भन्सार ऐन, २०८२
राजपत्रमा प्रकाशित मिति २०८२।०५।२२
संशोधन आर्थिक ऐन, २०८३ २०८३।०३।३०
सं वत् २०८२ सालको ऐन नं . ०७ भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गरि बनेको ऐन
प्रस्तावना : भन्सार प्रक्रियालाई व्यवस्थित, विश्वसनीय, पारदर्शी बनाई अन्तरराष्ट्रिय व्यापारलाई सहज तथा सुरक्षित बनाउन र महसुल सङ्कलनमा दक्षता तथा प्रभावकारिता अभिवृद्धि गर्निका लागि भन्सार सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गरि वाञ्छनीय भएकोले, सङ्घीय संसद्ले यो ऐन बनाएको छ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम "भन्सार ऐन, २०८२" रहेको छ। (२) यो ऐन प्रमाणीकरण भएको मितिले एकानब्बेऔं दिनदेखि प्रारम्भ हुनेछ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) "अनुसन्धान अधिकृत" भन्नाले दफा ७७ बमोजिम तोकिएको अनुसन्धान अधिकृत सम्झनु पर्छ। (ख) "कम्प्युटर प्रणाली" भन्नाले वस्तु जाँचपास तथा भन्सार सम्बन्धी अन्य कार्य विद्युतीय माध्यमबाट सम्पादन गर्निको लागि विभागले प्रयोगमा ल्याएको स्वचालित कम्प्युटर प्रणाली सम्झनु पर्छ। (ग) "कार्यालय" भन्नाले दफा ५ बमोजिमको भन्सार कार्यालय सम्झनु पर्छ र सो शब्दले त्यस्तो भन्सार कार्यालयको परिसरलाई समेत जनाउँछ। (घ) "घोषणा" भन्नाले घोषणाकर्ताले निकासी वा पैठारी गर्ने वस्तुको विवरण प्रज्ञापनपत्रमा भरी विद्युतीय वा विभागले निर्धारण गरेको माध्यमबाट भन्सार अधिकृत समक्ष सम्प्रेषण वा पेस गर्ने कार्य सम्झनु पर्छ र सो शब्दले निकासी वा पैठारी गर्ने वस्तु जाँचपास हुनु अघि घोषणाकर्ताले कम्प्युटर प्रणालीमा प्रविष्ट गरेको विवरण तथा संलग्न कागजातलाई समेत जनाउँछ।
(ङ) "घोषणाकर्ता" भन्नाले प्रज्ञापनपत्रमा उल्लिखित निकासी वा पैठारी गर्ने वस्तुको धनी सम्झनु पर्छ र सो शब्दले त्यस्तो धनीले नियुक्त गरेको भन्सार जाँचपास प्रतिनिधिमलाई समेत जनाउँछ। (च) "चोरी निकासी" भन्नाले महसुल लाग्ने वस्तु महसुल नतिरी लुकाई छिपाई वा दफा ६ बमोजिम तोकिएको बाटो भन्दा फरक बाटोबाट वा महसुल नलाग्ने वस्तु भए तापनि घोषणा नगरी निकासी गर्ने कार्य सम्झनु पर्छ। (छ) "चोरी पैठारी" भन्नाले महसुल लाग्ने वस्तु महसुल नतिरी, लुकाई छिपाई वा दफा ६ बमोजिम तोकिएको बाटो भन्दा फरक बाटोबाट वा महसुल नलाग्ने वस्तु भए तापनि घोषणा नगरी पैठारी गर्ने कार्य सम्झनु पर्छ। (ज) "जाँच" भन्नाले निकासी वा पैठारी गरिने वस्तु घोषणा गरिए बमोजिम छ छैन भनी यकिन गर्न भन्सार अधिकृतले त्यस्तो वस्तु वा सो वस्तु सम्बन्धी कागजात वा दुवैको परीक्षण गर्ने कार्य सम्झनु पर्छ र सो शब्दले विदेशी मुलुकबाट नेपालभित्र प्रवेश गर्ने वा नेपालबाट विदेशी मुलुकमा प्रस्थान गर्ने वाहन, वाहनसँग सम्बद्ध व्यक्ति तथा यात्रीको जाँच गर्ने वा तलासी लिने कार्यलाई समेत जनाउँछ। (झ) "जाँचपास" भन्नाले भन्सार अधिकृतले यस ऐन र भन्सार महसुल सम्बन्धी प्रचलित कानून बमोजिम कार्यालय वा भन्सार वेयर हाउसबाट कुनै वस्तु निकासी वा पैठारी गर्न वा भन्सार क्षेत्र बाहिर लैजान दिएको अनुमति सम्झनु पर्छ। (ञ) "जाँचपासपछिको परीक्षण" भन्नाले दफा १०२ बमोजिम गरिने वस्तुको परीक्षण सम्झनु पर्छ। (ट) "तोकिएको" वा "तोकिए बमोजिम" भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ। (ठ) “निकासी” भन्नाले नेपालबाट विदेशी मुलुकमा वस्तु पठाउने काम सम्झनु पर्छ। (ड) "निकासीकर्ता" भन्नाले वस्तु निकासी गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले निकासीको लागि घोषणा गर्ने समयमा वा निकासीको लागि घोषणा गरेपछि तर निकासी हुनु अघिको समयमा वस्तुको धनी, स्वामित्व ग्रहण गर्ने व्यक्ति, वस्तु जिम्मामा लिने अधिकारप्राप्त व्यक्ति वा वस्तुको हितिधकारीलाई समेत जनाउँछ।
(ढ) "पेट्रोलियम पदार्थ" भन्नाले हाईस्पिड डिजेल, मोटर स्पिरिट (पेट्रोल), हवाई इन्धन (एमभेशन टर्बाइन फ्यूल), मट्टितेल (सुपेरियर केरोसिन आयल) र तरलीकृत पेट्रोलियम ग्याँस (एलपीजी) सम्झनु पर्छ र सो शब्दले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अन्य पेट्रोलियम पदार्थलाई समेत जनाउँछ। (ण) “पैठारी” भन्नाले विदेशी मुलुकबाट नेपालभित्र वस्तु ल्याउने काम सम्झनु पर्छ। (त) “प्रज्ञापनपत्र” भन्नाले निकासीकर्ता वा पैठारीकर्ताले निकासी वा पैठारी गर्ने वस्तुको विवरण घोषणा गर्ने फाराम सम्झनु पर्छ। (थ) “बण्डेड वेयर हाउस” भन्नाले विदेशमा निकासी गरिने वा स्वदेशमै परिवर्तित विदेशी मुद्रामा बिक्री गरिने वस्तु उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ वा करमुक्त पसलमा बिक्री गरिने वस्तु बैङ्क जमानत सुविधामा पैठारी गरी राख्न विभागबाट इजाजतप्राप्त गोदाम र सोको परिसर सम्झनु पर्छ। (द) "बैङ्क" भन्नाले प्रचलित कानून बमोजिम बैङ्किङ कारोबार गर्न इजाजतप्राप्त वाणिज्य बैङ्क वा वित्तीय संस्था सम्झनु पर्छ। (ध) "बैङ्क जमानत" भन्नाले घोषणाकर्ताले वस्तु निकासी वा पैठारी गर्दा बुझाउनु पर्ने महसुल निजले नबुझाएमा आफूले तिरिदिने गरी बैङ्कले कार्यालयलाई दिने जमानत सम्झनु पर्छ। (न) "भन्सार अधिकृत" भन्नाले दफा ७ बमोजिमको प्रमुख भन्सार प्रशासक, प्रमुख भन्सार अधिकृत वा भन्सार अधिकृत सम्झनु पर्छ र सो शब्दले राजपत्रअंकित कमिश्नरी कार्यालय प्रमुख भएको कार्यालयको प्रमुख वा छोटी भन्सार कार्यालयको प्रमुख, महानिदेशकले तोकेको विभागको उपमहानिदेशक, निदेशक, भन्सार परीक्षक, शाखा अधिकृत वा दफा १२० बमोजिमको अधिकारप्राप्त अधिकारीलाई समेत जनाउँछ। (प) "भन्सार जाँचपास प्रतिनिधि (एजेन्ट)" भन्नाले दफा ९७ बमोजिम इजाजतपत्रप्राप्त व्यक्ति सम्झनु पर्छ। (फ) "भन्सार जाँचपास परीक्षण कार्यालय" भन्नाले दफा १३ बमोजिमको कार्यालय सम्झनु पर्छ।
(ब) "भन्सार परीक्षक" भन्नाले दफा १३ को उपदफा (२) बमोजिमको प्रमुख भन्सार परीक्षण प्रशासक, प्रमुख भन्सार परीक्षक वा भन्सार परीक्षक सम्झनु पर्छ र सो शब्दले महानिर्देशक वा निजले दफा १०२ बमोजिम तोकेको भन्सार अधिकृतलाई समेत जनाउँछ। (भ) "भन्सार महसुल" भन्नाले निकासी वा पैठारी गरिने वस्तुमा भन्सार महसुल सम्बन्धी प्रचलित कानून बमोजिम लाग्ने भन्सार महसुल सम्झनु पर्छ। (म) "भन्सार मूल्य" भन्नाले निकासी वा पैठारी गरिने वस्तुको भन्सार महसुल निर्धारण गर्ने प्रयोजनको लागि परिच्छेद-४ बमोजिम निर्धारण गरिएको मूल्य सम्झनु पर्छ। (य) "भन्सार वेयर हाउस" भन्नाले दफा ५७ बमोजिमको भन्सार वेयर हाउस सम्झनु पर्छ। (र) "भन्सार क्षेत्र" भन्नाले दफा ६ बमोजिमको भन्सार क्षेत्र सम्झनु पर्छ। (ल) "मन्त्रालय" भन्नाले नेपाल सरकार, अर्थ मन्त्रालय सम्झनु पर्छ। (व) "महसुल" भन्नाले निकासी वा पैठारी गरिने वस्तुमा प्रचलित कानून बमोजिम लाग्ने सबै कर, शुल्क र दस्तुर सम्झनु पर्छ र सो शब्दले भन्सार महसुल सम्बन्धी प्रचलित कानून बमोजिम लाग्ने भन्सार महसुललाई समेत जनाउँछ। (श) "महानिर्देशक" भन्नाले विभागको महानिर्देशक सम्झनु पर्छ। (ष) "राहत सामग्री" भन्नाले विपद्को अवस्थामा पीडितको खोज, उद्धार तथा राहतका लागि मानवीय सहायता स्वरूप पैठारी हुने नेपाल सरकारले निर्धारण गरे बमोजिमका वस्तु सम्झनु पर्छ। (स) "वस्तु" भन्नाले मुद्रा लगायत जुनसुकै प्रकारको चल वस्तु वा सम्पत्ति सम्झनु पर्छ। (ह) "वस्तुको वर्गीकरण" भन्नाले भन्सार महसुल सम्बन्धी प्रचलित कानून बमोजिम गरिने वस्तुको वर्गीकरण सम्झनु पर्छ। (क्ष) "व्यक्ति" भन्नाले प्राकृतिक व्यक्ति वा कानूनी व्यक्ति सम्झनु पर्छ। (त्र) "वाहन" भन्नाले वायुयान, जलयान, रेल, सवारी साधन लगायत हवाई, जल वा स्थलमार्गबाट मानिस तथा वस्तु परिवहनको लागि प्रयोग हुने जुनसुकै साधन सम्झनु पर्छ।
(ज्ञ) “विपद्” भन्नाले कुनै स्थानमा आपतकालीन अवस्था सृजना भई जन वा धनको क्षतिको साथै जीवनयापन र वातावरणमा प्रतिकूल असर पर्ने प्राकृतिक वा गैरप्राकृतिक विपद् सम्झनु पर्छ। (कक) "विभाग" भन्नाले भन्सार विभाग सम्झनु पर्छ। (ख) "सवारी साधन" भन्नाले मोटर गाडी, गाडा, टाँगा, ठेला, रिक्सा, साइकल लगायत यात्रा गर्ने वा वस्तु ओसारपसार गर्ने प्रयोग हुने जुनसुकै साधन सम्झनु पर्छ।
परिच्छेद-२ भन्सार प्रशासन तथा भन्सार क्षेत्र
३. विभागको स्थापना : (१) यस ऐन बमोजिम भन्सार सम्बन्धी काम गर्नको लागि भन्सार विभाग रहनेछ। (२) महानिर्देशक विभागको प्रमुख हुनेछ र विभागमा नेपाल सरकारबाट स्वीकृत दरबन्दी अनुसार महानिर्देशक सहित आवश्यक सङ्ख्यामा कर्मचारी रहनेछन्।
४. महानिर्देशकको काम, कर्तव्य र अधिकार : यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त महानिर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) भन्सार क्षेत्र बाहेक अन्यत्रबाट यस ऐन वा भन्सार महसुल सम्बन्धी प्रचलित कानून विपरीत हुने गरी वस्तु निकासी वा पैठारी गरेको भनी कसैले त्यस्तो वस्तु कब्जामा लिई वा मानिस सहित पक्राउ गरी विभागमा पेस गरेमा आफैँले वा विभागको कुनै अधिकृतलाई तोकी त्यसरी पेस भएको वस्तु वा मानिस उपर यस ऐन बमोजिम अनुसन्धान र कारबाही गर्ने, गराउने, (ख) कार्यालयबाट जाँचपास भइसकेको कुनै वस्तु भन्सार क्षेत्रबाट बाहिर लैजानु अघि वा लिएसकेपछि त्यस्तो वस्तुको सम्बन्धमा भएको मूल्याङ्कन, वर्गीकरण, महसुल निर्धारण जस्ता विषयमा कुनै सूचना प्राप्त भएमा वा शङ्का लागेमा सो कुराको जानकारी घोषणाकर्तालाई गराई विभागको कुनै अधिकृतलाई त्यस्तो वस्तु नियन्त्रणमा लिई पुनः जाँच गर्ने वा आवश्यक अनुसन्धान गरी प्रतिवेदन पेस गर्ने लगाउने, (ग) खण्ड (ख) बमोजिमको प्रतिवेदनको आधारमा यस ऐन बमोजिम भन्सार अधिकृतको अधिकार प्रयोग गरी आवश्यक कारबाही गर्ने, गराउने, (घ) महसुल, मूल्याङ्कन, तथ्याङ्क वा यस्तै अन्य प्रयोजनको लागि वस्तु वर्गीकरणको उपशीर्षकमा आवश्यक अङ्कहरू थप गरी कार्यान्वयनमा ल्याउने,
(ङ) भन्सार मूल्य निर्धारण वा वस्तु जाँचपास वा भन्सार प्रशासन सम्बन्धी अन्य कुनै कार्य सम्पादन गर्न बाधा परेमा यस ऐन वा भन्सार महसुल सम्बन्धी प्रचलित कानूनको प्रतिकूल नहुने गरी उपयुक्त आदेश जारी गर्ने, (च) भन्सार प्रशासनको अनुगमन, नियन्त्रण तथा रेखदेख गर्ने, (छ) यस ऐन बमोजिम विभागबाट सम्पादन गर्नुपर्ने अन्य काम गर्ने, गराउने।
५. कार्यालय स्थापना : (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै भन्सार क्षेत्रमा आवश्यकता अनुसार भन्सार कार्यालय $\text{⌊}$...... स्थापना गर्न सक्नेछ। $\text{¥}$(१क) मूल भन्सार कार्यालय अन्तर्गत तोकिए बमोजिमका छोटी भन्सार कार्यालय रहनेछन्। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विपद्को कारणले कुनै कार्यालयबाट कार्यसम्पादन गर्न नसकिने भएमा महानिर्देशकले कुनै भन्सार क्षेत्रमा कार्यालय स्थापना गर्न सक्नेछ। त्यसरी स्थापना भएको कार्यालयको प्रयोजन समाप्त भएपछि महानिर्देशकले त्यस्तो कार्यालय खारेज गर्नु पर्नेछ।
६. भन्सार क्षेत्र तथा बाटो तोक्न सक्ने : (१) यस ऐन तथा अन्य प्रचलित कानून बमोजिम भन्सार सम्बन्धी कानूनको कार्यान्वयन गर्न तथा महसुल सङ्कलन गर्ने प्रयोजनको लागि मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी देहाय बमोजिम भन्सार क्षेत्र, बाटो वा स्थान तोक्न सक्नेछ:- (क) नेपालको कुनै विमानस्थल, बन्दरगाह, एकीकृत जाँच चौकी, आन्तरिक जाँचपास डिपो, रेलवे स्टेशन वा अन्य कुनै क्षेत्रलाई भन्सार क्षेत्र तोक्ने, (ख) खण्ड (क) बमोजिमको क्षेत्रमा पैठारी गर्नेका वा निकासी गर्ने वस्तु राख्ने स्थान तोक्ने र त्यस्तो वस्तु निकासी वा पैठारी गर्नु पर्ने बाटो तोक्ने, (ग) खण्ड (क) बमोजिमको क्षेत्रमा यात्री विदेश प्रस्थान गर्ने तथा विदेशबाट आउने स्थान तोक्ने, (घ) निकासी वा पैठारी गर्ने वस्तु भण्डारणको लागि भन्सार वेयर हाउस रहने वा निजी वेयर हाउस सञ्चालनको लागि इजाजतपत्र दिन सकिने स्थान तोक्ने, (ङ) पाइपलाइनबाट पेट्रोलियम पदार्थ पैठारी गर्ने मार्ग तोक्ने।
$\text{⌊}$ आर्थिक ऐन, २०८३ द्वारा झिकिएको। $\text{¥}$ आर्थिक ऐन, २०८३ द्वारा थप।
(२) मन्त्रालयले भन्सार क्षेत्रमा रहेको विमानस्थलमा उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिम बाटो वा स्थान तोक्दा सम्बन्धित विमानस्थलको सञ्चालकसँग परामर्श गर्नु पर्नेछ। (३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि महानिर्देशकले विपद्को अवस्थामा राहत सामग्री जाँचपास गर्ने प्रयोजनको लागि नेपालको कुनै क्षेत्रलाई भन्सार क्षेत्रको रूपमा तोक्न र त्यस्तो भन्सार क्षेत्रबाट मात्र वस्तुको निकासी वा पैठारी गर्ने गरी बाटो तोक्न सक्नेछ। त्यसरी तोकिएको भन्सार क्षेत्र वा बाटोको प्रयोजन समाप्त भएपछि महानिर्देशकले त्यस्तो भन्सार क्षेत्र वा बाटो खारेज गर्नु पर्नेछ। (४) महानिर्देशकले कुनै खास प्रकृतिका वस्तुलाई कुनै खास कार्यालयबाट मात्र निकासी वा पैठारी गर्नु पर्ने गरी तोक्न सक्नेछ। (५) निकासी वा पैठारी हुने वस्तु उपदफा (१) वा (४) बमोजिम तोकिएको बाटो वा कार्यालयबाट मात्र निकासी वा पैठारी गर्नु पर्नेछ। (६) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि महानिर्देशकले छोटी भन्सार कार्यालयबाट निश्चित वस्तु वा निश्चित मूल्यसम्मका वस्तु मात्र निकासी वा पैठारी गर्न सक्ने गरी तोक्न सक्नेछ। ७. कार्यालयमा रहने कर्मचारी : कार्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दी अनुसार प्रमुख भन्सार प्रशासक, प्रमुख भन्सार अधिकृत, भन्सार अधिकृत र आवश्यक सङ्ख्यामा अन्य कर्मचारी रहनेछन्। ८. कार्यालय समय : (१) कार्यालयको प्रमुखले महानिर्देशकको स्वीकृति लिई कार्यालय खोल्ने र बन्द गर्ने समय निर्धारण गर्न सक्नेछ। त्यसरी निर्धारण गरिएको कार्यालय समय सम्बन्धी सूचना सार्वजनिक गर्नु पर्नेछ। (२) कार्यालयको प्रमुखले सेवाग्राहीको सुविधा वा कार्यालयको कार्यबोझका आधारमा नियमित कार्यालय समय भन्दा अघि वा पछि, सार्वजनिक बिदाका दिनमा वा कार्यालय बन्द रहेको समयमा समेत कामकाज गर्ने गरी आवश्यक व्यवस्था मिलाउन सक्नेछ। (३) कार्यालयको प्रमुखले सेवाग्राहीलाई सुविधा प्रदान गर्न तथा निकासी वा पैठारी सम्बन्धी कार्यमा सरलता ल्याउन आवश्यक देखेमा महानिर्देशकको पूर्व स्वीकृति लिई स्थानीयस्तरमा सार्वजनिक बिदा नभएको दिनमा कार्यालय बन्द गर्ने वा सार्वजनिक बिदाको दिनमा कार्यालय खोल्ने गरी आवश्यक व्यवस्था गर्न सक्नेछ। ९. प्रमुख भन्सार प्रशासकको काम, कर्तव्य र अधिकार : प्रमुख भन्सार प्रशासकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) यस ऐन वा भन्सार महसुल सम्बन्धी प्रचलित कानून बमोजिम वस्तुको वर्गीकरण, मूल्याङ्कन तथा महसुल निर्धारण तथा असुल गर्ने, (ख) भन्सार क्षेत्र बाहेक अन्यत्रबाट यस ऐन वा भन्सार महसुल सम्बन्धी प्रचलित कानून विपरीत हुने गरी वस्तु निकासी वा पैठारी गरेको भनी कसैले त्यस्तो वस्तु कब्जामा लिई वा मानिस सहित पक्राउ गरी कार्यालयमा पेस गरेमा सो उपर यस ऐन बमोजिम कारबाही गर्ने, (ग) यस ऐन वा भन्सार महसुल सम्बन्धी प्रचलित कानून बमोजिम वस्तु जफत गर्ने र जफत गरिएका वस्तुको लिलाम बिक्री गर्ने वा नष्ट गर्ने, (घ) यस ऐन बमोजिम भन्सार अधिकृतले गर्ने भनी उल्लेख भएका अन्य कार्य गर्ने।
१०. प्रमुख भन्सार अधिकृतको अधिकार र जिम्मेवारी : (१) प्रमुख भन्सार अधिकृतलाई आफू कार्यालय प्रमुखको रूपमा रहेकोमा दफा ९ बमोजिम प्रमुख भन्सार प्रशासकलाई भएको अधिकार प्रयोग गरी यस ऐन बमोजिम भन्सार प्रशासन सञ्चालन गर्ने अधिकार हुनेछ। (२) प्रमुख भन्सार अधिकृतले आफू कार्यालय प्रमुख नभएकोमा प्रमुख भन्सार प्रशासकबाट प्रत्यायोजित अधिकार तथा प्राप्त निर्देशनको अधीनमा रही यस ऐन बमोजिम भन्सार अधिकृतले गर्नुपर्ने काम तथा आफूलाई प्राप्त अधिकार बमोजिमको जिम्मेवारी पूरा गर्नुपर्नेछ।
११. भन्सार अधिकृतको अधिकार र जिम्मेवारी : (१) भन्सार अधिकृतलाई आफू कार्यालय प्रमुख भएकोमा दफा ९ बमोजिम प्रमुख भन्सार प्रशासक वा दफा १० बमोजिम प्रमुख भन्सार अधिकृतलाई भएको अधिकार प्रयोग गरी यस ऐन बमोजिम भन्सार प्रशासन सञ्चालन गर्ने अधिकार हुनेछ। (२) भन्सार अधिकृतले आफू कार्यालय प्रमुख नभएकोमा प्रमुख भन्सार प्रशासक वा प्रमुख भन्सार अधिकृतबाट प्रत्यायोजित अधिकार तथा प्राप्त निर्देशनको अधीनमा रही यस ऐन बमोजिम भन्सार अधिकृतले गर्नुपर्ने काम तथा आफूलाई प्राप्त अधिकार बमोजिमको जिम्मेवारी पूरा गर्नुपर्नेछ।
१२. छोटी भन्सार कार्यालयको प्रमुखको अधिकार : छोटी भन्सार कार्यालयको प्रमुखलाई सम्बन्धित कार्यालय प्रमुखको निर्देशन र नियन्त्रणमा रही वस्तुको जाँचपास गर्ने अधिकार हुनेछ।
१३. भन्सार जाँचपास परीक्षण कार्यालयको स्थापना : (१) कार्यालयबाट जाँचपास भएको कुनै वस्तु घोषणाकर्ताले घोषणा गरे अनुरूपको भए, नभएको वा त्यस्तो वस्तु यस ऐन वा
भन्सार महसुल सम्बन्धी प्रचलित कानून बमोजिम महसुलमा दिइएको सुविधा बमोजिम प्रयोग गरे नगरेको सम्बन्धमा यकिन गर्न जाँचपास पछिको परीक्षण गर्ने कार्यको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार भन्सार जाँचपास परीक्षण कार्यालय स्थापना गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम स्थापना भएको कार्यालयमा प्रमुख भन्सार परीक्षण प्रशासक, प्रमुख भन्सार परीक्षक, भन्सार परीक्षक र आवश्यक सङ्ख्यामा अन्य कर्मचारी रहनेछन्।
१४. प्रमुख भन्सार परीक्षण प्रशासकको काम, कर्तव्य र अधिकार : यस ऐनमा अन्यत्र उल्लेख गरिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त प्रमुख भन्सार परीक्षण प्रशासकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) जाँचपास पछिको परीक्षण सम्बन्धमा वार्षिक कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने, (ख) भन्सारबाट जाँचपास भएका वस्तुको उपलब्ध आँकडा (डाटा) को विश्लेषण गरी जोखिम देखिएका वस्तु वा व्यक्तिको जाँचपास पछिको परीक्षणका लागि छनौट गर्ने, (ग) जाँचपास पछिको परीक्षणका लागि छनौट गरिएका वस्तु वा व्यक्तिको परीक्षण योजना (अडिट प्लान) तयार गरी कार्यान्वयन गर्ने वा गराउने, (घ) परीक्षण प्रतिवेदन तयार वा स्वीकृत गरी कार्यान्वयन गर्ने वा गराउने, (ङ) जाँचपास पछिको परीक्षण गर्दा कानूनको परिपालनाको विषयमा प्रतिवेदन तयार गरी विभागलाई नियमित रुपमा उपलब्ध गराउने, (च) यस ऐन बमोजिम भन्सार परीक्षकले गर्ने भनी उल्लेख भएका कार्य गर्ने।
१५. प्रमुख भन्सार परीक्षक र भन्सार परीक्षकको अधिकार : प्रमुख भन्सार परीक्षण प्रशासकले दिएको निर्देशनको अधीनमा रही निजबाट प्रत्यायोजित अधिकार बमोजिम कार्यसम्पादन गर्ने अधिकार प्रमुख भन्सार परीक्षक र भन्सार परीक्षकलाई हुनेछ।
१६. पोसाक र चिन्ह तोक्न सक्ने : (१) नेपाल सरकारले विभाग र कार्यालयका कर्मचारीले कार्यालय समयमा लगाउने पोसाक, परिचयपत्र र आवश्यकता अनुसार दज्यानी चिन्ह समेत तोक्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम पोसाक, परिचयपत्र र दज्यानी चिन्ह तोकिएकोमा विभाग र कार्यालयमा खटिएका कर्मचारीले त्यस्तो पोसाक, परिचयपत्र र दज्यानी चिन्ह कार्यालय समयमा अनिवार्य रुपमा लगाउनु पर्नेछ।
तर कुनै वस्तु वा व्यक्तिको सम्बन्धमा अनुसन्धान गर्न खटिएको कर्मचारीलाई त्यस्तो पोसाक वा दज्यिनी चिन्ह लगाउन अनिवार्य हुने छैन।
