटल वा रिसोर्टमा ऐनको दफा ४५ठ. बमोजिम क्यासिनो स्थानान्तरण गर्नु पर्नेछ।
११. होटल वा रिसोर्ट परिवर्तनको लागि स्वीकृति: (१) ऐनको दफा ४८ठ. बमोजिम क्यासिनो सञ्चालन गर्ने होटल वा रिसोर्ट परिवर्तन गर्न चाहने इजाजतपत्र प्राप्त कम्पनीले चारतारा वा सोभन्दा माथिल्लो स्तरको अर्को होटल वा रिसोर्टको लिखित सहमति संलग्न गरी विभागमा निवेदन दिन सक्नेछ। (२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा परिवर्तन गर्न चाहेको होटल वा रिसोर्टमा ऐन र यस नियमावली बमोजिमको शर्त र मापदण्ड पूरा भएको देखिएमा विभागले त्यस्तो होटल वा रिसोर्ट परिवर्तन गर्न स्वीकृति दिन सक्नेछ।
१२. कम्पनीले पालना गर्नु पर्ने शर्तहरु: ऐन र यस नियमावलीमा अन्यत्र उल्लिखित शर्तहरुको अतिरिक्त इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो सञ्चालन गर्दा देहायका शर्तहरु पालना गर्नु पर्नेछ:- (क) क्यासिनो सञ्चालन, व्यवस्थापन तथा कारोबार इजाजतपत्र प्राप्त कम्पनीको नामबाट गर्नु पर्ने, (ख) खेलाडीलाई ऋण वा सापटी दिई खेल खेलाउन नहुने, (ग) क्यासिनो स्थलभित्र अनैतिक, अमर्यादित वा आपराधिक क्रियाकलाप हुन नदिने, (घ) नेपाली परम्परा, संस्कृति र सामाजिक मर्यादाको प्रतिकूल हुने गरी क्यासिनो खेलाउन नहुने, (ङ) शङ्कास्पद वा अनधिकृत व्यक्ति क्यासिनो स्थलमा भेटिएमा तत्काल नेपाल प्रहरीलाई जानकारी दिनु पर्ने, (च) सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण सम्बन्धी प्रचलित कानून बमोजिम जारी भएका निर्देशन पालना गर्नु पर्ने तथा पेश गर्नु पर्ने विवरण पेश गर्नु पर्ने, (छ) क्यासिनो स्थलभित्रको गतिविधि निगरानी गर्न आवश्यक सुरक्षा प्रणाली सम्बन्धी कार्यविधि विभागबाट स्वीकृत गराई लागू गर्ने, (ज) सुरक्षा प्रणालीमा परिवर्तन गर्नु अघि विभागको स्वीकृति लिने, (झ) क्यासिनो स्थलमा प्रवेश गर्ने प्रत्येक व्यक्तिको अनुहार प्रष्ट देखिने गरी र सो स्थलभित्र खेल खेलेको गतिविधि देखिने गरी सि.सि.टि.भी. क्यामेरा जडान गर्नु पर्ने,
(ञ) खण्ड (झ) बमोजिमको सि.सि.टी.भी. क्यामेराको अभिलेख कम्तीमा छ महिना सुरक्षित राख्नु पर्ने र विभागले अनुगमनको समयमा माग गरेमा उपलब्ध गराउनु पर्ने, (ट) खेलाडीलाई उपलब्ध गराउने पानी, पेय पदार्थ तथा खानाको गुणस्तर प्रमाणीकरण गर्ने निकायबाट नियमित रुपमा परीक्षण गराई गुणस्तर कायम गर्नु पर्ने, (ठ) क्यासिनो व्यवसायको प्रवर्द्धन तथा प्रोत्साहन हुने गरी नेपालमा श्रव्य, दृश्य, छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रचार, प्रसार तथा विज्ञापन गर्न नहुने, (ड) ठूलो क्यासिनोमा कम्तीमा एक सय पचास जना र सानो क्यासिनोमा कम्तीमा पचास जना नेपाली नागरिकलाई रोजगारी दिने सुनिश्चितता हुनु पर्ने, (ढ) शान्ति सुव्यवस्थामा खलल हुने तथा सार्वजनिक हित र नैतिकता विरुद्धका कुनै क्रियाकलाप गर्न नहुने, (ण) क्यासिनो सञ्चालन गर्न इजाजतपत्रमा तोकिएको होटल वा रिसोर्ट परिसरमा मात्र क्यासिनो सञ्चालन गर्नु पर्ने, (त) नेपाली खानाका परिकारको प्रवर्द्धन गर्नु पर्ने, (थ) अनलाइन गेमिङ्गका खेलहरु खेलाउन नपाउने, (द) इजाजतपत्रमा तोकिएको सर्त पालना गर्नु पर्ने, (ध) विभाग र वित्तीय जानकारी इकाईले दिएका निर्देशन पालना गर्नु पर्ने।
१३. क्यासिनो खेल्न र क्यासिनो स्थलमा प्रवेश गर्न नपाउनेः (१) नेपाली नागरिकले क्यासिनो खेल्न र क्यासिनो स्थलमा प्रवेश गर्न नपाउनेछन्। (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको नेपाली नागरिक आफ्नो पदीय कर्तव्य पालना गर्ने सिलसिलामा क्यासिनो स्थलमा प्रवेश गर्न पाउनेछः- (क) क्यासिनो सञ्चालन गर्ने सम्बन्धित कर्मचारी, (ख) मन्त्रालय, विभाग, राजश्व अनुसन्धान विभाग, आन्तरिक राजश्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, उद्योग विभाग वा कम्पनी
