बौद्धनाथ क्षेत्र विकास समिति (गठन) आदेश, २०५३
नेपाल राजपत्रमा प्रकाशित मिति २०५४।०२।०६
संशोधन बौद्धनाथ क्षेत्र विकास समिति (गठन) (पहिलो संशोधन) आदेश, २०८३ २०८३।०२।१८
विकास समिति ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको आदेश जारी गरेको छ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस आदेशको नाम “बौद्धनाथ क्षेत्र विकास समिति (गठन) आदेश, २०५३” रहेको छ। (२) यो आदेश तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आदेशमा,– (क) “समिति” भन्नाले दफा ३ बमोजिम गठित बौद्धनाथ क्षेत्र विकास समिति सम्झनु पर्छ। (ख) “बौद्धनाथ क्षेत्र” भन्नाले देहायका क्षेत्रहरू सम्झनु पर्छ:- (१) पूर्व-जोरपाटी गा.वि.स. को पश्चिम सीमाना। (२) पश्चिम-काठमाण्डौ महानगरपालिका वडा नं. ७ को सीमाना। (३) उत्तर-जोरपाटी गाउँ विकास समिति र कपन गाउँ विकास समितिको दक्षिण सीमाना। (४) दक्षिण-बाग्मती नदी र काठमाण्डौ महानगरपालिका वडा नं.७ को सीमाना। (ग) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ। (घ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष र सदस्य-सचिव समेतलाई जनाउँछ। (ङ) “कार्यकारी निर्देशक” भन्नाले दफा ६ बमोजिम नियुक्त कार्यकारी निर्देशक सम्झनु पर्छ। (च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस आदेश अन्तर्गत बनेको नियमामा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
३. बौद्धनाथ क्षेत्र विकास समितिको गठन : (१) बौद्धनाथ क्षेत्रको सामाजिक, आर्थिक, धार्मिक र सांस्कृतिक विकास गर्न बौद्धनाथ क्षेत्र विकास समिति नामक एउटा समितिको गठन हुनेछ।
(२) उपदफा (१) बमोजिमको समितिमा देहायका सदस्यहरू रहनेछन् :- (क) नेपाल सरकारले तोकेको व्यक्ति - अध्यक्ष (ख) बौद्धनाथ क्षेत्रसँग सम्बन्धित बौद्धनाथ क्षेत्रका समाजसेवी बुद्धिजीवी तथा प्रतिष्ठित व्यक्तिहरू मध्येबाट नेपाल सरकारले मनोनित गरेका पाँच जना व्यक्तिहरू - सदस्य (ग) प्रतिनिधि, युवा, खेलकुद तथा संस्कृति मन्त्रालय - सदस्य (घ) प्रतिनिधि, जनसंख्या तथा वातावरण मन्त्रालय - सदस्य (ङ) प्रतिनिधि, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय - सदस्य (च) प्रतिनिधि, गृह मन्त्रालय - सदस्य (छ) प्रतिनिधि, आवास तथा भौतिक योजना मन्त्रालय - सदस्य (ज) प्रतिनिधि, भूमिसुधार तथा व्यवस्था मन्त्रालय - सदस्य (झ) प्रतिनिधि, सभाको सदस्य, काठमाडौँ क्षेत्र नं. २ - सदस्य (ञ) प्रमुख, काठमाडौँ महानगरपालिका - सदस्य (ट) वडा नं. ६ बाट निर्वाचित काठमाडौँ महानगरपालिकाको सदस्य - सदस्य (ठ) कार्यकारी निर्देशक - सदस्य-सचिव
(३) ...........