(३) कुनै कर्मचारीले यस ऐन बमोजिम भन्सार प्रशासनसँग सम्बन्धित विषयमा कुनै व्यक्ति विरुद्ध अनुसन्धान वा कारबाही गर्दा निजले त्यस्तो कर्मचारीको परिचयपत्र हेर्न चाहेमा आफ्नो परिचयपत्र देखाउनु सम्बन्धित कर्मचारीको कर्तव्य हुनेछ।
परिच्छेद-३ वाहनको आगमन, प्रस्थान, घोषणा, जाँच र जाँचपास
१७. वस्तुको विवरण दिनु पर्ने : (१) भन्सार क्षेत्रमा प्रवेश गर्ने वाहनको सञ्चालकले वस्तु बोकेको वाहन भन्सार क्षेत्रमा प्रवेश गर्नु अगावै वा भन्सार क्षेत्रमा प्रवेश गरेको बाह्र घण्टामभित्र त्यस्तो वाहनको संक्षिप्त विवरण र सो वाहनमा रहेको वस्तुको विवरण (मेनिफेस्ट) कार्यालयमा पेस गर्नु वा कम्प्युटर प्रणालीमा प्रविष्ट गर्नु पर्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विभागले तोके बमोजिमको संक्षिप्त विवरण कार्यालयको कम्प्युटर प्रणालीमा प्रविष्ट गरेपछि मात्र वाहनलाई भन्सार क्षेत्रमा प्रवेश गर्न दिने गरी व्यवस्था गर्न सक्नेछ।
१८. वाहनको जाँच गराउनु पर्ने : विदेशबाट नेपाल प्रवेश गर्ने र नेपालबाट विदेश प्रस्थान गर्ने वायुयान बाहेकका यात्रुवाहक, मालवाहक वा खाली वाहनको चालकले त्यस्तो वाहन नेपालमा प्रवेश गर्नु अघि वा नेपालबाट प्रस्थान गर्नु अघि जाँच गराउनु पर्नेछ।
१९. जाँचपास नभएका वस्तु ढुवानी गर्न नहुने : पैठारी गरिएको वस्तु ढुवानी गर्ने व्यक्तिले महसुल नतिरेका वा जाँचपास नभएको वस्तु भन्सार क्षेत्र बाहिर वा विदेशमा लैजाने गरी ढुवानी गर्नु हुँदैन।
२०. वस्तु घोषणा गर्नु पर्ने : (१) घोषणाकर्ताले आफूले निकासी वा पैठारी गर्ने वस्तुको प्रज्ञापनपत्रमा घोषणा गर्नु पर्नेछ।
तर घोषणा नगरी यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तुका सम्बन्धमा मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी निर्धारण गरे बमोजिम हुनेछ।
(२) वस्तुको धनी प्रमाणित हुने आवश्यक कागजात पेस गर्न सक्ने कुनै पनि व्यक्तिले जाँचपास प्रयोजनको लागि वस्तुको घोषणा गर्न सक्नेछ।
(३) घोषणाकर्ताले वस्तुको विवरण प्रज्ञापनपत्रको ढाँचामा कम्प्युटर प्रणालीमा प्रविष्ट गरी घोषणा गर्न सक्नेछ। त्यसरी घोषणा गर्दा पेस गर्नु पर्ने कागजात विद्युतीय स्वरूपमा संलग्न गर्नु पर्नेछ।
तर भन्सार अधिकृतले माग गरेमा त्यसरी माग गरे बमोजिमका कागजात घोषणाकर्ताले पेस गर्नुपर्नेछ।
(४) यस दफा बमोजिम वस्तु घोषणा गर्दा वस्तुको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार, तौल, गुणस्तर र वस्तुको प्रकृति अनुसार ब्राण्ड, मोडेल, एकाइ, उत्पादक कम्पनी र वस्तुको स्पष्ट पहिचान हुने यस्तै अन्य विवरण समेत उल्लेख गर्नुपर्नेछ।
(५) उपदफा (१), (३) वा (४) बमोजिम घोषित विवरणको सत्यता, पूर्णता र पेस गरेका कागजातको आधिकारिकताका सम्बन्धमा सम्बन्धित घोषणाकर्ता जिम्मेवार हुनेछ।
(६) काबू बाहिरको परिस्थिति परी वा अन्य कुनै मनासिब कारणले घोषणाकर्ताले कुनै कागजात घोषणासाथ पेस गर्न नसक्ने भएमा त्यस्तो कागजात पछि पेस गर्ने गरी अनुमतिको लागि भन्सार अधिकृत समक्ष निवेदन दिन सक्नेछ।
(७) उपदफा (६) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा पेस भएका कागजात र निवेदनको व्यहोरा मनासिब देखिएमा भन्सार अधिकृतले त्यस्तो वस्तुको पूर्ण घोषणा गर्ने अवधि तोकी तत्कालको लागि अस्थायी वा अपूर्ण घोषणा गर्ने अनुमति दिन सक्नेछ।
(८) उपदफा (७) बमोजिम गरिएको घोषणा जाँच गर्दा उक्त वस्तुको पछि स्थायी वा पूर्ण घोषणा गर्दा महसुल फरक पर्न देखिएमा भन्सार अधिकृतले सुरक्षण बापत सो महसुल बराबरको नगद धरौटी लिई वस्तु जाँचपास गर्न सक्नेछ।
(९) उपदफा (८) बमोजिम लिइएको नगद धरौटी त्यस्तो वस्तुको पूर्ण घोषणाको काम सम्पन्न भएपछि फुकुवा गरिदिनु पर्नेछ।
(१०) वस्तुको जाँच हुनुपूर्व घोषणाकर्ताले आफूले घोषणा गरेको वस्तुको विवरण घोषणासाथ पेस भएका कागजात विपरीत नहुने गरी संशोधन गर्न भन्सार अधिकृत समक्ष लिखित अनुरोध गरेमा भन्सार अधिकृतले त्यस्तो विवरण संशोधन गर्न सक्नेछ। तर संशोधनको लागि गरिएको अनुरोध जालसाज वा बदनियतपूर्ण देखिएमा विवरण संशोधन गरिने छैन।
(११) वस्तुको जाँच सुरु भइसकेको तर जाँचपास भइनसकेको अवस्थामा घोषणाकर्ताले घोषणामा संशोधन गर्न भन्सार अधिकृत समक्ष कारण खोली निवेदन दिएमा र कारण मनासिब लागेमा भन्सार अधिकृतले त्यस्तो घोषणा संशोधन गर्न सक्नेछ। तर देहायको कुनै अवस्था सृजना हुने भएमा घोषणा संशोधन गरिने छैन:- (क) तिर्नुपर्ने महसुल वा भन्सारले गर्नुपर्ने नियमनमा असर पर्न भएमा, (ख) यस ऐन बमोजिम हुन सक्ने सजायबाट उन्मुक्ति पाउने देखिएमा,
• आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
(ग) जाँचपास प्रक्रियामा अनावश्यक रूपमा ढिलाई हुने भएमा। (१२) घोषणाकर्ताले कुनै वस्तु एउटा भन्सार प्रक्रिया अन्तर्गत पैठारी गर्नका लागि घोषणा गरिसकेको तर जाँचपास भइनसकेको अवस्थामा सोही वस्तु पुनः अर्को भन्सार प्रक्रिया अन्तर्गत पैठारी गरिदिन निवेदन दिएमा र सो बमोजिम त्यस्तो वस्तु पुनः घोषणा हुने कुरामा भन्सार अधिकृत विश्वस्त भएमा निजले पहिले गरिएको घोषणा रद्द गरी अर्को घोषणा गर्न अनुमति दिन सक्नेछ। त्यसरी अनुमति दिइएकोमा पहिले घोषणा गरेको वस्तुमा महसुल लाग्ने छैन। (१३) कसैले पैठारी गर्ने वस्तु कार्यालयमा आइपुग्नु अगावै जाँचपास सम्बन्धी प्रक्रिया प्रारम्भको लागि अग्रिम घोषणा गर्न चाहेमा देहाय बमोजिमको समयावधिभित्र उपदफा (१) वा (७) बमोजिम घोषणा गर्न सक्नेछ:- (क) हवाईमार्गबाट पैठारी हुने वस्तुको हकमा त्यस्तो वस्तुको एयरवे बिल जारी भएपछि कार्यालयमा आइपुग्नु अगाडिको कुनै पनि समयमा, (ख) स्थलमार्गबाट पैठारी हुने वस्तुको हकमा त्यस्तो वस्तुको बिल अफ लेडिङ जारी भएपछि कार्यालयमा आइपुग्नु अगाडिको कुनै पनि समयमा। (१४) घोषणाकर्ताले वस्तु भन्सार क्षेत्रभित्र प्रवेश गरेको मितिले सात दिनभित्र त्यस्तो वस्तु जाँचपासको लागि वा भन्सार वेयर हाउसमा राख्नको लागि घोषणा गर्नु पर्नेछ। (१५) उपदफा (१४) बमोजिमको अवधिभित्र घोषणा गर्न असमर्थ भएको भनी म्याद थपको लागि लिखित अनुरोध गरेमा र त्यस्तो अनुरोध मनासिब देखिएमा भन्सार अधिकृतले सात दिनसम्मको म्याद थप गरिदिन सक्नेछ।
२१. घोषणा जाँच गर्ने : (१) भन्सार अधिकृतले दफा २३ को अधीनमा रही घोषित वस्तु प्रचलित कानून बमोजिम पैठारी गर्न पाइने हो वा होइन भन्ने सम्बन्धमा अविलम्ब जाँच गर्नु पर्नेछ। त्यसरी जाँच गर्दा भन्सार अधिकृतले आवश्यकता अनुसार सम्बन्धित वस्तुको भौतिक जाँच गर्न वा गर्न लगाउन सक्नेछ। (२) उपदफा (१) बमोजिम जाँच गर्दा त्यस्तो वस्तु पैठारी गर्न पाइने नदेखिएमा भन्सार अधिकृतले देहायका वस्तुका सम्बन्धमा देहाय बमोजिम गर्नु पर्नेछ:- (क) हातहतियार, खरखजाना, गोली, बारुद तथा त्यस्तो वस्तु उत्पादन गर्न प्रयोग हुने सामग्री, फ्यूज, तार तथा विष्फोटक पदार्थ जस्ता सामग्री, गाँजा, चरेस, अफिम र त्यस्तै लागू पदार्थ, लागू पदार्थको रूपमा प्रयोग हुने प्रतिबन्धित औषधी जस्ता पैठारी गर्न निषेधित वस्तु भएमा आवश्यक कारबाहीको लागि नजिकको नेपाल प्रहरीको जिम्मा लगाउने,
(ख) पैठारीको लागि परिमाण वा समय तोकी कुनै व्यक्ति वा निकायलाई इजाजतपत्र वा अनुमतिपत्र दिइएकोमा सो बाहेकको अन्य व्यक्ति वा निकायले पैठारी गरेकोमा त्यस्तो वस्तु जफत गरी प्रचलित कानून बमोजिम सजाय गर्ने, (ग) पैठारीको लागि प्रचलित कानूनद्वारा प्रतिबन्ध नगरिएको तर कुनै मुलुकसँगको द्विपक्षीय सम्झौता अनुसार पैठारी गर्न नसकिने वस्तु भएमा जफत गर्ने, (घ) पैठारी गरिने वस्तुको सम्बन्धमा कुनै मापदण्ड, गुणस्तर वा सर्त तोकिएकोमा त्यस्तो मापदण्ड, गुणस्तर वा सर्तको उल्लङ्घन गरी पैठारी गरिएको भए त्यस्तो वस्तु जफत गर्ने, (ङ) खण्ड (क) मा उल्लिखित वस्तु बाहेक प्रचलित कानून बमोजिम पैठारीको लागि प्रतिबन्ध लगाइएको वस्तुको सम्बन्धमा मुद्दा हेर्ने छुट्टै अधिकारी तोकिएकोमा त्यस्तो अधिकारीलाई निम्ना लगाउने, (च) प्रचलित कानूनद्वारा पैठारी गर्न प्रतिबन्ध गरिएको र वातावरण तथा जनस्वास्थ्यको दृष्टिकोणले नेपालमा उपयोग गर्न, लिलाम बिक्री गर्न, सडाउन वा नष्ट गर्न नमिल्ने प्रकृतिको वस्तु भएमा अन्य प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि उक्त वस्तुको लागि भुक्तानी गरिएको विदेशी मुद्रा फिर्ता ल्याउने सर्तमा महानिदेशको स्वीकृति लिई निकासीकर्तालाई नै फिर्ता पठाउन पैठारीकर्तालाई आदेश दिने। (३) पैठारीकर्ताले यस ऐन वा भन्सार महसुल सम्बन्धी प्रचलित कानून विपरीत हुने कुनै कार्य गरेको कारणले कानूनी वा प्रशासनिक प्रक्रियामा रहेको कुनै वस्तु कब्जा वा जफत गर्नु पर्ने नदेखिएमा भन्सार अधिकृतले त्यस्तो वस्तुमा पछि निर्णय हुँदा लाग्न सक्ने महसुल, थप महसुल वा जरिवाना बापतको रकम नगद धरौटी लिई जाँचपास गर्नु पर्नेछ। २२. शीघ्र जाँचपास गर्नु पर्ने : (१) जीवित जनावर, ताजा फलफूल तथा तरकारी, समुद्री खाना, मासु तथा मासुजन्य उत्पादन, विशेष प्रकारले भण्डारण गर्नु पर्ने खानेकुरा, जैविक प्रविधियुक्त उत्पादन, शारीरिक ग्रन्थी, रक्त तथा रक्त प्लाज्मा, औषधि, अनुसन्धान सम्बन्धी नाशवान पदार्थ, छोप वा विभागले समय समयमा तोकेका त्यस्तै छिटो बिग्रिने प्रकृतिका वस्तु शीघ्र जाँचपास गर्नु पर्नेछ। (२) उपदफा (१) बमोजिम शीघ्र जाँचपास गर्न नसकिने भएमा सोको कारण सहितको लिखित जानकारी घोषणाकर्तालाई दिनु पर्नेछ।
२३. जोखिम विश्लेषणका आधारमा वस्तु जाँचपास गर्ने : (१) वस्तु जाँच गर्दा विभागले राजस्व सुरक्षा, सामाजिक सुरक्षा, जनस्वास्थ्य, पर्यावरणीय सुरक्षा, वस्तुको प्रकृति र उत्पत्तिको मुलुक, चलान भएको मुलुक, निकासीकर्ता, पैठारीकर्ता वा घोषणाकर्ताको विश्वसनीयताको आधारमा सम्भावित जोखिमको विश्लेषण गरी त्यस्तो जोखिमको स्तरको आधारमा देहाय बमोजिम जाँचपास गर्ने गरी कम्प्युटर प्रणालीको व्यवस्था गर्न सक्नेछः- (क) वस्तु तथा तत्सम्बन्धी कागजात समेत जाँच नगरी घोषणाका आधारमा मात्र जाँचपास गर्ने, (ख) वस्तु जाँच नगरी तत्सम्बन्धी कागजात मात्र जाँच गरी जाँचपास गर्ने, (ग) वस्तु तथा तत्सम्बन्धी कागजात समेत जाँच नगरी जाँचपास पछि परीक्षण गर्ने गरी घोषणाका आधारमा मात्र जाँचपास गर्ने, (घ) सम्पूर्ण वस्तु तथा तत्सम्बन्धी कागजात समेत जाँच गरेर मात्र जाँचपास गर्ने। (२) उपदफा (१) को खण्ड (क), (ख), (ग) र (घ) बमोजिम जाँचपास हुने वस्तुको लागि विभागले कम्प्युटर प्रणालीमा क्रमशः हरियो मार्ग, पहेंलो मार्ग, नीलो मार्ग र रातो मार्गको व्यवस्था गर्न सक्नेछ। (३) यस दफा बमोजिम भन्सार अधिकृतले वस्तु जाँचपास गर्दा कम्प्युटर प्रणालीले निर्दिष्ट गरेको मार्ग बमोजिम गर्नु पर्नेछ। (४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कारणवश कम्प्युटर प्रणाली अवरुद्ध भएको वा कुनै कार्यालयमा कम्प्युटर प्रणाली स्थापना भइनसकेको वा विपद्को अवस्थामा वस्तु जाँचपास गर्ने प्रक्रिया महानिदेशकले तोके बमोजिम हुनेछ। (५) प्रयोगशाला परीक्षणको लागि पठाइएको कुनै वस्तु प्रचलित कानून बमोजिम निषेधित वा प्रतिबन्धित देखिएमा भन्सार अधिकृतले त्यस्तो वस्तुमा लाग्ने महसुल बापतको रकम धरौटी लिई त्यस्तो वस्तुको प्रयोगशाला परीक्षण प्रतिवेदन वा सम्बन्धित विशेषज्ञको राय प्राप्त नहुँदै जाँचपास गर्न सक्नेछ।
२४. वस्तु खोल्न र जाँच गर्न सक्ने : (१) दफा २३ बमोजिम जाँचपास भएको वा नभएको वस्तुका सम्बन्धमा कुनै शङ्का लागेमा वा सो सम्बन्धमा कुनै सूचना प्राप्त भएमा त्यस्तो वस्तु भन्सार क्षेत्रबाट उठाई लैजानु अघि वा भन्सार क्षेत्र बाहिर लगिसकेपछि भन्सार अधिकृतले त्यस्तो वस्तु जाँच नभएको भए जाँच गर्न, गराउन वा जाँच भइसकेको भए पुनः जाँच गर्न वा गर्न लगाउन सक्नेछ। त्यसरी जाँच गर्नु वा गराउनु अघि कारण सहितको जानकारी घोषणाकर्तालाई दिनु पर्नेछ।
(२) कुनै वस्तु जाँच गर्दा भन्सार अधिकृतले आवश्यक देखेमा त्यस्तो वस्तु जाँच गर्ने समयमा घोषणाकर्तालाई उपस्थित हुन आदेश दिन सक्नेछ। (३) घोषणाकर्ताले आफूले निकासी वा पैठारी गरेको वस्तु आफ्नो उपस्थितिमा जाँच गराउन चाहेमा सोको लिखित जानकारी भन्सार अधिकृतलाई दिनु पर्नेछ। त्यसरी जानकारी दिएकोमा भन्सार अधिकृतले तोकेको समयमा निज उपस्थित नभए तापनि त्यस्तो वस्तुको जाँच गर्न सक्नेछ।
२५. वस्तुको नमूना परीक्षण गर्न सक्ने : (१) पैठारी गरिएको खाद्य वा पेय पदार्थ वा अन्य त्यस्तै वस्तुको गुणस्तर परीक्षण, भन्सार मूल्याङ्कन, वस्तुको वर्गीकरण वा जनस्वास्थ्य वा वातावरणमा पनि सक्ने प्रतिकूल प्रभावको दृष्टिले नमूना जाँच गर्न वा गराउन आवश्यक देखेमा भन्सार अधिकृतले उक्त वस्तुको नमूना लिई आफैँले परीक्षण गर्न, सम्बन्धित विशेषज्ञबाट परीक्षण गराउन वा कार्यालय वा विभागको प्रयोगशाला वा प्रमाणीकरण भएका अन्य प्रयोगशालाबाट परीक्षण गराउन सक्नेछ। (२) उपदफा (१) बमोजिम विभागको प्रयोगशालाबाट परीक्षण गराउनको लागि प्राप्त नमूना विभागबाट परीक्षण हुन नसक्ने भएमा विभागले त्यस्तो नमूना अन्य सरकारी प्रयोगशालाबाट परीक्षण गराउन पठाउन सक्नेछ। (३) उपदफा (२) बमोजिम विभागबाट परीक्षणको लागि प्राप्त हुन आएको वस्तुको नमूना सम्बन्धित प्रयोगशालाले यथाशीघ्र परीक्षण गरी त्यसको प्रतिवेदन सम्बन्धित कार्यालयमा पठाउनु पर्नेछ। (४) उपदफा (१) बमोजिम परीक्षणको लागि वस्तुको नमूना लिँदा भन्सार अधिकृतले आवश्यक ठानेमा घोषणाकर्तालाई उपस्थित गराई नमूना लिने वा परीक्षण गर्ने कार्यमा सहयोग लिन सक्नेछ। (५) घोषणाकर्ताले घोषणा गर्नु अघि वस्तुको नमूना लिन वा भौतिक अवलोकन गर्न चाहेमा वस्तुको नमूना लिन वा अवलोकन गर्न सक्नेछ। (६) उपदफा (१) वा (२) बमोजिम नमूना परीक्षण गर्दा त्यस्तो वस्तुले स्वास्थ्य वा वातावरणलाई हानि पुर्याउने वा प्रतिकूल असर पार्ने देखिएमा भन्सार अधिकृतले त्यस्तो वस्तुको सम्बन्धमा दफा २१ को उपदफा (२) को खण्ड (च) बमोजिम गर्न वा गराउन लिखित आदेश दिनु पर्नेछ। (७) उपदफा (६) बमोजिम दिइएको आदेश बमोजिम सम्बन्धित पैठारीकर्ताले त्यस्तो वस्तु फिर्ता नपठाएमा भन्सार अधिकृतले त्यस्तो वस्तु जफत गरी सडाउन वा नष्ट गर्न सक्नेछ र
त्यसरी सडाउन वा नष्ट गर्न लाग्ने वा लागेको खर्च सम्बन्धित पैठारीकर्ताबाट असुल गर्नु पर्नेछ।
२६. सम्बन्धित स्थानमा गई वस्तु जाँच गर्न सकिने : (१) घोषणाकर्ताले आफूले पैठारी गरेको वा निकासी गर्ने वस्तु भन्सार क्षेत्र भन्दा बाहिर वा त्यस्तो वस्तुको उत्पादनस्थल वा गोदाममा गई जाँच गराउन चाहेमा भन्सार अधिकृत समक्ष निवेदन दिनु पर्नेछ। (२) उपदफा (१) बमोजिम प्राप्त निवेदनको व्यहोरा मनासिब देखिएमा भन्सार अधिकृतले त्यस्तो स्थानमा आफैँ गई वा आफू मातहतको कर्मचारी पठाई त्यस्तो वस्तु जाँच गर्न वा गराउन सक्नेछ। (३) उपदफा (२) बमोजिम वस्तु जाँच गर्नु अघि भन्सार अधिकृतले पैठारी भएको वस्तुको हकमा घोषणा गरेको भन्सार मूल्य अनुसार सो वस्तुमा लाग्ने महसुलमा पचास प्रतिशत महसुल थप गरी हुन आउने रकम धरौटी लिन सक्नेछ। (४) उपदफा (३) बमोजिम लिइएको धरौटी रकम सो वस्तुमा लाग्ने महसुल भन्दा बढी भएमा कार्यालयले त्यसरी बढी भएजति रकम पैठारीकर्तालाई फिर्ता दिनु पर्नेछ र कम भएमा त्यस्तो कम भएजति रकम पैठारीकर्ताबाट असुल गर्नु पर्नेछ।
२७. आधिकारिक व्यावसायिक व्यक्ति सूचीकृत गर्ने : (१) मन्त्रालयले देहायका आधारमा कुनै व्यक्तिलाई आधिकारिक व्यावसायिक व्यक्ति (अथोराइज्ड बिजिनेस पर्सन) को रूपमा सूचीकृत गर्न सक्नेछः- (क) विगत तीन वर्षको अवधिमा भन्सार सम्बन्धी कानूनको पूर्ण पालना गरेको, (ख) व्यवसायको आन्तरिक नियन्त्रणको व्यवस्था सन्तोषजनक भएको, (ग) व्यावसायिक अभिलेख विश्वसनीय तथा सन्तोषजनक रूपमा राखेको, (घ) आवश्यकता अनुसार सुरक्षण वा जमानत दिन सक्नेगरी आर्थिक रूपमा समृद्धताको प्रमाण पेस गर्न सक्षम भएको। (२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिमको सूचीमा रहेका व्यक्तिले निकासी वा पैठारी गर्दा विभागले Нижिलिखित देहाय बमोजिमका कुनै सुविधा प्रदान गर्न सक्नेछः- (क) वस्तु पहिचानको लागि आवश्यक पर्ने न्यूनतम कागजातको आधारमा वस्तु जाँचपास गर्ने र पछि पूर्ण विवरण सहितको घोषणा गर्न अनुमति दिने, (ख) घोषणाकर्ताकै परिसर वा विभागले तोकेको अन्य स्थानमा गई वस्तु जाँचपास गरिदिने,
(ग) सम्भव भएसम्म वस्तुको भौतिक निरीक्षण वा जाँच प्रक्रिया न्यूनीकरण गर्ने। (३) उपदफा (१) बमोजिम सूचीकृत भएको व्यक्तिलाई देहायको कुनै आधारमा मन्त्रालयले जुनसुकै वित्त त्यस्तो सूचीबाट हटाउन सक्नेछः- (क) उपदफा (१) बमोजिमको सर्त पूरा नगरेको पाइएमा, (ख) राजस्व चुहावट सम्बन्धी कसुर गरेको प्रमाणित भएमा, (ग) वस्तु चोरी निकासी वा पैठारी गरेको प्रमाणित भएमा।
२८. ढुवानी गर्ने साधनमा मसल लगाउन सक्ने : (१) विभागले जाँचपास भएको वस्तु निश्चित ढुवानी साधन वा सिल गर्ने मिल्ने बन्द कन्टेनरबाट मात्र ढुवानी गर्नु पर्ने गरी आवश्यक व्यवस्था गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिमको ढुवानी साधनमा कार्यालयले विभागले तोके बमोजिमको मसल लगाउनु पर्नेछ। (३) विभागले कार्यालयबाट जाँचपास भएको वस्तु ढुवानी गर्ने साधन अग्रिम रूपमा कार्यालयमा अभिलेखीकरण गर्नु पर्ने गरी आवश्यक व्यवस्था गर्न सक्नेछ।
२९. स्वीकृति नलिई वस्तु खोल्न, हेर्न र जाँच्न नपाइने : (१) जाँचपास भई सिलबन्द गरिएका वस्तु र त्यस्तो वस्तु ढुवानी गरिरहेको साधन निर्धारित गन्तव्यमा नपुगेसम्म महानिर्देशकको स्वीकृति नलिई खोल्न, हेर्न र जाँच्न पाइने छैन। तर राजस्व चुहावट सम्बन्धी प्रचलित कानून बमोजिम अनुसन्धान गर्न अधिकारप्राप्त अधिकारी र दफा २४ बमोजिम भन्सार अधिकृतले कुनै वस्तु जाँच गर्नको लागि त्यस्तो स्वीकृति लिन आवश्यक पर्ने छैन। (२) राजस्व चुहावट सम्बन्धी प्रचलित कानून बमोजिम अनुसन्धान गर्न अधिकारप्राप्त अधिकारीले जाँचपास भई सिलबन्द गरिएका वस्तु र त्यस्तो वस्तु ढुवानी गरिरहेको साधन अनुसन्धानको लागि कब्जामा लिएमा त्यसको जानकारी चौबीस घण्टामभित्र र त्यस्तो वस्तु वा वस्तु ढुवानी गरिरहेको साधनको सम्बन्धमा गरेको कारबाहीको जानकारी त्यस्तो कारबाही सो निकायबाट टुङ्गो लागेको सात दिनभित्र विभाग र सम्बन्धित कार्यालयलाई दिनु पर्नेछ। (३) उपदफा (२) बमोजिम कब्जामा लिएको वस्तु सहितको ढुवानी गर्ने साधन सुरक्षितसाथ आफ्नो कार्यालय वा नजिकको भन्सार कार्यालयमा लगेपछि मात्र खोल्ने, हेर्ने र जाँच्ने कार्य गर्नु पर्नेछ।