रजिष्टरको कार्यालयले अनुसन्धान, अनुगमन तथा निरीक्षणमा खटाएको कर्मचारी, (ग) प्रचलित कानून बमोजिम कसुरको अनुसन्धानका लागि खटिएको कर्मचारी।
१४. क्यासिनो स्थलमा प्रवेश गर्ने व्यक्तिको अभिलेख राख्नु पर्नेः (१) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो सञ्चालनसँग सम्बन्धित कर्मचारीको देहायको कुनै एक परिचयपत्रको प्रतिलिपि सहितको अभिलेख राखी निजलाई क्यासिनो स्थलमा प्रवेश गर्नका लागि परिचयपत्र जारी गर्नु पर्नेछः- (क) नेपाली नागरिकताको प्रमाणपत्र, (ख) राष्ट्रिय परिचयपत्र, (ग) सवारी चालक अनुमतिपत्र।
(२) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो स्थलमा प्रवेश गर्ने खेलाडीको देहायको कुनै परिचयपत्रको प्रतिलिपि सहितको अभिलेख राखी निजलाई क्यासिनो स्थलमा प्रवेश गर्नका लागि एक आर्थिक वर्षको लागि बहाल रहने गरी परिचयपत्र जारी गर्न सक्नेछः- (क) नेपालमा प्रवेशाज्ञाको अवधि बाँकी रहेको राहदानी, (ख) आधार कार्ड, मतदाता परिचयपत्र र रासन कार्ड मध्ये कुनै दुई परिचयपत्र, वा (ग) सम्बन्धित राजदूतावासबाट जारी भएको परिचयपत्र।
(३) उपनियम (१) वा (२) बमोजिमको परिचयपत्रका आधारमा क्यासिनो सञ्चालनसँग सम्बन्धित कर्मचारी र खेलाडीलाई क्यासिनो स्थलमा प्रवेश अनुमति दिन सकिनेछ।
(४) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो सञ्चालनसँग सम्बन्धित कर्मचारी र खेलाडी क्यासिनो स्थलमा प्रवेश गर्दा र बाहिर निस्कँदा अभिलेखमा समय जनाएर प्रवेश गर्ने र निस्कने व्यवस्था मिलाई सो प्रयोजनको लागि छुट्टै अभिलेख राख्नु पर्नेछ।
(५) उपनियम (४) बमोजिम क्यासिनो स्थलमा प्रवेश गर्ने खेलाडीको अभिलेख अनुसूची-८ बमोजिमको ढाँचामा कम्तीमा पाँच वर्षसम्म सुरक्षित रहने गरी राख्नु पर्नेछ। त्यस्तो अभिलेख अनुगमन गर्ने निकायका पदाधिकारीले माग गरेको बखत देखाउनु पर्नेछ।
(६) उपनियम (५) बमोजिमको अभिलेखको आधारमा इजाजतपत्र प्राप्त कम्पनीले खेलाडीको राष्ट्रियता खुल्ने गरी अनुसूची-९ बमोजिमको ढाँचामा प्रतिवेदन तयार गरी इजाजतपत्र नवीकरणको लागि विभागमा निवेदन दिँदा साथै पेश गर्नु पर्नेछ।
१५. भुनानी अनुपात (पेआउट रेसियो) निर्धारण गर्नेः क्यासिनोको जीत हारको लागि मेशिन तथा उपकरणबाट हुने भुनानी अनुपात विभागले निर्धारण गरे बमोजिम हुनेछ।
१६. बाजीको सीमा (बेट लिमिट) निर्धारण गर्नेः इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनोमा खेलाडीले एक पटकमा खेल्न सक्ने अधिकतम बाजीको सीमा (बेट लिमिट) निर्धारण गर्नु पर्नेछ।
१७. क्वाइन वा चिप्सको संख्या तोक्नु पर्नेः (१) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनोमा खेल खेल्नको लागि खेलाडीले खरिद गर्न सक्ने क्वाइन वा चिप्सको अधिकतम संख्या तथा मूल्य तोक्नु पर्नेछ। (२) उपनियम (१) बमोजिम तोकिएको मूल्यको आधारमा इजाजतपत्र प्राप्त कम्पनीले खेलाडीलाई वितरण गरेको क्वाइन वा चिप्सको मूल्य बराबरको नगद मौज्दात राख्नु पर्नेछ। (३) उपनियम (२) बमोजिम नगद मौज्दात राख्नको लागि प्रचलित कानून बमोजिम नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्नेछ। (४) इजाजतपत्र प्राप्त कम्पनीले कुनै एक खेलाडीबाट खरिद गरेको क्वाइन वा चिप्स अर्को खेलाडीलाई सापटी दिन वा स्वामित्व यकिन नभएको रकम स्वीकार गरी खेल खेलाउन पाउने छैन।
१८. जितेको रकमको भुनानी सम्बन्धी व्यवस्थाः (१) इजाजतपत्र प्राप्त कम्पनीले कुनै खेलाडीलाई क्यासिनोबाट जितेको रकम भुनानी गर्नु अघि त्यस्तो खेलाडीले जितेको रकमबाट प्रचलित कानून बमोजिम लाग्ने आकस्मिक लाभाकर कट्टा गरेर मात्र रकम भुनानी दिनु पर्नेछ र त्यसरी कट्टा गरिएको आकस्मिक लाभाकर कट्टा भएकै दिन सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नु पर्नेछ। (२) उपनियम (१) बमोजिम आकस्मिक लाभाकर कट्टा गरेको प्रमाण इजाजतपत्र प्राप्त कम्पनीले खेलाडीलाई देई सोको विवरण सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा पठाउनु पर्नेछ। (३) इजाजतपत्र प्राप्त कम्पनीले यस नियम बमोजिम खेलाडीलाई भुनानी दिएको रकम र कर कट्टा गरेको रकमको अभिलेख अद्यावधिक गरी राख्नु पर्नेछ।