(४) नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समितिका सदस्यहरूमा आवश्यक थपघट वा फेरफेर गर्न सक्नेछ।
(५) समितिले आवश्यकतानुसार अन्य स्वदेशी वा विदेशी व्यक्तिहरूलाई समितिको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ।
३क. पदमुक्त हुने : (१) यस आदेशमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३ को उपदफा (२) को खण्ड (क) र (ख) बमोजिम तोकिएको वा मनोनित अध्यक्ष र
सदस्यहरू तथा दफा ६ बमोजिम नियुक्त कार्यकारी निर्देशकको मनोनयन तथा नियुक्ति गर्दा जुनसुकै सर्त, सुविधा र पदावधि तोकिएको भए तापनि यो आदेश प्रारम्भ भएपछि त्यस्ता अध्यक्ष, सदस्य र कार्यकारी निर्देशक कार्यरत रहेको पदबाट स्वतः पदमुक्त हुनेछन्। (२) उपदफा (१) बमोजिम पदमुक्त भएका पदाधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको अधिकारीले पदमुक्त भएको सूचना दिनेछ।
४. समितिको काम, कर्तव्य र अधिकार : समितिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) बौद्ध धर्मसम्बन्धी योजना तथा कार्यक्रमहरू स्वीकृत गरी कार्यान्वयन गर्ने, गराउने। (ख) बौद्धनाथ क्षेत्र भित्रको बौद्ध धर्म सम्बन्धी सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक वा यस्तै प्रकारका ऐतिहासिक महत्त्वका प्राचीन स्थान तथा वस्तुहरूको खोजी, अन्वेषण, अनुसन्धान गर्ने र त्यसको अभिलेख राख्ने। तर यस्तो कार्य गर्दा स्वीकृत लिनु पर्ने निकायको पूर्व स्वीकृति लिनु पर्नेछ। (ग) बौद्धनाथ क्षेत्रको विकास सम्बन्धी योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्नको लागि विदेशी सरकार, राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ, संस्था वा व्यक्तिहरूसँग सम्पर्क र समन्वय गर्ने। (घ) बौद्धनाथ क्षेत्रभित्र पर्यटकको लागि उपयुक्त हुने स्थानहरूमा पर्यटन विकासको लागि आवश्यक कार्यक्रमहरू स्वीकृत गर्ने। (ङ) बौद्धनाथ क्षेत्रभित्र कुनै स्थान विशेषको महत्त्व, गरिमा, मान्यता र संवेदनशीलतालाई ध्यानमा राखेर त्यस्ता स्थानहरूमा गर्न नहुने कार्यहरू तोकी नियन्त्रण गर्ने। (च) बौद्धनाथ क्षेत्र भित्रका प्राकृतिक सम्पदाहरूको संरक्षण गर्ने तथा वातावरणीय सन्तुलन कायम गर्ने। (छ) बौद्धनाथ क्षेत्रभित्र विश्व सम्पदा सूचीमा समावेश भएका स्थानहरूमा निर्माण गरिने घर, गुम्बा, मठ, धर्मशाला र अन्य निर्माण सम्बन्धी कार्यहरूलाई आवश्यक मापदण्ड तोक्ने।
(ज) बौद्धनाथ क्षेत्र भित्रका कुनै पुरातात्विक महत्त्वको स्थानलाई संरक्षित स्थान घोषणा गर्ने व्यवस्था मिलाउने। (झ) बौद्धनाथ क्षेत्र भित्रका सरकारी, गैर सरकारी तथा निजी क्षेत्रबाट सञ्चालन हुने विकास निर्माण कार्यहरू सञ्चालन गर्ने निकायहरू बीच समन्वय कायम गर्ने। (ञ) बौद्धनाथ क्षेत्रको महत्त्व दर्शाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सभा, सम्मेलन गोष्ठी वा प्रदर्शनी आयोजना गर्ने। (ट) यस आदेश बमोजिम समितिको उद्देश्य पूर्तिको लागि गर्नु पर्ने अन्य कार्यहरू गर्ने, गराउने।
५. समितिको बैठकसम्बन्धी कार्यविधि : (१) समितिको बैठक वर्षको कम्तीमा चार पटक बस्नेछ। (२) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ र बैठक बस्ने सूचना बैठक बस्नु भन्दा कम्तीमा पन्ध्र दिन अगावै सदस्यहरूलाई दिनु पर्नेछ। (३) समितिको कूल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरू उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ। (४) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ। (५) समितिको निर्णय सदस्य-सचिवले प्रमाणित गर्नेछ। (६) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा समितिका सदस्यहरूले आफु मध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ। (७) समितिको बैठकसम्बन्धी अन्य कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।