३०. पैठारी गरिएको वस्तु पुनः निकासी गर्न सक्ने : (१) पैठारी गरिएको वस्तु देहाय बमोजिम भई पुनः निकासी गर्नु परेमा भन्सार अधिकृतले फिर्ता पठाउने आदेश दिन सक्नेछः- (क) वस्तुमा कुनै खराबी भेटिएको वा पैठारी हुँदाका बखत पैठारीकर्ता र आपूर्तिकर्ताबीच भएको सम्झौतामा उल्लिखित विस्तृत विवरण (स्पेसिफिकेशन) अनुसार नभएको, (ख) जुन उद्देश्यको लागि पैठारी गरिएको हो सो उद्देश्य परिपूर्ति हुन नसकेको, वा (ग) प्रयोगशाला परीक्षण गर्दा गुणस्तरहीन ठहरिएको। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्था विद्यमान नभई महसुल फिर्ता पाउने गरी कुनै वस्तु पुनः निकासी गर्ने आदेश दिइने छैन:- (क) त्यस्तो वस्तु सम्बन्धित आपूर्तिकर्ता वा निजले तोकेको व्यक्तिलाई फिर्ता पठाएको, (ख) त्यस्तो वस्तुको खराबी वा सम्झौता बमोजिमको विस्तृत विवरण (स्पेसिफिकेशन) अनुसार भए नभएको पत्ता लगाउनको लागि नगरी नहुने कार्य बाहेक मरम्मत, प्रयोग वा अन्य कार्य नगरिएको, (ग) पैठारी भएकै वस्तु निकासी हुन लागेको हो भनी भन्सार अधिकृतले यकिन गरेको, (घ) पैठारी भएको वा कार्यालयमा आइपुगेको मितिले नब्बे दिनभित्र फिर्ता पठाउने गरी निवेदन दिएको। (३) उपदफा (१) बमोजिम वस्तु फिर्ता पठाएको छ महिनाभित्र शोधभनान स्वरूप सोही प्रकारको अर्को वस्तु पैठारी गर्नु पर्ने वा त्यस्तो वस्तु पहिले पैठारी गर्दा विदेशी मुद्रा भुक्तानी भइसकेको भए त्यस्तो विदेशी मुद्रा फिर्ता ल्याउनु पर्नेछ। (४) उपदफा (१) बमोजिम फिर्ता पठाएको वस्तुको लागि भुक्तानी गरिएको विदेशी मुद्रा उपदफा (३) बमोजिम फिर्ता नल्याउने वा शोधभनान स्वरूप सोही प्रकारको अर्को वस्तु पैठारी नगर्ने पैठारीकर्तालाई भन्सार अधिकृतले प्रचलित कानून बमोजिम आवश्यक कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ। (५) उपदफा (१) बमोजिम फिर्ता पठाउनु पर्ने वस्तु फिर्ता गर्नु अगावै विदेशी आपूर्तिकर्ताले सोको शोधभनान स्वरूप सोही प्रकारको अर्को वस्तु पठाएको रहे छ भने पैठारीकर्ताको निवेदन र पेस भएका कागजातबाट त्यस्तो वस्तु शोधभनान स्वरूप पैठारी भएको देखिएमा लाग्ने महसुल लाई भन्सार अधिकृतले जाँचपास गर्न सक्नेछ।
(६) उपदफा (५) बमोजिम शोधभनान स्वरूप वस्तु पैठारी भइसकेपछि वा विदेशी मुद्रा भुक्तानी प्राप्त भइसकेपछि पहिले पैठारी भएको वस्तु उपदफा (१) बमोजिमको म्यादभित्र फिर्ता पठाउँदा भन्सार महसुल लाग्ने छैन र पहिले पैठारी गर्दा भन्सार महसुल तिरिसेको भए त्यस्तो भन्सार महसुल फिर्ता दिइनेछ। तर उपदफा (२) को खण्ड (घ) बमोजिमको म्यादभित्र वस्तु फिर्ता नपठाई सो अवधिपछि फिर्ता पठाएमा सो वस्तु पैठारी गर्दा तिरेको भन्सार महसुल फिर्ता दिइने छैन। (७) उपदफा (१) बमोजिम पुनः निकासी गरिने वस्तु पैठारीकर्ताले कार्यालयमै छाड्न सक्नेछ। यसरी छाडेको वस्तु लिलाम बिक्री हुन नसक्ने अवस्थाको भएमा भन्सार अधिकृतको स्वीकृति लिई पैठारीकर्ताकै सहमतिमा कार्यालयका कर्मचारीको रोहबरमा व्यापारिक रूपमा मूल्यहीन बनाउन वा नष्ट गर्न सकिनेछ। (८) उपदफा (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो वस्तु कार्यालयमै छाड्न, नष्ट गर्न वा मूल्यहीन बनाउनको लागि स्वीकृति दिनु अघि पैठारीकर्ताले त्यस्तो वस्तुको शोधभनान स्वरूप वस्तु पैठारी गरिसकेको वा पहिले पैठारी गर्दा विदेशी मुद्रा भुक्तानी भइसकेको भए त्यस्तो विदेशी मुद्रा फिर्ता ल्याइसकेको हुनु पर्नेछ।
परिच्छेद-४ भन्सार मूल्य निर्धारण
३१. पैठारी भएका वस्तुको भन्सार मूल्य निर्धारण गर्ने : (१) पैठारी भएका वस्तुको भन्सार मूल्य विश्व व्यापार सङ्गठनको भन्सार महसुल तथा व्यापार सम्बन्धी सामान्य सम्झौता (जनरल एग्रिमेन्ट अन टेरिफ्स एण्ड ट्रेड), १९९४ को धारा ७ कार्यान्वयन गर्नको लागि सम्पन्न भएको सम्झौतामा उल्लिखित भन्सार मूल्याङ्कन सम्बन्धी नियम, अनुसूची र व्याख्याको अधीनमा रही त्यस्तो वस्तुको कारोबार मूल्यको आधारमा निर्धारण गरिनेछ। (२) पैठारीकर्ताले पैठारी गरेको वस्तुको मूल्य प्रमाणित गर्ने विवरण तथा कागजात संलग्न गरी कारोबार मूल्य घोषणा गर्नु पर्नेछ। (३) उपदफा (२) बमोजिम पैठारीकर्ताले घोषणा गरेको कारोबार मूल्य उपदफा (१) अनुसारको भएमा भन्सार अधिकृतले त्यस्तो कारोबार मूल्यको आधारमा वस्तुको भन्सार मूल्य निर्धारण गर्नेछ। त्यस्तो कारोबार मूल्यमा भाडा, बीमा तथा अन्य सम्बद्ध खर्च समावेश भएको नदेखिएमा भन्सार अधिकृतले सोको लागि लाग्न सक्ने अनुमानित रकम जोडी कारोबार मूल्य निर्धारण गर्नेछ। (४) उपदफा (३) बमोजिमको अनुमानित रकम कायम गर्ने आधार महानिदेशकले निर्धारण गरे बमोजिम हुनेछ।
(५) उपदफा (२) बमोजिम पैठारीकर्ताले घोषणा गरेको मूल्य शङ्कास्पद रहेको विश्वास गर्नु पर्ने मनासिब कारण भएमा भन्सार अधिकृतले निजसँग त्यस्तो मूल्य वास्तविक कारोबार मूल्य हो भन्ने प्रमाणित गर्ने थप कागजात वा प्रमाण माग गर्न सक्नेछ। त्यसरी माग भएको कागजात वा प्रमाण उपलब्ध गराउने जिम्मेवारी सम्बन्धित पैठारीकर्ताको हुनेछ।
(६) उपदफा (२) बमोजिम पैठारीकर्ताले घोषणा गरेको कारोबार मूल्य वा पेस गरेको बिल, बीजक तथा कागजातका आधारमा कुनै वस्तुको भन्सार मूल्य निर्धारण हुन नसकेमा भन्सार अधिकृतले त्यसको कारण सहितको सूचना सम्बन्धित पैठारीकर्तालाई दिनु पर्नेछ।
(७) उपदफा (२) बमोजिम घोषणा गरेको कारोबार मूल्यको आधारमा भन्सार मूल्य निर्धारण गर्न नसकिने भएमा त्यस्तो वस्तुको भन्सार मूल्य सो वस्तु पैठारी हुनुअघि नेपालमा पैठारी भइसकेको समरूपको वस्तु (आइडेंटिकल गुड्स) को कारोबार मूल्यको आधारमा निर्धारण गरिनेछ।
स्पष्टीकरण : यस उपदफाको प्रयोजनको लागि “समरूपको वस्तु (आइडेंटिकल गुड्स)” भन्नाले बनोट, गुण, प्रकृति र विशेषता समेतका कुरा एकै किस्मको भएको वस्तु सम्झनु पर्छ।
(८) उपदफा (७) बमोजिम समरूपको वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्य निर्धारण गर्न नसकिने भएमा त्यस्तो वस्तुको भन्सार मूल्य नेपालमा पहिले पैठारी भएको मिल्दोजुल्दो वस्तु (सिमिलर गुड्स) को कारोबार मूल्यको आधारमा निर्धारण गरिनेछ।
स्पष्टीकरण : यस उपदफाको प्रयोजनको लागि “मिल्दोजुल्दो वस्तु (सिमिलर गुड्स)” भन्नाले सबै कुरामा उस्तै नभएको तर उल्लेखित बनोट सामग्रीको अंश र उस्तै विशेषता भएको कारणले गर्दा उस्तै काम गर्न सक्ने र व्यापारिक रुपमा हेरफेर हुन सक्ने वस्तु सम्झनु पर्छ।
(९) उपदफा (८) बमोजिम मिल्दोजुल्दो वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्य निर्धारण गर्न नसकिने भएमा त्यस्तो वस्तु यसअघि नेपालमा पैठारी भई बजारमा पैठारीकर्तासँग असम्बन्धित व्यक्तिलाई बिक्री भएको रहे छ भने त्यसरी बिक्री भएको अधिकतम एकाइको प्रतिएकाइ बिक्री मूल्यमा नेपालमा लागेको कर, महसुल, अन्य सम्बद्ध खर्च र मुनाफा कटाई (डिडक्टिभ भ्यालु मेथड) त्यस्तो वस्तुको भन्सार मूल्य निर्धारण गरिनेछ।
(१०) उपदफा (९) बमोजिम भन्सार मूल्य निर्धारण गर्न नसकिने भएमा त्यस्तो वस्तु उत्पादन वा निर्माण गर्न लागेको खर्च र सो वस्तु पैठारीकर्तालाई बिक्री गर्दा बिक्रीतले लिएको वा लिन सक्ने मुनाफा समेत गणना (कम्प्युटेड भ्यालु मेथड) गरी भन्सार मूल्य निर्धारण गरिनेछ। (११) उपदफा (१०) बमोजिम भन्सार मूल्य निर्धारण गर्न नसकिने भएमा भन्सार अधिकृतले उपदफा (१), (७), (८), (९) र (१०) विपरीत नहुने गरी मनासिब आधारमा त्यस्तो वस्तुको भन्सार मूल्य निर्धारण गर्नेछ। (१२) उपदफा (९) र (१०) मा जुनसुकै कुरा लेखिएको भए तापनि पैठारीकर्ताले उपदफा (९) भन्दा पहिले उपदफा (१०) को प्रक्रिया अवलम्बन गरी भन्सार मूल्य निर्धारण गरिदिनको लागि अनुरोध गरेमा भन्सार अधिकृतले उपदफा (१०) बमोजिम भन्सार मूल्य निर्धारण गर्न सक्नेछ। (१३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि व्यक्तिगत प्रयोजनको लागि यात्रीले ल्याउन र लैजान पाउने निजी प्रयोगको वस्तु सम्बन्धी सूचना अन्तर्गत पैठारी भएको वस्तु वा विदेशी मुलुकबाट उपहार वा नमुनाको रुपमा पैठारी भएको वस्तु वा राहत वितरणको लागि पैठारी भएको सामग्री वा मूल्य नहुने अवस्थाको वस्तुको कारोबार मूल्य जुलाउन नसकिने कारण जनाई पैठारीकर्ताले मूल्याङ्कन गरिदिन निवेदन दिएमा र त्यस्तो व्यहोरा मनासिब लागेमा भन्सार अधिकृतले त्यस्तो वस्तुको अनुमानित भन्सार मूल्य निर्धारण गर्न सक्नेछ। (१४) भन्सार अधिकृतले पैठारी हुने वस्तुको भन्सार मूल्य निर्धारण गर्दा सामान्यतया विदेशी मुद्रामा गर्नु पर्नेछ। विदेशी मुद्रामा भन्सार मूल्य निर्धारण गरिएकोमा त्यस्तो मूल्यलाई नेपाली रुपैयाँमा परिवर्तन गर्दा वस्तु घोषणा गरेको दिनको लागि नेपाल राष्ट्र बैंकबाट तोकिएको त्यस्तो विदेशी मुद्राको बिक्री दरको आधारमा गर्नु पर्नेछ। (१५) पैठारी हुने वस्तुको भन्सार मूल्य निर्धारण गर्दा नेपाल राष्ट्र बैंकबाट विनिमय दर नतोकिएको विदेशी मुद्राको हकमा सो विदेशी मुद्रालाई अमेरिकी डलरमा परिवर्तन गर्दा कायम हुन आउने अमेरिकी डलरको सो दिनको बिक्री दरको आधारमा गर्नु पर्नेछ। ३२. निकासी गरिने वस्तुको भन्सार मूल्य निर्धारण : (१) निकासी गरिने वस्तुको भन्सार मूल्य सामान्यतया निकासीकर्ताले घोषणा गरे बमोजिम हुनेछ। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि महानिदेशकले आवश्यक ठानेमा निकासी हुने कुनै वस्तुको न्यूनतम भन्सार मूल्य तोक्न सक्नेछ।
(३) उपदफा (२) बमोजिम न्यूनतम भन्सार मूल्य तोकिएकोमा निकासीतले घोषणा गरेको मूल्य र महानिर्देशकले तोकेको भन्सार मूल्यमध्ये जुन बढी हुन्छ सोही मूल्यलाई निकासी प्रयोजनको लागि त्यस्तो वस्तुको भन्सार मूल्य मानिनेछ। (४) भन्सार अधिकृतले उपदफा (३) बमोजिम वस्तुको मूल्य निर्धारण गर्दा विदेशी मुद्रामा गर्नु पर्नेछ। त्यस्तो विदेशी मुद्रालाई नेपाली रुपैयाँमा परिवर्तन गर्दा त्यस्तो वस्तु यस ऐन बमोजिम जाँचपासको लागि घोषणा भएको दिनमा नेपाल राष्ट्र बैंकले तोकेको त्यस्तो विदेशी मुद्राको खरिद दरको आधारमा गरिनेछ।
३३. न्यून बीजकीकरण वा अधिक बीजकीकरण गर्नु नहुने : (१) घोषणाकर्ताले भन्सारमा वस्तुको मूल्य घोषणा गर्दा न्यून बीजकीकरण वा अधिक बीजकीकरण गर्नु हुँदैन। स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि,- (क) "न्यून बीजकीकरण" भन्नाले भन्सार अधिकृतले यस परिच्छेद बमोजिम निर्धारण गरेको मूल्य भन्दा घोषणाकर्ताले घोषणा गरेको मूल्य घटी भएको अवस्था सम्झनु पर्छ। (ख) "अधिक बीजकीकरण" भन्नाले घोषणाकर्ताले भन्सारमा कुनै वस्तुको मूल्य घोषणा गर्दा उक्त वस्तुको लागि वास्तविक रूपमा भुक्तानी गरेको वा भुक्तानी गर्नु पर्ने मूल्य भन्दा बढी मूल्य घोषणा गरेको अवस्था सम्झनु पर्छ। (२) उपदफा (१) बमोजिम घोषणाकर्ताले वस्तुको मूल्य घोषणा गर्दा न्यून बीजकीकरण गरेको पाइएमा भन्सार अधिकृतले त्यसरी न्यून घोषणा गरेको मूल्यमा लाग्ने महसुलको प्रतिशत रकम जरिबाना गरी वस्तु जाँचपास गर्नु पर्नेछ। (३) उपदफा (१) बमोजिम घोषणाकर्ताले वस्तुको अधिक बीजकीकरण गरेको शङ्का लागेमा भन्सार अधिकृतले छानबिनको लागि सम्बन्धित निकाय समक्ष लेखी पठाउन सक्नेछ। (४) यस दफामा जुनसुकै कुरा लेखिएको भए तापनि घोषणाकर्ताले पैठारी भएका वस्तुको भन्सारमा घोषणा गरेको मूल्य दफा ३१ बमोजिम भन्सार अधिकृतले निर्धारण गरेको भन्सार मूल्य भन्दा न्यून भएमा भन्सार अधिकृतले महानिर्देशकको स्वीकृति लिई त्यस्तो वस्तु खरिद गर्न सक्नेछ।
३४. पुनः मूल्य निर्धारण गर्न आदेश दिन सक्ने : (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस परिच्छेद बमोजिम भन्सार अधिकृतले भन्सार मूल्य निर्धारण गर्दा दफा ३१ अनुकूल नभएको वा निर्धारित मूल्य शङ्कास्पद छ भन्ने विश्वास गर्नु पर्ने मनासिब
कारण भएमा महानिर्देशकले त्यस्तो वस्तु जाँचपास भएको नब्बे दिनभित्र दफा ३१ बमोजिम पुनः भन्सार मूल्य निर्धारण गर्न आदेश दिन सक्नेछ। (२) उपदफा (१) बमोजिम महानिर्देशकले आदेश दिएमा भन्सार अधिकृतले तीस दिनभित्र दफा ३१ बमोजिम त्यस्तो वस्तुको पुनः भन्सार मूल्य निर्धारण गरी सोको जानकारी महानिर्देशकलाई दिनु पर्नेछ।
३५. मूल्य निर्धारण सम्बन्धी जानकारी माग गर्न सक्ने : (१) पैठारीकर्ताले आफूले पैठारी गरेको वस्तुको भन्सार मूल्य निर्धारण गर्न कार्यालयले अवलम्बन गरेको आधारको सम्बन्धमा जानकारी मिलन चाहेमा सम्बन्धित कार्यालयमा निवेदन दिन सक्नेछ। (२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएमा कार्यालयले सात दिनभित्र निजलाई त्यस्तो जानकारी दिनु पर्नेछ।
परिच्छेद-५ वस्तुको वर्गीकरण तथा महसुल निर्धारण
३६. वस्तुको वर्गीकरण तथा महसुल निर्धारण : (१) महसुल निर्धारण गर्ने प्रयोजनका लागि पैठारी भएको वा निकासी हुने वस्तुको वर्गीकरण देहायका आधारमा गरिनेछ:- (क) भन्सार महसुल सम्बन्धी प्रचलित कानून, (ख) विश्व भन्सार सङ्गठनद्वारा प्रतिपादित हार्मोनाइज्ड वस्तु वर्गीकरण प्रणाली र सोको व्याख्यात्मक टिप्पणी, (ग) विश्व भन्सार सङ्गठनले गरेको वस्तु वर्गीकरण सम्बन्धी निर्णय, (घ) विश्व भन्सार सङ्गठनको हार्मोनाइज्ड सिस्टम कमिटीको राय माग गरेकोमा सो राय, (ङ) यस ऐन वा भन्सार महसुल सम्बन्धी प्रचलित कानून बमोजिम कुनै वस्तुका सम्बन्धमा महानिर्देशकले गरेको वर्गीकरण वा दिएको पूर्वादेश। (२) दफा २३ को उपदफा (१) को खण्ड (ख) र (घ) बमोजिम भन्सार अधिकृतले वस्तु जाँचपास गर्नु अघि घोषणाकर्ताले घोषणा गरेको वस्तु उपदफा (१) बमोजिमको आधारमा वर्गीकरण भए वा नभएको जाँच गरेर मात्र महसुल निर्धारण गर्नु पर्नेछ। (३) उपदफा (२) बमोजिम वस्तुको वर्गीकरण जाँच गर्दा उपदफा (१) मा उल्लिखित आधार बमोजिम वर्गीकरण भएको पाइएमा भन्सार अधिकृतले त्यस्तो वस्तुमा लाग्ने महसुल अविलम्ब निर्धारण गर्नु पर्नेछ। (४) उपदफा (२) बमोजिम जाँच गर्दा वस्तुको वर्गीकरण उपदफा (१) मा उल्लिखित आधार बमोजिम भएको नदेखिएमा भन्सार अधिकृतले घोषणाकर्तालाई सोको
जानकारी गराई उपदफा (१) को आधारमा वर्गीकरण गरी सोही बमोजिम लाग्ने महसुल निर्धारण गर्नेछ। (५) उपदफा (४) बमोजिम भन्सार अधिकृतले गरेको वस्तुको वर्गीकरणमा चित्त नबुझ्ने घोषणाकर्ताले भन्सार अधिकृतले निर्धारण गरेको महसुल बुझाई दफा ९३ बमोजिम पुनरावलोकनको लागि महानिर्देशक समक्ष निवेदन दिन सक्नेछ। (६) घोषणाकर्ताले उपदफा (५) बमोजिम महसुल बुझाउँदा वस्तुको वर्गीकरणको अन्तिम निर्णय हुँदा ठहरे बमोजिम हुने गरी लाग्ने महसुल नगद धरौटी राखी जाँचपास गराउन चाहेमा भन्सार अधिकृतले सोही बमोजिमको रकम नगद धरौटी लिई त्यस्तो वस्तु जाँचपास गर्न सक्नेछ।
३७. वस्तुको वर्गीकरण सम्बन्धी निर्णय गर्ने : (१) दफा ३६ बमोजिम वस्तुको वर्गीकरण जाँच गर्दा भन्सार अधिकृतलाई घोषणाकर्ताले घोषणा गरेको वस्तुको वर्गीकरण मिले नमिलेको सम्बन्धमा द्विविधा भएमा त्यस्तो वस्तुको विस्तृत विवरण, तत्सम्बन्धी कागजात, द्विविधा हुनु पर्ने कारण सहितको राय तथा सम्भव भएमा वस्तुको नमूना सहित निर्णयको लागि महानिर्देशक समक्ष लेखी पठाउनु पर्नेछ। (२) उपदफा (१) बमोजिम लेखी पठाउनु अघि भन्सार अधिकृतले आफूले उपयुक्त ठानेको उपशीर्षकमा वर्गीकरण गरी सो बमोजिम लाग्ने महसुल बापतको रकम नगद धरौटी लिई जाँचपास गरेको हुनु पर्नेछ। (३) उपदफा (१) बमोजिम लेखी आएमा महानिर्देशकले दफा ३६ को उपदफा (१) मा उल्लिखित आधार समेतको अध्ययन र विश्लेषण गरी त्यसरी लेखी आएको मितिले तीस दिनभित्र त्यस्तो वस्तुको वर्गीकरण उपशीर्षक तोकी सोको जानकारी भन्सार अधिकृतलाई गराउनु पर्नेछ। (४) उपदफा (३) बमोजिम वस्तुको वर्गीकरण सम्बन्धी निर्णय गर्नु अघि महानिर्देशकले आवश्यक ठानेमा सो वस्तु कार्यालय, विभाग वा अन्य सरकारी प्रयोगशालाबाट परीक्षण गराई सम्बन्धित विशेषज्ञ, विश्व भन्सार सङ्गठन, अन्य राष्ट्रिय वा अन्तर्राष्ट्रिय निकायको राय लिन सक्नेछ। त्यसरी राय माग गरिएकोमा उपदफा (३) बमोजिमको समयसीमा लागू हुने छैन। (५) कुनै सरकारी कार्यालय वा संवैधानिक निकायलाई यस ऐन बमोजिम भन्सार जाँचपास भएको कुनै वस्तुको वर्गीकरण सम्बन्धमा द्विविधा भएमा सोको यकिन गर्न विभागमा लेखी पठाउन सकिनेछ। त्यसरी लेखी आएमा महानिर्देशकले निर्णय गरी त्यस्तो वस्तुको उपशीर्षक खुलाई सोको जानकारी सम्बन्धित निकायलाई दिनु पर्नेछ।
३८. वस्तु जाँचपास गर्ने : यो ऐन वा अन्य प्रचलित कानून बमोजिम छुट वा सुविधा दिइएकोमा बाहेक घोषणाकर्ताले यस ऐन बमोजिम निर्धारण भएको महसुल बुझाएपछि मात्र भन्सार अधिकृतले त्यस्तो वस्तु जाँचपास गर्नेछ। तर निर्धारण गरिएको महसुल वा दफा २० बमोजिम भन्सार अधिकृतको अनुमतिमा घोषणा संशोधन गरेको कारणले फरक परेको महसुल एक सय रुपैयाँभन्दा घटी हुने भएमा भन्सार अधिकृतले त्यस्तो महसुल नलिई वस्तु जाँचपास गर्न सक्नेछ।
३९. केन्द्रीय जाँचपास प्रणाली लागू गर्न सक्ने : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्रालयको स्वीकृतिमा महानिर्देशकले केन्द्रीय जाँचपास प्रणाली लागू गरी क्रिभागबाट वस्तु जाँचपास गर्ने गरी आवश्यक व्यवस्था गर्न सक्नेछ।
४०. प्रमाण माग गर्न सक्ने : (१) कुनै व्यक्तिले निकासी गर्न लागेको वा पैठारी गरेको वस्तुको महसुल तिरे नतिरेको सम्बन्धमा शंका गर्नु पर्ने मनासिब कारण भएमा सोको यकिन गर्न कार्यालयको कुनै कर्मचारीले त्यस्तो व्यक्तिबाट सो वस्तुको महसुल तिरेको वा भन्सार जाँचपास भएको प्रमाण माग गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम माग गरिएको प्रमाण पेस गर्नु सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ। निजले महसुल तिरेको वा भन्सार जाँचपास गरेको प्रमाण पेस गर्न नसकेमा वा पेस गरेको प्रमाणमा लेखिए बमोजिमको वस्तु नभई फरक वस्तु देखिए आएमा सम्बन्धित कर्मचारीले सो व्यक्तिलाई वस्तु सहित आफ्नो कब्जामा लिई भन्सार अधिकृत समक्ष पेस गर्नु पर्नेछ। (३) उपदफा (२) बमोजिम व्यक्ति र वस्तु पेस भएपछि भन्सार अधिकृतले त्यस्तो व्यक्तिलाई चोरी पैठारी वा चोरी निकासीको कसूरमा कारबाही चलाउनेछ।
४१. यात्रुको जाँचपास : (१) विदेशबाट नेपाल आउने वा नेपालबाट विदेश जाने यात्रुले आफ्नो साथमा भएको वा आफूसँग ल्याएको वा लैजान लागेको ब्यागेज भन्सार अधिकृत वा निजले तोकेको भन्सारको कर्मचारीबाट जाँच गराउनु पर्नेछ। (२) कुनै यात्रुले विदेशबाट नेपाल आउँदा आफ्नो साथमा वा आफ्नो ब्यागेज वा सवारी साधनमा दफा २० को उपदफा (१) बमोजिम जारी भएको सूचना बमोजिम महसुल छुट पाउने भन्दा बढी परिमाण वा बढी मूल्यका वा महसुल छुट नहुने वस्तु ल्याएमा त्यस्तो वस्तु कार्यालयमा घोषणा गर्नु पर्नेछ। (३) उपदफा (२) बमोजिम यात्रुले घोषणा गरेको वस्तु दफा २० को उपदफा (१) बमोजिम जारी भएको सूचनामा उल्लेख भएको हद भन्दा बढी परिमाण वा बढी मूल्यको
भएमा भन्सार अधिकृतले त्यस्तो वस्तु औचित्य हेरी लाग्ने महसुल लिई जाँचपास गरिदिन वा जफत गर्न सक्नेछ। (४) भन्सार अधिकृत वा निजले तोकेको भन्सारको कर्मचारीले विदेशबाट नेपाल प्रवेश गर्ने वा नेपालबाट विदेश प्रस्थान गर्ने यात्रु वा व्यक्तिको ब्यागेज जाँच गर्न सक्नेछ। आफ्नो ब्यागेज भन्सार अधिकृत वा त्यस्तो कर्मचारीको अगाडि ल्याउनु, ब्यागेज खोल्नु, जाँच गराउनु तथा ब्यागेज बन्द गर्नु सम्बन्धित यात्रु वा व्यक्तिको कर्तव्य हुनेछ। (५) यात्रुको वस्तु जाँचपासमा सहजता ल्याउन भन्सार अधिकृतले भन्सार क्षेत्रमा सम्भव भएसम्म महसुल नलाग्ने वस्तुको लागि हरियो मार्ग र महसुल लाग्ने वस्तुको लागि रातो मार्गको व्यवस्था गर्न सक्नेछ। (६) कार्यालयले यात्रुको प्रवेश बिन्दुमा उपदफा (५) बमोजिमको मार्गको व्यवस्था गरेकोमा आफ्नो साथमा भन्सारमा घोषणा गर्नु पर्ने वा महसुल लाग्ने वस्तु भएका यात्रुले रातो मार्गतर्फ गई त्यस्ता वस्तु भन्सार अधिकृत समक्ष घोषणा गरी लाग्ने महसुल बुझाई छुटाउनु पर्नेछ। (७) आफ्नो साथमा भन्सारमा घोषणा गर्नु पर्ने वा महसुल लाग्ने कुनै वस्तु नभएका यात्रु हरियो मार्ग हुँदै बाहिर निस्कन सक्नेछन्। (८) विभागले सम्बन्धित हवाई सेवा वा सञ्चालकबाट हवाईमार्गबाट नेपाल आउने यात्रुको विवरण कम्प्युटर प्रणालीमा अग्रिम रूपमा प्राप्त गर्ने गरी आवश्यक व्यवस्था गर्न सक्नेछ। (९) उपदफा (८) बमोजिम व्यवस्था भएकोमा अग्रिम रूपमा त्यस्तो विवरण उपलब्ध गराउनु सम्बन्धित हवाई सेवा वा सञ्चालकको कर्तव्य हुनेछ। (१०) भन्सार अधिकृतले यात्रु र निजको साथमा रहेका वस्तुको जाँच तथा जाँचपास गर्दा जोखिम विश्लेषणका आधारमा गर्न सक्नेछ।
परिच्छेद-६ खान्तलासी, कब्जा, पक्राउ तथा जफत