१९. मेशिन तथा उपकरण सम्बन्धी व्यवस्थाः (१) क्यासिनोमा प्रयोग हुने टेबुल, मेशिन, क्वाइन, चिप्स, कम्प्युटर सफ्टवेयर समेतका वस्तु तथा उपकरणहरु विभागले तोकेको मापदण्ड अनुरुपको हुनु पर्नेछ। (२) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनोको टेबुल, मेशिन, क्वाइन, चिप्स, कम्प्युटर, इलेक्ट्रोनिक्स सफ्टवेयर समेतका वस्तु तथा उपकरण सञ्चालन सम्बन्धी कार्यविधि विभागबाट स्वीकृत गराई लागू गर्नु पर्नेछ। (३) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनोमा प्रयोगको लागि आयात गरेको मेशिन र उपकरणको विवरण विभागलाई उपलब्ध गराउनु पर्नेछ। (४) उपनियम (३) बमोजिमको मेशिन वा उपकरण पुरानो भई नयाँ जडान गर्नु अघि विभागबाट पूर्वस्वीकृति लिनु पर्नेछ।
२०. सूचना पाटी तथा गुनासो पेटिकाका राख्नु पर्नेः (१) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो स्थलको प्रवेशद्वारमा नेपाली तथा अङ्ग्रेजी भाषामा देहायका विषय उल्लेख गरी सूचना पाटी राख्नु पर्नेछः- (क) इजाजतपत्र प्राप्त कम्पनीको पूरा नाम र इजाजतपत्र नम्बर, (ख) स्थायी लेखा नम्बर प्रमाणपत्र, (ग) क्यासिनो खुल्ने र बन्द हुने समय, (घ) क्यासिनोमा प्रवेश निषेध गरिएको व्यक्तिको विवरण, (ङ) क्यासिनोसहित खेलाडीलाई उपलब्ध सुविधा, (च) क्यासिनोमा खेलिने खेलहरुको विवरण, (छ) खेलाडीलाई आवश्यक पर्ने अन्य जानकारी। (२) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो स्थलको प्रवेशद्वारमा गुनासो पेटिका राख्नु पर्नेछ। (३) उपनियम (२) बमोजिमको गुनासो पेटिकामा प्राप्त गुनासोको सम्बन्धमा इजाजतपत्र प्राप्त कम्पनीले सुनुवाई गरी सोको अर्धवार्षिक प्रतिवेदन विभागमा पेश गर्नु पर्नेछ।
२१. विदेशी कम्पनीसँग संयुक्त लगानीमा क्यासिनो सञ्चालन गर्न सकिनेः (१) इजाजतपत्र प्राप्त कम्पनीले विभागको सिफारिसमा मन्त्रालयको स्वीकृति लिई विदेशी कम्पनीसँग संयुक्त लगानीमा क्यासिनो सञ्चालन गर्न सकिनेछ। (२) उपनियम (१) बमोजिम विदेशी कम्पनीसँग संयुक्त लगानी गर्दा विदेशी लगानी सम्बन्धी प्रचलित कानून बमोजिम गर्नु पर्नेछ।
परिच्छेद-५ विविध
२२. अनुगमन तथा सुपरिवेक्षण गर्ने: (१) विभागले क्यासिनो सञ्चालन सम्बन्धी काम कारबाहीको जुनसुकै बखत अनुगमन तथा सुपरिवेक्षण गर्न सक्नेछ। (२) इजाजतपत्र प्राप्त कम्पनीले ऐन तथा यस नियमावली बमोजिम कार्य सम्पादन नगरेको वा प्रचलित कानून विपरीत गैरव्यावसायिक कारोबार गरेको शङ्का लागेमा कुनै सञ्चालक, खेलाडी, क्यासिनोका कर्मचारी वा अन्य कुनै व्यक्तिले ऐनको दफा ४५ङ. बमोजिम अनुगमन तथा सुपरिवेक्षणको लागि विभागमा निवेदन दिन सक्नेछ र त्यसरी निवेदन परेमा विभागले क्यासिनोको अनुगमन तथा सुपरिवेक्षण गर्न सक्नेछ। (३) उपनियम (१) वा (२) बमोजिम अनुगमन तथा सुपरिवेक्षण गर्नको लागि विभागले कुनै कर्मचारी वा अनुगमन टोली खटाउन सक्नेछ। (४) उपनियम (३) बमोजिम खटाइएको कर्मचारी वा अनुगमन टोलीले अनुगमन तथा सुपरिवेक्षण सम्पन्न भएको सात दिनभित्र अनुसूची-१० बमोजिमको ढाँचामा आफ्नो राय सहितको प्रतिवेदन विभागमा पेश गर्नु पर्नेछ। (५) उपनियम (४) बमोजिमको प्रतिवेदनको आधारमा ऐन र यस नियमावलीमा उल्लेख भएदेखि बाहेक प्रचलित कानून विपरीतको कुनै काम वा कारोबार भएको देखिएमा विभागले अनुसन्धानको लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ।
२३. विदेशी मुद्रा कारोबारको इजाजत लिनु पर्ने: क्यासिनो सञ्चालनको लागि विदेशी मुद्राको कारोबार गर्नु पर्ने भएमा इजाजतपत्र प्राप्त कम्पनीले प्रचलित कानून बमोजिम नेपाल राष्ट्र बैंकबाट अनुमति लिई त्यस्तो कारोबार गर्न सक्नेछ।