६. कार्यकारी निर्देशक : (१) समितिको प्रशासकीय प्रमुखको रुपमा काम गर्न नेपाल सरकारले कार्यकारी निर्देशकको नियुक्ति गर्न सक्नेछ। (२) .... (३) .... (४) कार्यकारी निर्देशकको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा नेपाल सरकारको स्वीकृति लिई समितिले तोके बमोजिम हुनेछ।
◆ पहिलो संशोधनद्वारा झिकिएको।
७. समिति का कर्मचारी : (१) समितिले आवश्यकतानुसार समितिका कर्मचारीहरू नियुक्ति गर्न सक्नेछ। (२) समितिका कर्मचारीहरूको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा तोकिए बमोजिम हुनेछ।
८. समितिको कोष : (१) समितिको एउटा छुट्टै कोष हुनेछ र कोषमा देहायका रकमहरू रहनेछन्:- (क) नेपाल सरकारबाट प्राप्त रकम, (ख) कुनै व्यक्ति वा संस्थाले चन्दा वा सहायता स्वरूप प्रदान गरेको रकम, (ग) अन्तर्राष्ट्रिय सङ्घ संस्था, विदेशी सरकार वा व्यक्तिबाट प्राप्त रकम, (घ) समितिले उपलब्ध गराएको कुनै सेवा बापत प्राप्त हुन आउने रकम, (ङ) समितिलाई काठमाडौं जिल्ला विकास समिति, वा काठमाडौं महानगरपालिकाबाट प्राप्त अनुदान रकम र (च) अन्य स्रोतबाट प्राप्त रकम। (२) उपदफा (१) को खण्ड (ग) अन्तर्गतको रकम प्राप्त गर्नु अघि समितिले नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ। (३) समितिको कोषमा रहने रकम नेपालको कुनै बैङ्कमा खाता खोली जम्मा गर्नु पर्नेछ। (४) समितिको नामबाट गरिने सबै खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोर्नेछ। (५) समितिको खाता सदस्य-सचिव र अध्यक्ष वा निजले तोकेको सदस्यको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ।
९. लेखा र लेखापरीक्षण : (१) समितिको आय-ब्ययको लेखा प्रचलित कानून बमोजिम राख्नु पर्नेछ। (२) समितिको लेखापरीक्षण महालेखा परीक्षकको विभाग वा सो विभागबाट तोकेको लेखापरीक्षकबाट हुनेछ। (३) नेपाल सरकारले समितिको आय-ब्ययको लेखा, तद् सम्बन्धी कागजात र अरु नगदी, जिन्सी जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ।
१०. उप-समिति वा कार्यटोली गठन गर्न सक्ने : (१) समितिले यो आदेश र यस आदेश अन्तर्गत बनेको नियम बमोजिम आफूले गर्नु पर्ने काम गर्न, गराउनको निमित्त आवश्यकतानुसार उपसमिति वा कार्यटोली गठन गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम गठन हुने उपसमिति वा कार्यटोलीहरूको काम,कर्तव्य, अधिकार तथा कार्यविधि समितिले तोके बमोजिम हुनेछ।
११. बैठक भत्ता तथा अन्य सुविधा : सदस्यहरूले तोकिए बमोजिम बैठक भत्ता तथा सुविधा पाउनेछन्।
१२. अधिकार प्रत्यायोजन: समितिले आफूलाई प्राप्त अधिकार मध्ये केही वा सबै अधिकार आवश्यकता अनुसार अध्यक्ष, सदस्य, सदस्य-सचिव वा समितिको कुनै अधिकृतस्तरको कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।
१३. नेपाल सरकारसँग सम्पर्क : समितिले नेपाल सरकारसँग सम्पर्क राख्दा युवा, खेलकुद तथा संस्कृति मन्त्रालय मार्फत राख्नु पर्नेछ।
१४. समितिको कार्यालय : समितिको मुख्य कार्यालय काठमाण्डौ महानगरपालिका, बौद्धमा रहनेछ र आवश्यकतानुसार अन्य स्थानमा पनि सम्पर्क कार्यालयहरू रहन सक्नेछन्।
१५. नियम बनाउने अधिकार : समितिले यस आदेशको उद्देश्य पूर्तिका लागि आवश्यक नियमहरू बनाउन सक्नेछ र नेपाल सरकारबाट स्वीकृत भएपछि मात्र त्यस्तो नियमहरू लागू हुनेछन्।