४२. खान्तलासी लिन सक्ने : (१) कसै ले महसुल नतिरी वा चोरी निकासी गर्न लागेको वा चोरी पैठारी गरी ल्याएको वस्तु कुनै घर, भवन, पसल, गोदाम वा ठाउँमा लुकाएको वा राखेको छ भन्ने विश्वास वा शङ्का गर्नु पर्ने मनासिब कारण भएमा महानिर्देशक वा भन्सार अधिकृतले निर्णय गरी त्यस्तो घर, पसल, गोदाम, भवन वा ठाउँको खान्तलासी लिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम खानतलासी लिनु अघि सो घर, भवन, पसल, गोदाम वा ठाउँको धनी वा सो घर, भवन, पसल, गोदाम वा ठाउँमा तत्काल बसोबास गरिरहेको व्यक्तिलाई त्यसरी खानतलासी लिनु परेको कारण समेत खोली लिखित सूचना दिनु पर्नेछ। (३) उपदफा (२) बमोजिम सूचना दिँदा यदि निजले त्यस्तो सूचना बुझ्न नमानेमा सो सूचनाको एक प्रति त्यस्तो घर, भवन, पसल, गोदाम वा ठाउँमा सबैले देख्ने गरी टाँसी दिनु पर्नेछ। त्यसरी टाँस गरिएको सूचना सम्बन्धित व्यक्तिले रीतपूर्वक पाएको मानिनेछ। (४) उपदफा (२) वा (३) बमोजिम सम्बन्धित धनी वा व्यक्तिलाई सूचना दिएपछि निजले खानतलासी लिन खटिएको कर्मचारीलाई त्यस्तो घर, भवन, पसल, गोदाम वा ठाउँको खानतलासी गर्न दिनु पर्नेछ। त्यसरी खानतलासी गर्न कसैले बाधा विरोध गरेमा खानतलासी लिन खटिएको कर्मचारीले खानतलासी लिनु पर्ने घर, भवन, पसल, गोदाम वा ठाउँमा बसिरहेको व्यक्तिलाई सो स्थानबाट हट्ने आदेश दिनु पर्नेछ। (५) उपदफा (४) बमोजिम हट्ने आदेश दिँदा कुनै व्यक्ति सो स्थानबाट नहटेमा खानतलासी लिने कर्मचारीले सुरक्षाकर्मीको सहयोगमा आवश्यक बल प्रयोग गरी निजलाई हटाई खानतलासी लिनु पर्ने घर, भवन, पसल, गोदाम वा ठाउँको बाहिरका ढोका वा भित्रको ढोका वा झ्यालमा ताला वा छेकिनी लगाएको भए सो खोली वा फोरी अन्य कुनै अवरोध भए सो समेत हटाई सूर्योदय भएदेखिसूर्यास्त हुनु अगाडिको समयभित्र कुनै पनि समयमा खानतलासी लिन सक्नेछ। (६) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि खानतलासीको सूचना दिँदा वा सो उपदफा बमोजिमको समयभित्रमा खानतलासी लिँदा चोरी पैठारी गरिएको वा चोरी निकासी गर्न लागिएको वस्तु त्यस्तो घर, भवन, पसल, गोदाम वा ठाउँबाट अन्यत्र सार्न सक्ने वा विदेश पठाउन सक्ने Jिा लागेमा खानतलासी लिने कर्मचारीले जुनसुकै समयमा खानतलासी लिन सक्नेछ। (७) उपदफा (५) वा (६) बमोजिम खानतलासी लिँदा खानतलासी लिने कर्मचारीले उपलब्ध भएसम्म गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडा अध्यक्ष वा वडा सदस्य वा कुनै सरकारी कार्यालयको कर्मचारी वा घरधनी वा निजको प्रतिनिधिमध वा अठार वर्ष उमेर पुगेको कुनै व्यक्तिलाई साक्षी राख्नु पर्नेछ। त्यस्तो साक्षी बस्ने मानिस फेला नपरेमा वा फेला परे पनि निजले साक्षी बस्न इन्कार गरेमा सोही व्यहोरा मुचुल्कामा जनाई खानतलासी लिने कर्मचारीले सहीछाप गरी राख्नु पर्नेछ। (८) यस दफा बमोजिम खानतलासी लिँदा देहाय बमोजिमका वस्तु फेला परेमा खानतलासी लिने कर्मचारीले बरामद गरी आफ्नो कब्जामा लिन सक्नेछः-
(क) भन्सार छली वा चोरी पैठारी गरी ल्याएको वा चोरी निकासी गर्न लागेका वस्तु, (ख) यस ऐन वा भन्सार महसुल सम्बन्धी प्रचलित कानून बमोजिम जफत हुन सक्ने अन्य वस्तु, (ग) वस्तुसँग सम्बन्धित बहीखाता, अभिलेख, कम्प्युटर तथा प्रत्यक्ष वा परोक्ष रूपमा खण्ड (क) मा उल्लिखित वस्तुको कारोबारसँग सम्बन्धित हुन सक्ने अन्य सामग्री, (घ) यस ऐन बमोजिमको कसुरसँग सम्बन्धित हुन सक्ने अन्य वस्तु। (९) उपदफा (८) बमोजिम वस्तु बरामद गरी खानतलासी लिने कर्मचारीले कब्जामा लिएकोमा त्यस्तो वस्तुको विवरण तयार गरी सोको एक प्रति तत्काल सम्बन्धित व्यक्तिलाई बुझाई दिनु पर्नेछ। सम्बन्धित व्यक्तिले त्यस्तो विवरण बुझ्न नमानेमा वा निजलाई बुझाउन नसकिएमा दुई जना साक्षीको रोहबरमा मुचुल्का गरी खानतलासी लिएको स्थानमा टाँस गर्नु पर्नेछ। त्यसरी विवरण टाँस गरिएकोमा सम्बन्धित वस्तुको धनीले त्यस्तो विवरण बुझेको मानिनेछ। (१०) उपदफा (९) बमोजिम वस्तुको विवरण, तत्सम्बन्धी कागजात र कब्जामा लिएको वस्तु खानतलासी लिने कर्मचारीले भन्सार अधिकृत समक्ष दाखिला गर्नु पर्नेछ। त्यसरी दाखिला भएपछि भन्सार अधिकृतले यस ऐन बमोजिम आवश्यक कारबाही प्रारम्भ गर्नु पर्नेछ।
४३. वायुयानको तलासी वा जाँच गर्न सक्ने : (१) विदेशबाट नेपालको कुनै विमानस्थलमा आएको वा नेपालको कुनै विमानस्थलबाट विदेश प्रस्थान गर्ने क्रममा रहेको कुनै वायुयानमा चोरी पैठारी गरिएको वा चोरी पैठारी वा चोरी निकासी गर्ने उद्देश्यले कुनै वस्तु लुकाई राखेको सूचना भन्सार अधिकृतलाई प्राप्त भई सो सूचनामा विश्वास गर्न सकिने पर्याप्त आधार भएमा र भन्सार अधिकृतले आवश्यक देखेमा विमानस्थल सञ्चालकलाई जानकारी दिई त्यस्तो वायुयानमा प्रवेश गरी वायुयानको सबै भागको तलासी लिन वा जाँच गर्न, वायुयानमा भएका वा वायुयानमा चढाउन वा वायुयानबाट ओराल्न लागेका सबै वस्तु जाँच गर्न वा तत्सम्बन्धी कागजात माग गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम भन्सार अधिकृतले वायुयानको तलासी लिँदा वा जाँच गर्दा वायुयानको क्याप्टेनसँग वायुयान, कार्गो, चालक दलका सदस्य, यात्रु वा अन्य कुरासँग सम्बन्धित आवश्यक सूचना माग गर्न सक्नेछ। त्यसरी माग गरेको सूचना भन्सार
अधिकारीलाई उपलब्ध गराई तलासी लिने वा वस्तु जाँच गर्ने कार्यमा आवश्यक सहयोग गर्नु सम्बन्धित वायुयानको क्याप्टेनको कर्तव्य हुनेछ। (३) उपदफा (१) बमोजिम तलासी लिँदा वा जाँच गर्दा चोरी निकासी वा चोरी पैठारी गरेको वा गर्ने उद्देश्यले लुकाई राखेको वस्तु वा अन्य प्रतिबन्धित वा निषेधित वस्तु फेला परेमा भन्सार अधिकारीले त्यस्तो वस्तु र सोसँग सम्बन्धित कागजात समेत कब्जामा लिई सोको जानकारी सम्बन्धित वायुयान सञ्चालकलाई दिनु पर्नेछ।
४४. वाहन रोक्ने र तलासी वा जाँच गर्न सक्ने : (१) भन्सार अधिकृत वा भन्सारमा खटिएको कर्मचारीलाई कुनै वाहनमा महसुल नतिरिएको वा चोरी निकासी गर्न लागेको वा चोरी पैठारी गरिएको वा प्रतिबन्धित वा निषेधित वस्तु भए नभएको निश्चित गर्नको लागि जुनसुकै वाहनलाई जुनसुकै स्थान र समयमा रोकी त्यस्तो वाहनको तलासी लिने वा जाँच गर्ने अधिकार हुनेछ। (२) उपदफा (१) बमोजिम भन्सार अधिकृत वा भन्सारमा खटिएको कर्मचारीले कुनै वाहनलाई रोक्ने आदेश दिएमा त्यस्तो वाहनको चालकले तत्काल वाहन रोकी तलासी लिन वा जाँच गर्न दिनु पर्नेछ। त्यसरी तलासी लिन वा जाँच गर्न रोकेको वाहनलाई भन्सार अधिकृतको अनुमति बिना अन्यत्र लैजान पाइने छैन। (३) उपदफा (२) बमोजिम भन्सार अधिकृत वा भन्सारमा खटिएको कर्मचारीले कुनै वाहन रोक्न आदेश दिएकोमा वाहनको धनी वा चालकले त्यस्तो वाहन नरोकेमा वा त्यस्तो आदेश नमानि हुलहुज्जत वा जोरजुलुम गरी त्यस्तो वाहन नजचाई भगाउन प्रयत्न गरेमा वा भगाएमा भन्सार अधिकृतले भन्सारमा खटिएको सुरक्षाकर्मीलाई त्यस्तो वाहनको पाङ्ग्रामा गोली हान्न आदेश दिन सक्नेछ। (४) उपदफा (३) बमोजिम गोली हान्न परेको अवस्थामा सोको जानकारी छिटो माध्यमद्वारा महानिर्देशक र सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई दिनु पर्नेछ।
४५. व्यक्तिको तलासी लिन सक्ने : (१) विदेशबाट नेपाल आउन वा नेपालबाट विदेश जान लागेको कुनै व्यक्तिको साथमा वा निजको ब्यागेजमा महसुल नतिर्ने मनसायले लुकाई राखेको वा प्रतिबन्धित वा निषेधित वस्तु भएको जस्तो गर्नु पर्ने मनासिब कारण भएमा भन्सारमा खटिएको कर्मचारीले सोको मौखिक जानकारी सम्बन्धित व्यक्तिलाई दिई निजको तलासी लिन सक्नेछ। (२) उपदफा (१) बमोजिम कुनै व्यक्तिको शरीरको तलासी लिँदा निजले शरीरभित्र कुनै वस्तु लुकाई राखेको छ भन्ने जस्तो लागेमा भन्सार अधिकृतले त्यस्तो व्यक्तिको
एक्स-रे गराउन वा चिकित्सकबाट आवश्यक जाँच गराई तलासी लिन सम्बन्धित कर्मचारीलाई आदेश दिन सक्नेछ। (३) कुनै व्यक्तिले कुनै वस्तु चोरी निकासी गर्न लागेको वा चोरी पैठारी गरेको वा चोरी पैठारी गर्न लागेको छ वा गर्नु पर्ने कारण भएमा वा त्यस्तो सूचना प्राप्त भएमा भन्सारमा खटिएका कर्मचारीले त्यस्तो व्यक्तिलाई जुनसुकै समय वा स्थानमा रोकी मौखिक जानकारी दिई त्यस्ता व्यक्तिको शरीर वा निजको साथमा रहेको वस्तुको तलासी लिन सक्नेछ। तर महिलाको शरीरको तलासी लिनु पर्दा भन्सारमा खटिएका महिला कर्मचारी वा महिला प्रहरीबाट र यौनिक अल्पसङ्ख्यकको हकमा निजले रोजेको महिला वा पुरुष कर्मचारी वा प्रहरीबाट लिनु पर्नेछ। (४) कुनै व्यक्तिले दफा ६ बमोजिम तोकिएको बाटो बाहेक अन्यत्रबाट वस्तु निकासी वा पैठारी गर्न लागेमा भन्सार अधिकृत वा भन्सारमा खटिएको कर्मचारी वा अधिकारप्राप्त अन्य सरकारी कर्मचारीले निजलाई तत्काल रोक्न सक्नेछ। (५) उपदफा (४) बमोजिम रोक्न खोज्दा निजले त्यस्तो भन्सार अधिकृत वा कर्मचारीलाई हुलहुज्जत वा जोरजुलुम गरी भाग्न वा उम्कन खोजेमा भन्सार अधिकृत वा त्यस्तो कर्मचारीले निजलाई पक्राउ गर्न सक्नेछ। (६) उपदफा (५) बमोजिम पक्राउ गर्दा निजले जोरजुलुम गरेमा वा भाग्न उम्कन खोजेमा र तत्काल पक्राउ गर्न नसकिने अवस्था भएमा आफ्नो रक्षा र कर्तव्यको पालनाको निम्ति त्यस्तो भन्सार अधिकृत वा अधिकारप्राप्त अधिकारीले भन्सारमा खटिएको सुरक्षाकर्मीलाई स्थिति नियन्त्रणमा लिनको लागि हवाई फायर गर्न र हवाई फायर गर्दा पनि स्थिति नियन्त्रण नभए सकभर कम क्षति हुने गरी गोली समेत चलाउन आदेश दिन सक्नेछ। (७) उपदफा (६) बमोजिम गोली चलाउनु परेको अवस्थामा सो कुराको जानकारी छिटो माध्यमद्वारा महानिर्देशक र सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई दिनु पर्नेछ। ४६. भन्सार अधिकृत समक्ष पेश गर्नु पर्ने : (१) दफा ४५ बमोजिम तलासी लिन लगाइएको कुनै व्यक्तिले भन्सार अधिकृतको उपस्थितिमा आफ्नो तलासी लिन माग गरेमा सम्बन्धित कर्मचारीले निजलाई तुरुन्त भन्सार अधिकृत समक्ष पेश गर्नु पर्नेछ। (२) उपदफा (१) बमोजिम पेश गरिएको व्यक्तिको तलासी लिनु पर्ने मनासिब आधार देखेमा भन्सार अधिकृतले आफूले तलासी लिनु पर्ने वा आफू मातहतको कर्मचारीलाई आफ्नो उपस्थितिमा तलासी लिन लगाउनु पर्नेछ।
४७. चोरी निकासि वा चोरी पैठारी गरेको मानिने : (१) यस परिच्छेद बमोजिम तलासी लिँदा महसुल लाग्ने वा यस ऐन वा भन्सार महसुल सम्बन्धी प्रचलित कानून बमोजिम घोषणा गरी निकासि वा पैठारी गर्नु पर्ने वस्तु बरामद भएकोमा भन्सार अधिकृतले सम्बन्धित व्यक्तिलाई सो वस्तुको भन्सार जाँचपास भएको प्रमाण पेश गरि आदेश दिनेछ। (२) उपदफा (१) बमोजिम भन्सार अधिकृतले दिएको आदेश बमोजिम वस्तुको जाँचपास भएको प्रमाण पेश गर्न नसकेमा निजले त्यस्तो वस्तु चोरी निकासि वा चोरी पैठारी गरेको मानिनेछ।
४८. कसूरसँग सम्बन्धित व्यक्तिलाई पक्राउ गर्न सकिने : (१) यस परिच्छेद बमोजिम तलासी लिँदा कुनै व्यक्तिले यस ऐन अन्तर्गतको कसूर गरेको देखिएमा भन्सार अधिकृतले त्यस्तो व्यक्तिलाई पक्राउ गर्ने अनुमतिमा लागि निजको पहिचान खुल्ने विवरण सहित मुद्दा हेर्ने अधिकारी समक्ष निवेदन दिनु पर्नेछ। (२) उपदफा (१) बमोजिमको निवेदनबाट त्यस्तो व्यक्तिलाई पक्राउ गर्नु पर्ने मनासिब कारण देखिएमा मुद्दा हेर्ने अधिकारीले निजको नाममा पक्राउ पुर्जी जारी गर्न अनुमति दिन सक्नेछ। (३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम पक्राउ गर्नु पर्ने व्यक्ति तत्काल पक्राउ नगरिएमा त्यस्तो व्यक्ति भाग्ने, उम्कने, निजले दसी, प्रमाण वा सबूत नष्ट गर्ने सम्भावना भएमा वा कसूरसँग सम्बन्धित फरार रहेको व्यक्ति फेला परेमा भन्सार अधिकृत वा निजले खटाएको कर्मचारीले त्यस्तो व्यक्तिलाई जुनसुकै ठाउँबाट जुनसुकै बखत जरुरी पक्राउ पुर्जी दिई पक्राउ गर्न सक्नेछ। (४) उपदफा (२) वा (३) बमोजिम पक्राउ गरिएको व्यक्तिलाई पक्राउ गरेपछि बाटोको म्याद बाहेक चौबीस घण्टामभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्नेछ।
४९. फरार व्यक्तिलाई पक्रन सकिने : यस ऐन अन्तर्गत कसूर मानिने कुनै कार्य गर्ने व्यक्तिलाई कसूर गदािकै बखत पक्राउ गर्न नसकिएमा वा पक्राउ गरिएको भए तापनि निज फरार भएमा भन्सार अधिकृत वा अनुसन्धान अधिकृतले वा निजले खटाएको अन्य कर्मचारीले निजलाई जुनसुकै बखत पक्राउ गर्न सक्नेछ।
५०. वस्तु कब्जामा लिन सक्ने : (१) यस ऐन वा भन्सार महसुल सम्बन्धी प्रचलित कानून बमोजिम जफत हुने वस्तु देखेमा वा पत्ता लागेमा भन्सार अधिकृतले वा निजले खटाएको कर्मचारीले वा भन्सारमा सुरक्षाको लागि खटिएका प्रहरीले त्यस्तो वस्तु जुनसुकै ठाउँमा र जहिलेसुकै पनि कब्जामा लिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम वस्तु कब्जामा लिनेले त्यसरी वस्तु कब्जामा लिनु परेको कारण र कब्जामा लिएको वस्तुको विवरण सहितको निस्सा वस्तु कब्जा गरेको तीन दिनभित्र सम्बन्धित वस्तुको धनीलाई दिनु पर्नेछ।
५१. वस्तु बुझाउनु पर्ने : (१) कार्यालयको कर्मचारी वा अन्य निकायले यस ऐन बमोजिम कब्जामा लिएको वस्तु र सोको विवरणको एक प्रति यथाशीघ्र भन्सार अधिकृत समक्ष बुझाउनु पर्नेछ। (२) उपदफा (१) बमोजिम वस्तु दाशिल भएपछि भन्सार अधिकृतले त्यस्तो वस्तु यस ऐन बमोजिम कब्जा गर्नु पर्ने हो वा होइन भन्ने कुराको जाँचबुझ गर्नु पर्नेछ। त्यसरी जाँचबुझ गर्दा त्यस्तो वस्तु बिना कारण कब्जामा लिएको वा कब्जामा लिनु नपर्ने देखिएमा निजले सो वस्तु त्यस्तो वस्तुको धनीलाई तुरुन्त फिर्ता दिनु पर्नेछ। (३) भन्सार अधिकृतले उपदफा (२) बमोजिम जाँचबुझ गर्दा वस्तु जफत हुन सक्ने देखेमा त्यस्तो वस्तुका सम्बन्धमा अनुसन्धान अधिकृतबाट अनुसन्धान तहकिकात गराउन सक्नेछ।
५२. वस्तु जफत गर्ने : (१) दफा २० को उपदफा (१४) बमोजिमको अवधिभित्र घोषणा नगरिएको वस्तु वा भन्सार क्षेत्र वा भन्सार वेयर हाउसबाट तोकिएको अवधिभित्र जाँचपास गरी नलगेको वस्तु भन्सार अधिकृतले जफत गर्नेछ। (२) उपदफा (१) बमोजिम जफत गर्नु अघि सम्बन्धित कार्यालयले त्यस्तो वस्तु छुट्टाई लैजान वस्तुको धनीलाई पुन: दिनको सूचना दिनु पर्नेछ। (३) उपदफा (२) बमोजिम दिइएको सूचनाको अवधिभित्र वस्तु छुट्टाई लैजान वस्तुको धनीले निवेदन दिएमा र कारण मनासिब लागेमा भन्सार अधिकृतले त्यस्तो वस्तु सार्वजनिक सूचनाको अवधिभित्र जाँचपास गरिदिन सक्नेछ।
५३. जफत गर्नु पर्ने अन्य वस्तु : (१) यस ऐन वा भन्सार महसुल सम्बन्धी प्रचलित कानून बमोजिम कुनै वस्तु जफत गर्ने निर्णय भएमा त्यस्तो वस्तु प्याक गर्न प्रयोग भएका पार्सल वा प्याकेट समेतका वस्तु जफत गर्नु पर्नेछ। (२) उपदफा (१) बमोजिम वस्तु जफत गर्दा त्यस्तो वस्तु ढुवानीको लागि प्रयोग भएको सवारी वा ढुवानीका साधन जफत गरिने छैन।
• आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
तर त्यस्तो सवारी वा ढुवानीको साधनको धनी फेला नपरी सो सम्बन्धमा जारी गरिएको हकदाबीको सूचनामा समेत कुनै हकदाबी नपरेमा त्यस्तो सवारी वा ढुवानीको साधन जफत गर्नि बाधा पर्ने छैन।
५४. जफत गरेको सूचना दिनु पर्ने : यस ऐन वा भन्सार महसुल सम्बन्धी प्रचलित कानून बमोजिम कुनै वस्तु जफत गरिएकोमा भन्सार अधिकृतले छिटो माध्यमद्वारा सोको जानकारी त्यस्तो वस्तुको धनीलाई दिनु पर्नेछ।
५५. वस्तु नेपाल सरकारको हुने : कुनै पैठारीकर्ताले आफूले पैठारी गरेको वस्तु कार्यालयबाट नछुट्टाई भन्सार महसुल सम्बन्धी प्रचलित कानून बमोजिम नेपाल सरकारको हुने गरी कार्यालयमा छाडेको र यस ऐन बमोजिम जफत गरिएको वस्तु नेपाल सरकारको हुनेछ।
५६. भन्सार क्षेत्रमा छेकाबार राख्न सक्ने : (१) भन्सार क्षेत्रमा आवागमन हुने सार्वजनिक सडक वा स्थानबाट वस्तुको चोरी निकासी वा चोरी पैठारी हुन सक्ने वा महसुल छल्न सक्ने कार्यलाई नियन्त्रण तथा नियमन गर्नि भन्सार अधिकृतले आवश्यकता अनुसार त्यस्तो सडक वा स्थानमा छेकाबार राख्न सक्नेछ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि "छेकाबार" भन्नाले यात्री वा वाहन भन्सार क्षेत्र भई आवतजावत गर्ने स्थानमा यात्री वा वाहनको नियन्त्रण तथा नियमन गर्निको लागि राखिएको ढाट, ढोका वा ब्याररयर जस्ता आवागमनलाई नियन्त्रण गर्ने भौतिक वस्तु वा संरचना सम्झनु पर्छ।
(२) उपदफा (१) बमोजिम राखिएको छेकाबार नजिक पुगेपछि कुनै पनि वाहनको चालकले आफ्नो वाहन रोकी सो छेकाबार भन्दा अगाडि बढ्नको लागि भन्सारका कर्मचारीको अनुमति लिनु पर्नेछ।
(३) उपदफा (१) बमोजिम राखिएको छेकाबारबाट कुनै वाहनलाई क्षति पुगेमा वा सो वाहनमा रहेको चालक वा अन्य व्यक्तिलाई कुनै चोटपटक लागेमा भन्सार अधिकृत वा भन्सारको अन्य कर्मचारी जिम्मेवार हुने छैन।
परिच्छेद-७ भन्सार वेयर हाउस
५७. भन्सार वेयर हाउसको स्थापना र सञ्चालन : (१) निकासी हुने वा पैठारी भएका वस्तु जाँचपास नभएसम्मका लागि सुरक्षित रूपमा राख्नको लागि क्रिभागले कार्यालयको परिसर, कुनै स्थान वा भन्सार क्षेत्रमा भन्सार वेयर हाउस निर्माण गरी सञ्चालन गर्न सक्नेछ।
(२) कसैले कार्यालयको परिसर वा स्थान वा भन्सार क्षेत्रमा भन्सार वेयर हाउस निर्माण गरी वा सरकारी स्वामित्वमा स्थापना भएको वेयर हाउस सञ्चालन गर्न चाहेमा विभागबाट स्वीकृति लिनु पर्नेछ। (३) महानिर्देशकले कुनै विशेष प्रकारका वस्तु कुनै खास भन्सार वेयर हाउसमा मात्र राख्नु पर्ने गरी तोक्न सक्नेछ। (४) कुनै व्यक्तिले नेपालको कुनै स्थानमा निजी वेयर हाउस सञ्चालनको लागि प्रचलित कानून बमोजिम इजाजतपत्र लिई त्यस्तो वेयर हाउसमा पैठारी भएका वा निकासी हुने वस्तु जाँचपास नभएसम्मका लागि जम्मा गर्न वा सुरक्षित रूपमा राख्न महानिर्देशकको स्वीकृति लिनु पर्नेछ। (५) कार्यालय आफैँले सञ्चालन गरेको भन्सार वेयर हाउस बाहेक अन्य व्यक्तिले सञ्चालन गरेको भन्सार वेयर हाउसको इजाजतपत्र प्रचलित कानून बमोजिम नवीकरण गराउनु पर्नेछ। (६) महानिर्देशकले भन्सार वेयर हाउसमा वस्तु राख्ने अवधि र अन्य सर्त तोक्न सक्नेछ। (७) भन्सार वेयर हाउस सञ्चालन गर्दा यस दफा बमोजिम महानिर्देशकले तोकेको सर्त पालना नगरेमा महानिर्देशकले उपदफा (४) बमोजिम दिएको स्वीकृति जुनसुकै बखत रद्द गरी त्यस्तो वेयर हाउसको इजाजतपत्र खारेज गर्नको लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ। (८) भन्सार अधिकृत वा निजले तोकेको भन्सारको कुनै कर्मचारीले कुनै बखत भन्सार वेयर हाउसमा प्रवेश गर्न, वस्तु निरीक्षण गर्न, प्रत्येक वस्तु खोली जाँच गर्न वा बीच बीचमा छड्के जाँच गर्न वा वस्तुको नमूना सङ्कलन गर्न सक्नेछ। (९) महानिर्देशक वा भन्सार अधिकृतको अनुमति बिना अन्य कुनै पनि व्यक्तिलाई भन्सार वेयर हाउसमा प्रवेश गर्न, वस्तु निरीक्षण गर्ने वा वस्तुको नमूना सङ्कलन गर्ने अधिकार हुने छैन।
५८. भन्सार वेयर हाउसमा रहेका वस्तु स्थानान्तरण गर्न सक्ने : (१) कुनै वस्तुको धनीले एउटा भन्सार वेयर हाउसमा राखिएको वस्तु अर्को भन्सार वेयर हाउसमा स्थानान्तरण गर्न चाहेमा भन्सार अधिकृत समक्ष निवेदन दिन सक्नेछ। (२) उपदफा (१) बमोजिम प्राप्त निवेदनको व्यहोरा मनासिब लागेमा भन्सार अधिकृतले वस्तु स्थानान्तरण गर्ने अनुमति दिन सक्नेछ।
(३) उपदफा (२) बमोजिम अनुमति लिई वस्तु स्थानान्तरण गर्दा वस्तुको धनीले पैठारी भएको वस्तु विचलन गरेमा भन्सारले त्यस्तो वस्तु चोरी पैठारी गरेको मान्नेछ।