२४. अभिलेख व्यवस्थापन: (१) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो स्थलमा खेलाडीले प्रत्येक पटक टिकी गरेको विदेशी मुद्राको कारोबार, प्रत्येक पटक खरिद गरेको क्वाइन वा चिप्सको संख्या तथा विवरण, क्यासिनो स्थल छोडी जाँदा फिर्ता गरेको क्वाइन वा चिप्सको संख्या तथा विवरण र सो बापत फिर्ता लगेको विदेशी मुद्राको यथार्थ विवरण खुल्ने गरी विभागले निर्धारण गरेको ढाँचामा अभिलेख राख्नु पर्नेछ। (२) उपनियम (१) बमोजिमको अभिलेखको प्रतिलिपि इजाजतपत्र प्राप्त कम्पनीले विभागलाई प्रत्येक महिना उपलब्ध गराउनु पर्नेछ।
(३) कुनै खेलाडीले एक व्यवसाय दिनमा पच्चीस लाख रुपैयाँ भन्दा बढीको रकम जीत वा हार हुने गरी खेलेमा वा क्यासिनो स्थलभित्र शङ्कास्पद रुपमा नगद वा अन्य कुनै प्रकारको आर्थिक कारोबार गरेको पाइएमा इजाजतपत्र प्राप्त कम्पनीले सोको लिखित जानकारी विभाग र वित्तीय जानकारी एकाइलाई तुरुन्त दिनु पर्नेछ। स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “एक व्यवसाय दिन” भन्नाले क्यासिनो स्थलभित्र प्रवेश गरेको समयले चौबीस घण्टाको अवधि सम्झनु पर्छ।
२५. संस्थागत सामाजिक उत्तरदायित्वः (१) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो सञ्चालन गर्दा प्राप्त गरेको खुद आयको दुई प्रतिशत रकम पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, खेलकुद र वातावरण संरक्षण जस्ता सामाजिक कार्यमा खर्च गर्नु पर्नेछ। (२) उपनियम (१) बमोजिम सामाजिक कार्यमा गरेको खर्चको विवरण इजाजतपत्र प्राप्त कम्पनीले अनुसूची-११ बमोजिमको ढाँचामा तयार गरी नियम ८ बमोजिम इजाजतपत्र नवीकरणको लागि निवेदन दिँदा संलग्न गर्नु पर्नेछ।
२६. कालो सूचीमा राख्नेः कुनै इजाजतपत्र प्राप्त कम्पनीले यस नियमावली विपरीत कुनै काम गरेको प्रमाणित भई कम्पनीको इजाजतपत्र खारेज भएमा त्यस्तो कम्पनीलाई बढीमा तीन वर्षसम्म कालो सूचीमा राख्नु पर्नेछ।
२७. कर्मचारीलाई तालिम दिनु पर्नेः (१) इजाजतपत्र प्राप्त कम्पनीले नयाँ भर्ना भएका कर्मचारीलाई क्यासिनो सञ्चालन, व्यवस्थापन, आन्तरिक सुरक्षा तथा क्यासिनो सञ्चालनबाट प्राप्त आय सामाजिक कार्यमा खर्च गर्ने जस्ता विषयमा कम्तीमा सात दिनको तालिम दिनु पर्नेछ। (२) इजाजतपत्र प्राप्त कम्पनीले प्रत्येक तीन वर्षमा एक पटक छनौटमा पर्ने गरी क्यासिनोमा कार्यरत कर्मचारीलाई कम्तीमा सात दिनको पुनःअभिमुखीकरण तालिम दिनु पर्नेछ। (३) उपनियम (१) र (२) बमोजिम कम्पनीले कर्मचारीलाई वार्षिक रुपमा दिएको तालिमको अभिलेख सम्बन्धी प्रतिवेदन अनुसूची-१२ बमोजिमको ढाँचामा विभागमा पेश गर्नु पर्नेछ।
२८. एकीकृत विद्युतीय प्रणालीको पूर्वाधार लागू गर्नेः विभागले यस नियमावली बमोजिम सबै क्यासिनोको सञ्चालन, नियमन, अनुगमन, सुपरिवेक्षण तथा व्यवस्थापन सम्बन्धमा एकीकृत विद्युतीय प्रणालीको पूर्वाधार तयार गरी लागू गर्न सक्नेछ।
२९. विशेषज्ञ सेवा लिन सक्ने: क्यासिनो सञ्चालनको पूर्वस्वीकृति, सञ्चालन, व्यवस्थापन, अनुगमन, सुपरिवेक्षण, एकीकृत विद्युतीय प्रणाली पूर्वाधार निर्माण तथा अन्य मापदण्ड निर्धारण गर्नको लागि विभागले प्रचलित कानून बमोजिम विशेषज्ञ सेवा लिन सक्नेछ।
३०. प्रतिवेदन दिनु पर्ने: इजाजतपत्र प्राप्त कम्पनीले प्रत्येक वर्ष साउन र माघ महिनाको सात गतेभित्र आफूले गरेको काम कारबाहीको सम्बन्धमा अनुसूची-१३ बमोजिमको ढाँचामा आर्थिकवर्षको प्रतिवेदन तयार गरी विभागमा पेश गर्नुपर्नेछ।
३१. अनुसूचीमा हेरफेर गर्न सक्ने: मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस नियमावलीको अनुसूचीमा हेरफेर गर्न सक्नेछ।
३२. खारेजी तथा बचाउ: (१) क्यासिनो नियमावली, २०७० खारेज गरिएको छ। (२) क्यासिनो नियमावली, २०७० बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।
अनुसूची -१ (नियम ४ को उपनियम (१) सँग सम्बन्धित) पूर्वस्वीकृतिको लागि दिने निवेदनको ढाँचा
