पाटन संग्रहालय विकास समिति (गठन) आदेश, २०५३
नेपाल राजपत्रमा प्रकाशित मिति २०५३।०२।१४
संशोधन १. पाटन संग्रहालय विकास समिति (गठन)(पहिलो संशोधन) आदेश, २०६४ २०६४।०९।१६ २. पाटन संग्रहालय विकास समिति (गठन) (दोस्रो संशोधन) आदेश, २०६७ २०६७।०१।२४ ३. पाटन संग्रहालय विकास समिति (गठन) (तेस्रो संशोधन) आदेश, २०८३ २०८३।०२।१८
विकास समिति ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको आदेश जारी गरेको छ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस आदेशको नाम “पाटन संग्रहालय विकास समिति (गठन) आदेश, २०५३” रहेको छ। (२) यो आदेश तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आदेशमा,— (क) “समिति” भन्नाले दफा ३ बमोजिम गठन भएको पाटन संग्रहालय विकास समिति सम्झनुपर्छ। $\circ$(क१) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनुपर्छ। $\circ$(क२) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनुपर्छ र सो शब्दले समितिको अध्यक्ष, उपाध्यक्ष र सदस्य-सचिवलाई समेत जनाउँछ। (ख) “संग्रहालय” भन्नाले पाटन संग्रहालय सम्झनुपर्छ। $\star$(ख१) “कार्यकारी निर्देशक” भन्नाले दफा ७ बमोजिम नियुक्त वा तोकिएको कार्यकारी निर्देशक सम्झनुपर्छ।
$\circ$ दोस्रो संशोधनद्वारा थप। $\star$ पहिलो संशोधनद्वारा थप।
(ग) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस आदेशअन्तर्गत बनेको नियमामा तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्छ।
३. समितिको गठन : (१) संग्रहालयको संरक्षण तथा विकासको लागि पाटन संग्रहालय विकास समिति नामको एक समिति गठन गरिएको छ। (#२) समितिमा देहायका सदस्यहरू रहनेछन् :- (क) सचिव, संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालय - अध्यक्ष (ख) महानिदेशक, पुरातत्व विभाग - उपाध्यक्ष (ग) प्रतिनिधि, ललितपुर उपमहानगरपालिका - सदस्य (घ) संग्रहालय सम्बन्धी विशेषज्ञहरूमध्येबाट नेपाल सरकारद्वारा मनोनित कम्तीमा एकजना महिलासहित मनोनित गरेको तीनजना - सदस्य (ङ) कार्यकारी निर्देशक, पाटन संग्रहालय - सदस्य-सचिव
(२क) ....................... (३) ....................... (४) समितिले आवश्यक देखेमा अन्य कुनै स्वदेशी वा विदेशी विशेषज्ञ वा सल्लाहकारलाई समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ।
३क. पदमुक्त हुने : (१) यस आदेशमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३ को उपदफा (२) को खण्ड (घ) बमोजिम मनोनित सदस्य तथा दफा ७ बमोजिम नियुक्त कार्यकारी निर्देशकको मनोनयन वा नियुक्ति गर्दा जुनसुकै सर्त, सुविधा र पदावधि तोकिएको भए तापनि यो आदेश प्रारम्भ भएपछि त्यस्ता सदस्य र कार्यकारी निर्देशक कार्यरत रहेको पदबाट स्वतः पदमुक्त हुनेछन्। (२) उपदफा (१) बमोजिम पदमुक्त भएका पदाधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको अधिकारीले पदमुक्त भएको सूचना दिनेछ।