५९. भन्सार वेयर हाउसमा रहेको वस्तु कार्यालयको नियन्त्रणमा रहने : (१) दफा ५७ को उपदफा (१), (२) वा (५) बमोजिम सञ्चालित भन्सार वेयर हाउसमा निकासी वा पैठारीको लागि राखिएको वस्तु जाँचपास नभएसम्म सम्बन्धित कार्यालयको नियन्त्रणमा रहनेछ। (२) भन्सार वेयर हाउसमा रहेको वस्तु देहायको अवस्थामा मात्र भन्सार क्षेत्र बाहिर लैजान सकिनेछः- (क) कार्यालयमा घोषणा गरी त्यस्तो वस्तुमा यस ऐन वा भन्सार महसुल सम्बन्धी प्रचलित कानून बमोजिम निर्धारण गरिएको सम्पूर्ण महसुल, जरिवाना, ब्याज, भन्सार वेयर हाउसको भाडा लगायतका बुझाउनु पर्ने रकम बुझाएको, र (ख) भन्सार अधिकृतबाट जाँचपास भएको।
६०. भन्सार वेयर हाउसमा रहेका वस्तुको क्षतिपूर्ति : (१) भन्सार वेयर हाउसमा रहेका वस्तु भन्सार वेयर हाउस सञ्चालकले क्षत नहुने गरी सुरक्षित रूपमा राख्नु पर्नेछ। (२) भन्सार वेयर हाउसमा राखिएका वस्तु चोरीएमा, हराएमा, विपद् वा दुर्घटनाको कारणले वा वस्तु राख्ने वा उठाउने क्रममा स्वाभाविक रूपमा हुन सक्ने टुटफुट बाहेक अन्य कुनै कारणबाट नष्ट भएमा, क्षत भएमा वा क्षत गरिएमा, लापरबाही वा जानाजानी अन्य अनधिकृत व्यक्तिलाई दिएमा वस्तुको धनीले त्यस्तो वस्तुको क्षतिपूर्ति प्रचलित कानून बमोजिम भन्सार वेयर हाउस सञ्चालकबाट भराई मिलन पाउनेछ। (३) भन्सार वेयर हाउसमा रहेका वस्तु भन्सार वेयर हाउस सञ्चालकको लापरबाहीको कारणले चोरी भएमा, हराएमा, आगलागी भएमा वा अन्य कुनै किसिमले क्षत वा हानि नोक्सानी भएमा भन्सार अधिकृतले त्यस्तो वस्तुमा लाग्ने महसुलको दोब्बर महसुल भन्सार वेयर हाउस सञ्चालकबाट असुल गर्नु पर्नेछ।
६१. बण्डेड वेयर हाउस सञ्चालन गर्न इजाजतपत्र दिन सकिने : (१) कुनै उद्योगले कच्चा पदार्थ र सहायक कच्चा पदार्थ पैठारी गरी इजाजतपत्र प्राप्त बण्डेड वेयर हाउसमा राखी त्यस्तो कच्चा पदार्थबाट तयारी वस्तु उत्पादन, प्रशोधन वा निर्माण गरी विदेशमा निकासी गर्नको लागि वा स्वदेशमै परिवर्त्य विदेशी मुद्रामा बिक्री गर्नको लागि बण्डेड वेयर हाउस सञ्चालन गर्न इजाजतपत्र मिलन चाहेमा महानिदेशक समक्ष निवेदन दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम प्राप्त निवेदनको व्यहोरा मनासिब देखिएमा महानिर्देशकले त्यस्तो उद्योगलाई बण्डेड वेयर हाउस सञ्चालन गर्न इजाजतपत्र दिन सक्नेछ।
६२. इजाजतपत्र निलम्बन वा खारेज गर्न सक्ने : बण्डेड वेयर हाउस सञ्चालनको इजाजतपत्र पाएको व्यक्तिले देहायका कुनै सर्त पालना नगरेमा महानिर्देशकले त्यस्तो इजाजतपत्र निलम्बन वा खारेज गर्न सक्नेछः- (क) निकासी मूलक उद्योगले तयारी वस्तुलाई कच्चापदार्थ भनी घोषणा गरेमा, (ख) बण्डेड वेयर हाउसको लागि प्राप्त सुविधाको दुरुपयोग गरेमा, (ग) इजाजतपत्रमा उल्लिखित सर्त पालना नगरेमा।
६३. करमुक्त पसल सञ्चालन गर्न इजाजतपत्र दिन सक्ने : (१) महानिर्देशकले तोकिए बमोजिमका वस्तु कूटनीतिक सुविधा वा महसुल सुविधा पाउने निकाय, पदाधिकारी वा व्यक्तिलाई बिक्री गर्ने प्रयोजनको लागि कुनै व्यक्तिलाई करमुक्त पसल सञ्चालन गर्न इजाजतपत्र दिन सक्नेछ। स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि,- (क) "करमुक्त पसल" भन्नाले भन्सार महसुल सम्बन्धी प्रचलित कानून बमोजिम बैङ्क जमानतमा पैठारी गरी वस्तु भण्डारण गर्न र त्यस्तो वस्तुमा यस ऐन तथा प्रचलित कानून बमोजिम लाग्ने कर छुट दिई बिक्री गर्न महानिर्देशकबाट इजाजतपत्र लिई कुनै स्थानमा सञ्चालन गरिने पसल सम्झनु पर्छ। (ख) "कूटनीतिक सुविधा" भन्नाले नेपाल पश भएको सन्धि वा सम्झौताको प्रावधान बमोजिम कुनै वस्तु जाँच नगरी, महसुल नलिई लगत मात्र राखी निकासी वा पैठारी गर्न दिइने सुविधा वा सहुलियत सम्झनु पर्छ। (ग) "महसुल सुविधा" भन्नाले कुनै वस्तु प्रचलित कानून बमोजिम महसुल नलिई, जाँच गरी वा नगरी लगत मात्र राखी निकासी वा पैठारी गर्न दिइने सुविधा सम्झनु पर्छ। (२) उपदफा (१) बमोजिम करमुक्त पसल सञ्चालनको लागि इजाजतपत्र दिँदा आवश्यकताको विश्लेषणको आधारमा सङ्ख्या तथा क्षेत्र यकीन गरी न्यूनतम शुल्क तोकी सो शुल्कमा मिसलबन्दी बोलपत्रद्वारा प्रतिस्पर्धाको आधारमा दिनु पर्नेछ। (३) उपदफा (१) बमोजिम इजाजतपत्र प्राप्त व्यक्तिले करमुक्त पसलको लागि पैठारी गरेको वस्तु उपदफा (१) मा उल्लिखित व्यक्ति बाहेक अन्य व्यक्तिलाई बिक्री
गरेमा वा बिक्री अनुसार मौज्दात दुरुस्त नदेखिएमा महानिर्देशकले निजबाट त्यस्तो वस्तुमा लाग्ने महसुल र सोको दोब्बर जरिवाना असुल गरी त्यस्तो इजाजतपत्र खारेज गर्न सक्नेछ।
परिच्छेद-८ वस्तुको आन्तरिक परिवहन तथा अन्तर्राष्ट्रिय पारवहन
६४. वस्तुको आन्तरिक परिवहनको सुविधा दिन सकिने : कुनै कार्यालयमा आइपुगेको वस्तु सो कार्यालयबाट जाँचपास नगराई अर्को कार्यालयमा लेगी जाँचपास गराउन चाहेमा त्यस्तो वस्तु अर्को कुनै कार्यालयसम्म लैजाने गरी आन्तरिक परिवहनको सुविधा दिन सकिनेछ।
६५. अन्तर्राष्ट्रिय पारवहन सम्बन्धी व्यवस्था : (१) कुनै वस्तु नेपालको भूभाग हुँदै अर्को कुनै मुलुकमा लैजानको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सर्त सहित कुनै मुलुकलाई अन्तर्राष्ट्रिय पारवहन अनुमति दिन सक्नेछ। (२) उपदफा (१) बमोजिम अन्तर्राष्ट्रिय पारवहनको लागि नेपालमा पैठारी हुने वस्तुमा महसुल लाग्ने छैन। (३) अन्तर्राष्ट्रिय पारवहनको लागि वस्तु आगमन हुने कार्यालय, प्रयोग गर्न पाइने मार्ग तथा प्रस्थान हुने कार्यालयको सम्बन्धमा द्विपक्षीय वा बहुपक्षीय सन्धिमा उल्लेख भएकोमा सोही बमोजिम र उल्लेख नभएकोमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ। (४) पारवहनको लागि नेपालमा पैठारी गर्ने वस्तुको सम्बन्धमा अपनाउनु पर्ने प्रक्रिया, पालन गर्नु पर्ने सर्त तथा सुरक्षाका लागि अपनाउनु पर्ने उपाय र कुनै सेवा प्रदान गरे बापत लिइने शुल्क तथा दस्तुर नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ।
परिच्छेद-९ शीघ्र जाँचपास तथा हुलाकबाट गरिने निकासी वा पैठारी
६६. शीघ्र जाँचपासको सुविधा दिन सक्ने : (१) निजी क्षेत्रबाट सञ्चालित द्रुत सेवा वा कुरियर कम्पनीले हवाई मार्गबाट निकासी वा पैठारी गर्ने वस्तुको लागि मन्त्रालयले शीघ्र जाँचपासको सुविधा दिन सक्नेछ। (२) उपदफा (१) बमोजिम शीघ्र जाँचपासको सुविधा दिँदा अपनाइने प्रक्रिया, निकासीकर्ता वा पैठारीकर्ताले पालन गर्नु पर्ने सर्त, बन्देज तथा त्यस्तो सुविधा लागू हुने मिति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ।
(३) निजी क्षेत्रबाट सञ्चालित द्रुत सेवा वा कुरियर कम्पनीले हवाई मार्गबाट निकासी वा पैठारी गर्ने वस्तुमा नेपाल सरकारले महसुल छुट दिन सक्नेछ।
६७. हुलाक मार्फत निकासी वा पैठारी गर्ने वस्तु भन्सार अधिकृत समक्ष দাखिला गर्नु पर्ने : (१) हुलाक मार्फत कसैको नाममा पुमिलन्दाबाट कुनै वस्तु आएमा सम्बन्धित हुलाक कार्यालयले पुमिलन्दा प्राप्त गर्ने व्यक्तिलाई सो कुराको सूचना दिई त्यस्तो पुमिलन्दा नजिकको कार्यालयको भन्सार अधिकृत समक्ष जाँचपासको लागि पेस गर्नु पर्नेछ। त्यसरी पेस गरेको पुमिलन्दा भन्सार अधिकृतले जाँचपास गरेपछि मात्र हुलाक कार्यालयले सम्बन्धित व्यक्तिलाई बुझाईदिनु पर्नेछ। (२) कसैले हुलाक मार्फत वस्तुको पुमिलन्दा निकासी गरि ल्याएमा सम्बन्धित हुलाक कार्यालयले त्यस्तो वस्तु नजिकको कार्यालयको भन्सार अधिकृतबाट जाँचपास गराई ल्याएपछि मात्र त्यस्तो पुमिलन्दा बुझिलई चलान गरिदिनु पर्नेछ। (३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि हुलाक मार्फत वस्तु निकासी वा पैठारी गर्दा भन्सार अधिकृत समक्ष पेस गरि नपर्ने गरी मन्त्रालयले आवश्यक व्यवस्था गरि सक्नेछ।
परिच्छेद-१० पूर्वविदेश
६८. पूर्वविदेश जारी गर्न सक्ने : (१) पैठारीकर्ताले आफूले पैठारी गर्ने वस्तुको वर्गीकरण वा उत्पत्तिका सम्बन्धमा पूर्वविदेशको लागि महानिदेशक समक्ष निवेदन दिएमा महानिदेशकले पूर्वविदेश दिन सक्नेछ। *(१क) उपदफा (१) बमोजिम निवेदन दिँदा तीन हजार रुपैयाँ शुल्क लाग्नेछ। (२) उपदफा (१) बमोजिम पूर्वविदेश दिनु अघि त्यस्तो वस्तुको वर्गीकरण वा उत्पत्ति सम्बन्धमा परामर्श लिन आवश्यक देखेमा महानिदेशकले परामर्श समिति गठन गर्न सक्नेछ। (३) महानिदेशकले पूर्वविदेशको माग गरिएको वस्तुको सम्बन्धमा प्रयोगशाला परीक्षण गराई प्रतिवेदन लिन, सम्बन्धित विषयका विज्ञ वा कुनै सरकारी निकाय वा विश्व भन्सार सङ्गठनको राय लिन सक्नेछ। (४) उपदफा (१) बमोजिम पूर्वविदेश दिँदा वस्तुको वर्गीकरणका सम्बन्धमा दफा ३६ बमोजिम र वस्तुको उत्पत्तिका सम्बन्धमा नेपाल समेत सदस्य रहेको क्षेत्रीय वा द्विपक्षीय सन्धि वा सम्झौताको प्रतिकूल नहुने गरी दिनु पर्नेछ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल पक्ष रहेको क्षेत्रीय वा द्विपक्षीय सन्धि वा सम्झौता बमोजिम उत्पत्तिको मुलुकको आधारमा भन्सार महसुल दर फरक हुने वस्तु बाहेक अन्य वस्तुका सम्बन्धमा वस्तुको उत्पत्ति सम्बन्धी पूर्वाधिकार दिइने छैन ।
परिच्छेद–११ कूर र सजाय सम्बन्धी व्यवस्था
६९. कसूर गरेको मानिने : कसैले देहायको कुनै कार्य गरे वा गराएमा यस ऐन अन्तर्गतको कसूर गरेको मानिनेछ:- (क) दफा ६ बमोजिम तोकिएको भन्सार क्षेत्र वा बाटो बाहेक अन्यत्रबाट निकासी वा पैठारी गरेमा वा गर्ने प्रयत्न गरेमा वा कुनै वस्तु चोरी निकासी वा चोरी पैठारी गरेमा वा गर्ने प्रयत्न गरेमा, (ख) दफा १७ बमोजिम वस्तुको विवरण नदिएमा, (ग) दफा १८ बमोजिम वाहनको जाँच नगराएमा, (घ) दफा १९ बमोजिम महसुल नतिरेका वा भन्सारबाट जाँचपास नभएका वस्तु ढुवानी गरेमा, (ङ) दफा २९ बमोजिमको अधिकारप्राप्त अधिकारी बाहेक अन्य व्यक्तिले कार्यालयबाट जाँचपास भई सिलबन्दी गरिएको वस्तु र त्यस्तो वस्तु ढुवानी गरिरहेको साधन खोलेमा, हेरेमा वा जाँच गरेमा, (च) दफा ४१ को उपदफा (६) बमोजिम रातो मार्ग प्रयोग नगरेमा, (छ) दफा ४२ बमोजिम घर, भवन, पसल, गोदाम वा ठाउँको खानतलासी लिन नदिएमा, (ज) दफा ४३ बमोजिम विमानका क्याप्टेन वा चालक दलका सदस्यले वायुयानमा प्रवेश गर्न वा तलासी लिन वा वस्तु जाँच गर्न नदिएमा वा बाधा विरोध गरेमा, (झ) दफा ४४ बमोजिम भन्सार अधिकृत वा भन्सारमा खटिएको कर्मचारीले दिएको आदेश बमोजिम वाहन नरोकेमा वा तलासी लिन अवरोध गरेमा वा त्यस्तो वाहन नजाँचाई भगाएमा वा भगाउन प्रयत्न गरेमा, (ञ) दफा ५६ बमोजिम भन्सारका कर्मचारीको अनुमति नलिई भन्सारको छेकबार पार गरेमा वा भन्सारका कर्मचारीले वाहन रोक्ने संकेत गदागदै अटेर गरी अगाडि बढेमा,
(ट) काने अन्तर्गत पैठारी भएको सवारी साधनको सम्बन्धमा भन्सार महसुल सम्बन्धी प्रचलित कानून विपरीत कुनै कार्य गरे वा गराएमा, (ठ) प्रचलित कानून बमोजिमको महसुल वा जरिवाना नबुझाई कार्यालय वा भन्सार क्षेत्रबाट वस्तु उठाई लगेमा, (ड) सवारी साधनको धनीले वस्तु चोरी पैठारी वा चोरी निकासी गर्न जानाजानी आफ्नो सवारी साधन उपलब्ध गराएमा, (ढ) सवारी साधनको धनीको सहमति वा जानकारी बिना सवारी चालकले जानाजानी चोरी पैठारी गरेको वा चोरी निकासी गर्न लागेको वस्तु ढुवानी गरेमा, (ण) राजस्वमा हानि नोक्सानी पुर्याउने उद्देश्यले कार्यालयमा जालसाजी, कीर्ते वा नक्कली कागजात पेस गरेमा, (त) वस्तुको वास्तविक मूल्य भन्दा कम मूल्य देखाउन जालसाजी, कीर्ते वा नक्कली बीजक बनाई कार्यालयमा पेस गरेमा, (थ) कुनै कुरा झुट्ठो हो भन्ने जानाजानी प्रज्ञापनपत्र वा कार्यालयमा प्रयोग गरिने लिखतमा लेखेमा, सहीछाप गरेमा, प्रयोग गरेमा वा भन्सार अधिकृतले सही गरेको वा छाप लगाएको लिखत, लाहा, मसलछाप, दस्तखत वा अन्य कुनै चिन्ह वा सङ्केतलाई कीर्ते गरेमा, बदलेमा वा नष्ट गरेमा, (द) महानिदेशक वा कार्यालय प्रमुखको लिखित आदेश बिना कार्यालयमा प्रयोग गरिएको कम्प्युटर प्रणाली वा सो प्रणालीमा रहेको तथ्याङ्क वा अभिलेख कुनै प्रकारले परिवर्तन गर्ने, मेटाउने, हटाउने, नोक्सानी पुर्याउने, तथ्याङ्क थप्ने, कार्य प्रणालीमा अवरोध पुर्याउने वा कुनै किसिमले हेरफेर गर्ने कार्य गरेमा वा सो प्रणालीमा अनधिकृत पहुँच स्थापित गरेमा वा गर्ने प्रयत्न गरेमा, (ध) वस्तुको धनीले वा निजको भन्सार जाँचपास प्रतिनिधिले वस्तु चोरी गर्ने वा सो वस्तुमा नोक्सानी पुर्याउने मनसायले कुनै भन्सार वेयर हाउस खोलेमा, भन्सार वेयर हाउसमा प्रवेश गरेमा वा सो वेयर हाउसमा रहेको वस्तु कुनै प्रकारले खोलेमा, (न) भन्सार वेयर हाउसमा रहेको वस्तु भन्सार अधिकृतको स्वीकृति बिना हटाएमा वा लगेमा, (प) भन्सार वेयर हाउसमा रहेको वस्तु जिम्मामा रहेको कर्मचारी वा व्यक्तिले त्यस्तो वस्तु हराएमा वा नोक्सानी गरेमा,
(फ) अनधिकृत कर्मचारीले भन्सार वेयर हाउसमा रहेको वस्तु हटाएमा वा हटाउने आदेश दिएमा, (ब) यस ऐन वा अन्य प्रचलित कानून बमोजिम पूर्ण वा आंशिक महसुल छुट वा सुविधामा पैठारी गरेको वस्तु जुन उद्देश्यले पैठारी गरेको हो त्यस्तो उद्देश्य विपरीत प्रयोग गरेमा, बिक्री गरेमा वा छुट वा सुविधा नपाउने व्यक्तिले पूर्ण वा आंशिक महसुल छुट वा सुविधामा कुनै वस्तु पैठारी गरेमा, (भ) भन्सार अधिकृत वा कार्यालयको कर्मचारीलाई यस ऐन वा प्रचलित कानूनले दिएको अधिकार प्रयोग गर्न वा कार्यालयको काममा जानाजानी बाधा अवरोध पुर्याएमा, (म) चोरी निकासी वा चोरी पैठारी गरिएको वस्तु हो भन्ने जानकारी हुँदाहुँदै त्यस्तो वस्तु लुकाएमा वा राखेमा, (य) यस ऐन वा भन्सार महसुल सम्बन्धी प्रचलित कानुन विपरीत हुने अन्य कुनै कार्य गरेमा, (र) खण्ड (क) देखि खण्ड (य) बमोजिमको कसुर गर्न मद्दत गरेमा वा दुरुत्साहन दिएमा।
७०. जरिबाना तथा सजाय : (१) दफा ६९ को खण्ड (क), (घ), (च), (ञ), (ट) वा (ठ) बमोजिमको कसुर गरेमा कसुरसँग सम्बन्धित वस्तु जफत गरी देहाय बमोजिमको सजाय हुनेछ:- (क) दश लाख रुपैयाँसम्म बिगो भएमा बिगो बमोजिम जरिबाना, (ख) दश लाख रुपैयाँ भन्दा बढी एक करोड रुपैयाँसम्म बिगो भएमा बिगो बमोजिम जरिबाना र देहाय बमोजिमको कैद सजाय:- (अ) दश लाख रुपैयाँ भन्दा बढी पच्चीस लाख रुपैयाँसम्मको बिगोमा दुई महिनासम्म कैद, (आ) पच्चीस लाख रुपैयाँ भन्दा बढी पचास लाख रुपैयाँसम्मको बिगोमा दुई महिनादेखि छ महिनासम्म कैद, (इ) पचास लाख रुपैयाँ भन्दा बढी एक करोड रुपैयाँसम्मको बिगोमा छ महिनादेखि एक वर्षसम्म कैद । (२) उपदफा (१) बमोजिमको कसुरको बिगो एक करोड रुपैयाँ भन्दा बढी भएमा त्यस्तो वस्तु जफत गरी वस्तुको बिगो बमोजिमको जरिबाना र देहाय बमोजिमको कैद सजाय हुनेछ:-
(क) एक करोड रुपैयाँ भन्दा बढी तीन करोड रुपैयाँसम्मको बिगोमा एक वर्षदेखि तीन वर्षसम्म कैद, (ख) तीन करोड रुपैयाँ भन्दा बढी बिगोमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद। (३) कसैले देहायको कुनै कसुर गरेमा देहाय बमोजिम सजाय हुनेछ:- (क) दफा ६९ को खण्ड (ख), (ङ) वा (ज) बमोजिमको कसुर गरेमा दस हजार रुपैयाँसम्म जरिवाना, (ख) दफा ६९ को खण्ड (ग) वा (झ) बमोजिमको कसुर गरेमा नेपालमा दर्ता नभएको वाहन र नेपालमा दर्ता भएको वस्तु सहितको वाहनको हकमा कसुरको बिगो एक करोड रुपैयाँसम्म भएमा उपदफा (१) बमोजिम सजाय, कसुरको बिगो एक करोड रुपैयाँ भन्दा बढी भएमा उपदफा (२) बमोजिमको सजाय र नेपालमा दर्ता भएको खाली (रित्तो) वाहन भएमा पाँच हजार रुपैयाँसम्म जरिवाना, (ग) दफा ६९ को खण्ड (छ) बमोजिमको कसुर गरेमा पचास हजार रुपैयाँसम्म जरिवाना। (४) दफा ६९ को खण्ड (ङ) वा (ढ) बमोजिमको कसुर गरेमा देहाय बमोजिमको सजाय हुनेछ:- (क) उपदफा (१) को खण्ड (क) मा उल्लिखित बिगो बमोजिमको वस्तु ढुवानी गर्न प्रयोग भएको सवारी साधन सो साधनको धनीको सहमति वा जानकारीमा प्रयोग भएको रहेछ भने त्यस्तो सवारी साधनको धनीलाई एक लाख रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना र सवारी साधनको धनीको सहमति वा जानकारी बिना सवारी चालकले जानाजानी त्यस्तो वस्तु ढुवानी गर्न सो सवारी साधन प्रयोग गरेकोमा त्यस्तो सवारी चालकलाई एक लाख रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना, (ख) उपदफा (१) को खण्ड (ख) वा उपदफा (२) मा उल्लिखित बिगो बमोजिमको वस्तु ढुवानी गर्न प्रयोग भएको सवारी साधन सो साधनको धनीको सहमति वा जानकारीमा प्रयोग भएको रहेछ भने त्यस्तो सवारी साधनको धनीलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय र सवारी साधनको
धनीको सहमति वा जानकारी बिना सवारी चालकले जानाजानी त्यस्तो वस्तु ढुवानी गर्न सो सवारी साधन प्रयोग गरेकोमा त्यस्तो सवारी चालकलाई एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय।
(ग) खण्ड (क) र (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका सवारी साधन प्रयोग भएमा देहाय बमोजिम जरिवाना हुनेछ :-
(१) गाडा, टाँगा, ठेला, रिक्सा, साइकलको हकमा सवारीधनी वा चालकलाई दस हजार रुपैयाँसम्म,
(२) स्कुटर र मोटरसाइकलको हकमा बीस हजार रुपैयाँसम्म।
(५) दफा ६९ को खण्ड (ण) बमोजिमको कसूर गर्ने व्यक्तिलाई त्यसरी हानि नोक्सानी पुर्याएको वा पुर्याउने प्रयत्न गरेको महसुल रकमको दुई सय प्रतिशत जरिवाना वा छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। जालसाजी वा किर्ते गरेकोमा प्रचलित कानून बमोजिम कारबाहीको लागि भन्सार अधिकृतले सम्बन्धित निकाय वा अधिकारी समक्ष लेखी पठाउनु पर्नेछ।
(६) दफा ६९ को खण्ड (त) बमोजिमको कसूर गर्ने व्यक्तिलाई त्यस्तो वस्तु जफत गरी उक्त वस्तुमा लाग्ने महसुलको दुई सय प्रतिशत जरिवाना हुनेछ। जालसाजी वा किर्ते गरेकोमा प्रचलित कानून बमोजिम कारबाहीको लागि भन्सार अधिकृतले सम्बन्धित निकाय वा अधिकारी समक्ष लेखी पठाउनु पर्नेछ।
(७) दफा ६९ को खण्ड (थ) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पचास हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय हुनेछ। सरकारी कागजात किर्ते गरेकोमा प्रचलित कानून बमोजिम कारबाहीको लागि भन्सार अधिकृतले सम्बन्धित निकाय वा अधिकारी समक्ष लेखी पठाउनु पर्नेछ।
(८) दफा ६९ को खण्ड (द) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना हुनेछ। त्यस्तो कसूरबाट महसुल घटाएको, महसुल छलेको वा कुनै प्रकारले दायित्व कम पारिएको पाइएमा त्यसरी हानि पुर्याएको महसुल रकमको पाँच गुणाले हुने रकम निजबाट असुल गरिनेछ। सो कार्यबाट कुनै व्यक्तिलाई हानि नोक्सानी भएको रहेछ भने भन्सार अधिकृतले त्यस्तो हानि नोक्सानी समेत कसूर गर्ने व्यक्तिबाट भराइदिन सक्नेछ।
(९) दफा ६९ को खण्ड (ध) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पच्चीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ। (१०) दफा ६९ को खण्ड (न) बमोजिमको कसूर गर्ने व्यक्तिलाई निजबाट सो वस्तु दाखिला गराई सो वस्तुको मूल्य बमोजिम जरिवाना गरी छ महिनासम्म कैद र वस्तु दाखिला हुन नसकेमा वस्तुको मूल्यको दोब्बर जरिवाना गरी छ महिनासम्म कैद हुनेछ। (११) दफा ६९ को खण्ड (प) बमोजिमको कसूर गर्ने व्यक्तिबाट सो वस्तुको मूल्य र लाग्ने महसुल असुल गरी दि हजार रुपैयाँसम्म जरिवाना हुनेछ। (१२) दफा ६९ को खण्ड (फ) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पचास हजार रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ । (१३) दफा ६९ को खण्ड (ब) बमोजिमको कसूर गर्ने व्यक्तिलाई त्यस्तो वस्तुमा लाग्ने महसुल असुल गरी त्यस्तो वस्तुमा लाग्ने महसुलको दुई सय प्रतिशत जरिवाना हुनेछ। (१४) दफा ६९ को खण्ड (भ) बमोजिमको कसूर गर्ने व्यक्ति सरकारी कर्मचारी भएमा निजलाई दि हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय र अन्य व्यक्ति भए दि हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ। (१५) दफा ६९ को खण्ड (म) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पचास हजार रुपैयाँसम्म जरिवाना गरी त्यस्तो वस्तु जफत गरिनेछ। (१६) दफा ६९ को खण्ड (य) बमोजिमको कसूर गर्ने व्यक्तिलाई कसूरको अवस्था र गम्भीरता हेरी पाँच हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ। (१७) दफा ६९ को खण्ड (र) बमोजिमको कसूर गर्ने व्यक्तिलाई कसूरदारलाई भए सरहको सजाय हुनेछ। (१८) यस ऐन वा प्रचलित कानून बमोजिम जफत गर्नु पर्ने देखिए तापनि उपभोग भइसकेका वा पत्ता नलागेका वस्तुको बिगो बराबरको रकम सम्बन्धित व्यक्तिबाट असुल गर्न सकिनेछ।
