मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५
नेपाल राजपत्रमा प्रकाशित मिति २०७५।०९।०९
संशोधन १. मानव अधिकार पुरस्कार कोष सञ्चालन (पहिलो संशोधन) नियमावली, २०८२ २०८२।०९।२४
प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम "मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५" रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस नियमावलीमा,- (क) "अध्यक्ष" भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ। (ख) "उपसमिति" भन्नाले नियम ८ बमोजिम गठित पुरस्कार सिफारिस उपसमिति सम्झनु पर्छ। (ग) "कोष" भन्नाले नियम ३ बमोजिमको मानव अधिकार पुरस्कार अक्षय कोष सम्झनु पर्छ। (घ) "पुरस्कार" भन्नाले यस नियमावली बमोजिम वितरण गरिने मानव अधिकार पुरस्कार सम्झनु पर्छ। (ङ) "मन्त्रालय" भन्नाले नेपाल सरकारको कानून न्याय तथा संसदीय मामला मन्त्रालय सम्झनु पर्छ। (च) "समिति" भन्नाले नियम ५ बमोजिमको मानव अधिकार पुरस्कार अक्षय कोष व्यवस्थापन समिति सम्झनु पर्छ।
३. कोषको स्थापना र सञ्चालनः (१) मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई "प्रत्येक दुई वर्षमा एक पटक अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा नेपाल सरकारको तर्फबाट मन्त्रालयले मानव अधिकार
¹ पहिलो संशोधनद्वारा संशोधित।
पुरस्कार प्रदान गर्न मानव अधिकार पुरस्कार अक्षय कोष नामको एक कोष स्थापना गरिएकोछ। (२) उपनियम (१) बमोजिमको कोषमा देहाय बमोजिमका रकमहरु रहने छन्:- (क) नेपाल सरकारबाट प्राप्त रकम, (ख) स्वदेशी व्यक्ति वा अन्य संघ संस्थाबाट प्राप्त रकम, (ग) विदेशी व्यक्ति, सरकार वा अन्तर्राष्ट्रिय संघ वा संस्थाबाट प्राप्त रकम, (घ) कोषको रकमबाट बढे बढाएको रकम, (ङ) अन्य स्रोतबाट प्राप्त रकम।
(३) उपनियम (२) को खण्ड (ग) बमोजिम विदेशी व्यक्ति, सरकार वा अन्तर्राष्ट्रिय संघ वा संस्थाबाट कुनै रकम प्राप्त गर्नु अघि नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ।
(४) उपनियम (१) बमोजिम कोषमा प्राप्त हुने रकम नेपाल राष्ट्र बैंकबाट "क" श्रेणीको मान्यता प्राप्त वाणिज्य बैंक मध्येबाट समितिले तोकेको बैंकमा मुद्दती खाता खोली जम्मा गरिनेछ।
४. कोषको प्रयोग : (१) कोषमा जम्मा भएको रकमबाट आर्जित ब्याज यस नियमावली बमोजिम प्रदान गरिने पुरस्कारको प्रयोजनको लागि प्रयोग गरिनेछ।
(२) कुनै कारणबाट उपनियम (१) बमोजिमको कार्यमा कोषको रकम खर्च हुन नसकेमा त्यस्तो रकम प्रत्येक वर्षको पुष मसान्तभित्र कोषको मूल साँवामा जोड जम्मा गरी राखिनेछ।
(३) मन्त्रालयले कोषको रकमबाट आर्जित ब्याज रकम यस नियमावली बमोजिम प्रदान गरिने पुरस्कार बाहेक अन्य कार्यमा प्रयोग गर्ने छैन।
५. समितिको गठन : (१) कोषको सञ्चालन तथा व्यवस्थापनको लागि मन्त्रालयमा देहाय बमोजिमको एक कोष व्यवस्थापन समिति रहनेछः- (क) सचिव, मन्त्रालय - अध्यक्ष (ख) सहसचिव (कानून), प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय - सदस्य (ग) सहसचिव (मानव अधिकार सम्बन्धी विषय हेर्ने),