४. समिति को काम, कर्तव्य र अधिकार : समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) संग्रहालयको विकासको सम्बन्धमा योजना तर्जुमा गर्ने र त्यसका लागि आवश्यक पर्ने आर्थिक स्रोतको व्यवस्था गर्ने, (ख) संग्रहालयमा गरिएका संकलनलाई शैक्षिक, सांस्कृतिक तथा पर्यटककीय दृष्टिले गुणस्तरयुक्त तुल्याई अन्तर्राष्ट्रियस्तरको संग्रहालयको रूपमा सञ्चालन गर्ने कार्यक्रमको तर्जुमा गर्ने र कार्यान्वयन गर्ने, गराउने, (ग) संग्रहालयमा प्रदर्शनीको लागि राखिएका कलाकृतिहरूको संरक्षण तथा सुरक्षाको लागि आवश्यक व्यवस्था गर्ने, (घ) संग्रहालयमा रहेका कलाकृतिहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाविद्हरूबाट अन्वेषण तथा अनुसन्धान गराउने, (ङ) संग्रहालयको विभिन्न कक्षहरू आकर्षक ढंगले सजावट गरी पर्यटककीय दृष्टिले आकर्षक तुल्याउने, (च) संग्रहालयका कर्मचारीहरूको तालिमको लागि व्यवस्था गर्ने, (छ) संग्रहालयको प्रवेश शुल्कको निर्धारण गर्ने र असुल गर्ने, (ज) संग्रहालयको लागि प्रयोगमा नआएका कोठाहरू भाडामा दिने, (झ) संग्रहालयमा विभिन्न वस्तुहरू खरीद गरी प्रदर्शन गर्ने, (ञ) संग्रहालयको कार्य सञ्चालन गर्नको लागि आवश्यक कर्मचारीहरूको सेवा, शर्त, निर्धारण गर्न, दरबन्दी स्वीकृत गर्ने र कर्मचारीहरू नियुक्ति गर्ने, (ट) संग्रहालय सञ्चालन सम्बन्धि आवश्यक अन्य कार्यहरू गर्ने गराउने।
५. समितिको बैठक र निर्णय : (१) समितिको बैठक अध्यक्षको स्वीकृति लिई सदस्य सचिवले बोलाउने छ। (२) समितिको बैठकको अध्यक्षता समितिको अध्यक्षले र निजको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ।
(३) समितिको बैठकको लागि कुल सदस्य संख्याको पचास प्रतिशत सदस्य उपस्थित भएमा गणपूरक संख्या पुगेको मानिनेछ। (४) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ। (५) समितिको बैठकको निर्णय सदस्य सचिवले प्रमाणित गरी राख्नेछ। (६) समितिको बैठकसम्बन्धी अन्य कार्यविधि समितिले आफैले निर्धारण गरेबमोजिम हुनेछ।
६. उप-समिति गठन गर्न सक्ने : (१) यस आदेशको उद्देश्य पूर्तिको लागि समितिले आवश्यकतानुसार उप-समिति गठन गर्न सक्नेछ। (२) उप-दफा (१) बमोजिम गठन हुने उप-समितिको काम, कर्तव्य र अधिकार समितिले तोकेबमोजिम हुनेछ।
७. कार्यकारी निर्देशकः (१) सङ्ग्रहालयको प्रशासकीय प्रमुखको रुपमा काम गर्न एकजना कार्यकारी निर्देशक रहनेछ। (२) समितिले तोकेको योग्यता पुगेको व्यक्तिलाई खुल्ला प्रतिस्पर्धाद्वारा कार्यकारी निर्देशकको पदमा नियुक्त गर्नेछ। (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मको लागि नेपाल सरकारले नेपाल शिक्षा सेवा, पुरातत्व समूहमा राजपत्रांकित द्वितीय श्रेणीको कुनै कर्मचारीलाई कार्यकारी निर्देशकको रुपमा काम गर्ने गरी तोक्न सक्नेछ। (४) .................... (५) .................... (६) कार्यकारी निर्देशकको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ। (७) कार्यकारी निर्देशकको पारिश्रमिक, सेवाको अन्य शर्त तथा सुविधासम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।