७१. वस्तुको विवरण फरक पारी घोषणा गरेमा सजाय हुने : कुनै घोषणाकर्ताले वस्तु घोषणा गर्दा देहाय बमोजिमको विवरण फरक पारी घोषणा गरेमा भन्सार अधिकृतले देहाय बमोजिम गर्न सक्नेछ:- (क) पैठारी गरेको वस्तुको नाम, प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार तथा गुणस्तर सही भए तापनि परिमाण घटी गरी घोषणा गरेमा
त्यस्तो घोषणाकतालाई त्यसरी घटी परिमाण घोषणा गरेजति वस्तुको मूल्यको शतप्रतिशत जरिवाना र लाग्ने महसुल लिई त्यस्तो वस्तु जाँचपास गर्ने, (ख) पैठारी गरेको वस्तुको नाम, प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार र गुणस्तर तथा परिमाण सही भए तापनि उत्पत्तिको मुलुक फरक पारी घोषणा गरेमा त्यस्तो घोषणाकतालाई त्यस्तो वस्तुमा लाग्ने भन्सार महसुलको पच्चीस प्रतिशत रकम जरिवाना र लाग्ने महसुल लिई त्यस्तो वस्तु जाँचपास गर्ने, (ग) पैठारी गरेको एउटा वस्तुलाई अर्को वस्तु भनी वा एक प्रकारको पदार्थबाट निर्मित वस्तुलाई अर्को प्रकारको पदार्थबाट निर्मित वस्तु भनी वा वस्तुको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार, तौल वा गुणस्तरमध्ये सबै वा कुनै कुरा फरक पारी घोषणा गरेमा वा कुनै वस्तु घोषणा नै नगरेमा त्यस्तो घोषणाकतालाई त्यस्तो वस्तुको मूल्य बराबर जरिवाना गरी सो वस्तु जफत गर्ने वा निजबाट वस्तुको मूल्यको दुई सय प्रतिशत जरिवाना र लाग्ने महसुल असुल गरी त्यस्तो वस्तु जाँचपास गर्ने, (घ) पैठारी गरेको वस्तु वा सोको प्याकिङ्गमा नै त्यस्तो वस्तुको पहिचान हुने ब्राण्ड, कम्पनी, मोडेल, आइटम नम्बर वा यस्तै कुनै विवरण स्पष्ट अंकित भएकोमा त्यस्तो वस्तु स्पष्ट पहिचान हुने विवरण नखुलाई घोषणा गरेमा त्यस्तो घोषणाकतालाई वस्तुमा लाग्ने महसुलको पच्चीस प्रतिशत जरिवाना र लाग्ने महसुल असुल गरी त्यस्तो वस्तु जाँचपास गर्ने, (ङ) निकासी हुने वस्तुको वास्तविक परिमाण भन्दा बढी परिमाण उल्लेख गरेमा त्यस्तो घोषणाकतालाई त्यसरी बढी घोषणा गरिएजति वस्तुको मूल्यको दुई सय प्रतिशत जरिवाना गरी सो व्यहोरा कम्प्युटर प्रणाली वा प्रज्ञापनपत्रमा उल्लेख गरी वस्तु जाँचपास गर्ने, (च) निकासी हुने वस्तुको नाम, प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार, तौल वा गुणस्तरमध्ये सबै वा कुनै विवरण फरक पारी घोषणा गरेमा त्यस्तो वस्तु जफत गरी त्यस्तो घोषणाकतालाई वस्तुको मूल्य बराबर जरिवाना गर्ने,
(छ) वस्तु वा सोको प्याकिङ्गमा उल्लिखित वस्तुसँग सम्बन्धित कुनै पनि विवरण मेटेको, च्यातेको, कुँदेको, बदलेको वा लेबल हटाएको पाइएमा त्यस्तो वस्तु जफत गर्ने वा त्यस्तो वस्तुको मूल्य बराबर जरिवाना र लाग्ने महसुल लिई जाँचपास गर्ने, (ज) कुनै वस्तु महानिर्देशकबाट एक पटक वर्गीकरण भइसकेको वा पूर्वादेश दिइसकेको वा कुनै कार्यालयबाट वर्गीकरण भई जाँचपास भइसकेकोमा त्यस्तै वस्तु पुनः पैठारी गर्दा महसुल छल्ने मनसायले सोही पैठारीकर्ताले वर्गीकरण फरक पारी घोषणा गरेमा त्यस्तो वस्तुमा लाग्ने भन्सार महसुलको शतप्रतिशत जरिवाना र लाग्ने महसुल असुल गरी जाँचपास गर्ने, (झ) घोषणाकर्ताले दफा २० को उपदफा (३) बमोजिम विद्युतीय माध्यमबाट कम्प्युटर प्रणालीमा वस्तुको विवरण घोषणा गर्दा संलग्न गर्नु पर्ने कागजात नियतवश फरक रूपमा संलग्न गरेमा त्यस्तो घोषणाकर्तालाई सो घोषणा बमोजिम लाग्ने भन्सार महसुलको दश प्रतिशत जरिवाना र लाग्ने महसुल असुल गरी त्यस्तो वस्तु जाँचपास गर्ने।
७२. भौतिक जाँच नगरी जाँचपास भएको वस्तु फरक परेमा जरिवाना हुने : (१) दफा २३ को उपदफा (१) को खण्ड (क), (ख) वा (ग) बमोजिम भौतिक जाँच नगरी जाँचपास भएको वस्तु घोषणाकर्ताले भन्सार क्षेत्रबाट बाहिर लैजानु अघि वा भन्सार क्षेत्र बाहिर लगिसकेपछि भन्सार अधिकृत वा अन्य अधिकारप्राप्त अधिकारीले यस ऐन बमोजिम पुनः जाँच गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम वस्तुको पुनः जाँच गर्दा वस्तुको नाम, प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार, तौल, गुणस्तर वा परिमाण घोषणाकर्ताले घोषणा गरेको भन्दा फरक पाइएमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछ। (३) उपदफा (२) बमोजिम कसूर गरेमा भन्सार अधिकृतले जाँचपासका बखत फरक विवरण घोषणा गरे बापत विवरण फरक पाइएजति वस्तुको मूल्यको दुई सय प्रतिशत जरिवाना र लाग्ने महसुल असुल गरी वस्तु छाडिदिन सक्नेछ। (४) उपदफा (३) बमोजिम बुझाउनु पर्ने जरिवाना र महसुल रकममा त्यस्तो वस्तु जाँचपास हुँदाका बखत बुझाइएको महसुल रकम मिलान गर्न वा घटाउन पाइने छैन।
(५) दफा ६४ बमोजिम आन्तरिक परिवहनको लागि कार्यालयबाट स्वीकृति लिई तोकिएको कार्यालयको लागि चलान गरिएको वस्तुबाटै विचलन गरी महसुल छली गरेमा वा कन्टेनरमा लगाइएको भूमण्डलीय स्थिति निर्धारण प्रणाली (जीपीएस) जडित ताला वा सिलसिलेवार नम्बर सहितको सिल दुरुस्त नराखेमा वा आन्तरिक परिवहनको लागि तोकिएको सडकमार्ग प्रयोग नगरेमा भन्सार अधिकृतले देहाय बमोजिम जरिवाना गर्नेछ:-
(क) आन्तरिक परिवहनमा रहेको वस्तु महसुल छल्ने उद्देश्यले बाटैमा विचलन गरेको पाइएमा त्यस्ता वस्तुको मूल्यको तीन सय प्रतिशत जरिवाना गरी त्यस्तो वस्तु जफत गर्ने वा वस्तु फेला नपरेमा वस्तुको मूल्यको पाँच सय प्रतिशत जरिवाना गर्ने,
(ख) आन्तरिक परिवहनमा रहेको वस्तु महसुल छल्ने उद्देश्य नभए तापनि कन्टेनरमा लगाइएको भूमण्डलीय स्थिति निर्धारण प्रणाली (जीपीएस) जडित ताला वा सिलसिलेवार नम्बर सहितको सिल दुरुस्त नराखेको वा काबू बाहिरको परिस्थिति बाहेक आन्तरिक परिवहनको लागि तोकिएको सडकमार्ग प्रयोग नगरेको वा तोकिएको समयावधिभित्र तोकिएको कार्यालयमा नपुगेको पाइएमा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने।
७३. भन्सार जाँचपास प्रतिनिधिलाई सजाय हुने : (१) दफा ७१ वा ७२ बमोजिमको कार्यमा भन्सार जाँचपास प्रतिनिधि संलग्न भएको पाइएमा त्यस्तो भन्सार जाँचपास प्रतिनिधिलाई भन्सार अधिकृतले पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा एक महिनादेखि छ महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम भन्सार जाँचपास प्रतिनिधिलाई सजाय गरिएको कारणले मात्र वस्तुको धनीले यस ऐन बमोजिम हुने सजाय वा जरिवानाबाट उन्मुक्ति पाउने छैन।
७४. प्रचलित कानून बमोजिम सजाय हुने : यस ऐन अन्तर्गतको कुनै कसूर अन्य प्रचलित कानून बमोजिम पनि कसूर हुने रहेछ भने सो कसूरमा त्यस्तो कानून बमोजिम कारबाही र सजाय गर्न यस ऐनले बाधा पुर्याएको मानिने छैन।
परिच्छेद-१२ मुद्दाको अनुसन्धान, तहकीकात र दायरी
७५. नेपाल सरकार वादी हुने : यस ऐन अन्तर्गतको कसूरमा कैद सजाय हुने मुद्दामा नेपाल सरकार वादी हुनेछ।
७६. मुद्दा हेर्ने अधिकारी : यस ऐन बमोजिम जरिवाना मात्र हुने र एक वर्षसम्म कैद सजाय हुने मुद्दाको सुरु कारबाही र किनारा भन्सार अधिकृतले र एक वर्ष भन्दा बढी कैद सजाय हुने मुद्दाको सुरु कारबाही र किनारा सम्बन्धित जिल्ला अदालतले गर्नेछ।
७७. अनुसन्धान अधिकृत तोक्नु पर्ने : (१) यस ऐन बमोजिम पक्राउ गरी भन्सार अधिकृत समक्ष पेश गरिएको व्यक्ति वा भन्सार अधिकृतले जारी गरेको सूचनाको म्यादभित्र उपस्थित भएको व्यक्ति वा कारबाहीको लागि कब्जामा लिई बुझाइएको वस्तुको सम्बन्धमा अनुसन्धान, तहकीकात गरी कारबाही गर्नु पर्ने देखिएमा त्यस्तो मुद्दाको अनुसन्धान, तहकीकात गर्ने भन्सार अधिकृतले कार्यालयको कुनै अधिकृतस्तरको कर्मचारीलाई अनुसन्धान अधिकृत तोक्नु पर्नेछ। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यालयमा एक जना मात्र भन्सार अधिकृत भए सम्बन्धित कार्यालयको तल्लो तहको कर्मचारीलाई अनुसन्धान अधिकृत तोक्न बाधा पर्ने छैन।
७८. अनुसन्धान अधिकृतको काम, कर्तव्य र अधिकार : (१) अनुसन्धान अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) मुद्दाको अनुसन्धानको सिलसिलामा अभियुक्तको बयान लिने, मुद्दासँग सम्बन्धित प्रमाण सङ्कलन गर्ने, मुद्दासँग सम्बन्धित देखिएका अन्य व्यक्तिलाई म्याद जारी गरी झिकाउने, बुझ्ने, (ख) कुनै घर, भवन, पसल, गोदाम वा ठाउँको खानतलासी लिने, (ग) कसुरसँग सम्बन्धित व्यक्ति फरार भएमा निजलाई पक्राउ गर्ने वा गर्ने लगाउने, (घ) मुद्दाको अनुसन्धानको सिलसिलामा तत्काल प्राप्त प्रमाणबाट अभियोग लागेको व्यक्ति कसुरदार हुन सक्ने देखिएमा निजबाट उक्त कसुरमा यस ऐन बमोजिम हुन सक्ने कैद, जरिवाना बापतको रकम र बिगो समेत असुल गर्नु पर्नेमा त्यस्तो बिगो बराबरको रकम समेत जमानी गरी नगद धरौटी माग गर्ने र निजले धरौटी दाखिला गरेमा ताररिममा राखी मुद्दाको अनुसन्धान, तहकीकात गर्ने, (ङ) खण्ड (घ) बमोजिम माग गरेको नगद धरौटी दाखिला नगरेमा मुद्दा हेर्ने अधिकारीको अनुमति लिई थुनामा राखी मुद्दाको कारबाही गर्ने, (च) खण्ड (घ) मा जुनसुकै कुरा लेखिएको भए तापनि थुनामा नराखेको खण्डमा निजले प्रमाण लोप गराउन सक्ने वा भाग्ने वा पछि पक्राउ गर्न
सकिने न्यून सम्भावना रहेकोमा त्यस्तो कसूरसँग सम्बन्धित व्यक्तिलाई थुनामा राखी मुद्दाको अनुसन्धान गर्ने। (२) उपदफा (१) को खण्ड (घ) बमोजिम कैद बापतको धरौटी लिँदा एक दिन कैद बराबर प्रचलित कानूनमा निर्धारित दरले लिनु पर्नेछ। (३) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अनुसन्धानको सिलसिलामा पेश हुन आएका वस्तुमध्ये जीवित जनावर, पशुपक्षी वा छिटो नाश हुन सक्ने वस्तु वा गुणस्तर कायम राख्न वा स्थानको अभावले वा सुरक्षाको दृष्टिले कार्यालय वा भन्सार वेयर हाउसमा राख्न नमिल्ने वा नसकिने वस्तु भएमा अनुसन्धान अधिकृतले तुरुन्त लिलाम बिक्री गरी प्राप्त रकम धरौटीमा राख्न वा त्यस्तो वस्तु कुनै सरकारी निकायमा दाखिला गर्न पठाउन सक्नेछ।
७९. मुद्दा दायर गर्नु पर्ने : (१) अनुसन्धान अधिकृतले यस ऐन बमोजिमको कसूरमा अनुसन्धानको काम सुरु गरेको पच्चीस दिनभित्र अनुसन्धान सम्पन्न गरी मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नु पर्नेछ। (२) दफा ७५ बमोजिम नेपाल सरकार वादी हुने मुद्दाको हकमा उपदफा (१) बमोजिम मुद्दा दायर गर्दा सरकारी वकीलबाट निर्णय भएको हुनु पर्नेछ।
८०. थुनुवा पुजी दिनु पर्ने : यस ऐन बमोजिम अनुसन्धान अधिकृत वा मुद्दा हेर्ने अधिकारीले कुनै व्यक्तिलाई थुनामा राख्दा त्यसरी थुनामा राख्नु पर्नाको कारण र सोको कानूनी आधार खुलाई प्रचलित कानून बमोजिमको ढाँचामा थुनुवा पुजी दिनु पर्नेछ।
८१. थुनामा राख्न सकिने अधिकतम अवधि : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अभियुक्तलाई पुर्पक्षको लागि थुनामा राख्दा निज उपर लगाइएको अभियोग प्रमाणित भएमा हुन सक्ने अधिकतम कैदको सजायको अवधि भन्दा बढी अवधिसम्म थुनामा राखिने छैन।
परिरिच्छेद-१३ मुद्दाको कारबाही, निर्णय र कार्यान्वयन
८२. मुद्दाको कारबाही प्रारम्भ गर्नु पर्ने : यस ऐन बमोजिम कुनै कसूरका सम्बन्धमा दफा ७९ बमोजिम अनुसन्धान अधिकृतले मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गरेपछि मुद्दा हेर्ने अधिकारीले त्यस्तो मुद्दाको कारबाही तुरुन्त प्रारम्भ गर्नु पर्नेछ।
८३. अभियुक्तको बयान गराउनु पर्ने : (१) यस ऐन बमोजिम भन्सार अधिकृतबाट कारबाही र किनारा हुने कसूरको सम्बन्धमा अभियुक्त उपस्थित भएपछि भन्सार अधिकृतले निजको लिखित बयान लिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम बयान लिँदा बुझ्नुपर्ने कुनै कुरा छुट भएमा भन्सार अधिकृतले त्यस्तो अभियुक्तलाई उपस्थित गराउन लगाई निजसँग छुट कुराको बयान पुनः लिन सक्नेछ।
८४. मुद्दाको निर्णय तत्काल गर्न सक्ने : (१) कुनै अभियुक्तले आफूलाई लागेको कसुरको आरोप स्वीकार गरी भन्सार अधिकृत समक्ष सावित बयान दिएमा भन्सार अधिकृतले त्यस्तो बयानको सत्यता र विश्वसनीयतालाई समेत विचार गरी अन्य कुनै प्रमाण बुझ्नु पर्ने नदेखिएमा मुद्दाको निर्णय तत्काल गर्न सक्नेछ। (२) कुनै अभियुक्तले निजलाई लागेको आरोपको सम्बन्धमा आंशिक रूपमा सावित भएमा भन्सार अधिकृतले निज सावित नभएको हदसम्मको विषयमा थप प्रमाण बुझ्ने आदेश दिन सक्नेछ।
८५. थुना वा तारेखमा राखी कारबाही गर्ने : (१) यस ऐन बमोजिम कुनै अभियुक्त तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने भएमा वा कसुरदार हो भन्ने विश्वास गर्ने कुनै मनासिब आधार भएमा भन्सार अधिकृतले निजलाई उक्त कसुरमा यस ऐन बमोजिम हुन सक्ने कैद, जरिवाना बापतको रकम र बिगो समेत असुल गर्नु पर्नेमा सो बराबरको रकम समेत जाम्ने गरी नगद धरौटी माग गर्न सक्नेछ। त्यसरी माग गरिएको धरौटी रकम अभियुक्तले दाखिला गरेमा निजलाई तारेखमा राखी मुद्दाको कारबाही गर्नु पर्नेछ। (२) उपदफा (१) बमोजिम माग गरेको नगद धरौटी दाखिला नगरेमा वा गर्न नसकेमा वा कुनै अभियुक्तलाई थुनामा नराखेमा निजले प्रमाण लोप गराउन सक्ने वा भाग्ने वा पछि पक्राउ गरी मुद्दाको कारबाही गर्न सक्ने सम्भावना कम रहेमा त्यस्तो अभियुक्तलाई भन्सार अधिकृतले पुष्टिको लागि थुनामा राख्न सक्नेछ। (३) उपदफा (१) बमोजिम कैद बापतको धरौटी लिँदा दफा ७८ को उपदफा (२) मा लेखिएको दर बमोजिम लिनु पर्नेछ। (४) कुनै अभियुक्तबाट धरौटी लिँदा तोकिएको तारिखमा उपस्थित नभएमा धरौटी जफत हुने सर्त उल्लेख गरी कागज गराउनु पर्नेछ।
८६. आदेश पछि झडा गर्नु पर्ने : यस ऐन बमोजिम कुनै अभियुक्तलाई थुनामा राख्दा, थुनामा राखिएको अभियुक्तलाई छोड्दा वा कुनै अभियुक्तसँग धरौटी लिँदा कारण सहितको आदेश पछि झडा गर्नु पर्नेछ।
८७. समाह्वान वा पक्राउ पुजी जारी गर्ने : (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन अन्तर्गतको कसुर सम्बन्धी मुद्दामा उजुरीसाथ उपस्थित नभएका
अभियुक्तलाई उपस्थित गराउन भन्सार अधिकृतले सम्बन्धित अभियुक्तका नाममा पन्ध्र दिनको म्याद दिई प्रचलित कानून बमोजिम समाह्वान जारी गर्न सक्नेछ। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अभियुक्त भागी पुनः पकाउन हुन नसक्ने सम्भावना छ भन्ने विश्वास गर्नु पर्ने मनासिब कारण भएमा वा समाह्वानमा तोकिएको म्यादमा अभियुक्त कार्यालयमा उपस्थित नभएमा त्यस्तो अभियुक्तको हकमा भन्सार अधिकृतले प्रचलित कानून बमोजिम पक्राउ पुजी जारी गर्न सक्नेछ। ८८. म्याद थाम्न र वारिस नियुक्त गर्न नपाइने : यस ऐन अन्तर्गतको कसूर सम्बन्धी मुद्दामा दफा ८७ बमोजिम जारी भएको म्याद थाम्न र वारिस नियुक्त गर्न पाइने छैन। तर काबुबाहिरको परिस्थिति परी तोकिएको म्यादमा उपस्थित हुन नसकेको कारण देखाई कुनै अभियुक्तले निवेदन दिएमा र मुद्दा हेर्ने अधिकारीले त्यस्तो निवेदनको व्यहोरा मनासिब देखेमा काबुबाहिरको परिस्थिति व्यतीत भएपछिको बाटोको म्याद बाहेक पन्ध्र दिनसम्मको म्याद थमाइदिन सक्नेछ। ८९. अदालतलाई भए सरहको अधिकार हुने : भन्सार अधिकृतलाई यस ऐनको प्रयोजनको लागि सम्बन्धित व्यक्तिलाई झिकाउने, बयान गराउने, प्रमाण बुझ्ने, मलिका पेश गर्न लगाउने र मुद्दाको पुर्खा गर्ने वा भन्सार अधिकृत समक्ष दायर भएका मुद्दामा भएको निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा प्रचलित कानून बमोजिम सुरु अदालतलाई भए सरहको अधिकार हुनेछ। ९०. धरौटी जफत हुने : (१) यस ऐन बमोजिम धरौटी राख्ने व्यक्ति काबुबाहिरको परिस्थिति परेकोमा बाहेक कार्यालयबाट तोकिएको तारिखमा उपस्थित नभएमा निजले राखेको धरौटी जफत हुनेछ। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अभियुक्तसँग दफा ८५ बमोजिम धरौटी लिई मुद्दाको कारबाही गरिएकोमा सो मुद्दाको निर्णय हुँदा अभियोग प्रमाणित भएमा निजले बुझाउनु पर्ने जरिबाना बापतको रकम उक्त धरौटीबाट सदरस्याहा गरी असुल गरिने छ। तारिख गुजारेको आधारमा मात्र पुनः जरिबानाको रकम असुल गरिने छैन। ९१. मुद्दा निर्णय गर्नु पर्ने अवधि : यस ऐन बमोजिमको मुद्दामा प्रमाण बुझ्ने कार्य समाप्त भएको सामान्यतया तीस दिनभित्र भन्सार अधिकृतले मुद्दाको निर्णय गर्नु पर्नेछ।
परिच्छेद-१४ जफत वा खरिद गरिएका वा कब्जामा लिइएका वस्तुको व्यवस्थापन
९२. जफत वा खरिद गरिएका वस्तु व्यवस्थापन गर्ने : (१) यस ऐन वा भन्सार महसुल सम्बन्धी प्रचलित कानून बमोजिम जफत गरिएका वा दफा ३३ को उपदफा (४) बमोजिम खरिद गरिएका वस्तु देहायका मध्ये कुनै तरिकाले सामान्यतया साठी दिनभित्र व्यवस्थापन गर्नु पर्नेछ:- (क) मन्त्रालयले निर्णय गरी कुनै सरकारी निकायलाई हस्तान्तरण गर्ने, (ख) लिलाम बिक्री गर्ने, (ग) खण्ड (ख) बमोजिम लिलाम बिक्री हुन नसकेको वा कुनै किसिमले प्रयोगमा ल्याउन नसकिने अवस्थाको वस्तु भएमा सडाउन, गलाउन वा नाष्ट गर्ने, (घ) वस्तु लिलाम बिक्री गर्नु भन्दा विपद्बाट प्रभावित व्यक्तिलाई वितरण गर्नेको लागि सम्बन्धित सरकारी निकायलाई दिँदा बढी उपयोगी हुने देखिएमा मन्त्रालयको स्वीकृति लिई भन्सार अधिकृतले त्यस्तो सरकारी निकायलाई हस्तान्तरण गर्ने।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि जफत भई वा कार्यालयबाट नछुट्टाई नेपाल सरकारको नाममा दाखिल हुन आएको सुन, चाँदी जुहारत वा इजाजत लिएर मात्र बिक्री गर्न पाइने वस्तु वा बहुमूल्य खनिज पदार्थको लिलाम बिक्री वा अन्य आवश्यक व्यवस्था गरिनेछ। तर चाँदीका गहना वा चाँदीका अन्य तयारी वस्तु भन्सार अधिकृतले उपदफा (१) को खण्ड (ख) बमोजिम लिलाम बिक्री गर्न सक्नेछ।
(३) यस ऐन बमोजिम कब्जामा लिइएको कुनै वस्तु सड्ने, गल्ने वा पुरानो भई मूल्य घट्न जाने वा भन्सार वेयर हाउस वा स्थानको अभावले राख्न कठिनाई भएमा भन्सार अधिकृतले मुद्दाको निर्णय गर्नु अगावै लिलाम बिक्री गर्न सक्नेछ।
(४) उपदफा (३) बमोजिमको लिलाम बिक्रीबाट प्राप्त रकम कार्यालयले धरौटी खातामा आम्दानी बाँध्नु पर्नेछ।
(५) दफा ७८ को उपदफा (३) वा यस दफा बमोजिम लिलाम बिक्रीबाट प्राप्त हुन आएको रकम वस्तुको धनीले माग गरी निवेदन दिएमा देहायको अवस्थामा मात्र त्यस्तो रकम कार्यालयले निजलाई भुक्तानी दिनेछः-
(क) चोरी पैठारी वा चोरी निकासी भएको अभियोगमा नियन्त्रणमा लिई यस ऐन बमोजिम लिलाम बिक्री गरिएको वस्तु चोरी पैठारी वा चोरी निकासी गरेको नठहने गरी मुद्दाको अन्तिम निर्णय भएकोमा त्यस्तो निर्णय भएको मितिले पैंतीस दिनभित्र निवेदन दिएमा, वा (ख) दफा ५२ बमोजिम जफत भई लिलाम बिक्री गरिएको वस्तु आफ्नो हो भनी सम्बन्धित व्यक्तिले भन्सार अधिकृत समक्ष लिलाम बिक्री भएको मितिले पैंतीस दिनभित्र प्रमाण सहित उपदफा (६) बमोजिमको रकम कटाई बाँकी रहेको रकम फिर्ता पाउँ भनी निवेदन पेस गरेमा र त्यस्तो प्रमाणबाट सो वस्तु निजको हो भन्ने कुरा पुष्टि भएमा। (६) उपदफा (५) बमोजिम कार्यालयले भुक्तानी दिँदा देहाय बमोजिमको रकम कटाएर बाँकी रकम मात्र भुक्तानी दिनु पर्नेछ:- (क) वस्तु लिलाम बिक्री गर्दा लिलाम बिक्री गरेको मूल्यमा लागेको कर र सो वस्तु भण्डारण गर्ने प्रयोजनमा लागेको खर्च वा विलम्ब शुल्क र लिलाम बिक्री गर्ने प्रयोजनमा लागेको खर्च, र स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि "विलम्ब शुल्क" भन्नाले भन्सार कार्यालयले सञ्चालन वा व्यवस्थापन गरेको भन्सार वेयर हाउस, भन्सार कार्यालयको परिसर वा भन्सार क्षेत्रको कुनै स्थानमा राखिएको वस्तु कानूनबाट निर्धारित अवधिभित्र जाँचपास गराई नलगेमा त्यस्तो वस्तुको धनीले भन्सार महसुल सम्बन्धी प्रचलित कानून बमोजिम नेपाल सरकारलाई तिर्नुपर्ने बुझाउनु पर्ने विलम्ब शुल्क (डेमरेज) सम्झनु पर्छ। (ख) जुन वस्तु लिलाम बिक्री गरिएको हो त्यस्तै वस्तु सामान्य रूपमा पैठारी हुँदा लिलाम बिक्री भएको दिन लाग्न सक्ने महसुल रकम र ब्याज लागेकोमा सो रकम समेत।