मन्त्रालय - सदस्य (घ) सहसचिव, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय - सदस्य (ङ) उपसचिव (मानव अधिकार सम्बन्धी विषय हेर्ने), मन्त्रालय - सदस्य सचिव
(२) समितिको सचिवालयको काम मन्त्रालयको मानव अधिकार सम्बन्धी काम हेर्ने शाखाले गर्नेछ।
(३) समितिको सचिवालयको सञ्चालन, पुरस्कार सिफारिस तथा वितरण समारोह सम्बन्धी खर्च मन्त्रालयको वार्षिक बजेटबाट व्यहोरीनेछ।
६. समितिको बैठकः (१) समितिको बैठक वर्षको कम्तीमा दुई पटक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
(२) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ।
(३) समितिको सदस्य सचिवले समितिको बैठक बस्नुभन्दा कम्तीमा चौबीस घण्टा अगावै बैठकमा छलफल हुने विषयसूची सहितको सूचना सबै सदस्यहरुलाई दिनु पर्नेछ।
(४) अध्यक्ष सहित समितिका तीनजना सदस्य उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ।
(५) समितिको बैठकमा पुरस्कार प्रदान सम्बन्धी निर्णय गर्दा सर्वसम्मत रुपमा गर्नु पर्नेछ।
(६) बैठकमा आवश्यकता अनुसार मानव अधिकार सम्बन्धी विज्ञ वा आवश्यक अन्य पदाधिकारीलाई समेत आमन्त्रण गर्न सकिनेछ।
(७) समितिको सदस्य सचिवले बैठकको निर्णय अभिलेख गरी अध्यक्षबाट प्रमाणित गराई राख्नु पर्नेछ।
(८) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ।
७. समितिको काम, कर्तव्य र अधिकारः समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) कोषको सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा आवश्यक नीति निर्धारण गर्ने।
(ख) कोषको रकम व्यवस्थापन गर्ने।
(ग) पुरस्कारको स्वरूप तथा त्यसको राशी तोक्ने,
(घ) पुरस्कार प्रदान गरिने क्षेत्र तथा त्यसको आधार निर्धारण गर्ने,
(ङ) उपसमितिले सिफारिस गरेका व्यक्ति वा संस्थाहरु मध्येबाट उपयुक्त देखिएका व्यक्ति वा संस्थालाई पुरस्कार प्रदान गर्न मन्त्रालय समक्ष सिफारिस गर्ने,
(च) पुरस्कार प्रदान गर्दा दिइने प्रमाणपत्रको ढाँचा स्वीकृत गर्ने,
(छ) समितिले गर्नु पर्ने काम कारबाही सुचारु रुपले सञ्चालन गर्न आवश्यकता अनुसार उपसमिति गठन गर्ने,
(ज) कोष सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अन्य आवश्यक कार्यहरु गर्ने।
८. उपसमितिको गठन: (१) यस नियमावली बमोजिम पुरस्कार पाउने व्यक्ति वा संस्थाको नाम छनौट गरी समिति समक्ष सिफारिस गर्न समितिले अध्यक्ष वा समितिको कुनै सदस्यको संयोजकत्वमा देहायका क्षेत्रहरुसँग सम्बन्धित विज्ञहरु समेत रहेका बढीमा पाँच सदस्यीय उपसमिति गठन गर्न सक्नेछ:- (क) मानव अधिकारको विषयमा अध्ययन, अध्यापन तथा अनुसन्धान, (ख) कानून व्यवसाय, (ग) बालबालिका, महिला, जेष्ठ नागरिक, दलित, अपाङ्गता भएका व्यक्ति, पिछडिएका वा जोखिममा रहेका वा सिमान्तकृत समूहको मानव अधिकार संरक्षणको क्षेत्रमा गरेको योगदान, (घ) लैङ्गिक न्याय, (ङ) आम सञ्चार।