श्री पर्यटन विभाग, .......................।
विषयः कम्पनी स्थापना गर्न पूर्वस्वीकृति पाउँ।
....................................... नामको ठूलो/सानो क्यासिनो संचालन गर्नको लागि कम्पनी स्थापना गर्न पूर्वस्वीकृतिको लागि क्यासिनो नियमावली, २०८२ को नियम ४ को उपनियम (१) बमोजिम देहायका विषय खुलाई निवेदन गरेको छु / छौँ।
१. प्रस्तावित कम्पनीको,- (क) नामः (ख) ठेगानाः (ग) उद्देश्यः (घ) मुख्य कार्यः (ङ) कार्यक्षेत्रः (च) दायित्वः (छ) अधिकृत पूँजीः (ज) चुक्ता पूँजीः (झ) सञ्चालक मध्ये,- (क) महिलाः ....... जना, (ख) पुरुष ..... जना, (ग) अन्य ..... जना, (घ) जम्मा ...... जना
२. प्रस्तावित कम्पनीको शेयर संरचनाः
(घ)
३. प्रस्तावित कम्पनीको सञ्चालकको विवरण:
४. प्रत्येक सञ्चालकको अन्य कम्पनीसँगको संलग्नता: (क) कम्पनीको नाम र ठेगाना: (ख) शेयर संख्या: (ग) शेयर रकम र शेयर प्रतिशत:
५. प्रत्येक सञ्चालकको देहायको विवरण: (क) कर्जा लिएको भए कर्जाको रकम र सम्बन्धित बैंकको नाम: (ख) कारोबार गर्ने बैंकको नाम र ठेगाना: (ग) आम्दानीको स्रोत: (घ) अन्य कम्पनीसँग साझेदारी गरेको भए सो सम्बन्धी विवरण: (ङ) क्यासिनो तथा होटल सञ्चालन सम्बन्धी अनुभव:
६. क्यासिनो रहने होटल वा रिसोर्टको,- (क) नाम र ठेगाना: (ख) स्तर वर्गीकरण इजाजतपत्र प्राप्त मिति: (ग) स्तर वर्गीकरण इजाजतपत्र बहाल रहने अवधि: (घ) परिसरमा कुनै क्यासिनो सञ्चालनमा रहे नरहेको:
माथि उल्लिखित व्यहोरा ठीक साँचो रहेको छ। झुट्टा ठहरे कानून बमोजिम सहुँला/बुझाउँला।
मिति : निवेदकहरुको,- हस्ताक्षर:
नाम, थर: ठेगाना: फोन नम्बर: इमेल: (प्रत्येक सञ्चालकको उपर्युक्त विवरण उल्लेख गर्ने)
संलग्न गर्नु पर्ने कागजात:- (१) निवेदन दस्तुर बापत पाँच हजार रुपैयाँ राजस्व खातामा दाखिला गरेको रसिद, (२) चार तारा वा सोभन्दा माथिल्लो स्तरको होटल वा रिसोर्टले आफ्नो होटल वा रिसोर्ट परिसरमा क्यासिनो सञ्चालन गर्न दिएको लिखित सहमति, (३) सहमति दिने होटल वा रिसोर्टको इजाजतपत्रको प्रतिलिपि र त्यस्तो होटल वा रिसोर्ट हाल सञ्चालनमा रहेको पुष्टि हुने कागजात, (४) प्रस्तावित कम्पनीको प्रबन्धपत्र र नियमावली, (५) प्रत्येक सञ्चालकको नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र वा राहदानीको प्रतिलिपि, (६) प्रत्येक सञ्चालकको स्थायी लेखा नम्बर प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र र अघिल्लो आर्थिक वर्षभमको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, (७) प्रत्येक सञ्चालकले पर्यटन ऐन, २०३५ को दफा ४५छ. को उपदफा (१) को खण्ड (ङ) बमोजिमको अवस्था विद्यमान नरहेको भनी गरेको स्वघोषणा, (८) अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट पाँच किलोमिटरको दूरीभित्र क्यासिनो सञ्चालन गर्न प्रस्ताव गरिएको भएमा क्यासिनो नियमावली, २०८२ को नियम ४ को उपनियम (१) को खण्ड (ज) बमोजिमको सुरक्षा मापदण्ड पूरा गरेको प्रमाणित हुने कागजात।
अनुसूची-२ (नियम ४ को उपनियम (१) को खण्ड (च) सँग सम्बन्धित) सम्भाव्यता अध्ययन प्रतिवेदनको ढाँचा
१. परिचय: २. कम्पनी गठन गर्नु पर्ने कारण: ३. कम्पनीको व्यावसायिक सम्भाव्यता: (क) व्यावसायिक कार्य अनुभव: (ख) स्थानीयस्तरमा रहेका होटल र पर्यटकको सुविधात्मक अवस्था: (ग) रोजगारी सिर्जनाको सम्भावना: ४. पूँजी आवश्यकता र स्रोत: (क) पूँजी र स्रोत आवश्यकताको अनुमान: (ख) आन्तरिक वा बाह्य पूँजीको स्रोत: (ग) चालु पूँजीको व्यवस्थापन: ५. बजार विश्लेषण:- (क) नजिकको बजार: (ख) टाढाको बजार: (ग) बजारको प्रतिस्पर्धाको स्तर र स्थायित्वमा रहने विश्वसनीय आधार: ६. समान किसिमका कम्पनीहरुको संख्या र सेवाका आधारमा प्रस्तावित कम्पनी स्थापना गर्नुको औचित्य: ७. जनशक्ति व्यवस्थापन योजना (स्वदेशी/विदेशी): ८. कम्पनीको विकास र विस्तारको सम्भावना: ९. सञ्चालकहरु बीचको व्यावसायिक सम्बन्ध: १०. सञ्चालकहरु थपघट हुने सम्भावना:
माथि उल्लिखित व्यहोरा ठीक ठाँसो रहेको छ। झुट्टा ठहरे कानून बमोजिम सहुँला/बुझाउँला।
मिति : निवेदकहरुको,- हस्ताक्षर: नाम, थर: ठेगाना:
फोन नम्बर: इमेल: (प्रत्येक सञ्चालकको उपर्युक्त विवरण उल्लेख गर्ने)
अनुसूची-३ (नियम ४ को उपनियम (१) को खण्ड (छ) सँग सम्बन्धित) आर्थिक तथा प्राविधिक प्रस्तावको ढाँचा
१. क्यासिनोको प्रस्तावित नाम र क्यासिनो सञ्चालन गर्ने स्थानः २. कुल लगानी रकमः ३. लगानीको स्रोतः (क) स्वदेशीः (ख) विदेशीः (ग) संयुक्तः ४. प्रक्षेपित वार्षिक पर्यटक आवागमन सङ्ख्याः ५. वार्षिक आय तथा परिवर्त्य विदेशी मुद्रा आर्जनको प्रक्षेपणः ६. राजस्वमा पुग्ने योगदानः ७. रोजगारीमा पुग्ने योगदानः ८. क्यासिनोको प्रकार तथा प्रविधिः ९. क्यासिनोमा प्रयोग गरिने मेशिन तथा उपकरणहरुको,- (क) नामः (ख) मोडेलः (ग) प्रकारः (घ) सङ्ख्याः (ङ) उत्पादक मुलुकः १०. क्यासिनो सञ्चालन गर्ने होटल वा रिसोर्टको भौतिक पूर्वाधारको अवस्थाः (क) सवारी पार्किङ्ग क्षेत्रः (ख) चमेना गृहः (ग) स्नान घरः (घ) व्यायाम स्थलः (ङ) स्पा सम्बन्धी सुविधाः (च) स्वीमिङ्ग पुलः (छ) क्यासिनो स्थलमा उपलब्ध हुन सक्ने खेलको सुविधाः
(ज) प्राथमिक स्वास्थ्य उपचारको लागि स्वास्थ्यकर्मीको व्यवस्था: (झ) सांस्कृतिक कार्यक्रम गर्ने मञ्चको व्यवस्था : (ञ) सांस्कृतिक कार्यक्रम गर्ने कलाकारको व्यवस्था: (ट) धूम्रपान गर्ने छुट्टै कोठाको व्यवस्था: ११. जनशक्तिको विवरण: (क) स्वदेशी: (ख) विदेशी: १२. संभाव्य सामाजिक क्षेत्रमा गरिने योगदानको विवरण: १३. सुरक्षा व्यवस्थापन योजना : माथि उल्लिखित व्यहोरा ठीक साँचो रहेको छ। झुट्टा ठहरे कानून बमोजिम सहुँला/बुझाउँला। मिति : निवेदकहरुको,- हस्ताक्षर: नाम, थर: ठेगाना: फोन नम्बर: इमेल: (प्रत्येक सञ्चालकको उपर्युक्त विवरण उल्लेख गर्ने) संलग्न गर्नु पर्ने कागजात:- (१) क्यासिनो स्थलको डिजाइन तथा नक्सा, (२) जग्गाधनी प्रमाण पुर्जा र अन्य सम्बन्धित कागजात, (३) बजार विश्लेषण प्रतिवेदन, (४) प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कनको अवस्था।
अनुसूची- ४ (नियम ४ को उपनियम (२) सँग सम्बन्धित पूर्वस्वीकृतिको ढाँचा
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभाग कम्पनी संस्थापनाको लागि पूर्वस्वीकृति
क्यासिनो नियमावली, २०८२ को नियम ४ को उपनियम (२) बमोजिम ................................... होटल / रिसोर्टमा ठूलो / सानो क्यासिनो सञ्चालन गर्नको लागि ................................... नामको कम्पनी संस्थापना गर्न यो पूर्वस्वीकृति दिइएको छ ।
सञ्चालकको विवरणः-
क्यासिनो सञ्चालनको लागि तयार गर्नुपर्ने पूर्वाधार तथा सर्त:- (क) (ख) (ग)
पूर्वस्वीकृति दिने अधिकारीको,- हस्ताक्षर: नामः पदः मिति:
अनुसूची-५ (नियम ७ को उपनियम (१) सँग सम्बन्धित) इजाजतपत्रको लागि दिइने निवेदनको ढाँचा
मिति:- श्री पर्यटन विभाग, .....................।
विषय : क्यासिनो सञ्चालनको इजाजतपत्र पाऊँ।
यस कम्पनीले ..................................... नामको ठूलो/सानो क्यासिनो सञ्चालन गर्न चाहेकोले क्यासिनो सञ्चालनको इजाजतपत्र पाउनको लागि देहायका विवरण खुलाई यो निवेदन गरिएको छ।
१. क्यासिनो सञ्चालन गर्ने कम्पनीको,- (क) नाम : (ख) ठेगाना : (ग) संस्थापना नम्बर र मिति : (घ) आशयपत्रको नम्बर र मिति :
२. सञ्चालकको विवरण :
३. कम्पनीको पूँजीः (क) अधिकृत पूँजीः (ख) जारी पूँजीः (ग) चुक्ता पूँजीः
४. क्यासिनो सञ्चालन हुने होटल वा रिसोर्टको,- (क) नाम : (ख) ठेगाना :
(ग) व्यवस्थापकको नाम : (घ) स्तरीकरण वरीकरण नम्बर र मिति : (ङ) नवीकरण अवधि: माथि उल्लेखित व्यहोरा ठीक साँँचो रहेको छ। झुट्टा ठहरे कानून बमोजिम सहुँला/बुझाउँला।