परिच्छेद-१५ प्रशासकीय पुनरावलोकन तथा पुनरावेदन
९३. प्रशासकीय पुनरावलोकन : (१) यस ऐन बमोजिम चोरी निकासी वा चोरी पैठारीको कसुर मानिने मुद्दा र सोसँग सम्बन्धित विषयमा बाहेक भन्सार अधिकृतले गरेको भन्सार मूल्य निर्धारण तथा वस्तुको वर्गीकरण सम्बन्धी आदेश वा अन्य कुनै निर्णयमा चित्त नबुझ्ने
व्यक्तिले त्यस्तो आदेश वा निर्णय भए गरेको मितिले तीस दिनभित्र महानिदेशक समक्ष पुनरावलोकनको लागि निवेदन दिन सक्नेछ। (२) उपदफा (१) बमोजिम पुनरावलोकनको लागि महानिदेशक समक्ष निवेदन दिँदा आवश्यक कागजात र भन्सार मूल्य निर्धारण तथा वस्तुको वर्गीकरण सम्बन्धी विषय भए निवेदन साथ सम्भव भएसम्म त्यस्तो वस्तुको नमूना समेत पेस गर्नु पर्नेछ। (३) उपदफा (१) बमोजिम निवेदन दिँदा जुन आदेश वा निर्णयको विरुद्ध निवेदन दिने हो त्यस्तो आदेश वा निर्णय बमोजिम लागेको महसुल र जरिवाना लागेको भए [.... सो बराबरको रकम सम्बन्धित कार्यालयमा नगद धरौटी राखेको निस्सा समेत निवेदन साथ संलग्न हुनु पर्नेछ। तर त्यस्तो महसुल वा जरिवानाको रकम बुझाउन नसकी थुनामा रहेको व्यक्तिले पुनरावलोकनको लागि निवेदन दिन चाहेमा धरौटी नराखी निवेदन दिन सक्नेछ।
९४. प्रशासकीय पुनरावलोकन उपर निर्णय गर्ने : (१) दफा ९३ बमोजिम पनि आएको पुनरावलोकनको निवेदन उपर महानिदेशकले साठी दिनभित्र निर्णय गरिसक्नु पर्नेछ। (२) उपदफा (१) बमोजिम महानिदेशकले निर्णय गर्दा आवश्यक जाँचबुझ गरी सुरुको आदेश वा निर्णय केही वा पूरै सदर वा बदर गरिदिन वा पुनः निर्णयका लागि आदेश दिन वा यस ऐन बमोजिम आधार र कारण खुलाइ आफैँले निर्णय गर्न सक्नेछ। (३) महानिदेशकले यस दफा बमोजिम वस्तुको वर्गीकरण सम्बन्धमा पुनरावलोकनको लागि परेको निवेदन उपर निर्णय गर्दा दफा ३६ को उपदफा (१) को अधीनमा रही दफा ३७ को उपदफा (३) बमोजिम गर्न सक्नेछ। (४) महानिदेशकले वस्तुको भन्सार मूल्याङ्कन सम्बन्धमा पुनरावलोकनको लागि परेको निवेदन उपर निर्णय गर्दा दफा ३१ को अधीनमा रही गर्नु पर्नेछ। (५) महानिदेशकले वस्तुको वर्गीकरण सम्बन्धी विषयमा पुनरावलोकनको निर्णय गर्दा भन्सारसँग सम्बन्धित कुनै अन्तरराष्ट्रिय निकायसँग राय माग गरेको अवस्थामा उपदफा (१) बमोजिमको समयावधि लागू हुने छैन। (६) यस दफा बमोजिम पुनरावलोकनको निवेदन उपर निर्णय गर्दा आधार र कारण समेत खुलाउनु पर्नेछ। (७) यस दफा बमोजिम पुनरावलोकनको निवेदन उपर महानिदेशकले गरेको आदेश वा निर्णयको लिखित जानकारी विभागले तीन दिनभित्र सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ।
_ आर्थिक ऐन, २०८३ द्वारा झिकिएको।
९५. पुनरावेदन : (१) यस ऐन बमोजिम महानिर्देशक, भन्सार अधिकृत वा भन्सार परीक्षकले देहायको विषयमा गरेको आदेश वा निर्णयमा चित्त नबुझ्ने व्यक्तिले त्यस्तो आदेश वा निर्णयको जानकारी प्राप्त भएको मितिले पैंतीस दिनभित्र राजस्व न्यायाधिकरणमा पुनरावेदन दिन सक्नेछ:- (क) दफा ३७ बमोजिम वस्तु वर्गीकरण सम्बन्धमा महानिर्देशकले गरेको निर्णय, (ख) दफा ९४ बमोजिम गरेको पुनरावलोकनको निर्णय, (ग) परिच्छेद-१७ बमोजिम महसुल निर्धारण वा जरिवाना गर्ने गरी गरेको निर्णय, (घ) यस ऐन बमोजिम भन्सार अधिकृतले गरेको सजाय। तर जिल्ला अदालतले गरेको निर्णय उपर चित्त नबुझेमा सम्बन्धित उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम पुनरावेदन दिने व्यक्तिले जुन निर्णय वा आदेशका विरुद्ध पुनरावेदन गर्ने हो त्यस्तो निर्णय वा आदेश बमोजिम लागेको महसुल र जरिवानाको रकममध्ये विवाद रहित महसुल सम्बन्धित भन्सार कार्यालय वा भन्सार जाँचपास परीक्षण कार्यालयमा बुझाई विवादित महसुल र जरिवानाको प्रतिशतत रकम नगद धरौटी राख्नु पर्नेछ। तर त्यस्तो महसुल र जरिवानाको रकम बुझाउन नसकी थुनामा रहेको व्यक्तिले धरौटी नराखी पुनरावेदन गर्न सक्नेछ। (३) उपदफा (२) बमोजिमको धरौटी रकम सम्बन्धित भन्सार कार्यालय वा भन्सार जाँचपास परीक्षण कार्यालयको नाममा कोष तथा लेखा नियन्त्रक कार्यालयमा रहेको धरौटी खातामा दाखिल गरेको बैङ्क भौचर पुनरावेदन साथ पेस गर्नु पर्नेछ। (४) अन्य प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ९३ बमोजिम प्रशासकीय पुनरावलोकन गर्ने व्यवस्था भएकोमा पुनरावलोकनको निर्णय भएपछि मात्र त्यस्तो निर्णयमा चित्त नबुझेमा यस दफा बमोजिम राजस्व न्यायाधिकरणमा पुनरावेदन गर्न सकिनेछ। (५) यस दफा बमोजिम पुनरावेदन गरेको सात दिनभित्र पुनरावेदकले पुनरावेदनको प्रतिलिपि विभाग र सम्बन्धित कार्यालय वा भन्सार जाँचपास परीक्षण कार्यालयमा अनिवार्य रूपमा दिनु पर्नेछ।
परिच्छेद-१६ भन्सार जाँचपास प्रतिनिधि
९६. भन्सार जाँचपास प्रतिनिधि नियुक्त गर्न सक्ने : (१) कुनै वस्तुको धनीले निकासी वा पैठारी गर्ने वस्तु कार्यालयबाट आफैँले छुटाई लैजान नसक्ने भएमा वा कार्यालयसँग सम्बन्धित कुनै कार्य आफैँले नगरी भन्सार जाँचपास प्रतिनिधि मार्फत गराउन चाहेमा निजले भन्सार जाँचपास प्रतिनिधि नियुक्त गर्न सक्नेछ। तर भन्सार जाँचपास प्रतिनिधिले भन्सार जाँचपासको लागि पुनः प्रतिनिधि नियुक्त गर्न पाउने छैन। (२) कुनै वस्तुको धनी प्रचलित कानून बमोजिम दर्ता भएको कुनै फर्म, कम्पनी, एक्काइस संस्था वा निकाय रहेछ भने त्यस्तो फर्म, कम्पनी, एक्काइस संस्था वा निकायको सञ्चालक, साझेदार, कार्यकारी प्रमुख, प्रशासकीय प्रमुख वा कार्यकारी प्रमुखले तोकेको सो फर्म, कम्पनी, एक्काइस संस्था वा निकायको अधिकृतस्तरको कर्मचारी कार्यालयमा उपस्थित भई वस्तु छुटाउन वा कार्यालयसँग सम्बन्धित अन्य कार्य गर्न सक्नेछ।
९७. भन्सार जाँचपास प्रतिनिधिको इजाजतपत्र लिनु पर्ने : (१) निकासी वा पैठारी हुने वस्तु कार्यालयबाट छुटाउन वा कार्यालयसँग सम्बन्धित कामको लागि भन्सार जाँचपास प्रतिनिधिको रूपमा काम गर्न चाहने नेपाली नागरिकले विभागबाट भन्सार जाँचपास प्रतिनिधिको इजाजतपत्र लिनु पर्नेछ। (२) उपदफा (१) बमोजिम भन्सार जाँचपास प्रतिनिधिको इजाजतपत्र प्राप्त गर्न देहाय बमोजिमको योग्यता पुगेको हुनु पर्नेछः- (क) एक्काइस वर्ष उमेर पूरा भएको नेपाली नागरिक, (ख) मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको, (ग) कुनै फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहर नभएको। (३) भन्सार जाँचपास प्रतिनिधि छनौट गर्निको लागि विभागले यो ऐन प्रारम्भ भएको मितिले दुई वर्षभित्र र सोपछ आवधिक रूपमा आवश्यकता अनुसार परीक्षा सञ्चालन गर्नेछ। त्यसरी छनौट गर्दा सम्बन्धित क्षेत्रको अनुभव भएको व्यक्तिलाई प्राथमिकता दिने गरी गर्नु पर्नेछ। (४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन जारी हुँदाका बखत इजाजतपत्र प्राप्त भन्सार एजेन्ट यो ऐन प्रारम्भ भएपछि स्वतः भन्सार जाँचपास प्रतिनिधिको रूपमा परिणत हुनेछ।
९८. भन्सार जाँचपास प्रतिनिधि वस्तुको धनी मानिने : कुनै वस्तुको धनीले यस ऐन वा भन्सार महसुल सम्बन्धी प्रचलित कानून बमोजिम आफ्नो वस्तु कार्यालयबाट छुटाउनको लागि वा कार्यालयसँग सम्बन्धित अन्य कार्य गर्नको लागि नियुक्त गरेको भन्सार जाँचपास प्रतिनिधि सो प्रयोजनको लागि त्यस्तो वस्तुको धनी मानिनेछ।
९९. भन्सार जाँचपास प्रतिनिधिको काम र कर्तव्य : भन्सार जाँचपास प्रतिनिधिको काम र कर्तव्य देहाय बमोजिम हुनेछ:- (क) कुनै निकासीकर्ता वा पैठारीकर्ताको वस्तु कार्यालयबाट छुटाउने अख्तियारी पाएकोमा नियमानुसार त्यस्तो वस्तु घोषणा गरी कार्यालयबाट जाँचपास गराई छुटाउने, (ख) भन्सार जाँचपास प्रतिनिधि नियुक्त गर्ने निकासीकर्ता वा पैठारीकर्तालाई आफू समेत उपस्थित गराउन भन्सार अधिकृतले लिखित सूचना दिएमा त्यस्तो सूचना सम्बन्धित निकासीकर्ता वा पैठारीकर्तालाई दिने, (ग) भन्सार जाँचपास प्रक्रियालाई सरलीकरण गर्ने, महसुल असुल गर्ने कार्यमा कार्यालयलाई सहयोग गर्ने र महसुल असुल गर्न बाँकी भए असुल गर्न आवश्यक सहयोग गर्ने, (घ) भन्सार सम्बन्धी कानूनको परिपालना गर्ने।
१००. भन्सार जाँचपास प्रतिनिधि जिम्मेवार हुने : दफा ९७ बमोजिम इजाजतपत्र प्राप्त भन्सार जाँचपास प्रतिनिधिले यस ऐन वा भन्सार महसुल सम्बन्धी प्रचलित कानून विपरीत कुनै काम गरी वस्तुलाई हानि नोक्सानी पुर्याएमा निजले सो हानि नोक्सानी बराबरको रकम त्यस्तो वस्तुको धनीलाई तिर्नुपर्नेछ।
१०१. इजाजतपत्र निलम्बन वा रद्द गर्न सक्ने : (१) भन्सार अधिकृतले देहायको अवस्थामा भन्सार जाँचपास प्रतिनिधिको इजाजतपत्र एक महिनादेखि छ महिनासम्म निलम्बन गर्न सक्नेछ:- (क) दफा ७३ बमोजिम सजाय पाएको, (ख) दफा ९९ बमोजिमको कर्तव्य पालना नगरेको, (ग) यस ऐन वा भन्सार महसुल सम्बन्धी प्रचलित कानून विपरीत कुनै काम गरेको। (२) कुनै भन्सार जाँचपास प्रतिनिधिको विरुद्धमा प्रचलित कानून बमोजिम कुनै फौजदारी कसुरमा अदालतमा मुद्दा दायर भएमा निजको भन्सार जाँचपास प्रतिनिधिको इजाजतपत्र त्यसरी मुद्दा दायर भएको मितिदेखि स्वतः निलम्बन हुनेछ।
(३) महानिर्देशकले देहायको अवस्थामा भन्सार जाँचपास प्रतिनिधिको इजाजतपत्र रद्द गर्न सक्नेछः- (क) इजाजतपत्र उपदफा (१) बमोजिम तीन पटकसम्म निलम्बन भएमा, (ख) नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य झुट्ठा कागजात वा विवरण पेश गरी इजाजतपत्र प्राप्त गरेको भनी भन्सार अधिकृतले निजको इजाजतपत्र रद्द गर्नको लागि महानिर्देशक समक्ष लेखी पठाएमा, (ग) चोरी निकासी, चोरी पैठारी वा राजस्व चुहावट हुने कुनै कार्यमा संलग्न भएको पाइएमा, (घ) कुनै फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहर भएमा, (ङ) आफूले प्राप्त गरेको इजाजतपत्र रद्द गरिपाऊँ भनी महानिर्देशक समक्ष निवेदन दिएमा, (च) शारीरिक वा मानसिक अस्वस्थताको कारण भन्सार जाँचपास प्रतिनिधिको रूपमा कार्य गर्न असमर्थ रहेमा, (छ) निजको मृत्यु भएमा। (४) उपदफा (१) बमोजिम इजाजतपत्र निलम्बन वा उपदफा (३) को खण्ड (क), (ख) वा (ग) बमोजिम इजाजतपत्र रद्द गर्नु अघि निजलाई आफ्नो सफाइ पेश गर्ने मौका दिनु पर्नेछ। (५) उपदफा (१) वा (२) बमोजिम भन्सार जाँचपास प्रतिनिधिको इजाजतपत्र निलम्बन भएकोमा सो अवधिभर र उपदफा (३) बमोजिम भन्सार जाँचपास प्रतिनिधिको इजाजतपत्र रद्द भएपछि त्यस्तो व्यक्तिले भन्सार जाँचपास प्रतिनिधि सम्बन्धी कुनै काम गर्न पाउने छैन। (६) उपदफा (३) को खण्ड (च) बमोजिमको अवस्थामा बाहेक यस दफा बमोजिम इजाजतपत्र रद्द भएको व्यक्ति पुनः भन्सार जाँचपास प्रतिनिधिको इजाजतपत्र प्राप्त गर्न योग्य हुने छैन।
परिच्छेद-१७ जाँचपासपछिको परीक्षण तथा पुनः परीक्षण
१०२. जाँचपासपछि परीक्षण गर्न सकिने : (१) निकासी वा पैठारी भएको कुनै वस्तुको सम्बन्धमा देहायका कुराहरू यकिन गर्नको लागि महानिर्देशक, भन्सार परीक्षक वा महानिर्देशकले तोकेको भन्सार अधिकृतले कुनै निकासीकर्ता वा पैठारीकर्ताको वस्तु खरिद, बिक्री, निकासी
वा पैठारी सम्बन्धी खाता, स्रेस्ता अभिलेख वा अन्य यस्तै कागजात, बैङ्क अभिलेख, कम्प्युटर प्रणाली लगायत निजको व्यवसायसँग सम्बन्धित सम्पूर्ण विवरण, कागजात वा अभिलेख परीक्षण गर्न सक्नेछ:- (क) दफा २० को उपदफा (४) बमोजिम वस्तु घोषणा गरे वा नगरेको, (ख) घोषणा बमोजिमको वस्तु भए वा नभएको, (ग) वस्तुको भन्सार मूल्य यथार्थ भए वा नभएको, (घ) वस्तुको वर्गीकरण उपशीर्षक ठीक भए वा नभएको, (ङ) वस्तु निकासी वा पैठारी गर्दाका बखत प्रचलित कानून बमोजिम बुझाउनु पर्ने महसुल बुझाए वा नबुझाएको, (च) यस ऐन वा प्रचलित कानून बमोजिम पूर्ण वा आंशिक भन्सार महसुल छुट वा सुविधामा पैठारी गरेको वस्तु उद्देश्य बमोजिम प्रयोग भए वा नभएको र सम्बन्धित व्यक्तिले पैठारी गरे वा नगरेको, (छ) वस्तु पैठारी गर्दाका प्रज्ञापनपत्र, खरिद बीजक वा पैठारी सम्बन्धी अन्य कागजातमा उल्लेख गरेको नाप, आकार, एकाइ र निजको खरिद खाता, बिक्री खाता, बिक्री बीजकमा उल्लेख भएको नाप, आकार र एकाइमा एकरूपता भए वा नभएको।
(२) कार्यालयबाट दफा २३ को उपदफा (१) को खण्ड (ग) बमोजिम जाँचपास भएको वस्तुमा उपदफा (१) मा उल्लिखित कुराहरू भए वा नभएको सम्बन्धमा यकिन गर्न परीक्षण गर्नु पर्नेछ।
१०३. घटी देखिएको महसुल तथा जरिबाना असुल गर्ने : (१) जाँचपासपछिको परीक्षण गर्दा घोषणाकर्ताले घोषणा गरेको भन्दा वा घोषणा अनुरूपको भन्दा भिन्न वस्तु निकासी वा पैठारी गरेको पाइएमा वा त्यस्तो वस्तुको मूल्य वा परिमाण घटी घोषणा गरेको कारणले लाग्ने भन्दा घटी महसुल असुल भएको देखिएमा भन्सार परीक्षकले त्यस्तो वस्तुको महसुल पुनः निर्धारण गर्नु पर्नेछ। (२) उपदफा (१) बमोजिम महसुल निर्धारण गर्दा त्यस्तो वस्तु जाँचपास हुँदाका बखत घटी मूल्य वा परिमाण घोषणा गरेको कारणले घटी हुन गएको महसुल, परिमाण घटी घोषणा गरे बापत यस ऐन बमोजिम हुने जरिबाना रकम र मूल्य घटी घोषणा गरेकोमा भन्सार परीक्षकले त्यस्तो वस्तुमा लाग्ने महसुलको प्रतिशत रकम जरिबाना गरी सो समेत सम्बन्धित वस्तुको धनीबाट असुल गर्नु पर्नेछ।
(३) जाँचपासपछिको परीक्षण गर्दा वस्तुको वर्गीकरणको उपशीर्षक फरक पारेको कारणले लाग्ने भन्दा घटी महसुल असुल भएको देखिएमा भन्सार परीक्षकले त्यसरी घटी हुन गएको महसुल रकम र सो बराबरको जरिवाना समेत सम्बन्धित वस्तुको धनीबाट असुल गर्नु पर्नेछ।
(४) जाँचपासपछिको परीक्षण गर्दा उपदफा (२) वा (३) मा उल्लेख भएको बाहेक अन्य कुनै कारणबाट लाग्ने भन्दा घटी महसुल असुल भएको पुष्टि भएमा त्यसरी घटी असुल भएको महसुल रकम र सो बराबर जरिवाना समेतको रकम भन्सार परीक्षकले सम्बन्धित वस्तुको धनीबाट असुल गर्नु पर्नेछ। तर घोषणाकर्ताको कारणले बाहेक अन्य कारणबाट लाग्ने भन्दा घटी महसुल असुल हुन गएको रहे छ भने जरिवाना लगाइने छैन।
(५) जाँचपासपछिको परीक्षण गर्दा कसैले यस ऐन वा अन्य प्रचलित कानून बमोजिम पूर्ण वा आंशिक भन्सार महसुल छुट वा सुविधामा पैठारी गरेको वस्तु जुन उद्देश्यले पैठारी गरेको हो सो उद्देश्य विपरीत प्रयोग गरेको, बिक्री गरेको वा छुट वा सुविधा नपाउने व्यक्तिले पूर्ण वा आंशिक भन्सार महसुल छुट वा सुविधामा कुनै वस्तु पैठारी गरेको पाइएमा भन्सार परीक्षकले निजबाट त्यस्तो वस्तुमा लाग्ने महसुल र महसुलको दुई सय प्रतिशत जरिवाना असुल गर्नु पर्ने छ।
(६) दफा १०२ बमोजिम परीक्षण गर्दा सोको उपदफा (१) को खण्ड (क) बमोजिम घोषणा नगरी पैठारी गरेको पाइएमा महानिर्देशक वा भन्सार परीक्षकले त्यस्तो वस्तुको भन्सार मूल्यको पाँच प्रतिशत जरिवाना गर्ने छ। तर वस्तुको प्रकृति अनुसार खुलाउन नसकिने किसिमका विवरण नखुलाएको आधारमा मात्र यस उपदफा बमोजिम जरिवाना गरिने छैन।
(७) उपदफा (१) बमोजिम महसुल निर्धारण गर्ने प्रयोजनको लागि भन्सार परीक्षकले पैठारी भएको वस्तुको मूल्य निर्धारण गर्दा दफा ३१ बमोजिम निर्धारण गर्नु पर्नेछ।
१०४. सम्बन्धित व्यक्तिलाई बुझ्न सक्ने : (१) जाँचपासपछिको परीक्षण गर्दा भन्सार परीक्षकले सम्बन्धित व्यक्तिलाई आफ्नो कार्यालयमा झिकाउन, बयान गराउन, प्रमाण बुझ्न, लिखित पेश गर्न लगाउन, सूचना वा म्याद जारी गर्न वा निजबाट यस ऐन वा भन्सार महसुल सम्बन्धी प्रचलित कानून बमोजिम लाग्ने थप रकम वा जरिवाना असुल गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम झिकाउँदा वा जारी गरिएको म्यादमा उपस्थित नहुने वा माग गरिए बमोजिमको लिखित प्रमाण वा कागजात पेश नगर्ने वस्तुको धनीलाई भन्सार
परीक्षकले पटकैपछि दस हजार रुपैयाँ जरिवाना गरी निजको निकासी वा पैठारी सम्बन्धी कारोबार रोक्का गर्न र उपलब्ध भएसम्मका लिखित प्रमाण वा कागजातका आधारमा जाँचपासपछिको परीक्षण गर्न सक्नेछ। तर जाँचपासपछिको परीक्षण गरिसकेपछि सो सम्बन्धमा थप प्रमाण वा कागजात प्राप्त भएमा त्यस्तो प्रमाण वा कागजातका आधारमा पुनः जाँचपासपछिको परीक्षण गर्न बाधा पुग्ने छैन।
१०५. सफाइ पेस गर्ने मौका दिनु पर्ने : (१) यस परिच्छेद बमोजिम जरिवाना वा थप महसुल रकम असुल गर्ने आदेश दिनुपूर्व महानिर्देशक वा भन्सार परीक्षकले सम्बन्धित वस्तुको धनीलाई महसुल र जरिवाना निर्धारण भएको जानकारी सहित पन्ध्र दिनको म्याद दिई सो सम्बन्धमा सफाइ पेस गर्ने मनासिब मौका दिनु पर्नेछ। (२) उपदफा (१) बमोजिम सफाइ पेस भएपछि वा सफाइ पेस नभएमा सफाइ पेस गर्ने म्याद नाघेपछि महानिर्देशक वा भन्सार परीक्षकले अन्तिम महसुल र जरिवाना निर्धारण गरी सम्बन्धित निकासीकर्ता वा पैठारीकर्तालाई सो बमोजिमको रकम दाखिल गर्ने आदेश दिनेछ।
१०६. महसुल वा जरिवाना बुझाउनु पर्ने : (१) यस परिच्छेद बमोजिम निर्धारण भएको महसुल वा जरिवाना बापतको रकम दाखिल गर्ने आदेश प्राप्त गरेको मितिले पैंतीस दिनभित्र सम्बन्धित वस्तुको धनीले त्यस्तो रकम कार्यालयले तोकेको बैङ्कमा दाखिल गर्नु पर्नेछ। उक्त अवधिभित्र रकम दाखिल नगरेमा सो रकममा त्यसरी महसुल वा जरिवाना रकम दाखिल गर्ने आदेश भएको मितिदेखि प्रतिदिन शून्य दशमलव शून्य चार दुई प्रतिशतका दरले ब्याज समेत गणना गरी असुल गरिनेछ। (२) उपदफा (१) बमोजिम बुझाउनु पर्ने रकम नबुझाउने वस्तुको धनीको निकासी वा पैठारी सम्बन्धी कारोबार, बैङ्क खाता तथा चल वा अचल सम्पत्ति भन्सार परीक्षकले रोक्का गरी सोही सम्पत्तिबाट त्यस्तो रकम असुल गर्नेछ। (३) उपदफा (२) बमोजिम रोक्का गर्न लेखी आएमा सम्बन्धित निकायले भन्सार जाँचपास परीक्षण कार्यालयबाट लेखी आए बमोजिम त्यस्तो कारोबार, बैङ्क खाता तथा चल वा अचल सम्पत्ति तुरुन्त रोक्का गरी सोको जानकारी भन्सार परीक्षकलाई दिनु पर्नेछ। (४) उपदफा (१) बमोजिम बुझाउनु पर्ने रकम नबुझाउने वस्तुको धनीले कुनै सरकारी निकाय वा बैङ्कबाट कुनै रकम भुक्तानी लिन बाँकी देखिएमा भन्सार परीक्षकले
त्यस्तो रकम तुरुन्त भन्सार जाँचपास परीक्षण कार्यालयको नाममा भुक्तानी हुने गरी पठाउन उक्त निकाय वा बैङ्कलाई लेखी पठाउन सक्नेछ। (५) उपदफा (४) बमोजिम लेखी आएमा सम्बन्धित निकाय वा बैङ्कले तुरुन्त त्यस्तो रकम भन्सार जाँचपास परीक्षण कार्यालयको नाममा भुक्तानी पठाउनु पर्नेछ। (६) उपदफा (२) वा (४) बमोजिम रकम असुल हुन नसकेमा त्यस्तो रकम सरकारी बाँकी सरह असुल गरिनेछ।
१०७. माग गरेको विवरण दिनु पर्ने : (१) भन्सार परीक्षकले यस परिच्छेदको प्रयोजनका लागि आवश्यक देखिएमा बैङ्क तथा वस्तुको धनीको कारोबारसाँग सम्बन्धित अन्य कुनै व्यक्ति वा निकायबाट सम्बन्धित वस्तुको धनी, निजको कारोबार वा वस्तुसाँग सम्बन्धित भुक्तानी, बैङ्क खाता, नाफा नोक्सानको हिसाब, कर विवरण, बीजक जस्ता अन्य विवरण वा कागजात माग गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम माग गरिएको विवरण वा कागजात उपलब्ध गराउनु सम्बन्धित व्यक्ति वा निकायको कर्तव्य हुनेछ।