(२) उपसमितिको काम, कर्तव्य र अधिकार तथा कार्य अवधि उपसमिति गठन गर्दाका बखत समितिले तोके बमोजिम हुनेछ। (३) उपसमितिको बैठक उपसमितिको संयोजकले तोकेको मिति, समय र स्थानमा आवश्यकता अनुसार बस्नेछ।
(४) उपसमितिको बैठक सम्बन्धी अन्य कार्यविधि उपसमिति आफैले निर्धारण गरे बमोजिम हुनेछ।
९. वस्तुनिष्ठ आधारमा नाम सिफारिस गर्नु पर्ने: (१) उपसमितिले कुनै व्यक्ति वा संस्थालाई पुरस्कारको लागि सिफारिस गर्दा त्यस्तो व्यक्ति वा संस्थाले मानव अधिकारको संरक्षण र
संवर्द्धनको लागि पुर्याएको ठोस योगदान, त्यस्तो व्यक्ति वा संस्थाको कार्य क्षेत्र, विशेषज्ञता, नैतिकता, मानव अधिकार र मानवता प्रतिको समर्पण जस्ता कुराहरू स्पष्ट रुपमा खुलाई वस्तुनिष्ठ आधारमा नाम सिफारिस गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम उपसमितिले पुरस्कारको सिफारिस गर्दा मानव अधिकारसँग सम्बन्धित क्षेत्रमध्ये कुन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको हो सो कुरा समेत खुलाई बढीमा तीनजना व्यक्ति वा संस्थाको नाम सिफारिस गर्नु पर्नेछ।
१०. पुरस्कार सिफारिसका आधार: (१) यस नियमावली बमोजिम कुनै व्यक्ति वा संस्थालाई पुरस्कारको लागि सिफारिस गर्दा त्यस्तो व्यक्ति वा संस्थाले मानव अधिकारको संरक्षण र संवर्द्धनमा पुर्याएको योगदानको आधारमा पुरस्कारको सिफारिस गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम पुरस्कृत हुने व्यक्ति वा संस्थाको योगदानको मूल्याङ्कन गर्दा विचार गर्नु पर्ने कुराहरू र त्यसको आधार समितिले निर्धारण गरे बमोजिम हुनेछ।
(३) पुरस्कारको लागि व्यक्तिको नाम सिफारिस गर्दा उमेर, धर्म, वर्ण, लिङ्ग, जात, जाति, लैङ्गिकता, राजनीतिक वा वैचारिक आस्था जस्ता कुराहरूको आधारमा भेदभाव गर्नु हुँदैन।
(४) समितिले पुरस्कारको लागि व्यक्ति वा संस्थाको नाम सिफारिस गर्नु अघि पुरस्कारको लागि योग्य व्यक्ति वा संस्थाको नाम सूचनामा तोकिएको समयावधिभित्र उपलब्ध गराउन कम्तीमा दुईवटा राष्ट्रियस्तरका दैनिक पत्रिकामा सूचना प्रकाशन गरी सार्वजनिक रुपमा आह्वान गर्नु पर्नेछ र सो सूचना मन्त्रालयको वेबसाइटमा समेत प्रकाशन गर्नु पर्नेछ।
११. पुरस्कारको लागि सिफारिस गर्न नहुने : (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मानव अधिकार उल्लंघन सम्बन्धी फौजदारी कसूरमा सजाय पाएको, प्रचलित कानून बमोजिम दामासाही वा कालो सूचीमा परेको, बाल हिंसा, घरेलु वा लैङ्गिक हिंसा गरेको कारणले सजाय पाएको वा क्षतिपूर्ति तिरेको, प्रचलित कानून बमोजिम कर चुक्ता नगरेको कारणबाट कारबाहीमा परेको व्यक्ति वा संस्थालाई पुरस्कारको लागि सिफारिस गर्नु हुँदैन।
(२) उपनियम (१) बमोजिम पुरस्कारको लागि सिफारिस गर्न नहुने व्यक्ति वा संस्थालाई पुरस्कारको सिफारिस भई निजले त्यस्तो पुरस्कार प्राप्त गरेमा मन्त्रालयले जुनसुकै बखत त्यस्तो पुरस्कार रकम र सो सम्बन्धी प्रमाणपत्र फिर्ता गर्न लगाउन वा सो बराबरको