कम्पनीको छाप कम्पनीको तर्फबाट निवेदन दिनेको,- हस्ताक्षर: नाम, थर: मिति: फोन नम्बर: इमेल:
संलग्न गर्नु पर्ने कागजात: (१) नेपाली नागरिकताको प्रमाणपत्र वा राहदानीको प्रतिलिपि, (२) कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्धपत्र र नियमावली, (३) कम्पनी स्थापना गर्ने पूर्वस्वीकृति, (४) प्रचलित कानून बमोजिम प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन प्रस्ताव स्वीकृत गर्नु पर्ने भए त्यस्तो स्वीकृति, (५) भौतिक पूर्वाधार निर्माण भएको प्रतिवेदन, (६) सुरक्षा मापदण्ड व्यवस्थापन सम्बन्धी प्रतिवेदन, (७) होटल वा रिसोर्टले आफ्नो परिसरमा क्यासिनो सञ्चालनको लागि दिएको सहमतिपत्र, (८) विदेशी लगानीमा क्यासिनो सञ्चालन गर्ने भएमा विदेशी लगानी स्वीकृत भएको पत्र।
अनुसूची-६ नियम ७ को उपनियम (३) सँग सम्बन्धित स्थलगत अनुगमन तथा सुपरिवेक्षण प्रतिवेदनको ढाँचा
१. कम्पनीको नाम र ठेगाना: २. कम्पनी दर्ता प्रमाणपत्र नम्बर: ३. क्यासिनो सञ्चालन हुने होटल वा रिसोर्टको,- (क) नाम: (ख) ठेगाना: (ग) नवीकरणको अवस्था: (घ) क्यासिनो सञ्चालनको लागि होटल वा रिसोर्टसँग भएको सम्झौताको मान्य अवधि: (ङ) होटल वा रिसोर्टमा हाल क्यासिनो सञ्चालनमा रहेको वा नरहेको: ४. अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट क्यासिनो सञ्चालन हुने होटल वा रिसोर्टको दूरी: ५. धार्मिक, सांस्कृतिक तथा सुरक्षाको दृष्टिले संवेदनशील क्षेत्रमा पर्ने वा नपर्ने: ६. क्यासिनो स्थलको सौन्दर्यकरणको अवस्था: ७. क्यासिनोमा प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था: ८. क्यासिनोको प्रवेशद्वारमा सूचनापाटीको व्यवस्था: ९. क्यासिनोमा खेलाउन प्रस्ताव गरिएका खेलहरु: (क) (ख) १०. क्यासिनो खेलाडीलाई प्रदान गर्न प्रस्ताव गरिएको सुविधा:- (क) यातायात: (ख) बसोबास: (ग) खाना: (घ) खेलकुद: (ङ) स्पा: (च) जीम: (छ) अन्य:
११. क्यासिनोमा प्रस्तावित कर्मचारीको सङ्ख्या: (क) स्वदेशी: (ख) विदेशी: १२. अनुसूची-२ बमोजिमको सम्भाव्यता अध्ययन प्रतिवेदन बमोजिम काम कारबाही भए नभएको: १३. अनुसूची-३ बमोजिमको आर्थिक तथा प्राविधिक प्रस्तावमा उल्लेख गरे बमोजिमको व्यवस्था भए नभएको: १४. भौतिक पूर्वाधारको मापदण्ड कायम गरे नगरेको: १५. क्यासिनो नियमावली, २०८२ बमोजिमको सुरक्षा मापदण्ड पूरा गरे नगरेको: १६. स्थानीय बजारमा अन्य क्यासिनो भए वा नभएको: १७. अन्य आवश्यक कुराहरु: १८. स्थलगत अनुगमन तथा सुपरिवेक्षण गर्ने टोली वा पदाधिकारीको राय/सिफारिस: १९. अनुगमन गरेको मिति :
अनुसूची-७ (नियम ७ को उपनियम (९) सँग सम्बन्धित) इजाजतपत्रको ढाँचा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभाग क्यासिनो सञ्चालनको इजाजतपत्र
इजाजतपत्र सङ्ख्याः..........................
क्यासिनो नियमावली, २०८२ को नियम ७ को उपनियम (९) बमोजिम ................................... होटल/रिसोर्ट परिसरमा ................................... नामको ठूलो/सानो क्यासिनो सञ्चालन गर्न ...................................... कम्पनीलाई यो इजाजतपत्र दिइएको छ।
इजाजतपत्र दिने अधिकारीको,- सहीः- नामः- पदः- मितिः-
इजाजतपत्र प्राप्त कम्पनीले पर्यटन ऐन, २०३५ र क्यासिनो नियमावली, २०८२ मा उल्लिखित सर्तहरुको अतिरिक्त देहायका सर्त समेत पालना गर्नु पर्नेछः- (क) (ख)
नवीकरणको विवरण:-
अनुसूची-८ (नियम १४ को उपनियम (५) सँग सम्बन्धित) खेलाडीको अभिलेख राख्ने ढाँचा
अनुसूची-९ (नियम १४ को उपनियम (६) सँग सम्बन्धित) खेलाडीको राष्ट्रियता अनुसारको अभिलेख प्रतिवेदनको ढाँचा
अनुसूची-१० (नियम २२ को उपनियम (४) सँग सम्बन्धित) अनुगमन तथा सुपरिवेक्षण प्रतिवेदनको ढाँचा