१०८. जाँचपासपछिको परीक्षण गर्न सकिने अवधि र अन्य व्यवस्था : यस ऐन वा भन्सार महसुल सम्बन्धी प्रचलित कानून बमोजिम वस्तु जाँचपास भएको मितिले दुई वर्षसम्म त्यस्तो वस्तुको सम्बन्धमा यस परिच्छेद बमोजिम जाँचपासपछिको परीक्षणको काम गर्न सकिनेछ। तर कुनै घोषणाकर्ताले झुट्ठा बिलत वा कागजात तयार गरी लाग्ने भन्दा कम महसुल दाखिला गरेको प्रमाणित भएमा भन्सार परीक्षकले महानिदेशकको अनुमति लिई सो अवधिपछि समेत त्यस्तो वस्तुको सम्बन्धमा जाँचपासपछिको परीक्षण गर्न सक्नेछ।
१०९. पुनः परीक्षण गर्न सक्ने : (१) कार्यालयबाट जाँचपास भएका वस्तुको प्रज्ञापनपत्र लगायतका पैठारी वा निकासीसाँग सम्बन्धित कागजात तथा जुनसुकै स्वरूपका अभिलेख त्यस्तो वस्तु जाँचपास भएको मितिले दुई वर्षभित्र महानिदेशक वा भन्सार अधिकृत वा निजले ठाटाएको कर्मचारीले पुनः परीक्षण गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम पुनः परीक्षण गर्दा असुल गर्नु पर्ने महसुल असुल गर्न छुट भएको देखिएमा भन्सार अधिकृतले त्यस्तो वस्तुको त्यसरी छुट भएको महसुल वस्तुको धनीबाट असुल गर्नु पर्नेछ। तर घोषणाकर्ताले नक्कली बिल, बीजक वा कागजात पेस गरेको कारणले महसुलमा फरक पनि गएको देखिएमा भन्सार अधिकृतले उक्त फरक पनि गएको महसुलको
तीन सय प्रतिशत रकम जरिवाना गर्न सक्नेछ। त्यसरी पेस गरेको कागजातबाट सरकारी कागजात किर्ते गरेको देखिएमा प्रचलित कानून बमोजिम कारबाहीको लागि सम्बन्धित निकाय वा अधिकारी समक्ष लेखी पठाउनु पर्नेछ।
परिच्छेद-१८ महसुल तथा जरिवाना फिर्ता
११०. भन्सार महसुल फिर्ता दिने : (१) कुनै व्यक्तिले निकासी वा पैठारी गर्दा प्रचलित कानून बमोजिम लाग्ने भन्दा बढी भन्सार महसुल बुझाएको रहेछ वा दफा २० को उपदफा (११) बमोजिम घोषणा गर्दा भन्सार महसुल बुझाएपछि त्यस्तो घोषणा रद्द भएमा भन्सार अधिकृतले निजलाई त्यस्तो भन्सार महसुल फिर्ता दिनु पर्नेछ। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा भन्सार महसुल फिर्ता हुने छैनः- (क) वस्तु छुटाएको साठी दिनभित्र त्यस्तो महसुल फिर्ताको लागि सम्बन्धित कार्यालयमा निवेदन नदिएमा, (ख) फिर्ताको लागि दाबी गरिएको रकम पाँच सय रुपैयाँ भन्दा कम भएमा, (ग) वस्तुको जाँच गर्नु अगाडि नै महसुल असुल भएको र ऐनको दफा २३ को उपदफा (१) को खण्ड (घ) बमोजिम वस्तु जाँच गर्दा घोषणाकर्ताले गरेको घोषणा वा सोसाथ संलग्न गरेका कागजातमा उल्लिखित विवरण बमोजिमको वस्तु नभई फरक वस्तु फेला परेकोमा।
१११. महसुल फिर्ता सम्बन्धी विशेष व्यवस्था : भन्सार महसुल सम्बन्धी प्रचलित कानून बमोजिम नगद धरौटी राखी पैठारी गर्ने सुविधा वा दफा ६१ बमोजिम बण्डेड वेयर हाउसको इजाजतपत्र नलिएका उद्योगले आफूले निकासी गर्ने वस्तु उत्पादनको लागि आवश्यक पर्ने कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थ पैठारी गरी सोबाट उत्पादित तयारी वस्तु निकासी गरेमा त्यस्तो कच्चा पदार्थ पैठारी गर्दा भन्सार बिन्दुमा भुक्तानी गरेको महसुल नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सोही सूचनामा तोकिए बमोजिम समदरामा कार्यालयबाट फिर्ता दिइनेछ।
११२. मुद्दाको अन्तिम किनारा नभई महसुल वा जरिवाना फिर्ता दिन नहुने : भन्सार अधिकृतले महसुल वा जरिवाना असुल गर्ने गरेको निर्णय उपर यस ऐन बमोजिम परेको पुनरावेदनमाथि निर्णय हुँदा त्यसरी असुल भएको सबै वा केही महसुल वा जरिवाना नलाग्ने गरी निर्णय
भएमा त्यस्तो निर्णय उपर पुनरावेदन लाग्ने व्यवस्था भएकोमा पुनरावेदन गरी सोको अन्तिम निर्णय भएपछि वा पुनरावेदनका लागि अनुमति माग गर्नु पर्ने अवस्थामा त्यस्तो पुनरावेदनको अनुमतिको लागि निवेदन दिँदा पुनरावेदन गर्ने अनुमति प्राप्त नभएमा वा अनुमति प्राप्त भएमा सो पुनरावेदनको अन्तिम किनारा भएपछि मात्र सो निर्णय बमोजिम फिर्ता दिनु पर्ने भनी उल्लेख भएको महसुल वा जरिवानाको रकम भन्सार अधिकृतले सम्बन्धित व्यक्तिलाई फिर्ता दिनु पर्नेछ।
परिच्छेद-१९ विविध
११३. बौद्धिक सम्पत्तिको अधिकार उल्लङ्घन हुने वस्तु निकासी वा पैठारी गर्न नहुने : (१) कसैले पनि प्रचलित कानून बमोजिम कुनै व्यक्तिले प्राप्त गरेको पेटेण्ट, डिजाइन, ट्रेडमार्क, प्रतिलिपि अधिकार जस्ता बौद्धिक सम्पत्ति उपरको अधिकार उल्लङ्घन हुने गरी कुनै वस्तु निकासी वा पैठारी गर्नु हुँदैन।
(२) उपदफा (१) विपरीत हुने गरी कसैले कुनै वस्तु निकासी वा पैठारी गर्न लागेमा सरोकारवाला व्यक्तिले त्यस्तो निकासी वा पैठारी रोक्का गर्न प्रमाण सहित सम्बन्धित भन्सार अधिकृत समक्ष निवेदन दिन सक्नेछ।
(३) उपदफा (२) बमोजिम निवेदन परेमा भन्सार अधिकृतले त्यस्तो वस्तु कार्यालयमा रोक्का राखी सो सम्बन्धमा आवश्यक कारबाहीको लागि सम्बन्धित निकाय वा अधिकारी समक्ष लेखी पठाउनु पर्नेछ।
(४) उपदफा (३) बमोजिम लेखी आएमा सम्बन्धित निकाय वा अधिकारीले सो सम्बन्धमा प्रचलित कानून बमोजिम कारबाही टुङ्गो लगाई सोको जानकारी कार्यालयलाई दिनु पर्नेछ।
(५) उपदफा (४) बमोजिम सम्बन्धित निकाय वा अधिकारीले प्रचलित कानून बमोजिम कारबाही गर्दा त्यस्तो वस्तु जफत हुने ठहर गरेमा भन्सार अधिकृतले सो वस्तु घोषणाकर्ताकै खर्चमा नष्ट गर्न सक्नेछ।
(६) कसैले कुनै वस्तुको उत्पादक कम्पनी, ब्राण्ड, मोडल, डिजाइन, बनावट, लोगो वा यस्तै कुराको नक्कल गरी तयार पारिएको जाली वा नक्कली (काउण्टरफि्ट) वस्तु पैठारी गरेको वा गर्ने प्रयत्न गरेको भन्ने भन्सार अधिकृतलाई शङ्का लागेमा निजले पैठारीकर्तासँग त्यस्तो वस्तु नक्कली वा जाली नभएको तथ्य पुष्टि गर्ने प्रमाण माग गर्न, सो वस्तुको प्राविधिक परीक्षणका लागि विभाग वा अन्य सरकारी निकायको प्रयोगशालामा पठाई
परीक्षण प्रतिवेदन लिन वा जुन उत्पादकको वस्तु नक्कल गरेको छ भनी लागेको हो निजसँग सो सम्बन्धमा आवश्यक जानकारी माग गर्न सक्नेछ। (७) उपदफा (६) बमोजिम पैठारीकर्तासँग प्रमाण माग गरिएकोमा निजले पन्ध्र दिनभित्र त्यस्तो प्रमाण पेस गर्नु पर्नेछ। (८) उपदफा (६) बमोजिम प्राप्त परीक्षण प्रतिवेदन वा जानकारी वा उपदफा (७) बमोजिम पेस गरिएको प्रमाणको आधारमा त्यस्तो वस्तु नक्कली भएको पाइएमा भन्सार अधिकृतले त्यस्तो वस्तु जफत गरी नष्ट गर्नु पर्नेछ।
११४. निकासी वा पैठारी सङ्केत नम्बर लिनु पर्ने : (१) कुनै पनि व्यक्तिले निकासी वा पैठारी सङ्केत नम्बर नलिई कुनै वस्तु निकासी वा पैठारी गर्न पाउने छैन। तर निकासी वा पैठारी सङ्केत नम्बर नलिई निकासी पैठारी गर्न पाउने गरी विभागले छुटै व्यवस्था गर्न बाधा पर्ने छैन। (२) उपदफा (१) बमोजिम लिएको निकासी वा पैठारी सङ्केत नम्बर नवीकरण गर्नु पर्नेछ। (३) नवीकरण नगरी त्यस्तो निकासी वा पैठारी सङ्केत नम्बर प्रयोग गरी निकासी वा पैठारी सम्बन्धी कारोबार गर्न पाइने छैन। (४) निकासी वा पैठारी सङ्केत नम्बर रद्द गर्न चाहने व्यक्तिले नवीकरण दस्तुर बुझाई विभागमा निवेदन दिएमा विभागले त्यस्तो व्यक्तिको निकासी वा पैठारी सङ्केत नम्बर रद्द गर्न सक्नेछ। (५) यस दफा बमोजिमको निकासी वा पैठारी सङ्केत नम्बरको प्रशासन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकायले गर्नेछ र नेपाल सरकारले त्यस्तो निकाय नतोकेसम्म निकासी वा पैठारी सङ्केत नम्बरको प्रशासन विभागले गर्नेछ।
११५. अभिलेख सुरक्षित राख्नु पर्ने : वस्तुको धनीले आफूले निकासी वा पैठारी गरेको वस्तुको भन्सार प्रक्रियासँग सम्बन्धित कागजात तथा तत्सम्बन्धी अभिलेख त्यस्तो वस्तु निकासी वा पैठारी गरेको मितिले कम्तीमा चार वर्षसम्म सुरक्षित राख्नु पर्नेछ।
११६. पुरस्कार दिइने : कसैले कुनै वस्तु चोरी निकासी वा चोरी पैठारी गर्न लागेको वा गरेको कुरा भन्सार कार्यालयलाई सुराकी दिने वा त्यस्तो वस्तु नियन्त्रणमा लिई भन्सार
कार्यालयमा दाखिला गर्ने कर्मचारी वा व्यक्तिलाई त्यस्तो कार्य प्रमाणित हुन आएमा पुरस्कार दिइनेछ।
११७. वस्तुको धनीले खर्च व्यहोर्नु पर्ने : यस ऐन वा भन्सार महसुल सम्बन्धी प्रचलित कानून बमोजिम वस्तु जाँचपास गर्दा वस्तु बोक्ने, जाँच्न र खोल्नको लागि उचित ठाउँमा पुर्याउने, कुनै यन्त्रमा राख्ने र झिक्ने, खोल्ने, छुट्ट्याउने र वस्तु वा सो वस्तु रहेको कन्टेनर, बाकस, झोला, प्याकेट, बोरा वा यस्तै अन्य प्याकिङ्ग सामग्रीमा चिन्ह लगाउने जस्ता कामको लागि लाग्ने खर्च सम्बन्धित वस्तुको धनीले व्यहोर्नु पर्नेछ।
११८. गोपनीयता कायम गर्नु पर्ने : (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि घोषणाकर्ताले कार्यालयमा पेस गरेको भन्सार मूल्याङ्कन सम्बन्धी सूचना, वस्तु जाँचपाससँग सम्बन्धित कागजात र अन्य व्यक्तिगत व्यावसायिक सूचना गोप्य राखिनेछ। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै वस्तुका सम्बन्धमा प्रचलित कानून बमोजिम अनुसन्धान गर्ने अधिकारप्राप्त अधिकारीबाट त्यस्तो अनुसन्धान वा लेखापरीक्षणको प्रयोजनका लागि वा अदालतबाट न्यायिक कारबाहीको प्रयोजनको लागि कुनै विवरण वा कागजात माग भएमा भन्सार अधिकृतले त्यस्तो विवरण वा कागजात तथा तत्सम्बन्धी जुनसुकै सूचना उपलब्ध गराउनु पर्नेछ। (३) कुनै घोषणाकर्ताले कार्यालयमा रहेको आफ्नो वस्तुसँग सम्बन्धित प्रज्ञापनपत्र, बीजक वा अन्य कागजातको प्रमाणित प्रतिलिपि माग गरेमा भन्सार अधिकृतले निर्धारित दस्तुर लिई त्यस्तो कागजातको प्रमाणित प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ।
११९. सूचना जारी गर्ने : यस ऐन वा भन्सार महसुल सम्बन्धी प्रचलित कानूनमा छुट्टै व्यवस्था भएकोमा बाहेक कार्यालयको काम कारबाहीसँग सरोकार भएको वा हुन सक्ने व्यक्तिको नाममा कार्यालयले व्यक्तिगत वा सार्वजनिक सूचना जारी गर्दा पन्द्र दिनको अवधि दिई सूचना जारी गर्नु पर्नेछ।
१२०. अधिकार प्रत्यायोजन गर्न सक्ने : (१) यस ऐन बमोजिम नेपाल सरकारले आफूमा भएको अधिकार नेपाल राजपत्रमा सूचना प्रकाशन गरी महानिर्देशक वा अन्य कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ। (२) मन्त्रालयले यस ऐन अन्तर्गत भन्सार अधिकृत वा भन्सार परीक्षकलाई भएको अधिकार नेपाल सरकारको कुनै अधिकृतलाई प्रत्यायोजन गर्न सक्नेछ। (३) महानिर्देशकले यस ऐन बमोजिम आफूलाई प्राप्त अधिकार मध्ये वस्तुको वर्गीकरण, भन्सार मूल्याङ्कन वा वस्तु वर्गीकरण उपरको पुनरावलोकन र दफा ५ को
उपदफा (२) बमोजिमको अधिकार बाहेक अन्य अधिकार आफू मातहतका अधिकृतस्तरका कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ। (४) प्रमुख भन्सार प्रशासकले यस ऐन बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये दफा ७० बमोजिम कारबाही र किनारा गर्न आफूलाई प्राप्त अधिकार बाहेकका अधिकार मातहतको कुनै अधिकृतलाई प्रत्यायोजन गर्न सक्नेछ। (५) प्रमुख भन्सार परीक्षण प्रशासकले यस ऐन बमोजिम आफूलाई प्राप्त केही अधिकार मातहतको कुनै परीक्षकलाई प्रत्यायोजन गर्न सक्नेछ। (६) कुनै भन्सार अधिकृत वा कार्यालयको काममा खटिएको अन्य कर्मचारीले यस ऐन वा भन्सार महसुल सम्बन्धी प्रचलित कानून विपरीत कुनै कार्य गरेको वा गर्न लागेको भन्ने कुराको सूचना कुनै माध्यमबाट विभागलाई प्राप्त भएमा र त्यस्तो सूचनालाई विश्वास गर्नु पर्ने मनासिब कारण देखिएमा महानिर्देशकले निजले गरिरहेको काम अर्को भन्सार अधिकृत वा कर्मचारीबाट गर्ने वा गराउने गरी अधिकार दिन सक्नेछ।
१२१. कागजातलाई मान्यता दिने : (१) अन्य प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि भन्सार अधिकृतले आफ्नो आधिकारिक पासवार्ड प्रयोग गरी कम्प्युटर प्रणालीबाट मुद्रित गरेको जाँचपाससँग सम्बन्धित कागजातमा कर्मचारीको दस्तखत नभए पनि त्यस्तो कागजातलाई दस्तखत भए सरह मान्यता दिइनेछ। (२) कार्यालयले उपलब्ध गराएको आधिकारिक पासवार्ड प्रयोग गरी कम्प्युटर प्रणालीमा विद्युतीय माध्यमबाट गरिने वस्तुको घोषणा, सूचनाको आदानप्रदान वा जाँचपाससँग सम्बन्धित अभिलेखको आधारमा मुद्रण गरिएका कागजातमा सम्बन्धित व्यक्तिको दस्तखत नभए तापनि त्यस्तो कागजातमा सम्बन्धित व्यक्तिको दस्तखत भए सरह मान्यता दिइनेछ।
१२२. विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने : (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन वा अन्य प्रचलित कानून बमोजिम कार्यालयमा बुझाउनु पर्ने महसुल वा जरिवाना वा अन्य कुनै रकम सम्भव भएसम्म विद्युतीय माध्यमबाट भुक्तानी (इ-पेमेन्ट) गर्न सकिने गरी विभागले आवश्यक व्यवस्था गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम विद्युतीय माध्यमबाट गरिने भुक्तानी (इ-पेमेन्ट) सम्बन्धी व्यवस्था विभागले तोके बमोजिम हुनेछ।
१२३. राष्ट्रिय एकद्वार प्रणालीबाट कार्य गर्न सकिने : (१) नेपाल सरकारले अन्तर्राष्ट्रिय व्यापारलाई व्यवस्थित गर्न राष्ट्रिय एकद्वार प्रणाली (नेशनल सिंगल विण्डो) को विकास गरी कार्यान्वयनमा ल्याउन सक्नेछ।
(२) उपदफा (१) बमोजिमको राष्ट्रिय एकद्वार प्रणालीको कार्यान्वयन क्रिभागले गर्नेछ। (३) उपदफा (१) बमोजिम नेपाल सरकारले विकास गरेको राष्ट्रिय एकद्वार प्रणालीमा निकासी वा पैठारीसँग सम्बन्धित निकायलाई आबद्ध गरिनेछ। (४) यस ऐन वा अन्य प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्रिय एकद्वार प्रणालीमा आबद्ध निकासी वा पैठारीसँग सम्बन्धित निकायले उपदफा (१) बमोजिमको प्रणाली मार्फत कार्य गर्नु पर्नेछ।
१२४. जानकारी दिनु पर्ने : यस ऐन बमोजिम भन्सार अधिकृतले जफत गरेको सम्पत्ति तथा साधनको विवरणको जानकारी कार्यालयले कुसुजन्य सम्पत्ति तथा साधन रोक्का, नियन्त्रण र जफत सम्बन्धी प्रचलित कानून बमोजिम तोकिएको निकायलाई दिनु पर्नेछ।
१२५. सहयोग गर्नु पर्ने : भन्सार अधिकृत वा कार्यालयको अन्य कर्मचारीले यस ऐन वा भन्सार महसुल सम्बन्धी प्रचलित कानून बमोजिम आफ्नो कर्तव्य पालन र अधिकार प्रयोग गर्दा कुनै सरकारी कार्यालय, कर्मचारी, प्रहरी, बैङ्क वा वित्तीय संस्थासँग कुनै प्रकारको सहयोग, सूचना वा मद्दत माग गरेमा त्यस्तो सहयोग, सूचना वा मद्दत दिनु र भन्सार कार्यालयको कार्यसम्पादनमा सामञ्जस्यता कायम हुने गरी सेवा प्रवाह गर्नु सम्बन्धित कार्यालय, कर्मचारी, प्रहरी, बैङ्क वा वित्तीय संस्थाको कर्तव्य हुनेछ।
१२६. हस्तक्षेप गर्नु नहुने : (१) निकासी वा पैठारीको लागि कार्यालयको क्षेत्र वा परिसर वा भन्सार वेयर हाउसमा रहेको वस्तु सो कार्यालयबाट जाँचपास भई भन्सार क्षेत्रबाट नछुट्टिएसम्म सो वस्तुका सम्बन्धमा अन्य कुनै निकाय वा अधिकारीले कुनै प्रकारको हस्तक्षेप गर्नु हुँदैन। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै वस्तुका सम्बन्धमा अनुसन्धान वा छानबिन गर्ने प्रचलित कानून बमोजिम ठिहरिएको निकाय वा अधिकारीले भन्सार अधिकृतको स्वीकृति लिई त्यस्तो वस्तु हेर्ने वा नमूना सङ्कलन गर्ने कार्य गर्दा बाधा पर्ने छैन।
१२७. सिपिङ कन्टेनर जाँचपास गर्न सकिने : कन्टेनर सेवा सञ्चालन गर्ने गरी नेपालमा दर्ता भएको सिपिङ कम्पनीले विदेशमा खरिद गरेको भए तापनि भौतिक रूपमा पैठारी गर्न सम्भव नभएको कन्टेनरमा लाग्ने महसुल बुझाएमा पैठारी भए सरह मानी जाँचपास गर्न सकिनेछ।
१२८. असल नियतले गरेकोमा बचाउ : (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि भन्सारका कुनै कर्मचारीले आफ्नो कर्तव्य पालनाको सिलसिलामा असल नियतले गरेको काम कारबाही प्रति व्यक्तिगत रूपमा जवाफदेही हुने छैन। (२) दफा २३ को उपदफा (१) को खण्ड (क) वा (ग) बमोजिम जाँचपास गरिएको वस्तुमा कुनै कैफियत देखिएमा त्यस्तो वस्तु जाँचपास गर्ने कार्यमा संलग्न अधिकृत वा अन्य कर्मचारी जवाफदेही हुने छैन। (३) दफा २३ को उपदफा (१) को खण्ड (ख) बमोजिम जाँचपास गरिएको वस्तुको सम्बन्धमा जाँचपास गर्ने कार्यमा संलग्न अधिकृत वा अन्य कर्मचारी त्यस्तो वस्तुको कागजात जाँच गरेको हदसम्म जवाफदेही हुनेछ।
१२९. बाधा अड्काउ फुकाउन सक्ने : यस ऐन कार्यान्वयन गर्दा कुनै बाधा अड्काउ परेमा नेपाल सरकारले यस ऐनको प्रतिकूल नहुने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो बाधा अड्काउ फुकाउन सक्नेछ।
१३०. नियम बनाउन सक्ने : यो ऐन कार्यान्वयन गर्न नेपाल सरकारले देहायका विषयमा नियम बनाउन सक्नेछ:- (क) छोटी भन्सार कार्यालयबाट वस्तुको जाँचपास सम्बन्धी, (ख) वाहन र वाहनमा रहने वस्तुको विवरण सम्बन्धी, (ग) वायुयान बाहेकका वाहन नेपाल प्रवेश गर्ने र विदेश प्रस्थान गर्नुपूर्वको जाँच सम्बन्धी, (घ) प्रज्ञापनपत्रको ढाँचा, वस्तु घोषणा गर्ने र संलग्न गर्नु पर्ने कागजात सम्बन्धी, (ङ) धरौटी फुकुवा र महसुल फिर्ता तथा छुट भएको महसुल असुल सम्बन्धी, (च) वस्तुको शीघ्र जाँचपास सम्बन्धी, (छ) परीक्षण प्रतिवेदन तथा विशेषज्ञको राय प्राप्त नहुँदै वस्तुको जाँचपास सम्बन्धी, (ज) जोखिम विश्लेषणका आधारमा वस्तुको जाँचपास सम्बन्धी, (झ) वस्तुको स्थलगत जाँच तथा शुल्क सम्बन्धी, (ञ) वस्तुको नमूना परीक्षण सम्बन्धी, (ट) आधिकारिक व्यावसायिक व्यक्ति सम्बन्धी, (ठ) जाँचपास भएको वस्तु ढुवानी गर्ने साधन तोक्ने, सिल लगाउने र अभिलेखीकरण सम्बन्धी, (ड) पैठारी भएको वस्तु फिर्ता सम्बन्धी,
(ढ) पैठारी भएको वस्तुको भन्सार मूल्य घोषणा र कारोबार मूल्य निर्धारण सम्बन्धी, (ण) न्यून बीजकीकरण गरेको वस्तु खरिद सम्बन्धी, (त) महसुल नलिई वस्तु जाँचपास गर्ने महसुलको सीमा सम्बन्धी, (थ) यात्रीले साथमा ल्याउने वस्तु सम्बन्धी, (द) भन्सार वेयरहाउसको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन सम्बन्धी, (ध) निजी क्षेत्रबाट स्थापित वेयरहाउस सञ्चालन र व्यवस्थापन सम्बन्धी, (न) बन्डेड वेयरहाउस सञ्चालन र व्यवस्थापन सम्बन्धी, (प) करमुक्त पसल सञ्चालन सम्बन्धी, (फ) वस्तुको आन्तरिक परिवहन सम्बन्धी, (ब) द्रुत सेवा वा कुरियर कम्पनीले हवाईमार्गबाट निकासी वा पैठारी गर्ने वस्तु तथा मूल्यमा छुट सम्बन्धी, (भ) हुलाक मार्फत निकासी वा पैठारी गर्ने वस्तु तथा मूल्यमा छुट सम्बन्धी, (म) पूर्वादेश सम्बन्धी, (य) अनुसन्धान र तहकीकात गर्ने वस्तुको मूल्यको सीमा सम्बन्धी, (र) वस्तुको लिलाम बिक्री तथा नष्ट सम्बन्धी, (ल) मुद्दाको निर्णयको ढाँचा सम्बन्धी, (व) प्रशासकीय पुनरावलोकन सम्बन्धी, (श) भन्सार जाँचपास प्रतिनिधि सम्बन्धी, (ष) जाँचपासपछिको परीक्षण तथा पुन: परीक्षण सम्बन्धी, (स) निकासी पैठारी संकेत नम्बर, सोको नवीकरण र दस्तुर सम्बन्धी, (ह) सुराकी र पुरस्कार सम्बन्धी, (क्ष) कागजातको प्रतिलिपि र सोको दस्तुर सम्बन्धी, (त्र) राष्ट्रिय एकद्वार प्रणालीको सञ्चालन सम्बन्धी, (ज्ञ) वस्तुको उत्पत्तिको नियम सम्बन्धी।
१३१. निर्देशिका तथा कार्यविधि बनाउन सक्ने : यस ऐनको अधीनमा रही देहायका विषयमा विभागले निर्देशिका वा कार्यविधि बनाउन सक्नेछः- (क) वस्तुको भन्सार मूल्याङ्कन सम्बन्धी, (ख) विद्युतीय घोषणा, जाँचपास तथा राजस्व भुक्तानी सम्बन्धी, (ग) जाँचपासपछिको परीक्षण सम्बन्धी,
(घ) जोखिम व्यवस्थापन सम्बन्धी, (ङ) राहत सामग्री जाँचपास सम्बन्धी, (च) भन्सार जाँचपास प्रतिनिधिको परीक्षा सञ्चालन सम्बन्धी, (छ) कम्प्युटर प्रणाली सम्बन्धी, (ज) राष्ट्रिय एकद्वार प्रणाली सम्बन्धी, (झ) भन्सार प्रशासनसँग सम्बन्धित अन्य आवश्यक विषय सम्बन्धी।
१३२. खारेजी तथा बचाउ : (१) भन्सार ऐन, २०६४ खारेज गरिएको छ। (२) भन्सार ऐन, २०६४ अन्तर्गत भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ। (३) यो ऐन प्रारम्भ हुँदाका बखत मूल्याङ्कन पुनरावलोकन समिति वा पूर्वावदेन समितिमा रहेका निर्णय हुन बाँकी निवेदनको निर्णय यसै ऐन बमोजिम हुनेछ।](streamdown:incomplete-link)