८. कर्मचारीसम्बन्धी व्यवस्था : (१) समितिको लागि आवश्यक पर्ने कर्मचारीहरू समितिको श्रोतबाट खर्च व्यहोर्ने गरी समितिले तोकिए बमोजिम नियुक्त गर्न सक्नेछ।
(१क) उपदफा (१) बमोजिम समितिका कर्मचारीहरूको नियुक्ति नभएसम्मको लागि नेपाल सरकारको कुनै कर्मचारीलाई समितिबाट तलब खाने गरी नेपाल सरकारले समितिमा काज खटाउन सक्नेछ।
(२) उपदफा (१क) बमोजिम नेपाल सरकारले काजमा खटाएका कर्मचारीहरूको पदमर्यादा निज जुन कार्यालयबाट काज खटिएको हो सोही कार्यालयको दरबन्दीमा रहनेछ।
(३) समितिमा काजमा खटिएका कर्मचारीलाई नेपाल सरकारले अन्यत्र काज खटाउनु वा सरुवा गर्नु पर्ने भएमा त्यसको सूचना समितिलाई दिनेछ।
(४) समितिमा काज खटिएका नेपाल सरकारको कर्मचारीको सरुवा, बढुवा र विभागीय कारबाही निजको निजामती सेवासम्बन्धी प्रचलित कानून बमोजिम हुनेछ।
(५) समितिमा काजमा खटिएका नेपाल सरकारको कर्मचारीलाई विभागीय कारबाही गर्नु पर्ने भएमा समितिले सो कर्मचारी उपर कुन आरोप लागेको हो त्यसको स्पष्ट कारण खुलाई विभागीय कारबाहीको लागि नेपाल सरकारमा पेश गर्नु पर्नेछ।
९. पारिश्रमिक र भत्ता : (१) समितिका कर्मचारीहरूले तोकिए बमोजिम पारिश्रमिक पाउनेछन्।
(२) समितिको बैठकमा भाग लिएबापत समितिको अध्यक्ष, सदस्य वा सदस्य-सचिवले * नेपाल सरकारले तोकेबमोजिम बैठक भत्ता पाउन सक्नेछन्।
१०. समितिको कोष : (१) समितिको एउटा कोष हुनेछ र सो कोषमा देहायका रकमहरू रहनेछन् :- (क) नेपाल सरकारबाट प्राप्त रकम, (ख) विदेशी सरकार वा अन्तर्राष्ट्रिय संघ-संस्थाबाट प्राप्त रकम, (ग) प्रवेश शुल्क, भाडा तथा कर शुल्कबाट उठेको रकम, र (घ) अन्य स्रोतबाट प्राप्त रकम।
(२) समितिले उपदफा (१) को खण्ड (ख) बमोजिमको कुनै रकम प्राप्त गर्नु अघि नेपाल सरकारको स्वीकृति लिनुपर्नेछ।
(३) समितिको सबै खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिने छ।
(४) समितिको कोषको संचालन तोकिए बमोजिम हुनेछ।
११. लेखा र लेखापरीक्षण : (१) समितिको आय-व्ययको लेखा नेपाल सरकारले अपनाएको तरिका बमोजिम राखिनेछ। (२) समितिको लेखापरीक्षण प्रचलित कानूनबमोजिम हुनेछ। (३) नेपाल सरकारले चाहेमा जुनसुकै बखत पनि समितिको हिसाब किताब जाँच्न वा जताउन सक्नेछ।
१२. अधिकार प्रत्यायोजन : (१) समितिले आवश्यकतानुसार आफ्नो केही अधिकार समितिको अध्यक्ष, ☼उपाध्यक्ष, सदस्य, सदस्यसचिव, दफा ६ बमोजिम गठित उप-समिति वा समितिका कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।
१३. नेपाल सरकारसँग सम्पर्क : समितिले नेपाल सरकारसँग सम्पर्क राख्दा #संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालय मार्फत राख्नुपर्नेछ।
१४. पुरातात्विक वस्तुको स्वामित्व : पाटन संग्रहालयमा रहने पुरातात्विक वस्तुहरूको स्वामित्व नेपाल सरकार, पुरातत्व विभागमा रहनेछ।
१५. नियमहरू बनाउन सक्ने : समितिले आफ्नो कार्य सञ्चालनको लागि आवश्यक नियमहरू बनाउन सक्नेछ र त्यस्ता नियमहरू नेपाल सरकारबाट स्वीकृत भएपछि मात्र लागू हुनेछन्।
१६. समितिको कार्यालय : समितिको कार्यालय ललितपुरको मंगलबजारमा रहनेछ।
☼ दोश्रो संशोधनद्वारा थप।