१. इजाजतपत्र प्राप्त कम्पनीको नाम र ठेगानाः २. क्यासिनो सञ्चालन भएको होटल वा रिसोर्टको नाम, ठेगाना र नवीकरणको अवस्थाः ३. क्यासिनोको प्रवेशद्वारको सूचनापाटीको अवस्था : ४. इजाजत प्राप्त खेलको विवरणः ५. क्यासिनोमा खेलाइएका खेलहरुको विवरणः (क) (ख) ६. खेलाडीलाई प्रदान गरिएको सुविधाहरुः (क) यातायात: (ख) बसोबास: (ग) खानाः (घ) खेलकुद: (ङ) स्पाः (च) जीमः (छ) अन्यः ७. भुतानी वा कारोबार प्रक्रियाः- (क) क्वाइन वा चिप्स खरिद गर्दाको मुद्राको किसिमः (ख) जित्ने व्यक्तिलाई जितेको भुतानी दिएको मुद्राको किसिम र भुतानी प्रकृयाः ८. क्यासिनोको समग्र सुरक्षा व्यवस्था (आन्तरिक तथा अपराधिक क्रियाकलाप नियन्त्रण सम्बन्धी): ९. सम्पत्ति शुद्धीकरण निवारणको लागि अपनाइएका संस्थागत, प्रक्रियागत तथा अन्य व्यवस्थाः १०. इजाजतपत्र नवीकरण भए वा नभएकोः ११. क्यासिनो खुल्ने र बन्द हुने समय समेत खुलाई प्रवेशद्वारमा सूचना पाटी राखे वा नराखेकोः १२. रोयलटी रकम तिरे वा नतिरेको विवरणः
१३. क्यासिनो स्थलमा प्रवेश गर्ने व्यक्तिको परिचय खुल्ने अभिलेख राखे वा नराखेको तथा प्रवेश सम्बन्धी अन्य प्रक्रिया पूरा गरे नगरेको: १४. इजाजतपत्र प्राप्त व्यक्तिले पालना गर्नु पर्ने सर्तहरु पालना गरे वा नगरेको: (सर्त पालना नगरेको भए कुन कुन सर्तहरु पालना नगरेको हो सो खुलाउनु पर्ने) १५. क्वाइन वा चिपको उचित प्रयोग भए वा नभएको: १६. असम्बन्धित व्यक्ति क्यासिनो स्थलमा प्रवेश गर्ने गरेको वा नगरेको: १७. प्रयोग गरिएका मेशिन, उपकरण र अन्य सामान गुणस्तरीय भए वा नभएको: १८. समय समयमा बुझाउनु पर्ने प्रतिवेदन बुझाए वा नबुझाएको: १९. क्यासिनोमा कार्यरत कर्मचारीको तालिम सम्बन्धी विवरण र संख्या: २०. क्यासिनो स्थलमा भौतिक पूर्वाधारको अवस्था: २१. क्यासिनो स्थलको सौन्दर्यकरणको अवस्था: २२. क्यासिनो स्थलमा सुरक्षा मापदण्डको व्यवस्थापन: २३. क्यासिनो स्थलमा गुनासो सुनुवाइको व्यवस्था: २४. संस्थागत सामाजिक उत्तरदायित्व बापत भएको खर्चको स्थलगत परीक्षण सम्बन्धी विवरण: २५. क्यासिनो सञ्चालन भएको होटल वा लक्जरी रिसोर्टको,- (क) नाम: (ख) ठेगाना: (ग) नवीकरणको अवस्था: (घ) होटलिङ्ग गरेको करार सम्झौताको अवधि: २६. क्यासिनो स्थलमा देखिएका समस्याहरु: (क) (ख) २७. समस्या समाधानका लागि सुझावहरु:- (क) (ख) २८. अन्य आवश्यक कुराहरु:- २९. समितिको राय/सुझाव:-
प्रतिवेदन पेश गर्नेको:- हस्ताक्षर - नाम, थर:- पद: मिति :
अनुसूची-११ (नियम २५ को उपनियम (२) सँग सम्बन्धित) सामाजिक उत्तरदायित्वमा भएको खर्चको वार्षिक प्रतिवेदन
१. कम्पनी र क्यासिनोको नामः २. कम्पनीले क्यासिनो सञ्चालनबाट प्राप्त गरेको खुद आय (Net Profit) रु ........... (अक्षरेपी .....................) ३. खुद आयको दुई प्रतिशतले हुने रकम रु..........(अक्षरेपी ...................) ४. सामाजिक उत्तरदायित्वमा भएको खर्चः-
अनुसूची-१२ (नियम २७ को उपनियम (३) सँग सम्बन्धित) कर्मचारीलाई दिइएको तालिम सम्बन्धी प्रतिवेदनको ढाँचा
१. क्यासिनोको नामः २. क्यासिनोमा कार्यरत कर्मचारी सङ्ख्याः ३. गत आर्थिक वर्षमा तालिम दिइएको कर्मचारी सङ्ख्याः ४. तालिम प्रदान गरिएका कर्मचारीको विवरणः
अनुसूची-१३ (नियम ३० सँग सम्बन्धित) इजाजतपत्र प्राप्त कम्पनीले पेस गर्ने अर्धवार्षिक प्रतिवेदन
१. प्रतिवेदनको अवधि: मिति ...................... देखि ................... सम्म २. कम्पनीको नाम र कम्पनी दर्ता प्रमाणपत्र नम्बर: ३. क्यासिनोको नाम: ४. खेलाडी पर्यटक आवागमन सङ्ख्या र आय विवरण:-
५. क्यासिनोमा खेलाइने खेलहरू:- (क) (ख) (ग) ६. क्यासिनो खेलाडीलाई प्रदान गरिने सुविधा:- (क) यातायात: (ख) बसोबास व्यवस्था: (ग) खाना: (घ) खेलकुद: (ङ) स्पा: (च) जीम: (छ) अन्य: ७. प्रतिवेदन अवधिमा रोयल्टी रकम बुझाएको विवरण:-
८. क्यासिनोमा कार्यरत कर्मचारी तथा कामदारको विवरण:- ९. क्यासिनोमा गुनासो सुनुवाईको व्यवस्था:- १०. उल्लेख गर्नुपर्ने अन्य विवरण:-
प्रतिवेदन पेस गर्नेको:- हस्ताक्षर: नाम: पद: मिति: अनुगमन गरेको मिति :