सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ नेपाल राजपत्रमा प्रकाशित मिति २०८३।०१।१८ सं वत् २०८३ सालको अध्यादेश नं. ०३
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ लाई संशोधन गर्न बनेको अध्यादेश प्रस्तावना : सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ लाई तत्काल संशोधन गर्न वाञ्छनीय भएको र हाल सङ्घीय संसदको अधिवेशन नभएकोले,
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस अध्यादेशको नाम "सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३" रहेको छ।
(२) यो अध्यादेश तुरुन्त प्रारम्भ हुनेछ।
२. सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा १३ मा संशोधन : सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ (यसपछि “मूल ऐन” भनिएको) को दफा १३ को उपदफा (१) को खण्ड (ग) को सट्टा देहायको खण्ड (ग) राखिएको छ :-
“(ग) तस्करी (भरसार, अरतःशुल्क तथा करसहित) सम्बन्धी, कर (प्रत्यक्ष वा अप्रत्यक्ष समेत) सम्बन्धी, धितोपत्र वा कमोडिटी बजारलाई प्रतिकूल प्रभाव पार्ने (मार्केट म्यानिपुलेसन) वा भित्री कारोबार (इन्साइडर ट्रेडिङ्ग) सम्बन्धी, मुद्रा, बैंकिङ, वित्तीय, विदेशी विनिमय, विनिमय अधिकारपत्र र बीमा सम्बन्धी सम्बद्ध कसूरसँग सम्बन्धित सम्पत्ति शुद्धीकरणको सूचना भए विभागमा।”
३. मूल ऐनको दफा २२ मा संशोधन : मूल ऐनको दफा २२ को,-
(१) उपदफा (१) मा रहेका “सम्बन्धित सरकारी वकील कार्यालयमा” भन्ने शब्दहरूको सट्टा “विभागको हकमा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको सरकारी वकील कार्यालयमा र अन्यको हकमा सम्बन्धित सरकारी वकील कार्यालयमा" भन्ने शब्दहरू राखिएका छन्।
(२) उपदफा (२) मा देहायको प्रतिबन्धात्मक वाक्यांश थपिएको छ :-
“तर विभागले गरेको अनुसन्धानबाट मुद्दा चल्ने देखिएमा सरकारी वकीलले विशेष अदालतमा मुद्दा दायर गर्नेछ।”
४. मूल ऐनको दफा २९ मा संशोधन : मूल ऐनको दफा २९ को उपदफा (१) पछि देहायको उपदफा (१क) थपिएको छ :-
“(१क) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तपसिनी विभागले अनुसन्धान गर्दा आफ्नो क्षेत्राधिकारको कुनै सम्बद्ध कसुरमा मुद्दा चलेको अवस्था नदेखिएकोमा सो सम्बन्धी सम्बद्ध कसुरको समेत मागदावी लिई अभियोजनको राय प्रस्ताव गर्न बाधा पर्ने छैन ।”