रकम सरकारी बाँकी सरह असूल उपर गर्न वा गराउन सक्नेछ।
१२. पुरस्कारको निर्धारणः (१) मन्त्रालयले समितिको सिफारिसको आधारमा पुरस्कार प्रदान गरिने क्षेत्र, पुरस्कार पाउने व्यक्ति वा संस्थाको नाम, संख्या र पुरस्कारको राशी निर्धारण गर्नु पर्नेछ।
(२) समितिले पुरस्कारको राशी तथा त्यसको संख्या निर्धारण गर्दा कोषमा रहेको रकम समेत विचार गर्नु पर्नेछ।
१३. पुरस्कार प्रदान गर्नेः (१) मन्त्रालयले "प्रत्येक दुई वर्षमा एक पटक अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (डिसेम्बर १० तारिख) को अवसरमा नियम १२ बमोजिम पुरस्कार पाउने व्यक्ति वा संस्थाको नाम घोषणा गर्नेछ।
(२) उपनियम (१) बमोजिम गरिएको घोषणा बमोजिम पुरस्कृत हुने व्यक्ति वा संस्थालाई मन्त्रालयले त्यस्तो घोषणा भएको मितिले सात दिनभित्र मन्त्रालयले प्रमाणपत्र सहित पुरस्कार प्रदान गर्नेछ।
(३) यस नियम बमोजिम पुरस्कार प्रदान गर्दा पुरस्कार पाउने व्यक्ति वा संस्थाले मानव अधिकारको संरक्षण र संवर्द्धनको क्षेत्रमा पुर्याएको योगदान र निजलाई पुरस्कार स्वरूप प्रदान गरिएको राशी प्रमाणपत्रमा उल्लेख गर्नु पर्नेछ।
१४. कोषको खाता सञ्चालन तथा लेखा परीक्षणः (१) कोषको खाताको सञ्चालन सदस्य सचिव र मन्त्रालयको लेखा अधिकृतको संयुक्त दस्तखतबाट हुनेछ।
(२) कोषको लेखा नेपाल सरकारले अपनाएको लेखा प्रणाली बमोजिम दुरुस्त राख्ने जिम्मेवारी मन्त्रालयको लेखा अधिकृतको हुनेछ।
(३) कोषको आन्तरिक लेखा परीक्षण कोष तथा लेखा नियन्त्रण कार्यालयबाट र अन्तिम लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ।
१५. कोषको रकम सनेः नेपाल सरकार, मन्त्रिपरिषद्को संवत् २०५५ मंसिर २१ गतेको निर्णय बमोजिम स्थापना भएको मानव अधिकार पुरस्कार अन्य कोषमा रहेको सम्पूर्ण रकम नियम ३ बमोजिम स्थापना भएको कोषमा सनेछ।
१६. अधिकार प्रत्यायोजनः समितिले यस नियमावली बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार समितिको अध्यक्ष, समितिको कुनै सदस्य वा मन्त्रालयको कुनै पदाधिकारीलाई
पहिलो संशोधनद्वारा संशोधित।
प्रत्यायोजन गर्न सक्नेछ।
१७. कार्यविधि वा मापदण्ड बनाउन सक्ने: यस नियमावली बमोजिम कोषको सञ्चालन, पुरस्कारको लागि योग्य व्यक्ति वा संस्था छनौट, पुरस्कार प्रदान गरिने क्षेत्र तथा पुरस्कारको राशि सम्बन्धमा मन्त्रालयले आवश्यकता अनुसार कार्यविधि वा मापदण्ड बनाई लागू गर्न सक्नेछ।
१८. आवश्यक व्यवस्था गर्न सक्ने: यो नियमावली कार्यान्वयन गर्न सम्बन्धमा कुनै द्विविधा उत्पन्न भई कार्यान्वयन गर्न बाधा परेमा मन्त्रालयले आवश्यक व्यवस्था मिलाउनेछ।
१९. खारेजी र बचाउ: (१) मानव अधिकार पुरस्कार सञ्चालन तथा व्यवस्थापन आदेश, २०६८ खारेज गरिएको छ।
(२) उपनियम (१) बमोजिम खारेज गरिएको आदेश बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।